विकासन्युज

पाकिस्तानमा सरकार विरोधी प्रदर्शन

इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका दशौँ हजार कार्यकर्ताले प्रधानमन्त्री इमरान खानको राजिनामा माग्दै विरोध प्रदर्शन गरेका अधिकारीहरुले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरुले पाकिस्तानको विभिन्न भूभागबाट आएका प्रदर्शनकारीहरुलाई रोक्न कडा सुरक्षा व्यवस्था अपनाएका थिए । २० हजार भन्दा बढीको संख्यामा आएका इस्लामिक कार्यकर्ताहरुले राजधानी इस्लामावादमा प्रदर्शन गर्दै प्रधानमन्त्री खानको राजिनामा माग गरेका थिए । जमात उलेमा ए इस्लाम पाकिस्तानको सबैभन्दा ठूलो इस्लामिक पार्टी हो । सो पार्टीका अध्यक्ष मौलाना फजलुर रहमानको नेतृत्वमा उक्त विरोध प्रदर्शन भएको हो । सो दलले पाकिस्तानका क्रिकेट स्टारबाट राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री इमरान खानको राजिनामा माग गरिरहेको छ । प्रधानमन्त्री खानको नेतृत्वमा रहेको वर्तमान सरकारले पाकिस्तानमा शान्ति सुरक्षा कायम गर्न नसकेको लगायतका धेरै कमी कमजोरीहरु देखाएर सरकारबाट हट्न भनिरहेको छ । पाकिस्तान मुस्लिम लिग नवाज पार्टीले पनि वर्तमान सरकारको कडा विरोध गर्दै आएको छ । उक्त दलले वर्तमान सरकारलाई अवैध सरकार भन्दै यो सरकारका प्रधानमन्त्री खानले अब तत्कालै राजिनामा दिनुपर्ने बताउँदै आएको छ । शुक्रबारको विरोध प्रदर्शनलाई पाकिस्तानका प्रधानमन्त्री खानका लागि एक प्रमुख चुनौतीका रुपमा लिइएको छ । रासस/ सिन्ह्वा

फौजी किराले धानबाली सखाप पारेसँगै किसानको विचल्ली

काठमाडौं । धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिवारको विचल्ची भएका छन् । “हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको छ”, बाँके डुडुवा गाउँपालिका–६ का किसान रेखाउल्ला खाँले पीडा पोखेका हुन् । अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान पुर्याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगको गुहार लगाएका छन् । बाँके र बर्दियाका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग क्षतिपूर्तिको माग किसानले राखेका छन् । केहि दिनअघि नेपालगञ्ज आउनुभएका प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल र सङ्घीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको याचना गरेका थिए । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दिया दुई हजार हेक्टर धानबालीलाई क्षति पुर्याएको बताए । उनका अनुसार पाँच हजार घरधुरीको विचल्ली भएको छ । रासस

पोखरामा सञ्चालीत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकीय आकर्षण बढ्दै

काठमाडौं । पर्यटकीय नगर पोखरामा सञ्चालीत अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको दिन प्रतिदिन आकर्षण बढ्दै गएको छ । एउटै छानमुनि हिमाल र हिमालीका गतिविधिबारे जानकारी लिन सकिने पोखरा– १७ रातोपैह्रामा सञ्चालित सङ्ग्रहालय यतिखेर विशेषगरी विद्यार्थीसँगै आन्तरिक एवं बाह्य पर्यटकको अध्ययन अवलोकनको स्थल बनेको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा खरीद गरेको १०० रोपनी जग्गामा निर्माण गरी एक दशकअघिदेखि सञ्चालनमा आएको सङ्ग्रहालयमा हालसम्म २२ लाख १२ हजार १५ जनाले टिकट काटेर अवलोकन गरेको सङ्ग्रहालयका निर्देशक शङ्कर गौतमले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालय खुला गरिएयता हालसम्म विद्यार्थी नौ लाख ३४ हजार, ६६७, सर्वसाधारण नेपाली सात लाख, २० हजार २३६, सार्कस्तरीय पर्यटक एक लाख ७८ हजार ३७, अन्य विदेशी राष्ट्रका दुई लाख ५५ हजार ५१६ जनाले टिकट काटेर अवलोकन गरेका छन् । वर्षमा ३ सय ६५ दिनै खुला रहने सङ्ग्रहालयले यस अवधिमा टिकट बिक्रीबाट मात्र कूल २० करोड ५९ लाख ४७ हजार ३२८ आम्दानी गरेको बताउँदै उनले बगैँचा र निःशुल्क रुपमा अवलोकन गर्नेको सङ्ख्यासमेत उल्लेखनीय रहेको बताए । सङ्ग्रहालयमा विश्वका आठ हजारभन्दा बढी उचाइ भएका १४ वटा, सात हजार ५ सयदेखि ७ हजार ९ सय ९९ उचाइसम्मका ४० वटा, ६ हजारदेखि ६ हजार ९ सय ९९ सम्मका ६ सय ३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका बारेमा विस्तृत जानकारी लिन सकिने उनको भनाइ छ । साढे छ रोपनी क्षेत्रफल ओगटेको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ वटा उपकक्षमा विश्वका आठ हजारभन्दा अग्गा १४ वटा हिमाल र तीनमा आजसम्म भए गरेका गतिविधि प्रदर्शन गरिएको छ । यसमा आठ हजार भन्दाबढी उचाइका आठ वटा हिमचुचुरा नेपालमा पर्दछन् । हिमालको काँठमा बसोबास गर्ने स्थानीय बासिन्दाको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री सङ्कलन गरी सङ्ग्रहालयको पर्वतीय मानव कक्षमा प्रदर्शन गरिएको निर्देशक गौतमले बताए । विश्वका पर्वत शृङ्खलाको उत्पत्ति, भौगर्भिक महत्व, सो स्थानमा पाइने वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शनी, जानकारीमूलक सामग्रीको अभिलेख पर्वतीय कक्षमा सङ्ग्रह गरिएको छ । सो कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार हरिध्वज तुलाचनले जानकारी दिए । सङ्ग्रहालयमा विभिन्न उपकरण सङ्कलनसहितको विविध सामग्रीको अभिलेख भण्डारणलाई निरन्तरता दिँदै आएको बताउँदै उनले विश्वका हिमाल र हिमाली क्षेत्रको गतिविधिका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि एउटै छानामुनि एकैथलोमा बसी अध्ययन अनुसन्धानको उत्तम थलोको रूपमा विकसित गर्ने बृहत् नेपसले लिएको छ । बिहान ८ देखि साँझ ५ बजेसम्म खुला रहने सङ्ग्रहालयमा यतिखेर विद्यार्थी ५० रुपैयाँ, नेपाली सय रुपैयाँ, सार्कस्तरीय २ सय ५० रुपैयाँ र बाह्य पर्यटकका लागि पाँच सय रुपैयाँ र बगैँचामा घुमफिरका लागि ३० रुपैयाँ टिकट दर कायम गरिएको छ । कूल १० करोड रुपैयाँको लागतमा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय निर्माणका लागि नेपाल सरकारबाट ३० लाख रुपैयाँ, जापान एक करोड ४५ लाख ७८ हजार १११ , कोरिया ६ लाख ६९ हजार ३००, चीन तीन लाख ३६ हजार ७५०, भारत तीन लाख २० हाजर, स्पेन ३७ लाख सहयोग प्राप्त भएको छ भने स्वदेशी र विदेशी मुलुकका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट लगभग चार करोड र बाँकी नेपाल पर्वतारोहण सङ्घले व्यहोरेको थियो । सङ्ग्रहालय भवनको अगाडिको भागमा निर्माण गरिएको मनासलु हिमालको मोडल र याकको मूर्ति अहिले सो स्थानमा पुग्ने जुनसुकै उमेरका अवलोकनकर्ताका लागि पनि थप आकर्षण बनेको छ । परिसरमा रहेको ३१ मिटर अग्लो नमूना हिमाल, माउन्टेन क्लाइम्बिङ बाल, पोखरा तथा चट्टानी बगैँचा, नेपाली घरको आकर्षण नमूनालगायतले जो कोहीलाई लोभ्याउने गरेको नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाका पूर्वअध्यक्ष जीवन सापकोटाले जानकारी दिए । मुलुकको पर्यटकीय राजधानीका रुपमा अगाडि बढेको पोखरामा आउने पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका पूर्वाधार विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताउँदै उनले प्रदेश सरकारले सञ्चालन गरेको नयाँ गन्तव्य र (होमस्टे) घरबास प्रवद्र्धनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस

नेपाली सेनाले भित्र्यायो नयाँ विमान

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ । कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ । सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् । त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ । मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरर्राष्ट्रिय उडान भर्दै आएका छन् । रासस

जापानी प्रविधिबाट फोहर व्यवस्थापन अब बनेपामा

काठमाडौं । बनेपा नगरपालिकाले जापानी प्रविधिबाट धुवाँरहित मेशिनमार्फत फोहरमैला व्यवस्थापन गर्ने भएको छ । यसका लागि कार्यालयले जापानी प्रविधिको ‘हिटा’ नामक कम्पनीको धुवाँरहित चिम्नी (एफ वान मोडल) ल्याइसकेको छ । कार्यालयले फोहर जलाउने मेशिन वडा नं ९ स्थित कृषि फार्ममा राख्ने जनाएको छ । “बनेपाको प्रमुख चुनौती बन्दै आएको फोहर व्यवस्थापन मेशिन सञ्चालनपछि हल हुनेछ तर उक्त मेशिनबाट मानव स्वास्थ्यमा असर परे वैकल्पिक स्थानमा राख्नेछौँ”, नगर उपप्रमुख रेखा दाहालले भने । उनका अनुसार चिम्नीका विषयमा सरोकारवालालाई जानकारीसमेत गराइएको छ । बनेपा नपामा उपप्रमुखको नेतृत्वमा फोहरमैला व्यवस्थापन समिति गठन गरिएको छ । करीब एक वर्षदेखि बनेपा नगर क्षेत्रको फोहर सिस्डोल पु¥याइँदै आइएको छ । यसअघि नियमित फोहर विसर्जनस्थलमा स्थानीयले विरोध गरेपछि नगरपालिका कार्यालयले नयाँ प्रविधिको खोजी गरेको नगरप्रमुख लक्ष्मी नरसिंह वादेले बताए । उनले भने, “यहाँको फोहर सिस्डोल पुर्याउन निकै खर्च व्यहोरिरहेका छौँ, अब नयाँ मेशिन राखेपछि वातावरणलाई पनि असर नपुग्ने र खर्चमा पनि कटौती हुनेछ ।” उनका अनुसार फोहर व्यवस्थापनकै लागि नगरको १२ र १४ नं वडाको सिमानामा १४ रोपनी जमीन खरीद गरेको र थप लिने तयारी भइरहेको छ । मेशिनमा फलाम र सिसाका टुक्राबाहेक सबै किसिमका फोहर जलाउन सकिने हिटा ग्रुप नेपालका प्रमुख ग्याल्पो लामाले बताए। ‘‘प्रदूषण, धुँवा र ध्वनीरहीत तरिकाले फोहोरलाई जलाउन सकिन्छ’’, उनले भने। उनका अनुसार मेशिनले प्रतिघण्टा ३० देखि ४० किलोसम्म फोहोर जलान सक्छ । बनेपा नगरबाट प्रतिदिन सातदेखि आठ टनसम्म फोहोर निस्कने गर्दछ । उक्त मेशिनले नगरको फोहर जलाउन नभ्याउने देखिए ठूलो क्षमताको मेशिन ल्याइने नगरप्रमुख वादेले बताए । “अबको केही दिनमै मेशिन परीक्षण गरी नियमित फोहर जलाउन शुरु गर्नेछौँ”, उनले भने । मेशिन सञ्चालन गर्न डिजेल, विद्युत् र पानी एकैसाथ प्रयोग गर्नुपर्ने हुन्छ भने विद्युत् नभएका बेला मेशिनकै ब्याकअपबाट सञ्चालन गर्न सकिनेछ । मेशिनमा जलेको फोहरको खरानीबाट ब्लक तथा टायर निर्माण र तरकारी खेतीका लागि प्रयोग गर्न सकिने लामाले बताए । रासस

बाढीबाट सोमालियामा ५ लाख ७५ हजार व्यक्ति विस्थापित

मोगादिसु । सोमालियाका विभिन्न भूभागमा आन्तरिक द्धन्द्ध, खडेरी तथा हालैका केही हप्ता यताको बाढीमा परी ५ लाख ७५ हजार नागरिक विस्थापित भएका छन् । गतअक्टोबर महिनाभरमा आएको बाढीबाट २ लाख ७० हजार भन्दा बढी नागरिक विस्थापित भएका हो । संयुक्त राष्ट्रसंघीय एक एजेन्सीका अधिकारीहरुका अनुसार बाढीका कारण यसरी विस्थापित हुनेहरु सबैभन्दा बढी बियानी भन्ने ठाउँका परेका छन् । भारी मात्रामा परेको वर्षाका कारण त्यहाँको स्थानीय सियाली नदीमा आएको बाढीबाट यति ठूलो मात्रामा नागरिक विस्थापित भएका थिए । यस वर्ष बाढी मात्र नभएर खडेरी र आन्तरिक द्धन्द्धका कारण पनि ठूलो संख्याका नागरिक विस्थापित हुन पुगेका छन् । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी एजेन्सी, युएनएचसिआरका अधिकारीहरुका अनुसार यस वर्षमात्र सोमालियामा विस्थापित मानिसको संख्या ५ लाख ७५ हजार रहेको बताइएको छ । अक्टोबर महिनामा आएको भारी वर्षाका कारण आएको बाढीबाट विस्थापित ती नागरिकको अवस्था निकै नाजुक रहेको पनि बताइएको छ । प्राप्त समाचारअनुसार उनीहरु कोही रुखमुनी त कोही अस्थायी टेन्ट बनाएर बसेका छन् । लाखौँ नागरिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । उनीहरुको उद्धारको लागि शरणार्थीसम्बन्धी उक्त एजेन्सीले सबैमा आग्रह गरिरहेको छ । शरणार्थीहरुलाई आधारभूत आवश्यकताको लागि सोमाली सरकारले दाता निकाय र संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । रासस/सिन्ह्वा

बोर्डको कामू अध्यक्षमा परिष्ठनाथ पौडेल

काठमाडौं । नेपाल धितोपत्र बोर्डको कामू अध्यक्षको जिम्मेवारी परिष्ठनाथ पौडेलले सम्हाल्ने भएका छन् । अर्थ मन्त्रालयले अध्यक्ष नियुक्त नभएसम्मको लागि पौडेललाई अख्तियारी सहित कामू अध्यक्षको जिम्मेवारी दिएको हो । कामू अध्यक्षको नेतृत्व गर्न जिम्मा पाएका पौडेलले बोर्डको नीतिगत निर्णय भने गर्न पाउँदैन । पौडेलले यस अघि बोर्डको कार्यकारी निर्देशकको पद सम्हालेका थिए । अध्यक्ष डा. रेवतबहादुर कार्कीले गत कात्तिक १ गतेदेखि अवकाश पाएपछि बोर्डको उक्त पद खाली रहेको छ । त्यसको लागि प्रकृया अघि बढिरहेको छ ।

‘अप्रिलिया स्टर्म १२५’ स्कुटर अफरोडमा पनि उत्कृष्ट, यस्तो छ मूल्य

काठमाडाैं । विश्व विख्यात इटालियन टू व्हिलर कम्पनी‘अप्रिलिया’ ले केहि महिना अघि नेपालमा ‘स्टर्म १२५’ नामक स्कुटर सार्वजनिक गरेको थियो । नेपाली बजारमा दुई लाख २४ हजार नौ सय रुपैयाँ मूल्य पर्ने सो स्कुटर अप्रिलिया ब्राण्डकै सबैभन्दा सस्तो स्कुटर पनि हो । कम्पनीका अनुसार यो स्कुटर बजेट फ्रेण्ड्ली भएता पनि अप्रिलियाले प्रदान गर्ने क्वालिटीमा भने कुनैपनि किसिमको कम्प्रमाइज गरिएको छैन । ‘अप्रिलिया एसआर १२५’ मा आधारित भएर बनाइएको यस स्कुटरकोस्टाइलिङ्ग र कलरहरु चाहिँ उक्त स्कुटर भन्दा फरक छन् ।‘स्टर्म १२५’म्याट रेड र म्याट एल्लो गरी दुई कलर अप्सनहरुमा उपलब्ध छ भने यसमा अप्रिलिया एसआर १२५को भन्दा फरक ग्राफिक्स दिइएको छ । स्टर्म १२५ मा १२ इञ्चको अलोए व्हिल्स् र डुअल पर्पोज नबि टायरहरु दिइएका छन् । यी नबि टायरहरु र १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्सको कारण यो स्कुटरको अफरोड पर्फमेन्स पनि राम्रो भएको छ । यस स्कुटरमा १२५ सीसी को कार्बुरेटेड इञ्जिन दिइएको छ जसले ९.५२ बीएचपीको पावर र ९.९ एनएमको टर्क प्रोड्युस गर्दछ । ट्युव्लर स्टिल फ्रेम दिइएको यस स्कुटरमा अगाडि तर्फ टेलिस्कपिक फोर्क जडान गरिएको छ भने पछाडि तर्फ चाहिँ मोनोशक समावेश गरिएको छ । त्यसैगरी अप्रिलिया स्टर्म १२५का दुवै चक्काहरुमा ड्रम ब्रेक दिइएका छन् ।