विकासन्युज

छठ पर्वको अन्तिम दिन आज सार्वजनिक बिदा

जनकपुरधाम । मिथिलावासीको पर्व छठको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिइएको छ । प्रदेश २ मा आइतबार छठको अवसरमा सार्वजनिक विदा दिइएको हो । २ नम्बर प्रदेश सरकारले चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख नयाँ रोजगारी सिर्जना

वासिङ्ट्न । अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन् । श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ । यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ । पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन् । रासस÷एएफपी

‘बेल्ट एण्ड रोड’ कार्यक्रमसँग जोडिएका मुलुकमा चीनले गर्यो १० अर्ब लगानी

बेइजिङ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रम अन्तर्गत चीनसँग जोडिएका मुलुकहरूमा सन् २०१९ को सुरूदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले शनिबार जनाएको छ । यो लगानी गत बर्षको सोही (जनवरीदेखि अक्टोबरसम्म) भएको लगानीको तुलनामा छ प्रतिशतले कमी हो । यो लगानी चीनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हो । खासगरी सिङ्गापुर, भियतनाम, लाओस, इन्डोनेसिया, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, कम्बोडिया र काजकस्तानमा उत्त लगानी भएको मन्त्रालयद्वारा दिइएको तथ्याङ्कमा उल्लेख छ । वैदेशिक आयोजनाका हकमा यस बर्षको सुरूका नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार ९०४ नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूमा लगानी गर्ने सम्झौता गरेका छन् । यो लगानी रकम गत बर्षको सोही अवधिको तुलनामा १८.४ प्रतिशतले बढी हो । नयाँ करार भएका कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ । ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका मुलुकहरूसँग चीनको वैदेशिक कार्यक्रमका लागि करार भइ सम्पन्न भएका आयोजनाको कुल लगानी ५५ अर्ब ८९ करोड अमेरिकी डलर रहेको र यो गत बर्षको अक्टोबरसम्मको तुलनामा ४.४ प्रतिशतले कमी हो । करार भइ सम्पन्न भएका आयोजनाको कुल प्रतिशत ५४.७ प्रतिशत रहेको छ । रासस/सिन्ह्वा

उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न

जनकपुरधाम । आस्थाको महापर्व छठपर्वअन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ । आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो । रासस

देशभर ७६ प्रतिशत क्षेत्रमा विद्युत् पुग्यो, प्राधिकरणलाई खपत बढाउने चुनौती

 काठमाडौं । उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । प्राधिकरणका अनुसार हाल देशभर ७६ प्रतिशत क्षेत्रमा विद्युत् पुगेको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । सरकारको योजना अनुसार नै चालू आर्थिक वर्षमा तीन दर्जन बढी जिल्लालाई पूर्णरुपमा विद्युत् उपलब्ध गराउने लक्ष्य राखेको छ । दीपावलीमा गरिएको व्यवस्थापनले पनि प्राधिकरण सोही दिशामा केन्द्रित रहेको छ भन्ने स्पष्टसँग बुझ्न सकिन्छ । भारतीय विद्युत् प्रयोग गरेर अँध्यारो हटाएको भन्नेजस्ता आरोपबाट समेत प्राधिकरण यस पटकदेखि मुक्त भएको छ । आन्तरिक रुपमा नै निर्माणाधीन जलविद्युत् आयोजना क्रमशः सकिँदै गएको तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् उपलब्ध गराउन चालिएका योजनाबद्ध प्रयासले समेत सफलता प्राप्त गरेको छ । सरकारले नीतिगत रुपमा नै स्पष्ट व्यवस्था गरेपछि दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसमेत पूरा हुने भएको छ । यस वर्षको दीपावलीमा प्राधिकरणले गरेको व्यवस्थापनले जतिसुकै विद्युत् माग भए पनि त्यसलाई सहज रुपमा लिन सकिन्छ र प्रणालीलाई भरपर्दो बनाउन सकिन्छ भन्ने सन्देशसमेत दिएको छ । प्राधिकरणले यस वर्षको दीपावलीमा कूल विद्युत् माग एक हजार ४०० मेगावाटसम्म पुग्न सक्ने अनुमान गरेको थियो । सोही अनुसार विद्युत्को जोहोसमेत गरेको थियो । तर प्राधिकरणको अनुमानभन्दा ३११ मेगावाट कम अर्थात् एक हजार ८९ मेगावाट मात्रै विद्युत् खपत भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत् उच्च माग एक हजार ८९ मेगावाट मात्रै पुगेको छ । किफायती तवरले विद्युत् प्रयोगका लागि प्राधिकरणले अगाडि बढाएको जनचेतनाले समेत काम गरेको छ । मन फुकाएर विद्युत् प्रयोग गर्न र दीपावलीमा विद्युत् बाल्न आग्रह गरे पनि अपेक्षाभन्दा धेरै कम मात्रै विद्युत् खपत भएको छ । प्राधिकरणले अभियानात्मक रुपमा नै ‘इनर्जी इफिसेन्सी’ कार्यक्रमलाई अगाडि बढाएको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिनलाई नै मानकका रुपमा मानेर कूल माग मापन गर्ने गरेको छ । तर विद्युत् थपिँदै जाँदा माग नबढ्नुलाई भने राम्रो मान्न सकिँदैन । प्राधिकरणमा क्रियाशील राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शाही विद्युत् माग बढाउन लाग्नुपर्ने र त्यसका लागि थ्री फेज मिटर दिने कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए । त्यसो त प्राधिकरणले विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने र विद्युतीय सवारी साधनको प्रवद्र्धन तथा खाना पकाउने एलपी ग्यासको विस्थापन गर्दै ‘इन्डक्शन चुल्हो’को प्रयोगलाई अभियानात्मक रुपमा हस्तक्षेप गर्ने लक्ष्य राखेको छ । प्राधिकरणले निजी प्रवद्र्धकसँग करीब छ हजार मेगावाट बराबरको विद्युत् खरीद–बिक्री सम्झौता गरेको छ । निजी उद्यमीसँग धमाधम विद्युत् खरीद–बिक्री सम्झौता गर्दै जाने र माग नबढेको अवस्थामा प्राधिकरणको आर्थिक अवस्थामा समेत समस्या आउन सक्ने देखिएको छ । सरकारले देशकोे आर्थिक वृद्धिदर ४.५० प्रतिशतको हाराहारीमा हुँदा विद्युत्को माग सन् २०२० मा दुई हजार २८४ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । तर केही वर्षयता देशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहँदा पनि वार्षिक विद्युत्को उच्चतम माग एक हजार २०० मेगावाटको हाराहारीमा मात्रै रहेको छ । सहसंयोजक शाही प्राधिकरणले निजी प्रवद्र्धकसँग करीब ६ हजार मेगावाट बराबरको विद्युत् ‘लिए पनि नलिए पनि पैसा तिर’ भन्ने ढाँचामा सम्झौता गरेको अवस्थामा विद्युत् माग बढाउनु नै तत्कालको आवश्यकता भएको बताए । उनले अबको प्रमुख चुनौती भनेकै विद्युत् माग बढाउनु रहेको र थ्री फेज मिटर लिन आउने ग्राहकलाई खोजी खोजी स्वागत गर्नुपर्नेमा जोड दिए । प्राधिकरणले अघिल्लो वर्षको लक्ष्मीपूजाको दिनको बढी विद्युत् माग अर्थात् पिक डिमान्ड एक हजार १०५ मेगावाट रहेको तथ्याङ्क दिएको थियो । यस्तै गत आर्थिक वर्षभरिको पिक डिमान्ड भने एक हजार ३२० मेगावाट थियो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले तथ्याङ्कअनुसार उच्चतम माग औद्योगिक ग्राहकका बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत् माग करीब ३०० मेगावाट छ । औद्योगिक ग्राहकले थप विद्युत् प्रयोग गर्दा त्यसको प्रभाव मुलुकको अर्थतन्त्रमा सहजै पर्नेछ । रोजगारीको वृद्धि तथा वैदेशिक मुद्रा आर्जन हुने क्षेत्रमा विद्युत् खपत बढाउन सरकारले पनि चासो दिएको छ । आर्थिक समृद्धिलाई केन्द्रमा राखेको सरकारले चालू आर्थिक वर्षको अन्त्यदेखि उद्योगीलाई मागअनुसार नै विद्युत् दिने बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा समेत घरायसी ग्राहकलाई आकर्षित गरी औद्योगिक ग्राहकलाई प्राथमिकतामा राख्ने नीति राखेको छ । प्राधिकरणका अनुसार यस वर्ष सङ्घीय राजधानी काठमाडौं उपत्यकाको उच्च माग ३३१ मेगावाट मापन गरिएको छ । प्राधिकरणले यस वर्षको दीपावलीमा आफ्ना विद्युत् गृहबाट ५४६ मेगावाट, निजी क्षेत्रका विद्युत् गृहबाट ४३६ मेगावाट र भारतबाट १०७ मेगावाट कूल आयात गरी एक हजार ८९ मेगावाट विद्युत् आपूर्ति गरेको छ । यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्रो र निजी क्षेत्रका आयोजनाबाट कूल १५० मेगावाट विद्युत् प्रणालीमा थपिएको जनाएको छ । जसका कारण भारतबाट आयात हुने विद्युत्को मात्रासमेत घट्दै गएको छ । प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत्गृह पूर्ण क्षमतामा चलाउन सहजीकरण गर्दै आएको छ । प्राधिकरणको एक मात्र जलाशययुक्त आयोजनाका रुपमा रहेको कुलेखानीलाई पनि पूर्ण क्षमता चलाएर विद्युत् मागलाई सहज रुपमा व्यवस्थापन गरेको छ । यस पटक कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत् उत्पादन गरिएको थियो । त्यसो त विगतमा प्राधिकरणका उच्च नेतृत्व उपभोक्ताप्रति जिम्मेवार देखिएका थिएनन् । उनीहरुले विद्युत्भार कटौतीको सूचना प्रकाशित गरेर औपचारिकता निभाउने गरेका थिए । पछिल्लो तीन वर्षदेखि प्राधिकरणको उच्च नेतृत्व हरेक दिन नै कार्यस्थलमा परिचालित भएको छ । यस पटक पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लक्ष्मीपूजाको दिनको माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन खटिएका थिए प्राधिकरणका सञ्चालक पनि कार्यस्थलमा नै परिचालित भएका थिए । विगतमा सञ्चालकहरु आर्थिक लाभ र हानिको हिसाबमा मात्रै व्यस्त भएको आरोप लाग्ने गरेको थियो । तर पछिल्ला दिनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको स्पष्ट मार्ग निर्देशनअनुसार नै सञ्चालकहरु चेतराज जोशी, विश्वप्रकाश गौतमसहित प्राधिकरणका उच्च अधिकारीको टोली स्युचाटारस्थित भार प्रेषण केन्द्रको नियन्त्रण कक्षमा रहेर विद्युत् माग र व्यवस्थापनको विषयमा जानकारी लिएर उपभोक्ताप्रतिको जिम्मेवारी पूरा गरेका थिए । तीन वर्षअघि प्राधिकरणले लक्ष्मीपूजाकै दिनबाट मुलुकलाई विद्युत्भार कटौती मुक्त घोषणा गर्ने अभियान शुरु गरेको थियो । कार्यकारी निर्देशक घिसिङले विद्युत्को चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले कूल विद्युत् माग नबढेको हुन सक्ने बताए । “लक्ष्मीपूजाको दिन अधिकतम माग करीब एक हजार ४०० मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौँ । उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ती बाल्न आग्रह गरेका थियौँ । क्षमताको माग अपेक्षाअनुसार बढ्न नसके पनि ऊर्जा खपत बढेको छ । यो प्रणाली सञ्चालनका लागि राम्रो हो,” उनले भने, “विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिँदो रहेछ । अहिले देखिएको वास्तविक माग हो ।” प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेशनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणाम स्वरुप अब वास्तविक मागदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनको भनाई छ । रासस

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताए। धुम्बाराहीमा धन्वन्तरी पार्कको उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक जग्गामा बगैँचा, खुला ठाउँ र मनोरञ्जन स्थल बनाइने जानकारी दिएका छन् । उनले सार्वजनिक सम्पत्ति जनताको भएकाले संरक्षणमा जनता जुट्नुपर्ने बताए । “स्थानीय तह र जनता मिलेर अतिक्रमण गरिएका जग्गा खोज्नुपर्दछ”, उनले भने, “जनता सक्रिय भएमात्र सम्पत्तिको संरक्षण हुन्छ ।” यसैगरी प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले सार्वजनिक जग्गामा पार्क निर्माण गरेर संरक्षण गर्ने भन्दै धन्वन्तरी पार्क यसैको शुरुआत भएको बताए । प्रदेश सरकारले पार्कको स्तरोन्नतिमा सहयोग गर्ने उल्लेख गर्दै सङ्घीय संरचनामा जाँदा विकासका काममा केही ढिलाइ भएको भन्दै उनले अहिले विकासका कामले गति लिएको बताए। उक्त पार्क प्रदेश सरकारको बजेट र धुम्बाराही धन्वन्तरी क्लबको करीब १२ लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको वडा नं ४ का वडाध्यक्ष मोहन विष्टले जानकारी दिए । रासस

तनहुँमा चितुवा नियन्त्रणका गर्न प्रदेश सरकारबाट ३० लाख

काठमाडौं । तनहुँको भानु नगरपालिकामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए। मन्त्री गुरुङका अनुसार आवश्यक परे थप बजेट विनियोजन गरिनेछ । चितुवा नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने मन्त्री गुरुङले बताए । “चितुवाको आक्रमणले भानुमा ६ बालबालिकाको ज्यान गइसकेको छ,” मन्त्री गुरुङले भने, “चितुवा नियन्त्रणका लागि के कस्ता काम गर्न सकिन्छ सबैका लागि प्रदेश सरकारको सहयोग रहनेछ ।” प्रदेश सरकारले विनियोजन गरेको बजेट सामुदायिक वनमा खोर निर्माण, सचेतनामूलक कार्यक्रम लगायतका काममा खर्च गरिने डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बालबालिकालाई आक्रमण गर्ने नरभक्षी चितुवालाई नियन्त्रणमा लिन ‘विशेष सुरक्षा दस्ता’ उक्त क्षेत्रमा परिचालन भएको छ । डिभिजन वन प्रमुख बरालका अनुसार कार्यालयबाट चार, नेपाल प्रहरीबाट चार र सशस्त्र प्रहरीबाट ११ जनाको विशेष सुरक्षा दस्ता चितुवा नियन्त्रणका लागि खटिएका छन् । जिल्ला प्रशासन कार्यालयले चितुवा नियन्त्रणका लागि उक्त टोलीलाई गोली हान्ने समेतको अधिकार प्रदान गरेको छ । विशेष सुरक्षा गस्तीका अलवा चितुवा नियन्त्रणका लागि भानुका सामुदायिक वनमा नौ वटा काठका खोर राखिएको छ । उक्त खोरमा परेर दुई वटा चितुवा नियन्त्रणमा आए पनि त्यस क्षेत्रमा थुप्रै चितुवा रहेको अनुमान गरिएको छ । चितुवाको आक्रमणबाट विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो । रासस

मनाङको एकमात्र हुम्डे विमानस्थलले पाएन निरन्तरता

काठमाडौं । मनाङ जिल्लाको एकमात्र हुम्डे विमानस्थल परीक्षण उडानपछि पुनः सञ्चालन हुन सकेको छैन । विमानस्थल निर्माण भएको सात वर्षपछि समिट एयरलाइन्सले भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुशी भएका मनाङवासी निरन्तर उडान नहुँदा निरास भएका छन् । पर्यटक भित्रिने समयमा मनाङमा हवाइ उडान सञ्चालन हुन नसक्दा पर्यटक आउन सकेका छैनन् । विमान सञ्चालन हुन सकेको भए विमानबाट आउने–जानेको सङ्ख्या वृद्धि हुने पर्यटन व्यवसायी विनोद गुरुङले बताए। विमानस्थल सञ्चालन नहुँदा मनाङ आउने पर्यटक वृद्धिमा टेवा पुग्ने भए पनि त्यस्तो हुन नसक्दा समस्या नै रहेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । विमानस्थलमा निरन्तर उडान भर्न सक्ने हो भने मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको सहज यात्रा र पर्यटक वृद्धि हुने पर्यटन व्यवसायीको भनाइ रहेको छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयले मुख्य याममा हप्ताको दुई पटक उडान भर्ने बताउँदै आएपनि सफल हुन सकेको छैन । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार प्रदेश सरकार यस विमानस्थलमा नियमित उडान भर्ने तयारीमा रहेको छ । यस क्षेत्रमा उडान भर्न सक्ने एक मात्र विमान चालक रहेको र निजी कम्पनी उडान भर्न तयार नहुँदा ढिलाइ भएको मन्त्री लम्सालको भनाइ छ । उता मनाङका पर्यटन व्यवसायी भने आशै आशमा निरास बनेका छन् । “स्थानीय तहको पहलमा परीक्षण उडान सफल भएपछि अब मनाङले पर्यटन क्षेत्रको विकासमा फड्को मार्ने आशा बोकेका थियौँ, तर नियमित उडान नहुँदा निराशाबाहेक केही हुन सकेको छैन,” मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङले भने। उनले भने, “पर्यटक आउँछन् केही बिरामी परेर फर्कन्छन् । सडक पनि गतिलो छैन हेलीकोप्टर चार्टर गर्न महँगो पर्छ । कमसेकम नियमित उडान भइदिए धेरैले समयमा उपचार पाउने थिए ।” “२०७६ भदौ २७ गते परीक्षण उडान सफल भएपछि भने निकै आशा बोकेका मनाङवासीलाई हात्ती आयो हात्ती आयो फुस्साजस्तो भएको छ, सरकारको चासो पुगे मनाङवासीसँगै पर्यटकलाई सहज हुने थियो,” गुरुङले भने। गण्डकी प्रदेशले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न मनाङलाई विशेष रुपमा विकास गर्नुपर्ने स्थानीयवासी बताउँछन् । रासस