उपनिर्वाचनकाे लागि आज उम्मेदवार मनोनयनपत्र दर्ता
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा सदस्य एक र प्रदेशसभा सदस्य तीन पदका लागि उपनिर्वाचन हुँदैछ । कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुरको क्षेत्र नं १ (क), बागलुङको निर्वाचन क्षेत्र नं २ (ख) र दाङको निर्वाचन क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार, आजै दिउँसो १ः३० देखि ३ः०० बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने भोलि शुक्रबार बिहान ११ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ः०० देखि दिउँसो १ः३० बजेसम्म मनोनयपत्र र उजुरीउपर जाँचबुझ गर्ने, सोही दिन दिउँसो ३ः००देखि ५ः०० बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि अपराह्न ५ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २५ गते बिहान ११ः०० अपराह्न ४ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । पोखरा– कास्की निर्वाचन क्षेत्र नं २ मा मङसिर १४ गते हुनलागेको उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य पदका लागि आज उम्मेदवारको मनोनयन गरिने भएको छ । घोषित निर्वाचन कार्यतालीका अनुसार आज बिहान १०।०० बजेबाट दिउँसो १.०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिएका छन् । मनोनयन दर्ताका लागि उम्मेदवारले एक÷एक जना प्रस्तावक र समर्थकसहित रु १० हजार दर्ता शुल्क बुझाउनुपर्ने छ । प्रस्तावक र समर्थक बन्ने व्यक्ति सम्बन्धित निर्वाचन क्षेत्रको मतदाता नामावलीमा अनिवार्य समावेश भएको हुनुपर्ने उनले जानकारी दिए । राजनीतिक दलले जुलुससहित निर्वाचन कार्यालयमा पुगी उम्मेदवार मनोनयन गर्ने तयारी गरेका छन् । उम्मेदवारी दर्ता गर्न जानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराको शान्ति वनस्थित जिल्ला पार्टी कार्यालयमा पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई बिहान ११.०० बजे उपस्थितिका लागि आमन्त्रण गरेको छ भने नेपाली काङ्ग्रेसले पोखरा सभागृहमा १०.३० बजे आमन्त्रण गरेको छ । अन्य राजनीतिक दलले पनि उम्मेदवारी मनोनयन गर्न जान पार्टीका नेता तथा कार्यकतालाई बोलाएका छन् । कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको पदमा निर्वाचन हुनलागेको हो । नेकपाले स्व. अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, समाजवादी पार्टीले धर्मराज गुरुङ, साझा पार्टीले रजनी केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, विवेकशील नेपालीले जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पोखरा महानगरपालिकाअन्तर्गत ११ वडामा समेटिएको कास्की क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता छन् । निर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । उम्मेदवार मनोनयनका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिएका छन् । रासस
अष्ट्रेलियन शिक्षा सम्बन्धि अनुसन्धान र विशेषज्ञता नै हाम्रो गुणस्तरियता होः नयन लामिछाने
विगत १५ वर्षदेखि विद्यार्थीहरुलाई अध्ययनको लागि अष्ट्रेलिया पठाउँदै आएको राजधानीको बागबजारमा अवस्थित इ प्लानेट (एजुकेशन प्लानेट) एजुकेशन कन्सल्टेन्सीेले प्रत्येक वर्ष दुई पटक वृहत एजुकेशन फेयर आयोजना गर्दै आएको छ । यसै क्रममा इ प्लानेटले अष्ट्रेलिया अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा, विश्वविद्यालय र त्यहाँको शैक्षिक वातावरणबारे उचित जानकारी प्रदान गराउने उद्देश्यले अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ । अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु समेतको सहभागितामा सो फेयर सञ्चालन हुने भएको छ । उक्त एजुकेशन फेयर यहि नोभेम्बर ९ तारिखमा इ प्लानेटको कार्यालय बागवजार, काठमाडौंमा र १० तारिखमा चितवनको भरतपुर गार्डेन रिसोर्टमा हुने आयोजकले जनाएको छ । सोही एजुकेशन फेयरका सम्बन्धमा आधारित इ प्लानेटका सिईओ नयन लामिछानेसंग गरिएको कुराकानीः अचेल अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लक्षित गरेर थुप्रै एजुकेशन फेयरहरु भइरहेका छन्, यसको औचित्यबारे प्रष्ट्याइदिनुस न ? विदेश अध्ययनका लागि विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालय र कलेजकोबारे जुन सूचना प्राप्त गर्नुपर्ने हो, त्यो चाहीँ एजेन्ट मार्फत मात्रै पाइरहेको हुनाले विश्वविद्यालयका प्रतिनिधि स्वयम् नै आएर जानकारी प्रदान गर्ने र विद्यार्थी र अभिभावकले प्रतिनिधिहरुसंग भेटेर कुरा गर्न पाउँछन् र त्यो बढी प्रभावकारी र अर्थपूर्ण हुन्छ । यो नै मुख्य औचित्य हो । अस्ट्रेलियन एजुकेशन फेयरको आयोजना गर्नुको मुख्य उद्देश्य के हो ? अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले नेपालमै बसेर आफुले रोजेको विषय र चाहेको विश्वविद्यालयबारे आवश्यक पर्याप्त जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले यो एजुकेशन फेयर आयोजना गरिएको हो । विद्यार्थीलाई अष्ट्रलियाको शिक्षाका लागि परामर्श दिन इ प्लानेट त सधैँ खुला नै छ, फेरी यो एजुकेशन फेयर किन ? के छ त्यस्तो अरु विशेष यसमा ? पहिलो कुरा त विद्यार्थीले सम्बन्धित प्रतिनिधिबाटै सही सूचना प्राप्त गर्न सक्छन । साथै फेयर लक्षित गरेर विभिन्न विश्वविद्यालयहरुले छात्रवृत्तिको पनि व्यवस्था गरेका हुन्छन् भने आवेदन र भिषा प्रक्रिया पनि अलिक छिटो हुन्छ । अष्ट्रेलिया अध्ययनका लागि जान आफु योग्य छु कि छैन भन्ने कुरामा समेत विद्यार्थी प्रष्ट हुन्छन् । विद्यार्थीहरुलाई कस्तो प्रकारले अष्ट्रेलियाको शिक्षा र त्यहाँको वातावरणका बारेमा जानकारी प्रदान गर्नुहुन्छ ? अष्ट्रेलिया बहुसंस्कृति भएको मुलुक हो । त्यहाँ सबै कला र संस्कृतिलाई उत्तिकै सम्मान र महत्व दिइन्छ । एजुकेशन हबकै रुपमा रहेकाले थुप्रै मुलुकका विद्यार्थीहरु त्यहाँ जान्छन् । अष्ट्रेलियामा आफ्नै संस्कृतिमा बाँच्न पाइन्छ । नेपाली विद्यार्थीहरुले पनि अष्ट्रेलिया जानु अघि त्यहाँको शैक्षिक, सामाजिक तथा साँस्कृतिक वातावरणबारे जानकारी प्राप्त गर्नु जरुरी छ र त्यो कार्य पनि फेयरमा गरिन्छ । जो साँच्चै अध्ययनका लागि जानै पर्नेछ वा जाने मनस्थिती बनाएका छन् र जसका लागि विदेश अध्ययन नितान्त आवश्यक छ, उनीहरु हाम्रा अपेक्षित अवलोकनकर्ता हुन् । यो फेयरमा अष्ट्रेलियाका कतिवटा कलेज, युनिभर्सिटीहरुले सहभागिता जनाउँदै छन् ? अष्ट्रेलियाका प्रख्यात विश्वविद्यालयहरु जस्तै, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ ओलोङ्गोङ , वेष्ट्रन सिड्नी युनिभर्सिटी लगायत २० भन्दा धेरै युनिभर्सिटीका प्रतिनिधिहरु एजुकेशन फेयरमा सहभागि हुनेछन । ति प्रतिनिधिहरुबाट नेपाली विद्यार्थीहरुले उचित जानकारी हासिल गर्न सक्नेछन् । मुख्य गरी अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु कुन विषयमा अध्ययन गर्न जान्छन्, यो फेयरमा कुन–कुन विषयको बारेमा जानकारी पाइन्छ ? प्रायः नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा अकाउन्टिङ, आइटी, नर्सिङ, इन्जिनियरिङ, विजनेश स्टडिज, हेल्थ लगायतका विषयमा अध्ययनका लागि जाने गर्छन् । यो फेयरमा मिश्रित विश्वविद्यालयहरुको सहभागिता रहने हुँदा यी बाहेक विद्यार्थीले चाहे अनुसारको जुनसुकै विषयको बारे खास जानकारी प्राप्त गर्न सक्नेछन् । विद्यार्थी तथा अभिभावकहरुले यो एजुकेशन फेयरमा सहभागिता जनाउनका लागि के गर्नुपर्छ, यसका प्रक्रियाहरु के छन् ? यसको लागि विद्यार्थी र अभिभावकहरुले अनलाईन मार्फत रजिस्ट्रेशन पनि गर्न सक्नेछन् । यसका अलावा इ प्लानेटको अफिसमै आएर पनि रजिस्ट्रेशन गर्न सक्ने व्यवस्था मिलाइएको छ । रजिस्ट्रेशन पश्चात उनिहरुको विषय अनुसारका ३ देखी ४ वटा सम्म युनिभर्सिटी छनोट गरिनेछ र सम्बन्धित युनिभर्सिटीका प्रतिनिधिहरुसंग प्रत्यक्ष कुराकानी गर्ने अवसर प्राप्त गर्ने हुँदा आवश्यक सम्पूर्ण सूचनाहरु प्राप्त गर्न सक्नेछन् । गुणस्तरीय, भरपर्दो र विश्वसनीय तबरले अष्ट्रेलिया गएर अध्ययन गर्न पाउँछु भनेर विद्यार्थीलाई ढुक्क बनाउन सक्छ यो फेयरले ? अवश्य पनि । एजुकेशन फेयर मार्फत नेपालमै रहेर सम्बन्धित प्रतिनिधिहरुबाट आफुले इच्छाएको विश्वविद्यालय र चाहेको विषयबारे सम्बन्धित विश्वविद्यालयमै पुगेर पाएको जस्तै गरी सम्पूर्ण जानकारी प्राप्त गर्ने हुँदा अवलोकनकर्ताहरु सतप्रतिशत ढुक्क हुन सक्नेछन् । अर्को वर्षदेखी चाहीँ पोखरा, बुटवल लगायतका शहरहरुमा पनि यस्ता एजुकेशन फेयर आयोजना गर्ने योजनामा हामी छौँ । कस्ता अवलोकनकर्ताहरुको अपेक्षा राख्नुभएको छ ? कति संख्यामा यो फेयरमा सहभागी हुन्छन् भन्ने अनुमान गर्नुभएको छ ? हामीले विशेष गरी अष्ट्रेलियामै अध्ययन गर्ने उद्देश्य बोकेका विद्यार्थीहरुलाई लक्षित गरेर यो फेयर आयोजना गरेका छौँ । जो साँच्चै अध्ययनका लागि जानै पर्नेछ वा जाने मनस्थिती बनाएका छन् र जसका लागि विदेश अध्ययन नितान्त आवश्यक छ, उनीहरु हाम्रा अपेक्षित अवलोकनकर्ता हुन् । करिब ५०० देखी ७०० अवलोकनकर्ताहरुको सहभागिता रहने आंकलन हामीले गरेका छौँ । र, हाम्रो तयारी पनि सोही अनुसारको छ । यो एजुकेशन फेयर कहाँ, कहिले र कुन समयमा हुँदैछ ? यही आउँदो नोभेम्बर ९ तारिखमा काठमाडौँ बागबजारमा रहेको इ प्लानेटको अफिसमै सो एजुकेशन फेयर हुँदैछ । साथै त्यसको भोलिपल्ट अर्थात नोभेम्बर १० तारिखमा चितवनको भरतपुर स्थित भरतपुर गार्डेन रिसोर्टमा सो फेयर हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फेयरमा सहभागिता जनाउन सकिनेछ । नोभेम्बर ९ तारिखमा काठमाडौँ बागबजारमा रहेको इ प्लानेटको अफिसमै सो एजुकेशन फेयर हुँदैछ । नेपालका अरु शहरहरुमा वा स्थानहरुमा पनि एजुकेशन फेयर गर्ने योजना बनाउनुभएको छ ? अहिले तत्कालका लागि त त्यस्तो योजना बनिसकेको छैन, तर अर्को वर्षदेखी चाहीँ पोखरा, बुटवल लगायतका शहरहरुमा पनि यस्ता एजुकेशन फेयर आयोजना गर्ने योजनामा हामी छौँ । अन्त्यमा विद्यार्थी र अभिभावकहरुका लागि तपाईँ र इ प्लानेटका तर्फबाट के भन्न चाहनुहुन्छ ? यो एजुकेशन फेयर निकै महत्वपुर्ण अवसर हो त्यसैले तपाईँहरुका मनमा रहेका जिज्ञाशा र अस्पष्टता मेटाउन यो निकै प्रभावकारी साबित हुने भएकोले सम्पूर्ण विद्यार्थीहरुलाई यो एजुकेशन फेयरमा सहभागिताका लागि आह्वान गर्न चाहान्छु ।
३ महिनामा १० अर्बले लगानी प्रतिबद्धता बृद्धि, पर्यटन र सेवामूलकमा आकर्षण
काठमाडौं । नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । लगानीकर्ताले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् । उद्योग विभाग विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन पछि नेपालमा लगानीकर्ताको आकर्षण बढेको बताए । उद्योग दर्ता गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज र सरल भएकाले लगानीमा प्रतिबद्धता बृद्धि भएकोे उनले बताए । यता, नेपाल उद्योग वाणिज्य महासघंका सदस्य तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले पनि विदेशीले नेपालमा लगानीको वातावरण निर्माण हुँदै गएको बुझेको र सरकाले पनि लगानी मैत्री वातावरण निर्माण गर्दै गएकाले प्रतिवद्धतामा बृद्धि भएको बताए । १० अर्बले लगानी प्रतिबद्धता वृद्धि चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा गत आर्थिक वर्षभन्दा १० अर्बले लगानी प्रतिबद्धता वृद्धि भएको छ । असोज महिनाको अन्त्यसम्ममा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको थियो । विदेशी लगानीमा पनि ५ अर्ब प्रतिबद्धता वृद्धि भएको छ । चालु आर्थिक वर्षमा ११ अर्ब ३ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ भने अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १३ करोड ८० लाखा रुपैयाँको मात्रै विदेशी लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार ६८ अर्ब ३५ करोड ८० लाखको लगानीमा १७५ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । जसमा ८ हजार ४८४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख लगानीमा ८२ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उद्योग दर्ताको प्रतिबद्धता पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा ८२ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो भने चालु आवमा १७५ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ । तथ्याङ्क अनुसार उद्योग दर्ता गर्ने प्रतिवद्धता ९३ वटाले वृद्धि भएको छ । पर्यटन र सेवामूलकमा आकर्षण पछिल्लो समय दर्ता भएका उद्योगहरुमा विभिन्न प्रकृतिका रहेका रहेका छन् । पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा लगानीकर्ताहरुको बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा प्रतिवद्धता गरेका लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रका छन् । लगानी प्रतिबद्धता आएका १७५ उद्योगमध्ये पर्यटन र सेवामूलक क्षेत्रमा ५३/५३ वटा छन् । उत्पादनमूलक ४४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ७ वटा, कृषि तथा वज्यजन्यमा ९ वटा, उर्जामा उद्योग ६ र निर्माण क्षेत्रमा ३ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।
मेलम्ची आयोजना निरीक्षण गर्दै मन्त्री मगरले भनिन्- ‘वर्षौँको प्यास मेटाउन लागिपरेका छौँ’
काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न र मिति तोक्न एकजुट भएर लागिरहेको बताएकी छिन् । मेलम्ची खानेपानी आयोजनाका लागि आवश्यक पूर्वाधार र आगामी कार्ययोजना बनाइसकेकाले मन्त्रालय, आयोजनाको टिम एकजुट भएर लागिरहेको उनले दाबी गरिन् । आयोजनाको समय थपिंदै जानुले राम्रो सन्देश नदिएको भन्दै मन्त्री मगरले सिएमसीपछिको नयाँ ठेकेदार कम्पनीले उत्साहजनकरुपले काम गरेको बताइन् । मन्त्रालयको विशेष टोलीले यसबारे गहिरो रुपमा केलाएर कामलाई अगाडि बढाइरहेको बताइन् । उनका अनुसार स्थानीयको रोयल्टी निश्चित गर्नका लागि मन्त्रालयस्तरको समस्या समाधान समिति बनाइएको छ । मेलम्ची राजधानी नपुग्दा वर्षौँको प्यास मेटिन नपाएको भन्दै काम पूरा गरेर छाड्ने प्रतिबद्धता जनाइन् । स्थानीय कामदारको पारिश्रमिकबारे मन्त्रालयको सहसचिवको एउटा समिति बनिसकेकाले आवश्यक छानबिन थालिसकेको उहाँले प्रष्ट्याइन् । मन्त्रालयको टोली, आयोजनाका प्रतिनिधि, जनप्रतिनिधिसँगै हेलम्बु गाउँपालिकाको अम्बाथानस्थित खानेपानीको मुहानस्थल, हेर्डबक्सस्थल निरीक्षण गर्दै मन्त्री मगरले चाँडै आयोजनासक्ने प्रतिबद्धता गरिन् । रासस
कीर्ते गरी बीओकेबाट चार करोड ६० लाख कर्जा निकालेर ठगी गर्ने ६ जना पक्राउ
बनियानी(झापा) । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंक अफ काठमाडौँ(बीओके)बाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडौँ–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौँ–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् । “बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरुलाई पक्राउ गरिएको हो”, प्रवक्ता श्रेष्ठले भने, “राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको पाइयो ।” उनीहरुले झापा कनकाई–९ स्थित कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको उनले बताए । उनीहरुविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनामा मकवानपुरका लेखनाथले जिते मोटरसाइकल
काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेता सार्बजनिक गरेको छ । उपहार योजनामा बम्पर उपहारमा मकवानपुरका लेखनाथ पौडेलले यमाहाको एफ जेड एस एफ आइ भि थ्रि मोटरसाइकल जित्न सफल भएका छन् । यसैगरी अर्को बम्पर उपहारमा काठमाडौ रामकोटका किरण घलेले एक साताको लागि एक जोडीलाई दुबई ट्रिप जित्न सफल भएका छन् । सोमबार बम्पर उपहार विजेता सार्बजनिक गरिएको हो । इसेवाको यस उपहार योजनामा ३ सय ५० जनाले विभिन्न भाग्यशाली उपहार जित्न सफल भएका छन् । ६ हप्तासम्म सञ्चालन भएको उपहार योजनामा हरेक हप्ता ५८ जना व्यक्तिले विभिन्न उपहार जित्दै आएका थिए । उपहार योजनामा केफसीको उपहार कुपन हरेक हप्ता १६ जनाका दरले ६ हप्तासम्म ९६ जनाले जित्न सफल भए । यसैगरी उपहार योजनाभर युएफओका तर्फबाट ९६, मिनिसोका तर्फबाट ४८, प्रिती क्लिकको सपिङ भौचर १८ जनाले जित्न सफल भए । यस्तै दुल्लाको वालेटमा १० जना, लाटिदोको व्याग ६ जनाले तथा ओयो रूम ६ जनाले जित्न सफल भए । यस्तै क्यास्पर की, इ ईस्क्यान, एम सेक्युरिटिज र वार्डविजका एन्टि भाइरस १२ जनाका दरले जित्न सफल भए । सिजिका टेलिभिजन ६ जनाले, भायानेटको इन्टरनेट ३ जनाले तथा चियर्सको गिफ्ट भौचर ६ जनाले जित्न सफल भए असोज १ गतेदेखि कात्तिक १६ गतेसम्म इसेवामार्फत कारोबार गर्ने हरेक व्यक्ति यस उपहार योजनामा सहभागी भएका थिए ।
काठमाडाैंका नयाँ स्कूल खाेल्न प्रतिबन्द, पुराना सबै स्कूलमा नेवारी भाषा अनिवार्य
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एक लाख ६५ हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ जना संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । कानूनी रूपमा नै विद्यालय सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यस किसिमको व्यवस्था गरेको हो । कामपा शिक्षा विभाग प्रमुख निर्मला केसीका अनुसार नयाँ विद्यालय सञ्चालन गर्नुभन्दा पनि भएकालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेकाले यस किसिमको कार्य अघि बढाइएको हो । महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षक कार्यरत छन् । यस्तै कामपाले विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजाँदा कामपा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्न लागेको छ । यसैगरी आगामी शैक्षिकसत्रदेखि नेपाल भाषा (नेवारी), दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमकाे रुपमा लागू गर्न लागेकाे उनले बताइन् । रासस
बैंकिङ कारोवारमा ठगी गर्ने रविन्द्र अधिकारी पक्राउ, १ वर्ष कैदसहित २७ लाख जरिवाना
काठमाडौं । बैंकिङ कारोवारका नाममा ठगी गर्ने एक व्यक्ति तीन वर्षपछि पक्राउ परेका छन् । काठमाडौँ साङ्ला घर भई हाल चितवन बस्दै आएका रवीन्द्र अधिकारीलाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँको २०७३ असोजको फैसलाअनुसार बैंकिङ कारोवारका नाममा ठगी गरेकामा दोषी ठहर गर्दै अधिकारीलाई एक वर्ष कैद र रु २६ लाख ७५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । फरार रहेका अधिकारीलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा पेश गरिएकामा आजै अदालतले कैद भुक्तानका लागि भरतपुर कारागार चलान गरेको सिआइबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । अधिकारीले काठमाडौँको गोङ्गबुमा आफू सचिव बनेर बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी बैंकिङ कारोवार सञ्चालन गरेका थिए । केही व्यक्तिसँग मिलेर उनले नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिई निक्षेप सङ्कलन तथा कर्जा प्रवाह गरेको तथा निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी भागेपछि जाहेरी परेको थियो । रासस