इटालीको स्टिल प्लान्टका पाँच हजार कामदारको रोजगारी धरापमा
रोम । इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेका अनुसार मित्तल समूहको नयाँ प्रस्तावका कारण इटालीको कम्पनीबाट पाँच हजार कर्मचारीको भविष्य अन्यौलमा पर्ने भएको छ । स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको हाे । विश्वकै सर्वाधिक ठूलो स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको इल्भा प्लान्ट खरिद नगर्ने निर्णय गरेको छ, र यसको जानकारी इटाली सरकारलाई गराएको छ । मित्तल समूहले इल्भाको सर्वाधिक प्रदूषण फैल्याउने टारान्टो स्टिल प्लान्ट बन्द गर्न अनुरोध गरेको थियो, तर इटाली सरकारले स्थानीयको रोजगारी गुम्ने भन्दै उक्त प्लान्ट बन्द नगर्न मित्तल समूहलाई पत्र लेखेको छ । इटालीका प्रधानमन्त्रीको भनाई सार्वजनिक भएसँगै हजारौंको रोजगारी धरापमा परेको छ । तर प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूहसँगको वार्तापछि भने, “मित्तल समूहले लगानी बमोजिम नाफा गर्न नसकिने भएकाले पाँच हजार रोजगारी कटौती गर्ने प्रस्ताव अघि सारेको छ । तर यो हाम्रा लागि स्वीकार्य छैन ।” प्रधानमन्त्री जियोसेपले आर्सेलोर–मित्तल समूह पुनः वार्तामा आउने र सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । दुबै पक्षलाई स्वीकार्य प्रस्तावले मात्र समस्याको समाधान निकाल्नेछ, प्रधानमन्त्रीले भने । आर्सेलोर–मित्तलले गत वर्ष नोभेम्बरदेखि नै यो प्लान्ट खरिद गर्ने उद्देश्यले काम थालेको थियो । कम्पनीले यस कम्पनीको पुनरुत्थानका लागि करिब २ अर्ब ७० करोड डलर लगानी गर्ने योजना बनाएको छ, र सन् २०२४ सम्ममा प्रदूषण नियन्त्रणका लागि एक अर्ब २० करोड डलर खर्च गर्ने योजना छ । इटालीको दक्षिणमा रहेको टारान्टो स्टिल प्लान्ट विगतदेखि नै विवादको घेरामा तानिएको छ किनभने विज्ञहरुको भनाईमा यस प्लान्टको वरिपरिका करिब ७ हजार ५०० मानिसको प्लान्टबाट निस्कने घातक प्रदूषणका कारण मृत्यु भएको छ । युरोपकै ठूलो मानिएको यस प्लान्टमा आठ हजारभन्दा बढी कामदार कार्यरत छन् । टारान्टो दक्षिण इटालीको सर्वाधिक गरिबी र बेरोजगारी दर उच्च रहेको ठाउँ हो । इटालीका प्रधानमन्त्री कोन्टेले यसै विषयमा कुराकानी गर्न बिहीबार मजदुर युनियनसँग भेटघाट गर्ने बताएका छन् । रासस
दक्षिण कोरियाली कम्पनीद्वारा मेक्सिकोमा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका एटिएम बिक्री गर्ने
सियोल । दक्षिण कोरियाको सूचना प्रविधि क्षेत्रको विशाल कम्पनी ह्योसुङ ग्रुपले सन् २०२० को अन्त्यसम्ममा करिब १७ करोड ४० लाख अमेरिकी डलर बराबरका आठ हजार थान एटिएम बिक्री गर्ने भएको छ । ग्रुपको एटिएम उत्पादन इकाई ह्युसोङ टिएनएस इन्कले मेक्सिकोको ग्रामीण एटिएम परियोजना अन्तर्गत मेक्सिकोको एक परियोजनाका लागि उक्त एटिएम आपूर्ति गर्ने भएको हाे । समूहका अनुसार नयाँ सम्झौता लगत्तै ह्युसोङ टिएनएसको कम्पनीको सेयरमूल्यमा १५ प्रतिशत वृद्धि हुनेछ । आर्थिक रुपमा जोखिममा रहेका मानिसलाई कल्याणकारी कार्ड मार्फत सरकारी सेवा उपलब्ध गराउन यस परियोजनाले मद्दत गर्नेछ । मेक्सिकोका झण्डै दुई करोड मानिस सरकारी सहयोग कार्यक्रममा आबद्ध छन्, तर वित्तीय सेवा पूर्वाधारको कमीका कारण उनीहरुलाई समयमै नगद प्राप्त गर्न कठिनाइ हुने गरेको छ । यसैबीच, ह्युसोङका अध्यक्ष चो ह्यून–जूनले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरलाई बुधबार भेट गर्नुभएको कम्पनीले जनाएको छ । त्यस अवसरमा मेक्सिकोको ऊर्जा पूर्वाधार र नवीकरणीय ऊर्जा क्षेत्रमा उपलब्ध अवसरका बारेमा छलफल भएको थियो । रासस
५ करोडको लगानीमा खुल्यो अटो गार्डेन, साना गाडीको सबै काम मेसिनबाटै
काठमाडौं । चितवनमा अत्याधुनिक प्रविधिबाट साना गाडीको अटो मेकानिकल काम गर्ने अटो गार्डेन सञ्चालनमा आएको छ । उक्त अटो गार्डेन मकवानपुरका युवा निर्माण व्यवसायी सुरेन्द्र पाठकले ५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । भरतपुर-१२ मिलनचोकमा १५ कठ्ठा जग्गामा अटो गार्डेन सञ्चालनमा ल्याएको व्यवसायी पाठकले बताए । अटो गार्डेनका लागि केही मेसिनहरु विदेशबाट केही दिनमा नै आइपुग्ने बताए । हाल सञ्चालनमा आइसकेको अटो गार्डेनबाट सबै मेसिन आइसकेपछि पूर्ण रुपमा सेवा शुरु हुने छ । अटो गार्डेनमा ३० जनाले रोजगारी पाएका छन् । थ्रीडी प्रविधिद्वारा हृवील अलाइमेन्ट नेपालमा नै पहिलोपटक अटो गार्डेनले प्रयोगमा ल्याएको पाठकले दाबी गरे । अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट अटो गार्डेनमा अत्याधुनिक मेसिन भित्र गाडी हालेर वास र पेन्ट गरिन्छ । यसरी मेसिन भित्र हालेर गाडीको वास र पेन्टिङ गर्दा नयाँ जस्तै चमक देखिन्छ । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा गाडीको आयु लामो हुने अटो गार्डेनका सञ्चालक पाठकले दाबी गरे । मेसिनबाट गाडीको सर्भिसिङ गर्दा समयको बचत समेत हुनेछ । अत्याधुनिक प्रविधिमार्फत सर्भिसङ, पेन्ट, थ्रीडी प्रविधिद्वारा अलाइनमेन्ट, अटोमेटिक मेसिनमार्फत प्युरिफाई पानीद्वारा वास गर्ने र टायर चेन्जर लगायतका सेवा अटो गार्डेनले प्रदान गर्नेछ । अटो गार्डेनभित्रै क्याफेसमेत सञ्चालित छ । आफ्नो गाडी बनाउन आउँदा ग्राहकले क्याफेमा बसेर आनन्द लिन सक्छन् । देशैभर कार तथा जिप चढ्ने प्रयोगकर्ताहरुको संख्या बढेसँगै प्रविधिको प्रयोगबाट अन्तर्राष्ट्रिय स्तरको मर्मत एकै थलोबाट हुने गरी चितवनमै पहिलोपटक अत्याधुनिक मेसिन ल्याई अटो गार्डेन सञ्चालनमा ल्याइएको अटो गार्डेनका मेकानिकल इञ्जिनियर दिनेश पण्डितले बताए ।
ऊर्जामन्त्री वर्षमान पुनले भने- ‘अबकाे दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नुपर्दैन’
सल्यान । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पुर्याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताएका छन् । “कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युत्को पहुँचबाट बाहिर रहेका छन् । सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुनुपर्दैन ।” मन्त्री पुनले भने । अहिले कर्णालीका सबै बस्तीमा विद्युत् पुर्याउनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको जानकारी दिए । पत्रकारको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कर्णाली प्रदेशभित्रका नदीनालाबाट पनि बहुउद्देश्यीय आयोजना निर्माण गर्नसक्ने सम्भावना रहेकाले त्यस्ता योजनाको अध्ययन गरिने बताएका छन् । “सल्यानकै कालीमाटी गाउँपालिकामा– ९३ मेगावाटको जलाशययुक्त विद्युत् निर्माणका लागि अध्ययन भइसकेको छ, गाउँपालिकाको असहयोगका कारण प्रतिवेदनसमेत बुझ्न सकिएको छैन,” मन्त्री पुनले भने । प्रतिवेदन बुझिसकेपछि योजना बनाउन सम्भव या असम्भ के हुन्छ प्रभावित क्षेत्रका बासिन्दालाई के गर्ने भन्नेपछि गर्ने कुरा भएकोले प्रतिवेदन बुझाउने वातावरण तयार गराउन सबैले सहयोग गर्न मन्त्री पुनले अनुरोध गरेका छन् । “विद्युतीकरणमा विगतका वर्षमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो अवस्था आउने वातावरण सिर्जना नगर्नुस् आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन गर्नुस् ।” पुनले भने । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशले विद्युतीकरणलाई पहिलो प्राथमिकता दिएको जानकारी दिएका छन् । “ कर्णालीका धेरै बस्ती विकट छन् त्यहाँ विद्युतीकरण गर्न सजिलो छैन । तर पनि हामी अबको दुई वर्षमा विद्युत् पुर्याएरै छोड्छौं,” मन्त्री ज्वालाले भने । विद्युत् पुगेपछि अन्य धेरै सम्भावनाका ढोका खुल्ने भएकाले प्रदेश सरकारले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेको जानकारी समेत दिए । कर्णाली प्रदेशमा विद्युतीकरणका लागि विद्युत् प्राधिकरणको प्रदेशस्तरीय कार्यालयको स्थापना गरिसकेको भन्दै मन्त्री ज्वालाले प्रदेशभित्र पनि सम्भावित जलविद्युत् आयोजनाको अध्ययन गरिने बताएका छन् । बुधबार सङ्घीय सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जिल्लाको दार्मा गाउँपालिकामा बिजुलीको उद्घाटन गरेका थिए । योसँगै जिल्लाका १० वटै स्थानीय तहका केन्द्रसम्म विद्युत् पुगेको छ । सल्यानमा हालसम्म ३५ प्रतिशत नागरिक विद्युत्को पहँुचभित्र रहेको विद्युत् प्राधिकरण सल्यानका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिएका छन् । रासस
चीनमा रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाइने
काठमाडौँ । चीनले बालबालिकाहरूलाई अनलाइन गेमको लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अठार वर्षभन्दा मुनिकाहरूले रातको १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन खेल खेल्न नपाउने व्यवस्था गरिँदैछ । त्यसबाहेक सामान्य दिनमा डेढ घण्टा र सप्ताहान्त तथा बिदाका बेला तीन घण्टा मात्र अनलाइन खेलको मजा लिन पाउने व्यवस्था मिलाउन लागेको बताइएको छ । भिडियो गेमको लतले बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परेको अधिकारीहरूले बताएका छन् । अनलाइन खेलका हिसाबले चीन विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो । मङ्गलवार सार्वजनिक गरिएको सरकारी निर्देशनमा त्यस्ता खेलमा बालबालिकाहरूले गर्ने खर्च समेत तोकिएको छ । जसअनुसार आठदेखि १६ वर्षकाले मासिक २०० युआनसम्म खर्च गर्न पाउने छन् भने १६ देखि १८ वर्षसम्मका युवाको हकमा ४०० युआनसम्म खर्च गर्न पाउने छन् । चीन विश्वको दोस्रो ठूलो अनलाइन खेल बजार हो । रिसर्च कम्पनी न्यूजूका अनुसार यस वर्ष पहिलो पटक अमेरिकाको कमाइ चीनभन्दा बढी हुन गयो । भिडिओ गेमका कारण बालबालिका तथा युवामा पर्ने असरलाई चीनले कडा रूपमा आलोचना गर्दै आएको छ । अत्यधिक खेलका कारण बालबालिकाको नजिकको हेर्ने क्षमता कमजोर हुँदै गएपछि सन् २०१८ मा चीन सरकारले अनलाइन खेललाई नियमन गर्ने निकाय गठन गर्ने घोषणा गरेको थियो । त्यसै वर्ष चीनले नयाँ भिडिओ गेम उत्पादनका लागि अनुमति दिन बन्द गरेको थियो जुन नौ महिनासम्म लागु हुँदा ठूला उद्योगमा असर परेको थियो । केही ठूला उत्पादकहरूले सरकारको कदमलाई सकारात्मक ढङ्गले ग्रहण गरे पनि ती प्रावधानलाई लागु गर्न र उमेरको जाँच गर्ने कार्य भने निकै चुनौतीपूर्ण मानिएको छ । विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष अनलाइन खेलको लतलाई ‘गेमिङ डिसअर्डर’को रूपमा सूचीकृत गर्दै पहिलो पटक त्यसलाई मानसिक स्वास्थ्यको स्थितिका रूपमा परिभाषित गरेको थियो । हालैको अमेरिकी साइक्याट्री एसोसिएशनको मानसिक रोगसम्बन्धी पुस्तिकाले भने यसलाई औपचारिक रूपमा पहिचान गरेको छैन । तर इन्टरनेट गेमिङ डिसअर्डर थप अध्ययन गर्न सकिने एक किसिमको स्थितिको रूपमा भने सूचीकृत गरिएको छ । केही देशहरूले अत्यधिक खेल्नुलाई प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पहिचान गरेका छन् र धेरैले यस अवस्थाको उपचार गर्नका लागि निजी चिकित्सालय राखेका छन् । (-बीबीसीबाट)
भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न
गोरखा । गोरखा जिल्लामा भूकम्पले क्षति पुर्याएका २८७ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको तीन वर्षको अवधिमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा विद्यालय भवन पुनःनिर्माणको काम तीव्रगतिमा भइरहेको प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर बाबुराम देवकोटाले जानकारी दिएका छन् । “जिल्लामा भूकम्पले कूल ४१९ विद्यालयमा क्षति पुर्याएको हो”, उनले भने, “त्यसमध्ये प्राथामिकताका आधारमा विद्यालय भवनको पुनःनिर्माणको काम भइरहेको छ ।” इञ्जिनीयर देवकोटाले गत आर्थिक वर्षको कार्यक्रमअन्तर्गत जिल्लाको ७० विद्यालयमा शौचालय निर्माणसमेत सम्पन्न भइसकेको बताए । भवनका हिसाबले हेर्दा जिल्लामा अहिलेसम्म २९५ विद्यालयको भवन पुनःनिर्माण भएको उनले जानकारी दिएका छन् । “पुनःनिर्माण भएकामध्ये पनि १२० विद्यालयलाई अझै कक्षाकोठा अभाव भइरहेको भन्ने गुनासो छ”, इञ्जिनीयर देवकोटाले भने, “त्यसका लागि पनि अपुग विद्यालयमा थप कक्षाकोठा निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।” जिल्लामा यस वर्ष विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको उनले जानकारी दिए । प्राधिकरणमार्फत जिल्लामा चालू आवमा ६५ विद्यालय भवन निर्माण हुने एकाइले जनाएको छ । “आवश्यकताका आधारमा दुईकोठे, तीनकोठे र चारकोठे गरी यो आवमा ६५ विद्यालय भवन निर्माण गर्ने योजना रहेको छ, त्यसका लागि काम शुरु भइसकेको छ”, उनले भने । उनले यो वर्षमा गोरखामा दुईकोठे विद्यालय भवन १०, तीनकोठे पाँच र चारकोठे ५० वटा निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । भवन निर्माणका लागि स्थानीय तहहरुले आवश्यकता आधारमा प्रस्ताव पेश गर्ने र त्यसैका आधारमा एकाइले छनोट गरी पुनःनिर्माणको काम अघि बढाउने इञ्जिनीयर देवकोटाको भनाइ छ । जिल्लामा विद्यालय भवन र शौचालय निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट करिब रु ४० करोड बजेट विनियोजन भएको इञ्जिनीयर देवकोटाले जानकारी दिएका छन् । रासस
बलिउड सुपरस्टार गोविन्दा नेपाल चलचित्र स्वर्णिम महोत्सवमा
काठमाडौं । बलिउडका सुपरस्टार गोविन्दा अहुजा नेपाल चलचित्र स्वार्णिम महोत्सवमा सहभागी भएका छन् । विरगञ्जमा बिहिबारदेखि हुने उक्त महाेत्सवमा सहभागी हुन श्रीमती सुनिता अहुजाकासाथ उनी मंगलबार नेपाल आएका हुन्। नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने उक्त कार्यक्रम नेपालको चलचित्र क्षेत्र र यसबाट हुने सकारात्मक तथा नकारात्मक कुराको बारेमा छलफल हुने आयोजक चलचित्र निर्माता संघले जानकारी दिएको छ । नेपालका विभिन्न भाषा, संस्कृति, परम्परागत विषयलाई लिएर हुने उक्त कार्यक्रम कार्तिक २३ गतेसम्म हुनेछ । चलचित्र क्षेत्रमा आबद्ध रहेका राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति रहने जनाइएकाे छ । सो कार्यक्रम मार्फत भविष्यमा चलचित्र क्षेत्रको अवस्था तथा चुनौतीका विषयमा पनि कुरा हुनेछ । नेपाली युवतीसँग विहे गरेकै कारण गोविन्दा पटक-पटक नेपाल आउने गरेका छन् । गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागिता जनाउन उनी छोरीसहित नेपाल आएका थिए ।
धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले लिए अनुमति, ३२ लाख रोयल्टी संकलन
गलेश्वर । यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रु ३२ लाख रोयल्टी प्राप्त भएको छ । यस वर्षको शरद यामका लागि पर्यटन विभागले कात्तिकसम्म दिएको अनुमतिबाट रु ३२ लाख आठ हजार पाँच रोयल्टी उठेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धवलागिरिको पश्चिम मोहडाबाट आरोहण गर्ने अनुमति लिएको जनाइएको छ । धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ । अनुमति लिने क्रम निरन्तर हुने भएकाले धवलागिरि हिमाल आरोहणमा आरोहीको सङ्ख्या बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सन् १९६० मे महिनाको १३ तारिखमा अष्टेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेको रेकर्ड देखिन्छ । तर, विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वे गरेको भए पनि १९४९ मा स्वीस हवाई सर्वेक्षण अज्ञात रहेको थियो । केही समय अगाडि विश्व कीर्तिमानी गर्ने क्रममा म्याग्दीका निर्मल पुर्जाले अतिरिक्त अक्सिजनबिनै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो । अहिलेसम्म सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । त्यसपछि मनास्लु हिमालका लागि २७ दलका २६४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । रासस