महासंघको वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी, अध्यक्ष निर्वाचनको विषयमा अझै विवाद
काठमाडौं । विधान संशोधनका लागि बोलाईएको विशेष साधारणसभा स्थगित निश्चित भएपछि नेपाल उद्योग वाणिज्य महासंघमा वहस आगामी निर्वाचनमा केन्द्रीत भएको छ । महासंघका नेताहरुबीच चैतमा हुने चुनाव, नेतृत्वका आकांक्षी र टिकटको विषयमा छलफल केन्द्रीत हुन थालेको छ । चुनावी साधारणसभाअघि विधान संशोधन नहुने भएपछि अबको निर्वाचन हालकै विधान अनुसार वरिष्ठ उपाध्यक्षमा केन्द्रीत हुने भएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष घोषणा गरिने छन् । वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म चार जनाले आकांक्षा व्यक्त गरेका छन् । उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र पूर्व उपाध्यक्ष तथा तीन नम्बर प्रदेश प्रमुख दिनेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा अगाडि आएका छन् । चार मध्ये सबैभन्दा बलियो उम्मेदवारको रुपमा धेरैले चन्द्रप्रसाद ढकाललाई लिन्छन् । उनले अरु आकांक्षीलाई समेत विश्वासमा लिएर सर्वसहमतिको प्रयास गरेका जानकारीहरु बताउँछन् । यसअघि पनि ढकाल एसोशियन तर्फको उपाध्यक्ष पदमा सर्बसहमत भएकोले उनी सर्वसहमति हुन सक्ने अनुमान गरिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति दुई वर्षपछि स्वतः अध्यक्ष बन्ने भएकोले यति धेरै महत्वपूर्ण पदमा सर्बसहमति जुट्ने सम्भावना कम रहेको बताइन्छ । महासंघको नेतृत्व विधान संशोधनका प्रस्तावहरु आगामी साधारणसभामा विशेष प्रस्तावको रुपमा लैजान तयार भएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कहिलेदेखि लागू हुने भन्नेमा विवाद अझै बाँकी छ ।
नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक
केप टाउन । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ । यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन ९पिएआईए० मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिहरुले कुनै व्यक्ति वा संस्थाबाट एक लाख रान्ड (६ हजार ७३९ अमेरिकी डलर) भन्दा बढी रकम चन्दा लिएको भए त्यस्तो व्यक्ति वा संस्थाको अभिलेख राख्नुपर्ने र कसैले सूचना माग गरेको अवस्थामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । संसदका प्रवक्ता मोलोटो मोथापोका अनुसार संशोधित विधेयकमा राजनीतिक नेताहरुले आवधिक रुपमा अभिलेख सरकारी निकायलाई उपलब्ध गराउनुपर्ने तथा त्यस्तो अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । जुन २१, २०१८ मा दक्षिण अफ्रिकाको संवैधानिक अदालतले सूचनाको हक सम्बन्धी कानुनमा राजनीतिक नेता र स्वतन्त्र उम्मेदवारलाई सूचनाको हकबाट उन्मूक्ति दिने प्रावधान खारेज गरिदिएको थियो । साथै, अदालतले कानुन संशोधनका लागि १८ महिनाको समयावधि तोकेको थियो । यसै वर्षको जुन २४ मा सरकारले संसदमा संशोधित विधेयक प्रस्तुत गरेको थियो । मोथापोले राजनीतिक दलको आर्थिक पारिदर्शिताका सन्दर्भमा विभिन्न क्षेत्रसँग व्यापक परामर्श गरिएको, लिखित सुझाव संकलन गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए । प्रवक्ता मोथापोले उक्त विधेयक अब माथिल्लो सदनमा प्रस्तुत हुने, र त्यहाँबाट पारित भएपछि कानुनको रुप लिने जानकारी दिए । रासस/सिन्ह्वा
८ महिना बितिसक्दा पनि त्रिविले गरेन बिबिएसको नतिजा प्रकाशन, अब ३ दिनमा हुने
काठमाडौं। परीक्षा सञ्चालन भएको ८ महिना बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियनत्रण कार्यालयले २०७५ साल चैत्र महिनामा लिएको व्यवस्थापन संकाय तर्फ चार बर्ष बिबिएस चौथो वर्षको नतिजा ८ महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसकेको हो । बिबिएस चौथो वर्षकाे परीक्षामा यस वर्ष ३८ हजार विद्याार्थी सामेल भएका थिए । अघिल्लो वर्ष पनिकाले बिबिएस चौथो वर्षको ५ महिनाको अन्तरालमा नतिजा प्रकाशित गरेको थियो । पनिकाले ३ महिनामा नतिजा प्रकाशन गराउँछौ भनेर बताउँदै आए पनि कार्यलयमै उत्तरपुस्तिका आउन मात्रै २ महिना लाग्ने सह-नियन्त्रक घनश्याम ठाकुरले बताए । परिक्षार्थी धेरै र कापी जाँच्ने शिक्षकहरु कम भएको कारणले नतिजा प्रकाशनमा ढिला भईरहेको ठाकुरले बताए । उनले भने-‘सेमेस्टरमा समयमा नै काम गर्नुपर्ने हुनाले ब्याचलरमा सेमेस्टर प्रणाली रहेको बिबिए, बिआईएम विषयको कापी जाँच्न शिक्षकहरु डिन कार्यलयमा व्यस्त छन् । सेमेस्टरको दाँजोमा उनिहरुले वार्षिक प्रणालीलाई खासै महत्व दिदैनन् ।’ व्यवस्थापन संकाय तर्फको सबै बिषयको परीक्षा नतिजा सँगै प्रकाशित गर्ने भएकोले पनि अन्य विषयको दाँजोमा व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशनमा ढिला भईरहेको उनले बताए । पनिकाका अर्का सह- नियनत्रक पशुपती अधिकारीले कार्यलयको बिचमा सफ्ट्वेयर बद्लिएको कारणले नतिजा प्रकाशनमा थप ढिला भएको, तर अब केही दिनमा नै नतिजा प्रकाशन हुने बताए। शंकरदेव कलेजबाट बिबिएस चौथो वर्षको दिएर बसेकी यशोदा पाैडेलले नतिजा ढिला आएको कारण रोजगारीको लागि दरखास्त दिन नपाएको गुनासो गरिन् । सबैले ब्याचलार पास भएको सर्टिफिकेट माग्छन्-उनले भनिन्। कैलाली बहुमखी क्याम्पसका राजेन्द्र बिष्ट भन्छन्-‘ नतिजा समयमा प्रकाशन नहुँदा एक वर्ष खेर गएको जस्तो लागिरहेको छ ।’
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि, चिनियाँ लगानीकर्ता आकर्षित
काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटल क्षेत्रमा वैदेशिक लगानी उत्साहवद्र्धकरुपमा वृद्धि भएको पाइएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत लगानी वृद्धि भएको छ । विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग छन् । चिनियाँ लगानीको आकर्षण उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेस्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ । चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेस्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानीको प्रतिबद्धता आएको छ । आर्थिकरुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन् । यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुराँमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ । समग्रतामा नेपालको पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ । मुलुकमा लगानीको वातावरण सिर्जना भएको र नीतिगत सुधारका कारण पनि लगानी बढेको उल्लेख विभागले जनाएको छ । होटल एशोसिएसन अफ नेपाल (हान)का प्रथप उपाध्यक्ष विनायक शाहले नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास व्यक्त गरे । पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहेपनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो उनले औँल्याए । हानसँग आबद्ध पर्यटकस्तरदेखि पाँचतारे होटलसम्म गरी दुई हजार हाराहारी होटल छन् । हानका १५ क्षेत्रीय च्याप्टर छन् । ती होटलमा झण्डै ४८ हजार श्यया रहेको व्यवसायीको दाबी छ । अहिलेकै अवस्थामा २० लाख पर्यटकलाई व्यवस्थापन गर्न सकिने व्यवसायीले जनाएका छन् । सरकारले भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । होटलपछि हवाई यातायात र सडक यातायात पनि महत्वपूर्ण हुन् । रासस
बिजुलीको महशुल २० देखि ३० प्रतिशत बढ्दै, कस्ले कति तिर्नु पर्छ ?(सरकारी प्रस्तावसहित)
काठमाडौँ । सरकारले बिजुलीको महशुल २० देखि ३० प्रतिशतसम्म बढाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल समायोजन गरेको ३ वर्षपछि पुनः मूल्य समायोजन गर्न विद्युत नियमन आयोगलाई महशुल बढाउने प्रस्ताव पठाएको हो । यसले उपभोक्तालाई प्रत्यक्ष असर पर्ने देखिएको छ । अहिले पठाएको विद्युत महशुल प्रस्ताव जस्ताको तस्तै पास भएमा अहिले ८० रुपैयाँ तिर्दै आएका २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले एक सय रुपैयाँ तिनुपर्ने हुन्छ । अब विभागले महशुल समायोजन गर्दा डेडिकेटेड लाइनबाट विद्युत खपत गर्ने औद्योगिक घराना तथा सरकारी नियकादेखि सर्वसाधारण उपभोक्तासम्मको गर्नेछ । हाल घरमा ५ एम्पियरको मिटर जडान गरेका २० युनिटसम्म विजुली खपत गर्ने उपभोक्ताले ८० रुपैयाँ तिर्दै आएकोमा प्रस्तावित शुल्क अनुसार १ सय रुपैयाँ तिर्नुपर्ने छ । १५ एम्पियरको मिटर जडान गर्ने उपभोक्ताले अब न्यूनतम ४ सय ४० रुपैयाँ विद्युत् महशुल तिर्नुपर्ने भएको छ । यसअघि यो वर्गका उपभोक्ताले जम्मा ३ सय ६५ रुपैयाँँमात्रै विद्युत महशुल तिरे पुग्ने थियो । घरमा थ्री फेज मिटर जडान गर्नेले १० केभिएसम्म प्रतियुनिट १४ रुपैयाँ ४० पैसा र १० केभिएदेखि २५ केभियसम्म प्रतियुनिट १५ रुपैयाँको दरले महशुल तिर्नुपर्ने व्यवस्था हुन लागेको हो । सरकारले १० केभिएसम्मको लागि २ रुपैयाँ ४० पैसा र सोभन्दा माथिको लागि साढे दुई रुपैयाँ महशुल बढाउने तयारी थालेको हो । मझौला भोल्टेजतर्फ २५ केभियभन्दा माथि विद्युत खपत गर्नेले अब न्यूनतम ३७ हजार ५ सय महशुल तिर्नुपर्ने हुन सक्छ । यसअघि यस्ता ग्राहकले ३१ हजार २ सय ५० रुपैयाँमात्रै तिरेपुग्ने थियो । ग्रामीण तथा साना उद्योगले प्रति युनिट ७ रुपैयाँ ८० पैसा र साना उद्योगले प्रति युनिट ९ रुपैयाँ ६० पैसा न्यूनतम महशुल तिर्नुपर्ने छ । व्यापारिक प्रतिष्ठानले अहिले ९ रुपैयाँ ३५ पैसा तिर्दै आएकोमा अब ११ रुपैयाँ २० पैसा तिर्नुपर्ने प्रस्ताव गरिएको छ । गैर व्यापारिकको लागि भने प्रति युनिट १२ रुपैयाँ महशुल तिर्नुपर्ने हुन सक्छ । सामुदायिक खानेपानी र सिंचाईको लागि भने प्रतियुनिट ४ रुपैयाँ ३० पैसा महशुल हुन सक्छ । यो सरकारले लिने महशुलमध्ये सबैभन्दा कम हो । प्राधिकरणले अस्थायी कनेक्शनको लागि प्रतियुनिट १९ रुपैयाँ ८० पैसा महशुल तोक्ने भएको छ । अहिले यस्तो कनेक्शन जडान गर्नेले प्रतियुनिट साढे १६ रुपैयाँ महशुल तिर्दै आएका छन् । प्राधिकरणले विद्युत् नियमन आयोगलाई बिजुलीको महशुल बढाउन प्रस्ताव गरेपछि उसले न्यायिक तरिकाबाट मूल्य समायोजन गर्ने तयारी गरेको छ । प्रस्तावित महशुलमा सार्वजनिक सुनुवाई गरी विज्ञसँग छलफल गरी सार्वजनिक सूचना निकालेर न्यायिक प्रक्रियाबाट मूल्य समायोजन गर्ने आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले बताए । ‘उपभोक्ताको हिललाई संरक्षण गर्दै प्राधिकरणको समुचित आयको व्यवस्था गरी देशको समग्र क्षेत्रलाई सुहाउँदो गरी महशुल निर्धारण गछौं,’ उनले भने । निर्देशिका छलफल गर्न एक साताको समय दिइएको छ । निर्धारित छलफलको समय यहि २५ गतेसम्म भएकोले यहि महिनामा निर्देशिका सार्वजनिक हुन्छ । त्यसपछि प्राधिकरणले निर्देशिका अनुसारको डकुमेन्ट बनाउन पर्छ । प्राधिकरणबाट डकुमेन्ट आएपछि मिलाएर सबैलाई खुशी पार्ने गरी महशुल निर्धारण गर्ने तयारी आयोगको छ । नियमन आयोगले विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका २०७६ मस्यौदा राय सुझावका लागि मंगलबार सार्वजनिक गरेको छ । उक्त मस्यौदामा समेत बिजुलीको भाउ समायोजन हुने व्यवस्था गरिएको छ ।
शाओमीको पाँचौं आधिकारिक सर्भिस सेन्टर शुरु
काठमाडौँ । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नारायणघाटमा आधिकारिक सर्भिस सेन्टर शुरु गरेको छ । नारायणघाटमा शाओमीले पाँचौं सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको हो । अन्य सर्भिस सेन्टरहरु काठमाडौं, नेपालगन्ज र इटहरीमा छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरु प्रदर्शन गरिरहेको छ । कम्पनीले नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको छ । यस अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने-‘शाओमीमा हामी वास्तवमै सबैलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित छौं । शाओमीमा सर्भिसको गुणस्तर प्रमुख स्तम्भ भएकाले हामी आफ्टर सेल्स र ग्राहक सेवाप्रतिको प्रयासमा हाम्रा नवीनतम उपायहरुको उत्तम कार्यान्वयन गर्न जारी राख्दछौं ।’
केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले केन्द्रीय बहिरा क्याम्पस, नक्साललाई रु. १० लाख आर्थिक सहयोग गरेको छ । विहीबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्न सामुदायिक कलेजको रुपमा ६ बर्ष अगाडि स्थापना गरिएको केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ । क्याम्पसमा हाल छात्र/छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययनरत छन् । व्यवस्थापन समिति अध्यक्ष प्राडा हमालका अनुसार हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बीएड कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरी ब्यबस्थापनको पढाई समेत सञ्चालन गर्ने योजना बनाएको छ ।
भक्तपुरको भाटभटेनीमा क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स
काठमाडौँ । क्यूएफएक्स सिनेमाजले भक्तपुर ठिमीको भाटभटेनीमा आफ्नो पहिलो मल्टिप्लेक्स लञ्च गरेको छ । रिगल सिनेमाज् प्रालिको लगानी रहेको यस हलमा टीम क्वेस्टकोको व्यवस्थापन रहनेछ । नयाँ निर्माण गरिएको थिएटर भक्तपुरको ठिमी स्थित भाटभटेनी सुपरमार्केटको पाँचौं तल्लामा रहेको छ । थिएटरमा डेप्थ क्यू थ्रीडी टेक्नोलोजीको प्रयोग गरिएको छ, जुन आफ्नो क्षेत्रमा विश्वव्यापी लिडरको रुपमा रहेको छ । यसका साथै तीनवटै स्क्रिनहरुमा डोब्ली एट्मोस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ । पहिलो पल्ट क्यूएफएक्स सिनेमाजको थिएटरमा रिक्लिनर सिटहरुको व्यवस्था गरिएको यो नयाँ मल्टिप्लेक्समा ७०२ सिट क्षमता रहेको छ, जसमध्ये ४० वटा रिक्लिनर सिट रहेका छन् । यो नयाँ तीन स्क्रिनको मल्टिप्लेक्स संचालनसंगै क्यूएफएक्स सिनेमाजको जम्मा स्क्रिन संख्या २३ पुगेको छ । रिगल सिनेमाज् प्रालिले नेपालका दुई अरु लोकेशनहरुमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ, जसमध्ये बुटवलको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु र विराटनगरको भाटभटेनी सुपरमार्केटमा २ स्क्रिनहरु पनि तुरुन्तै सञ्चालनमा आउने जनाइएको छ ।