विकासन्युज

ग्लोबल आइएमई बैंकको थप १० शाखारहित बैंकिङ सेवा संचालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाकोपुर्चाैडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङजिल्लाको जैमीनीनगरपालिका वडा नं. ८, अर्के छिस्ती,म्याग्दीजिल्लाको रघुगंगा गाउँपालिका वडा नं. १,बेगखोलामा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको हो । त्यसैगरी मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । यी १० वटै शाखारहित बैंकिङ्ग सेवाहरुस्थानीयजनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवितथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएका छन् । थप १० वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १९४ पुगेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डीसहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमाशाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

घट्दो बजारमा यस्तो छ लक्ष्मी बैंकको अवस्था

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । जुन गत दुई वर्ष यताकै उच्च लाभांश दर हो । समग्रमा बैंकहरुले दिएको लाभांशअनुसार यो औषत दर हो । अघिल्लो वर्ष(आर्थिक वर्ष २०७४/७५मा) बैंकले सेयरधनीलाई ८.५ प्रतिशत बोनस र ०.४५ प्रतिशत नगद गरी ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ मा बैंकले कूल १०.५३ प्रतिशत लाभांश(१० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद) वितरण गरेको थियो । गत असारमा बैंकको पुँजी पर्याप्तता अनुपात ११.३३ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकले तोकेको न्यूनतम १० प्रतिशत भन्दा बढी हो । जसले गर्दा बैंकले साे मात्राकाे लाभांश दिन लागेकाे हाे । १५ प्रतिशत लाभांश दिन लागेको बैंकको सेयर मूल्य भने प्रतिकित्ता २२० रुपैयाँ रहेको छ । जुन मूल्य आजको दिनमा सस्तो हो ।  तर बीचमा अर्थात गत फागुन १२ गते बैंकको सेयर मूल्य प्रतिकित्ता १८३ रुपैयाँ रहेको थियो । त्यसपछि विस्तारै बढेर वैशाख १२ गते प्रतिकित्ता २४१ रुपैयाँमा खरिद बिक्री भएको थियो, जुन यस वर्षकै अधिकतम मूल्य हो । गत वैशाखमा प्रतिकित्ता २४१ रुपैयाँ पुगेको बैंकको सेयर मूल्य त्यसपछिको मूल्यमा केही उतारचढाव भएको थियो । उक्त समयमा यस बैंक एभरेष्ट बैंकसँग मर्जमा जाने हल्ला रहेको थियो । कहिले मर्जमा जाने हल्ला त कहिले नजाने हल्लाले कम्पनीको सेयर मूल्यमा उतारचढाव आएको हो । यस बैंकका प्रमुख संस्थापक सेयरधनी राजन खेतान हुन् । उनी आफै ठूला सेयर कारोबारी हुन् । जसले गर्दा कतै यो बैंकको सेयर कारोबारमा प्रभाव परेको हो की भन्ने पनि बजारमा आशंका गरिन्छ । बैंकले हालसम्म चालु आवको पहिलो त्रैमासिकको वित्तीय विवरण प्रकासित गरेको छैन । गत आवको अन्तिम त्रैमासिक(असार मसान्तकाे) वित्तीय विवरण अनुसार बैंकले ५४ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । जुन अघिल्लो त्रैमासिक(चैत मसान्तकाे)को तुलनामा २४ करोड रुपैयाँले बढी थियो । चैत मसान्तमा बैंकले ३० करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै, जगेडा कोषको रकम ५ लाख ६७ हजारले घटेर गत असारमा २ अर्ब १६ करोडमा झरेको छ । असारसम्म आईपुग्दा बैंकको निक्षेप पनि घटेर ७४ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ । गत चैतमा ७८ अर्ब २१ करोड रुपैयाँ संकलन भएको बैंकको निक्षेप असारमा तीन अर्ब ६७ करोड रुपैयाँले घटेको हो । कर्जा परिचालन चार अर्बले बढेर ७५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । गत असारमा रिटेन अर्निङ् ६० प्रतिशतले वृद्धि भई एक अर्ब ५५ करोड रुपैयाँ कायम भएको थियो । गत चैतमा बैंकले ९६ करोड ८६ लाख रुपैयाँ रिटेन अर्निङ् कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर १७.६७ रुपैयाँ पुगेको छ । जुन चैत मसान्तमा १५.३९ रुपैयाँ रहेको थियो । सो अवधिमा बैंकले निष्क्रिय कर्जा अनुपातमा केही सुधार गरेको छ । गत चैत मसान्तमा १.२० प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जालाई असारसम्म १.११ प्रतिशतमा झारेको छ । त्यस्तै, लोनलस प्रोभिजन घटेर १५२.९२ प्रतिशत पुगेको छ । चैतमा बैंकको लोनलस प्रोभिजन १६६.९४ प्रतिशत रहेको थियो । गत असारसम्म बैंकको ब्याज आम्दानी दुई अर्ब ४० करोड रुपैयाँले बढेर आठ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । ब्याज खर्च बढेर पाँच अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, गैर परिचालन आम्दानी एक करोड ६ लाख रुपैयाँ र खर्च ६ करोड १८ लाख रुपैयाँ रहेको छ । बैंकको कस्ट अफ फण्ड घटेर ७.०१ प्रतिशत, बेसरेट बढेर १०.३१ प्रतिशत र सीसीडी रेसियो घटेर ७७.१३ प्रतिशत हुँदा पुँजी पर्याप्तता अनुपात भने ११.३३ प्रतिशतमा छ । नेपाल राष्ट्र बैंकको परिमार्जित स्प्रेडदर गणना विधिअनुसार बैंकको ब्याजको स्प्रेडदर बढेर ४.३७ प्रतिशत छ जुन राष्ट्र बैंकले तोकेको ४.४ प्रतिशतको सीमाभित्र हो ।

अघि बढ्यो अलपत्र परेको मेलम्ची, यसरी हुँदैछ काम

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्णरुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न शुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८०० मिटर क्षेत्रमा कङ्क्रिट ढलानको काम अघि बढिरहेको छ । राष्ट्रिय गौरवको योजनामा पर्ने सो आयोजनाको बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने एक सम्झौतामा सरकारले दुई महिना अघि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले नयाँ ठेकेदार कम्पनीले नयाँ उत्साहका साथ काम थालेकाले ती काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आएकी छिन् । आयोजनामा कामको प्रगति बुझ्न बुधबार यहाँ आइपुग्नु हुँदा मन्त्री मगरले चिनियाँ कम्पनी सिनो हाइड्रो उत्साहका साथ पूर्वाधारको तयारीमा जुटिरहेको बताए । काठमाडौँका जनताले भोग्दैआएको खानेपानीको अभाव पूरा गर्ने यो आयोजनाको निर्माणमा धेरै समय लागिसकेकाले अब थप लम्बाउन नदिने उनले प्रतिबद्धता जनाइन् ।  स्थलगत अवलोकन पछि मन्त्रालयका सचिव माधव बेल्वासेले सुरुङको काम सम्पन्न भइसकेकाले बाँकी काम समयमै सकिने विश्वास व्यक्त गरे । उनका अनुसार सुरुङ लामै भए पनि प्राविधिक दृष्टिकोणबाट त्यो संरचना त्यति भने जटिल छैन । उनले भने–“समयमै सम्पन्न हुनेमा विश्वास गर्ने प्रशस्त आधारहरु छन् ।” कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । योजना मुताबिक काम अघि बढे वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुनेछ । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले सङ्घीय सरकारले मेलम्चीसम्म मात्रै नभएर हेलम्बुसम्मैको सडक स्तरोन्नति गर्नुपर्ने बताए । हेलम्बुलाई मेलम्ची प्रभावितमा ‘क’ मा राख्नुपर्नेमा उनको जोड छ । उनले भने–“काठमाडौँवासीले पानी पाउनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ तर, हामीलाई पनि असर पर्नु हुँदैन ।” आयोजनाका जम्माजम्मी कामलाई तीन भागमा विभाजन गरिएको छ–हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्रको निर्माण । यसमध्ये हेडवर्क र सुरुङमार्गको काम सिनो हाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरिरहेका छन् । आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभित्रै काम सकिने वरिष्ठ डिभिजनल इञ्जिनियर पन्तले बताए । सिएमसीले काम छाडेर गए पनि उसले सहायक ठेकेदारलाई रकम दिन बाँकी छ र यो समस्या समाधानका लागि मन्त्रालयमा कार्यरत सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । उनका अनुसार हेडवर्कमा भौतिक अवरोध कमै मात्र रहेको छ । पहिले गिट्टी, बालुवा आपूर्ति, रुख कटान, चट्टान विस्फोटन जस्ता धेरै अवरोध थिए । उनले भने–“अहिले काम नै अवरुद्ध हुने गरी समस्या आएको छैन ।” यहाँ रहेका खानेपानी प्रशोधन केन्द्र निर्माणको काम झण्डै अन्तिम चरणमा पुगेको प्रवक्ता पन्तले बताए । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा दुई वटा ट्याङ्की राखिने छन् । एउटाको निर्माण सम्पन्न भइसकेको छ भने अर्को ट्याङ्कीको निर्माण केही समयमै सम्पन्न हुने बताइएको छ । प्रत्येकको क्षमता साढे आठ करोड लिटर रहेको छ । एउटाको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) र अर्को एशियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा निर्माण भएको हो । एडिबीको सहयोगमा निर्माणाधीन ट्याङ्कीको काम ९० प्रतिशत पूरा भएको र निर्माण अन्तिम चरणमा पुगेको बताइन्छ । यसको ठेक्का सम्झौताको अवधि गत महिना सकिएको थियो । सोही ठेकेदार कम्पनीलाई नै सिएमसीले छाडेर गएका कतिपय निर्माणका काम गर्न दिइएकाले तीन महिना अवधि थपिएको छ । उनले भने– “अबको दुई–तीन महिनामा सबै काम सक्ने देखिएको छ ।” मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी छन् । विद्युतीय प्रणालीबाटै विभिन्न ढोकाहरु खोल्ने र लगाउने गरी निर्माण भइरहेका छन् । ढोकाको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी रहेको छ । टनेलमा भुईँ ढलानको काम दुई दशमलव पाँच किलोमिटर र भित्ता ढलान दुई दशमलव पाँच किलोमिटर बाँकी छ । टनेलभित्र हावा प्रवाह नहुँदा पानी नबग्ने भएकाले तीन वटा ‘भेन्टिलेटर’ निर्माण गर्ने डिजाइनमा रहेको बताइएको छ । तीनमध्ये दुई वटा सम्पन्न भइसकेको र एउटा सम्पन्न हुन बाँकी छ । खेर जाने पानीलाई बागमतीमा खसाल्न बागमतीमा भर्याङ जस्तै संरचना बनाइने पन्तले जानकारी दिए । एकै पटक छाड्दा खोलाको पानी धमिलिने हुँदा बहाव कम गर्न भ¥याङ जस्तै संरचना निर्माण गर्न लागिएको हो । आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ ।आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङ माथिबाट ढुङ्गा माटो खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी बनाइएको २७ दशमलव ५ किलोमिटर प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान झिकेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम पनि सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुईँमा अन्तिम ढलानको काम झण्डै २५ दशमलव तीन प्रतिशत मात्रै बाँकी छ । लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आधा योजनामध्ये यो एक हो । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो । यसबीचमा विभिन्न संस्थाहरु यो आयोजनासँग जोडिए । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति नै गठन गरिएको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लो पटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महीनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम शुरु गरेको छ । विना अवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने ठानिएको छ । रासस

टुँडिखेल अतिक्रमणमुक्त गरौं अभियानका साथ शनिवार र्याली हुँदै

काठमाडौं । टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियानको विश्व स्वतन्त्रता दिवसको अवसरदेखि शुरु हुने भएको छ । सरकारलाई ‘अकुपाई टुँडिखेल’को अवस्था बारे पटक पटक जानकारी दिँदा पनि वेवास्ता गरेपछि आगामी शनिवार विहान ८ बजे मानव साङ्लो बनाई शान्ति पून र्याली गर्ने भएका छन् । महानगरलाई टुँडिखेलको बारेमा जानकारी गराउँदा पनि वेवास्था गरेपछि उक्त कदम चाल्नु परेकाे भन्दै स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जन दबाब अभियानका संयोजक विजय श्रेष्ठे बताए । उनले भने ‘अकुपाई टुँडिखेल’को अवस्था बारे तत्काल, अल्पकाल र दिर्घकालिन विषयमा स्थानिय सरकारले सोच्नु पर्नेछ । यो सबैको सार्वजनिक सम्पदा संरक्षण गर्नका लागि स्वच्छ रुपमा प्रत्येक शनिबार तीन महिनासम्म शान्ति पून आन्दोलन हुने संयोजक श्रेष्ठले जानकारी दिए । विहीबार भएको टुँडिखेलमा भएको पत्रकार सम्मेलनमा बोल्दै संघिय संसद भिमशेनदास प्रधानले भने देशका नेताहरु विदेश भ्रमण गर्ने मात्र नभई भ्रमण पछि नेपालको प्राकृतिक तथा सार्वजनिक स्थानको संरक्षण गर्नु पर्ने बताए । रानीपोखरीदेखि दशरथ रंगशालासम्मको सार्वजनिक जग्गालाई टुँडिखेल भनेर चिनिने स्थान कावडी सामान तथा पार्किङ्ग स्थल भनेको छ, उनले भने ‘काठमाडौं घरैघरको जंगलको रुपमा स्थापित भईरहँदा राम्रो पार्क निर्माण गर्न तर्फ स्थानिय सरकारको ध्यान केन्द्रित हुनु पर्नेछ ।’ विश्व स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक जग्गाको संरक्षण गर्न नागरिक पछि पर्न नहुने जानकारी दिँदै अहिले जनताले आवाज नउठाए पछि गुनासो गर्न गर्ने अधिकार जनता तथा सर्वसाधारणलाई नहुने प्रदेश नं. ३ का संसद विराजभक्त श्रेष्ठले बताए । उनले भने ‘दुई इन्च जग्गा छिमेकीले मिच्दा लड्ने नेपाली अबका दिनमा विदेशीले आफ्नो देशको भू भाग र सरकारले सार्वजनिक जग्गालाई सरकारी भन्दै गर्दा आवाज उठाई संरक्षण गर्नु पर्ने अवस्था सृर्जना भएको छ ।’ संसद श्रेष्ठले पछिल्लो समय नेताको गतिविधि र विकासको स्थिति हेर्ने हो भने लाल सलाम हिजो आज लाजसरम भएको बताए ।

अर्थमन्त्री खतिवडासँग युएसएआइडीका सहायक प्रशासकको प्रतिवद्धता-‘नेपाललाई निरन्तर सघाउछौँ’

काठमाडौँ । अमेरिकाले नेपालको सामाजिक-आर्थिक रुपान्तरणका निम्ति निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अर्थमन्त्री युवराज खतिवडासँग आज अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा अन्तरराष्ट्रिय विकासका निम्ति अमेरिकी सहयोग नियोग (युएसएआइडी)को एशिया विभागका सहायक प्रशासक ग्लोरिया स्टेलीले त्यस्तो प्रतिबद्धता व्यक्त गरे । उनले सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी सहयोग जारी रहने बताए । प्रदेश र स्थानीय तहका सरकारको क्षमता अभिवृद्धिका निम्ति नेपालको विकासका अन्य साझेदारसँगको सहकार्यमा अमेरिकाले सघाउने उनले बताए । मन्त्री खतिवडाले नेपालको विकास प्रयासमा दशकौँअघिदेखि अमेरिकाले गर्दै आएको सहयोगको सराहना गर्दै सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई सुदृढ तुल्याउन पारदर्शिता र जवाफदेहितामा सरकार केन्द्रित रहेको जानकारी दिए । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालको विकास प्रयासमा अमेरिकी साझेदारी अझ वृद्धि गर्न आफू क्रियाशील रहेको बताए । रासस

महासंघको वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी, अध्यक्ष निर्वाचनको विषयमा अझै विवाद

काठमाडौं । विधान संशोधनका लागि बोलाईएको विशेष साधारणसभा स्थगित निश्चित भएपछि नेपाल उद्योग वाणिज्य महासंघमा वहस आगामी निर्वाचनमा केन्द्रीत भएको छ । महासंघका नेताहरुबीच चैतमा हुने चुनाव, नेतृत्वका आकांक्षी र टिकटको विषयमा छलफल केन्द्रीत हुन थालेको छ । चुनावी साधारणसभाअघि विधान संशोधन नहुने भएपछि अबको निर्वाचन हालकै विधान अनुसार वरिष्ठ उपाध्यक्षमा केन्द्रीत हुने भएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष घोषणा गरिने छन् । वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म चार जनाले आकांक्षा व्यक्त गरेका छन् । उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र पूर्व उपाध्यक्ष तथा तीन नम्बर प्रदेश प्रमुख दिनेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा अगाडि आएका छन् । चार मध्ये सबैभन्दा बलियो उम्मेदवारको रुपमा धेरैले चन्द्रप्रसाद ढकाललाई लिन्छन् । उनले अरु आकांक्षीलाई समेत विश्वासमा लिएर सर्वसहमतिको प्रयास गरेका जानकारीहरु बताउँछन् । यसअघि पनि ढकाल एसोशियन तर्फको उपाध्यक्ष पदमा सर्बसहमत भएकोले उनी सर्वसहमति हुन सक्ने अनुमान गरिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति दुई वर्षपछि स्वतः अध्यक्ष बन्ने भएकोले यति धेरै महत्वपूर्ण पदमा सर्बसहमति जुट्ने सम्भावना कम रहेको बताइन्छ । महासंघको नेतृत्व विधान संशोधनका प्रस्तावहरु आगामी साधारणसभामा विशेष प्रस्तावको रुपमा लैजान तयार भएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कहिलेदेखि लागू हुने भन्नेमा विवाद अझै बाँकी छ ।

नेताहरुको आम्दानी/खर्च नियमन गर्न अफ्रिकामा नयाँ विधेयक

केप टाउन । दक्षिण अफ्रिकाको तल्लो सदन राष्ट्रिय सभाले बुधबार राजनीति दलहरुको आम्दानी खर्च नियमन गर्नेसम्बन्धी विधेयकलाई पारित गरेको छ । यो विधेयकसँगै सूचनाको हक सम्बन्धी कानुन ९पिएआईए० मा पनि संशोधन भएको छ । दलसम्बन्धी यस विधेयकले प्रत्येक आर्थिक वर्षमा राजनीतिक व्यक्तिहरुले कुनै व्यक्ति वा संस्थाबाट एक लाख रान्ड (६ हजार ७३९ अमेरिकी डलर) भन्दा बढी रकम चन्दा लिएको भए त्यस्तो व्यक्ति वा संस्थाको अभिलेख राख्नुपर्ने र कसैले सूचना माग गरेको अवस्थामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ । संसदका प्रवक्ता मोलोटो मोथापोका अनुसार संशोधित विधेयकमा राजनीतिक नेताहरुले आवधिक रुपमा अभिलेख सरकारी निकायलाई उपलब्ध गराउनुपर्ने तथा त्यस्तो अभिलेख पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ । जुन २१, २०१८ मा दक्षिण अफ्रिकाको संवैधानिक अदालतले सूचनाको हक सम्बन्धी कानुनमा राजनीतिक नेता र स्वतन्त्र उम्मेदवारलाई सूचनाको हकबाट उन्मूक्ति दिने प्रावधान खारेज गरिदिएको थियो । साथै, अदालतले कानुन संशोधनका लागि १८ महिनाको समयावधि तोकेको थियो । यसै वर्षको जुन २४ मा सरकारले संसदमा संशोधित विधेयक प्रस्तुत गरेको थियो । मोथापोले राजनीतिक दलको आर्थिक पारिदर्शिताका सन्दर्भमा विभिन्न क्षेत्रसँग व्यापक परामर्श गरिएको, लिखित सुझाव संकलन गर्नुका साथै सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए । प्रवक्ता मोथापोले उक्त विधेयक अब माथिल्लो सदनमा प्रस्तुत हुने, र त्यहाँबाट पारित भएपछि कानुनको रुप लिने जानकारी दिए । रासस/सिन्ह्वा

८ महिना बितिसक्दा पनि त्रिविले गरेन बिबिएसको नतिजा प्रकाशन, अब ३ दिनमा हुने

काठमाडौं। परीक्षा सञ्चालन भएको ८ महिना बितिसक्दा पनि त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियनत्रण कार्यालयले २०७५ साल चैत्र महिनामा लिएको व्यवस्थापन संकाय तर्फ चार बर्ष बिबिएस चौथो वर्षको नतिजा ८ महिना बितिसक्दा पनि सार्वजनिक गर्न नसकेको हो । बिबिएस चौथो वर्षकाे परीक्षामा  यस वर्ष ३८ हजार विद्याार्थी सामेल भएका थिए । अघिल्लो वर्ष पनिकाले  बिबिएस चौथो वर्षको ५ महिनाको अन्तरालमा नतिजा प्रकाशित गरेको थियो । पनिकाले ३ महिनामा नतिजा प्रकाशन गराउँछौ भनेर बताउँदै आए पनि कार्यलयमै उत्तरपुस्तिका आउन मात्रै २ महिना लाग्ने सह-नियन्त्रक घनश्याम ठाकुरले बताए । परिक्षार्थी धेरै र कापी जाँच्ने शिक्षकहरु कम भएको कारणले नतिजा प्रकाशनमा ढिला भईरहेको ठाकुरले बताए । उनले भने-‘सेमेस्टरमा समयमा नै काम गर्नुपर्ने हुनाले ब्याचलरमा सेमेस्टर प्रणाली रहेको बिबिए, बिआईएम विषयको कापी जाँच्न शिक्षकहरु डिन कार्यलयमा व्यस्त छन् । सेमेस्टरको दाँजोमा उनिहरुले वार्षिक प्रणालीलाई खासै महत्व दिदैनन् ।’ व्यवस्थापन संकाय तर्फको सबै बिषयको परीक्षा नतिजा सँगै प्रकाशित गर्ने भएकोले पनि अन्य विषयको दाँजोमा व्यवस्थापन संकायतर्फको नतिजा प्रकाशनमा ढिला भईरहेको उनले बताए ।  पनिकाका अर्का सह- नियनत्रक पशुपती अधिकारीले  कार्यलयको बिचमा सफ्ट्वेयर बद्लिएको कारणले नतिजा प्रकाशनमा थप ढिला भएको, तर अब केही दिनमा नै नतिजा प्रकाशन हुने बताए। शंकरदेव कलेजबाट बिबिएस चौथो वर्षको दिएर बसेकी यशोदा पाैडेलले नतिजा ढिला आएको कारण रोजगारीको लागि दरखास्त दिन नपाएको गुनासो गरिन् । सबैले ब्याचलार पास भएको सर्टिफिकेट माग्छन्-उनले भनिन्। कैलाली बहुमखी क्याम्पसका राजेन्द्र बिष्ट भन्छन्-‘ नतिजा समयमा प्रकाशन नहुँदा एक वर्ष खेर गएको जस्तो लागिरहेको छ ।’