दरबारमार्गका होटलले ग्राहकलाई यसरी ठग्दैछन्, ३० रुपैयाँ पर्ने मिनरल वाटरको ७० रुपैयाँ !
काठमाडौं । एक लिटर मिनरल वाटर कति रुपैयाँमा किन्ने गर्नु भएको छ ? बोतलको २०, २५ रुपैयाँमा किनीरहनु भएको छ हैन ? तर, राजधानीको दरबारमार्गमा भने दिनदहाडै लूट भइरहेको छ, त्यहाँ ३० रुपैयाँ मूल्य अंकित पानीको ७० रुपैयाँमा बिक्री वितरण हुने गरेको पाइएको छ । राजधानीको दरबारमार्गस्थित ‘हटब्रेड’ होटलमा रु. ३० अंकित मिनरल वाटरको ७० रुपैयाँसम्म तिर्नुपर्छ । एकातिर अंकित मूल्य भन्दा बढी लिने गरिएको छ भने पछिल्लो समय होटलहरुमा खाजा खाने ग्राहकहरुलाई ग्लासमा पानी दिनु भन्दा बोतलकै पानी दिइन्छ । यसरी बोतलको पानी दिंदै होटल सञ्चालहरुले लूट मच्चाएका हुन् । विकासन्यूज प्रतिनिधि रिपोर्टिङको शिलशिलामा दरबारमार्गका केही होटलमा पुग्दा ‘हट ब्रेड’ नामक होटलमा खाजा अर्डर गर्दा पानी दिइएन । उक्त होटलमा खाजा खाइसकेर पानी माग्दा मिनरल वाटरको बोतल दिइयो । सो वोतलको मूल्य नेपाली बजारमा ३० रुपैयाँ पर्ने स्टीकर टाँसिएको देखिन्थ्यो, तर होटल मालिकले रु. ७० रुपैयाँको बिल जोडेका थिए । दरबारमार्गका अरु होटल यस्ता छन् दरवार मार्गस्थित होटल अन्नपूर्णको विपरीत दिशामा रहेको ‘केक्स एण्ड बेक्स’ नामक होटलमा भने पानीको लागि छुट्टै पैसा बुझाउनु पर्दैन । खाजा खान जाने ग्राहकहरुलाई सो होटलमा छिर्दाको बखतमा नै गिलासमा पानी दिने गरेको पाइयो । द कफी सप दरबारमार्ग स्थित ‘द कफी सप’ खाजा खान आउने ग्राहकहरुसँग पानीको लागि भनेर छुटटै पैसा लिने गरेको पाइएन । पिजा हट होटल अन्नपूर्णसँगै जोडिएको अर्को चर्चित होटलको नाम हो पिजा हट । पिजा हटमा खाजा खान जाने ग्राहकहरुको लागि बोतलको मिनरल वाटर भन्दा पनि गिलासमा जारको पानी दिने गरिन्छ र पानीको छुट्टै पैसा तिर्नु पर्दैन । दरमारमार्गका होटल-रेष्टुरेण्टलाई चर्को मूल्य अशुल्ने छुट छैन होटलमा खाजा खाने ग्राहकहरुले स्वाभाविक रुपमा गिलासमा तथा बोतलमा पानी खाँदै आएको छन् । गिलासमा ल्याएर दिने पानीको पैसा तिर्नु पर्दैन भने बोतलमा ल्याएर दिने पानीको भने छुट्टै पैसा तिर्नु पर्छ । ग्राहकहरुले सामान्यतया गिलासको पानी मगाउने भन्दापनि होटल आफैँले ल्याएर दिनु पर्ने हो । कसैलाई मिनरल बाटर नै खान मन लागे भने मनाउन सक्नेछन् । विगतका दिनमा होटलहरुले ग्राहकहरुलाई सर्वप्रथम पानीले स्वागत गर्ने चलन छ । त्यही पानीको पैसा तिर्नु पर्ने र त्यो पनि बजार मूल्य भन्दा डबल तिर्नु पर्ने अवस्था चाँही ब्यापारीहरुको मनपरीतन्त्र हो भन्न सकिन्छ । दरबारमार्गका होटलहरु चर्को शुल्क सञ्चालित छन् भन्नेमा दुई मत नहोला । तर ती होटलहरुलाई ग्राहकहरुसँग बजार मूल्य भन्दा चर्को मूल्य अशुल्ने छुट पक्कै छैन । दरबारमार्गका होटल–रेष्टुरेन्टको अवस्था उदाहरण मात्र हो, यस्तै खालका वेथिति अन्यन्त्र पनि छन् । यसलाई सरकारी निकायहरुले अनुगमन र नियमन गर्न ढिला गर्नु हुन्न ।
अघोरी बाबाकी श्रीमति शारदा पाण्डे प्रहरी हिरासतमा, ठगी गरेको आरोप
काठमाडौँ । लाइफ ड्यामेज बाबा अर्थात अघोरी बाबाका रुपमा चिनिएका विजय केसीकी श्रीमति शारदा पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त बौद्धले पाण्डेलाई सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । पाण्डेलाई विवाह गरेपछि लाइफ ड्यामेज बाबाले लाइफ म्यानेज गरेको भन्दा सामाजिक सञ्जालमा चर्चा भएको थियो । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पाण्डेलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । पाण्डेलाई प्रहरीले बोलाएपछि अघोरी बाबा भनिने केसी पनि सँगै गएको प्रहरी श्रोतले जनाएको छ । अघोरी बाबाले पाण्डेलाई विवाह गरेपछि लाइफ ओके भएको प्रतिक्रिया दिने गरेका थिए ।
एनएमबि बैंकको सञ्चालकमा सैंजु र श्रेष्ठ
काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त संचालकमा दुई जनालाई नियुक्त गरेको हो । कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको बैठक कात्तिक २४ गते बसेको थियो ।
लुफ्थान्सा ग्रुप, जर्मनी र किङ्स् कलेज, काठमाडौँको सहकार्यमा इम्प्याक्ट वीक कार्यशाला शुरु
काठमाडौँ । उद्यमशीलता र नविनतामा आधारित गैर-नाफामुखी कार्यक्रम इम्प्याक्ट वीक कार्यशाला सोमबारदेखि काठमाडौंमा संचालनमा आएकोछ । लफ्थान्सा ग्रुप, जर्मनी र किङस् कलेज, काठमाडौँको सहकार्यमा आयोजना भएको आठदिने कार्यशाला दुई चरणमा सञ्चालन हुनेछ । जसअन्तर्गत पहिलो चरणमा जर्मनीको प्रसिद्ध लुफ्थान्सा एअरलाइन्स ग्रुपका सातजना यूरोपेली प्रशिक्षकहरुले १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिबारे प्रशिक्षण दिनेछन् । दोश्रो चरणमा ती प्रशिक्षण प्राप्त गर्ने १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुले यूरोपेली प्रशिक्षकहरुको अनुगमनमा विभिन्न कलेज तथा पेशा वा उद्यम पृष्ठभूमीका अन्य १२० जना विद्यार्थी तथा प्रोफेसनलहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगद्धारा स्थानीय तथा राष्ट्रियस्तरमा जल्दाबल्दा चुनौतीहरुलाई कसरी समाधान गर्ने भन्ने बारे तालिम प्रदान गर्नेछन् । कार्यशालाको अन्त्यमा १८ जना विद्यार्थी तथा प्रोफेसनलहरुले कृषि, पर्यटन, यातायात, कला तथा सस्कृती र स्वास्थ्य तथा शिक्षा गरी छ वटा क्षेत्रहरुसँग सम्बन्धितसमस्याहरुको समाधानको लागि ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगद्धारा नविन उपायहरु प्रस्तुत गर्नेछन् । यसरी प्रस्ताव गरिने उपायहरु मध्ये तीनवटा उत्कृष्ट उपायहरु कार्यान्वयनको लागि उपहारस्वरुप आर्थिक सहायता प्रदान गरिनेछ । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालका लागि जर्मन राजदूत रोनाण्ड स्काफरले यस कार्यशालाले नेपालको प्रमुख औद्योगिक तथा सेवा क्षेत्रहरुको विद्यमान समस्या समाधानका लागि नवीन सोच तथा ‘डिजाइन थिङ्कीङ’ विधिको प्रयोगलाई स्थापित गराउने विश्वास ब्यक्त गरे । काठमाडौँ महानगरपालिका शहरी विकास आयोजनाका उपाध्यक्ष सरोज बस्नेतले लुफ्थान्सा जस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए ।
शाओमीद्वारा रेडमी ८ र रेडमी ८ए सार्वजनिक, कति पर्छ मूल्य थाहा पाउनुहोस्
काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज दुई वटा नयाँ स्मार्टफोन रेडमी र रेडमी ८ ए सार्वजनिक गरेको छ । रेडमी ८, लोकप्रिय रेडमी सिरिजको लाइनअपमा सबैभन्दा नयाँ स्मार्टफोन हो, जसमा १२ एमपी डूअल क्यामेरा सेटअप रहेको छ । रेडमी ८ए, रेडमी ए सिरिजमा सबैभन्दा नयाँ फोन हो जसमा सम्पूर्ण विधामा सुधार गर्नुका साथै यसमा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी रहेको छ । दुवै फोनमा विशाल ५००० एमएएच ब्याट्री रहेको छ जसले गर्दा प्रयोगकर्ताले एकपटक चार्ज गरेपश्चिात कयौँ घण्टासम्म प्रयोग गर्न सक्नेछन् । शक्तिशाली क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट जस्ता विशेषताका साथ शाओमीले यो सेग्मेन्टमा पहिलो पटक दुवै स्मार्टफोनमा १८ वार्टको फास्ट चारजिङ्ग सपोर्ट गर्ने टाइप–सी यूएसबी ल्याएको छ । शाओमी अनवरत रुपमा गुणस्तरप्रति केन्द्रित रहेको छ । त्यसैले दुवै स्मार्टफोनलाई कर्निग गोरिला ग्लास ५ ले सुरक्षित राख्दछ र यसमा भएको एद्दष् न्यानो कोटिङ्गले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ । ६.२२ इन्च अथार्त १५.८ सीएम डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए मा १९ः९ एसपेक्ट रेसियो जस्ता विशेषता रहेको छ जसले समग्र रुपमा अदभुत अनुभव प्रदान गर्दछ । फाइन टेक्सचर प्याट्रनका साथ औरा वेभ ग्रीप डिजाइनले गर्दा यसलाई आकर्षक बनाउनुका साथै फिन्गरप्रिन्टको मार्कहरु पनि कम गर्दछ । रेडमी ८ए ले २ प्लस १ डूअल सिम सल्ट र डेडिकेटेड माइक्रो एसडी कार्ड सपोर्ट गर्दछ र थप ५१२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिन्छ । रेडमी ८ए मा प्रयोगकर्ताहरुको यो लाइनअपमै लोकप्रिय वायरलेस एफएम रहेको छ जसमा प्रयोगकर्ताले इयरफोन कनेक्ट नगरी एफएम रेडियो बजाउन सक्दछन् । रेडमी ८ए को सबैभन्दा महत्वपूर्ण अप्ग्रेड फ्रन्ट क्यामेरा हो । यसमा १२ एमपी सोनी सेन्सर रहेको छ जसले इमेज सेन्सर विशेषता भएको एक मात्र स्मार्टफोनको छवि प्रदान गर्दछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँ रेडमी ८ र रेडमी ८ ए नेपालमा ल्याउन पाउँदा निकै खुसी भएको बताए । सनसेट रेड, ओसन ब्लू र मिडनाइट ब्लाक कलर भेरियन्टमा उपलब्ध रेडमी ८ ए २जीबी प्लस ३२ जीबी को मुल्य रु ११,९९९ र ३ जीबी प्लस ३२ जीबीको मुल्य रु १२,९९९ रहेको छ । ४ जीबी प्लस ६४ जीबी भेरियन्टकोे रेडमी ८ रु १४,९९९ मा ओनयक्स ब्लाक, रुबी रेड र सेफ्रायर ब्लु कलरमा उपलब्ध हुनेछ ।
चराङ विमानस्थलको डिपिआर बनाउन सरकारी प्राविधिक टोलीद्वारा सर्वेक्षण
ठिनी मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ । समुद्री सतहदेखि तीन हजार ५०० मिटरको उचाइमा अवस्थित सिकलिङ थाङ्का र ढुथाङको फाँटमा सर्वेक्षण गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिएका छन् । प्रस्तावित ठाउँको भौगोलिक अवस्थिति, सम्भाव्यता, क्षेत्रफल र प्राविधिक विषयमा सर्वेक्षण गरिएको हो । “यसअघि गत वर्ष पर्यटन मन्त्रालयको टोलीले प्रारम्भिक सर्वेक्षण गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्टले भने “यसपालि डिपिआर बनाउने हिसाबले मन्त्रालयले अध्ययनका लागि प्राविधिक पठाएको हो ।” दुई किलोमिटरभन्दा लामो दूरीको समथर फाँट भएकाले विमानस्थलको धावन मार्गका लागि उपयुक्त हुने बताइएको छ । प्रतिवेदन तयार पार्न तीन महिनाभन्दा बढी समय लाग्ने टोलीले जनाएको छ । यही कात्तिक ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले चराङको निरीक्षण गरेको थियो । मन्त्रीले निरीक्षण गरेर गएको दुई हप्तामै डिपिआर बनाउन प्राविधिक टोली खटिएको हो । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउन चुनावमा गरेको गरेको प्रतिबद्धताअनुसार पहल गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । “अनुकूल भूगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिन्छ”, सांसद तुलाचनले भने“दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा जनजीवनलाई सहज बनाउन विमानस्थलले सहयोग पुर्याउने छ ।” जोमसोम हुँदै सडक मार्ग भएर उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र यातायातको सहज सुविधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ । कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङको पर्यटकीय आकर्षण हो । उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाई सेवा आवश्यक भएको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको भनाइ छ । सरकारले पर्यटन विकासका लागि विमानस्थल निर्माण र उत्तरी कोरला नाका खोल्न सडक विस्तार गरिरहेको बताएका छन् । रासस
बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको १५ दिन अल्टिमेटम, ठगी मुद्दा चलाईने निर्णय
काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १५ दिन भित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुदामा जाने चेतावनी दिएका छन्। आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको पोखरेलले बताए। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले १५ दिन भित्रमा सबै मेडिकल कलेजलाई शुल्क फिर्ता गर्ने अल्टिमेटम दिएका हुन्। कलेजले १५ दिनभित्र रकम फिर्ता नगरे विद्यार्थीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने उनले बताए। मन्त्री पोखरेलले अहिले विद्यार्थीहरुको माग सम्बोधन गरेर पठनपाठन सहज रुपमा हुने वातावरण बनाए मेडिकल कलेजहरुको शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको पनि बताएका छन्। शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु केही समय देखी आन्दोलनमा भएका विद्यार्थीहरुलाई पोखरेलले पठनपाठनमा फर्किन आग्रह समेत गरेका छन्।
२० हजार बढी सहकारी सामाजिक सुरक्षा कोषमा आउने तयारीमा
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषका सन्दर्भमा क्षेत्रगत छलफललाई तीब्रता दिएका छन्। मन्त्री विष्टले पुल्चोकस्थित मन्त्री निवासमा गर्दै सहकारीकाे सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीसँग छलफल गरेका हुन् । छलफलमा सहकारी संघसंस्थाका पदाधिकारी टोली सरकारको अभियानमा पुर्ण साथ र समर्थन जनाएका छन् । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबी कार्कीले भने ‘देशैभर करिब २० हजार बढी सहकारी सक्रिय छौं, त्यहाँ करिब ५ लाख कर्मचारी प्रत्यक्ष रोजगारीमा छौं ।’ सामाजिक सुरक्षा कोषको समयसिमा भित्रै सबैलाई कोषमा सहभागी गराउन प्रतिबद्ध अध्यक्ष कार्कीले बताए । अनिवार्य विषय भएकाले देशैभरका सहकारी र सहकारीमा काम गर्ने श्रमिक साथीहरुलाई कोषमा सहभागी गराउन थप पहलकदमी रहेको मन्त्री विष्टले बताए । संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै सहकारीहरु समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षाका साथ सहकारी सहित सबैलाई अतिरिक्त करको भार नपर्ने गरि पहल गरिरहेका जानकारी दिएका छन् । छलफल पछि सहकारी संघ मातहतका प्रशिक्षकलाई केही दिनमै कोषबारे प्रशिक्षित गर्ने र देशैभर जिल्ला जिल्लामा जागरणका लागि पठाउने सहमति भयो । मन्त्री विष्टले यसै सन्दर्भमा दिँउसो नेपाल उद्योग परिसंघका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यस अघि मन्त्री विष्टले बिहिवार नेपाल बैंकर संघ, शुक्रबार गैर सरकारी संघ सस्था, उपभोक्ता महासंघ र आइतबार एन प्याब्सनका पदाधिकारीहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । छलफलमा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष डिबी कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, साना किसान सहकारी संघका सञ्चालक सहित पदाधिकारी तथा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली सहभागी रहेका थिए ।