विकासन्युज

कात्तिक ३० गते कलाकार तथा गायक गायिकाबीच दौड प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा समापन हुने आयोजक सस्थाले जानकारी गराएको छ । भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि यस कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता हरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमलाई रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।

लेखापाल र सहायक व्यवस्थापकलाई आरएमडीसीले दियो लेखा तथा अभिलेख ब्यवस्थापन तालिम

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २८ वटा सहकारी संस्थाहरुको लेखापाल तथा सहायक व्यवस्थापक स्तरका २९जना कर्मचारीहरुको सहभागीता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन ईटहरी शाखाका कर्मचारी दिनेश सिरुवालले गरेका थिए भने शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले सहभागीहरुलाई स्वागत गरे । उक्त तालिममा श्रोत ब्यक्तिको रुपमा सहकारी तथा विभिन्न वित्तीय संस्थामा आवद्ध रही लामो समय देखी सेवा पुर्याउदै आएका लिलानाथ निरौलाले भूमिका निर्वाह गरेका थिए । लेखाको सिद्धान्त, भौचरको तयारी, लेजर खाता,चार खाता, सन्तुलन परिक्षण, नाफा नोक्सान खाता, वासलत, सानो नगदी कोष, मसलन्द मौज्दात ब्यवस्थापन, बैंक हिसाबमिलान, नाफा नोक्सानको बाँडफाँड, नगद प्रवाह बिबरण, सम्पत्ती खाता, सम्पत्तीको बर्गिकरण, ह्रास कट्टी, कर्जा बर्गीकरण, सहकारीमा आयकरको गणना, श्रोतमा कर कट्टी, कर दाखिला सम्बन्धी छलफलका साथै बित्तीय सूचकहरुको बारेमा छलफल, गणना बिधि र बिश्लेषण बारेमा छलफल तथा अभ्यास गराइएको थियो ।

सरकारले करका दर चलायाे, गहना र तेलकाे मूल्य बढ्ने, तर कुखुरा र वाइनको मूल्य घट्ने

काठमाडौँ । सरकारले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा ठूलो परिवर्तन गरेको छ । कुनै बस्तुको करका दरमा ५० प्रतिशत छुट गरिएको छ भने केही बस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । विगतमा भन्सार छुटमा आयात हुँदै आएको औद्योगिक बस्तुहरुमा ५ प्रतिशत भन्सार कर लागू गरिएको छ । कपालमा प्रयोग हुने कस्मेटिकजन्य मालबस्तुमा १०० प्रतिशत अन्तशुल्क वृद्धि गरिएको छ । यसअघि मूल्यमा ५ प्रतिशत अन्तशुल्क लाग्दै आएकोमा अब १० प्रतिशत अन्तशुल्क लाग्ने जनाइएको छ । त्यस्तै फलाम वा इस्पातको सरसफाइ सम्बन्धी सामान र तिनका पार्टपूर्जामा ५ प्रतिशत अन्तशुल्क लगाउने निर्णय भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । यसअघि यी बस्तुमा अन्तशुल्क छुट थियो । व्यवसायिक प्रयोजनका लागि आयात हुने सुनमा प्रति १० ग्राममा ६ हजार ५०० रुपैयाँ भन्सार लाग्ने भएको छ । यसअघि प्रति १० ग्राम ५ हजार रुपैयाँ भन्सार लाग्दै आएकोमा १ हजार ५ सय रुपैयाँ वृद्धि गरिएको अर्थमन्त्रालयले जनाएको छ । त्यस्तै व्यवसायिक रुपमा आयात हुने चाँदीमा पनि भन्सार कर वृद्धि गरिएको छ । प्रति १० ग्राम ५६ रुपैयाँ भन्सार लाग्दै आएकोमा कात्तिक २५ गतेदेखि ७५ रुपैयाँ लगाइएको छ । उता, विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा पनि भन्सार वृद्धि गरिएको छ । पहिलो ६ हजार २ सय लाग्ने सुनमा अब ७ हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । ७ हजार २ सय रुपैयाँ भन्सार लाग्ने सुनमा ८५०० रुपैयाँ लाग्ने भएको छ । यस अघि ९ हजार रुपैयाँ लाग्दै आएको सुनमा अब १० हजार रुपैयाँ लाग्ने सोमबार प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ । कुखुराको मासु र वाइन सस्तो हुने कुखुराको चल्ला कोरल्नका लागि  फूलहरुको पैठारीमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट गरिएको छ । यसले कुखुराकाे मासु र अण्डाकाे मूल्य घटाउन मद्दत गर्ने छ ।  त्यस्तै, फलफूल र तीनबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्र भएको स्वदेशी वाइन बाहेक अन्य स्वदेशमा उत्पादन हुने वाइनमा लाग्ने अन्तशुल्कको दरमा ३० प्रतिशत छुट गरिएको छ । यसले वाइनकाे मूल्य घटाउन सहयाेग गर्नेछ । सरकारले तयारी रङ्ग उत्पादन गर्ने उद्योगहरुको कच्चा पदार्थको रुपमा प्रयोग हुने एक्रेलिक इमल्सनमा ३० प्रतिशत भन्सार कर लाग्दै आएकोमा उद्योगको नाममा पैठारी भएमा २० प्रतिशत मात्र भन्सार लाग्ने छ । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा यति धेरै परिवर्तन हुँदा उद्योगी व्यवसायीलाई समस्या पर्ने नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । ‘उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक वर्षको लागि आफ्नो व्यवसायिक योजना बनाइ आफ्नो व्यवसाय संचालन गर्ने र सोही अनुरुप अग्रीम रुपमा कारोवार गरिरहेका हुन्छन । आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्दा धेरै समस्या हुन्छ’ चेम्बरले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘कुखुरा पालन व्यवसायको लागि आवश्यक पर्ने फुलहरु तथा एक्रेलिक इमल्सनमा दिइएको छुट सकारात्मक भएको चेम्बरले जनाएको छ । तर, सुन तथा चाँदीमा पैठारीमा र बिदेशबाट फर्केका यात्रुहरुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा भएको महशुल दरमा भएको वृद्धि हुनु, कपालमा प्रयोग हुने कस्मेटिक्स ,फलाम वा इस्पातको सरसफाइ सम्वन्धी सामान तथा कफीमा लगाइएको अन्तशुल्क वृद्धिले एकातर्फ अनधिकृत व्यापार वृद्धि हुने सम्भावना प्रवल रहने हुन्छ भने अर्कोतर्फ यसबाट मालवस्तुको मूल्य वृद्धि हुन गइ उपभोक्तालाइ प्रत्यक्ष रुपमा नकारात्मक असर पर्ने भइ महंगीको मारमा पर्ने समेत चेम्वरको ठहर रहेकोछ’ चेम्बर अफ कमर्शले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

परिसंघको टोलीसँग अर्थमन्त्रीले भने-‘निर्यात प्रर्वद्धनका लागि पहल गर्छु’

काठमाडौँ । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवद्र्धन गर्न पहल गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएको छ । मंगलबार अर्थमन्त्रालयमा डा खतिवडालाई भेटेर परिसंघको प्रतिनिधि मण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानबारे छलफल गरेको हो । उक्त छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा भइरहका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए । अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल लिन समेत अर्थमन्त्री खतिवडासँग आग्रह गरे । छलफलमा अर्थमन्त्री खतिवडाले निर्यात प्रर्वद्धन तथा व्यापार घाटा कम गर्ने विषयमा आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए । व्यवसाय मैत्री वातावरण बनाउने कुरामा आफ्नो ध्यान गएको भन्दै परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थमन्त्री खतिवडाले विश्वास दिलाए । अर्थमन्त्रीसँगको भेटमा परिसंघका अध्यक्ष मोर सहित निर्वतमान अध्यक्ष हरिभक्त शर्मा र अन्य बरिष्ठ उद्योगपति व्यवसायीहरुको उपस्थिति थियो ।

राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान शुरु

काठमाडौँ । राष्ट्रका लागि युवा नामक संस्थाले ‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान शुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरी सञ्चालन गरिने आयोजकले जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको हो । निकोलस भुषालको नेतृत्वमा राष्ट्रका लागि युवाले पहिल्यैदेखि विविध सामाजिक तथा वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । ८ देखि दश लाख हस्ताक्षर संकलन भैसकेपछि नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित् राष्ट्रसंघको मुख्यालयमा पठाउने पनि आयोजकले जनाएको छ । हस्ताक्षर संकलन र निःशुल्क स्वास्थ्य शिविर तथा पर्यटन प्रर्वद्धनको लागि स्वर्गको टुक्रा दार्चुलाको कालापानी र लिपुलेक जाने कार्यक्रम पनि रहेको आयोजकले बतायो । कार्यक्रममा सामाजिक अभियन्ता आशिका तामाङ, हिमाल सरसफाई अभियन्ता पिके शेर्पा, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, सामाजिक अभियन्ता पुण्यप्रसाद गौतम, रुपक अधिकारी, प्राध्यापक डा. विष्णु पाठकलगायतले लिपुलेक र कालापानी र लिपुलेक नेपालको भएको बताउँदै यसको लागि आफूहरु सशक्त भएर लाग्ने बताए । उनीहरुले नेपालको आफ्नो भू–भाग जसरीपनि फिर्ता लिनुपर्ने बताएका छन् । उनीहरुले यसका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उपस्थिति सबैले आफूहरुको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गर्न अपिल गरेका छन् । कार्यक्रमको सञ्चालन लेनिन विष्टले गरेका थिए ।

हात्तीगौंडामा गरिमा विकास बैंकको शाखा बिस्तार

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुढानिलकण्ठ नगरपालिका वडा नं.-७, हात्तीगौंडामा शाखा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले गरेका हुन् । कार्यक्रम बैंकका सञ्चालक डा.आनन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले यस क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी उद्यमशीलताको विकास तथा नगरपालिका भित्र विभिन्न व्यापार व्यवसायको विस्तारका लागि ग्राहकहरुलाई आवश्यक पूँजी प्रवाहको लक्ष्य राखी विकास बैंकले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए ।

सीमा विवादको कुरालाई प्राथमिकता दिने भन्दै डा. केसीले तोडे अनसन

काठमाडौं। नौ दिन देखी डडेलधुरामा अनसनरत डा. केसीले अनसन तोडेका छन्। डडेलधुरामा पत्रकार सम्मेलन गर्दाै डा. केसीले अनसन तोडेका हुन्। कार्तिक १८ गते सोमबार देखी अनसनरत डा. केसीले ४ बर्ष स्यान्जु जैरुबाट जुस पिएर अन्सन तोडेका हुन्। केसीले अहिले भारतले नेपाली भुमी कालापानी, लिपुलेख र लिम्पियाधुरा आफ्नो नक्सामा समेटेर सिमा मिचेकाले राष्ट्रियताको लागि एक हुन अनसन स्थगित गरेको बताएका छन्।

नेपाल टेलिकमको बल्क एसएमएस सेवाः एकै पटक धेरै जनालाई सन्देश पठाउन उपयोगी

काठमाडौँ । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएस सुबिधा उपलब्ध गराएको जनाएको छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन व्यवसायी, सरकारी, अर्ध सरकारी र गैरसरकारी निकायलगायतका संघ÷संस्थाहरुका लागि बढी उपयोगी छ । व्यक्तिगत प्रयोजनका रुपमा एकैपटक धेरै व्यक्तिहरुलाई एसएमएस (छोटो सन्देश) पठाउनका लागि पनि यो उपयोगी हुन्छ । संघ÷संस्थाहरुले नेपाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालय, विभिन्न ठाउँमा रहेका निर्देशनालय मार्फत र व्यक्तिगत उपभोक्ताले कम्पनीको अनुमति प्राप्त भ्यालु एडेड सर्भिससेवा प्रदायक संस्थासँग सम्पर्क गरी सेवा प्राप्त गर्न सकिन्छ । यस सम्बन्धी सेवा उपलब्ध गराउन चाहने सेवा प्रदायकले आफ्नो प्रस्ताव र अन्य कागजातका साथ प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा सम्पर्क राख्नु पर्दछ । यो सेवा प्रिपेड प्रकृतिको भएको हुनाले एसएमएस संख्याका आधारमा लाग्ने शुल्क भुक्तानी गरिसकेपछि युजर नेम र पासवर्ड उपलब्ध हुनेछ । युजर नेम तथा पासवर्ड प्राप्त गरेपश्चात टेलिकमको वेबसाइट प्रयोग गरी यो सेवा उपभोग गर्न सकिन्छ । ग्राहक स्वयम्ले आफ्नो समूहभित्र रहेका नेपाल टेलिकमका जीएसएम तथा सीडीएमए दुवै किसिमका पोष्टपेड तथा प्रिपेड मोबाइल नम्बरमा एउटा एसएमएस बराबर अंग्रेजीमा १४० अक्षर तथा युनिकोडमा ७० अक्षर पठाउन सकिन्छ । वेब सुविधा नभएका ग्राहकहरुले पठाउन चाहेको सन्देश र पठाउनु पर्ने मोबाइल नम्बरहरु उपलब्ध गराएमा कम्पनी वा सेवाप्रदायकले एसएमएस पठाइदिने सुविधा पनि उपलब्ध छ । नेपाल टेलिकमबाट यो सेवा लिन चाहने संघ-संस्थाले मासिक न्यूनतम १ हजार ५ सय एसएमएस पठाउनु पर्ने हुन्छ । सो भन्दा कम एसएमएस पठाउन चाहने संघ/संस्थाले कम्पनीबाट अनुमति प्राप्त सेवा प्रदायकहरुसँग सम्पर्क गरी लाभ लिन सकिने छ र एसएमएस संख्याको आधारमा शुल्क निर्धारण गरिएको छ ।