विकासन्युज

युनाइटेड इन्स्योरेन्सको एजीएमले सञ्चालक समितिलाई दियो मर्जर सम्बन्धी अख्तियारी

काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं.(नेपाल) लि.को २५ औ बार्षिक साधारण सभा(एजीएम) मंगलवार सम्पन्न भएको छ । वार्षिक साधारणसभा कम्पनी संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव बहुमतले पारित गरेको छ । आव २०७४÷०७५ बार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आगामी आव २०७५÷०७६ को लागि लेखा परीक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो । त्यसैगरी, बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७ जना संचालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पूरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।

नेपाल बैंकले ल्यायो सस्तो घर कर्जा तथा वातावरण मैत्री निक्षेप योजना

काठमाडौं । नेपाल बैंकले शुलभ आवास कर्जा योजना र ‘ग्रीन सेभिङ् डिपोजिट’ नामक वातावरण मैत्री निक्षेप योजना ल्याएको छ । बैंकले आफ्नो ८३औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त दुई योजना बजारमा सार्वजनिक गरेको हो । बैंकले ल्याएको शुलभ आवास कर्जा योजना अन्तर्गत ग्राहकले घर निर्माण, खरीद तथा थप निर्माण गर्न सस्तो व्याजदरमा कर्जा सुविधा पाउने छन् । जसअन्तर्गत बैंकले न्युनतम ८.८४ देखि अधिकतम ९.९४ प्रतिशत ब्याजदरमा घर कर्जा योजना उपलब्ध गराउने भएको छ । बैंकले हालको आधार दर(बेस रेट)मा १ देखि २ प्रतिशतसम्म प्रिमियम शुल्क लिएर कर्जा उपलब्ध गराउन लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । हाल बैंकको बेस रेट ७.८४ प्रतिशत रहेको छ । यस अन्तर्गत ग्राहकले बैंकको जुनसुकै शाखाबाट ५ देखि २० वर्षसम्मको लागि कर्जा लिन सक्ने छन् । त्यस्तै, बैंकले सार्वजनिक गरेको वातावरण मैत्री निक्षेप योजनाअन्तर्गत ग्राहकले न्युनतम २५ हजारमा बचत खाता खोल्न सक्ने छन् । जसमा ६.५ प्रतिशत आकर्षक व्याजदर पाइने बैंकले जनाएको छ । साथै, ग्राहकले एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएममा निःशुल्क कारोबार समेत गर्न सक्नेछन् । यस योजनामार्फत संकलन भएको निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा लगानी गर्ने कम्पनीले जनाएका छन् । त्यसैगरी, ग्राहकले ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा तथा ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने छन् । उक्त निक्षेप योजनाअन्तर्गत ग्राहकले एटीएम भिसा डेविट कार्ड, मोबाइल बैंकिङ्ग सुविधा, एबीबीएस सुविधा तथा इन्टरनेट बैंकिङ सुविधा निःशुल्क रुपमा पाउने छन् । बैंकले हाल १६७ वटा शाखा, १०२ वटा एटीएम तथा २३ वटा एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

मेलम्चीपछिको ठूलो मर्दी खोला खानेपानी आयोजनाको काम धमाधम अघि बढ्दै

काठमाडौं । पोखरामा अहिले सम्मकै ठूलो मानिएको मर्दी खोला शुद्धीकरण खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढेको छ । नेपाल खानेपानी संस्थानले पोखरास्थित मर्दी खोलाको पानी प्रशोधन र शुद्धीकरण गरी पिउनयोग्य बनाउने उद्देश्यले जापान सरकारको सहयोगमा उक्त आयोजनाको काम अघि बढाएको छ । आयोजनाको काम शुरु भएको पाँच महिना पूरा भएको छ । गत जेठ महिनामा खानेपानी मन्त्री बिना मगरले उक्त आयोजनाको शिलान्यास गरेकी थिइन् । मन्त्री मगरले पोखरामा बन्दै गरेको यस आयोजनालाई ढिलाई नगर्न निर्देशन दिएकी छिन् । खानेपानी मन्त्रालयको मेलम्ची आयोजना पछिको यो दोस्रो ठूलो आयोजना हो । आयोजनाको काम तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई चार अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको थियो । जापानले दिएको कुल अनुदान रकममध्ये चार अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाज्मा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकमभन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाज्मा कम्पनीसँग संस्थानले गत २४ फागुनमा सम्झौता गरेको थियो । हाज्मा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको हो । संस्थानका अध्यक्ष जिउलाल चौधरीले खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको र यस आयोजनाबाट अधिकांश पोखरेलीबासीले प्रत्यक्ष लाभ पाउने बताए । यस आयोजनाबाट पोखरा महानगरपालिका क्षेत्रभित्र करिब ३ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष चौधरीको भनाई छ । यो पाँच महिनाको अवधिमा उल्लेख्य भौतिक प्रगति भएको संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले जानकारी दिए । जापानले दिएको अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, रिजर्भवायर ट्यांकी निर्माण र पाइपलाइन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. प्रसादको भनाइ छ । दैनिक ४ करोड १० लाख लिटर पानी प्रशोधन गर्ने गरी ट्रिटमेन्ट प्लान्टको काम रफ्तारमा अघि बढेको महाप्रबन्धक प्रसादले बताए । त्यस्तै, खानेपानी भण्डारण गर्न २०-२० लाख लिटरको तीनवटा रिजर्भवायर पानी ट्यांकीको निर्माण कार्य पनि धमाधम भईरहेको छ । पोखराको पस्र्याङ, फूलबारी र कोलपाटनमा रिजर्भवायर ट्यांकी निर्माणको काम भईरहेको संस्थानका पोखरा शाखा प्रमुख आशिष कार्कीले जानकारी दिए । शुद्धीकरणको पहिलो प्रक्रिया मर्दी मुहानमै हुनेछ भने ९ सय ३० घनमिटरका २ वटा प्लान्ट निर्माण गरी पुरन्चौर तुल्सीतारा घाटमा सफा पानी संकलन हुनेछ । पस्र्याङ, फूलबारी, कोलपाटनमा निर्माण भईरहेको ट्यांकी मार्फत पोखरामा पानी वितरण हुनेछ, त्यसका लागि १ सय १३ किलोमिटर पाइपलाइन बिछ्याइने छ । सन् २००४ मै यसको सम्भाव्यता अध्ययन भएको थियो ।

सीको भ्रमणमा सिङ्गारिएको सोल्टीमोड-कालिमाटी सडकखण्डको दुर्दशा(फोटो फिचर)

काठमाडौं । केही समय अघि चीनका राष्ट्रपति ‘सी जीन पिङ’ दुई दिने राजकीय भ्रमणमा नेपाल आए । उनी नेपालमा रहँदा सोल्टी होटलमा बसे । उनको आगमन र नेपाल बसाईका बेलासम्म कालीमाटी–सोल्टीमोड सडक खण्ड चिल्लो र सजिसजाउ पारिएको थियो । बनाइएको थियो र दायाँबायाँ सभा र चिटिक्क पारिएको थियो । सीको अगमनका बेला उक्त सडकमा न धुँवाधुलो थियो र न त अस्तव्यस्त अवस्था थियो । तर, २ दिनको राजकीय भ्रमण सकेर राष्ट्रपति सी फर्किएसँग सो सडक खण्डमा ढलको संरचना निर्माण थालिएको छ । जसले गर्दा उक्त स्थान फेरी अस्तव्यक्त र धुलाम्मे भएको छ । केही दिन अघिमात्रै पिच गरिएको तथा सजिसजाउ भएको सडक अहिले बाङबुङ्ग पारेर भत्काइदैछ । त्यसरी भत्काउनुको कारण ढल निर्माण हो, तर सडक बनाउने, फेरी भत्काउने, फेरी थप संरचना बनाउने गर्दा पक्कैपनि राम्रो देखिदैन । नेपालको विकास मोडल ठीक छैन । सडक बनाइन्छ, जब सडक भत्कन थाल्छ अनि छेउ छेउमा ढल बनाइन्छ । केही समयपछि पानीका पाइब बिछ्याउन फेरी सडक खनिन्छ अनि सडक खाल्डाखुल्डी भएर भत्कन्छ । यसरी हेर्दा सडक संरचनाको लागि सरकारको रकम खर्च भइरहेको हुन्छ र राम्रो भएको कहिलेपनि अनुभूति गर्न पनि पाइदैन । अहिले सोल्टीमोड–कालीमाटी सडकमा भएको पनि यही हो । सडक निमार्णका कारण धुुँलो प्रदुषण हुने नै भयो, तर कामलाई लामो समय लगाइदिंदा त्यसले दिर्घकालीन असर समेत पर्दै आएको छ । सडकमा सवारी चलाउनेदेखी पैदल यात्रा गर्ने, व्यवसाय गर्ने सबैले सास्ती भोग्दै आएका छन् ।

बङ्गलादेशका राष्ट्रपति हमिद आज काठमाडाैं आइपुगे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गरेकी थिइन् । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरिनेछ । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने भएका छन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ । रासस

नवौँ विश्व रेन्जर सम्मेलन आजबाट शुरु, ७२ देशका ५५० प्रतिनिधि सहभागी

चितवन । नवौँ विश्व रेन्जर सम्मेलन आजबाट सौराहामा शुरु भएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आइआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ । यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन गर्न समिति गठन गरेको छ । समितिका संयोजक ढकालका अनुसार सम्मेलनमा नेपालसहित ७२ देशका ५५० प्रतिनिधि सहभागी छन् । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । त्यसैगरी, प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आआफ्ना प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका विषयमा विज्ञले आआफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए । वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको साझा संस्था आइआरएफ हो । सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पर्यटन वर्ष २०२० को सँघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । रासस

नेपाली विद्यार्थीको रोजाईमा फ्रान्स: कस्तो छ पढाई, कति लाग्छ खर्च ?

काठमाडौं। यदि तपाई विविध साँस्कृतिक विविधता र उत्कृष्ट शैक्षिक प्रतिष्ठा भएको देशमा पढ्न चाहनुहुन्छ भने फ्रान्स तपाईको लागि उपयुक्त देश हुनसक्छ । कम शिक्षण शुल्क र अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय फ्रान्सको बिशेषता हो । यहि कारण पनि पछिल्लो समय फ्रान्स धेरै नेपाली विधार्थीको रोजाईमा पर्न गरेको छ । फ्रान्समा हाल २ लाख २५ हजार विदेशी  विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यहाँका विश्वविद्यालयमा भर्ना हुने मध्ये १० प्रतिशत विदेशी  विद्यार्थीहरु रहेका छन् । फ्रान्सेली उच्च शिक्षा प्रणाली संसारकै उत्कृष्ट शिक्षा प्रणालीमा पर्दछ । फ्रान्सका १० विश्वविद्यालय संसारको उत्कृष्ट ३०० विश्वविद्यालयमा पर्दछ । कम शिक्षण शुल्कमा उत्कृष्ट उच्च शिक्षाको साथ फ्रान्समा अध्ययन गर्ने विदेशी  विद्यार्थीहरूको लागि फाईदाजनक हुन्छ। फ्रान्स विशेष गरी व्यवसाय सम्बन्धी विषयहरु पढ्न चाहनेहरूको लागि राम्रो विकल्प हो । यो अन्तर्राष्ट्रिय व्यापार र व्यवस्थापन शिक्षाको केन्द्र हो र यहाँका धेरै बिजनेस स्कूलहरू विश्वव्यापी रुपमा चर्चित छन् । फ्रान्समा ७१ सार्वजनिक विश्वविद्यालयहरु रहेका छन् र ती सबैलाई फ्रान्सेली सरकारले अनुदान दिंदै आएको छ, जसका कारण स्वदेशी र विदेशी सबै  विद्यार्थीहरूलाई अत्यन्त सस्तो मूल्यमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । यहाँको शैक्षिक सत्र सेप्टेम्बर वा अक्टुबरमा सुरु भएर मे वा जुनमा अन्त्य हुन्छ । शैक्षिक सत्रलाई दुई सेमेस्टरमा विभाजन गरिएको छ । यहाँ स्नातक तहलाई ६ सेमेस्टरमा विभाजन गरिएको छ अर्थात स्नातक तह ३ वर्षको रहेको छ भने स्नातकोत्तर तह ४ सेमेस्टरमा विभाजन गरिएको छ, स्नातकोत्तर तहको कोर्ष २ वर्षको हुन्छ । उच्च शिक्षाको लामो ईतिहास बोकेको फ्रान्स एक सुन्दर देश हो । पश्चिमी यूरोपमा अवस्थित यस देशले भौगोलिक रूपमा विविध क्षेत्रलाई ओगटेको छ । सांस्कृतिक रूपमा पनि एक लामो इतिहास बोकेको फ्रान्स संस्कृति, पाक कला र साहित्यको प्रमुख केन्द्रको रुपमा प्रख्यात छ । यी सबै कारणहरूले यसलाई विश्वभरि अन्तर्राष्ट्रिय  विद्यार्थीहरूको लागि एक रोमाञ्चक गन्तव्य बनाउँदछ । पढाई खर्च फ्रान्समा युरो मुद्राको प्रयोग हुन्छ । एक युरो बराबर १२५ नेपाली रुपैंया हुन्छ । यहाँको सार्वजनिक शैक्षिक संस्थानहरूमा ट्यूशन दरहरू सरकारले निर्धारण गर्दछ र ती धेरै किफायती हुन्छन् । वास्तवमा फ्रान्सकोे सार्वजनिक संस्थानहरूमा उच्च शिक्षाका शिक्षण शुल्क घरेलु र अन्तर्राष्ट्रिय  विद्यार्थीहरूको लागि समान छन् । यहाँ ट्युसन लागतहरू प्रत्येक वर्ष सेट गरिन्छ । २०१७ मा फ्रान्समा स्नातक तह अध्ययनको लागि औसत वार्षिक शिक्षण लागत २०० अमेरिकी डलर अर्थात २३ हजार भन्दा कम र मास्टरको अध्ययनका लागि लगभग २५९ युरो डलर अर्थात नेपाली ३३ हजार आसपास रहेको थियो । विद्यार्थीहरूले केही मात्रामा प्रशासन शुल्क तिर्न आवश्यक हुन्छ, जसले शिक्षण लागत थोरै बढाउँदछ । यधापी फ्रान्समा पढ्ने भनेको उच्च स्तरको शिक्षा खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि सबैभन्दा सस्तो विकल्प हो । यी दरहरू सार्वजनिक संस्थानहरूमा मात्र लागू हुन्छन् । यदि तपाई निजी संस्थानमा अध्ययन गर्न चाहानुहुन्छ भने शुल्क धेरै बढी हुन्छन्, जुन प्रति वर्ष १० हजार अमेरिकी डलर सम्म पर्न जान्छ । बसाई खर्च शिक्षण शुल्कको दाँजोमा फ्रान्समा बसाई खर्च भने ठ्याक्कै उल्टो रहेको छ । यहाँको बसाई खर्च छिमेकी देशहरू भन्दा बढी छ । यधापी विद्यार्थीहरूले प्राय: रेस्टुरेन्ट र यातायातमा छुट पाउँछन्, जसले शुल्क केही कम भने गराईदिन्छ । यहाँका साना शहरहरूमा बस्दा लागत कम हुन्छ, त्यसैले कहाँ अध्ययन गर्ने भनेर निर्णय गर्दा यो कुरालाई ध्यान दिनुपर्छ । विदेशी विद्यार्थीहरूको फ्रान्समा आवासको लागि धेरै विकल्पहरू छन् । तपाई विश्वविद्यालयको आवासमा प्रति महिना युरो डलर १२० अर्थात नेपाली १६ हजारको आसपास तिरेर बस्न सक्नुहुन्छ । होमस्टे विदेशी विद्यार्थीहरूको लागि अर्को विकल्प हो । यसको शुल्क स्थानको आधारमा तोकिएको हुन्छ, जुन प्रति महिना २०० युरो अर्थात नेपाली २५ हजार आसपास पर्न जान्छ, जसमा कम्तिमा एक दिनको खाना समावेश हुन्छ । यहाँ विद्यार्थीहरुले स्थानीय तहबाट अनुदानको लागि आवेदन दिने विकल्प पनि रहेको छ । निवेदन जसले पनि दिन सक्छन् र यदि तपाई अनुदानको लागि योग्य हुनुहुन्छ भने तपाईले आफ्नो भाडाको मासिक ३५ प्रतिशत फिर्ता पाउन सक्नुहुन्छ । अन्य लागत बिजुली, ग्यास, इन्टरनेट :  ६० युरो डलर प्रति महिना अध्ययन सामग्री :  ५० युरो डलर प्रति महिना ट्राभल कार्ड वा यातायात : ७० युरो डलर प्रति महिना भान्साका सामाग्री : २५० युरो डलर प्रति महिना भाषा: फ्रान्सेलीहरु आफ्नै भाषालाई प्राथमिकता दिने गरेका छन्, यधपी तपाईले अंग्रेजी भाषाको माध्यमबाट पनि संचार गर्न सक्नुहुन्छ । तर तपाईले फ्रेन्च भाषा सिक्नुभयो भने त्यो तपाईको लागि निकै नै फाईदाजनक रहन्छ । विद्यार्थीले काम गर्ने प्रावधान हरेक विदेशी विद्यार्थीहरुलाई फ्रान्समा काम गर्न पाउने सुविधा रहेको छ । यदी तपाई युरोपियन युनियन भित्रको देशको विद्यार्थी पर्नु भएन भने तपाईले काम गर्नको लागि अनुमति लिनु पर्छ ।  फ्रान्सेली कानून अनुसार विदेशी विद्यार्थीहरूलाई हप्तामा २० घण्टा काम गर्न सक्छन् । जब तपाई फ्रान्समा काम गर्नुहुन्छ भने तपाईलाई प्रति घण्टा ९.७६ युरो डलर ज्याला दिईन्छ । यो कुनै पनि किसिमको कर नकटाइएको ज्याला दर हो ।

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी

      काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा मासिक १० देखि १५ उजुरी ‘इमेल फिसिङ’को पर्ने गरेको छ । ‘इमेल फिसिङ’ भनेको दुईजना व्यवसायी वा आफन्तबीच इमेलमा भएको कुराकानी अपरिचित व्यक्तिले बीचमा बसेर गोप्य निगरानी गर्ने र व्यवसायी वा आफन्तबीच इमेलमार्फत रकमको कारोवार हुन थालेपछि मेल आइडी, बैंकको खाता नम्बर र देशसमेत इमेलमार्फत परिवर्तन गरेर रकम ठगी गर्नु हो । अपराध महाशाखा साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लिलाराज डाँगी नेपालबाट विदेशमा हुने कारोवारमा बढी ‘इमेल फिसिङ’ हुने गरेको बताउँछन् । “विदेशबाट सामान आयात गरेर इमेलमार्फत रकम भुक्तानी गर्दा, ट्रेकिङ, ट्राभल्स, टुर्स कम्पनीको बढी ‘इमेल फिसिङ’ हुने गरेको छ”, उनी भन्छन् । यस्तै, प्रतिष्ठित व्यक्तिको फेसबुक, ट्वीटर ह्याक गरेर गोप्य सूचना लिएर रकमको बार्गेनिङ गर्ने, अर्काको नाममा फेसबुक तथा ट्वीटर खोलेर गोप्य सूचना लिने र दुःख दिने गरेको उजुरी प्रहरीकोमा आउने गरेको महाशाखाले जनाएको छ । महाशाखामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा साइबर अपराधसम्बन्धी ४५२ उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापा सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा पर्यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताए । “विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ”, उनले भने । महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० वर्षदेखि २० वर्ष उमेर समूहका २२.०५ प्रतिशत, २० देखि ३० वर्ष समूहका ३९.९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९.९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका ७.९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् । “सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ”, उनी भन्छन् । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । महाशाखामा चालू आवमा साइबर अपराधमा ४५२ उजुरी दर्ता भए पनि ११ जनाविरुद्ध मुद्दा चलाएको छ । सामाजिक सञ्जालमा छ, ह्याकिङ गर्ने दुई र जथाभावी एसएमएस गर्ने तीनजना विरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै, आव २०७३÷०७४ मा एक हजार १९७ उजुरी दर्ता भएकोमा २६ जनाविरुद्ध मुद्दा चलेको थियो । आव २०७४÷०७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकोमा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको तथा आव २०७५÷०७६ मा एक हजार ९३८ उजुरी दर्ता भएकोमा ६७ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख थापा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको बताएका छन् । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही गर्दै आएको छ । विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने प्रावधान छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विसं २०७५ मा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताउनुहुन्छ । साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ । स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाको बारेमा पूर्ण अनुसन्धान गर्न नसके पनि केही घटनाको भने अनुसन्धान गर्दै आएको छ । महाशाखाले समेत अहिले साइबर अपराधका घटनाको अनुसन्धानका लागि ब्यूरोमा पठाउन थालेको छ । प्रहरीले लागू गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधसमेत रोकथाम हुने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ । रासस