विकासन्युज

उत्पादन लागत घटाउन वीरगञ्जमा बन्दैछ औद्योगिक कच्चा पदार्थ राख्ने अर्को बन्दरगाह

काठमाडौं । सरकारले वीरगञ्ज सुक्खा बन्दरगाह नजिककै औद्योगिक कच्चा पदार्थ राख्ने छुट्टै बन्दरगाह निर्माण गर्ने भएको छ । सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । हाल सञ्चालनमा रहेको वीरगञ्जको सुक्खा बन्दरगाह नजिकै नयाँ सुख्खा बन्दरगाह निर्माण गर्न लागेको हो । हाल रहेको बन्दरगाहबाट नयाँ १० देखि १५ किलोमिटर आसपासमा औद्योगिक कच्चा पदार्थ राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढेको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक उत्पादनको लागत कम गर्न औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण गर्न लागेको हो,’ उनले भने-‘भारतसहित तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ सोझै रेलमार्गबाट आयात गर्न नयाँ बन्दरगाह निर्माण गर्न लागिएको हो ।’ उक्त बन्दरगाह निर्माण भएपछि फलामे तथा स्टिल रड, फ्लाई एस, बिटुमिन क्लिंकर, कोइलालगायत ३५ भन्दा बढी कच्चा पदार्थ राख्न सहज हुनेछ । सहसचिव ढकालले भने, ‘ढुवानीको लागत खर्च घटाउन र प्रदूषण न्यूनीकरण गर्न नयाँ बन्दरगाह निर्माण गर्न लागिएको हो । यो बन्दरगाह निर्माणपछि ढुवानीको क्रममा सिर्जना हुने विभिन्न प्रकारका अवरोध अन्त्य गर्न सहज हुने उनले बताए । बन्दरगाह निर्माण गर्न करिब ७० बिघा जग्गा आवश्यक रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयले यस अवधिमा बन्दरगाह निर्माण गर्न जग्गा खोजी गरी दुई तीन स्थानमा हेरिसकेको छ । जग्गा उपलब्ध भएपछि निर्माण लागत, भौतिक पूर्वाधारको खाकाको विषयमा टुंगो लाग्ने उनले बताए । उक्त बन्दरगाहसम्म वीरगन्जमा सञ्चालनमा रहेको हालको सुक्खा बन्दरगाहसँग सडक मार्ग र रेलमार्गको पहुँच विस्तार गरिने छ । वातावरणीय दृष्टिकोणले स्थानीय बासिन्दा र वातावरणलाई प्रभावित नहुने गरी बन्दरगाह निर्माण गर्न लागिएको हो । औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण भएपछि अहिलेको सुक्खा बन्दरगाह कन्टेनराइज्ड कार्गोका लागि मात्र प्रयोग गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

मर्जपछि एनएमबी बैंकको नाफा ४८ प्रतिशतले वृद्धि

काठमाडाैं । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एनएमबी बैंकले उत्कृष्ट पर्फमेन्स देखाएको छ । बैंकको खुद नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रथम तीन महिनामा ५५ करोड ५ लाख नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ८१ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको निक्षेप २४ प्रतिशतले बढेको छ । २०७५ असोजमा ९७ अर्ब निक्षेप रहेकोमा हाल १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप भएको छ । कर्जा सापटी पनि ८८ अर्ब बाट बढेर १ खर्ब १० अर्ब रुपैयाँ भएको छ । बैंकको सेयर पुँजी पनि ९ अर्ब ६१ करोडबाट ११ अर्ब ५१ करोड रुपैयाँ भएको छ । बैंकको वासलात एक वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँबाट १ खर्ब ६८ अर्ब रुपैयाँ भएको छ । यी सबै सूचकाङ्कमा आएको वृद्धि नेचुरल ग्रोथबाट भने होइन । एनएमबी बैंकमा ओम डेभलपमेन्ट बैंक विलय भएकोले वासलात, नाफा, पुँजी, निक्षेप, कर्जा सबै वृद्धि भएको हो । बैंकका केही परिसूचक भने खराब भएका छन् । बैंकको खराब कर्जा शून्य दशमलव ७६ प्रतिशतबाट बढेर १ दशमलव ९७ प्रतिशत भएको छ । नेटवर्थ प्रतिसेयर १७ रुपैयाँले घटेर १८२ रुपैयाँ ४० पैसा भएको छ । बेस रेट ९.९३ बाट १०.३३ मा चढेको छ र प्रतिसेयर मूल्य आम्दानी अनुपात ११.७५ रहेको छ ।

सेन्चुरी बैंकको नाफा ३७ करोड नाघ्यो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेर सो नाफा आर्जन गरेको हो । गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमै यथेष्ठ नाफा कमाएको बैंकको वितरण योग्य नाफा भने १८ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा २ अर्ब १३ करोड ब्याज आम्दानी गरेको छ भने १ अर्ब ३५ करोड ब्याज खर्च गरी खुद ब्याज आम्दानी ७८ करोड रहेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ६१ अर्ब निक्षेप संकलन गरेको छ । बैकको सीडी रेसियो ७९.२१ प्रतिशत कायम गरेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशत छ भने स्प्रेड दर ४.८४ प्रतिशत छ ।

रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भने-‘आइएम भेरी ह्याप्पी’

काठमाडौँ । ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा । सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो । रुपा र बेगनास तालको ठ्याक्कै माथिपट्टिको हरियो डाँडामा एकनासले विराजमान रुपाकोट रिसोर्टबाट हिउँले सेताम्मे पारेको हिमशृङ्खला देखिन्छ । आठ आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा जो कोही मन पुलकित हुन्छ । प्रकृतिक छटाले मुग्ध भएपछि धेरैको मुखबाट सहजै निस्कन्छ, आहा कति राम्रो ठाँउ । आम मान्छेले सहजै जनाउने प्रतिक्रिया जस्तै बङ्गलादेशी राष्ट्रपति हमिदले पनि आफ्ना प्रतिनिधिमण्डलका सदस्य र रिसोर्टका सञ्चालकका बीचमा भने, “आइएम भेरी ह्याप्पी, दिस इज भेरी नाइस प्लेस ।” भिआइपीको भ्रमण हुँदैछ भन्ने खबर थाहा पाएपछि रुपाकोट रिसोर्टका मालिक पुष्पराज अधिकारीलाई खुशीले भुइँमा खुट्टा नै थिएनभन्दा पनि हुन्छ । त्यसो त बङ्गलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँस्थित बङ्गलादेशी दूतावासका अधिकारी पटकपटक रुपाकोट रिसोर्ट पुगेका थिए । राष्ट्रपति नै आउने खबर अधिकारीले दश दिन पहिले थाहा पाउनुभएको थियो । राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो । त्यसका लागि रिसोर्टले बङ्गलादेशी दूतावाससँग पनि छलफल गरेको थियो । रिसोर्ट भित्रैको करेसाबारीमा उत्पादन हुने साग असाध्यै मीठो मानेर खानुभयो, रिसोर्टका सञ्चालक अधिकारीले भने, “हामीले विशेष प्रकारको बिरयानी बनाएका थियौँ । त्यसलाई समेत राष्ट्रपति हमिदले खुशी हुँदै लिनुभयो ।” हामीले स्थानीय खाना नै उहाँलाई खुवायौँ । असाध्यै खुशीको भाव प्रस्तुत गर्दै अधिकारीले भने, “पछाडि परेको रुपाकोटजस्तो डाँडाको पनि दिन फिर्दो रहेछ भन्ने मलाई अनुभव भएको छ ।” अधिकारीले थप भने, “हामीले आफ्नै बारीमा प्राङ्गारिक खेती गरेका छौँ, त्यसले आफ्नै उत्पादन पाहुनालाई खुवाउन सकिन्छ भन्ने मान्यताको समेत विकास गरेका छौँ ।” डेढ घण्टा रिसोर्टमा रहँदा राष्ट्रपतिले मन्त्रमुग्ध भएर हिमश्रृंखला हेरे । रुपा र बेगनास तालको प्राकृतिक छटाको मज्जा लिए । “डाँडा काँडामा पनि राष्ट्रिय पाहुना आउनुहुन्छ र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनुहुन्छ भन्ने मेरो विश्वासले काम गरेको छ”, हर्षित हुँदै अधिकारीले भने । राष्ट्रपतिको स्वागतले पुलकित हुनुभएका अधिकारी भन्नुहुन्छ, “यो त शुरुआत हो जस्तो लाग्छ, आगामी दिनमा अझै धेरै देशका विशिष्ठ पाहुना यहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।” अधिकारीले भ्रमणको जोहो गरिदिने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार र स्थानीय रुपा गाउँपालिकालाई पनि आभार व्यक्त गरे । “यो रिसोर्ट राज्यका लागि हो, मेरा लागि मात्र होइन भन्ने मेरो पूर्ववत् भनाइले साकार रुप पाएजस्तो लागेको छ”, अधिकारी अगाडि भन्नुहुन्छ, “पैसा खोज्न अब विदेश जानु नै पर्दैन ।” पोखरामा फूलबारी रिसोर्टजस्ता अन्य २० वटा रिसोर्ट बनाउन सकिन्छ, तर रुपाकोट रिसोर्ट भने भूगोल र प्रकृतिको आधारमा हेर्दा मात्रै एउटा मात्रै बन्न सक्ने उनको भनाइ छ । बेल्जियममा रेस्टुराँ व्यवसाय गर्दै आएका अधिकारीले स्वदेश फर्किएर २०० रोपनी जग्गामा रिसोर्ट स्थापना गरेका हुन् । यूरोपमा बसेर व्यवसाय गरिरहँदा रुपाकोटको सौन्दर्यले पछ्याएपछि उनले आफ्नै गाउँ फर्किएर रिसोर्ट बनाउने सपना देखे । जुन पछिल्लो दिनमा सकार हुँदै गएको छ । कूल ६० रोपनी क्षेत्रमा फैलिएको रिसोर्टमा नेपालीपन झल्कने आकर्षक घर बनाइएको छ । स्थानीय गुरुङ समुदायको शैलीसँग मिल्ने गरी ढुङ्गाले छापेको बाटोमा कागती, मेवा, आँपलगायतका फलफूलका बिरुवा छन् । बाटाकोे छेउमा फुलेका रङ्गीचङ्गी फूलले आम मानिसलाई तानेजस्तै आज राष्ट्रपतिलाई पनि मोहित बनायो । रुपाकोटमा मौसम पनि राम्ररी खुलेको थियो । घमाइलोले पनि राष्ट्रपति हमिदलाई सहयोग गर्यो । खुलेको मौसमले ‘रिट्रिटका’ लागि आउनुभएका बङ्गलादेशी अथितिलाई स्वागत गरेकोजस्तो लाग्थ्यो । प्राङ्गारिक खाना खाएपछि राष्ट्रपति हमिद, उहाँकी धर्मपत्नी र बङ्गलादेशी पाहुनाले पोखराको सौन्दर्यको आफू आफैँमा चर्चा मात्रै गरेनन्, नेपालको प्राकृतिक विविधता र सुन्दरताको समेत मुक्तकण्ठले प्रशंसा गरे । राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन । नेपाली पञ्चचेबाजा बजाइएको थियो । बाटा घाटा सफा गरिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बङ्गलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो । राष्ट्रपति हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरियो । नेपालीको भव्य स्वागत पाउँदा खुशीले मुस्काउनु भएका राष्ट्रपतिले हात हल्लाएर स्थानीयवासीलाई अभिवादन गरेका थिए । रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरेका थिए । उनको स्वागतार्थ रुपा गाउँपालिकाको मुख्य प्रवेशद्वार खोलाको छेउ र रुपाकोट रिसोर्टको मुख्य प्रवेशद्वारमा आकर्षक स्वागतद्वार राखिएको थियो । स्थानीय विजयपुरदेखि नै पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो । पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो । उनले हिमाल, तालसहितका दृश्य निकै उत्सुकताका साथ अवलोकन गरेको रिसोर्टका सञ्चालक अधिकारीले बताए । उनले उच्च पहाडी भूभागमा सडक र खानेपानी कसरी पु¥याइएको छ भन्दै जिज्ञासा समेत राखेका थिए । राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी उपहार दिए । उपहार लिँदै गर्दा राष्ट्रपति हमिदले पोखरेलीले जनाएको हार्दिकताको मुक्तकण्ठले प्रशंसा गरे । रासस

नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार

काठमाडौँ । ‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छौँ, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले दिएको प्रतिक्रिया हो यो । राज्यमन्त्रीको प्रतिक्रिया नै काफी छ कि बङ्गलादेशलाई ऊर्जाको हुटहुटी कति छ भनेर । नेपालसँग वाणिज्य व्यापारलाई थप सहज गर्ने र नेपालका सरकारी तथा निजी कम्पनीसँग मिलेर काम गर्ने इच्छा बङ्गलादेशले मनैदेखि प्रकट गरेको छ । बङ्गलादेशका राष्ट्रप्रमुख मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा छन् । विहीबार उनी पर्यटकीय नगरी कास्कीको रुपाकोट पुगे । नेपाली मनसँग आफ्नो देश र जनताको मन जोडिएको भन्दै दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने बुधबार आफ्ना समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा व्यक्त गरेको विचारको समेत स्मरण गरे । पछिल्लो दिनमा गरीबी, अभाव, रोग र भोकबाट बङ्गलादेशी जनतालाई मुक्त पार्दै आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको बङ्गलादेशले नेपालसँगको गहिरो साझेदारी र सहकार्य गर्न खोजेको छ । आर्थिक विकास र वृद्धिदरमा समेत अगाडि रहेका बङ्गलादेशले पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा गरेको प्रगति लोभलाग्दो रहेको छ । उसले त्यसैका लागि नेपालको जलविद्युत्मा सहकार्यका लागि साथ खोजेको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लैजाने विषयलाई आफ्नो दीर्घकालीन नीतिमा समावेश गरिसकेको छ । तत्कालीन ऊर्जा, राज्यमन्त्री नसरुल हमिदको नेपाल भ्रमणको क्रममा होस् वा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ भदौमा गर्नुभएको बङ्गलादेश भ्रमणमा नै किन नहोस् नेपालको ऊर्जा क्षेत्रमा साझेदार भएर काम गर्ने इच्छा प्रकट गरेको छ । पछिल्लो दिनमा बङ्गलादेश दक्षिण एशियामा आर्थिक शक्तिका रुपमा उदाउन थालेको छ । गरीबी, राजनीतिक द्वन्द्वबाट बाहिर निस्केर उसले गरेको आर्थिक विकासको प्रयास नेपालका लागिसमेत अनुकरणीय विषय बन्न सक्ने देखिएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापनक सङ्कायका डिन प्रा डा डिल्लीराज शर्मा भारतसँग मात्रै निर्भर रहेको हाम्रो जस्तो देशको अर्थतन्त्रलाई अगाडि बढाउन बङ्गलादेश एउटा सहयोगी बन्न सक्ने बताउँछन् । पछिल्लो दिनमा बङ्गलादेशले विशेष गरी चिकित्सा शिक्षामा गरेको प्रगति, पर्यटन उद्योगमा ल्याएको उभार पनि हाम्रा लागि प्रेरणाको स्रोत बन्ने भन्दै उनले कृषिउपजको उत्पादन बढाउन सके सहजै बङ्गलादेश निर्यात गर्न सकिने बताए । सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । चालू आर्थिक वर्षमा नै प्रक्षेपण गरिएको आधारमा मात्रै जलविद्युत् आयोजना निर्माण हुने हो भने एक हजार ३०० मेगावाट विद्युत् यसै वर्ष थप हुनेछ । आगामी तीन चार वर्षमा नेपालको जलविद्युत् उत्पादनमा आकाश जमीनको फरक आउने छ । त्यतिबेला ऊर्जा निर्यात गर्नुको विकल्प नेपालसँग रहने छैन । त्यस्तो अवस्थामा ऊर्जाको अत्यधिक माग भएको बङ्गलादेश नेपालको महत्वपूर्ण गन्तव्य बन्न सक्ने प्रा डा शर्माको भनाइ छ । वर्षेनी चुलिँदो व्यापार घाटा घटाउनसमेत नेपालले बेलैमा सोचेर बङ्गलादेशसँग सहकार्यको हात बढाउनु ढिलाइ गर्न नहुनेमा जोड दिँदै प्रा डा शर्माले भने, “उनीहरुलाई विद्युत् चाहिएको छ । हामीसँग स्रोत छ, त्यसलाई सदुपयोग गर्दा व्यापार घाटा घटाउन तथा नेपालको आर्थिक उन्नतिका लागि पनि मार्ग प्रशस्त हुन सक्छ ।” गत आर्थिक वर्षमा बङ्गलादेशसँग रु २ अर्ब ९४ करोड ८७ लाख व्यापार घाटा रहेको थियो । नेपालबाट रु १ अर्ब २९ करोड ३४ लाख बराबरको मालवस्तु निर्यात हुँदा बङ्गलादेशबाट रु ४ अर्ब ३४ करोड २२ लाख बराबरको आयात भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीको सम्मानमा बुधबार आयोजना गरेको रात्रिभोजमा समेत नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेको बताउँदै सहकार्यका लागि आह्वान गरे । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति हमिदसँग गरेको भेटमा समेत नेपालको ऊर्जा क्षेत्रमा सहकार्यका विषयमा नै कुराकानी भए बङ्गलादेशका राष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाक्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले हरसम्भव सहयोग गर्ने वचन दिएर सहकार्यको क्षेत्रलाई थप फराकिलो बनाउने विश्वास व्यक्त गरे । दुवै देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवद्र्धनलगायत आपसी चासोका अलावा नेपाललाई बङ्गलादेशले उपलब्ध गराउँदै आएका विभिन्न बन्दरगाहको उपयोग र नेपाली उत्पादनलाई बङ्गलादेशी बजारमा पुर्याउन तथा द्विपक्षीय व्यापार वृद्धिमा समेत सहकार्य गर्ने बाटोमा राष्ट्रपति हमिदको भ्रमणले मार्ग प्रशस्त गरेको छ । प्रधानमन्त्री ओलीले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न सके यहाँ उत्पादन हुने ऊर्जा बङ्गलादेशमा खपत गर्न सहज हुने वास्तविकता राष्ट्रपतिलाई अवगत मात्रै गराउनुभएन व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, जलमार्ग, हवाई मार्ग, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा पनि एक अर्का देशले मिलेर काम गर्ने बताए । प्राडा शर्मा नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा राष्ट्रपति हमिदको भ्रमणले बङ्गलादेशका पर्यटकलाई नेपाल आउन अभिप्रेरित गर्ने बताउँछन् । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पुरातात्विक सम्पदाले बङ्गलादेशका जनता नेपाल भ्रमणमा आकर्षित गर्नसक्ने वातावरण बनेको छ । राष्ट्रपति हमिदको भ्रमणले पुनः एक पटक पोखराको पर्यटनले विश्वव्यापीरुपमा चर्चा पाएको छ । अतिविशिष्ट व्यक्तिको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा निकै टेवा पुग्ने पोखरेली व्यवसायीको भनाइ छ । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बङ्गलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ । भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् बङ्गलादेशसम्म पुर्याउने उसको सोच छ । पछिल्ला दिनमा गार्मेन्ट उद्योगमा विश्व समुदायलाई आफ्नो पहिचान दिन सफल बङ्गलादेशले नेपालको विद्युतबाट थप आर्थिक उपार्जन गर्ने लक्ष्य राखेको छ । दुई देशबीच ऊर्जा क्षेत्रमा साझा सहकार्य गर्ने द्विपक्षीय संयन्त्र क्रियाशील छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा क्षेत्रका लगानीका लागि द्विपक्षीय संयन्त्रमार्फत आफ्ना गतिविधि अगाडि बढाइरहेको छ । गत असोज २६ र २७ गते भारतको बैंगलोरमा सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले नेपाल, बङ्गलादेश र भारतबीच ऊर्जा आदानप्रदानका लागि त्रिदेशीय संयुक्त बैठक आयोजना गर्ने सहमति भएको थियो । सो सहमतिले नेपालको विद्युत् भारतको भूमि वा संयन्त्र प्रयोग गरेर बङ्गलादेश पु¥याउन मार्गप्रशस्त गरेको छ । त्रिपक्षीय बैठक तीन महिनाभित्र आयोजना गर्ने सहमति भएकाले बैठकपछि थप आधारहरू तयार हुनेछन् । दुई देशबीचको ऊर्जा संयन्त्रको बैठक नियमित बसिरहेको छ । बङ्गलादेशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यतिखेर बङ्गलादेशलाई करीब ६० हजार मेगावाट विद्युत् जरुरी छ । त्यसका लागि एउटा उत्तम विकल्प नेपाल हो भन्नेमा बङ्गलादेश स्पष्ट छ । सन् २०२१ सम्म बङ्गलादेशलाई २४ हजार मेगावाट विद्युत् आवश्यक पर्ने जनाइएको छ । बङ्गलादेशको आर्थिक वृद्धिदर १० प्रतिशत पु¥याउने लक्ष्यसाथ काम भइरहेकाले थप ऊर्जा जरुरी छ । नेपालको निजी क्षेत्र विशेषगरी स्वतन्त्र ऊर्जा, उत्पादकहरूको संस्था नेपाल (इपान)सँग मिलेर बङ्गलादेशका निजी क्षेत्रले संयुक्तरूपमा लगानीका लागि प्रस्ताव गरेको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईं ऊर्जाको अत्यधिक माग रहेको बङ्गलादेशमा त्यहाँको निजी क्षेत्र तत्काल नै करीब छ हजार मेगावाट क्षमताका आयोजना निर्माणका लागि इच्छुक छन् । बङ्गलादेशमा स्याउ, सुन्तला, नास्पाती, आलुबखडा, अलैँची, अम्रिसो, तेजपात, सिमेण्ट, गिट्टीको माग बढी भएकाले नेपालले ती सामग्री नेपालबाट निर्यात गर्न सकिने अवस्था छ । नेपाल बङ्गलादेशमैत्री सङ्घका अध्यक्ष दीनदया रिजालका अनुसार बङ्गलादेश नेपालसँग निकै नजिक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई नेपालले पनि बुझिदिनुपर्छ । बङ्गलादेशी हिमाल, पहाड, डाँडाकाँडा देखेर आनन्दित हुने र नेपालको प्रकृतिप्रति उनीहरुको लगाव छ । उनीहरु नेपाली भूमि निकै मन पराउने, न स्वर्ग नै मान्ने रिजालको भनाइ छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि बङ्गलादेशीलाई नेपालमा आकर्षित गर्न नेपाल सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता छ । बङ्गलादेशको आर्थिक वृद्धिदर सन् २०१९ मा आठ प्रतिशत हुने अन्तरराष्ट्रिय दातृ निकायले प्रक्षेपण गरेका छन् । बङ्गलादेश सरकारले सन् २०२१ देखि दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने लक्ष्यसहित काम गरिरहेको सन्दर्भमा पनि नेपालले त्यसबाट लाभ लिने गरी सहकार्यको हात अगाडि बढाउनु आवश्यक देखिएको छ । सरकारले ‘डिजिटल नेपाल’ कार्यक्रम लागू गर्न लागिरहेको सन्दर्भमा बङ्गलादेशले यसअघि नै शुरु गरिसकेको ‘डिजिटल बंगलादेश’बाट पनि नेपालले अनुभव लिन सक्छ । रासस

नेपाल बंगलादेश बैंकको नाफा ३३% ले वृद्धि, बेसरेट डबल डिजिटबाट सिङ्गलमा

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा पहिलो त्रैमासमा ३३.३२ प्रतिशतले बढेको छ । असोज मसान्तमम्ममा बैंकको नाफा ४० करोड २५ लाख रुपैयाँ छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा ३० करोड १९ लाख रुपैयाँ मात्र थियो । बैंकको व्यवसाय विस्तार भने सुस्त छ । कर्जा लगानी करिव ३ अर्ब ३४ करोड विस्तार गरी ५५ अर्ब ८५ करोड पुर्याएको छ । तर निक्षेप ३९ करोडले घटेर ५९ अर्ब ३७ करोड रुपैयाँ भएको छ । बैंकको बेसरेट डबल डिजिटबाट सिङ्गल डिजिटमा झरेको छ । एक वर्षअघि १०.२० प्रतिशतमा रहेको बेसरेट ९.८७ मा झरेको छ । कष्ट अफ फण्ड ७.४३ बाट ७.२९ प्रतिशतमा झरेको छ । खराव कर्जा अनुपात भने थोरै बढेर १.९७ प्रतिशत भएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ छ । पुँजी प्रयाप्तता अनुपात १३.४४ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ३४ पैसा छ । मुल्य आम्दानी अनुपात १० रुपैयाँ २५ पैसा छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २०५ रुपैयाँ छ ।

बैंक अफ काठमाण्डूको नाफा ३८ करोड ३७ लाख

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले ३८ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ । बैंकले गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख नाफा कमाएको थियो । चालु आवको यो अवधिमा बैंकको वितरण योग्य आय भने १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । चालु आवको यो अवधिमा बैंकले ८५ अर्ब ७७ करोड निक्षेप संकलन गरेर ७२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको बैंकले आधार दर भने १०.०२ प्रतिशत रहेको छ । आठ अर्ब ६ करोड सेयर पुँजी रहेको बैंकको ४ अर्ब ४४ करोड संचित पुँजी रहेको छ । बैंकको कष्ट अफ फण्ड ७.९२ प्रतिशत र सीडी रेसियो ७५.५९ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १७२.७५ रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी १९.०४ पैसा रहेको बैंकले खराव कर्जा १.७३ प्रतिशत रहेको छ ।

माछापुच्छ्रे बैंककाे जोड व्यवसाय विस्तारमा, तीन महिनामा नाफा साढे ३७ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारलाई जोड दिएको छ । साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी ९१ अर्ब २० करोड रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापाटी ८ अर्ब ५४ करोडले वृद्धि गरी ८३ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । असोज मसान्तमा बैंकको वासलात १ खर्ब १४ अर्ब रुपैयाँ भएको छ, जुन असार मसान्तको तुलनामा ९ अर्बले बढी हाे । ८ अर्ब ४५ करोड चुक्ता पुँजी भएको यस बैंकले ३ महिनामा ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा थोरै बढेकाे देखिन्छ । चालु आर्थिक वर्षमा १३ वटा शाखा थप गरी  १४३ वटा पुर्याएकाेले र नयाँ व्यवसाय विस्तारमा जोड दिईएकोले नाफा वृद्धि कम हुन गएको बैंक उच्च व्यवस्थापनले जनाएका छ । बैंकका अन्य धेरै परिसूचकमा सुधार देखिएको छ । बैंकको खराव कर्जा घटेर शुन्य दशमलव ३१ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ७.९९ बाट ७.५७ प्रतिशतमा झरेको छ । बेसरेट ११.२१ बाट घटेर १०.५६ प्रतिशतमा झरेको छ । पुँजी प्रयाप्तता अनुपात १३.८९ प्रतिशत छ । यसको अर्थ नयाँ व्यवसाय विस्तार गर्न बैंकलाई प्रयाप्त स्पेश रहेको देखिन्छ । बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ६४ पैसा छ । प्रति सेयर मूल्य आम्दानी अनुपात १२.६० रहेको छ । विहीबार बैंकको सेयर २२४ रुपैयाँमा कारोबार भएको छ ।