मुस्ताङको जोमसोममा इ-कार रेसिङ हुने
काठमाडौँ । नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘एक्स्ट्रिम र इ’ नाम दिइएको रेस ब्याट्रीबाट चल्ने विद्युतीय कारको रेस हो । नेपाल पर्यटन बोर्डको संयोजनमा बेलायतको ‘एक्स्ट्रिम इ’ नामक संस्थाले रेसिङ आयोजना गर्न लागेको हो । रेसिङका लागि विभिन्न पाँच भौगोलिक क्षेत्रमध्ये हिमालयतर्फ नेपाल छनोट भएको हो । वातावरणमा अन्य प्रभाव नहोस् भनेर विद्युतीय कारको रेसिङ गर्न लागिएको हो । नेपाल भ्रमण वर्षलाई सहयोग पुग्नुका साथै आगामी पर्यटन अभियानमा पनि यसले सहयोग पुग्ने बोर्डका वरिष्ठ अधिकृत सुदन सुवेदीले जानकारी दिए । सन् २०११ मा पहिलो पटक घोषणा भएको फर्मुला वानको इ–कार रेसिङ यसअघि सन् २०१४ मा चीनको राजधानी बेजिइङमा उद्घाटन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र फर्मुला इ–च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागलेसहितको टोलीले दुई दिनअघि मनाङको अवलोकन गरी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । विश्वव्यापीरूपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएका छन् । नेपालमा हुने रेसिङ भने फरक छ । यसमा विद्युतीय ‘एसयुभी’ गाडी प्रयोग हुन सक्नेछन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको सन्दर्भमा हुने यो कार्यक्रमले गन्तव्य प्रवद्र्धनका साथै जलवायु परिवर्तनको जोखिम विश्वमै बढिरहेको सन्दर्भमा वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँका अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन् । अध्यक्ष अलेजेन्ड्रोले नेपालको भूगोल रेसिङका लागि उपयुक्त रहेको र साहसिक पर्यटन प्रवद्र्धनका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने
काठमाडौँ । देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ । भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको समझदारीअनुरुप सो अभियानको शुभारम्भ गरिएको हो । सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ । यस्तो लोगो चार प्रकारको हुनेछ । गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ । प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ । आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ । देशभार कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासङ्घले जनाएको छ । अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यातायात क्षेत्रको ठूलो सञ्जालको रुपमा रहेको महासङ्घसँगको सहकार्यले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भ्रमण वर्षको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, यातायातका साधन व्यवस्थापन तथा चालकको व्यवहारमा परिवर्तनका लागि लागिपरेको बताए । भ्रमण वर्षको सन्दर्भ पारेर सार्वजनिक सवारीसाधनमा सचेतना अभिवृद्धिका लागि १०० स्वयंसेवक परिचालन गरिने मन्त्री भट्टराईले उल्लेख गरे । स्वयंसेवकले सवारीसाधनका यात्रु तथा चालकलाई नैतिक शिक्षा, सरसफाइलगायतबारे सचेत पार्नेछ । सवारीसाधनमा भ्रमण वर्षसम्बन्धी जानकारीमूलक ‘जिङ्गल’ प्रसारणको व्यवस्था गरिनेछ । प्रारम्भमा एक हजार चालक र सहचालकलाई तालीम दिइनेछ । मन्त्रालय, महासङ्घ र ट्रेड युनियन सङ्गठनको साझेदारितामा आगामी मङ्सिर १ गतेदेखि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिरसमेत विभिन्न चरणमा तालीम सञ्चालन गरिनेछ । मन्त्री भट्टराईले विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण यातायातका साधनमा जिपिएस प्रणाली लागू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक यातायातलाई पर्यटकमैत्री बनाउन सेवा सुधार र व्यवहारमा परिर्वतन ल्याउन जरुरी भएको खाँचो औँल्याए । उनले पर्यटक विमानस्थलमा ओर्लेदेखि गन्तव्य सकेर फर्कंदासम्म यातायातसँग जोडिएको विषय भएकाले आतिथ्य सत्कार, शरल भाषा र शालिनता अपनाउन चालक तथा सहचालकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई पर्यटकमैत्री बनाउन सबै पद्धत्ति अवलम्बन गरिने बताए । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रको सुधार गरी सेवालाई पर्यटनमैत्री बनाउन लागिपर्ने बताए ।
यातायात व्यवस्था कार्यालयका अधिकृत घुस लिएको आरोपमा पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँका शाखा अधिकृतसहित चार जनालाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगले मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत रु तीन हजार घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । आयोगले शाखा अधिकृत शुक्रप्रसाद भट्टराई र घुस दिने रिकन्डिसन हाउसका किरण देउला, उत्तम विक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकीलाई पक्राउ गरेको हो । आयोगको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेपनि विहीबार सार्वजनिक गरेको हो । यस्तै आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीले जग्गाको नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग रु छ हजार घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उनीहरुले घुस मागेको आरोप छ ।
सेलपे सेवाले शुरु गर्यो दोस्रो चरणका स्टल एक्टिभेसन
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाटभटेनिमा मंसिर ६ र ७ गते र पाटन भाटभटेनिमा मंसिर १३र १४ गते १० देखि ५ बजे सम्म कम्पनीले जनाएको छ । एक्टिभेसनको मूल उदेश्य ग्राहकहरुसंग अन्तरक्रिया बढाउन र सेलपे एप्प, यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ । एक्टिभेसनको समयमा सेलपेले स्पोटकेवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्ने जनाएको छ । सेलपे द्धारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिने मनी ट्रान्सफर आदि वास्तविक समयमा गर्न सकिन्छ ।
आरएमडीसीले वरिष्ठ कर्मचारीलाई दियो कर्जा बिश्लेषण तालिम
काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २७ देखि २८ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका २१ वटा लघुबित्त कारोबार गर्ने लघुबित्त संस्था रसहकारी संस्थाहरुका ३४ जना फिल्ड हेर्ने बरिष्ठ कर्मचारीहरुकोे सहभागिता रहेको थियो । उक्त तालिम कार्यक्रमको संचालन शाखा काकर्मचारी दिनेश सिरुवालले गरेका थिए भने कार्यक्रममा सहभागीहरुको स्वागत शाखाका कर्मचारी कृष्णप्रसाद अधिकारीले गरेका थिए । उक्त तालिममा जीवन बिकास लघुबित्त बित्तीय संस्था लि.का जनशक्ती बिभाग प्रमुख सुदीपकुमार मण्डल र नेरुडे लघुबित्त बित्तीय संस्था लि.का बित्त बिभाग प्रमुख दिनेश कटुवालले प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले ऋण लगानीका सिद्धान्तहरु, प्रकृया तथा ऋण बिश्लेषणका ५ अवधारणा, धितो ऋण बिश्लेषण तथा ब्यवस्थापन, भाका नाघेको असर तथा त्यसको ब्यवस्थापनका बारेमा प्रशिक्षण दिएका थिए ।
एनसीसीमा रक्तदान गर्नेको भीड, ५ घण्टामै १२१ जनाले गरे रक्तदान
काठमाडौं । युथ रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पस(वाईआरसी एनसीसी)ले आयोजना गरेको रक्तदान कार्यक्रममा १२१ जनाले रक्तदान गरेका छन् । रगतको अभावलाई न्युनिकरण गर्न सहयोग मिल्ने विश्वासका साथ आयोजना गरिएको उक्त कार्यक्रममा ५ घण्टामै १०० भन्दा बढीले रक्तदान गरेका हुन् । वाईआरसी एनसीसीले बुधबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमकाे आयोजना गरेको थियो । विगतका दिनमा पनि यस्ता कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम सम्पूर्ण स्वयंसेवकहरुको सहकार्यमा सफलताका साथ सम्पन्न भएको वाईआरसी एनसीसीका का.अध्यक्ष कुशल बस्नेतले जनाएका छन् । तर समयको अभावले गर्दा रक्तदान गर्न इच्छुक ५० जना रक्तदाताहरुलाई यसै फर्काउन बाध्य भएको बस्नेतले बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार निर्देशक डा. मनिता राजनाकार, नेपाल रेडक्रस सोसाइटी कोटेश्वर मिनभवन उपशाखाकी सभापति चन्द्रकला कार्की, नेपाल कमर्श क्याम्पस(एनसीसी)का प्रमुख प्राध्यापक डा.जीवन कुमार भट्टराई एवं सहायक क्याम्पस प्रमुख तथा विभिन्न सङ्कायका प्राध्यापकहरुको उपस्थिति थियो । त्यस्तै, क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै वाईआरसी-एनसीसीका का.अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका छन् । युथ रेडक्रस सर्कल एनसीसीले कात्तिक २७ गते रक्तदान कार्यक्रम गर्दै, किन गर्ने रक्तदान ?
गण्डकी विकास बैंकद्वारा मुस्ताङमा विविध सामाग्री वितरण
काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ । यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५ स्थीत जनमुक्ति युवा क्लवलाई विभिन्न खेलकुद सामाग्रीहरु तथा जोमसोम स्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीहरुका लागि विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ । छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित संघ संस्थाका पदाधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा उल्लेखित संघ संस्थाका पदाधिकारी एवम् स्थानीयको उपस्थिती रहेको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता भएको छ । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति जनाउन मद्दत पुग्ने अपेक्षा गरेको छ ।