हिमालयन बैंकको नाफा ६९ करोड, निक्षेप बढेर एक खर्ब नाघ्यो
काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४२ प्रतिशतले बढी हो । बैंकले गत आवको पहिलो तीन महिनामा ६४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । जुन अघिल्लो वर्षको तीन महिनामा ५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । साउनदेखि असोजसम्ममा बैंकले निक्षेपमा ६ अर्बले वृद्धि गरी एक खर्ब १५ अर्ब रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा सापटी ५ अर्बले वृद्धि गरी ९७ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । बैंकले खुद आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ पुर्याउँदा एक अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च गरेको छ । त्यस्तै, बैंकको खराब कर्जा घटेर १.१६ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ६.१४ बाट ६.४२ प्रतिशतमा पुगेको छ । पुँजी प्रयाप्त अनुपात बढेर १४.०८ प्रतिशत छ । बेसरेट ९.२२ बाट घटेर ८.९३ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको स्प्रेड दर बढेर ५.३६ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.८३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिसेयर मूल्य आम्दानी अनुपात १५.४० रहेको छ ।
ज्योति लाईफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम हस्तान्तरण
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी दुघर्टना मृत्यु बापत हुने बीमाङ्कको दोहोरो रकम रु २० लाख र बोनस बापतको रकम रु ५५ हजार गरी कुल २० लाख ५५ हजारको चेक हस्तार गरेका हुन् । स्व. केसीले यस कम्पनीको तुलसीपुर उपशाखाबाट गत चैत १२ गते रु १० लाख बीमाङ्कको बीमालेख लिएका थिए भने यही असोज १३ गते मोटरसाईकल दुर्घटनामा परी उनको निधन भएको थियो । बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा तुलसीपुर उमनपा वडा ९ का वडा सदस्य डम्मर पुरी, प्रहरी सहायक निरक्षक प्रदीप खड्का, टोलका अध्यक्ष केशव ओली, घोराही शाखाका प्रवन्धक पूर्णबहादुर ओली, तुलसीपुर उपशाखा प्रवन्धक कमलसिंह खडका, कम्पनीका एजेन्सी म्यानेजर दिनेश केसी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ५ करोड नाफा कमाएको बैंकले चालु आर्थिक वर्ष साउनदेखि असोजसम्मको यो अवधिमा ८४ करोड ४४ लाखमात्रै नाफा गरेको छ । बैंकको वितरण योग्य नाफा भने ४२ करोड ३७ लाख रुपैयाँ कायम छ । बैंकले यो अवधिमा आफ्नो १ खर्ब ५१ अर्ब २८ करोड निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सीडी रेसियो ७५.६२ प्रतिशत कायम छ । बैंकले ३ अर्ब ८८ करोड ब्याज आम्दानी गरेको बैंकले २ अर्ब ३५ करोड ब्याज खर्च गरी १ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको हो । १२ अर्ब ८६ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कर्जा प्रवाह बढेसँगै बैंकले खराब कर्जामा वृद्धि भएर २.८४ प्रतिशत रहेको छ । आधार ब्याजदर ८.४८ प्रतिशत, कस्ट अफ फण्ड ६.३४ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको स्प्रेड दर ४.३६ प्रतिशत रहेको छ । प्रति सेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी २६.२५ रुपैयाँ कायम रहेको छ ।
क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
मार्तडी । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ । नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन् । आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको मान्यता पाएको बाजुरा क्याम्पस राजनीति गर्ने अखडा बनेको र क्याम्पस प्रशासनले सामान खरिदमा आर्थिक अमियमितता गरेको आरोपसहित नेविसङ्घले तालाबन्दी गरेको छ । बिहीबार सार्वजनिक विज्ञप्तिमार्फत नेविसङ्घले सातबुँदे मागसहित तालाबन्दी गरेको क्याम्पस एकाइ सचिव थापाले जानकारी दिएका छन् । बाजुरा क्याम्पसले आङ्गिक क्याम्पसको औपचारिक उद्घाटन कार्यक्रम राखेको अघिल्लो दिन नेविसङ्घले विरोधस्वरुप तालाबन्दी गरेको थियो । तालाबन्दीप्रति क्याम्पसप्रमुख पण्डितले कुनै चासो नदेखाउँदै एकलौटी ताला तोडेर कार्यक्रम गरेको आक्रोशमा पुनः अनिश्चितकालका लागि तालाबन्दी गरेको नेविसङ्घ एकाइ कार्य समितिले जनाएको छ । राजनीतिक आस्थाको प्रवद्र्धन गर्ने गरी क्याम्पस प्रशासनले उद्घाटन गरेकाले सर्वपक्षीय भेलाबाट मिति घोषणा नगरेको, छात्रवृत्ति वितरणमा समानता ल्याउनुपर्ने, क्याम्पसमा निर्माण भएका भवनको गुणस्तर छानबिन गरिनुपर्ने, लामो समयसम्म पनि क्याम्पसमा पठनपाठनमा संलग्न नहुने र बिदामा बस्ने प्राध्यापकको विषयमा आवश्यक छानबिन गरिनुपर्ने लगायतका मागहरु अघि सारेका छन् । यस्तै, तत्कालीन क्याम्पस सञ्चालक समितिका अध्यक्ष तुलाराम जैसी र स्वतन्त्र विद्यार्थी युनियनका सभापति चेतनदीप ऐडीले क्याम्पसको भवन निर्माण कार्य आफूखुशी नेकपाका कार्यकर्तालाई दिएको विषयमा निपष्क्ष छानबिनको माग रहेको छ । बाजुरा क्याम्पस प्रशासनले भने सबै पक्षसँगको सहकार्यमा मिति तय गरी आङ्गिक क्याम्पस उद्घाटन गरेको जिकिर गरेको छ । क्याम्पस प्रशासनको निर्णय अधिकार भएकाले उपलब्ध सबैसँगको छलफलपछि उद्घाटन गरिएकाले यसलाई नै राजनीतिक आस्थासँग जोड्नु गलत भएको क्याम्पसप्रमुख पण्डितले बताए । रासस
उत्पादन लागत घटाउन वीरगञ्जमा बन्दैछ औद्योगिक कच्चा पदार्थ राख्ने अर्को बन्दरगाह
काठमाडौं । सरकारले वीरगञ्ज सुक्खा बन्दरगाह नजिककै औद्योगिक कच्चा पदार्थ राख्ने छुट्टै बन्दरगाह निर्माण गर्ने भएको छ । सरकारले उद्योगमा प्रयोग हुने औद्योगिक कच्चा पदार्थको राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो । हाल सञ्चालनमा रहेको वीरगञ्जको सुक्खा बन्दरगाह नजिकै नयाँ सुख्खा बन्दरगाह निर्माण गर्न लागेको हो । हाल रहेको बन्दरगाहबाट नयाँ १० देखि १५ किलोमिटर आसपासमा औद्योगिक कच्चा पदार्थ राख्नको लागि छुट्टै बन्दरगाह निर्माण गर्ने प्रक्रिया अघि बढेको उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक उत्पादनको लागत कम गर्न औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण गर्न लागेको हो,’ उनले भने-‘भारतसहित तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ सोझै रेलमार्गबाट आयात गर्न नयाँ बन्दरगाह निर्माण गर्न लागिएको हो ।’ उक्त बन्दरगाह निर्माण भएपछि फलामे तथा स्टिल रड, फ्लाई एस, बिटुमिन क्लिंकर, कोइलालगायत ३५ भन्दा बढी कच्चा पदार्थ राख्न सहज हुनेछ । सहसचिव ढकालले भने, ‘ढुवानीको लागत खर्च घटाउन र प्रदूषण न्यूनीकरण गर्न नयाँ बन्दरगाह निर्माण गर्न लागिएको हो । यो बन्दरगाह निर्माणपछि ढुवानीको क्रममा सिर्जना हुने विभिन्न प्रकारका अवरोध अन्त्य गर्न सहज हुने उनले बताए । बन्दरगाह निर्माण गर्न करिब ७० बिघा जग्गा आवश्यक रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयले यस अवधिमा बन्दरगाह निर्माण गर्न जग्गा खोजी गरी दुई तीन स्थानमा हेरिसकेको छ । जग्गा उपलब्ध भएपछि निर्माण लागत, भौतिक पूर्वाधारको खाकाको विषयमा टुंगो लाग्ने उनले बताए । उक्त बन्दरगाहसम्म वीरगन्जमा सञ्चालनमा रहेको हालको सुक्खा बन्दरगाहसँग सडक मार्ग र रेलमार्गको पहुँच विस्तार गरिने छ । वातावरणीय दृष्टिकोणले स्थानीय बासिन्दा र वातावरणलाई प्रभावित नहुने गरी बन्दरगाह निर्माण गर्न लागिएको हो । औद्योगिक कच्चा वस्तुका लागि छुट्टै बन्दरगाह निर्माण भएपछि अहिलेको सुक्खा बन्दरगाह कन्टेनराइज्ड कार्गोका लागि मात्र प्रयोग गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।
मर्जपछि एनएमबी बैंकको नाफा ४८ प्रतिशतले वृद्धि
काठमाडाैं । चालु आर्थिक वर्षको प्रथम तीन महिनामा एनएमबी बैंकले उत्कृष्ट पर्फमेन्स देखाएको छ । बैंकको खुद नाफा ४८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको प्रथम तीन महिनामा ५५ करोड ५ लाख नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ८१ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको निक्षेप २४ प्रतिशतले बढेको छ । २०७५ असोजमा ९७ अर्ब निक्षेप रहेकोमा हाल १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप भएको छ । कर्जा सापटी पनि ८८ अर्ब बाट बढेर १ खर्ब १० अर्ब रुपैयाँ भएको छ । बैंकको सेयर पुँजी पनि ९ अर्ब ६१ करोडबाट ११ अर्ब ५१ करोड रुपैयाँ भएको छ । बैंकको वासलात एक वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँबाट १ खर्ब ६८ अर्ब रुपैयाँ भएको छ । यी सबै सूचकाङ्कमा आएको वृद्धि नेचुरल ग्रोथबाट भने होइन । एनएमबी बैंकमा ओम डेभलपमेन्ट बैंक विलय भएकोले वासलात, नाफा, पुँजी, निक्षेप, कर्जा सबै वृद्धि भएको हो । बैंकका केही परिसूचक भने खराब भएका छन् । बैंकको खराब कर्जा शून्य दशमलव ७६ प्रतिशतबाट बढेर १ दशमलव ९७ प्रतिशत भएको छ । नेटवर्थ प्रतिसेयर १७ रुपैयाँले घटेर १८२ रुपैयाँ ४० पैसा भएको छ । बेस रेट ९.९३ बाट १०.३३ मा चढेको छ र प्रतिसेयर मूल्य आम्दानी अनुपात ११.७५ रहेको छ ।
सेन्चुरी बैंकको नाफा ३७ करोड नाघ्यो
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सेन्चुरी कमर्सियल बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ५४ करोड कर्जा प्रवाह गरेर सो नाफा आर्जन गरेको हो । गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा बैंकले २७ करोड ४० लाख नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासमै यथेष्ठ नाफा कमाएको बैंकको वितरण योग्य नाफा भने १८ करोड रुपैयाँ रहेको छ । ८ अर्ब ४१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा २ अर्ब १३ करोड ब्याज आम्दानी गरेको छ भने १ अर्ब ३५ करोड ब्याज खर्च गरी खुद ब्याज आम्दानी ७८ करोड रहेको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ६१ अर्ब निक्षेप संकलन गरेको छ । बैकको सीडी रेसियो ७९.२१ प्रतिशत कायम गरेको छ । बैंकको खराब कर्जा २.४७ प्रतिशत छ भने स्प्रेड दर ४.८४ प्रतिशत छ ।
रुपाकोट पुगेपछि राष्ट्रपति हमिदले भने-‘आइएम भेरी ह्याप्पी’
काठमाडौँ । ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा । सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो । रुपा र बेगनास तालको ठ्याक्कै माथिपट्टिको हरियो डाँडामा एकनासले विराजमान रुपाकोट रिसोर्टबाट हिउँले सेताम्मे पारेको हिमशृङ्खला देखिन्छ । आठ आठ हजार मिटरभन्दा अग्ला तीन वटा हिमाललाई आँखै अगाडि देख्न पाउँदा जो कोही मन पुलकित हुन्छ । प्रकृतिक छटाले मुग्ध भएपछि धेरैको मुखबाट सहजै निस्कन्छ, आहा कति राम्रो ठाँउ । आम मान्छेले सहजै जनाउने प्रतिक्रिया जस्तै बङ्गलादेशी राष्ट्रपति हमिदले पनि आफ्ना प्रतिनिधिमण्डलका सदस्य र रिसोर्टका सञ्चालकका बीचमा भने, “आइएम भेरी ह्याप्पी, दिस इज भेरी नाइस प्लेस ।” भिआइपीको भ्रमण हुँदैछ भन्ने खबर थाहा पाएपछि रुपाकोट रिसोर्टका मालिक पुष्पराज अधिकारीलाई खुशीले भुइँमा खुट्टा नै थिएनभन्दा पनि हुन्छ । त्यसो त बङ्गलादेशका व्यवसायी, कलाकार, बैंक तथा वित्तीय संस्थाका प्रमुख र यहाँस्थित बङ्गलादेशी दूतावासका अधिकारी पटकपटक रुपाकोट रिसोर्ट पुगेका थिए । राष्ट्रपति नै आउने खबर अधिकारीले दश दिन पहिले थाहा पाउनुभएको थियो । राष्ट्रपति हमिदलाई नै भनेर रिसोर्टले स्थानीय माछाको विशेष परिकार बनाएको थियो । त्यसका लागि रिसोर्टले बङ्गलादेशी दूतावाससँग पनि छलफल गरेको थियो । रिसोर्ट भित्रैको करेसाबारीमा उत्पादन हुने साग असाध्यै मीठो मानेर खानुभयो, रिसोर्टका सञ्चालक अधिकारीले भने, “हामीले विशेष प्रकारको बिरयानी बनाएका थियौँ । त्यसलाई समेत राष्ट्रपति हमिदले खुशी हुँदै लिनुभयो ।” हामीले स्थानीय खाना नै उहाँलाई खुवायौँ । असाध्यै खुशीको भाव प्रस्तुत गर्दै अधिकारीले भने, “पछाडि परेको रुपाकोटजस्तो डाँडाको पनि दिन फिर्दो रहेछ भन्ने मलाई अनुभव भएको छ ।” अधिकारीले थप भने, “हामीले आफ्नै बारीमा प्राङ्गारिक खेती गरेका छौँ, त्यसले आफ्नै उत्पादन पाहुनालाई खुवाउन सकिन्छ भन्ने मान्यताको समेत विकास गरेका छौँ ।” डेढ घण्टा रिसोर्टमा रहँदा राष्ट्रपतिले मन्त्रमुग्ध भएर हिमश्रृंखला हेरे । रुपा र बेगनास तालको प्राकृतिक छटाको मज्जा लिए । “डाँडा काँडामा पनि राष्ट्रिय पाहुना आउनुहुन्छ र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनुहुन्छ भन्ने मेरो विश्वासले काम गरेको छ”, हर्षित हुँदै अधिकारीले भने । राष्ट्रपतिको स्वागतले पुलकित हुनुभएका अधिकारी भन्नुहुन्छ, “यो त शुरुआत हो जस्तो लाग्छ, आगामी दिनमा अझै धेरै देशका विशिष्ठ पाहुना यहाँ आउनुहुन्छ भन्ने मेरो विश्वास छ ।” अधिकारीले भ्रमणको जोहो गरिदिने नेपाल सरकार, परराष्ट्र मन्त्रालय, गण्डकी प्रदेश सरकार र स्थानीय रुपा गाउँपालिकालाई पनि आभार व्यक्त गरे । “यो रिसोर्ट राज्यका लागि हो, मेरा लागि मात्र होइन भन्ने मेरो पूर्ववत् भनाइले साकार रुप पाएजस्तो लागेको छ”, अधिकारी अगाडि भन्नुहुन्छ, “पैसा खोज्न अब विदेश जानु नै पर्दैन ।” पोखरामा फूलबारी रिसोर्टजस्ता अन्य २० वटा रिसोर्ट बनाउन सकिन्छ, तर रुपाकोट रिसोर्ट भने भूगोल र प्रकृतिको आधारमा हेर्दा मात्रै एउटा मात्रै बन्न सक्ने उनको भनाइ छ । बेल्जियममा रेस्टुराँ व्यवसाय गर्दै आएका अधिकारीले स्वदेश फर्किएर २०० रोपनी जग्गामा रिसोर्ट स्थापना गरेका हुन् । यूरोपमा बसेर व्यवसाय गरिरहँदा रुपाकोटको सौन्दर्यले पछ्याएपछि उनले आफ्नै गाउँ फर्किएर रिसोर्ट बनाउने सपना देखे । जुन पछिल्लो दिनमा सकार हुँदै गएको छ । कूल ६० रोपनी क्षेत्रमा फैलिएको रिसोर्टमा नेपालीपन झल्कने आकर्षक घर बनाइएको छ । स्थानीय गुरुङ समुदायको शैलीसँग मिल्ने गरी ढुङ्गाले छापेको बाटोमा कागती, मेवा, आँपलगायतका फलफूलका बिरुवा छन् । बाटाकोे छेउमा फुलेका रङ्गीचङ्गी फूलले आम मानिसलाई तानेजस्तै आज राष्ट्रपतिलाई पनि मोहित बनायो । रुपाकोटमा मौसम पनि राम्ररी खुलेको थियो । घमाइलोले पनि राष्ट्रपति हमिदलाई सहयोग गर्यो । खुलेको मौसमले ‘रिट्रिटका’ लागि आउनुभएका बङ्गलादेशी अथितिलाई स्वागत गरेकोजस्तो लाग्थ्यो । प्राङ्गारिक खाना खाएपछि राष्ट्रपति हमिद, उहाँकी धर्मपत्नी र बङ्गलादेशी पाहुनाले पोखराको सौन्दर्यको आफू आफैँमा चर्चा मात्रै गरेनन्, नेपालको प्राकृतिक विविधता र सुन्दरताको समेत मुक्तकण्ठले प्रशंसा गरे । राष्ट्रपतिको स्वागतमा रुपा गाँउपालिकाले कुनै कन्जुस्याइँ गरेको थिएन । नेपाली पञ्चचेबाजा बजाइएको थियो । बाटा घाटा सफा गरिएको थियो भने स्वागतद्वार बनाएर नेपाल बङ्गलादेशमैत्री सम्बन्ध अमर रहोस् भन्ने नारासमेत लेखिएको थियो । राष्ट्रपति हमिदको कास्कीको रुपाकोट गाउँपालिकास्थित रुपाकोट रिसोर्टमा भव्य स्वागत गरियो । नेपालीको भव्य स्वागत पाउँदा खुशीले मुस्काउनु भएका राष्ट्रपतिले हात हल्लाएर स्थानीयवासीलाई अभिवादन गरेका थिए । रुपाकोटमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, उपप्रमुख लालसुब्बा गुरुङ, जनप्रतिनिधि तथा सरकारी कर्मचारीलगायतले स्वागत गरेका थिए । उनको स्वागतार्थ रुपा गाउँपालिकाको मुख्य प्रवेशद्वार खोलाको छेउ र रुपाकोट रिसोर्टको मुख्य प्रवेशद्वारमा आकर्षक स्वागतद्वार राखिएको थियो । स्थानीय विजयपुरदेखि नै पानीले भरिएका घडा राखेर स्वागत गरेका थिए । राष्ट्रपति हमिदलाई स्वागतार्थ मुस्लिम समुदायको झाँकी, दलित समुदायको पञ्चेबाजा तथा नेवार समुदायबाट लाखे नाचका साथै गुरुङ समुदायको घाटु र मारुनी नृत्य देखाइएको थियो । पोखरा र लेखनाथका विभिन्न भूभागसहित रुपाताल र बेगनासतालको दृश्य एक साथ अवलोकन गर्न सकिने यहाँबाट देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिम शृङ्खलाले राष्ट्रपति हमिदलाई लोभ्याएको सहजै अनुमान गर्न सकिन्थ्यो । उनले हिमाल, तालसहितका दृश्य निकै उत्सुकताका साथ अवलोकन गरेको रिसोर्टका सञ्चालक अधिकारीले बताए । उनले उच्च पहाडी भूभागमा सडक र खानेपानी कसरी पु¥याइएको छ भन्दै जिज्ञासा समेत राखेका थिए । राष्ट्रपति हमिदलाई गाउँपालिका प्रमुखले नेपालमा परम्परागतरुपमा उत्पादन गरिँदै आइएको काठको ठेकी उपहार दिए । उपहार लिँदै गर्दा राष्ट्रपति हमिदले पोखरेलीले जनाएको हार्दिकताको मुक्तकण्ठले प्रशंसा गरे । रासस