विकासन्युज

महसुल उठाउन लाइन काट्दै प्राधिकरण

खोटाङ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको हो । गत वर्षको मङ्सिरदेखि नै बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने काम शुरु गरिए पनि तिहारपछि दिक्तेल बजारमा मात्रै ४० ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख रामदिनेशराय यादवले बताए । “बक्यौता नतिर्नेमा दिक्तेल बजार र हलेसी भेगका ग्राहक बढी छन्”, उनले भने, “पटकपटक आग्रह गर्दा पनि अटेरी गरेकाले अभियान नै चलाएर लाइन काट्न शुरु गरेका हौँ ।” गत वर्षको कात्तिकसम्म रु एक करोड चार लाख ४७६ बक्यौता उठाउन बाँकी देखिएलगत्तै प्राधिकरणले मङ्सिरदेखि बक्यौता उठाउन ताकेता गर्दै आएको थियो । अभियानअन्तर्गत अहिलेसम्म रु ५२ लाख ६१ हजार ७९७ उठेको छ । प्राधिकरणका अनुसार रु ५१ लाख ८५ हजार ८८१ उठाउन बाँकीे छ । जिल्लामा पहिलेजस्तो महशुल बुझाउन दिक्तेल धाउनुपर्ने अवस्था छैन । तैपनि ग्राहक महसुल तिर्न चासो देखाउँदैनन् । प्राधिकरणले दिक्तेलबाहेक हलेसी र खोटाङ बजारमा मोबाइल काउण्टर स्थापना गरेर मासिक महसुल बुझ्ने गरेको छ । हलेसीमा प्रत्येक महिनाको २८, २९ र ३० गते तथा खोटाङ बजारमा महिनाको २३, २४ र २५ गते महसुल बुझाउने गरेका छन् । ग्राहकलाई महसुल तिर्न सचेत गराउँदै प्राधिकरण अहिले बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने, बिग्रिएको मिटरबक्स निःशुल्क फेर्ने र काठेपोल हटाएर फलामे पोल राख्ने काममा लागेको छ । बक्यौता महसुल नतिर्नेमा सबैभन्दा बढी व्यक्ति र औद्योगिक क्षेत्रका ग्राहक रहेका प्राधिकरणले जनाएको छ । महसुल नबुझाउने संवेदनशील संस्थालाई भने प्राधिकरणले पत्र काटेर बक्यौता बुझाउन अनुरोध गरेको छ । प्राधिकरणले हिउँद÷वर्षा जुनसुकै समयमा पनि विद्युत् अवरुद्ध हुन नदिन प्रसारण लाइनमा पर्ने रुख तथा झाडीसमेत हटाउने काम गरिरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपामा रहेको सवस्टेशनमार्फत खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् यसअघि पटकपटक अवरुद्ध हुने गरेको थियो । उदयपुरको गाईघाटस्थित जलजलेबाट ल्याइएको विद्युत् प्रसारण लाइनमा रहेको १९८ वटा ट्रान्सफर्मरको लोड मिलाउने काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । तीन वर्षअघिदेखि ३३ केभी क्षमताको विद्युत विस्तार गरिएकामा पछिल्लो समय अवरुद्ध हुनेक्रम हट्दै गएको उपभोक्ताले बताएका छन् । विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेकाु विद्युत् हालसम्म खोटाङ जिल्लाको साविक ४४ गाविसमा विस्तार भएको छ । रासस

व्यवसायी डा. रुप ज्योति हाजिर जमानीमा हिरासत मुक्त हुँदै, नचल्ने भो मुद्दा

काठमाठौँ । व्यवसायी डा. रुप ज्योति हाजिर जमानीमा हिरासत मुक्त हुने भएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिबक्ता नुमराज खनालले प्रहरीलाई हिरासत मुक्त बारे पत्र लेखेको बताए । ठगी मुद्दामा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो । तर, मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीमा पत्र दर्ता गरेपछि ज्योति माथि मुद्दा नचल्ने भएको हो । लाई पत्र दिएपछि प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । ‘मुद्दा नचल्ने भएपछि थुनामा राख्न मिल्दैन, त्यसकारण महान्यायाधिवक्ता कार्यालयबाट निर्णय नहुञ्जेलसम्म हाजिर जमानामा छाड्न प्रहरीलाई पत्राचार गरेको छौ’– सहायक जिल्ला न्यायाधिवक्त खनालले बताए । व्यवसायी रुप ज्योतिको पक्षमा व्यवसायीको प्रदर्शन, सम्मानपूर्वक रिहा गर्न माग उद्योगपति डा. रुप ज्योतिलाई सम्मानपूर्वक रिहा गर्न महासंघको आग्रह प्रतिष्ठित व्यवसायी रुप ज्योतिको गिरफ्तारीप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा ज्योति समूहका उपाध्यक्ष रुप ज्योतिको पक्राउप्रति नाडाको ध्यानाकर्षण रुप ज्योतिलाई ५ दिन थुनामा राख्न अदालतको आदेश, पक्राउको विरोधमा काठमाडौंमा प्रदर्शन उद्योगी रुप ज्योतिको गिरफ्तारी प्रति चेम्बरको आपत्ति ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ    

सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई ज्याकेट हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपद्धारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ । जाडोयामलाई लक्षित गरी मानव सेवा आश्रममा आश्रित सम्पुर्ण महानुभावहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको हो । उक्त अवसरमा सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतले संयुक्त रुपमा मानव आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेका हुन् ।

पाल्पाका १२ विद्यालय शून्य दरबन्दीमा सञ्चालन

पाल्पा। पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा आएको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी दिए । जिल्लाको तिनाउ गाउँपालिका र रैनादेवी छहरामा सबैभन्दा बढी शून्य दरबन्दी विद्यालय रहेका छन् । तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन मावि, निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा आएको हो । शून्य दरबन्दीमा रहेका विद्यालयलाई शिक्षकका लागि शिक्षण सहयोग अुनदानका रुपमा बजेट प्राप्त हुँदै आएको बेल्बासेको दाबी छ । विसं २०७६/७७ मा शिक्षा विकास तथा समन्वय एकाइमा बजेट प्राप्त भएको थियो । विसं २०७५/७६ मा स्थानीय तहमा नै केन्द्रीय सरकारले शिक्षण सहयोग अनुदान पठाएको हो । शिक्षण अनुदानको रकम मावि तहमा रहेका शिक्षकहरुलाई तलब प्राप्त भए पनि आधारभूत तहका शिक्षकले अनुदान कार्यक्रमबाट बञ्चित हुनुपरेको छ । विसं २०६६ देखि दरबन्दी थप गर्ने काम भएको छैन । पछिल्ला वर्षमा माविका कक्षा सञ्चालनमा आएका विद्यालयमा शिक्षक दरबन्दी नहुँदा पठनपाठन गराउने शिक्षकका लागि पारिश्रमिकको जिम्मेबारी विद्यालयले बेहोर्नुपर्ने बाध्यता छ । गाउँपालिकाले जसोतसो गरी मावि तह सञ्चालन गर्नुपर्ने बाध्यता छ । शून्य दरबन्दीमा सञ्चालित विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ । तर, मावि नहुँदा अन्यत्र पठाउँदा बढी समय लाग्ने भएपछि ग्रामीण क्षेत्रका माविमा गाउँपालिका र विद्यालयको आन्तरिक खर्चबाट मावि शिक्षक पालिन्छन् । शून्य दरबन्दीका मावि कहाँ छन् ? पाल्पाको तिनाउ गाउँपालिकाको कोलडाँडामा बृद्ध मावि, तिनाउको दोभानस्थित थानीडाँडा, मस्यामको जनदीप मावि, रैनादेवी छहरा गाउँपालिकाको गहतेस्थित गहते मावि, भुवनपोखरीस्थित जोगवाणी मावि, जुठापौवास्थित गुहाठाना मावि रहेका छन् । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा जनप्रिय मावि र ज्यामिरेका जनप्रिय मावि शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका दुई माविमा हाल पनि शिक्षकलाई कसरी र कहिलेसम्म तलब खुवाउने भन्ने पिरलो छ । रिब्दीकोट गाउँपालिकाको ठिमुरेस्थित भाष्कर मावि र खस्यौलीको माविको समस्या फरक छैन । जिल्ला सदरमुकाम तानसेन नगरपालिका–१ भूषलडाँडास्थित माविको समस्या पनि उस्तै छ । जिल्लाको नमूना पठनपाठन हुने विद्यालयको रुपमा नाम दर्ज गर्न सफल भए पनि मावि तहमा दरबन्दीका शिक्षक नहुँदाको पीडा यो माविलाई पनि छ । झण्डै ५१९ विद्यार्थी भूषलडाँडा माविमा पठनपाठन गर्छन् । विषयगत रुपमा शिक्षकको अभाव छ । निजी शिक्षकका भरमा मावि सञ्चालन गर्दा अभिभावकले विश्वास कम गर्ने समस्यासमेत भोगेका छन् । शिक्षक विद्यार्थी अनुपातमा एक शिक्षक बराबर ६८ विद्यार्थी रहे पनि स्थानीय तहबाट दरबन्दी नहुँदा विषयगत शिक्षकको अभाव विद्यालयले खेपेको शिक्षक राजेन्द्र बस्यालले जानकारी दिए । रासस

अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसँगै बढ्याे उद्योग दर्ता गर्नेको सङ्ख्या

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्य रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो । करिब साढे तीन महिनाको अवधिमा एक हजार ४७९ उद्योग दर्ता भएका छन् । साउनदेखि हालसम्म घरेलुतर्फ ७४४ र वाणिज्यतर्फ ७३५ गरी उक्त सङ्ख्यामा दर्ता भएका उद्योग प्रशासन शाखाकी खरदार मेनका कट्टेलले जानकारी दिएकी छिन् । पछिल्लो समय उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको उनले बताइन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा वर्षभरिमा उद्योगतर्फ एक हजार १३४ र वाणिज्यतर्फ एक हजार ४७१ उद्योग दर्ता भएकामा आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक नबित्दै अघिल्लो वर्षको हाराहारीमा उद्योग दर्ता भएको उनले बताएकी हुन् । असोजसम्म रु २० लाख ७६ हजार ३५० राजश्व सङ्कलन भएको छ । उक्त कार्यालयले आव २०७५÷७६ मा रु ८० लाख ४० हजार ३०५ राजश्व सङ्कलन भएको जनाएको छ । त्यसैगरी, वाणिज्यतर्फका फर्म दर्ता गर्दा रु २६ लाख ९९ हजार १२५ राजश्व सङ्कलन भएको तथ्याङ्क सहायक रवि अधिकारीले जानकारी दिए । वाणिज्यतर्फ आव २०७५/७६ मा रु ७० लाख ७३ हजार ७८० राजश्व सङ्कलन भएको थियो । गत आवमा ४० उद्योग खारेज भएका छन् । विदेश गएका, उद्योग सञ्चालन गर्न छाडेका उद्योगीले करचुक्ता प्रमाणपत्र ल्याएर उद्योग खारेज गरेका हुन् । साठी प्रतिशत उद्योग महिलाका नाउँमा घरेलु तथा साना उद्योग कार्यालयमा महिलाको नाउँमा उद्योग दर्ता गर्नेको सङ्ख्या करिब ६० प्रतिशत रहेको सो कार्यालयले जनाएको छ । नेपाल सरकारले २०७५ चैत्रबाट महिला, दलित, पिछाडिएका वर्गका नाउँमा उद्योग दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था गरेपछि महिलाका नाउँमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको हो । महिलाका नाउँमा उद्योग दर्ता गर्दा रु एक करोड पूँजीसम्मका लागि रु २०० शुल्क मात्रै लाग्नेछ । उक्त कार्यालयलाई रु पाँच करोड पूँजीसम्मको उद्योग दर्ताका लागि अधिकार प्रदान गरेको छ । रु एक लाखसम्म एक हजार १००, तीन लाखसम्म रु तीन हजार १००, रु पाँच लाखसम्म रु छ हजार १००, रु २० लाखसम्म रु १२ हजार १००, रु एक करोडसम्म रु २० हजार १०० र रु पाँच करोडसम्म रु ३० हजार १०० राजश्व बुझाउनुपर्ने व्यवस्था छ । रासस

चेक कीर्ते गरी बढी रकम निकालेको आरोपमा प्रहरी जवान पक्राउ

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको तीन हजारको एउटा र चार हजारको अर्को चेक गरी जम्मा रु सात हजारको चेक बैंकमा माथिल्लो कोठाबाट सदर गरी पुनः रु तीन हजारका स्थानमा रु ३० हजार र रु चार हजारको स्थानमा रु ४० हजार लेखेर सो बैंकबाट रु सात हजारको ठाउँमा रु ७० हजार झिकेको बैंकका प्रबन्धक शिवशंकर यादवले बताउनुभयो । बैंकमा बिहीबार बेलुका हिसाब मिलान गर्दा हिसाब नमिलेपछि सबै चेकलाई जाँचबुझ गर्दै जाँदा प्रहरी जवान द्विवेदीले आफ्नै दुवै चेकमा केरमेट गरेको भेटिएपछि बैंक प्रबन्धक यादवले राति नै महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीलाई सो कुराको जानकारी गराएपछि प्रज द्विवेदीलाई प्रहरी कार्यालयमा पक्राउ गरी राखिएको हो । प्रहरी उपरीक्षक अधिकारीले कीर्ते र ठगी गर्ने व्यक्ति प्रहरी हुनलायक नरहेको बताउँदै प्रहरी जवान द्विवेदीलाई कारवाहीस्वरुप निलम्बन गरिने प्रक्रिया अगाडि बढाइएको बताए । रासस

काठमाडौं उपत्यकामा संस्थागत घरजग्गा व्यवसाय शून्य, चालु आवमा कसैले लिएनन् स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षमा संस्थागत घरजग्गा व्यवसाय दर्ता शून्य रहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट चालु आर्थिक वर्षमा घरजग्गा व्यवसायलाई संस्थागत स्वीकृति लिनेको संख्या शून्य रहेको हो । वि.सं २०६१ सालदेखि हालसम्म दुई सय १२ वटा व्यवसायी संस्था दर्ता भएका छन् । ती संस्था अन्तर्गत उपत्यका भित्रका करिब २७ हजार ४ सय २२ रोपनी जग्गा सामुहिक आवास, संयुक्त आवास, जग्गा प्लटिङ्ग, हाउजिङ्ग, अपार्टमेन्टका प्राधिकरणले स्वीकृत दिएको छ । दिनप्रतिदिन मानव वस्तीले भरिदै गएको उपत्यकामा १२ हजार ९ सय ८८ वटा स्वीकृत इकाई (प्लट) रहेका छन् । ती मध्ये थोरै मात्रामा भवनहरु निर्माण भएका छन् भने कतिपय निर्माणाधीन अवस्थामा रहेका छन् । तथ्यांकलाई हेर्ने हो भने उपत्यकामा जग्गाको कारोबार व्यवसायिक रुपमा घट्दै गएको छ । मानिसको चासोको विषय रहेको घरजग्गा परियोजना वि.सं २०७२ साल बैशाख १२ गते गएको भूकम्प पछि सुस्ताउँदै गएको छ ।  वि.स २०६४।६५ सालमा सबैभन्दा बढी व्यवसायिक परियोजनाको स्वीकृत लिने संस्था रहेका थिए । वि.सं. २०६१ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणमा जम्मा ३ वटा संस्था दर्ता भएसँगै परियोजना दर्ताको शुरुवात भएको थियो । काठमाडौं उपत्यकामा भूकम्प जानु अगाडि व्यवसायिक घरजग्गाले आफ्नो स्थान जमाए पनि भूकम्प पछिका दिनमा क्रमिक रुपमा घट्दै गएको काठमाडौं उपत्यका प्राधिकरणले जनाएको छ । यस्तो छ काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांक :  

बेष्ट फाइनान्स र नेपाल रेडक्रसबीच सामाजिक कार्य गर्ने सम्झौता

काठमाडौँ । बेष्ट फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्नका लागि नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखा बीच सम्झौता गरेको छ । सो सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको तर्फबाट सचिव माधव अधिकारी र फाइनान्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले हस्ताक्षर गरेका छन् । फाइनान्सले यो आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम, स्वस्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच विविध सचेतनामुलक निबन्ध लेखन प्रतियोगिता सञ्चालन, सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न बिद्यार्थीहरुको लागि शैक्षिक सामाग्री तथा सेनिटरी प्याड वितरण जस्ता कार्यक्रम गर्दा नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्ने गरी सम्झौता गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । बेष्ट फाइनान्स कम्पनीले १४ शाखा मार्फत मुलुकका विभिन्न शहरहरुबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको जनाईएको छ ।