विकासन्युज

बजेट खर्च भएन, ४ महिनामा सवा २ खर्ब खर्च, पुँजीगत खर्च ६ प्रतिशतमात्रै

काठमाडौं । ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासमा २ खर्ब २३ अर्ब रुपैयाँमात्रै खर्च गरेकोे छ । हाल खर्च गरेको रकममा पनि ठूलो हिस्सा चालु खर्चको रहेको छ भने थोरैमात्र पुँजीगत खर्च भएको छ । हाल भएकाे खर्चमध्ये १ खर्ब ९४ अर्ब चालु खर्च हो । आर्थिक वृद्धिदर बढाउने पुँजीगत खर्च भने यो अवधिमा जम्मा २४ अर्ब २९ करोडमात्रै भएको छ । सरकारले यो अवधिमा ४ अर्ब २७ करोड वित्तीय व्यवस्था खर्च गरेको छ । सरकारले पुँजीगत खर्च बढाउन हरेक प्रयास गरेपनि पुँजीगत खर्च भने हुन सकेको छैन । सरकारले  जहिले पनि पहिलो चौमासमा चालु खर्च बढी र पुँजीगत खर्च कम हुने प्रक्षेपण सहित खर्च विनियोजन गरेको हुन्छ । यो अवधिमा चालु खर्च २५ प्रतिशतभन्दा बढी र पुँजीगत खर्च १५ प्रतिशत गर्नुपर्ने व्यवस्था छ । सरकारले लक्ष्य गरे अनुरुप याे अवधिमा चालु र पुँजीगत खर्च दुबै  गर्न सकेकाे छैन । सरकारले गरेको लक्ष्य अनुसार चालु आवको पहिलो चौमाससम्म ६१ अर्ब २० करोड खर्च भइसक्नु पर्ने थियो । यद्यपि चालु आवको यो अवधिमा लक्षित पुँजीगत खर्चको एक तिहाइमात्र खर्च गरेको छ । पहिलो चौमास टेण्डर प्रक्रिया र परियोजना तयारीमै बित्ने भएकोले पुँजीगत खर्चले गति लिन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.पुष्पराज कँडेलले बताए । खर्च बढाउन सरकारले बजेट प्रस्तुती पश्चातनै विभिन्न निर्देशन दिएपनि लक्षित खर्च भने हुन सकेको देखिदैन । प्रधानमन्त्रीको कार्यालय र अर्थ मन्त्रालयले खर्च बढाउन ठूला/साना आयोजना सबैको मासिक प्रगति विवरण प्रत्येक महिनाको ७ गते अगावै लिने तालिका बनाएपनि खर्चमा भने सुधार हुन सकेको छैन । पुँजीगत खर्च नहुनु अहिले समस्या नभइ पुरानै समस्या भएकाले खर्च गर्ने योजनासहित कार्यान्वयनस्तरसम्म निगरानी बढाएर राम्रो गर्नेलाई पुरस्कृत र ढिला सुस्ती गर्नेलाई दण्ड सजायको व्यवस्था गर्नुपर्ने पूर्व अर्थ सचिव डा.शान्तराज सुवेदीले बताए । सरकारले चालु आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमध्ये ९ खर्ब ५७ अर्ब १० करोड चालु खर्च हो भने ४ अर्ब ८ करोड पुँजीगत खर्च र १ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि लक्षित विनियोजित बजेट हो ।  

मेलम्चीको विकल्पमा सिस्नेरी खानेपानी आयोजना ! अध्ययन अघि बढाएका छौंः खानेपानी मन्त्री

मकवानपुर । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको हो । शुक्रबार खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ । खानेपानी मन्त्री मगरले ललितपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिइन् । उनले यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजना भएको टिप्पणी गरिन् । ‘ भोलिका दिनमा मेलम्चीमा कुनै समस्या आए त्यसले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या आउन सक्छ ।’ मन्त्री मगरले भनिन्, ‘त्यसको विकल्पका रुपमा दीर्घकालीन रुपले हामीले सिस्नेरी आयोजनाको अध्ययन थालेका हौं । सन् २०३० सम्म काठमाडौं उपत्यकाको जनसंख्यालाई हेर्दा मेलम्चीले धान्न सक्ला तर जनसंख्या बढ्दै गएपछि त्यसको विकल्प पनि हेर्नुपर्छ । त्यसैले ललितपुर क्षेत्रका लागि सिस्नेरी खोला आयोजनाको सम्भाव्यता अध्ययन अघि बढेको हो । चाँडै नै सिस्नेरी खोलाको डिपीआर पनि अघि बढाउँछौं ।’ उनले ललितपुरका लागि सिस्नेरी जस्तै भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलाको काम अघि बढाईएको जानकारी दिइन् । भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी संकलन गर्ने र उपत्यकामा पठाइने बताए । कार्यकारी निर्देशक राणाले दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने बताए । अहिले पूर्व सम्भाव्यता अध्ययन गर्दा करिब २६ अर्ब लगानी आवश्यक पर्ने उहाँको भनाई छ । ‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भईरहेको छ, ‘यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।’ आयोजनास्थल फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहने कार्यकारी निर्देशक राणाले जानकारी बताए । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने राणाले बताए ।

महानगर र महासागर यातायातबीच लफडा, मुद्दा हाल्ने तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका यातायात कम्पनी बीच विवाद बढ्दै गएको छ । विवाद चर्कदै गएपछि महानगर यातायात प्रालिले महासागर यातायात प्रालि लगायतका कम्पनीहरुलाई मुद्दा दर्ता गर्ने तयारी गरेको छ । महानगर यातायातले उपत्यकाको रिङ रोडमा सञ्चालन गर्दै आएका गाडीहरु जस्तै रङका र नाम पनि उस्तै राखेर केही समयपछि नै महासागर यातायात प्रालिले गाडी सञ्चालन गर्न थालेपछि विवाद बढ्न थालेको हो । एउटै रुपमा नाम उस्तै राखेर र रंग पनि उस्तै गाडी चलाएपछि महानगर यातायातले महासागर यातायात विरुद्ध यातायात व्यवस्था विभागमा मुद्दा दिने तयारी गरेको महानगर यातायात प्रालिका कार्यकारी निर्देशक केशव नेपालले बताए । महानगरले करीब ४ वर्षअघि १५ करोड २० लाखको लगानीमा ३८ वटा नयाँ बस सञ्चालमा ल्याएको थियो । त्यसको केही समयपछि मात्र महासागर यातायातले सेवा शुरु गरेको थियो । महानगरले सुविधा दिएपछि  यात्रुको मन जित्न सफल भएको थियो । तर पछिल्लो समय गाडीको रंग, चल्ने रुट पनि उही भएपछि महासागर र महानगरमा यात्रु झिक्किन थाले र आफूहरुको व्यवसायमा असर परेपछि बाध्य भएर मुद्दा दर्ताको तयारी गरेको कार्यकारी निर्देशक नेपालले बताए । यात्रुहरुले महानगर र महासागर यातायात दुबैको रंग रातो भएकाले महासागरमा छुटेका सामान समेत महानगरमा आएर माग्ने गरेका छन्, जसले जर्दा आफूहरुलाई समस्या परेको कार्यकारी निर्देशक नेपालले बताए । कतिपय व्यवसायीले त महानगर नै नाम राखेर अबैध तरिकाले गाडी चलाइएका छन्, यसबारेमा महानगरले यातायात विभागमा यस अघि नै निवेदन समेत दिएको जनाइएको छ । महानगरले गाडीलाई सुबिधासम्पन्न बनाउँदै प्रति बस ४० लाखमा सञ्चालनमा ल्याएको थियो । सिभिल बैंकबाट १४ करोड ४४ लाख ऋण लिएर बस सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । सिण्डिकेट अन्त्य पछि यात्रुलाई सुविधा, तर व्यवसायी बीच नै विवाद सरकारले २०७४ चैत १८ गते सिण्डिकेटको अन्त्य गर्दै यातायात समिति भङ्ग भएको घोषणा गरेको थियो । सिण्डिकेट अन्त्यपछि यातायात कम्पनी दर्ताको संख्यामा पनि दिनानुदिन वृद्धि हुँदै गयो । काठमाडौंमा त सर्वासाधारणहरुले छानीछानी नयाँ–नयाँ गाडी छानेर चढ्न पाएका थिए । त्यति बेला सबैभन्दा बढी मयुर र महानगर यातायात चर्चामा थिए । सिण्डिकेट अन्त्य पछि नयाँ व्यवसायीहरु र यात्रुहरु खुशी भएका थिए । तर,  त्यो खुशी लामो समय रहन सकेन् । सरकारले त सिण्डिकेटको अन्त्य भएको भनेर घोषणा गर्यो, तर नयाँ आएका सार्वजनिक यातायात कम्पनीहरु विस्तारै सेलाउँदै गए । पछिल्लो समय त अस्वस्थ प्रतिपष्र्धाले गर्दा यात्रुहरुले समेत सास्ती खेप्नु परेको छ । सिण्डिकेटको अन्त्यपछि नयाँ नयाँ कम्पनीहरुले गाडी सञ्चालन गर्न थालेपनि पुराना कम्पनीहरु बिस्तारै सुस्ताउँदै गएका छन् ।

बिक्री अवधि समाप्त हुनु अगाबै बिक्यो प्रभु बैंकको ऋणपत्र, शुक्रबार गर्यो बाँडफाँड

काठमाडौँ । प्रभु बैंक लि. ले १ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बाँडफाँड गरेको छ । रु. १,०००/– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड गरेको हो । डिबेञ्चर कात्तिक २१ गते सार्वजनिक निष्काशन गरिएको थियो । न्यनुतम २५ कित्ता र अधिकतम् ४ लाख कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंक लि. को ऋणपत्रलाई इक्रा–नेपालले न्यूनकर्जा जोखिम इक्रा नेपाल एलबीबीबी रेटिङ्ग प्रदान गरेको थियो । प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्रीका लागि छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर २० गते बन्द हुने गरी सार्वजनिक निष्काशन गरेको हो । बिक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद भएको बैंकले जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्धारा धुलिखेलको विद्यायललाई कम्प्यूटर वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७, सञ्जीवनी बजारमा रहेको नेपालको नमूना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तब्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको हो । धुलिखेल शाखाका प्रबन्धक दीपक ढुङ्गानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा पूर्व प्राचार्य बेदप्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहायक प्राचार्य पवन प्रधान लगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन धुलिखेल शाखाका बजार ब्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए ।

टेलिकमद्वारा मुख्य शहरमा फोरजी सेवा शुरु

डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताएका छन् । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । अन्य इन्टरनेटभन्दा फोरजी सेवा अर्थात् फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकमले जनाएको छ । सो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकमका प्राविधिक इन्द्रबहादुर कठायतले बताए । त्यस्तै, टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा समेत आफ्नो फोरजी सेवा विस्तारको तयारी गरिरहेको छ । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडानको कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका निमित्त प्रमुख प्रकाश चौधरीले जानकारी दिए । रासस

लाभांश रकम यथाशीघ्र बुझिलिन एनआईसी एशियाको अनुरोध

काठमाडौँ । एनआईसी एशिया बैंक लि.ले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी भए सो लाभांश रकमको पूर्जी बुझ्न अनुरोध गरेको छ । सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट लाभांश प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेको हो । साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

महालक्ष्मीको साधारण सभाबाट १७.८९ प्रतिशत लाभांश पारित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबारका १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको जनाइएको छ । बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।