विकासन्युज

मेलम्चीको विकल्पमा सिस्नेरी खानेपानी आयोजना ! अध्ययन अघि बढाएका छौंः खानेपानी मन्त्री

मकवानपुर । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा उपत्यकाको ललितपुर जिल्ला क्षेत्रभित्र खानेपानी आपूर्ति गर्ने उद्देश्यले मकवानपुरमा अवस्थित सिस्नेरी खोलाको पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)ले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्व सम्भाव्यता अध्ययन थालेको हो । शुक्रबार खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा बोर्डका पदाधिकारी सहितको टोलीले उक्त खोलाको अवलोकन र निरीक्षण गरेको छ । यो आयोजनालाई मेलम्चीको विकल्पका रुपमा हेरिएको छ । खानेपानी मन्त्री मगरले ललितपुरका धेरै ठाउँहरुमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी आयोजना अघि बढाउन लागिएको जानकारी दिइन् । उनले यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजना भएको टिप्पणी गरिन् । ‘ भोलिका दिनमा मेलम्चीमा कुनै समस्या आए त्यसले काठमाडौं उपत्यकाको खानेपानीमा समस्या आउन सक्छ ।’ मन्त्री मगरले भनिन्, ‘त्यसको विकल्पका रुपमा दीर्घकालीन रुपले हामीले सिस्नेरी आयोजनाको अध्ययन थालेका हौं । सन् २०३० सम्म काठमाडौं उपत्यकाको जनसंख्यालाई हेर्दा मेलम्चीले धान्न सक्ला तर जनसंख्या बढ्दै गएपछि त्यसको विकल्प पनि हेर्नुपर्छ । त्यसैले ललितपुर क्षेत्रका लागि सिस्नेरी खोला आयोजनाको सम्भाव्यता अध्ययन अघि बढेको हो । चाँडै नै सिस्नेरी खोलाको डिपीआर पनि अघि बढाउँछौं ।’ उनले ललितपुरका लागि सिस्नेरी जस्तै भक्तपुरका लागि खानेपानी आपूर्ति गर्न महादेव खोलाको काम अघि बढाईएको जानकारी दिइन् । भ्याली बोर्डका कार्यकारी निर्देशक डा. संजिव विक्रम राणाले सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी संकलन गर्ने र उपत्यकामा पठाइने बताए । कार्यकारी निर्देशक राणाले दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्न सकिने बताए । अहिले पूर्व सम्भाव्यता अध्ययन गर्दा करिब २६ अर्ब लगानी आवश्यक पर्ने उहाँको भनाई छ । ‘मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने तयारी भईरहेको छ, ‘यो उपत्यकाका लागि मेलम्चीको विकल्पका रुपमा दोस्रो ठूलो आयोजना हुनेछ ।’ आयोजनास्थल फर्पिङ पम्पिङ स्टेशनबाट १४ किलोमिटर दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो । यस आयोजना अन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा संकलन गरिनेछ र संकलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । सिस्नेरीमा बनाईने बाँधको लम्बाई १९० मिटर र चौडाई ७५ मिटर रहने कार्यकारी निर्देशक राणाले जानकारी बताए । सिस्नेरी बाँध स्थलदेखि सैंबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किलोमिटर रहेको छ । निर्माणाधिन काठमाडौं निजगढ द्रुत मार्ग हुँदै सिस्नेरीदेखि सैंबुसम्म पाईप लाईन निर्माण गरेर पानी लैजान सकिने राणाले बताए ।

महानगर र महासागर यातायातबीच लफडा, मुद्दा हाल्ने तयारी

काठमाडौं । काठमाडौँ उपत्यकामा सञ्चालन हुँदै आएका यातायात कम्पनी बीच विवाद बढ्दै गएको छ । विवाद चर्कदै गएपछि महानगर यातायात प्रालिले महासागर यातायात प्रालि लगायतका कम्पनीहरुलाई मुद्दा दर्ता गर्ने तयारी गरेको छ । महानगर यातायातले उपत्यकाको रिङ रोडमा सञ्चालन गर्दै आएका गाडीहरु जस्तै रङका र नाम पनि उस्तै राखेर केही समयपछि नै महासागर यातायात प्रालिले गाडी सञ्चालन गर्न थालेपछि विवाद बढ्न थालेको हो । एउटै रुपमा नाम उस्तै राखेर र रंग पनि उस्तै गाडी चलाएपछि महानगर यातायातले महासागर यातायात विरुद्ध यातायात व्यवस्था विभागमा मुद्दा दिने तयारी गरेको महानगर यातायात प्रालिका कार्यकारी निर्देशक केशव नेपालले बताए । महानगरले करीब ४ वर्षअघि १५ करोड २० लाखको लगानीमा ३८ वटा नयाँ बस सञ्चालमा ल्याएको थियो । त्यसको केही समयपछि मात्र महासागर यातायातले सेवा शुरु गरेको थियो । महानगरले सुविधा दिएपछि  यात्रुको मन जित्न सफल भएको थियो । तर पछिल्लो समय गाडीको रंग, चल्ने रुट पनि उही भएपछि महासागर र महानगरमा यात्रु झिक्किन थाले र आफूहरुको व्यवसायमा असर परेपछि बाध्य भएर मुद्दा दर्ताको तयारी गरेको कार्यकारी निर्देशक नेपालले बताए । यात्रुहरुले महानगर र महासागर यातायात दुबैको रंग रातो भएकाले महासागरमा छुटेका सामान समेत महानगरमा आएर माग्ने गरेका छन्, जसले जर्दा आफूहरुलाई समस्या परेको कार्यकारी निर्देशक नेपालले बताए । कतिपय व्यवसायीले त महानगर नै नाम राखेर अबैध तरिकाले गाडी चलाइएका छन्, यसबारेमा महानगरले यातायात विभागमा यस अघि नै निवेदन समेत दिएको जनाइएको छ । महानगरले गाडीलाई सुबिधासम्पन्न बनाउँदै प्रति बस ४० लाखमा सञ्चालनमा ल्याएको थियो । सिभिल बैंकबाट १४ करोड ४४ लाख ऋण लिएर बस सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । सिण्डिकेट अन्त्य पछि यात्रुलाई सुविधा, तर व्यवसायी बीच नै विवाद सरकारले २०७४ चैत १८ गते सिण्डिकेटको अन्त्य गर्दै यातायात समिति भङ्ग भएको घोषणा गरेको थियो । सिण्डिकेट अन्त्यपछि यातायात कम्पनी दर्ताको संख्यामा पनि दिनानुदिन वृद्धि हुँदै गयो । काठमाडौंमा त सर्वासाधारणहरुले छानीछानी नयाँ–नयाँ गाडी छानेर चढ्न पाएका थिए । त्यति बेला सबैभन्दा बढी मयुर र महानगर यातायात चर्चामा थिए । सिण्डिकेट अन्त्य पछि नयाँ व्यवसायीहरु र यात्रुहरु खुशी भएका थिए । तर,  त्यो खुशी लामो समय रहन सकेन् । सरकारले त सिण्डिकेटको अन्त्य भएको भनेर घोषणा गर्यो, तर नयाँ आएका सार्वजनिक यातायात कम्पनीहरु विस्तारै सेलाउँदै गए । पछिल्लो समय त अस्वस्थ प्रतिपष्र्धाले गर्दा यात्रुहरुले समेत सास्ती खेप्नु परेको छ । सिण्डिकेटको अन्त्यपछि नयाँ नयाँ कम्पनीहरुले गाडी सञ्चालन गर्न थालेपनि पुराना कम्पनीहरु बिस्तारै सुस्ताउँदै गएका छन् ।

बिक्री अवधि समाप्त हुनु अगाबै बिक्यो प्रभु बैंकको ऋणपत्र, शुक्रबार गर्यो बाँडफाँड

काठमाडौँ । प्रभु बैंक लि. ले १ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बाँडफाँड गरेको छ । रु. १,०००/– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५५ प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र(डिबेञ्चर) शुक्रबार बाँडफाँड गरेको हो । डिबेञ्चर कात्तिक २१ गते सार्वजनिक निष्काशन गरिएको थियो । न्यनुतम २५ कित्ता र अधिकतम् ४ लाख कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंक लि. को ऋणपत्रलाई इक्रा–नेपालले न्यूनकर्जा जोखिम इक्रा नेपाल एलबीबीबी रेटिङ्ग प्रदान गरेको थियो । प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कानको माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाखकित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत/व्यक्तिहरुलाई बिक्रीका लागि छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर २० गते बन्द हुने गरी सार्वजनिक निष्काशन गरेको हो । बिक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद भएको बैंकले जनाएको छ ।

सेञ्चुरी कमर्सियल बैंकद्धारा धुलिखेलको विद्यायललाई कम्प्यूटर वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको धुलिखेल शाखाले विद्यालयलाई कम्प्यूटर वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रे जिल्ला, धुलिखेल नगरपालिका, वडा नं ७, सञ्जीवनी बजारमा रहेको नेपालको नमूना जिल्लाको ऐतिहासिक शैक्षिक गन्तब्य सञ्जीवनी माध्यमिक विद्यालयलाई सूचना प्रविधि र कम्प्यूटरको ब्यवहारिक ज्ञानमा सहयोग पुर्याउने उद्देश्यले २ थान डेक्स्टप कम्प्यूटर वितरण गरेको हो । धुलिखेल शाखाका प्रबन्धक दीपक ढुङ्गानाले एक समारोहका बीच विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ब्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रममा पूर्व प्राचार्य बेदप्रसाद कोजु, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, सहायक प्राचार्य पवन प्रधान लगायत सेञ्चुरी बैंकका काभ्रे जिल्लाका शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको ब्यवस्थापन धुलिखेल शाखाका बजार ब्यवस्थापक हरिकृष्ण दाहालले गरेका थिए ।

टेलिकमद्वारा मुख्य शहरमा फोरजी सेवा शुरु

डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताएका छन् । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । अन्य इन्टरनेटभन्दा फोरजी सेवा अर्थात् फोरजी इन्टरनेट छिटो गतिको भएकाले यसका ग्राहक बढ्न सक्ने नेपाल टेलिकमले जनाएको छ । सो इन्टरनेट सेवाबाट छिटो भिडियो, डकुमेन्टलगायतका सामग्री पठाउन सकिने भएकाले फोरजी सेवा निकै लोकप्रिय भएको नेपाल टेलिकमका प्राविधिक इन्द्रबहादुर कठायतले बताए । त्यस्तै, टेलिकमले यहाँका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा समेत आफ्नो फोरजी सेवा विस्तारको तयारी गरिरहेको छ । सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका मुख्य शहरमा छिट्टै फोरजी सेवा विस्तारका लागि उपकरण जडानको कार्य भइरहेको नेपाल टेलिकम दिपायल राजपुरका निमित्त प्रमुख प्रकाश चौधरीले जानकारी दिए । रासस

लाभांश रकम यथाशीघ्र बुझिलिन एनआईसी एशियाको अनुरोध

काठमाडौँ । एनआईसी एशिया बैंक लि.ले विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझि लिन बाँकी भए सो लाभांश रकमको पूर्जी बुझ्न अनुरोध गरेको छ । सहायक कम्पनी एनआईसी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट लाभांश प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुमा बैंकले अनुरोध गरेको हो । साथै, लाभांश पूर्जी लिई सकेका शेयरधनीहरुले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

महालक्ष्मीको साधारण सभाबाट १७.८९ प्रतिशत लाभांश पारित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबारका १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारण सभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ९.८९% नगद लाभांश र ८% का दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको जनाइएको छ । बैंकले हालसम्म करिब रु. ३४ अर्ब २८ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ ।

नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान, करिब ३२ हजार जनशक्ति आबद्ध

नुवाकोट । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करिब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालय नुवाकोटका अनुसार आर्थिक गणनाको प्रारम्भिक नतिजाको दोस्रो चरणमा प्राप्त तथ्याङ्कअनुसार जिल्लाको १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक प्रतिष्ठान रहेको उल्लेख छ । नुवाकोटका औद्योगिक प्रतिष्ठानमा महिला १२ हजार ५६ जना र पुरुष १८ हजार ७३ गरेर कूल ३० हजार १२९ जना जनशक्ति आबद्ध रहेको तथ्याङ्क कार्यालयका प्रमुख नरेन्द्र भट्टले दिएका छन् । उनका अनुसार औद्योगिक प्रतिष्ठानमध्ये जिल्लाको सबैभन्दा बढी विदुर नगरपालिकामा र सबैभन्दा कम शिवपुरी गाउँपालिकामा रहेको छ । विसं २०७५ को वैशाखदेखि जेठ मसान्तसम्म (दुई महिना) गरिएको स्थलगत तथ्याङ्कअनुसार विदुर नपामा तीन हजार १०, बेलकोटगढी नपामा ९४९, दुप्चेश्वर गापामा ७६० ताँदीमा ५६४ सूर्यगढीमा ४०४, किस्पाङमा ४०९, म्यागङमा ४०४ व्यावसायिक प्रतिष्ठान सञ्चालनमा रहेको छ । यस्तै, तारकेश्वर गापामा ३९१ लिखुमा ५९४, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० व्यावसायिक प्रतिष्ठान रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । आर्थिक गणनामार्फत पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानका वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, संस्था दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयानुसार प्रतिष्ठानको वितरणलगायतका विस्तृत विवरण छुट्याएको कार्यालयले जनाएको छ । “गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार विवरण, वित्तीय कारोवारमा (कर्जा) पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत उल्लेख गरिएको छ ।” तथ्याङ्क अधिकृत भट्टले भने, “स्थानीय तहअनुसार विवरण छु्याइएकाले अब पालिकामा पठाएर प्रतिष्ठानको विश्लेषणअनुसार नयाँ योजना बनाउन सुझाव दिइनेछ ।” राज्यले निकै मिहेनत र ठूलो लगानीमा तयार गरेको आर्थिक गणना नतिजाबाट मुलुकको आर्थिक अवस्थाको सूचकको विश्लेषण गरेर नयाँ योजना तथा कार्यक्रम सञ्चालनका लागि मार्गनिर्देशमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । आर्थिक क्षेत्रमा पहिलोपटक प्रतिष्ठानमा नै पुगेर सङ्कलन गरिएको विवरण सङ्घीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ । रासस