एओटिएस जापान-परिसंघबीच छलफल, ‘आर्थिक प्रगतिको पथमा नेपाल’
काठमाडौँ । एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारीसँग द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमा विस्तृत छलफल गर्यो । सो छलफलमा एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाले नेपाल आर्थिक प्रगतिको पथमा तीव्र गतिले अगाडि बढी रहेको सन्दर्भमा विगतमा जस्तै आउँदा दिनहरुमा पनि जापान तथा नेपालमा समेत मानव संशाधनको विकासका क्षेत्रमा तालिमको माध्यमबाट सहयोग वृद्धि गर्ने संकेत गरे । त्यसको लागि निजी क्षेत्र बढी क्रियाशील भई कुन क्षेत्रमा कस्तो सहयोग, तालिम वा गोष्ठी गर्दा नेपाल र नेपालीको हीतमा हुन्छ सो प्रष्ट हुनु पर्ने बताए । आफ्नो संस्थाले यसका लागि जेट्रोसँग सहकार्य गर्दै सहयोगीभूमिका खेल्ने उल्लेख गरे । सो अवसरमा प्रतिनिधि मण्डलको स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुक आर्थिक समृद्धितर्फ अग्रसर भएको साथै सुखी नेपाली समृद्ध नेपालको नारा सहित समग्र मुलुकत्यसतर्फ लागी रहेको प्रसंग उल्लेख गर्दै हालै सम्पन्न नेपाल उद्यमशीलता सम्मेलनबाट नयाँशीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकता महशुस भएको उल्लेख गरे ।
पूँजी वृद्धि योजनामा राष्ट्रिय बीमा संस्थानलाई बम्पर छुट, १० महिने ‘ग्रेस अवधि’ !
काठमाडौं । पुँजी वृद्धिसम्बन्धी बीमा समितिको निर्देशन राष्ट्रिय बीमा संस्थानको लागि लागु नहुने भएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई यसै आर्थिक वर्षभित्र पुँजी वृद्धि गरी जीवनबीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजी वृद्धि गर्न पछिल्लोपटक निर्देशन दिएको थियो । त्यसअघि समितिले गत आर्थिक वर्षभित्रै पुँजी पुर्याउन भने पनि पछि छ महिनाको समय थप गरेको थियो । तर पुस मसान्तसममा पनि पुँजी पुर्याउन नसकेपछि समितिले कार्ययोजना पेश गरे आगामी असार मसान्तसम्मको अवधिमा पुँजी बढाउन सकिने सुविधा दिएको थियो । राष्ट्रिय बीमा संस्थानले भने नयाँ बीमा ऐन संसदमा रहेको र उक्त ऐनअनुसार ऐन लागु भएको बीमा संस्थान कम्पनीमा रुपान्तरण हुनुपर्ने प्रावधान रहेकोले कम्पनीमा जाने समयसम्म आफुहरुले चुक्ता पुँजी बढाउने समयावधि पाउने जनाएको छ । बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले यसबारे बीमा समितिसँग मौखिक सहमति भइसकेको बताए । उनले संस्थान कम्पनीमा गएपछि सर्वसाधारणका लागि आईपीओ जारी हुने समेत बताए । बीमा समितिले उक्त सहमतिको पुष्टि गरेको छ । समिति स्रोतका अनुसार छुट्टै ऐनका आधारमा सञ्चालनमा रहेको र सो ऐनमा संस्थानको अधिकृत पुँजी न ५० करोड रहेकोले अहिले नै पुँजी २ अर्ब पुर्याउन कानूनी बाधा रहेको अवस्थामा अहिले नै ऐन संशोधन गर्नुभन्दा कम्पनीमा गएपछि पुँजी पुर्याउने छुट दिइएको हो । ‘बीमा संस्थान पूर्ण सरकारी कम्पनी हो, उसको पुँजी पुर्याउने सरकारको प्रतिवद्धता पनि छ, यस्तो अवस्थामा हामीले संस्थानको हकमा त्यो छुट दिएका हौं ।’ बीमा समिति उच्च अधिकारीले विकासन्यूजसँग भने । बीमा संस्थानकाे हालकाे पुँजी १८ कराेड छ । २ अर्ब पुँजी पुर्याउन ११ गुणा भन्दा बढी पुँजी बढाउनुपर्ने अवस्था छ । प्रशासक पाठकले संस्थानकाे २०६६/६७ सालदेखि साधारणसभा नभएकोले पुँजी १८ कराेडमा सीमित भएकाे देखिए पनि संस्थानले बाेनसबाटै करिब ५५ कराेड पुँजी पुर्याउने र कम्पनीमा गएलगत्तै तोकिएको ताेकिएकाे पुँजी पुर्याउने बताए । त्यसका लागि हकप्रद शेयर जारी गर्ने वा अरु पुँजी वृद्धिका विधि प्रयाेग गर्ने साधारणसभाले निर्णय गर्ने बताए ।
युकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा शुरू
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा युकेमा शुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ्ग मार्फत पनि सहज कारोबार गर्न सकिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेको तर्फबाट प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए । यो सेवा सुरु भएसँगै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी एवं कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । सिटी एक्सप्रेस नेपालले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि आफ्नो रेमिट एजेन्ट्हरु बाट ७ हजार भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
प्रतिनिधिसभामा ‘लुट्न सके लुट…’को चर्चा, कुन सांसदले के भने ?
काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ । बैठकमा सांसदहरुले भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गरे । उहाँहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिए । सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई कारवाही हुनुपर्ने माग गरे । सांसद अमरेशकुमार सिंहले गायक शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन हुने टिप्पणी गरे । सांसद झपटबहादुर रावलले गायक शर्माको गीतमा सरकारले कुनैपनि प्रतिबन्ध नलगाएको जिकिर गरे । सांसद उमाशङ्कर अर्गरियाले ठेकेदारले बाटो निर्माणमा गरेको ढिलाइले नागरिकको स्वास्थ्यमा असर परेकोे भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारवाही गर्न माग भयो । बैठकमा सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराए । सांसद आशाकुमारी विकले हालै बझाङमा भएका सवारी दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचारमा प्रभावकारी काम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । सांसद इन्दुकुमारी शर्माले बर्दिबासको रातुखोलामा मापदण्डविपरीत ढुङ्गा, गिटी, बालुवाको दोहन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद उमा रेग्मीले मालपोत कार्यालयको अनलाइन प्रणाली अस्तव्ययस्त भएको र एक व्यक्तिको नाम अर्को व्यक्तिका नाममा दर्ता हुने समस्या भएको भन्दै तुरुन्त यसमा आवश्यक सुधार गर्न माग गरे । सांसद कलिला खातुनले मुसलमान विद्यार्थीको छात्रवृत्ति काटिएको छ भन्दै तत्काल उचित व्यवस्था गर्न माग गरिन् । सांसद कृष्णप्रसाद दाहालले काठमाडौँमा भएको प्रदूषणले वाग्मती नदी भएर बग्ने अन्य जिल्लामा समेत असर परिरहेको र नदीमा जलचर प्राणीको विनाश भएको छ भन्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतको स्वीकृति नभएर केही स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै यस सम्बन्धमा सरकारले पहल गर्न माग गरे । सांसद गोपालबहादुर बमले संसद्को शून्य समयको सुनुवाइ पनि शून्य भएको छ भन्दै यसको सुनुवाइ प्रभावकारी बनाउनुपर्ने माग गरे । सांसद गङ्गा चौधरीले महिलाको महिनावारी हुनु प्राकृतिक विषय हो भन्दै यसमा रहेको कुप्रथालाई नियन्त्रण गर्न तीनै तहको सरकारले महाअभियानका रुपमा लैजानुपर्ने बताइन् । रासस यस्ताे छ ‘लुट्न सके लुट…’ गीत, पुनःयूट्युबमा राख्न पशुपति शर्मालाई दवाव
नबिल बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, एकैदिन चार करोड ७७ लाख बढीको कारोबार
काठमाडौं । सोमबारको बजारमा लगानीकर्ताहरु नबिल बैंकको सेयरमा आकर्षित देखिएका छन् । बैंकको एकैदिन संथापक र साधारण सेयर गरी चार करोड ७७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबार मात्रै बैंकको २ करोड ४३ लाख ९२ हजार ५६४ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७४७ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा २३ रुपैयाँले बढेर प्रतिकित्ता ७४७ रुपैयाँमा कारोबार भएको छ । आइतबार बैंकको प्रमोटर सेयर मूल्य प्रतिकित्ता ७२४ रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकको २ करोड ३३ लाख ६३ हजार २१२ रुपैयाँ बराबरको साधारण सेयर बिक्री भएको छ । बैंकको सेयर कारोबारमा वृद्धि भएपछि कारोबार रकममा भने गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा बैंकको साधारण सेयर प्रतिकित्ता २४ रुपैयाँले घटेर ७८३ रुपैयाँमा झरेको छ । आइतबार बैंकको साधारण सेयरको मूल्य प्रतिकित्ता ८०७ रुपैयाँ रहेको थियो । त्यस्तै, अपर तामाकोशी हाइड्रो पावर र एनएमबि बैंकको एक करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कुल १६१ कम्पनीको २३ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समग्रमा सोमबारको नेप्से परिसूचक ७.२१ अंकले घटेर ११०२ अंकमा अडिएको छ । बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । संस्थाका लगानीकर्ताले एकैदिन ९.९५ प्रतिशत कमाएका छन् । वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको भने सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । सो दिन होटल र उत्पादनमूलक समूह बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
दुर्घटनामा परेर घाइते बाराका प्रमुख जिल्ला अधिकारीको निधन
काठमाडौँ । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । जीप दुर्घटनामा परेर गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । माघ १२ गते ना१झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्क्याक्टरको टेलरसँग ठोक्दिा उनी गम्भीर घाइते भएका थिए । सो दुर्घटनामा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलको भने सोही दिन घटनास्थल मै मृत्यु भएको थियो । गाडीमा सवार अन्य ३ जनापनि घाइते भएका थिए । कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । घटनामा परेर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
नेकपा सचिवालयमा कार्यदलको प्रतिवेदन, छलफल चाँही कहिले ?
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन पेश गरेको छ । गत पुस १२ गते सम्पन्न स्थायी कमिटिको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । सो कार्यदलले तयार पारेको साङ्गठनिक एकता सम्बन्धी प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकमा पेश गरिएको हो । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘‘सो प्रतिवेदन पेश भएपछि के गर्ने भन्ने विषयमा छलफल भयो,” । उनले भने, “कार्यदलको प्रतिवेदनमाथि छलफल जारी राख्दै अर्को बैठक यही फागुन ९ गते बस्ने भएको छ ।” साङ्गठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेको केही नेताले बताए । प्रवक्ता श्रेष्ठले ९ गते बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र साङ्गठनिक एकताको विषयलाई कसरी टुङ्गो लगाउने भन्नेबारेमा आवश्यक नीति र निर्णय गरिने जानकारी दिए । गत जेठ ३ गते तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुननसक्दा एकता प्रक्रियामा विलम्ब हुँदै आएको छ । आगामी संयुक्त बैठकबाट एकता सम्बन्धी विषयलाई टुङ्गो लगाउने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ । काङ्ग्रेस निरपेक्ष विरोधवादको शिकार बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस ‘सरकारले जे गर्दा पनि विरोध गर्ने निरपेक्ष विरोधवादको शिकार भएको’ बताए । जनताले दुईतिहाई भन्दाबढी जनादेश दिएको सरकारले गरेका काम कारवाहीको आलोचनात्मक दृष्टिकोण राख्ने भन्दा पनि विरोध गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले भने, “जसरी पनि विरोध गर्ने, जेमा पनि विरोध गर्ने प्रवृत्तिबाट काङ्ग्रेसमुक्त हुनुपर्छ ।” नेपाली काङ्ग्रेसले आफूलाई भन्दै आएको लोकतन्त्रवादी चरित्र निर्वावाह गर्न नसकेको उल्लेख गर्दै उनले भने, “जनताले दुईतिहाई मत दिएको सरकार छ, तर सरकार चाही मैले भनेको जस्तो गरेर चल्नुपर्छ भने काङ्ग्रेसमा सबैभन्दा ठूलो तुष छ ।” विधेयक तथा समान्य प्रस्ताव पारित गर्दासमेत विरोध गर्ने, पारित गर्न पाइदैन भनेर अवरोध गर्ने अलोकतान्त्रिक चरित्र काङ्ग्रेसले देखाएको प्रवक्ता श्रेष्ठको गुनासो थियो । काङ्ग्रेस लोकतान्त्रको मूल्यमान्यताविरुद्ध गएको भन्दै उनले भने, “जनादेशअनुसार सरकार चल्नुपर्छ, काँग्रेस वाचडग हुने र जनतामा जाने हो तर विधान र विधिसम्मत् लोकतान्त्रिक तरिकाले जानुपर्नेमा काङ्ग्रेस गएन ।” सुशासन कायम गर्दै र समृद्ध नेपाल बनाउने साझा अभियान हामी सबैको भए पनि राष्ट्र निर्माणको यो अभियान पूरा गर्न उक्त दलले सहयोग गर्नुपर्नेमा जे गरे पनि विरोध गर्ने निरपेक्ष विरोधवादको सिद्धान्तबाट काङ्ग्रेसमुक्त हुनुपर्ने प्रवक्ता श्रेष्ठको टिप्पणी थियो । सरकारको काम कारवाहीलाई पार्टीले अझ प्रभावकारी र परिणामुखी बनाउन थप छलफल गर्ने जानकारी दिँदै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र योजनालाई कार्यान्वयन गर्न लागिपर्ने बताए । सरकारका नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै ती विषयलाई आत्मसात् गर्नु आजको आवश्यकता भएको र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्नु आजको प्रमुख कार्यभार रहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।
फ्याक्ट्स अफ नेपाल सार्वजनिक, यसरी पढ्न सकिन्छ आर्थिक सहित १९ क्षेत्रको जानकारी
काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरी तयार पारेको वार्षिक पुस्तक फ्याक्ट्स अफ नेपाल २०१९ संस्करण सोमबार अनावरण गरेको छ । २०१९ को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरी बनाइएको सूचनागत दृष्यचित्र (इन्फोग्राफिक्स) हरु समावेश गरिएका छन् । सरल र जानकारीमुलक ढङ्गबाट गरिएको क्षेत्रगत तथ्याङ्कको अन्तर्दृष्टि र विश्लेषण पनि यस संस्करणमा समावेश गरिएको छ । यो पुस्तकमा देशको सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्र लगायतका १९क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको पाँचौं संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमालिने गरिएको छ । यो संस्करणको पुस्तक पसलहरुबाट किनेर वा ई–बुक वि–रिडको मोबाइल एप्लिकेशनबाट डाउनलोड गरेरपनि पढ्न सकिने जनाइएको छ । स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै सन् २०१२ देखि नै सामाजिक सञ्जाल र छापा माध्यममार्फत जनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ ।