धरहरा पुनःनिर्माणको कामले गति लियो, जमिन मुनि पिल्लरको काम हुँदै
काठमाडौँ । धरहरा पुनःनिर्माणको कामले गति लिएको छ । निर्माणको क्रममा हालसम्म करीब आठ प्रतिशत काम सकिएको छ । जमीनमुनि पिल्लर राख्ने काम अहिले धमाधम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । प्रमुख मानन्धरका अनुसार जमीनमुनिको काम सकेसँगै देखिने गरी काम गरिन्छ । अहिलेकै गतिमा काम अघि बढे दुई वर्षको निर्धारित समयमा नै काम सकिने अनुमान छ । जगभन्दा मुनि नै १८२ पिल्लर राख्नुपर्ने भएकाले हालसम्ममा ५६ वटा पिल्लर राख्ने काम सकिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका धरहरा पुनःनिर्माणका लागि गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्ने बताएका थिए । हाल सोहीअनुरुप निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भ¥याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनः निर्माण शुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड रुपैयाँ लगानीमा निर्माण हुने धरहरा धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । निर्माण भइरहेको धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुने छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुराँको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । जहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । एघार तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सिमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो । तत्कालका लागि गौश्वारा हुलाक कार्यालय रहेको भवन अन्यन्त्र सार्नका लागि केही समस्या भएकाले काम गर्न अलि कठिन भएको छ । अबको तीन महीनाभित्र हुलाक कार्यालयलाई बबरमहलमा सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । रानीपोखरीको पनि पुनःनिर्माण भूकम्पका कारण पूर्णरुपमा क्षति भएको ऐतिहासिक सम्पदा रानीपोखरीको पनि यसै सातादेखि पुनःनिर्माण कार्य प्रारम्भ भएको छ । क्षति पुगेको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाबाट निर्माणको काम हुन नसके पनि अहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माणको काम थालेको हो । राष्ट्रप्रमुखबाट तीन वर्ष अघि शिलान्यास भए पनि पुनःनिर्माण शुरु नभएको उक्त पोखरीको निर्माण कार्यअन्तर्गत अहिले सफा गर्ने काम धमाधम भइरहेको छ । २ माघ २०७२ मा शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा काठमाडौँ महानगरपालिकाले पाएको थियो तर, महानगरले ठेकदारमार्फत् काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो । आउने तिहारमा पोखरीमा पानी भर्ने गरी काम गरिने प्राधिकरणले जनाएको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । काष्ठमण्डप पुनः निर्माण १३ प्रतिशत अर्को महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले काठको काम भइरहेको छ । फागुन महिनाभरि मुख्यमुख्य रुपमा गर्नुपर्ने काठको काम गरिने र चैतदेखि धमाधम अन्य काम हुने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भने । यस सम्पदाको अहिलेसम्ममा १३ प्रतिशत काम सकिएको छ विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन रहेको काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार वटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको छ । अध्यक्ष शाक्यले भने, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ । महानगरपालिकाले पुनःनिर्माण समितिलाई हालसम्ममा पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । रासस
व्यक्तिगत खाताबाट मोदीले सरसफाई मजदुरलाई दिए २१ लाख
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुम्भ क्षेत्रका सरसफाइ मजदुरका लागि व्यक्तिगत रुपमा २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । उनले कुम्भ सफाइ कर्मचारी सञ्चय कोषको नाममा आफ्नो व्यक्तिगत खाताबाट २१ लाख रुपैयाँ सहयोग गरेका हुन् । कुम्भ क्षेत्रमा सरसफाइ गर्न खटिएका कर्मचारीहरुको कल्याण र सहयोगका लागि उनले दिएको रकम प्रयोग हुने अधिकारीहरुले बताएका छन् । प्रधानमन्त्री मोदीले यसअघि गत फेब्रुअरी २४ तारिखका दिन सरसफाइ मजदुरहरुसँग अन्तरक्रिया गरेका थिए । उनले केही मजदुरहरुको खुट्टा धोइदिएर रुमालले पुछी ढोगेर सम्मान पनि व्यक्त गरे । उनको त्यो व्यवहार विश्वव्यापी चर्चाको विषय बनेको छ । त्यतिबेला प्रधानमन्त्री मोदीले कुम्भ सरसरफाइ मजदुरहरुलाई ‘वास्तविक कर्मयोगी’ को संज्ञा दिए । प्रधानमन्त्री मोदीले यस बाहेक अरू पनि धेरै ठाउँमा व्यक्तिगत सहयोगको घोषणा गर्दै आएका छन् । उनले केहीदिन पहिले आफूले दक्षिण कोरियामा प्राप्त गरेको शान्ति पुरस्कारको रकम पनि नामामी नदीको सफाइका लागि दिने घोषणा गरेका थिए । गुजरात राज्यका मुख्यमन्त्री भएका बेला कार्यकाल सकिनै लाग्दा उनले राज्यका कर्मचारीहरुको छोरीको शिक्षाका लागि भन्दै आफ्नो व्यक्तिगत २१ लाख भारतीय रुपैयाँ सहयोग गरेका थिए । रासस/एएनआई
अदालतको फैसलाविरुद्ध जनतासमक्ष जान्छौँः राजपा नेता महतो
विराटनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतबाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनतासक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अधिकार प्राप्तिका लागि भएको सबै आन्दोलनमा सहभागी नेतालाई सजाय हुने भए विगतका सबै आन्दोलनका सहभागीलाई सजाय हुनुपर्ने विचार व्यक्त गरे । अध्यक्ष मण्डलका सदस्य महतोले वर्तमान संविधानप्रति अहिले पनि आदिवासी, थारू र मधेशी समुदायका असन्तुष्टि रहेको बताउँदै अधिकार प्राप्तिका लागि आन्दोलन जारी रहेको उल्लेख गरे । उनले समान विचारधारा मिल्ने पार्टीसँग मोर्चाबन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तका लागि शान्तिपूर्ण आन्दोलन केही दिनभित्र शुरु गर्ने बताए । यसैगरी अर्का अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले सांसदलाई फौज्दारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने बताए । उनले मधेश आन्दोलन र थारूहट आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेमा सवै सत्यतपथ्य जनताले थाहा पाउने बताए ।
नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा चैत १५ गते, कहिलदेखि बुक क्लाेज ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको ३०औं वार्षिक साधाधारण सभा चैत १५ गते हुने भएको छ । सो प्रयोजनको लागि चैत १ गतेदेखि चैत १५ गतेसम्म कम्पनीको बुक क्लोज हुँदै छ । उक्र सभाले संचालक समितिको प्रस्तावबमोजिम चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । साथै, बोनस सेयर बापत कर प्रयोजनको लागि एक करोड ८८ लाख रुपैयाँ नगद लाभांश स्वीकृत गर्दै छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ लाख रुपैयाँ रहेको छ । १३.५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ ।
यात्रुबाहक बसहरुमा अझै पनि सिण्डीेकेट जारी छः प्रदेश मन्त्री जम्कट्टेल
काठमाडौँ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात क्षेत्र व्यबस्थित हुनुपर्ने बताएका छन् । प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयको आयोजनामा भएको यातायात सेवाको नाम पञ्जिकृत गर्ने सम्बन्धी भएको छलफल कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्र संबेदनशील भएकोले यसबारे सबै गम्भीर हुन जरुरी रहेको स्पष्ट पारे । मुख्यमन्त्री पौडेलले व्यबसायीहरुका लागि प्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्न तयार रहेको बताए । सरकारले गरेका निर्णयहरुमा सबैले सहयोग गर्नु पर्ने उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले कार्यदल बनाएर यातायात क्षेत्रको काम गर्ने जानकारी दिए । व्यवसायीहरुले धेरै कुरा राखेको भन्दै अब छिटै नै कार्यदल मार्फत निष्कर्षमा पुगिने पनि बताए । सरकार तथा व्यवसायी दुबैलाई हित हुने काम गर्ने उनको भनाई थियो । यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्रि शालिकराम जम्कट्टेलले कम्पनीमा दर्ता भएर यातायात मजदुर तथा कर्मचारीका लागि सामाजिक सुरक्षा कार्यक्रममा सहभागि गराउन आग्रह गरे । उनले मालबाहक सवारीमा सिण्डिकेट नभए पनि यात्रुबाहक बसहरुमा अझै पनि सिण्डीेकेट जारी भएको बताए ।
काठमाडौँका अशोभनीय यात्रु प्रतीक्षालय हटाइँदै, आवश्यक ठाउँमा बनाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ । बस स्ट्याण्ड अध्ययन कार्यदलले काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो । कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केही अनावश्यक स्थानमा रही शहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिए । संयोजक महर्जनका अनुसार स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकार सम्पन्न समितिमा प्रतिवेदन दिइनेछ । समितिले विगतमा प्राप्त भएका प्रस्ताव, शहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने, कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्योल गर्नेछ । यात्रु तथा सार्वजनिक यातायात दुवैका लागि आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो । महानगरका उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सदस्य रहेका छन् । रासस
काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गः पावर चाइनाको लगानी स्वीकृति गरेर निर्माण
काठमाडौं । काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्ग बनाउने भन्दै गठन भएको नेपाल पूर्वाधार विकास कम्पनीले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीले चैत ९ गतेको बिशेष साधारण सभाबाट पावर चाइना कम्पनीको लगानी भित्र्याएर निर्माणको काम आरम्भ गर्ने निर्णय गर्न लागेको हो । नेपाल पूर्वाधार विकास कम्पनी र पावर चाइनाबिची २०७५ साउन ९ गते संयुक्त विकास सम्झौता(जेडिए)मा सम्झौता भएको थियो ।कम्पनीले बिशेष साधारण सभाबाट सो सम्झौता अनुमोदन गर्ने र केन्द्र तथा प्रदेश सरकारसँगको समन्वयमा तुरुन्तै निर्माण आरम्भ गर्ने कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले जानकारी दिए । बिशेष साधारण सभाले हालसम्म सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने, कम्पनीको हालसम्मको अवस्था र भावी कार्ययोजना तय गर्ने, आगामी साधारण सभासम्मका लागि नयाँ कार्यसमिति चयन गर्ने, लेखा परिक्षक नियुक्त गर्ने र साधारण सभाको मिति तथा स्थान तय गर्नेछ । ‘बिशेष साधारण सभाले आगामी कार्ययोजना तय गर्नेछ, पावर चाइनासँगको सम्झौता अनुसार प्रदेश र केन्द्र सरकारसँग मिलेर तुरुन्तै निर्माण आरम्भ गर्छाै’, सञ्चालक ठकुरीले भने । आयोजनामा पावर चाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गभएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ । नेपाल पूर्वाधारको विस्तृत प्राविधिक योजना पुनरावलोकन तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरेको थियो । पुनरावलोकन पश्चात यस आयोजनामा सडकको कूल लम्वाई मध्ये ४४ किलोमिटर सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ । सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधारले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा ईपीसी ठेक्कामा हस्ताक्षर गरेको थियो । पावर चाइना सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनी रहेका छन । पावर चाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्षदेखि जलविद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ । नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरी सकेको छ । ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडा उप महानगरपालिकामा काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग जोडिने छ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ । नेपाल पुर्वाधार विकास कम्पनी २०६८ भदौ २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता (पिपिए) गरि अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर औपचारिकता पाएको थियो । कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्विकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐन अन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई यो परियोजना सुम्पेको हो । कम्पनीले निर्माण पश्चात ३० वर्षसम्म सञ्चालन गरेर सुरुङ मार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नु पर्ने सम्झौतामा छ । २०७० कात्तिक २५ गते सुरुङमार्गको शिलान्यास भएको थियो ।विभिन्न तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ ।
कलङ्की–महाराजगञ्ज सडक विस्तारको तयारी, अध्ययन गर्दैछ चिनियाँ टोली
काठमाडौँ । कोटेश्वर-कलङ्की सडक हस्तान्तरण भएसँगै कलङ्की–महाराजगञ्ज सडक विस्तार र सुधारको तयारी गरिएको छ । चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर-कलङ्की सडक हस्तान्तरणपछि दोस्रो खण्डका रुपमा कलङ्कीबाट महाराजगञ्जसम्मको सडक सुधारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम भइरहेको सडक विभागले जनाएको छ । चिनियाँ पक्षले नै सडकको अध्ययन गरिरहेको विभागका वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन आएपछि त्यसमा आवश्यक सुझाव समेटेर अन्तिम प्रतिवेदन आउनेछ । प्रारम्भिक र अन्तिम दुवै अध्ययन प्रतिवेदन चिनियाँ पक्षले नै गर्नेछ । प्रमुख श्रेष्ठले भने, “हामीले त्यसमा समेट्नुपर्ने विषयमा भने सुझाव दिइरहेका छौँ ।” कोटेश्वर-कलङ्की सडकबाट सिकेका कुरा यस खण्डमा लागू गर्न विभागले चिनियाँ पक्षलाई भनिरहेको बताएको छ । सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायतका कुरामा ध्यान दिनका लागि चिनियाँ पक्षलाई भनिएको छ । दुई देशमा रहेका सांस्कृतिक भिन्नताका कारण कोटेश्वर-कलङ्की सडकमा समस्या देखिएको बताइएको छ । प्रमुख श्रेष्ठले भने, “रोड डिभाइडरको काम चीनमा सडक चिह्नले गर्ने भए पनि यहाँ पर्खाल चाहिने खालको हाम्रो सोचाइ रहेको छ ।” आकाशे पुल वा ‘अण्डरपास’ कति वटा र कुन कुन ठाउँमा बनाउने भन्ने चीनले गर्ने लगानीमा निर्भर हुने विभागले जनाएको छ । यो सडकको लम्बाइ झण्डै आठ किलोमिटर छ । निर्माण सम्पन्न भएको कोटेश्वरबाट कलङ्कीसम्मको सडक झण्डै १० किलोमिटर छ । रासस