ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त
बाँके । त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन् । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन् । कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट प्रकृतिको अवस्था यकिन भएको छैन । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो । “ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ”, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भने । दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए । लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् । ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ । आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । दुर्घटनापछि कोहलपुरमा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । विद्यार्थीलाई प्रहरीले लाठी प्रहार गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन् । प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ । आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ । प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् । रासस
पूनर्बीमा कम्पनीमा सीईओ नियुक्ती दुइ साता पर धकेलियाे
काठमाडौं । नेपाल पूनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रकृया दुई साता पर धकेलिएको छ । कम्पनीले गत साता नै प्रतिस्पर्धीलाई कार्य योजना प्रस्तुती गर्न लगाउने समय तय गरेको थियो । विशेष कारणले पूर्वनिर्धारित समय तालिका परिवर्तन गरेको हो । सीईओका उम्मेदवारलाई प्रस्तुती र अन्तर्वाता गर्ने समय तालिका परिवर्तन गरिएको नेपाल पूनर्बीमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले बताए । भण्डारीले पहिला निर्धारित समय तालिकालाई मंसिर ३० गतेका तय गरिएको बताए । यस अघि मंसिर १२ र १३ गते उम्मेदवारहरूले प्रस्तुती गर्ने समय तालिका तय भएको थियो । सीईओ प्रतिस्पर्धाको दौडमा कम्पनीमा ४ जनाको उम्मेदवारी परेको छ । प्रतिस्पर्धीहरू कम्पनीले गठन गरेको सीईओ सिफारिस उपसमिति समक्ष आफ्नो कार्य योजना प्रस्तुती गर्नुपर्नेछ । पुनर्बीमा कम्पनीको सीईओका लागि निवर्तमान सीईओ चिरायु भण्डारीसहित अशोक कुमार पौडेल, शेषरमण आचार्य र शंकर कुमार रायमाझीले आवेदन दिएका छन् ।
चीन-अमेरिका व्यापार खुम्चियो, करवृद्धिकाे असर
बेइजिङ । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् । अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको छ । चिनियाँ भन्सार विभागका अनुसार अमेरिकाबाट हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको छ । अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको मालबस्तु आयात भएको छ । तर चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार आएको छ जसका कारण चीनको कूल व्यापार घाटामा कमी आएको छैन । विश्वव्यापी रुपमै मागमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा निकासीतर्फ १.१ प्रतिशत वृद्धि भई करिब २२२ अर्ब अमेरिकी डलर पुगेको छ । आयातमा भने ० दशमलब ३ प्रतिशत वृद्धि भएको छ । चीनले यस अवधिमा १८३ अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवा खरिद गरेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच व्यापार वार्ता जारी रहेपनि ठोस सहमति अझै हुन सकेको छैन । अमेरिकी प्रविधि जबर्जस्ती चीनले हत्याएको आरोप लगाउँदै वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको छ । दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि विश्वव्यापी आर्थिक मन्दीको सम्भावना बढेको छ । रासस/एपी
सागः नेपालका दुई खेलाडी पुगे फाइनलमा
काठमाडौं । राजधानीमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सञ्जीत डङ्गोल आ–आफ्नो तौल समूहमा फाइनलमा पुगेका छन् । लगनखेलस्थित आर्मीको कभर्डहलमा आइतबार भएको खेलमा इन्द्रबहादुर ६६ केजी तौल समूहकोे सेमिफाइनल खेलमा पाकिस्तानका हसनलाई १–० ले हराउँदै फाइनमा पुगेका हुन् । इन्द्रले अब स्वर्ण पदकका लागि भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, पुरुषतर्फ सञ्जीत ७३ केजीमुनिको तौल समूहमा बङ्गलादेशका अमिरुल इस्लामलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । सन्जित अब स्वर्ण पदकका लागि श्रीलङ्काका चामरा नुवसँग भिड्नेछन् । रासस
प्राइमलाइफ इन्स्योरेन्सले दियाे नयाँ अभिकर्तालाई तालिम
काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनीका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा सम्पन्न भएको हो । मंसिर १९, २० र २१ गते सन्धिखर्क अर्घाखाँचीमा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट उपस्थित नयाँ अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको थियो । सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहलाई नियामकको तालिम तालिका बमोजिम बिशेष महत्वका साथ तालिम प्रदान गरी गाउँ गाउँमा बीमा सम्बन्धि जनचेतना दिएको हो । साथै, सही सूचना फैलाइ जागरुक गराउने र सबैमा बीमाको पहुँच पु¥याउन शुन्य वा तीन विचार गरौं एक छिन भन्ने कम्पनीको नाराका साथ घरघरमा प्राइमलाइफ जनजनमा प्राइमलाइफ भन्ने उद्देश्य सहित कम्पनीले कार्यक्रम सञ्चालन गरेको हो । तालिममा अर्घाखाँचीका विभिन्न पदमा रही यस वर्ष उत्कृष्ठ कार्य गर्ने पुराना अभिकर्ताहरुको सम्मान समेत गरिएकोे थियो ।
ग्लोबल आईएमई बैंकको सीईओमा क्षेत्री र सिनियर डिसीईओमा ढकाल नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंकको सीईओमा साविकका जनता बैंकको सीईओ परशुराम कुँवर क्षेत्री नियुक्त भएका हुन् । मर्जर सम्झौता पत्रको अनुसार क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत(सिनियर डिसीईओ) को कार्यभार सम्हाल्ने भएका छन् । मंसिर २० गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको सीईओ र सिनियर डिसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपालमै बन्दैछ सस्ताे इलेक्ट्रिक स्कुटर, ७ पैसाको बिजुलीले १ किलोमिटर यात्रा
काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । नेपाली बजारमा यस्तो विद्युतीय स्कुटर बजारमा आइसकेको छ । वाहन अटो इन्टरप्राइजेजले नेपालमा नै उत्पादन भइरहेको ईएम ३१५ नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर ७ पैसाको मात्रै विद्युतीय ऊर्जा खपत गर्छ । अर्थात ७ पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ । वाहन अटो इन्टरप्राइजेज कम्पनीले एसेम्बल गरेको ईएम ३१५ स्कुटर १० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर ७० किलोमिटरसम्म गुडाउन सकिने सञ्चालक बलराम प्रजापतीले जानकारी दिए । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्यून रहेको कम्पनीले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्यूनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, वाहन अटो इन्टरप्राइजे उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य जम्मा ८५ हजार रुपैयाँ छ । कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखि ६ घन्टासम्म लाग्छ, ७० किलोमिटर गुड्छ । ईएम३१५ स्कुटरमा २० एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ । रातो, कालो, निलो र पहेँलो रङका स्कुटर बिक्री भैसकेको कम्पनीको जानकारी दिएको छ । पेट्रोलबाट चल्ने बाइक वा स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ छ । ७० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक वा स्कुटरले झण्डै १६० रुपैयाँको इन्धन खपत गर्छ । तर, विद्युतीय स्कुटर ईएम ३१५ नामक विद्युतीय स्कुलरले १० रुपैयाँमा त्यत्ति नै माइलेज दिन्छ । वाहन अटो इन्टरप्राइजेजका सञ्चालक बलराम प्रजापतीले भने भिजिट नेपाल २०२० लाई लक्षित गरि १ लाख मूल्यको स्कुटर ८५ हजारमा नै बिक्री गरेको बताए । विश्व बजारमा नै विद्युतीय सवारी धासनको माग बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेकोले नेपालमा नै विद्युतीय स्कुटर उत्पादन सुरु गरेको बताए । उनले भने हामीले सातदाेबोटोमा एसेम्बल गरिरहेका छौँ । चीनबाट स्कुटरको सामान ल्याएर एसेम्बल गरेर बजारमा ल्याएको कारणले पनि अन्य विद्युतीय स्कुटरभन्दा ईएम सस्तो मूल्यमा उपलब्ध भएको बताए । विश्वमै इलेक्ट्रिक सवारीको माग विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म पेट्रोलबाट चल्ने सवारी साधनहरुको विकल्पका रुपमा इलेक्ट्रिक सवारी साधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाइ छ । इएम ३१५ ब्याट्री, मोटर कन्ट्रोलरमा १ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । विद्युतीय सवारीलाई भन्सार सस्तो डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले अन्यको भन्दा सस्तो छ । सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी मध्ये २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेको थियाे । तर, अहिले केहीमात्रमा यस्ता सवारी साधन सञ्चालन हुन भने थालेका छन् । वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार महशुललाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिँदै आएको छ ।
तनहुँ जलविद्युत् आयोजनाकाे निर्माण कार्यले तीव्रता लियो, पाँच वर्षमा सक्ने लक्ष्य
दमौली । । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माणको कामले तीव्रता पाएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गतको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको सिनो हाइड्रोले ऋषिङ गाउँपालिका-१ स्थित झापुटारमा पहुँच मार्ग, कार्यालय भवन, श्रमिक आवास क्षेत्रलगायत कामलाई तीव्रता दिएको हो । आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ विद्युत् गृहसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि कामदार परिचालित भएको तनहुँ जलविद्युत् आयोजनाका साइट इन्चार्ज विदुर अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार हाइड्रोले बाँध स्थलको ‘टनेल पोर्टल’को विस्फोटको तयारीसमेत गरेको छ । सिनो हाइड्रोले आयोजनाको पहुँच मार्गसम्म पुग्न एक हजार १०० मिटर ट्र्याक खोलिसकेको छ भने ४०० मिटर ट्र्याक खोल्न बाँकी रहेको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गतको ठेक्का पाएको सिएमसीसँग ठेक्का रद्द भएर पुनः बोलपत्र आह्वान भएपछि बोलपत्र मूल्याङ्कन गर्ने काम भइरहेको छ । बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि चारवटा कम्पनीले बोलपत्र पेश गरेका थिए । आयोजनाका लागि आवश्यक क्याम्प तथा विद्युत् गृहको पहुँच मार्ग निर्माणका लागि १५० रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको छ । बाँधस्थलको पहुँच मार्गका लागि ५० रोपनी र जलाशय क्षेत्रका लागि एक हजार २३० रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ । बाँधस्थलको पहुँच मार्गका लागि थप १० र जलाशय क्षेत्रका लागि थप पाँच प्रतिशत जग्गा अधिग्रहण गर्न बाँकी छ । पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजना स्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने तयारी थालिएको छ । पहिलो संरचना निर्माणका लागि इटाली कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत वैशाख १२ गते पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । निर्माण व्यवसायी कम्पनीले आयोजनाको एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको सर्वेक्षण गरिरहेको अवस्था छ । आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत् गृह निर्माण गरिनेछ । खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुख्खायाममा १७८.९० मेगावाट र बर्खायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको विद्यृत् गृह निर्माणका लागि २८ करोड ८० लाख डलर, प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि एक करोड ५० लाख डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनर्स्थापनाका लागि तीन करोड डलर, वातावरण व्यवस्थापनका लागि दुई करोड १० लाख डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि चार करोड ६० लाख डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि दुई करोड ५० लाख डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस