मदिराको अन्तः शुल्क घटेपछि अबको मिसन सिमेन्ट र स्टिल उद्योग, बजार अझ सस्तो हुने
काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको अन्तःशुल्क घटाउने तयारी गरेको हो । सरकारले नयाँ लगानीकर्तालाई लगानी गर्न आकर्षण गर्न तथा स्वदेशी उत्पादनलाई राहत दिएर प्रतिस्पर्धी बनाइ उपभोक्तालाई कम मूल्यमा यस्ता वस्तु उपलब्ध गराउन अन्तः शुल्क घटाउने छलफल अघि बढाएको अर्थ मन्त्रालयले बताएको छ । केही समयअघि सरकारले अन्तःशुल्क बढाएका कारण मदिरा व्यवसाय धरासायी भएको गुनासो आएको र राजस्व संकलनमा समेत कमी आएका कारण मदिरामा लाग्दै आएको अन्तः शुल्क घटाएको थियो । अहिले सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तः शुल्क पनि घटाउने तयारी थालेको हो । अर्थ मन्त्रालयले घट्दो बजारलाई मध्येनजर गर्दै बढ्दो मूल्यका कारण मर्महात भएका उपभोक्तालाई राहत दिन अन्तः शुल्कको दरमा केही कमी गर्ने विषयमा छलफल उठाएको हो । अन्तः शुल्क घटाएर खबौ लगानी गरेका उद्योगीलाई सरकारले राहत दिने सोच राम्रो भए पनि व्यवसायीले भने व्यवसाय फस्टाउन देशमा ठूला परियोजना बन्नु पर्ने बताए । नेपाल रोलिङ मिल एसोसिएनका पूर्व अध्यक्ष धु्रव श्रेष्ठले पछिल्लो समय स्टिलको मूल्य घटेपनि ठूला नयाँ परियोजना नआउँदा व्यवसाय धरासायी बन्न पुगेको बताए । ‘अन्तः शुल्क मात्रै घटाएर हुँदैन’ उनले भने ‘निर्माण कार्यलाई तीव्रता दिने खालका नीति नियमहरू सरकारले बनाइ दिनुपर्छ । अहिले नेपालमा बार्षिक १२ लाख टन रड उत्पादन हुँदै आएको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले २/३ वर्षयता देशमा ठूला उद्योग नभित्रिएकाले नयाँ उद्योगलाई भित्र्याउने राहत प्याकेजको रुपमा अन्तः शुल्क घटाउने तयारी गरेको हुन सक्ने बताए । अहिले नेपालमा ६१ वटा सिमेन्ट उद्योगले करिब १ करोड ५० लाख टन सिमेन्ट उत्पादन गरिरहेका छन् । अबको दुई वर्षमा यो उत्पादन बढेर डब्बल हुन्छ । ‘हामीले सरकारलाई बारम्बार नेपालमा सिमेन्टको उत्पादन लागत बढी भयो घटाउने प्याकेज दिनुपर्यो भनेर घच्घच्याइ रहेका छौं,’ उनले भने ‘उत्पादन लागत घटाउन सरकारकातर्फबाट राहत प्याकेजको रुपमा अन्तः शुल्क घटाउन लागिएको होला ।’ सरकारले सबै उत्पादित वस्तुको उत्पादन लागत घटाउन अध्ययन समेत गरिरहेको छ । सरकारले हाल प्रतिटन स्टिलमा एक हजार ६ सय ५० रुपैयाँ र सिमेन्टमा प्रतिटन एक सय ६० रुपैयाँ अन्तशुल्क लगाउँदै आएको छ । अब कति घटाउने भन्ने विषयको निर्णय भने हुन वाँकी रहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । कर कम लागेपछि सिमेन्ट र स्टिलको हालको मूल्यमा कमी आउने छ । यसको लाभ प्रत्यक्ष रुपमा उपभोक्ताले पाउने छन् ।
व्यक्तिगत विवेकबाट नभई विधिबाट मन्त्रालय चल्नेछः कृषिमन्त्री भूषाल
काठमाडौं । मन्त्रालय व्यक्तिगत विवेकबाट नभई विधिगत ढंगले चल्ने नवनियुक्त कृषिमन्त्री घनश्याम भूषालले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकारसँग भएको छोटो भेटघाट कार्यक्रममा बोल्दै आगामी दिनमा मन्त्रालयले सबै स्थानिय तहसँग समन्वय बनाएर तथ्यांक एवंम नितिगत शैलीबाट अगाडी बढ्ने जानकारी दिए । उनले भने ‘यस क्षेत्रमा अझै धेरै कुरा बुझ्न बाँकी रहेको छ, हाल मैले मन्त्रालयको प्रशासनलाई पून व्यवस्थापन गर्ने निर्णयसँगै सेवालाई दूतशैली अगाडी बढाउने छ ।’ कृषि क्षेत्रमा देखिएका समस्या र समाधानका विषयलाई लिएर कामको जोश र जागरसँगै चुनौती रहेको जनाएका छन् । यस वर्ष सरकारले कृषि क्षेत्रमा छुट्याएको बजेट अनुसार कसरी कामलाई कसरी सफलता पूर्व सम्पन्न गर्ने भन्ने विषयमा केन्द्रित भई विषय बस्तुको बारेमा अध्ययन गरिरहेको जानकारी दिए । त्यस्तै सातै प्रदेशका कृषि मन्त्रीहरुबीच आगामी दिनको कार्य प्रणाली तथा योजनाको बारेमा छलफल गर्दै गरेको बताए । आफु मन्त्रालयमा आएपछि तथ्यांक समन्वयन नभएको महसुस गरेकाे जनाए । ‘कसरी नयाँ संयन्त्र बनाएर काम गर्ने भन्ने विषयमा छलफल भईरहेको छ , यस कुरामा मन्त्रालय पारदर्शि हुनेछ’ उनले भने । प्रथम पत्रकार भेटघाटमा कृषिमन्त्री भूषालको कार्यक्रमलाई समापन गर्दै कृषि क्षेत्रका गतिविधिलाई तथा समस्यालाई ध्यानमा राखी मिडियाकर्मीले आफ्नो मिडियामा समसामयिक विषयलाई समाभेष गर्न आग्रह गरे ।
वैदेशिक राेजगार विभागमा पर्ने उजुरी ४५ प्रतिशतले घट्याे, तीन महिनामा जम्मा साढे १३ करोड शुल्क संकलन
काठमाडौं । चालु आर्थिक वर्षकाे पहिलो चौमासिकमा वैदेशिक रोजगार विभागमा आउने उजुरी संख्या ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षकाे प्रथम चाैमासिकमा विभागमा आउने उजुरीकाे संख्या ४५ प्रतिशतले घटेको हो । चालु आवकाे कार्तिक मसान्तसम्मकाे तथ्याङ्क अनुसार विभागमा १ सय ७७ वटा उजुरी परेका छन् भने गत आवकाे प्रथम चाैमासिकमा ३ सय ११ वटा उजुरी परेका थिए । विभागका महानिर्देशक डा. भीष्म कुमार भूसालले पछिल्लाे समय विभागमा उजुरी कम पर्ने गरेकाे बताए । उनले खाडी मुलुकमा जाने श्रमिकको मात्र नभई युरोप, अमेरिका जस्ता विकसित देशमा जाने श्रमिकको गुनासो विभागमा आउने गरेको बताए । गत वर्षको पहिलो चौमासिकमा विभागमा आएको उजुरीमा ५९ वटा अदालतमा दर्ता भएकाे उनकाे भनाइ छ। यस वर्ष भने ९८ उजुरी अदालतमा दर्ता भएका छन् । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष १७ करोड ५३ लाख ७४ हजार विभागमा दावी रकम रहेकाे थियाे भने हाल १३ करोड ६६ लाख ६९ हजार रहेको छ । यस्तै गत वर्षको दोस्रो चौमासिकमा २५३ उजुरी र तेस्रोमा २८१ उजुरी विभागमा परेका थिए । ति मध्ये ८ सय ५५ वटा मुद्दा विभागमा दर्ता भएका छन् । गत वर्षकाे दाबी शुल्क भने ५६ करोड ११ लाख २९ हजार रहेकाे थियाे । गतवर्षको पहिलो चौमासिकमा ५९ वटा अदालतमा दायर भएका थिए भने दोस्रो ५० र तेस्रो एक सय गरी गत वर्ष कुल २ सय ९ मुद्दा विभागबाट अदालतमा पेश भएका थिए । महानिर्देशक भूषालले श्रमिकका गुनासो सुनुवाइर्मा विभाग केन्द्रित वैदेशिक रोजगार विभागमा आएका गुनासोलाई मध्यनजर गर्दै आफ्नो कामलाई तिव्रता दिएकाे बताए । पछिल्लो समय विभागमा विदेशिने मोहमा नक्कली विवाहदेखि पूर्जासम्म नक्कली गरेका विषयमा गुनासो आउने गरेकाे उनकाे भनाइ छ । विभागमा आउने गुनासोमा धेरै जसो मानिस गैर कानुनी माध्यमबाट वैदेशिक रोजगार जान लागेका तथा गरेर दु.ख पाएका व्यक्तिहरू आउने गरेका छन् ।
नर्भिक हस्पिटलले पायो ‘सफलताको शिखर अवार्ड’, वर्ल्ड बिजनेस लिडरबाट सम्मानित
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले ‘सफलताको शिखर अवार्ड’ पाएको छ । हस्पिटलले हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वर्ल्ड कन्फडेरेसन अफ बिजिनेसेस(वर्ल्डकब)द्धारा उक्त अवार्ड पाएको हो । उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोह द बिज एमिया २०१९का बीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान वल्र्डकबका विगतका समारोहहरुमा अर्थात् द बीज सम्मान समारोहमा सम्मानित र पुरस्कृत भएका संघ संस्था जो विगतको सम्मान पश्चात् पनि आफ्नो उत्कृष्टता कायमै राख्न सफल हुन्छन्, तिनलाई मात्रै प्रदान गरिँदै आएको वर्ल्डकबले जनाएको छ । उक्त समारोहमा नर्भिकलाई वल्र्डकब परिवारको प्लेटिनम मेम्वर समेत प्रदान गरियो । वर्ल्डकबले नर्भिकलाई आगामी दिनहरुमा यसका सेवाका स्तरलाई उकास्न भरमग्दुर र निरन्तर प्रयास गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ । नवीनतम् प्रविधिका क्षेत्रमा नर्भिकलाई सहयोग गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित पार्न हर-सम्भव उपायहरुको अवलम्बन गरिने समेत बताएको छ । उपरोक्त पुरस्कार/सम्मानका अलावा नर्भिकलाई स्वास्थ्य सेवामा विश्व व्यवसायिक नेतृत्व(वर्ल्ड बिजनेस लिडर) नामक सम्मानका साथ यसलाई ठूलो प्रेरणादायी संस्थाका रुपमा समेत सम्मान गरिएको थियो । वर्ल्डकबका तर्फबाट मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले एक विशेष समारोहबीच उपरोक्त पुरस्कार तथा सम्मानहरु नर्भिकका पदाधिकारीहरुलाई अर्पण गरेका थिए । नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपाली स्वास्थ्य सेवाका फाँटलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्न खेलेकी प्रभावकारी एवम् नेतृत्वदायी भूमिकावापत उनलाई वर्ल्ड लिडर बिजिनेस पर्सनसम्मानद्धारा पुरस्कृत गरिएको थियो । आफ्नो संस्थामा नवीनतम्, सुविज्ञ र व्यवस्थित वातावरणको सिर्जना गर्दै नेपाली स्वास्थ्य सेवाका फाँटलाई उकास्न मद्दत पुर्याएवापत उनलाई सो पुरस्कारले सम्मान गरेको वर्ल्डकबले जनाएको छ । सो अवसरमा नर्भिकका पदाधिकारीहरुका साथ कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलाई पनि व्यवसायिक नेतृत्वमा सर्वोत्कृष्ट विषयक सम्मान प्रदान गरिएको थियो । वर्ल्डकबले आ-आफ्ना क्षेत्रमा विश्वव्यापी ख्याति प्राप्त गरेका र नेतृत्वदायी भूमिका खेलेका कम्पनी तथा व्यक्तित्वहरुलाई सम्मानित र पुरस्कृत गर्ने गर्दछ । उत्कृष्ट स्वास्थ्य सेवाको रजत महोत्सव मनाइसकेको नर्भिकले नेपाली निजी क्षेत्रका हस्पिटलमध्ये सर्वप्रथम “ग्लोवल ग्रिन एण्ड हेल्दी हस्पिटल्स्”, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइ.एस.ओ. प्रमाणीकरण र उत्कृष्ट प्रयोगशाला सेवाका लागि एनएबीएल प्रमाणिकरण पाउने नर्भिकले यसपूर्व युरोप बिजिनेश एसेम्बेली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल, नेपालको उत्कृष्ट इम्प्लोयर ब्राण्ड र जर्मनीको बर्लिनमा अन्तर्राष्ट्रिय क्वालिटी च्वाइस प्राइज जस्ता सम्मान/पुरस्कारहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकका सीईओ परशुरामकुंवर क्षेत्रीले गरे पदबहाली
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्रीले पदबहाली गरेको छन् । गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पदबहाली गराएका हुन् । तीन दशक भन्दाबढी समय बैंकिङ्ग क्षेत्रमा रहेका क्षेत्री २०७४ सालअसार १ गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनले तत्कालिन बैंक अफएसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन् । वि.सं. २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर शुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंकको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना काम गरेका थिए । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको हो । यससँगै एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष २४ अर्ब रुपैयाँ, कुल निक्षेप २१३ अर्ब रुपैयाँ, कुल कर्जा १९४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । त्यस्तै, ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा/सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् ।
लिखु-ए जलविद्युत आयोजनाको सुरुङ्ग निर्माण सम्पन्न, असार भित्रै विद्युत उत्पादन गर्ने
काठमाडौं । सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रोपावर प्रा.लि.द्धारा निर्माणाधिन २९.४ मेगावाट विद्युत क्षमताको लिखु-ए जलविद्युत आयोजनाको सुरुङ्ग तथा सबै भूमीगत संरचनाहरुको निर्माण कार्य सम्पन्न भएको छ । २.५ किलोमिटरको सुरुङ्ग तथा सबै भूमीगत संरचनाहरुको निर्माण कार्य कम्पनीका कर्मचारीहरुको अथक परिश्रमका साथ ८ महिना भित्रै सम्पन्न भएको एमभी दुगड ग्रुपले जनाएको छ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एमभी दुगड ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन रहेको छ । त्यसमध्ये मा त्यस मध्येको लिखु-ए जलविद्युत आयोजना एक हो । जलविद्युत आयोजना निर्माणको इतिहासमा यति लामो सुरुङ्ग छोटो समयमा पूरा भएको छ । लिखु-ए जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगाडि नै विद्युत उत्पादन गरी उक्त विद्युत देवीटार स्थित राष्ट्रिय प्रशारण लाईन न्यू खिम्ती विद्युत सव स्टेशनमा जोडिने कम्पनीले जनाएको छ । त्यस्तै गरी लिखु नदीमा एमभीदुगड़ ग्रुप द्धारा प्रवद्र्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु-२ र ७७ मेगावाट क्षमताको लिखु-१ जलविद्युत आयोजनाहरु समेतको रातदिन गरी दु्रतगतिमा निर्माण कार्य भईरहेको एम.भी.दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड बताउँछन् । यसरी एमभीदुगड़ ग्रुप द्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडित क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनाको पहुंच मार्ग लगायत स्थानिय जनसमूदायहरु समेतको लागि परियोजनाले आफ्नै खर्चमा न्यूनतम २० फूट चौडा र १२ ह्रै महिना नै चल्न सक्ने ढंगले सडकको डिजाईन गरी नयाँ सडक लगायत सडकको स्तर उन्नती समेत गरी लगभग १२५ किलोमिटर सडक निर्माण गरेको छ । कन्स्ट्रक्सन पावरको लागि परियोजनाले ३३ केभि क्षमताको लगभग ४५ किलोमिटर लामो ट्रान्समीसन लाईन आफ्नै खर्चमा निर्माण गरी एक उदाहरणिय कार्य समेत गरेको छ । साथै, यी परियोजनाहरुमा “विदेशी प्रत्यक्ष लगानी” समेत आउने गरी लगानी सम्झौता समेत भई आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा कारवाही समेत चलिरहेको कम्पनीेल जनाएको छ ।
नयाँ दिल्लीमा ‘भ्रमण वर्ष २०२०’काे प्रवर्द्धन
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले ‘‘भ्रमण वर्ष २०२० तथा नाइस (नेपाल इण्डिया चाइना एक्सपो)’’ कार्यक्रम सम्पन्न गरेकाे छ । पाटाले यही डिसेम्बर ५ तारिखका दिन नयाँदिल्लीस्थित द पार्क होटलमा भारतका करिब ६० वटा प्रमूख ट्राभल व्यवसायी तथा सरोकारवालाहरुबीच प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको हाे । नेपाल भ्रमण वर्ष २०२० का प्रवन्धक रोहिणी खनालले भ्रमण वर्षको उद्देश्य, महत्व र प्राथमिकताहरुबारे प्रकाश पार्दै उपस्थित सबैमा भ्रमण वर्षमा सहभागि हुन र आ-आफ्नो कार्यक्षेत्र तथा नेटवर्कमार्फत भ्रमण वर्षको प्रवद्र्धनमा सहयोग गर्न आब्हन गरेका छन् । त्यसैगरी, पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले भ्रमण वर्षको सन्दर्भमा पाटा नेपालद्धारा आयोजना गरिने कार्यक्रमहरु विषेशगरी नाइस कार्यक्रमको संरचना, तयारी र नेपाल भारत र चीन छिमेकी मुलुकहरुको दिगो पर्यटन विकासका लागि यस कार्यक्रमले खेल्ने महत्वपूर्ण भूमिकाबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा बोल्दै पाटा अन्तर्राष्ट्रियका सीईओ डा मारियो हार्डीले पाटाले विश्वकै दिगो विकास प्रवद्र्धनका लागि सहकार्य तथा समन्वयमा जोड दिइरहेको परिवेशमा नेपालद्धारा आयोजना गरिने नाइस कार्यक्रम अत्यन्त सराहनिय भएको बताएका छन् । उनले विश्वका केही मुलुकहरु ‘‘ओभर टुरिजम’’ र कतिपय मुलुकहरु ‘‘अण्डर टुरिजम’’ अवस्था अनुभूति गरिरहेको बेला दिगो पर्यटन विकासका लागि पर्यटकहरुको सन्तुलित वितरण आवश्यक हुने बताउँदै पाटाले विभिन्न मुलुकहरु तथा पाटा च्याप्टरहरुबीच बढी भन्दा बढी सहकार्य र समन्वयलाई जोड दिइरहेको बताए । पाटा इण्डियाका कार्यकारी निर्देशक रुनिप साँघाले पाटा इण्डिया च्याप्टरले रणनीतिक साझेदारको रुपमा नाइस कार्यक्रमका लागि सक्दो सहकार्य तथा सहयोग गर्ने बताए । कार्यक्रममा भारतमा साहसिक पर्यटनमा चिर परिचित व्यक्तित्व तथा नाइस एम्बेसडर अजित बजाजले हिमालय पर्यटन क्षेत्रका प्रमुख संरक्षक राष्ट्रहरु (नेपाल भारत र चीन) लाई पर्यटन क्षेत्रमा एकतृत एवम् एकबद्ध गरी यो क्षेत्रकै दिगो पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने नाइस कार्यक्रम एक प्रशंसनीय पहल भएको बताए ।
विदेशी र नेपाली नागरिकलाई हवाई भाडामा समान मूल्य कायम गर्न कार्यदलकाे सुझाव
काठमाडाैं । सरकारद्वारा गठित कार्यदलले विदेशी र नेपालीलाई हवाई भाडामा समान मूल्य कायम गर्न निर्देशन दिएकाे छ । कार्यदलले हवाई यात्रामा विदेशीबाट लिइने महंगो शूल्क हटाएर समान बनाउन सुझाव दिएको हाे । कार्यदलले एक प्रतिवेदन तयार पार्दै नेपालमा हवाई यात्रा गर्ने नेपालीको तुलनामा विदेशी नागरिकले झण्डै दोब्बर मूल्य तिर्नुपर्ने र यसले नेपाल विदेशीका लागि महंगो गन्तब्यका रुपमा समेत स्थापित भइरहेकाे जनाएकाे छ । पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा हवाईका विविध विषयमा सुझाव दिन गठन गरेकाे कार्यदलले हवाई उद्योग तथा एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय भाडादर निर्धारण बजारको माग र आपूर्तिले गर्ने भएकाले राष्ट्रिय हवाई भाडादरमा पनि सोही नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएकाे छ । नेपालमा आन्तरिक वायुसेवा कम्पनीले नेपाली र विदेशीका लागि फरक–फरक भाडा लिन्छन् । विदेशीहरु धेरै महंगो भाडा तिरेर हवाई यात्रा गर्न आकर्षित हुँदैनन् । त्यसकारण उनीहरु बाध्यता नपरेसम्म हवाई यात्रा गर्दैनन् । काठमाडौंबाट सुगम र नजिकका गन्तव्यमा मात्र गएर घुमघाम गरी फर्कने प्रवृत्ति उनीहरुमा हुन्छ । यसले पर्यटन विकासमा नै प्रभाव पार्ने निश्कर्ष कार्यदलको रहेको छ । विदेशीका लागि लिने भाडामध्ये ठूलो रकम टूर तथा टिकेटिङ एजेन्सीले लैजाने गरेका छन् । आन्तरिक उडानमा टिकट बेच्दा हवाई कम्पनीले टूर तथा टिकेटिङ एजेन्सीलाई ५० देखि ६० प्रतिशतसम्म कमिसन दिने गरेको भन्दै त्यस्तो कमिसन २० प्रतिशतमा झार्न सुझाव दिइएको छ । यस्ता छन् कार्यदलले दिएका सुझाव : १. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चौबिसै घन्टा उडान गर्न दिनु पर्ने । २. लिन आवर, नरमल आवर र पिक आवरमा उडान गर्नेहरुका लागि सोही अनुसार स्लट मिलाउँदै एरोनटिक शुल्क निर्धारण हुनु पर्ने । ३. लिन आवरमा उडान गर्ने वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ तथा ग्राउन्ड ह्यान्डलिङमा विशेष छुटको व्यवस्था गर्नु पर्ने । ४. आन्तरिक वायुसेवा कम्पनीहरुको कुल जहाज संख्याको ३० प्रतिशत जहाज नेपालगञ्ज, पोखरा र विराटनगरमा राख्न सक्ने व्यवस्था मिलाउनु पर्ने । ५. अन्तर्राष्ट्रिय टर्मिनल भवनको ट्रान्जिट हल, ट्रान्जिट कार्गो यार्ड तथा ड्युटी फ्रि सप सञ्चालनको व्यवस्था मिलाउनुपर्ने । ६. अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई विमानस्थल भित्रबाटै आन्तरिक विमानस्थलमा जाने र आउने अलग्गै प्यासेजको व्यवस्था गर्नु पर्ने । ७. केही समय तोकी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई निश्चित वित्तिय उत्पे्ररणाको व्यवस्था गर्ने । ८. एयरसाइटमा उपलब्ध गराउने सेवाहरुको शुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर छुट तथा न्यूनीकरण गर्ने । ९. नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी वायुसेवा कम्पनीलाई कम्तीमा ३ वर्ष ९पहिलो वर्ष ५०, दोस्रो वर्ष ४० र तेस्रो वर्ष २५ प्रतिशत० का लागि वित्तीय उत्पे्ररणाको व्यवस्था गर्ने । १०. निश्चित संख्या वा फ्रिक्वेन्सीमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई स्वयं ग्राउन्ड ह्यान्डलिङ गर्न दिने र फ्लाइट क्याटरिङ्ग वा इन्जिनियरिङ ह्यांगर, एयरपोर्ट होटल सञ्चालन गर्न चाहेमा सहुलियत दरमा जग्गा लिजमा उपलबध गराउने ।