चाइना आउट बाउण्ड पर्यटकलाई नेपाल भित्र्याउन मार्केटिङ गर्न पाइने, पाटा र कोट्रीबीच साझेदारी सम्झौता
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले चाइना आउट बाउण्ड पर्यटकहरुलाई नेपालमा भित्र्याउन आवश्यक मार्केटिङ तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु गर्न पाउने भएको छ । पाटाले अनुसन्धान मार्फत आवश्यक ज्ञान र तथ्य सम्प्रेषण तथा वितरण लगायत मानव संसाधन विकास सम्बन्धी तालिम तथा कार्यशाला आयोजना गर्ने कार्यहरुमा चाइना आउट बाउण्ड टुरिजम रिसर्ज इन्स्टिच्यूट (कोट्री) सँग रणनीतिक साझोदारको रुपमा सहकार्य गर्ने भएको छ । यही डिसेम्बर ६ तारिखका दिन नयाँ दिल्लीस्थित द पार्क होटलमा पाटा इण्डिया च्याप्टरद्धारा आयोजित ‘टुरिजमपावर हाउस’कार्यक्रममा सहभागी हुँदै गर्दा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका सीईओ प्रोफेसर डा.वोल्फ ग्याङगले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कोट्री चाइनाको आउड बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदानगर्ने विश्वकै अग्रणी एवम् प्रख्यात रिसर्च इन्स्टिच्यूट हो । पाटा नेपालद्धारा कोट्रीसँगको दिर्घकालिन सहकार्य गर्ने सम्झौता, नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चाइना) मा रहेको बृहत अवसर र सम्भाब्यतालाई उर्जागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव विभुतीचन्द ठकुरीले जानकारी दिएका छन् । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष २०२० फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाहिना एक्सपो) देखि शुरुवात भई निरन्तर रुपमा अगाडि बढ्ने समेत बताएका छन् ।
५ करोडको मास प्रिन्टर बिग्रियो, इटालीको तालिम उपलब्धिहिन
काठमाडाैं । सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले गत साउनमा मास प्रिन्टर स्वदेश भित्र्यायो । देशमा समयमै स्मार्ट लाइसेन्स नपाइरहेका सेवाग्राहीहरु मास प्रिन्टर आएसँगै खुसी पनि भए । तर प्रिन्टर भित्रिएको करिब चार महिना बितिसक्दा पनि प्रिन्टरले निरन्तर रुपमा काम गर्न भने सकिरहेको छैन । स्मार्ट लाइसेन्स छाप्ने काम छिटो तथा छरितो ढंगले गर्न विभागले मद्रास प्रिन्टर प्रालि मार्फत इटालीको माटिका कम्पनीको स्मार्ट कार्ड मास प्रिन्टर खरिद गरी स्वदेश भित्र्याएको थियो । उक्त प्रिन्टर विभागमा ल्याएसँगै त्यसको सञ्चालन सम्बन्धि जानकारी गराउनका लागि सप्लायर कम्पनीले प्रिन्टको काम गर्ने प्राविधिक कर्मचारीलाई इटालीमै बोलायो । सप्लाएर कम्पनीले प्राविधिकलाई इटाली बोलाएको थियो तर तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव राजेश्वर ज्ञवाली, यातायात महाशाखा सहसचिव प्रमिला बज्राचार्य, विभागका महानिर्देशक गोगन बहादुर हमाल, विभागका निर्देशक बन्धु बाँस्तोला, तत्कालीन मन्त्री महासेठका निजी सचिव सोमराज बराल र एकमात्रै प्राविधिक विभागका कम्प्युटर इन्जिनियर केशव गौतमलाई तालिम लिन इटाली पठाए । तालिम लिने नाममा इटाली गएका सरकारी टोलीलाई घुमफिर गरेर स्वदेश फर्केको आरोप पनि नलागेको होइन तर उनीहरुले भने तालिम लिन नभई मन्त्रालयकै कामको लागि गएको दाबी गरिरहेका छन् । करिब ५ करोड रुपैयाँ बरावर मूल्यको मास प्रिन्टरसम्बन्धि जानकारी र प्राविधिक ज्ञान लिन सरकारी टोली कात्तिकमा इटाली पनि गयो । उनीहरु इटालीबाट स्वदेश पुगेको केही दिनमै मास प्रिन्टर सुरु गर्ने प्रयास पनि नगरेका होइनन् तर केही दिन सञ्चालन भएको मास प्रिन्टर बिग्रिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले भने यो कुरा स्विकार्न चाहेनन् । उनले मास प्रिन्टरले निरन्तर काम गरिरहेको जिकीर गरे । ‘अहिले दैनिक २ हजार पाँच सयको हाराहारीमा स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको छ’ उनले भने, मास प्रिन्टर सुरु भएको एक हप्ता भइसकेको छ , अहिले सम्म ४ हजार पाँच सय स्मार्ट लाइसेन्स प्रिन्ट भइसकेका छन् ।’ मास प्रिन्टर सुरु भएको एक हप्ता बताउने हमालको वाक्याशं नै आफैमा विरोधाभास छ । दैनिक २५ सय प्रिन्ट हुने बताएका उनका अनुसार हप्तासम्म १७ हजार पाँच सय स्मार्ट कार्ड प्रिन्ट हुनु पर्ने हो तर उनले ४ हजार पाँच सय मात्र प्रिन्ट भएको बताए । विभागकाे गोप्य स्रोतका अनुसार हाल मास प्रिन्टर बिग्रिएको छ । केही दिनमात्र सञ्चालन भएको प्रिन्टरमा टेक्निकल इरोर आएपछि बन्द गर्नु परेको स्रोतको भनाइ छ । ‘हालसम्म २ हजार पाँच सय जति नै स्मार्ट कार्ड प्रिन्ट भएको छ’ स्रोतले भन्यो, अहिले इरोरको सोलुसन गर्न सप्लाएर कम्पनीबाट नै रिमोटले नै काम भइरहेको छ । सुधार्न कति समय लाग्छ ठ्याक्कै समय भन्न सकिन्न ।’ सरकारले हाल प्रिन्ट सुधार्न भारतीय प्राविधिकलाई गुहारिरहेको छ । भारतका प्रोजेक्ट म्यानेजर सुजित सिंह पनि अहिले प्राविधिकको काम गरिरहेका छन् । प्रिन्टरले एकदिनमा करिब १० हजार स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छाप्न सक्ने विभागले जनाएको छ । विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो । पहिले सातवटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये अहिले तीन मात्रै काम गर्ने अवस्थामा छन् । विभागले ४ वर्षको अवधिमा हालसम्म १० लाख थान स्मार्ट लाइसेन्सको वितरण गरिसकेको छ । हालसम्मको तथ्याङ्क हेर्दा अब विभागले ८ लाख थान लाइसेन्स छपाई गरी वितरण गर्नै बाँकी छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टमा १५% छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशतसम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेप्से सातामै ३७ अंकले बढ्यो, ४६ करोडको कारोबार हुँदा ५ कम्पनीका शेयरधनी मालामाल
काठमाडौं । नेप्से परिसूचक एक सातामै ३७ अंकले बढेकाे छ । गत मंसिर २३ गते ११११.९९ अंकमा रहेकाे परिसूचक आज(सोमबार)सम्म निरन्तर बढेर ११४८.८९ अंकमा पुगेकाे छ । पछिल्लाे समय निरन्तर ओरालो लागेको बजारले करिब एक साता अघिदेखि भने केही गति लिएको देखिन्छ । सोमबारको नेप्से परिसूचक १३.५२ अंकले बढेर ११४०.८९ विन्दुमा पुगेको छ । जुन गत एक महिनायताकै उच्च बिन्दु हो । मंसिर १६ गतेदेखि निरन्तर सामान्य अंकले उकालो लाग्दै आएको बजार सोमबार दोहोरो अंकले बढेर एकमहिना यताकै उच्च विन्दुमा पुगेको छ । आइतबारको तुलनामा सोमबारको नेप्से परिसूचकमा १.१९ प्रतिशतको वृद्धि भएको छ । परिसूचक सँगै कारोबारमा रकममा पनि उच्च सुधार भएको छ । पछिल्लो समय शेयर कारोबार १५ देखि ३५ करोडमा सीमित भइरहेको थियो । सोमबारको बजारमा ४६ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजारमा १७३ कम्पनीको १४ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका दुई समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १५६ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६०, माइक्रोफाइनान्स समूह ५०, विकास बैंक समूह २८, उत्पादनमूलक समूह २९, होटल १३, हाइड्रोपावर १६, ट्रेडिङ १६ र बैंकिङ समूह ७ अंकले बढेका छन् । अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले ओरालो लागेका छन् । सो दिन ५ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । समीट लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.८० र मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बजारमा ८ कम्पनीको करोडौंको शेयर कारोबार भएको छ । नेपाल बैंकको सबैभन्दा बढी शेयर कारोबार भएको छ । बैंकको दुई करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । एनएमबि बैंकको एक करोड ९२ लाख, डिप्रोक्स लघुवित्तको एक करोड ७२ लाख, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको एक करोड ६७ लाख, हिमालयन डिष्टीलरीको एक करोड २३ लाख, प्रभु बैंकको एक करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको एक करोड १७ लाख र बुटवल पावर कम्पनीको एक करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
स्टिल, आल्मुनियम सम्बन्धी अमेरिकी प्रस्ताव मेक्सिकोद्वारा अस्वीकार
मेक्सिको सिटी । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति हानिकारक रहेको बताए । व्यापार सम्बन्धी संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानाडा सन्धि (युएसएमसीए) का सम्बन्धमा सिनेटरहरुसँगको छलफलमा विदेश मन्त्री इब्रार्डले सवारी साधन उत्पादनका लागि ७० प्रतिशत फलाम उत्तर अमेरिकी क्षेत्रकै हुनुपर्ने प्रस्ताव अमेरिकाले राखेको जानकारी दिएका छन् । उक्त प्रस्तावले मेक्सिकोलाई “अत्यन्त ठूलो नोक्सानीमा पु–याउनेछ”, इब्रार्डले भने, किनभने मेक्सिकोमा उत्पादित कारमा ब्राजिल, जापान र जर्मनीमा बनेका सामान पनि प्रयोग हुने गर्दछन् ।मन्त्री इब्रार्डले मेक्सिकाली प्रतिनिधिमण्डलले सन्धि कार्यान्वयनका सन्दर्भमा अमेरिकी प्रतिनिधिहरुसँग हुने बैठकमा नयाँ प्रावधान तुरुन्तै लागू नगर्न अनुरोध गरिने बताएका छन् । मेक्सिकोले पनि आल्मुनियम प्रावधानका लागि “कुनै शर्त” स्वीकार्न सक्दैन भन्दै मन्त्री एब्रार्डले भने, किनभने अमेरिकासँग अल्मुनियम उत्पादन गर्न पर्याप्त स्रोत छैन ।मेक्सिको विश्वको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ता मुलुकमध्ये एक हो । मेक्सिकोमा जनरल मोटर्स, निसान, फियाट–क्रिसलर र भक्सवागन जस्ता विश्व प्रसिद्ध ब्रान्डका सवारी साधन उत्पादन हुने गर्दछन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले युएसएमसीए अन्तर्गत मेक्सिकोको श्रम सुधारको कार्यान्वयन बारे सुपरीवेक्षण गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार नगर्ने बताएको केही दिनपछि नै मन्त्री एब्रार्डको टिप्पणी सार्वजनिक भएको हो । नयाँ सम्झौताको अनुमोदन गर्ने हालसम्म मेक्सिको मात्र त्यस्तो देश हो, जसले २५ वर्ष पुरानो उत्तरी अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहलाई स्वीकार गरेको थियो । राष्ट्रपति ट्रम्पको भनाईमा संयुक्तराज्य अमेरिकाका लागि नाफ्टा अत्यन्तै कमजोर सम्झौता हो । नोभेम्बर २०१८ मा हस्ताक्षर गरिएको नयाँ सम्झौता अन्तर्गत आफ्ना प्रतिबद्धताहरूको पालना गर्न मेक्सिकोले श्रमिकको न्यूनतम ज्यालामा वृद्धि गर्नुका साथै श्रम क्षेत्रमा सुधार गरी युनियनहरूलाई थप शक्ति दिएको थियो । तर अमेरिकी श्रम समूह र प्रतिनिधि सभामा विपक्षी डेमोक्राट्सले मेक्सिको सरकारले नयाँ नियमहरु लागू गर्न सक्ने क्षमतामाथि शंका व्यक्त गरेका छन् । रासस
तनहुँमा ८४४ लाभग्राही थपिए
तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँमा ८४४ लाभग्राही थपिएका छन् । भूकम्पबाट पीडित भई छुटेका उनीहरुले गुनासो फारम भरी लाभग्राहीमा समावेश भएका हुन् । थप भएका सङ्ख्यासँगै तनहुँमा कूल १५ हजार १३१ लाभग्राही रहेको सो कार्यालयले जनाएको छ । कार्यालयकी मनुमाया आलेले दिएको जानकारीअनुसार भूकम्पबाट जिल्लाको व्यास नगरपालिकाका पूर्ण क्षति भएका दुई हजार १३, आंशिक क्षति भएका ३६१, भानु नगरपालिकाका पूर्ण क्षति भएका चार हजार ४१२, आंशिक १८८, शुक्लागण्डकी नगरपालिकामा पूर्णक्षति भएका एक हजार ८८७, आंशिक ६१, भिमाद नगरपालिकाका पूर्णक्षति भएका एक हजार १२७ र आंशिक १६८ रहेका थिए । त्यसैगरी, बन्दिपुर गाउँपालिकामा पूर्णक्षति भएका एक हजार १४, आंशिक ५०, आँबुखैरेनी गाउँपालिकामा पूर्णक्षति भएका ७२२ आंशिक १७०, देवघाट गाउँपालिकामा पूर्णक्षति भएका ६००, आंशिक ४८, घिरिङ गाउँपालिकामा पूर्णक्षति भएका ३०२, आंशिक तीन, म्याग्दे गाउँपालिका पूर्णक्षति भएका एक हजार ३४१, आंशिक ५४ र ऋषिङ गाउँपालिकामा पूर्ण क्षति भएका ५३७ र आंशिक ८२ रहेका थिए । तेह्र हजार ९४६ पूर्णक्षति भएका र एक हजार १८५ आंशिक गरी कूल १५ हजार १३१ लाभग्राही रहेको कार्यालयका शाखा अधिकृत सूर्यप्रसाद शर्माले बताए । उनका अनुसार आर्थिक वर्ष ०७४/०७५ मा पूर्णक्षति भएका १२ हजार ६९२ र आंशिक क्षति भएका २१७ गरी १२ हजार ९०५ लाभग्राहीले पहिलो किस्ता लिएका थिए भने दुई हजार ४५९ जनाले दोस्रो र २१७ जनाले तेश्रो किस्ता लिएका थिए । त्यसैगरी २०७५/०७६मा ३१३ जनाले पहिलो किस्ता, पाँच हजार २६५ जनाले दोस्रो किस्ता र पाँच हजार १३२ जनाले तेश्रो किस्ता लिएका थिए । आव २०७६/०७७ मा प्राविधिक खटिनु पूर्व दोस्रो किस्ता ६८ जनाले लिई सकेका थिए भने प्राविधिक खटिएपछि ४०० जनाले दोस्रो र एक हजार २०५ लाभग्राहीले तेश्रो किस्ता लिएका थिए । कार्यालयका शाखा अधिकृत शर्माका अनुसार तनहुँमा हालसम्म आठ हजार २०८ लाभग्राहीलाई दोस्रो र छ हजार ४६९ लाभग्राहीका लागि तेश्रो किस्ता निकासा भएको छ । रासस
ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार सुनसरीमा भएको उक्त कार्यक्रमको उद्घाटन प्रदेश सभासद श्रीले गरेका हुन् । उनले ग्रील तथा स्टील उद्योगमैत्री नीति नियम बनाउन सहयोग गर्ने र सबैलाइ व्यवस्थित उद्योग सञ्चालन गर्न आग्रह गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथि ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले अधिकांश ग्रील उद्योगीहरु कानुनी दायरामा आउन नसक्दा व्यवसाय व्यवस्थित हुन नसकेको बताएका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा जान नसकेको र दर्ता भएका उद्योगहरु र त्यसमा संलग्न अधिकांश श्रमिकहरुले सामाजिक सुरक्षा कोषको बारेमा जानकारी नहुँदा कोषमा सहभागिता गराउन नसकिएको समेत जानकारी गराए । यस्तै, सचेतना कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै ग्रील तथा स्टील व्यवसायीहरुले आफ्ना श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारी गराइ काम गर्दा सुरक्षाका उपकरणहरु पन्जा, चस्मा, हेलमेट, सेफ्टी बेल्ट जुत्ताको अनिवार्य प्रयोग गराउन आग्रह गरेका थिए। कार्यक्रमका सभापति सुनसरी जिल्लाका अध्यक्ष बज्र सुब्बाले सरकारले ग्रील तथा स्टील उद्योगलाई सहज किसिमले दर्ता गर्ने र अबैध उद्योगलाई कानुनी दायरामा ल्याउने काममा सक्रियता देखाउनु पर्ने बताएका छन् । साथै, ग्रील उद्योगमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन सरकारसँग आग्रह समेत गरेका थिए । उक्त साधारण सभाले सोभितमान कटुवालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
काठमाडौं उपत्यकाको इट्टा उद्योग हटाउन स्थानीय तहको पत्र, साढे २ अर्ब लगानी जोखिममा
काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका ११० वटा इट्टा उद्योग हटाउन स्थानीय तहले पत्र काटन थालेका छन् । उपत्यकाका विभिन्न नगरपालिकहरुको बैठकको निर्णयले नै इट्टा उद्योग सञ्चालनमा रोक लगाउने भनेर पास गरि पत्र काटन थालेका छन् । चन्द्रगिरी नगरपालिकाले २ महिना अगाडी नै आगामी वर्षदेखि इट्टा उद्योग नविकर नहुने भनेर पत्र काटिसकेको छ । चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी रश्मि श्रेष्ठले नगरपालिका भित्र सञ्चालनमा रहेका इट्टा उद्योगहरुलाई आगामी वर्षदेखि नविकरण नगर्ने भनेर पत्र काटेको जानकारी दिइन् । कीर्तिपुर नगरपालिकाले पनि इट्टा उद्योग सञ्चालन गर्ने कच्चा पदार्थ माटो नदिने भनेर पत्र काटिसकेको छ । सूर्यविनायक नगरपलिकाका प्रवक्ता उपेन्द्रराज केसीले पनि अब इट्टा उद्योगहरुको नविकरण नगर्ने जानकारी दिए ।अन्य नगरपनिलकाहरुले पनि इट्टा उद्योगहरुलाई नविकरण नगर्ने भनेर पत्र काटिसकेका छन् । स्थानीय तहले इट्टा उद्योगहरुलाई नविकरण नगर्ने भनी पत्र काटेकाे तर के कारणले इटा उद्योग बन्द गर्न लागिएको हो भनेर स्थानीय तहले नखुलाएको नेपाल इटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकारले बताए । इटा उद्याेगहरूले आगामी वर्षको लागि श्रमिकलाई पेशकी र कच्चा पदार्थका लागि पैसा तिरिसकेकाेले उद्याेग नविकरण नहुँदा ठूलाे समस्या हुने उनले बताए । एउटा इटा उद्योगमा कम्तिमा पनि २ करोड रूपैयाँ लगानी भएकाे र प्रत्येक इटा उद्योगहरुले बैंकबाट कम्तिमा १ करोड रूपैयाँ कर्जा लिएकाले उद्याेग बन्द हुँदा बैंककाे लगानी पनि ढुब्ले उनले जनाकारी दिए । काठमाडौं उपत्यकामा मात्रै करिब ११० वटा इटा उद्योगहरु सञ्चालमा रहेको र ती उद्योगहरुमा साढे २ अर्ब लगानी रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले जथाभावी रुपमा इटा उद्योग हटाउने स्थानीय तहलाई कार्वाही गर्नुपर्ने बताए । वातावरणीय प्रदुषण भएको भन्दै विभिन्न नगरपालिकाहरुले अहिले स्थानीय इटा भट्टा हटाउने कामलाई अघि बढाईरहेका छन् । सरकारले संचालन गर्ने अनुमति दिएका इटा उद्योग स्थानीय तहलाई त्यसरी भत्काउन दिन नहुने उनको भनइ छ । राजधानीका इटा उद्योगले करिब ४० हजारलाई रोजगारी दिएको छ । देशभरि इटा उद्योगले ३ लाखलाई रोजगारी दिएको छ । नेपाल करिब ३५ वर्षअघि देखि इटा आत्मानिर्भर रहेकाे र याे उद्याेग बचाउन सरकारी निकायकाे साेच सकारात्मक हुनुपर्ने उनले बताए ।