नेपालगञ्ज विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र
बाँके । सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ । जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ । बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो । धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ । एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुर बताउँछन् । ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ । वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ ।” पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ । विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए । गुरूयोजना अनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमिन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ । प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए । रासस
बैतडीका एक सय ७४ विद्यालय दरबन्दीविहीन
बैतडी । बैतडी जिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ । जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिएका छन् । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका उनले बताए । उनले भने, “विसं २०५२ पछि स्थापना भएका धेरै विद्यालयमा दरबन्दी नभएका हुन् ।” सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा शैक्षिक गुणस्तर खस्कँदै गएको सुर्नया–५ का निराजन मडैले बताएका छन्। राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति प्रदान हुँदा सामुदायिक विद्यालय सञ्चालनमा समस्या आएको हो । शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षक तथा राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए । अनुमति लिँदा समुदायले व्यवस्थापन गर्छौं भनेर अनुमति लिएकाले विद्यालयमा दरबन्दी सिर्जना हुनसकेको छैन । उनले भने, “शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक भर्ना गरी विद्यालय सञ्चालन भइरहेका छन् ।” शून्य दरबन्दी भएका विद्यालयमा दरबन्दी सिर्जनाका लागि जिल्लास्तरमा नहुने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी शर्माले बताए । विद्यालयमा सरकारी दरबन्दीका शिक्षक नहुँदा अभिावककै चन्दाका भरमा अधिकांश विद्यालय सञ्चालन भएका छन् । यसले गर्दा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन । निजी स्रोतका शिक्षकको तलबका लागि महिनाको अन्त्यमा विद्यालयलाई धौधौ पर्ने गर्दछ । विद्यालयमा शून्य दरबन्दी हुँदा विद्यालय सञ्चालनमा निकै समस्या भएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए । शिक्षक पदपूर्तिका लागि जिल्ला समन्वय समितिले पनि पहल थालेको जनाएको छ । शिक्षाका अधिकार स्थानीय सरकारमा रहेकाले स्तानीय तहले चाँसो देखाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शिद्धराज भट्टले बताएका छन् । रासस
एनआईसी एशिया लघुवित्त सञ्चालक समितिको अध्यक्षमा ढकाल नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडकोे सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालक समितिकाे अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । संस्थाको ३९औं सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेकाे हाे । साथै, ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । अध्यक्ष ढकालसँग आइसिआइसिआइ बैंक तथा विश्व प्रसिद्ध परामर्शदाता कम्पनी डिलोइटमा कार्य गरेको र उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत भई कार्य गरेको अनुभव छ । ढकालले सो दिन नै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक वीरेन्द्र दत्त अवस्थी, एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका निवर्तमान अध्यक्ष अर्जुन राज खनियालगायतको उपस्थिति रहेको थियो ।
बीमा समितिले ‘हस् हजुर’ भन्दा ४० वटा बीमा कम्पनीलाई अनावश्यक आर्थिक भार
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदा बीमा कम्पनीहरुलाई अनावश्यक आर्थिक भार थपिनुको साथै टाउको दुखाउने तनाव थपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै नियामक निकायलाई निर्देशन दिदै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन प्रचारात्मक कार्यमा सहयोग गर्ने भनेको छ । मन्त्रालयले भ्रमण वर्ष २०२० सँग सम्बन्धित र असम्बन्धित सबै निकायलाई यस्तो निर्देशन दिएको पाइएको छ । मन्त्रालयको असम्बन्धित निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदै ४० वटा बीमा कम्पनीलाई अनावश्यक आर्थिक भार पर्नेगरी ४ बुँदे निर्देशन दिएको छ । समितिले सबै बीमा कम्पनीलाई अबदेखि गरिने पत्राचारमा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको लोगो राख्न निर्देशन दिएको छ । यो निर्देशन पालना गर्न सबै बीमा कम्पनीले नयाँ लेटरप्याड प्रिन्ट गर्नु पर्ने र त्यसले अनावश्यक रुपमा लाखौ रुपैयाँ आर्थिक भार थप्ने एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बीमा कम्पनीहरुको पत्रमा नेपाल भ्रमण वर्षको लोगो छापेर थप एक जना पनि विदेशी पर्यटक नेपाल आउनेवाला छैन । सरकारी अधिकारीहरुले कमन सेन्स पनि प्रयोग नगरी जारी गरेको निर्देशनले ४० वटा बीमा कम्पनीलाई आर्थिक भारको साथै अनावश्यक झन्झट थप्ने काम गरेको छ’ उनले भने । बीमा समितिले बीमा कम्पनीहरुको वेवसाइटमा पनि नेपाल भ्रमण वर्षको लागो राख्न, नेपाल भ्रमण वर्षको सचिवालयमा लिङ्क दिन पनि निर्देशन दिएको छ । त्यस्तै, बीमा कम्पनीहरुले प्रकाशन गर्ने बुलेटिन वा स्मारिकामा नेपाल भ्रमण वर्षको प्रचार प्रसारमा सहयोग पुग्ने लेख, रचना र प्रचार समाग्री प्रकाशित गर्न निर्देशन दिएको छ । ‘प्रचार प्रसारको काम सञ्चार माध्यमको हो । बीमा कम्पनीको काम बीमा गर्ने हो’ बीमा कम्पनीलाई नेपाल भ्रमण वर्षको काम लगाउनु भनेको अत्यन्तै अनप्रोफेशनल कार्य हो’ अर्को बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले भने । ‘हामीले विदेशी पर्यटकको बीमा गर्न कानुनले दिँदैन । पर्यटकले विदेशमा नै बीमा गरेर नेपाल आउनुपर्छ’ उनले भने ‘विदेशी पर्यटन नेपाल आएपछि उनीहरुलाई बीमा कम्पनीले दिने सेवा केही पनि हुँदैन ।’ बीमा समितिले संस्थागत सुशासन निर्देशिकामा बीमा कम्पनीहरुलाई कुनै पनि नाममा उपहार दिन रोक लगाएकोमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने नाममा भने उपहार दिन निर्देशन दिएकोमा बीमा कम्पनीहरु चकित भएका छन् । बीमा समितिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको बारेमा जानकारी दिन, विदेशी मञ्जमा बक्तव्य दिनुपर्दा भ्रमण वर्षको जानकारी दिन, नेपालमा हुने अन्तराष्ट्रिय स्तरका कार्यक्रममा भ्रमण वर्षको प्रवद्र्धन डेस्क राखी प्रचार सामाग्री दिएको निर्देशन भने व्यवहारिक भएको बीमा कम्पनीहरुको बुझाइ छ ।
अब नेपालमा पनि चट्याङको जोखिम कम हुने अन्तर्राष्ट्रियस्तरको टेलिफोनका टावर
काठमाडौं । अब नेपाल दूर–सञ्चार प्राधिकरण (एनटीए)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टावर जडान गर्न सबै सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिने भएको छ । । एनटीएले गत शुक्रबार सबै सेवा प्रदायक कम्पनीहरूलाई नयाँ प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विश्व बजारमा चलेको हलुका टावर जडान गर्न लगाउने निर्णय गरेको हो । अहिले नेपालमा राख्दै आएको टावर बढी तौलको हुनका साथै चट्याङको जोखिम पनि बढी छ । अब राखिने टावर कम तौलको हुनाका साथै चट्याङको जोखिम पनि न्यून हुने एटीएका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका टावरहरू राख्नुको मुख्य उदेश्य दूर–सञ्चार बजारलाई थप व्यवस्थित बनाउनु हो,’ उनले भने ‘अब नेपालमा भएकाभन्दा भिन्न डिजाइन र नयाँ प्रविधिमा आधारित टावरहरू जडान गर्ने तयारी हामीले गरेका हौं ।’ टावरमा विभिन्न प्रकाश(रेडिएसन)हरूले असर पर्ने गर्दछ । नयाँ प्रविधिको टावरमा घाम तथा अन्य प्रकाशले असर पार्न सक्दैन । नेपालली दूर–सञ्चार बजारमा हाल चलनचल्तीमा रहेका रुफटप टावरहरुको मूल्य करिब ५ लाख रुपैयाँ पर्छ । साथै, अन्य ठूला टावरहरूको भने ९० लाख रुपैयाँभन्दा बढी पर्ने गरेको छ । नयाँ प्रविधिको टावरको मूल्य हाल प्रयोग भइरहेकोभन्दा केही महँङ्गाे भएपनि यो लामो समयसम्म टिक्नुका साथै सेवा विस्तारमा समेत सजहता हुने एनटीएले बताएको छ । हाल नेपालमा करिब ७ हजार ९ सय टावर रहेका छन् । यीमध्ये सबैभन्दा बढी टावर एनसेलको रहेको छ भने अर्को बढी टावर नेपाल टेलिकमको रहेको छ । एनसेलको ३ हजार ५ सय र नेपाल टेलिकमको ३ हजार ४ सय टावर रहेका छन् । सो मध्ये स्मार्ट टेलिकमको ५ सय ९१ टावर रहेका छन् भने नेपाल स्याटेलाइटको २ सय ४ र यूटीएलको १ सय ८७ टावर रहेका छन् । भूृकम्पपछि दूर–सञ्चारका टावर राखिएका घर तथा नजिकै रहेका घर तथा सर्वसाधारणलाई एक किसिमको डर पैदा भएको छ । कतै टावरले हानी पुर्याउने त होइन भन्ने त्रास सर्वसाधारणमा फैलिएको छ । आगामी दिनमा यस्ता प्राकृतिक विपतबाट सर्वसाधारणलाई भयरहित वातावरणमा राख्न एनटीएले यो प्रयास थालेको हो । अब टावर राख्दा गाउँ वा बस्ती भन्दा केही पर राख्ने योजना एनटीएले बनाउने छ ।
युनाईटेड इन्स्योरेन्सको सेयर १८० मा कटअफ, मन्जुश्री र एक्सेलले गरे आक्रामक लगानी
काठमाडौं । आवेदन नपारेको हकप्रद सेयर युनाईटेड इन्स्योरेन्स कम्पनीले बढाबढ मूल्यमा बिक्री गरेको छ । बढाबढमा बिक्री गर्दा साधारण सेयरको २८० रुपैयाँ ८० पैसा भन्दा बढीमा आवेदन गर्नेले मात्र पाएका छन् । सबैभन्दा बढी मूल्य तिर्ने आवेदकले २२० रुपैयाँमा ३०० कित्ता सेयर लिएका छन् । मञ्जुश्री फाइनान्सले प्रतिकित्ता २०० रुपैयाँको दरले १ लाख कित्ता आवेदन गरेकोमा उसले पाएको छ । त्यस्तै, एक्सले डेभलपमेन्ट बैंकले प्रतिकित्ता १८० रुपैयाँ ८० पैसामा आवदेन गरेकोले यहि मूल्यमा कटअफ भएको छ । प्रतिकित्ता १८० रुपैयाँ भन्दा कम मूल्यमा आवेदन गर्ने सेयर नपाएको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले जानकारी दिए । साेमबार नेप्सेमा यस कम्पनीकाे सेयर प्रतिकित्त २३७ रूपैयाँमा काराेबार भएकाे छ । उनका अनुसार प्रमोटर सेयरको लागि भने आवेदन परेन । अक्सनको पहिलो चरणमा हालका प्रमोटरले मात्र आवेदन गर्न पाउने व्यवस्था थियो । अब सर्वसाधारणले पनि संस्थापक सेयर किन्न पाउने गरि बढाबढ मूल्यमा बिक्री गरिने उनले जानकारी दिए । इन्स्योरेन्सले संस्थापक समूहको १ लाख ५७ हजार ६ सय कित्ता र सर्वसाधारण समूहतर्फको ३ लाख ४१ हजार ५ सय कित्ता गरी जम्मा ४ लाख ९९ हजार १ सय कित्ता शेयर बिक्रीमा राखेकाे थियाे ।
फुटबल फाईनल गेमका दर्शक दशरथ रंगशालाको मुल गेटबाट भित्र छिर्न नपाउने
काठमाडाैं। फुटबल फाईनल गेमका दर्शक दशरथ रंगशालाको मुल गेटबाट भित्र छिर्न नपाउने भएका छन् । त्रिपुरेश्वरकाे ट्राफिक व्यस्थापन कठिन हुने र भीड व्यवस्थापन कठिन हुने भएकाेले दर्शकलाइ मुल गेटबाट प्रवेश निषेध गरिएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को दशरथ रंगशालाको मूलगेट प्रयोग नगरी शहिद गेट नेरको नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गर्ने व्यवास्था मिलाइएकाे ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिए । टिकट काटेका दशर्कहरूकाे सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा पार्किङ्ग व्यवस्था गरिएकाे उनले जानकारी दिए । १३ औँ दक्षिण एशियाली खेलकूदको समापन समारोहमा सहभागि हुने अथितिहरूकाे चाप पनि रहेकाे र फुटवल हेर्नेकाे पनि भीड हुने तथा फुटबल फाईनल गेम पनि भएकाेले नेपाल आर्मी अफिसर्स क्लबको गेटलाइ बैकल्पिक मार्गकाे रूपमा लिएकाे उनले जानकारी दिए । सागको टिकट विक्री तथा व्यवस्थापन गरेको इसेवाका अनुसार फाइनल खेलका लागि ९ हजार २ सय टिकट विक्री भएका छन् । मंगलबार सागको समापन समारोह पनि रहेकाले खेल सुरूहुनुभन्दा आधा घण्टा अगाडी नै सबै दर्शक रंगशालामा प्रवेश गरिसक्नुपर्ने इसेवाले जनाएको छ । भिभिआइपी, भिआइपी, तथा अति विशिष्ट पाहुनाहरुको सवारी तथा सुरक्षाको दृष्टिकोणले खेल सुरू हुनुभन्दा आधाघण्टा अगाडी नै प्रवेश गेट बन्द गरिने भएकाले दुई घण्टा अगाडी नै रंगशाला पुग्न इसेवाले आग्रह गरेको छ । मंगलबार साग खेल अन्तरगतको पुरूष फुटबलतर्फ नेपाल र भुटान स्वर्ण पदका लागि भिड्दैछन् । खेल बेलुकी ३ बजेदेखि सुरू हुनेछ ।
काठमाडौं-तराई फास्ट ट्रयाक पाँच वर्षभित्रै सक्ने, यस्ताे छ समष्टिगत गुरुयोजना
काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा आयोजना प्रमुख शरदलाल श्रेष्ठले समष्टिगत गुरुयोजनामा कुनकुन काम कसरी र कुन समयमा गर्ने भनी सम्पूर्ण विवरण उल्लेख हुने बताए। द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) स्वीकृत भइसकेकाले अब योजनाबद्धरुपमा काम अघि बढाइने सेनाको भनाइ छ । पहिलो चौमासिकमा उल्लेखनीय प्रगति हुन नसके पनि दोस्रो चौमासिकमा काम अघि बढ्ने उनको भनाइ छ । अबको १५-२० दिनमा गुरुयोजना बनेपछि आयोजना कसरी अघि बढाइने भन्ने प्रष्ट खाका आउने बताइएको छ । उनले भने, “पहिलो चौमासिकमा ठेक्का आह्वान गर्नेलगायतका काम भए पनि अबको दिनमा द्रुतरुपमा काम हुनेछ ।” काठमाडौँलाई तराईसँग जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको सो मार्गको लम्बाइ ७२ दशमलव ५ किलोमिटर हुने डिपिआरमा उल्लेख छ । त्यसमध्ये झण्डै ४० प्रतिशतमा पुल र सुरुङमार्ग हुनेछ । आयोजनामा तीन वटा सुरुङमार्ग निर्माणमा नै सबैभन्दा बढी समय लाग्ने बताइएको छ । तीन सुरुङमध्ये सबैभन्दा लामो सुरुङको लम्बाइ तीन दशमलव पाँच किलोमिटर हुनेछ । सुरुङमार्ग निर्माणमा बढी समय लाग्ने हुँदा दुवैतर्फबाट निर्माण गर्ने गरी योजना बनाइएको आयोजना प्रमुख श्रेष्ठले बताए । सुरुङ निर्माण सम्पन्न गर्न चार वर्ष पर्याप्त समय भएको उनले बताए । उनले भने, “१० देखि १२ वटासम्म ठेक्कामार्फत कामलाई अघि बढाइनेछ ।” पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत प्रतिवेदनमा ८६ पुल निर्माण हुने उल्लेख छ । जटिल मानिएका ठूला १६ पुलको निर्माण आगमी वर्ष पुसमा शुरु हुनेछ भने ती बाहेकका अरु पुलको निर्माण आगामी भदौमा शुरु हुने बताइएको छ । चार लेनको सडकमा समथर भू-भागमा २७ मिटर चौडाइ र अरु ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीन वटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । प्रारम्भिक जगको काम र परामर्शदाता छनोटपछि सडक निर्माणको काम अघि बढाउनका लागि चालू आवमा पाँच वटा ठेक्का सम्झौता भइसकेको आयोजना प्रमुख श्रेष्ठले बताए । आयोजना निर्माणस्थलमा काट्ने र भर्ने काम (कटिङ एण्ड फिलिङ) र संरचना निर्माणको कामसमेत गत वर्षदेखि अघि बढाइएको छ । आगामी वर्ष असारसम्ममा यी काम सम्पन्न गर्ने सेनाको योजना छ । आगामी वर्षदेखि नै विभिन्न सडकमा कालोपत्रको समेत काम अघि बढाइने छ । आगामी वर्ष मङ्सिरमा कालोपत्र शुरु गरेर विसं २०८० असारसम्ममा सम्पन्न गर्ने सेनाको कार्ययोजना छ । आयोजनाअन्तर्गतका साना, मझौला र ठूला गरी सबै पुलको निर्माण २०८० मङ्सिरसम्ममा सम्पन्न हुनेछ । आगामी वर्षदेखि शुरु गरेर तीन सुरुङमार्ग विसं २०८० वैशाखमा सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने सेनाको योजना छ । गुरुयोजनामा आयोजना कति वटा खण्डमा, कति ठेक्कामार्फत सम्पन्न गर्ने भनी उल्लेख हुने सैनिक मुख्यालयका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनका अनुसार अहिले परामर्शदाता छनोटको कामसमेत अघि बढाइएको छ । गत वर्ष परामर्शदाता छनोट प्रक्रिया अघि बढाइए पनि प्राविधिक त्रुटिका कारण सूचना चुहावट भएको भनी रद्द भएको थियो । उनले भने, “केही समयमा परामर्शदाता छनोट भएसँगै निर्माणको काम पनि दु्रतरुपमा अघि बढ्नेछ ।” भ्रमण वर्षमा पर्यटक भित्र्याउने सेनाको उद्देश्य भ्रमण वर्ष २०२० का अवसरमा दौत्य सम्बन्ध कायम भएका देश र नेपाली सेनाको मिसन रहेका देशका पर्यटक भित्र्याउने उद्देश्यले विभिन्न कार्यक्रम गर्ने सेनाले योजना बनाएको छ । ती देशका नागरिकलाई विमानस्थलमा स्वागत गर्नेदेखि विभिन्न रोचक र साहसिक यात्रामा सहभागी गराउने योजना बनाइएको महासेनानी सुवास थापाले बताए । फरकफरक महिनामा पदयात्रा, सगरमाथा सफाइ, लिगलिग दौड, जङ्गल सफारी, प्याराग्लाइडिङलगायतका कार्यक्रम छन् । उनले भने, “सरकारले २० लाख पर्यटक भित्र्याउने योजना बनाइएकामा हामीले पनि त्यसमै सहकार्य गर्न लागेका छौँ ।” रक्षा प्रविधि प्रदर्शनीको आयोजना गरिने महासेनानी भूपालमान अधिकारीले नेपाली सेनाका लागि आवश्यक प्रविधि विदेशबाट ल्याउने गरिएकाेमा त्यसलाई कम गर्न ‘रक्षा प्रविधि प्रदर्शनी’ गर्न लगिएको जानकारी दिए । विद्यार्थी, पेशाकर्मी र सेना समावेश गरिने सो प्रदर्शनीले सेनाका लागि आवश्यक प्रविधि स्वदेशमा नै विकास गर्ने सम्भाव्यताको खोजीका रुपमा हुने उनको भनाइ छ ।