विकासन्युज

आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रकाे विकास : मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने खाँचो औल्याएका छन् । प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो र मेघौली गैँडा उद्यान (राइनो पार्क) को आज यहाँ शिलान्यास गर्दै उनले पर्यटन प्रवद्र्धन गर्न सबै जुट्नु पर्ने बताए । मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए। उनले भने, “चितवनलाई प्रदेशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । सबै जिल्लाका सबै पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा काम गर्ने छौ ।” मुख्यमन्त्री पौडेलले पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार र जनताको लगानी आवश्यक रहेकोमा जोड दिए । करिव ५५० बिघाहा क्षेत्रफलमा निर्माण हुन सो उद्यानको प्रवेशद्वारमा ३३ फिट उचाई र ४० फिट लम्बाइको दुई तले गैंँडाको मूर्ति निर्माण हुनेछ । मूर्तिकोभित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा अखेटो पाहार सङ्ग्रहालय र बहुजातीय सङ्ग्रहालय तयार हुनेछन् । सो गैँडाको मूर्ति तयार गर्न मात्र दुई करोड ८९ लाख ४४ हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ । उद्यान सम्पन्न गर्दा रु २३ करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । उद्यानभित्र भ्यूटावर, २५ बिघाहामा ताल, ५० बिघाहामा घाँसे मैदान, टाईगर टावर, जङ्गल सफारी, असाहाय वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना निर्माण हुने छन् । प्रदेश सरकारको मुख्य सहयोगमा पार्क निर्माण गर्न लागिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण भूर्तेलले मेघौली क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको चर्चा गर्दै राईनो उद्यानले समग्र जिल्लाको पर्यटन विकासमा सहयोगी हुने बताए । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरपालिका – २७ का अध्यक्ष गोविन्द तामाङ्, वडा नं–२८ का अध्यक्ष आशबहादुर कुमाल, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरी लगायतले मेघौली क्षेत्रको पर्यटनको बारेमा चर्चा गरे । सो अवसरमा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञविश्व सुवेदीले शिलन्यास भएको मेघौली गैँडा उद्यान र यसक्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिए थियो । कार्यक्रममा ब्राह्मण, थारु, गुरुङ्, कुमाल र तामाङको झाँकी एवं सारङ्गी प्रस्तुत गरिएको थियो । मेघौली चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । रासस

नेप्सेको उकालो यात्रा जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा आज पनि २.४८ विन्दुले बढेर एक हजार १५१.३६ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ विन्दुले बढेर २५३.५० मा पुगेको छ । नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर रु ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ । जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे« बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु सात करोड ५३ लाख २७ हजार ९२० बराबरको शेयर कारोबार भएको छ । यस्तै, एनएमबी बैंक रु तीन करोड ८५ लाख ७९ हजार ३१७, कृषि विकास बैंक रु दुई करोड ८३ लाख ७३ हजार ५५२, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ३५ लाख ३० हजार ६००, नेपाल बैंक लिमिटेड रु एक करोड १५ लाख ४१ हजार १७४ र प्रभु बैंक रु एक करोड नौ लाख ३८ हजार ५५३ बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९१, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ९.७६, माउण्टेन हाइड्रो ६.६७, साल्ट टे«डिङ कर्पोरेशन ६.६२, लुम्बिनी विकास बैंक ६.३२ र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.१९ प्रतिशतले कमाए । त्यस्तै, अरुण काबेली पावर ४.०९, नेशनल हाइड्रोपावर ३.७७, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.४९ र सिन्धु विकास बैंकका शेयरधनीले ३.२ प्रतिशतले गुमाएका छन् ।

घरेलु लघुवित्तको प्रथम वार्षिक साधारणसभा पुस ११ गते हुँदै

काठमाडौं । घरेलु लघुवित्तको वार्षिक साधारणसभा आगामी पुस ११ गते हुने भएको छ । काभे्रपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्त वित्तीय संस्थाले प्रथम वार्षिक साधारणसभा २०७६ पौष ११ गते गर्ने निर्णय गरेको हो । छोटो समयमा नै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत ९ महिनादेखि लघुवित्त सेवाप्रदान गर्दै आईरहेको छ । संस्थाले २०७६ कार्तिक मसान्तसम्ममा लगभग ४ हजार घरपरिवारहरुमा सेवा विस्तार गर्दै १८ करोड भन्दा बढी लगानी गरेको संस्थाका प्रमुखकार्यकारी अधिकृत बद्रप्रसाद अधिकारीले जानकारी

धरानमा मिस पुर्वाञ्चल- २०१९ आयोजना हुँदै

काठमाडौं । “नेपाल आईस मिस पुर्वाञ्चल २०१९” को दशौं संस्करणको तयारी भइरहेको छ । उक्त कार्यक्रम आगामी पौष ५ गते धरानमा आयोजना हुने भएको हाे । यस प्रतियोगीतामा सहभागी प्रतिष्पर्धीहरु मध्येको सबैभन्दा बढी फेसबुकमा लाईक पाउने प्रतिष्पर्धी “फेस अफ डिभाईन” टाईटल सहित नगद रु. १५ हजार पुरस्कार पाउने छन् । मिस पुर्वाञ्चलको दसौ संस्करणमा “डिभाईन वाइन” को उत्पादक “श्री महाकाली वाइन प्रा. लि.” “सह–प्रायोजक” रहेका छन् । गत वर्षको उक्त टाईटल, सबै भन्दा बढी लाईक पाएकी प्रतियोगी “आकृति आचार्य” ले जितेकी थिइन् । यो वर्ष मिस पुर्वाञ्चलको दसौं संस्करणमा धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, र सिमरन लिम्बु, रतुवामाई–ईटहरीबाट विपना तामाङ्ग, उर्लाबारीबाट मिलिसा श्रेष्ठ, ईटहरीबाट गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, र प्रिजनी नेपाल, खोटांगबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई, र रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी गरी जम्मा २१ जना प्रतिस्प्रर्धी रहेका छन् ।

कलंकी–कोटेश्वर सडक मानव एम्बुस बन्दै, फुटेको स्ल्यावमा खुट्टा पस्दा राम भए घाइते

काठमाडौं ।  चीन सरकारको सहयोगमा बनेको कलंकी– कोटेश्वर सडक खण्डमा यात्रुका लागि मानव एम्बुसमा परिणत हुँदै गहिरहेको छ । न कलंकी– कोटेश्वर सडक खण्डमा पर्याप्त मात्रामा जेब्राक्रसिङ छ न दायाँ–बायाँको यात्रुले यात्र गर्ने फूटपाथ छ । फूटपाथका धेरै स्ल्यापहरु फुटेर छन् ।  सडक मानव एम्बुसमा परिणत हुने थालेको छ । कलंकी– कोटेश्वर सडक खण्डको दायाँ–बायाँ ढलको स्ल्याप फुटेर सडक पेटीमा यात्र गर्न जोखिम बढदै गएकाे छ । कलंकी–कोटेश्वर सडक हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिन्छ, प्रयोगका हिसाबले उति नै जोखिमपूर्ण बन्दै गएको छ । चीन सरकारको सहयोगमा बनेको उक्त सडक १ वर्ष अघि नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । एकान्तकुन बस्ने राम लामा पनि सो सडक खण्डको दायाँ तर्फ हिडदाहिँदै ढलको स्ल्याव फुटेको ठाउँमा खुटट पसेर ३ दिनसम्म काममा जान नसकेको बताए । उनले भने सडक त राम्रो बन्यो तर, बेलैमा मर्मत नहुँदा यात्रुले ज्यानै जोखिममा राखेर यात्रा गर्नु परेको छ । सडक विभागको प्रवक्ता शिवहरि सापकोटा भने हामीले सडक डिभिजन ललितपुरलाई सडक सेप्टीका लागि बजेट छुट्र्याएको बताए । तर, सडक डिभिजन ललितपुरका सूचना अधिकारी सुमित्रा अधिकारीसँग कुरा गर्दा चीनले बनाएको सडकमा हामीले केही पनि नगरेको जानकारी दिइन । केही वर्ष अघिसम्म अस्तव्यस्त रहेको कलंकी कोटेश्वर सडक अहिले आठ लेनको बनेको छ । सडक हेर्दा सुन्दर देखिन्छ । तर, व्यवस्थापन राम्ररी हुन नसक्दा पैदलयात्रु र सवारी चालकहरुले सास्ती खेप्दै आएका छन् । कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना र बल्खुमामात्र जेब्रा क्रसिङ राखिएको छ । त्यस्तै, कोटेश्वर, बी एन्ड बी अस्पताल अगाडि र बागडोलमा आकाशे पुल बनाइएको छ । १०.३९ किलोमिटर सडकमा यो पर्याप्त होइन । कोटेश्वरबाट कलंकी जाँदा कोटेश्वर, ग्वार्को, बी एन्ड बी अगाडि, चापागाउँ दोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना र बल्खुमा मात्र बस बिसौनी बनाइएको छ । त्यस्तै, कलंकीबाट कोटेश्वर आउँदा बल्खु, कुसुन्ती, महालक्ष्मीस्थान, सातदोबाटो, बी एन्ड बी अगाडि, ग्वार्को, बालकुमारी र कोटेश्वरमा मात्र बस बिसौनी छ । कलंकीमा पनि बस बिसौनी बनाइएको छैन । कलंकी–कोटेश्वरको अत्याधुनिक सडकमा सवारी क्रस गर्ने जम्मा ९ वटा स्थान छन् । कोटेश्वरबाट गुडेको गाडी ९ सय ७० मिटर कटेपछि बालकुमारी पुलबाट क्रस गर्न मिल्छ । त्यसपछि १ हजार २ सय ४ मिटर दुरीमा ग्वार्कोमा क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ४९ मिटर गुडेको सातदोबाटोमा मात्र क्रस गर्न मिल्छ । त्यहाँबाट २ सय ४० मिटरमै पर्ने चापागाउँ दोबाटोमा क्रस गर्ने ठाउँ बनाइएको छ । चापागाउँ दोबाटोबाट ५ सय ७४ मिटर दुरीमा महालक्ष्मीस्थानमा बाटो क्रस गर्न पाइन्छ । त्यसपछि १ हजार १ सय ६० मिटरपछि एकान्तकुना र २ हजार १ सय ९१ मिटरपछि सानेपामा क्रस गर्न पाइन्छ । त्यसपछि ३ सय २९ मिटर अगाडि गएपछि बल्खु र २ हजार ३६ मिटर अगाडि गएपछि कलंकीबाट मात्र क्रस गर्न पाइन्छ । कोटेश्वर, बी एन्ड बी र बागडोलमा राखिएका आकाशे पुल बनेको छ तर प्रयोग गर्ने त्यतिधेरै देखिदैनन् । यी पुल मान्छेको बढी भीड हुने ठाउँ र चोकबाट धेरै टाढा देखिन्छ । बस्ती, चोक र दुरी सन्तुलन मिलाइ जेब्राक्रस, पुल, बस स्टेशन मिलाएको भए सर्बसाधारणलाई यात्रा गर्दा थप सहज हुने थियो ।

नेपाल इञ्जिनीयरिङ् कलेज सञ्चालनको जिम्मेवारी अब नगरपालिकालाई

भक्तपुर । शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ् कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कलेज सञ्चालनको जिम्मेवारी नगरपालिकालाई दिने निर्णय गरेको हो । बैठकले नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिसमेत गठन गरेको छ । समितिका सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी, पोखरा विश्वविद्यालयका इञ्जिनीयर, कलेजका प्रिन्सिपललगायत रहेका छन् । सञ्चालक समितिको विवादका कारण कलेज सञ्चालनमा नकारात्मक असर पर्दै कलेजको आर्थिक, प्रशासनिक तथा पठनपाठनमा समेत बाधा पर्न गएकाले पछि अदालतबाट प्राप्त फैसलाबमोजिम हुनेगरी तत्काललाई नगरपालिकाले सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काले जानकारी दिएका छन् । संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० भदौ ४ गते दर्ता भएको उक्त कलेज एकतर्फी रुपमा लम्बोदर समूहले सञ्चालन गरी करोडौंको भ्रष्टाचार गरेर कलेजसमेत बिक्री गर्न लागेको थाहा पाएपछि स्थानीय बासिन्दा, विद्यार्थी र सञ्चालकमध्येका असन्तुष्ट पक्षले विरोध गर्दै आएका थिए । विवादबारे अदालतमा लामो समयदेखि मुद्दा सुनुवाइको प्रक्रियामा रहेको छ । अदालतबाट आउने निर्णयलाई मान्ने गरी हाललाई संसदीय समितिको सिफारिसअनुसार कलेजलाई स्थानीय सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । रासस

विदेशी कपडामा शोखिन नेपाली, ४ महिनामै साढे १३ अर्बको आयात

काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक आयातित कपडाको मात्रै हो । देशभित्र उत्पादन भएका कपडाको यसमा मूल्य समावेश गरिएको छैन । चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको यो अवधिमा १३ अर्ब ६० करोड रुपैयाँको नेपालमा तयारी कपडा आयात भएकाे छ । नेपालीको आयमा आएको परिवर्तनसँगै यस्ता कपडा खरिदमा  ८.४ प्रतिशतले वृद्धि भएको हाे । नेपालीको आयमा भएको वृद्धिसँगै उनीहरूको शोखमा पनि परिवर्तन आएको छ । सरकारी तथ्यांकले नेपालीको प्रतिव्यक्ति आय औसतमा १ लाख १८ हजार ८ सय ८३ रुपैयाँ अर्थात १ हजार ४७ डलर हो । औसतमा एक नेपालीले लाखभन्दा केहीमात्रै बढी रकम कमाएपनि खर्च भने ठूलो देखिएको छ । यो खर्च त मात्रै तयारी पोशाकको हो । यदि प्रतिमेगावाट १६ करोड रुपैयाँमा विद्युत उत्पादन हुने हो भने तयारीको पोशाकमा छोटो अवधिमा बाहिरिएको सो रकमबाट ८५ मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ । यी वाहेक हजारौ यस्तै वस्तु नेपालमा विदेशी बजारबाट भित्रने गरेका छन् । यसमा पनि ठूलो खर्च हुने गरेको छ । हाल नेपाली बजारमा चीनबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको छ भने त्यसपछि थाइल्याण्ड, भारत, जापान, अमेरिकालगायतका देशबाट तयारी कपडा आयात हुने गरेका छन् । नेपाली तयारी पोशाक उद्योग धरापमा परेपछि विदेशी कपडाको आयात वर्षैपिच्छे बढ्दै गएको छ । डेढ दशक अघिसम्म नेपाली तयारी पोशाक विश्व बजारमा उत्कृष्ट मानिन्थ्याे । आयातित कपडाभन्दा नेपाली ब्राण्डका कपडाको बजार मूल्य महँगाे भएकोले सस्ता कपडा खोज्दा आयात बढी हुने नेपाल तयारी पोशाक संघका अध्यक्ष चण्डीप्रसाद अर्यालले बताए । कुनै कपडा भने अत्यन्त महँगा पनि छन् । नेपालीले आफ्नो हैसियत अनुसार बजार रोज्नु पर्ने उनको भनाइ छ । यो वर्ष त नेपालमै पनि कपडा उत्पादन हुन थालेका छन, आयात त घट्नु पर्ने हो, उनले भने । ‘विदेशी कपडाको तुलनामा हामी अति महँगाे छौं,’ उनले भने ‘जबसम्म सरकारले नेपाली उत्पादनलाई सस्तो बनाउने योजना कार्यान्वयनमा ल्याउँदैन, तबसम्म नेपालबाट यसरी नै कपडामै ठूलो रकम बाहिरिरहन्छ । ‘हामी जस्ता पनि कपडा उत्पादन गर्न सक्छौ,’ तर आयातित कपडाको कारण बजारमा टिक्न सक्ने अवस्था छैन । कच्चा पदार्थ आयात गरेर कपडा उत्पादन गर्दा अन्य देशले उत्पादन गरेका कपडाको तुलनामा नेपाली कपडा महँगाे पर्न जान्छ । सरकारले चालु आवको बजेटमार्फत कपडा उद्योगका लागि भन्सार महशुल घटाउनुका साथै उद्योगले खपत गर्ने विद्युत महशुलमा समेत ५० प्रतिशत छुट दिएको छ । सरकारले यस्ता फजुल आयातलाई नरोक्दा व्यापार घाटा बढेको उनले बताए । सरकार राजस्वमुखी मात्रै भयो,’ अर्यालले भने ‘ आन्तरिक उत्पादनले मात्रै देशलाई दिगो रुपमा आम्दानी दिने हो । ’ सरकारले यो बुझ्न जरुरी छ । ’

याेजना विद्युत बेच्ने, कञ्चनपुरकाे पिलरीफाँटा भने दुई दशकदेखि अँध्याराेमा

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहुँदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहुँदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् । केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै आएका छन् । “आठ वर्षअघि चुनावका बेला बस्तीमा विद्युत् सेवा विस्तारका लागि फालिएका विद्युत्का पोल ल्याउँदा गाउँमा विद्युत् सेवा विस्तार हुन्छ भनेर सोचेका थियौँ”, स्थानीय मिलन जप्रेले भने, “पोल जस्तो अवस्थामा छाडेर गएका थिए, अहिले पनि त्यही अवस्थामा छन्, ठड्याउने कार्यसमेत हुनसकेको छैन ।” टुकीको सहायताले रातिका बेला काम गर्नुपर्दा सबैभन्दा बढी विद्यालय पढ्ने बालबालिका र गृहिणी श्वासप्रश्वासको समस्या खेप्न बाध्य छन् । ‘रातभरि छिमेकी गाउँमा झिलीमिली विद्युत् बलेको हुन्छ’, कलावती जाग्रीले भनिन्, “हाम्रो गाउँमा धिपधिपे टुकी बलिरहेको हुन्छ, विद्युत् बलेको देख्न चाहन्छौँ, त्यो इच्छा पुरा हुने छाँट देखिँदैन ।” ‘स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारले चुनावमा विद्युत् बाल्ने, सिँचाइ, खानेपानी पुर्याउने बाचा गरेका थिए, बाचाअनुसार चुनावमा मतदान पनि गर्यौ, कसैले पनि समस्या समाधान गरेनन्’, पदम धामीले भने । केही दिनअघि मात्रै नगरप्रमुख दिलबहादुर ऐरले बस्तीमै पुगेर मङ्सिर महिनाभित्रै विद्यत् पुर्याउने बाचा गरे पनि अझै विद्युत् विस्तार गर्ने कार्यको सुरसार नगरिएको उनले बताए । नगरप्रमुख ऐर पिलरीफाँटामा छिट्टै विद्युत् सेवाका लागि पहल भइरहेको बताउँछन् । “विद्युत् विस्तारका लागि ठेक्का भइसकेको छ”, उनले भने, “केही दिनमा विद्युत् सेवा विस्तारको कार्य हुन्छ, जनतासँग गरेका बाचा पुरा गरेरै छाड्छौँ ।’