विकासन्युज

ह्वावे वाई सेभेन २०१९ नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाण्डौ । ह्वावे कम्पनीको सबैभन्दा सर्वोत्कृष्ट स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ अब नेपाली बजारमा उपलब्ध भएको छ । कम दाममा उत्कृष्ट कार्यक्षमता भएको स्मार्टफोनहरू ल्याउने आफ्नो प्रतिबद्धता अनुरूप ह्वावे कम्पनीको वाई सिरिजमा पनि सहुलियत दाम र उति नै उत्कृष्ट कार्यक्षमता भएका स्मार्टफोनहरू प्रयोगकर्ताहरू समक्ष ल्याएको छ । वाई सिरिज अन्तर्गतको पछिल्लो स्मार्टफोन ह्वावे वाई सेभेन २०१९ पनि सबैपक्षमा सर्वोत्कृष्ट स्मार्टफोन मानिएको छ र नेपाली बजारमा ह्वावेका अन्य स्मार्टफोनहरू झैँ यो स्मार्टफोन पनि निकै लोकप्रिय हुने विश्वास गरिएको छ । यो स्मार्टफोन तीनवटा रंगहरूमा उपलब्ध छ (नीलो –ओरोरा ब्लू), कालो (मिडनाइट ब्ल्याक) र रातो (कोरल रेड) । नेपाली बजारमा ह्वावेको वाई सेभेन २०१९ को मूल्य भने रूपैयाँ १९,९९० तोकिएको छ । ६.२६ ईन्चको ठूलो डियूड्रप डिस्प्ले, १३ एमपी+ २एमपीको मास्टर एआई सपोर्टयुक्त एआई क्यामरा र दुई दिनसम्म चल्ने ४ हजार एमएमएच क्षमताको ब्याट्री र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ । ह्वावेको ब्याट्रीसम्बन्धी महत्वपूर्ण प्रविधिका कारण ह्वावे वाई सेभेन २०१९ ले यसको पूर्ण क्षमताको कम्तीमा ८० प्रतिशत ब्याट्री सात सय पटकसम्म चार्ज गर्दा पूर्ण क्षमता दिने कमपनीले जनाएको छ । जसको अर्थ हो दुई वर्षसम्म सामान्य तरिकाबाट चार्ज गर्दा पनि ब्याट्री भरपर्दो र राम्रो अवस्थामा रहन्छ । भिडियो मन पराउने अहिलेको पुस्ताका लागि ठूलो डिस्प्ले दिनका लागि ह्वावेले नयाँ ह्वावे ड्र्यूड्रप डिस्प्ले ह्वावे वाई सेभेन २०१९ मा जडान गरेको छ । ह्वावेको फ्ल्यागशीप ह्वावे मेट ट्वान्टी र ह्वावे मेट ट्वान्टी एक्समा सुरूमा राखिएको डिउड्रप डिस्प्लेमा क्यामरा राख्नका लागि मोती आकारको सानो स्थान रहेको छ जसले प्रयोगकर्ताहरूलाई मोबाइलमा सबै खाले सामग्रीहरू हेर्न सहज बनाउँछ । ८६.७ प्रतिशत स्क्रीन–टु–टीपी रेसियो यसमा रहेको छ जुन औसत रुपमा अरु फोनको भन्दा धेरैमाथि हो । ह्वावे वाई सेभेन २०१९ लाई तेर्सो पारेर समात्दा यसको पछाडिको भाग डिजिटल क्यामराजस्तो देखिन्छ । वाई सेभेन २०१९ ले डुलल फोर जी र डुअल भिओलटीई सपोर्ट गर्दछ । यो विशेषताका कारण प्रयोगकर्ताहरूले एकैचोटि एउटा सिमबाट फोन गर्न र अर्कोबाट मोबाइल डाटा चलाउन सकिन्छ । वाई सेभेन २०१९मा ५१२ जीबीसम्मको एक्पान्डेबल मेमोरी छ र मेमोरी कार्ड राख्न मिल्ने सुविधा छ । ३२ जीबीको इन्टरनल स्टोरेज पनि यो स्मार्टफोनमा रहेकाले सबै तस्वीरहरू, भिडियोहरू, गेमहरू सजिलै स्टोर गर्न सकिने कम्पनीले जनाएको छ ।

भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, ५ दिनमा १५ करोडको कारोबार हुने महासंघको अपेक्षा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको महोत्सवको उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए । समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए ।  उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पूरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता औैंल्याए । आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भने–‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्घिका लागि हो ।’ नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने– ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।’ कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए । मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने– ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापार घाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, तथापी स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं । त्यसैले हामीले यस मेलाको मूल उद्देश्य “मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै” नेपालको र “नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं” भन्ने नारा मार्फत प्रकट गरेका छौं ।’ समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । महोत्सवको सह-आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको छ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो । पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

खेतानको बार्गेनिङले एभरेष्ट बैंकलाई लक्ष्मीसँग मर्ज गर्न सकिएन : बिके श्रेष्ठ

काठमाडाै‌ं । पूर्व सहमति गरेअनुसार कन्सल्टेन्टले दिएको सुझावमा लक्ष्मी बैंकका अध्यक्ष राजेन्द्र खेतानले वार्गेनिङ गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले आरोप लगाएका छन् । शुक्रबार एभरेष्ट बैंकद्वारा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले एभरेष्ट बैंकसँग लक्ष्मी बैंक मर्ज गराउन सुरुको तदारुकता राजेन्द्र खेतानले देखाएको भन्दै सुरुमा भएको सहमतिबाट खेतान पछि हटेपछि आफूहरु पनि पछि हट्न बाध्य भएको बताए । पञ्जाब नेशनल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल मेहेताको स्वागत गर्न आयोजित पत्रकार सम्मेलनमा राजेन्द्र खेतानले स्वाप रेसियोमा मोलमोलाई गरेपछि लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया रोकिएको दाबी गरेका छन् । ‘म राजेन्द्र खेतानकोमा गएको होइन, उ नै मकहाँ आएको हो । एक चरणको कुरा भएपछि स्वाप रेसियोबारे छलफल भयो । मैले हचुवाको भरमा हुँदैन, कुनै कन्सल्टेन्टलाई स्वाप रेसियो तोक्ने जिम्मा दिऔं, भारतमा ४/५ ओटा कम्पनी छन्, तीमध्ये तपाईँले भन्नुभएकै कम्पनीलाई जिम्मा दिऔं भन्दा हुन्छ भनेर एउटा कम्पनीलाई जिम्मा दिइयो, त्यो कम्पनीले एभरेष्टको १ शेयर बराबर लक्ष्मीको २.७५ कित्ता शेयर उपयुक्त हुने सुझाव दिएपछि खेतान १ः२ गरौं भन्दै आएपछि म झस्किएँ । त्यसैले मर्जर भएन ।’– अध्यक्ष श्रेष्ठले भने । उनले एभरेष्ट बैंक मर्जर वा एक्विजिसनका लागि कहिल्यै पनि खुल्ला रहेको भन्दै तर त्यसका लागि वस्तुगत आधारमा सहमति हुनुपर्ने बताए । ‘अन्तराष्ट्रिय भेन्चरले बार्गेनिङ मान्दैन, स्टडी मात्रै मान्छ, हामीले लक्ष्मीसँग बार्गेनिङ गरेर पञ्जाब बैंकलाई कसरी मनाउने ?’ उनले भने । इन्भेष्टमेन्ट बैंकसँगकाे मर्जर पनि त्यही कारणले राेकिएकाे उनकाे दाबी थियाे । विदेशी लगानी भित्र्याउनेबारे सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष श्रेष्ठले भने – ‘हेजिङका कारण डलरमा ऋण ल्याउन नसकिने भइयो, भारतीय ऋणका लागि हामी सल्लाह गर्दैछौं ।’

यस्तो छ सरकार र स्वतन्त्र मधेस गठबन्धनबीचको ११ बुँदे सहमति

काठमाडौँ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् । यस्ता छन् सहमतिका ११ बुँदा:

सरकारसँग ११ बुँदे सहमति गर्दै सिके राउतले भने-५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भूत हरायो

काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतले ५ महिना जेल बसेपछि स्वतन्त्र मधेसको भुत हराएको बताएका छन् । सरकारसँग ११ बुँदे सहमति पछि शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । उनले भने-स्वतन्त्रताको अर्थ जेल पुगेपछि बुझे, अब देस मान्छु, संविधान मान्छु । प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने–प्रधानमन्त्रीज्यु १४ वर्ष जेल बस्नु भो, अहिले पनि जेलको अवस्था सुध्रीएको रहेनछ, क्षमता भन्दा कैयो गुणा बढी मानिस कोचिएको रहेछन् ।  

एउटै मञ्चमा देखिए प्रधानमन्त्री केपी ओली र सिके राउत, ११ बुँदे सहमति

काठमाडौँ । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । सहमतिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् । शुक्रबार भएको यो सहमतिसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति भएका ११ बुँदा पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको उल्लेख छ । सहमतिका ११ बुँदामा सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मूलधारको राजनीति गर्न अवरोध नगर्ने उल्लेख छ । प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धका कार्यकर्ताका परिवारालाई क्षतीपुर्ति दिने, गठबन्धनका नेता कार्यकर्ताको ज्ञान र र सीप राज्यका लागि लगाउने सहमतिमा उल्लेख छ ।

महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नु पर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्छ भनिन् । राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भने “महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला पीडित हुनु भनेको पुरुष पनि पीडित हुनु हो भन्ने कुरालाई जनचेतनामार्फत परिवर्तन गर्नुपर्छ । महिला हिंसा अन्त्य गरिनुपर्छ ।” काननूनले अन्त्य गरिसकेको छाउपडी, बोक्सी, बालविवाह, बहुबिवाहजस्ता कुप्रथा समाजमा अझै विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्दै उनले यस्ता प्रथालाई जरोदेखि नै समाप्त गर्न सामूहिक प्रयत्नको खाँचो औल्याइन् । राष्ट्रपति भण्डारीले गाउँ घरमा विद्यमान महिलाविरुद्धका अन्धविश्वास तथा कुप्रथा अन्त्य गर्न महिला शिक्षामा लगानी वढाउन सरकारसित आग्रहसमेत गरिन् । उनले भनिन्, “महिला र पुरुष समानताका लागि हरेक क्षेत्रमा ५०/५० प्रतिशत सहभागिता आवश्यक छ ।” उनले आगामी दिनमा हालसम्म महिला अधिकारका क्षेत्रमा प्राप्त अधिकार रक्षा गर्न सामूहिक प्रयत्नको खाँचो औँल्याउँदै पछिल्लो समय छोटो अवधिमा नेपालले लैङ्गिक समानता क्षेत्रमा उल्लेखनीय उपलब्धि तथा फड्को हासिल गरेको वताए । सो अवसरमा महिलामन्त्री थममाया थापाले संविधानप्रदत्त महिला अधिकार कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक ऐन, नीति तथा कार्यक्रम कार्यन्वयन गरिरहेको तथा महिला हिंसा अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयमार्फत विभिन्न कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिइन् । समाजसेवी दुर्गा घिमिरेले महिला दिवस वर्षमा एक दिन मनाएर सकारात्मक परिवर्तन नआउने बताउँदै महिला सहभागिताविना दिगो शान्ति र विकास सम्भव नहुने धारणा व्यक्त गरिन् ।

स्वास्थ्य बीमाका लागि गाउँगाउँमा बिमितको नाम दर्ता

लहान । स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो । स्थानीय तहका सम्पूर्ण वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए । सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए । पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार थपिने जनाएको छ । रासस