माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन लागि नेपाल धितोपत्र बोर्डमो आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।
खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिबीच छलफल, ‘नेपाल सरकारसँग सहकार्य तयार’
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छिन् । खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्याउन सरकार योजनाका साथ अघि बढिरहेको बताइन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तरपनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।” ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरिन् । उनले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिन् । तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराइन् । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उनको आग्रह थियो । तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पुर्याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताइन् । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए । विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताए । धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै उनले नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताए । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधि मण्डलसँग छलफल भएको थियो ।
यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन, विराटनगर महानगरबाट आए कुमारप्रसाद दाहाल
काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन भएको छ । विराटनगर महानगरपालिकाका कार्यकारी प्रमुख कुमारप्रसाद दाहालको यातायात व्यवस्था विभाग काठमाडौँमा सरुवा भएको हो । विभागमा महानिर्देशक पदमा सरुवा भएर आएका दाहालले सोमबार नै कार्यालयमा हाजिर भई कार्य प्रारम्भ गरेका छन् । निजामति सेवामा लामो अनुभव हासिल गरेका महानिर्देशक दाहाल एक कुशल प्रशासक हुन् । उनले विराटनगर महानगरमा कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदा महानगरमा सुधारका धेरै काम गरेका छन् । यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा आएका दाहालले विगतमा गरेको कार्यबाट यस कार्यालयको सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउने आशा गरिएको छ ।
बुटलवमा खुल्यो गुहेश्वरी मर्चेण्टको बाह्रौं शाखा
काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालय गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ उपस्थिति रहेको थियो । कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ । वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड १७ लाख रहेको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन, देवकोटा चोक भैरहवा र रुपन्देहीको शाखा कार्यालयबाट सेवा प्रदान गर्दैै आएको छ ।
सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, स्थानीय जनप्रनिनिधिहरु र स्थानीय व्यवसायीहरुको उपस्थिती रहेको थियो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।
स्पर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने बुधबार अन्तिम दिन हो । सेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल सेयर संख्याभन्दा बढी सेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त सेयर निष्कासन बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबारसम्म ५८ करोड रुपैयाँ बराबरको आवेदन भइसकेको छ । जुन मागभन्दा २३ गुणा बढी हो । संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । इच्छुक लगानीकर्ताले बुधबार बैंकिङ कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म सेयर भर्न पाइने छ । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।
‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ चैत १ गतेदेखि, होल इन वान बिजेतालाई गाडी उपहार
काठमाडौं । नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी चैत १ र २ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३ र ४ ह्यान्डीक्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर(नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिको), जुनियर विनर(१७ वर्ष उमेर मुनीको), हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान द अल न्यु हुण्डाई सेन्ट्रो गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।
एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण
पर्वत। एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताए। चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८७४ विद्यार्थी सहभागी हुँदैछन् । पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा एक हजार ४३७ छात्र र एक हजार ४३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई रु १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ । चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए। सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै रु पाँच लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयका महिला विकास निरीक्षक देवी शर्माले जानकारी दिए। जिल्ला शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै छात्रा विद्यार्थी सङ्ख्याका अनुपातमा परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिने प्रतिबद्धता जनाएका थिए।