विकासन्युज

नेप्से १३ अंकले घट्दा लगानी कोषको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

काठमाडौं । साताको शुरुदेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक बुधबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार २० अंकले बढेको सूचक बुधबार १३ अंकले घटेर ११५० अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.१३ प्रतिशत घटी हो । मंगलबारको तुलनामा बुधबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । बुधबार कुल १७३ कम्पनीको ३७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा आधा अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि नागरिक लगानी कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । संस्थाको एकैदिन एक करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कोषले बोनस घोषणा गरेसँगै सेयर लगानीकर्ताहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । कोषले बुधबार सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । तर बोनस घोषणापछि काराेबारमा कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १९ रुपैयाँले घटेको छ । बुधबार प्रतिकित्ता २६४४ रुपैयाँदेखि कारोबार शुरु भएको कोषको सेयर मूल्य घटेर प्रतिकित्ता २६२५ रुपैयाँमा झरेको छ ।

सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद ३ महिना थपियो, समस्या ब्युँतिन सक्ने उपभोक्ताको गुनासो

काठमाडौँ । सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महिना थपिएको छ । सङ्घीय संसद्का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि समितिलाई कम्पनीमा जाने अवधि थपिएको हो । कम्पनी ऐन, २०६३ को दफा ९ मा संशोधन भएपछि तीन महिना थप भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । कम्पनी ऐनको दफा ९ को उपदफा (१) पछि उपदफा (१क) थपिएको छ । जसमा ‘उफदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानूनबमोजिम दर्ता भई सञ्चालित यातायात व्यवसायी समितिमा आबद्ध यातायात व्यवसायी मिली प्राइभेट कम्पनी संस्थापना गरी यातायात व्यवसाय सञ्चालन गर्न यो उपदफा प्रारम्भ भएको मितिले तीन महीनाभित्र निवेदन दिएमा उपदफा (१) मा लेखिएभन्दा बढी शेयरधनी सङ्ख्या भए पनि त्यस्तो प्राइभेट कम्पनी दर्ता गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन १९ गते विधेयक प्रमाणीकरण गरेकी थिइन् । प्रमाणीकरण गरेको तीन महिना अर्थात् जेठ १९ गतेसम्म समितिका सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने जनाइएको छ । यसअघि दुई पटकसम्म कम्पनीनमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने म्याद थप भइसकेको छ । गत वर्ष चैत १८ गते विभागले नयाँ मापदण्ड ल्याई असार मसान्तसम्म समितिका सवारी कम्पनीमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । मापदण्डले नै सामाजिक संस्थाका रूपमा नयाँ समिति दर्ता नगर्ने र दर्ता भइसकेकालाई साउनपछि नवीकरण नगर्ने व्यवस्था भएको थियो । असार मसान्तसम्म कमै यातायात मात्र कम्पनीमा दर्ता भएकाले साउनपछि मङ्सिर मसान्तसम्म म्याद थपिएको थियो । मङ्सिर मसान्तसम्म करीब एक हजार सवारी मात्र कम्पनीमा दर्ता भएको विभागले जनाएको छ । मङ्सिर मसान्तपछि कति सवारी कम्पनीमा दर्ता भई विभाग र त्यसअन्तर्गतका कार्यालयमा पञ्जीकरण भए भन्ने तथ्याङ्क सङ्कलन भइरहेको जनाइएको छ । मङ्सिर मसान्तमा फागुन मसान्तसम्मका लागि म्याद थप भएको थियो । फागुनमै संसद्बाट पारित भएको विधेयकमा तीन महिना थप भएपछि पुनः यातायात क्षेत्रका समस्या ब्युँतिन सक्ने उपभोक्ताको गुनासो छ ।

सरकारी र निजी क्षेत्रको बैंक विस्तार समान रुपले हुनेछः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षभित्रै मुलुकका सबै स्थानीय तहमा बैंकको सेवा पुर्याइने बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले सिंहदरबारमा मात्र होइन मुलुकका सुगम र दुर्गम क्षेत्रमा समेत निजी र सरकारी बैंकको शाखा विस्तार समान रुपमा हुनेछ भने । डा खतिवडाले भने–‘सिंहदरबार परिसरभित्र राष्ट्रिय वाणिज्य बैँकको शाखा सञ्चालनका लागि अनुमति दिइसकिएको छ । उपयुक्त स्थानमा सञ्चालनका लागि पूर्वाधारको खोजी भइरहेको छ । अहिले सिंहदरबारमा रहेको संरचनाले नभ्याएको अवस्था हो ।’ नेपालमा पूर्वस्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक मात्रै भएको हुँदा मुलुकमा रहेका २८ वाणिज्य बैंकलाई समान अवसर प्रदान गर्नुपर्छ भन्ने सरकारको मान्यता रहेको बताउँदै उनले सबै बैंकलाई समान रुपमा प्रतिस्पर्धा गराउने ढङ्गबाट बैकिङ सञ्जाल विस्तार गर्नुपर्छ भने । बैंकमा खाता खोल्दा उपलब्ध गराएको वैयक्तिक विवरण नेपालभित्र नै सुरक्षित रहेको विश्वास दिलाउँदै डा खतिवडाले भने, “कुनै पनि खातावालाको विवरणबाहिर जाँदैन, अदालत र राष्ट्र बैंकले मात्र आवश्यक परेका खण्डमा हेर्न पाउँछ, मुलुकभित्र मात्र विवरण रहन्छ, गोपनीय हुन्छन् । “मुलुकमा सरकारी र निजी क्षेत्रका गरी दुईखाले बैंक रहे पनि ती सबै नेपाली बैंक नै हुन्, सरकारले सबै बैंकलाई समान व्यवहार गर्दछ, सरकारी काम सरकारी बैंकबाटै गर्नुपर्छ भनिरहँदा सरकारी बैंकको पहुँच नपुगेको अवस्थामा निजी क्षेत्रका बैंकमा लगानी हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको छ”, उनले भने । “कुनै खास निकाय वा संस्थाका पदाधिकारीले आफ्नो खाता सम्बन्धित बैंकबाट सञ्चालन गर्न चाहेमा त्यहाँबाट सञ्चालन गर्न अस्पष्ट र अन्योल हुनुपर्ने अवस्था छैन”, डा खतिवडाले भने । यसअघि बैठकमा सांसद विन्दा पाण्डे, प्रेम सुवाल, भीमबहादुर रावल, खगराज अधिकारी, अनिलकुमार झालगायतले अर्थमन्त्रीसँग सिंहदरबारभित्र सरकारी बैंक किन स्थापना नभएको तथा सबै स्थानीय तहमा कहिलेसम्म बैंक सञ्जाल विस्तार हुन्छ भनी प्रश्न गरेका थिए । यसैबीच, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव र वन्यजस्तु बासस्थानबीच देखिँदै आएको द्वन्द्व व्यवस्थापन गर्न सरकार समग्र योजना निर्माणमा जुटिरहेको बताए । प्रतिनिसभाको आजको बैठकमा सांसदले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले आगामी दिनमा झापा र बर्दियालगायत जिल्लामा हात्ती आक्रमणका घटना न्यूनीकरणका लागि ठीक ढङ्गबाट तारबार व्यवस्थापन गरिनेछ भने ।

भक्सवागनले सात हजार कर्मचारी हटाउने, वार्षिक ६ अर्ब यूरो बचत गर्ने योजना

फ्राङ्कफर्ट । जर्मनीको कार निर्माता कम्पनी भक्सवागनले विद्युतीय कार उत्पादनमा आफूलाई रुपान्तरण गर्ने उद्देश्यले सन् २०२३ भित्रमा कम्पनीमा कार्यरत करिब सात हजार कर्मचारी कटौती गर्ने जनाएको छ । कम्पनीले कटौतीमा पर्ने कामदार कर्मचारीलाई अवकाश सुविधाको अवसर प्रदान गरिने जनाएको छ । भक्सवागनले दिगो प्रतिस्पर्धात्मक क्षमता निर्माण गर्न पनि कर्मचारी कटौती गर्नु परेको स्पष्ट गरेको छ । एक अनुमान अनुसार आगामी वर्षहरुमा अवकाशका लागि करिब ११ हजार कर्मचारी योग्य हुनेछन् । सन् २०२३ सम्ममा प्रतिवर्ष करिब ६ अर्ब यूरो बचत गर्ने कम्पनीको योजना बमोजिम कर्मचारी कटौती गर्न लागिएको हो । यसैबीच, उल्फ्सबर्गस्थित भक्सवागनले ब्याट्रीबाट चल्ने कार र स्वचालित कार उत्पादनमा लगानी वृद्धि गर्ने योजना अघि सारेको छ । कम्पनीले नोभेम्बरमा घोषणा गरिएको ११ अर्ब यूरोबाट झण्डै १९ अर्ब यूरो पुर्याउने लक्ष्य राखेको छ । रासस/एएफपी

माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन लागि नेपाल धितोपत्र बोर्डमो आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिबीच छलफल, ‘नेपाल सरकारसँग सहकार्य तयार’

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताएकी छिन् । खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्याउन सरकार योजनाका साथ अघि बढिरहेको बताइन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उनले भनिन्, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तरपनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।” ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गरिन् । उनले ग्रामीण क्षेत्रमा जलाशययुक्त र लिफ्टिङ ग्राभिटी खानेपानी योजना साथै सहरी क्षेत्रमा २४ सै घण्टा सातै दिन प्रशोधित खानेपानी योजना र फोहोर पानी प्रशोधित योजनामा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिन् । तराई मधेश क्षेत्रमा आर्सेनिक मुक्त थोक वितरण प्रणाली खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने भएकाले यस क्षेत्रमा पनि सहयोग गर्न मन्त्री मगरले विश्व बैंकको ध्यानाकर्षण गराइन् । हिमाली क्षेत्रमा स्प्रिङ वाटरको सम्भाव्यता खोजी गर्न समेत उनको आग्रह थियो । तीन वर्षभित्र आधारभूत खानेपानीको सुविधा पुर्याउन मन्त्रालय योजनाका साथ लागिरहेको बताउँदै मन्त्री मगरले खानेपानी तथा पूर्ण सरसफाइको क्षेत्रमा उपभोक्ता समिति र स्थानीय समुदायहरूको सहभागिता गराई अभियान नै सुरु गर्न खोजिएको बताइन् । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले योजना बैंक बनाएर अघि बढ्नुपर्ने भएकाले विश्व बैंकसँग सधैंभरि सहकार्य गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए । विश्व बैंकका निर्देशक स्टेभन स्कनबर्गरले खानेपानी तथा सरसफाईको क्षेत्रमा नेपाल सरकारसँग सहकार्य गर्न विश्व बैंक सधैं तयार रहेको बताए । धेरै देशका खानेपानी मन्त्रीहरुसँग भेट गरेको स्मरण गर्दै उनले नेपालको खानेपानी मन्त्री भने खानेपानी तथा सरसफाईको क्षेत्रमा धेरै ज्ञाता रहेको आफूले पाएको बताए । निर्देशक स्कनबर्गरको नेतृत्वमा आएको ६ सदस्यीय प्रतिनिधि मण्डलसँग छलफल भएको थियो ।

यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन, विराटनगर महानगरबाट आए कुमारप्रसाद दाहाल

काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन भएको छ । विराटनगर महानगरपालिकाका कार्यकारी प्रमुख कुमारप्रसाद दाहालको यातायात व्यवस्था विभाग काठमाडौँमा सरुवा भएको हो । विभागमा महानिर्देशक पदमा सरुवा भएर आएका दाहालले सोमबार नै कार्यालयमा हाजिर भई कार्य प्रारम्भ गरेका छन् । निजामति सेवामा लामो अनुभव हासिल गरेका महानिर्देशक दाहाल एक कुशल प्रशासक हुन् । उनले विराटनगर महानगरमा कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदा महानगरमा सुधारका धेरै काम गरेका छन् । यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा आएका दाहालले विगतमा गरेको कार्यबाट यस कार्यालयको सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउने आशा गरिएको छ ।

बुटलवमा खुल्यो गुहेश्वरी मर्चेण्टको बाह्रौं शाखा

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालय गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ उपस्थिति रहेको थियो । कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ । वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड १७ लाख रहेको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन, देवकोटा चोक भैरहवा र रुपन्देहीको शाखा कार्यालयबाट सेवा प्रदान गर्दैै आएको छ ।