विकासन्युज

छायाँ सेन्टरमा क्रिसमस मार्ट २०१९ शुरु

काठमाडौं । क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ शुरु भएको छ ।  शुक्रबार एक कार्यक्रमका बिच जमर्न दुतावासकी डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपलले मार्टको उद्घाटन गरिन् । मार्ट उद्घाटन गर्दै हाईपलले मार्टले क्रिमसका बेला सबै पक्षको पारिवारिक, सामाजिक तथा व्यवसायिक वातावरण सुमधुर बनाउन टेवापुग्ने विश्वास व्यक्त गरिन् । नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईस वर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसन प्रालिको संयुक्त आयोजनामा मार्ट सञ्चालन गरिएको हो । नजिकदै गरेको क्रिसमस डे र नेपाल भ्रमण बर्ष २०२० बो पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको कार्ल डुईसवर्ग सोसाइटी नेपालका अध्यक्ष विजय सागर प्रधानले बताए । क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । उनका अनुसार मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस्, लु सिड ड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ रहने छ । साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन् । विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहार समेत रहने आयोजकले जनाएको छ । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुनेछ । आइतबार राती मार्टको समापन हुने जानकारी दिए ।

साताको शेयर बजारः दुई अर्ब ५६ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक ३७ विन्दुले बढेको छ । साताभर नै बजारले उकालोको यात्रा तय गर्यो । कूल १७३ कम्पनीका ८२ लाख ५४ हजार ९३३ कित्ता शेयर दुई अर्ब ५६ करोड ७४ लाख ८० हजार १९७ रुपैयाँ मूल्यमा खरिदबिक्री भए । कारोवारका आधारमा दुई अर्ब रुपैयाँ माथि पुगेको छ । पछिल्ला दिनमा नेप्सेले उकालोको यात्रा तय गर्दा शेयर लगानीकर्तामा समेत एक प्रकारको उत्साह पैदा भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से कारोवारको शुरुआती दिनदेखि नै उकालोको यात्रा तय गरेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको थियो । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर २८ करोड ७५ लाख २७ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको दोस्रो दिन सोमबार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुग्यो । सो दिन कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरिदबिक्री भए । उकालोको यात्रा तय गरेको नेप्सेले मङ्गलबार पनि सोही गति पछ्यायो । सो दिन नेप्सेमा २.४८ विन्दुले सुधार भई एक हजार १५१.३६ विन्दुमा पुग्यो । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए । बुधबार नेप्से परिसूचक १० अङ्कले बढ्यो । कूल १०।११ अङ्कले बढेर एक हजार १६१.४७ मा नेप्से पुग्दा कूल १७३ कम्पनीको २० लाख ४३ हजार ६०५ कित्ता शेयर ५५ करोड १३ लाख ७७ हजार ८५२ रुपैयाँमा खरिदबिक्री भए । यस्तै साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भई बजार बन्द भयो । सो दिन नेप्से ११।१७ अङ्कले बढेर नेप्से एक हजार १७२.६४ पुग्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि बढोत्तरी भयो । कूल १६८ कम्पनीका २१ लाख दुई हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ रुपैयाँमा खरिदबिक्री भए । रासस

द्रुतमार्ग निर्माण द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना, भौतिक प्रगति ८० प्रतिशत

काठमाडौं । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा रहेको छ । सेनाले विभिन्न १० स्थानमा वेसक्याम्प खडा गरेर निर्माणलाई गति मात्रै दिएको छैन, मुलुकको पहिलो द्रुत मार्ग निर्माणलाई प्रत्यक्ष रुपमा नेतृत्वसमेत गरेको छ । निर्माणको गति र भइरहेको कामको प्रगतिका आधारमा चालु आवको अन्त्यसम्म सेनाले सडकतर्फको सबै काम सम्पन्न हुनेछ । कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न ३० प्याकेजमा काम भइरहेको छ । सडक निर्माणको काम अन्तिम चरणमा पुग्ने क्रममा रहेसँगै सेनाले सुरुङ र पुल निर्माणका लागिसमेत प्रक्रिया शुरु गरिसकेको छ । द्र्रुत मार्गमा तीन वटा सुरुङ निर्माण हुनेछ । आयोजनाको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । यस्तै धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ निर्माण गर्ने तयारी छ । सुरुङ मार्ग निर्माणका लागि परामर्शदाता छनोटको प्रक्रिया शुरु भइसकेको छ । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका कूल छ वटा संस्थाले आशयपत्र पेश गरेका छन् । परामर्शदाता छनोटसँगै सुरुङ र पुल निर्माणको प्राविधिक तयारीले पूर्णता पाउनेछ । आगामी फागुनसम्म सो कार्य सम्पन्न गरी पुल र सुरुङका लागि निर्माण व्यवसायी छनोट गर्ने प्रक्रिया अगाडि बढ्नेछ । कालोपत्र गर्ने तहको सडक निर्माण सम्पन्न भएसँगै सुरुङ र पुल निर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य सेनाले राखेको छ । कूल ७२.५ किलोमिटर लामो द्रुतमार्गमा पहिले ९६ वटा पुल निर्माण हुने भनिए पनि स्वीकृत डिपिआरमा ८६ पुल निर्माण हुने उल्लेख छ । चार लेनको सडकमा समथर भू–भागमा २७ मिटर चौडाइ र अरू ठाउँमा २५ मिटर चौडाइ हुनेछ । आयोजनामा तीनवटा सुरुङको लम्बाइ छ दशमलव ४१ किलोमिटर र पुलको लम्बाइ १० दशमलव ५९ किलोमिटर हुनेछ । सेनाले जटिल मानिएका ठूला १६ पुलको निर्माण आगामी २०७७ सालको पुसमा शुरु गर्नेछ भने ती बाहेकका अरू पुलको निर्माण आगामी भदौदेखि शुरु गर्ने बताइएको छ । नेपाली सेनाको द्रुत मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखाका प्रमुख सेनानी विश्वबन्धु पहाडीले भने, “राष्ट्रिय गौरवको त्यसमाथि हालसम्मकै ठूलो आयोजना निर्माण प्रक्रिया द्रुत रुपमा नै अगाडि बढेको छ । हाल आयोजनाको सडक खण्डमा पर्ने क्षेत्रमा कटान तथा माटो भर्ने काम भइरहेको छ । यो काम आगामी असार मसान्तभित्रै सम्पन्न हुँदैछ ।” आयोजनामा पुल र सुरुङ बाहेकको खण्ड ५५.५ किलोमिटर हुनेछ । त्यसमध्ये कूल ३१ किलोमिटरको काम करीब सम्पन्न भएको छ । द्रर्त मार्ग आयोजना कार्यान्वयन तथा अपरेशन महाशाखा प्रमुख पहाडीका अनुसार बाँकी सडकको ‘ट्र्याक’ खोल्ने काम पनि ८० प्रतिशत सकिएको छ । पहाडीले भने, “हाल सडकका लागि खन्ने, सम्याउने काम भइरहेको छ । यस्तै कतिपय स्थानमा सेना आफैँले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरी ‘ब्लास्टिङ’ गर्ने, पर्खाल लगाउने लगायत काम पनि भइरहेको छ । आयोजनाको पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा हुने प्रमुख सेनानी पहाडीको भनाइ छ । उनका अनुसार हालसम्म कूल एक करोड ३५ लाख घनमिटर माटो ‘कटिङ’ भएको छ भने भने १५ लाख घनमिटर ‘फिलिङ’ गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजनाको महत्वलाई आत्मसात् गर्दै पारदर्शी एवम् निष्ठापूर्वक काम गर्न आफूहरुलाई दिएको निर्देशनअनुसार नै आफूहरु पूर्णरुपमा कटिबद्ध भई परिचालित भएको प्रमुख सेनानी पहाडीको भनाइ छ । सेनाले राष्ट्रिय निर्माण व्यवसायीलाई जिम्मा दिएको खण्डमध्ये अधिकांश स्थानमा दिनरात नभनी काम भइरहेको छ । असारसम्म सडकको काम सक्ने लक्ष्यका साथ दिनरातै काम भइरहेको निर्माण व्यवसायीको भनाइ छ । कालिका, दिवा गीताञ्जली जेभीका कर्मचारी अञ्जन केसीले रातको समयमा समेत काम भइरहेको बताउनुभयो । डोजर र एक्साभेटरले दिनरात सडक खन्ने, सम्याउने, काट्ने काम गरिरहेका छन् । दिनमा हुने काम दिनमा र रातको समयमा समेत गर्न मिल्ने काम राति भइरहेको नेपाली सेनाको महादेवटार बेसक्याम्पका प्रमुख एवम् प्राविधिक सेनानी निरोज केसीले जानकारी दिए । यस्तै सिस्नेरी बेस क्याम्पका प्रमुख एवम् प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार आयोजनालाई गति दिने लक्ष्यका साथ ब्लास्टिङ लगायतको काम द्रुतत्तर गतिमा अगाडि बढिरहेको बताए । “कठिन पहाडमा सडकको ‘एलाइनमेन्ट’ मिलाउनका लागि ‘ब्लास्टिङ’ गरिएको छ । सेनाको आफ्नै उत्पादनमा तयार पारेको विस्फोटक पदार्थ प्रयोग गरिएको छ”, प्रमुख देवले भने । आयोजनाको कूल खण्डमध्ये ललितपुरमा ७.९ किलोमिटर, काठमाडौँमा चार किलोमिटर, मकवानपुरमा ५३ किलोमिटर र बारामा ७.६ किलोमिटर पर्दछ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७४ वैशाख १२ गते आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही वर्षको जेठ १४ गते निजगढमा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्रीले गरेका थिए । रासस

घोराहीमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम शुरु

काठमाडौं । घोराही उपमहानगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका वडालाई ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरु गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार वडाभित्र छरिएर गरिएका उत्पादनलाई एकीकृत गर्नका लागि एक वडा एक उत्पादनको कार्यक्रम शुरु गरिएको हो । चालुआर्थिक वर्षदेखि शुरु गरिएको उक्त कार्यक्रममा नगरका १९ वडामध्ये पहिलो चरणमा नौ वडामात्रै सहभागी भएका छन् । कृषि शाखाका प्रमुख चोपनारायण खनालले एक वडा एक कार्यक्रमका लागि सबै वडामा मागका लागि पत्राचार गरिए पनि वडा नं ९ ले मात्रै कार्यक्रम माग गरेपछि सोही अनुसार पहिलो चरणको बजेट विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष थप अन्य वडालाई पनि समेटेर कार्यक्रम शुरु गरिने उनले बताए । प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षमा वडा नं १ मा पिँडालु खेती, वडा नं ३ मा आलु, वडा नं ४ मा प्याज, वडा नं ५ मा टमाटर, वडा नं ६ मा आलु, वडा नं १० मा आलु, वडा नं १३ मा पनि आलु, वडा नं १७ मा सिमी र वडा नं १९ मा कागती खेतीका लागि छनोट गरिएको छ । त्यसका लागि शाखाले प्रतिवडा ९५ हजारदेखि दुई लाख रुपैयाँसम्म बीउ वितरणका लागि बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा उपमहानगरले नगर क्षेत्रको कृषि विकासका लागि ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । सोमा उपमहानगरको कृषि शाखाले चालु आवमा जिल्लाका विभिन्न कृषि सहकारीलाई खनजोतका लागि यान्त्रिक सामग्री, गहुँ, तोरी, मकैको बीउ वितरणको काम गरेको छ । उपमहानगरका अनुसार चालु आवमा १८ पावर ट्र्याक्टर वितरण गरेको छ । यस्तै गहुँको बीउ, तोरी, मकै पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको शाखाका कृषि सेवा अधिकृत दीपक बुढाथोकी बताए । उनका अनुसार शाखाले विपन्न परिवारलाई भकारो सुधार, साना सिँचाइ, सहकारी सिँचाइअन्तर्गत पम्पसेट वितरण पनि गरिरहेको छ । जिल्लाको कृषि शाखाबाट हुने सबै प्रकारका सेवा तथा कार्यक्रमका बारेमा शाखाले नियमति रुपमा सञ्चारमाध्यम, वडा कार्यालय र उपमहानगरपालिकाको सूचना बोर्डमा टाँसेर जानकारी दिने गरेको बताए । रासस

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर’, सर्वाेच्चकाे आदेशले सरकार पछि नहट्ने

काठमाडौं । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ शुरु हुन अब दुई साता मात्रै बाँकी छ । सन् २०२० जनवरी १ तारिखमा काठमाडौंको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ । सरकारले उद्घाटन समारोहमा विश्वका ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइसकेको छ । यो अभियानको नेतृत्वकर्ता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको भ्रमण वर्षको मुख्य तयारी र नीतिगत सुधारका काममा व्यस्त छन् । नेपाली राजनीतिमा आशा र भरोसा गरिएका युवा नेतामध्येका एक भट्टराई आफूले परीक्षाकै रुपमा मन्त्रालयको नेतृत्व लिइरहेको र आफ्नाबारेमा वस्तुगतरुपमा मूल्याङ्कन गरिदिन आग्रह गरे । मन्त्री एवं सत्तारुढ नेकपाका स्थायी कमिटीका सदस्य भट्टराईसँग नेपाल भ्रमण वर्षको तयारीलगायत मन्त्रालयको कार्यभारसँग सम्बन्धित विविध विषयमा गरिएकाे अन्तरवार्ता  । हालै नेपालमा दक्षिण एशियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न भएको छ, यसले नेपाल भ्रमण वर्षलाई कुन रुपमा सघाएको ठान्नहुन्छ ? नेपालमा साग ऐतिहासिकरुपमा सम्पन्न भएको छ, नेपाली खेडालीले उत्साहजनक परिणाम पनि दिएका छन् । व्यवस्थापकीय, पूर्वाधार, नेतृत्वको क्षमता वा बाह्य प्रस्तुतिजस्ता सबै दृष्टिकोणले साग भब्य भएको छ । यसले नेपालीको आत्मबल बढाएको छ । यस आयोजनाले नेपाल जस्तोसुकै अन्तरराष्ट्रिय कार्यक्रमको आयोजना गर्न सक्षम छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौँ । हामी यसअघि पनि विभिन्न अन्तरराष्ट्रिय सम्मेलन र उच्चस्तरीय भ्रमण नेपालमा सफल गराइसकेका छौँ । सागका अवसरमा भएका विभिन्न सम्बोधन र भेटघाटले भ्रमण वर्षको तयारीलाई महत्वपूर्ण टेवा दिएको छ । सागका अवसरमा आएका विशिष्ट पाहुनासँग भ्रमण वर्षका लागि तपाईंको विशेष छलफल भयो कि । सागका अवसरमा उद्घाटन र समापानका साथै खेलहरु हेर्न जाने क्रममा मेरो खेल क्षेत्रका अन्तरराष्ट्रिय निकायका प्रतिनिधि, सेभ द मिसनसँग अनौपचारिक भेटघाट र कुराकानी भयो । उहाँहरु भ्रमण वर्षबारे जानकार नै हुनुहुँदो रहेछ । उहाँहरुको सद्भाव र समर्थन सम्पूर्णरुपमा हाम्रो नेपाल भ्रमण वर्षका लागि रहेको महसुस गरे । त्यसकारण हामीले भ्रमण वर्ष तयारी गरिरहँदा सागको नेपालमा आयोजना हुनु एक सुखद् संयोगमा रुपमा लिनुपर्छ । राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटीका पदाधिकारीले पनि उहाँहरुलाई भ्रमण वर्षको तयारीबारे अवगत गराउनुभएको रहेछ । त्यो कुरा उहाँहरुको मन्तव्यमा पनि व्यक्त भयो । स्वयं सम्माननीय प्रधानमन्त्रीको समापन सम्बोधनमा यो विषय परेको थियो । विभिन्न गतिविधिहरु त भइरहेका देखिन्छन्, अहिले नेपाल भ्रमण वर्षको समग्र तयारी कुन रुपमा भइरहेको छ ? भ्रमण वर्ष खासमा हामीले सन् २०२० लाई लक्षित गरेर घोषणा गरे पनि यो निरन्तर चलिरहने प्रक्रिया हो । भ्रमण वर्ष सन् २०२० को जनवरी १ मा शुरु भएर डिसेम्बर ३० मा सकिने विषय होइन । अब नेपालमा ‘पर्यटनका लागि एक दशक’ भन्ने नाराका साथ हामी एक योजना बनाएर अघि बढ्छौं । विशेष गरी अहिले जनवरी १ को उद्घाटन शत्रको तयारीमा हामी जुटेका छौँ । देशभित्र जनवरी १ मा काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा र देश बाहिर जनवरी ७ मा एकसाथ भ्रमण वर्षको उद्घाटन हुनेछ । अहिले हामी यसको मुख्य तयारीमा छौं । तयारीका लागि विभिन्न सरोकारवाला सङ्घ सङ्गठनसँग मैले नियमितजसो छलफल र अन्तरक्रिया गरिरहेको छु । साथै भ्रमण वर्षको सचिवालय, नेपाल पर्यटन बोर्ड, मन्त्रालयका सबै जनशक्ति यसमा सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेका छौं । हामीले सम्पूर्ण ध्यान यसमा लगाएका छौं । भ्रमण वर्षको उद्घाटन समारोहमा कति देशका कस्ता विशिष्ट व्यक्ति सहभागी हुँदैछन् ? भ्रमण वर्षको शुभारम्भ सम्माननीय राष्ट्रपतिबाट त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जनवरी १ का दिन भव्य समारोहकाबीच हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भ्रमण वर्षलाई सफल बनाउन विश्व समुदायलाई विशेष आह्वान गर्नुहुनेछ । यसका लागि देशभित्रका सबै राजनीतिक दललाई हामी निमन्त्रणा गर्छौं । मन्त्रिगण, उच्च सरकारी अधिकारी, राज्यका सबै अङ्ग र निकाय, सुरक्षा निकाय प्रमुख र उच्च कर्मचारीका साथै उद्योगी, व्यवसायी, नागरिक समुदायलगायत सम्पूर्ण क्षेत्रलाई भ्रमण वर्षको समारोहमा निमन्त्रणा पठाउँछौं । अन्तर्राष्ट्रिय हिसाबले पनि यसलाई भव्यता दिन हामीले विभिन्न देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरेका छौं। करिब ४० देशका पर्यटनमन्त्रीलाई हामीले निमन्त्रणा पठाएका छौँ र पाहुनाहरुको निरन्तर ‘फलोअप’ भइरहेको छ । कति देशका कस्ता विशिष्ट व्यक्ति आउनुहुन्छ भन्ने उहाँहरुको ‘कन्फरममेसन’ पछि हामी केही दिनभित्रै सार्वजनिक गर्छौं । उद्घाटनकै लागि हामीले पर्यटन क्षेत्रसँग क्रियाशील विभिन्न अन्तरराष्ट्रिय सङ्घ संस्था, अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसमेतलाई निमन्त्रणा गरेका छौं । पर्यटकीय पूर्वाधारको क्षेत्रमा सुधार आइनसकेको स्थितिमा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सकिएला त ? यस्तो हुन सक्छ, सबै पूर्वाधार पूरा गरौं, अनि पर्यटकलाई बोलाउ भन्ने कुरा युक्तिसङ्गत होइन । पूर्वाधारको काम पनि सँगसँगै हुँदै गर्छ, पर्यटन प्रवद्र्धनको काम पनि हुदैँ गर्छ, त्यसकारणले नै नेपालमा अब अर्थतन्त्रको प्रमुख जग पर्यटन हो भन्ने कुरा स्वीकारेर नेपाल सरकारले पर्यटन पूर्वाधारमा पर्याप्त लगानी बढाएको छ । निकट भविष्यमै भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । एक वर्षपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भइसक्छ । यहीबीचमा हामी बारामा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको थालनीतिर धेरै सकारात्मक ढङ्गले अघि बढिसकेका छौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुदृढीकरण र विस्तारको काम पनि हामीले एक साथ अघि बढाउँदैछौँ । देशभरिका ५३ वटा आन्तरिक विमानस्थलको सेवा विस्तार र भौतिक पूर्वाधारको स्तरोन्नतिका साथै सबै विमानस्थलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्ने गरी लागिपरेका छौं । अर्को पक्ष, पर्यटन गन्तव्यसम्म पुग्नका निम्ति सडक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने छौं । काठमाडौं नजिकका पर्यटकीय गन्तव्यमा जान असहज सडकमार्गको सुदृढीकरण तथा उपत्यकाको वातावरण प्रदूषण नियन्त्रणका कार्यक्रम पनि अघि बढाइनेछ । साथै, भ्रमण वर्षकै सिलसिलामा ‘काठमाडौं भ्याली बाई नाइट’ कार्यक्रम पनि सञ्चालन गर्दैछौं । काठमाडौं, ललितपुर र भक्तपुरको दरबार क्षेत्रलाई बेलुका पनि भ्रमण तथा अवलोकन गर्न सक्ने गरी त्यसको लाइटिङको व्यवस्थालगायत सम्बन्धित स्थानीय तहसँग समन्वय गरिरहेका छौं। पर्यटनलाई राजधानीकेन्द्रित मात्रै गरिनुहुन्न र उपत्यका बाहिरका गन्तव्यको प्रभावकारी प्रवद्र्धनका निम्ति सरोकारवालासँग लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल र पहलकदमी भएको छ । पछिल्लो समय म आफैँले पाँचवटा पाँचतारे होटल सञ्चालनका लागि स्वीकृति दिएको छु । नेपालमा भ्रमण वर्षको तयारी पुगेन भन्ने सरोकारवालाको गुनासो सुनिन्छ, कतै भ्रमण वर्षको घोषणामा हतार भएको त होइन ? भ्रमण वर्षको तयारी पुगेन भन्ने कुरा स्वभाविक हो किनभने तयारी जति हुनुपर्ने थियो त्यति नभएको हुनसक्छ, तर केही पनि नभएको भने होइन । हामी अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यमा जाने र नेपालको कुरा राख्ने काम भएको छ । विदेशी सञ्चारमाध्यममा नेपाल भ्रमण वर्षको प्रचारप्रसार भइनैराखेका छन् । देशभित्र पटकपटक हामीले निजी पर्यटन व्यवसायी र नीति निर्मातासँग अन्तरक्रिया गरेकै छौं र प्रक्रिया अगाडि बढेकै छ, हो र यसमा सन्तुष्टि लिनु हुँदैन सन्तुष्टिले अगाडिको बाटो बन्द हुन्छ । त्यसैले तयारी जति हुनुपथ्र्यो, त्यति नभएको कुरालाई स्वीकार्दै अब भएका अपूर्णतालाई परिपूर्ति गर्ने ढङ्गले अगाडि बढ्नुपर्छ । भ्रमण वर्षको सचिवालय सक्रिय ढङ्गले लागेकै छ । बोर्डको सम्पूर्ण टिम त्यसमा लागि राखेको छ । नेपाल सरकारको तर्फबाट हालैको मन्त्रिपरिषद् बैठकबाट सम्बन्धित मन्त्रालयले भ्रमण वर्षका लागि गर्नुपर्ने कामका लागि निर्देशन प्राप्त भइसकेको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई भ्रमण वर्षका लागि आवश्यक परिचालन गरिएको छ । गैरआवासीय नेपाली सङ्घसँग सम्झौता गरिएको छ । सबै निजी व्यवसायीलाई उत्साहका साथ लाग्न अनुरोध गरिएको छ । जे जे गर्नुछ, हामी गर्दै जानेछौं । हामीले पर्यटनको विश्वव्यापी प्रचारका लागि आवश्यक सामग्रीसहित सन्देश लगेका छौं । भ्रमण वर्ष सचिवालयको नेतृत्व अनुपयुक्त भन्ने आलोचनालाई के भन्नुहुन्छ ? कतै तालमेल नमिलेको रहेछ भने त्यसलाई मिलाउँदै लान्छौँँ । अहिले कसैको आलोचना र टिप्पणीमा समय खर्च गर्ने पक्षमा म छैन । सबै जिम्मेवार निकायले आफूलाई दिएको जिम्मेवारी पूरा गर्नुपर्छ, जुनसुकै शर्तमा पनि । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतको हाराहारी मात्रै छ, यस क्षेत्रको योगदान विस्तार गर्ने नीतिगत योजना के छ ? हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हालको ३ प्रतिशतबाट योगदानलाई १० प्रतिशत पुर्याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजना छ । वार्षिक ४४ अमेरिकी डलरबाट ८० डलर खर्च गर्न सक्ने पर्यटकको क्षमता बढाउनुपर्छ र उनीहरुको बसाई लम्ब्याउनुपर्छ । आगामी १५ औँ पञ्चवर्षीय योजनामा हरेक वर्ष कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको हालको ३ प्रतिशतबाट योगदानलाई १० प्रतिशत पुर्याउने र पर्यटन क्षेत्रमा हरेक वर्ष एक लाख ५० हजारदेखि दुई लाखसम्म रोजगारी सिर्जना गर्ने योजना छ । वार्षिक ४४ अमेरिकी डलरबाट ८० डलर खर्च गर्न सक्ने पर्यटकको क्षमता बढाउनुपर्छ र उनीहरुको बसाई लम्ब्याउनुपर्छ । देश तथा विदेशबाट लगानीमैत्री वातावरण बनाउनुपर्छ भनिएको छ । यो लक्ष्य पूरा गर्न नै हामीले पूर्वाधार विकासमा जोड दिन थालेका छौँ । पर्याप्त पूर्वाधार विकास र पर्यटकलाई सेवा नदिइकन उनीहरु पैसा खर्च गर्न आउँदैनन् । त्यसका लागि सबै हिसाबले वातावरण तयार गरिदिनुपर्छ । त्यस कारण हामीले सन् २०२० लाई आधार वर्षका रुपमा लिएका हौँ । यसले हाम्रो आत्मविश्वास बढाउँछ । छिमेकी मुलुक भारत र चीनका उच्च नेतृत्व तथा एशियाली मुलुकका विभिन्न उच्च पदाधिकारीको भेटले हामीलाई उत्साहित बनाएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा दूरगामी महत्व पनि राख्नेछ । युरोपेली आयोगले राखेको कालोसूची हटाउन, आइकाओको आवश्यक मापदण्ड पूरा गर्न र आवश्यक संवाद गर्न पनि हामी लागेका छौँ । सुरक्षित र सुरक्षामा हामी कुनै पनि सम्झौता नगरीकन नागरिक उड्डयनको कार्यक्षेत्रलाई प्रस्ट बनाउनेगरी आउँदो हिउँदे अधिवेशनमा कानून पेस गर्दैछौं। भ्रमण वर्षमा प्रदेश सरकार र स्थानीय सरकारबीच के कस्तो समन्वय भइरहेको छ ? भ्रमण वर्षको मूल आयोजक समितिमा प्रदेश सरकारका मुख्य मन्त्रीहरु र प्रदेशका पर्यटनमन्त्रीहरु पनि हुनुहुन्छ । साथै सबै प्रदेशमा पर्यटनमन्त्रीको संयोजकत्वमा भ्रमण वर्ष २०२० प्रदेशस्तरीय मूल आयोजक समिति गठन गरिएको छ । केन्द्रमा पर्यटनमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति छ । हरेक जिल्लाका प्रमुखको संयोजकत्वमा समिति र स्थानीय निकायमा पनि प्रमुखको संयोजकत्वमा समिति गठन गर्न पहल गरिएको छ । नयाँ गन्तव्य प्रवद्र्धन र पर्यटनको लाभ स्थानीय जनतासम्म पु¥याउनुपर्ने दायित्वअनुरुप हामी योजना बनाएर काम अघि बढाइरहेका छौँ । रुख कटानको विषयको मुद्दामा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ, यसले निर्माण कार्य प्रभावित हुन्छ कि हुँदैन ? निजगढ अन्तरराष्ट्रिय विमानस्थल एक निर्विकल्प विकल्प हो, यसमा सरकार पछि हट्दैन । यसको अरु विकल्प छैन । यो विमानस्थल नेपालको निम्ति एउटा ‘गेम चेन्जर’ आयोजना हो । विशेषज्ञले दर्जनौँ ठाउँका अध्ययन गरेपछि यो उपयुक्त स्थल किटान भएको हो । त्यस आधारमा राजनीतिक नेतृत्वले यस आयोजनालाई आत्मसात् गर्दै अगाडि बढाएको हो । र, अहिले सरकार निजगढबाट पछि हट्ने अवस्था छैन । यो अगाडि बढिसक्यो । त्यहाँ जति पनि प्रश्न उठेका छन् हामी त्यसको व्यवस्थापन गछौँ । वातावरणीय दृष्टिकोणले के गर्नुपर्छ, वातावरण जोगाउन, त्यो हामी गर्नेछौँ । हामी वातावरणीय सुरक्षामा सचेत छौँ । गौरवका साथ भन्नुपर्छ कि नेपालको ४५ प्रतिशत हिस्सा जङ्गलले ढाकेको छ र विश्व वातावरण सन्तुलन कायम गर्न यसले महत्वपूर्ण योगदान गरेको छ । हाम्रा हिमालबाट आएको पानी विश्वका कैयौँ मानिसको बाँच्ने आधार बनेको छ । त्यसैले सरकार वातावरण सन्तुलनप्रति सचेत हुँदै वातावरणीय पक्षलाई कम क्षति हुने गरी अघि बढ्छ । हामीले अन्तरमन्त्रालय छलफल र परामर्श गरेका छौँ । यसबारे लगानी बोर्डसँग पनि छलफल गरेर निचोडमा पुगिसकेका छौँ, त्यसैले हामी यो आयोजना निर्माणको पूर्वतयारीको अन्तिम चरणमा पुगेका छौँ । तपाईले त निजगढ विमानस्थल मङ्सिरभित्र शिलान्यास गर्छौं भन्नुभएको थियो, आखिर त्यो सम्भव नहुने भयो ? मङ्सिरमा शिलान्यास गर्ने मैले भनेको हुँ, त्यसका निम्ति पूर्वतयारीको काम अन्तिम चरणमा पुगेको छ । छिट्टै मनित्रपरिषद्को बैठकबाट पूर्वतयारीको कामको स्वीकृति लिएपछि शिलान्यासको कामको प्रक्रिया अघि बढ्छ । कुनै पनि नागरिक अदालतमा जान पाउनु उसको नैसर्गिक अधिकार हो । सम्मानित अदालतले नेपालको विकास र सरकारले अघि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहनालाई सार्थक पुग्ने गरी विवेकसङ्गत ढङ्गले निर्णण गर्छ भन्ने मैले विश्वास लिएको छु । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कहिलेबाट सञ्चालनमा आउँला ? गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने र त्यहाँबाट हवाई उडान शुरु गर्ने समयावधि ९सन् २०२० को मार्चभित्र० किटान गरेका छौँ, त्यही समयमै सकिनुपर्छ । यो धराशायी अवस्थामा रहेको आयोजनालाई हामीले यहाँसम्म ल्याएका छौँ । हामी यो देखाउन चाहन्छौँ कि नेपालमा ठूला आयोजना असफल छन्, समयमा सम्पन्न हुँदैनन् भन्नेलाई नेपालले ठूला राष्ट्रिय गौरवका आयोजना समयमै सफलतापूर्वक सम्पन्न गर्ने क्षमता राख्छ भन्ने सन्देश यही विमानस्थलबाटै प्रमाणित गर्न चाहन्छौं । त्यहाँ मैले र मन्त्रालयका सचिवले स्थलगत अवलोकन गरी दैनिक प्रगति विवरण लिइरहेका छौँ, अहिले विमानस्थलको भौतिक प्रगति ९० प्रशितभन्दा माथि छ । मलाई विश्वास छ, हामी निर्धारित समयमै सञ्चालन गर्छौं । सञ्चालनको पूर्वतयारी पनि एकसाथ गरिरहेका छौं । विमानस्थलको निर्माणसँगसँगै, भन्सार, अध्यागमन, इन्धन व्यवस्थापन आदिको काम टुङ्ग्याइसकेका छौँ । नेपाल वायु सेवा निगम सुधारका लागि गठित कार्यदलको प्रतिवेदन कार्यान्वयनको क्रम कहाँ पुग्यो ? अहिले हामी निगमको आन्तरिक सुधारको प्रक्रियाबाट अघि बढिरहेका छौं। त्यसका निम्ति हाल गठिन नयाँ कार्यदल र पुराना बनेका कार्यदलका सुझाव प्रतिवेदनका आधारमा काम अघि बढाइएको छ । प्रतिवेदन र सरोकारवालाको समान मत के छ भने निगमलाई अहिलेको अवस्थाबाट सुधार्नैपर्छ, निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गरेर यसको वित्तीय क्षमता बढाउनुपर्छ । आन्तरिक र अन्तरराष्ट्रिय उडानका लागि थप जहाज खरिद गर्नुपर्छ । कुन मोडलबाट पारदर्शी खरिद गर्ने यो तय गरिनुपर्छ । यो संस्थाका लागि हामी अन्तरराष्ट्रिय साझेदार पनि खोज्छौँ । यसले हाम्रो अन्तरराष्ट्रिय सम्बन्ध बलियो बनाउँछ । यही प्रक्रियाबाट मन्त्रालय अघि बएको छ, व्यवस्थापन सुधारको काममा पनि लागेको छ । निगमको संस्थागत सुधारका निम्ति वर्तमान नेतृत्व परिवर्तन गर्ने कुरा पनि उठेको थियो नि ? मन्त्रालयको तर्फबाट मैले निगमका कार्यकारी अध्यक्ष र उहाँहरुको टिमलाई यसको व्यावसायिक क्षमता बढाउने, सङ्गठनात्मक संरचना चुस्ता बनाउने र सेवा क्षमता बढाउने सन्दर्भमा केही प्रश्नसहित कार्ययोजना मागेको छु । कार्यकारी प्रमुखले दिनुहोला । एक चरण ब्रिफिङ पनि गरियो । अब आउने कार्ययोजनामा मन्त्रालयले छलफल गर्नेछ । उहाँहरुको कस्तो प्रस्तुति रहन्छ, सोही आधारमा निर्णय हुन्छ । कुनै पनि मानिसले यदि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नसक्ने स्थिति रहेन वा कहिलेकाहीँ त्यो परिस्थितिले प्रतिकूल हुनसक्छ, त्यस्तो हो भने जिम्मेवार व्यक्तिले ठाउँ ओगटेर संस्थालाई डुबाउनुभन्दा बाटो खुल्ला गरिदिएर त्यो संस्थालाई अगाडि आउने मौका दिनुपर्छ । यो शाश्वत कुरा हो । मन्त्रालयको जिम्मेवारीमा पर्यटनका साथै संस्कृति नागरिक उड्डयनको क्षेत्र पनि पर्छ । अहिले भ्रमण वर्षमा मात्रै केन्द्रित हुँदा ती पक्ष ओझेलमा परेको महसुस त गर्नुभएको छैन ? वास्तवमा यो मन्त्रालय देख्दा एउटा भए पनि कामको हिसाबले संस्कृति, पर्यटन र नागरिक उड्डयन गरी तीनवटा कार्यक्षेत्रको जिम्मेवारी छ । कामको हिसाबले नागरिक उड्डयनको बढी प्रसङ्ग आउँछ, यहाँ स्वभाविकरुपमा ठूला परियोजना सञ्चालित छन् । भ्रमण वर्षको महत्वलाई पनि ध्यान दिनैप¥यो । संस्कृतिको पक्ष ओझेलमा परेको भन्ने मलाई बारम्बार गुनासो आइरहेको छ । हामीले भ्रमण वर्ष मनाइरहँदा प्राकृतिकस्थल मात्र होइन सम्पदा प्रवद्र्धन तथा सांस्कृतिक पदमार्ग विकासको काम पनि अघि बढाइरहेका छौँ । तपाईं मन्त्री बन्ने र नबन्ने भन्ने लामो प्रतीक्षापछि यो जिम्मेवारीमा आउनुभएको छ, आफ्नै अनुभवमा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कस्तो अनुभव गर्नुभएको छ ? सम्माननीय प्रधानमन्त्रीले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ । र, आम जनताले मबाट जून आशा र भरोसा गरेका छन् । जनताको आशा टुट्न नदिने र प्रधानमन्त्रीको विश्वास पनि टुट्न नदिने उद्देश्य लिएर मैले सकेको काम गर्नेछु । पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको मन्त्रालयगत कार्यप्रगतिमा पर्यटन मन्त्रालय पछि परेको भन्ने आयो नि ? यसबारे जुन मिडियामा समाचार आयो, म आफैँ छक्क परेको छु । यही मङ्सिर ९ गते प्रधानमन्त्रीको उपस्थितिमा भएको बैठकमा सम्पूर्ण मन्त्रालयको कामको बारेमा समीक्षा भएको थियो । त्यहाँ प्रस्तुत गरिएको विवरणमा हाम्रो मन्त्रालयले त्यसअवधिमा सम्पन्न गर्नुपर्ने आयोजना जम्मा २९ वटामध्ये छ वटा सम्पन्न भएको र चालू १७ र शुरु भएका छ वटा रहेको प्रस्तुत गरिएको थियो । त्यहाँ प्रस्तुत भएको तथ्याङ्कमा हाम्रो मन्त्रालयको चौमासिक प्रगति पूँजीगत खर्च ४७ दशमलव ९ प्रतिशत थियो । यो वार्षिक बजेटको १४ दशमलव ९ प्रतिशत हो । त्यसकारण हाम्रो मन्त्रालयको कामको प्रगति एकदम उत्कृष्ट थिएन तर औसतभन्दा माथि हो । अब प्रथम चौमासिकमा हुन नसकेको कामलाई दोस्रो चौमासिकमा अघिल्लो चौमासिकमा पूरा हुन नसकेका कामको पूर्ति गर्नेछौँ । भनेपछि तपाईं एक सफल मन्त्री भएर निस्कनुहुनेछ ? त्यो त मैले आफैँ सफलताको प्रमाणपत्र दिन मिल्दैन । कपी जाँच गर्नेहरुले दिने कुरा हो । मैले सकेको काम गर्ने हो । स्वार्थ समूहका कारण चाहेर पनि कतिपय राम्रा गर्न सकिँदैन भनिन्छ रु पूर्वमन्त्रीका अनुभव पनि त्यस्तै आउने गर्छन् रु तपाईँले स्वार्थ समूहको दबाब महसुस गर्नुभएको छ ? यो समाज र दुनियाँमा अनेक स्वार्थमा मानिस छन् । नहुने कुरा भएन । मुख्य कुरा हामीलाई राज्यले दिएको मिसन के हो रु हाम्रो संसद्बाट पारित भएको नीति, कार्यक्रम र बजेट के हो रु हाम्रो दीर्घकालीन लक्ष्य के हो त्यसमा हिँड्नुपर्छ । स्वार्थ समूहसँग लड्नुपर्छ । त्यसको विकल्प छैन । न्यायोचितरुपमा अघि बढ्नुपर्छ । स्वार्थ समूहका प्रवृत्तिसँग डराएर रुँदै हिँड्नु हुँदैन । एक वर्ष अघि नेकपाको स्थायी कमिटीको बैठक र सरकारको समीक्षा माग गर्नेमध्ये तपाईं पनि हुनुहुन्थ्यो । अब मन्त्री पनि हुनुभएको छ र पार्टीको स्थायी कमिटी बैठक यही मङ्सिर २९ गतेका लागि तय भएको सन्दर्भमा के भन्नुहुन्छ ? झण्डै एक वर्षपछि हाम्रो पार्टीको स्थायी कमिटीको बैठक बस्दैछ । यसबीचमा पार्टी एकताका काम मूलभूतरुपमा सम्पन्न भएका छन् । सरकारमा आएको दुई वर्ष हुन लागेको छ । सरकारले ठूला आयोजना सम्पन्न गर्दैछ । इतिहासमै बढी पूँजीगत खर्च भइरहेको छ । मेलम्ची, माथिल्लो तामाकोशी, भेरी बबई, पेट्रोलियम पाइपलाइन आदि आयोजनाको सफल प्रगति भएका छन् । विश्व समुदायलाई लगानीको वातावरणका लागि नयाँ वतावरण सिर्जना भएको छ । नेपालको आत्मबल बढेको छ । व्यापार घाटा घटेको छ । मूल्यवृद्धिको दर प्रतिकूल छैन । त्यसकारण हामी घोषणा गरिएका कार्यक्रमलाई पूरा गर्ने दिशामा जान्छौँ । यसबीचमा हाम्रा राम्रा पक्ष र कमजोरी के भए भन्नेमा ठीक ढङ्गले समीक्षा गरेर जानुपर्छ । पार्टीको बैठकमा सरकारतर्फबाट भएका कामको यथार्थ विवरण दिनुपर्छ र पार्टी नेतृत्व र बैठकले दिएका निर्देशन पालना गर्नुपर्छ । सरकार र पार्टीको समन्वयका लागि वा कुनै समस्या भए सच्याउन कुनै समस्या छैन । स्वयं एकजना पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । अर्का अध्यक्षसँग प्रधानमन्त्रीको नियमित सम्पर्क र सूचना आदान प्रदान भइरहेको थाहा भएको छ । हामीमा कही असझदारी छन् भने हटाउँदै लाने र आगामी निर्वाचनमा अहिलेको भन्दा राम्रो परिणाम ल्याउने मिसनमा जानुपर्छ । मैले भन्ने गरेको छु कि अब निर्वाचनमा नेकपाले अक्षरमात्र बोकेर जाँदैन, अङ्कहरु पनि बोकेर जान्छ । हामीले यतिरयति काम गरेका छौँ र अब योरयो गर्न हामीलाई मत चाहियो भन्नेछौं । (प्रस्तुतिःराष्ट्रिय समाचार समितिका लागि प्रकाश सिलवाल र सिबी अधिकारी)

भ्रमण वर्ष सफल पार्न रेस्टुरेन्ट तथा बारको भूमिकामा जोड

काठमाडौं । नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल९रेवान० र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता (हस्पिटालिटी) तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखे । कार्यशालामा रेवानका अध्यक्ष अरनिको राजभण्डारी र सेफ एशोसिएशनका संस्थापक अध्यक्ष पुष्प थापाले नेपाल भ्रमण नेपालको पर्यटन विकामा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नोपल आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु खान पाउने सुनिश्चित गर्न आफूहरु गम्भीर रहेको बताए । महिला उद्यमी राज्यलक्ष्मी शाक्यले ‘अतिथि देवो भवः’को संस्कारमा हुर्किएका नेपालीले भ्रमण वर्षलाई अवसरको रुपमा लिएको र सरकारले पनि सम्बन्धित सबै व्यवसायीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । सो अवसरमा एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले स्वस्थ्कर खाद्य उत्पादन र सुरक्षा, गेट कलेजका कार्यकारी प्रमुख खेम लाखैले रेस्टुरेन्ट सञ्चालन र फुडमाडौँका कार्यकारी प्रमुख निदान श्रेष्ठले अनलाइन रेस्टुरेन्ट व्यवसायको अवसरसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । रेवानका पूर्व अध्यक्ष किशोरराज पाण्डले आतिथ्यताका क्षेत्रमा आफूले सँगालेका अनुभवहरु राख्नुभएको थियो । कार्यशालामा रेस्टुरेन्ट सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृत गरी करीब ८० जनाको सहभागिता रहेको थियो । रासस

नवीकरणीय ऊर्जा क्षेत्रको अध्ययनका लागि इथियोपियाली विज्ञ नेपालमा

काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जाका प्रविधि, यसको विकास र विस्तारका लागि लागू गरिएका नीति नियमहरु तथा सरकारी र निजी क्षेत्रको सहभागिताको बारेमा सङ्घीय प्रजातान्त्रिक गणतन्त्र इथियोपियाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल बृहत अध्ययन गरेको छ । साताव्यापी अध्ययनको क्रममा नेपाल आएको टोलीले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित परियोजना, विभिन्न प्रविधिहरुको गुणस्तर मापन र नियमनका लागि गठित नवीकरणीय ऊर्जा परीक्षण केन्द्र, नवीकरणीय ऊर्जा कोष परिचान तथा ग्रामीण प्रविधि केन्द्रलगायत विभिन्न गैरसरकारी संस्था र निजी क्षेत्रले गरेका कामहरुका बारेमा पनि अध्ययन गरेको थियो । ठूला क्षमताका जलविद्युत परियोजनाहरु निर्माण गरेसँगै नवीकरणीय ऊर्जाका क्षेत्रमा पनि राम्रो प्रगति हासिल गर्न सफल इथियोपियाली विज्ञ टालीको नेपाल भ्रमणले लगानीका अवसर र ज्ञानको आदानप्रदान गर्न सहयोग पुग्ने नवीकरणीय ऊर्जा परिसङ्घ नेपालका अध्यक्ष गुणराज ढकालले बताए। छोटो समयमै नेपालले नवीकरणीय ऊर्जा क्षेत्रमा निकै प्रगति गरेको र यहाँको नीति, सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रको सहभागिता निकै सह्राहनीय भएको बताउँदै यसबाट आफ्नो देशले धेरै कुरा सिक्न पाएको टोली प्रमुख जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका टेसफाए एलेमाएहुले भने । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष इथियोपियाको आयोजना र नवीकरणीय ऊर्जा परिसङ्घ नेपालको व्यवस्थापनमा आएको अध्ययन टोलीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका तीन र जलश्रोत, सिँचाइ तथा ऊर्जा मन्त्रालयका १२ जना गरी १५ जनाको सहभागिता थियो । भ्रमण पूरा गरी अध्ययन टोली शनिवार स्वदेश फर्किएको छ । रासस

ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द

काठमाडौं । देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन् । उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यवसायीले ठूलो नोक्सान बेहोर्नुपरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिले शुक्रबार भएको राष्ट्रिय भेलाको जानकारी गराउँदै दश दिनसम्म चल्ला बिक्री रोक्ने निर्णय गरेको जनाएको छ । मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने उल्लेख छ । निर्णय कार्यान्वयन गराउन उत्पादन शुरु नभएको प्रदेश नम्बर ६ बाहेक सबै प्रदेशमा सङ्घले समिति बनाएर अनुगमन गर्ने जनाएको छ । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको सो अवसरमा जानकारी दिइएको थियो । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ रुपैयाँका दरले ३३ करोड रुपैयाँभन्दा बढी नोक्सान हुने बताए। पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला २५ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए । नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उहाँले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए। यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो । ह्याचरी उद्योग सङ्घका केन्द्रीय सचिव राजेन्द्र लामिछानेले उद्योग र उपभोक्ता मर्कामा परेको जानकारी दिए । हाल कृषककोबाट जिउँदो कुखुरा १२० देखि १३० रुपैयाँ प्रतिकिलोमा उठेको भए पनि उपभोक्ताकोमा पुग्दा तयारी मासुको मूल्य २६० रुपैयाँ हाराहारी रहेको छ । भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ रुपैयाँपुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ रुपैयाँ पर्दछ । लामिछानेले लागत मूल्य बढ्दै जाने तर बिक्री मूल्य कम भएपछि व्यवसाय सङ्कटमा परेको बताए । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २० अर्ब रुपैयाँ लगानी रहेको भन्दै लामिछानेले लगानीको आधा हिस्सा बैंकको भएको बताए । सरकारले समयमानै सम्बोधन गर्न नसके यो व्यवसाय धारासाही हुने उनको भनाइ छ । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाल सरकारले विगतका वर्षहरुमा विदेशबाट कच्चा पदार्थ आयात गर्दा भन्सार नलिने गरेकोमा आर्थिक वर्ष २०७६र ०७७ देखि भन्सार लिने गरेका कारण दानाको मूल्य वृद्धि भएको बताए । उत्पादन लागत दिन प्रतिदिन वृद्धि हुँदै जाने र उत्पादित वस्तुले उचित मूल्य पाउन नसकेका कारण कुखुराजन्य क्षेत्रमा नकारात्मक प्रभाव परेको विष्टको भनाइ छ । उनका अनुसार कुखुराजन्य उत्पादनका सबै क्षेत्र पछिल्ला वर्षहरुमा लागत मूल्य धान्न नसक्दा सङ्कटमा परेका छन् । नेपालमा कुखुराजन्य क्षेत्रमा भएको लगानीमध्ये आधा हिस्सा चितवनमा रहेको छ । पछिल्ला वर्षमा कुखुरापालनको विस्तार देशैभरि भएको छ । यसबाट झण्डै दुई लाख व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको तथ्याङ्क रहेको छ । रासस