विकासन्युज

स्पर्श लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने बुधबार अन्तिम दिन हो । सेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल सेयर संख्याभन्दा बढी सेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त सेयर निष्कासन बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबारसम्म ५८ करोड रुपैयाँ बराबरको आवेदन भइसकेको छ । जुन मागभन्दा २३ गुणा बढी हो । संस्थाले कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणबाट दुई लाख ५२ हजार कित्ता सेयरमा आवेदन माग गरेको थियो । इच्छुक लगानीकर्ताले बुधबार बैंकिङ कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म सेयर भर्न पाइने छ । संस्थाले कूल २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर निष्काशन गरेको छ । जसमा लघुवित्तका कर्मचारीलाई ४ हजार १४८ कित्ता र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ कित्ता छुट्टाइएको थियो ।

‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ चैत १ गतेदेखि, होल इन वान बिजेतालाई गाडी उपहार

काठमाडौं । नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी चैत १ र २ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा र ३ र ४ ह्यान्डीक्यापमा खेलीने छ । यस टुर्नामेन्टमा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । यस टुर्नामेन्टमा टाइटल विनर(नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, बेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर(६० वर्ष उमेर माथिको), जुनियर विनर(१७ वर्ष उमेर मुनीको), हुण्डार्ई वनर्स क्याटेगोरी विनर, लङ्गेष्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मष्ट विरडाइज क्याटेगोरीमा बिजेता घोषित गरिने छ । यसको साथै होल इन वान बिजेतालाई उपहार स्वरुप एक थान द अल न्यु हुण्डाई सेन्ट्रो गाडी प्रदान गर्ने घोषणा गरीएको छ ।

एसइइ दिने छात्रालाई सेनेटरी प्याड वितरण

पर्वत। एसइइ परीक्षामा सम्मिलित छात्रालाई पर्वतमा सेनेटरी प्याड वितरण गरिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले पर्वतमा सेनेटरी प्याड वितरण गर्ने भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका महिला अधिकृत गुमा वाग्लेले अनुसार प्राकृतिक नियमानुसार छात्रामा हुने महीनावारीलाई सहजरुपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताए। चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा पर्वतमा दुई हजार ८७४ विद्यार्थी सहभागी हुँदैछन् । पर्वतमा तोकिएका १९ परीक्षा केन्द्रमा एक हजार ४३७ छात्र र एक हजार ४३७ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ पर्वतलाई रु १३ हजार रकम बराबरको चेक प्रदान गरेको छ । चेक रकम ग्रहण गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि पौडेलले छात्रा परीक्षार्थीका लागि सामाजिक विकास मन्त्रालयले प्रशंसनीय सहयोग गरेको बताए। सामाजिक विकास मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै रु पाँच लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयका महिला विकास निरीक्षक देवी शर्माले जानकारी दिए। जिल्ला शिक्षा विकास समन्वय एकाइ पर्वतका प्रमुख उद्धिमराज पौडेलले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै छात्रा विद्यार्थी सङ्ख्याका अनुपातमा परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण गरिने प्रतिबद्धता जनाएका थिए।

गण्डकी कलेजमाथी अनुगमन गरी कारवाही गर्न माग

काठमाडौँ। गण्डकी मेडिकल कलेजले त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै उक्त कलेजमाथि अनुगमन गरी कारवाही गर्न माग गरिएको छ । एमबिबिएसमा अध्ययनरत विद्यार्थीलाई आर्थिकरुपमा ठगी गर्नुका साथै आफूहरुलाई परीक्षाबाट बञ्चित गराएकाले ४० दिनदेखि विद्यार्थीले आन्दोलन गर्दै आएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो कलेजमा अध्ययनरत पीडित विद्यार्थीले कलेजले प्रतिविद्यार्थी रु आठ लाखदेखि रु १८ लाखसम्म चर्को शुल्क उठाएको र सोअनुसार अध्यापन तथा शैक्षिक सुविधा नदिएको तथा एमबिबिएसका ८६ विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गरेको बताए। कलेजमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अनिल सिन्हाले आफूहरुले कलेजको सञ्चालक समितिका अध्यक्षसहित ११ जनामाथि ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता गरेको जानकारी दिए।  उनले आफूहरुले ४० दिनदेखि आन्दोलन गर्दै आए पनि सरकार तथा कलेजले कुनै सनुवाइ नगरेको भन्दै ८६ विद्यार्थीले परीक्षा दिन नपाएको उल्लेख गरेका छन् । पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको सो कलेजमा ९० विद्यार्थी पीडित अवस्थामा रहेको उनले बताए। अर्का विद्यार्थी परिवर्तन शर्माले कलेजले आफूहरुबाट शुल्क तिर्न ढिलाइ भए १८ प्रतिशतसम्म ब्याज लिने गरेको, अतिरिक्त शुल्क, परीक्षा शुल्क, रजिष्टेसन शुल्क पनि चर्को उठाउने गरेको र त्योअनुसार कुनै पूर्वाधार नभएको बताए। त्यस्तै शिक्षकलाई पनि पारिश्रमिक नदिइ ठगी गरिरहेको उनको भनाइ थियो ।

निर्जीवन बीमाकाे बजार प्रदेश ३ मा ५९ प्रतिशत, कर्णाली प्रदेशमा शुन्य दशमलव ८८ प्रतिशत

काठमाडौ । बीमा पुहँचको आधारमा विभिन्न प्रदेशहरुबीच व्यापक असमानता देखिएको छ । बीमा समितिका अनुसार देशभरका ७ वटै प्रदेशमा निर्जीवन बीमाकाे लेख संख्या, बीमा रकम, शाखा सञ्जाल लगायत सूचकमा उच्च असमानता रहेको छ । बीमा कम्पनीहरूले कुल बीमा शुल्क मध्ये प्रदेश नम्बर ३ बाट मात्र करिब ५९ प्रतिशत संकलन छन् । चालु आर्थिक वर्षकाे पहिलाे छ महिनामा सबै बीमा कम्पनीहरूले देशभर कुल ९ लाख ४० हजार ३१३ निर्जीवन बीमालेख बिक्री गरी ९ अर्ब ७३ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रदेश ३ मा ४ लाख २८९ हजार वटा बीमा लेख बिक्री गरी ५ अर्ब ७३ करोड ८२ लाख रुपैंया आर्जन गरिएको छ । त्यस्तै कर्णाली प्रदेशमा १२ हजार ७७२ वटा बीमा लेख बिक्री मार्फत् ८ करोड ५९ लाख रुपैंया बीमा शुल्क आर्जन भएको छ । बीमा कम्पनीहरूले प्रदेश नम्बर ३ बाट मात्र ५८.९२ प्रतिशत बीमा शुल्क उठाएका छन् । बीमा शुल्ककाे आधारमा हाेइन, बीमा लेख संख्याको आधारमा पनि ३ नम्बर प्रदेशकाे हिस्सा उच्च छ । यस प्रदेशमा ४५.६२ प्रतिशत बीमा लेख बिक्री भएका छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ०.८८ प्रतिशत बीमाशुल्क संकलन भएको देखिएको छ भने यस प्रदेशमा १.३६ प्रतिशत बीमालेख बिक्री भएका छन् । यस प्रदेशमा बीमा कम्पनीहरूकाे शाखा २८ वटा (४ प्रतिशतभन्दा कम) मात्र छन् भने कर्मचारी ७५ जना अर्थात २.०२  प्रतिशत परिचालित छन् । प्रदेश ३ पछि सबैभन्दा बढी प्रदेश ५ मा १ लाख ४८ हजार ४५४ वटा बीमालेख बिक्रीमार्फत् १ अर्ब ६ करोड रुपैंया कुल बीमा शुल्क उठेको छ । यो संख्याको आधारमा १५.७९ प्रतिशत र बीमाशुल्कको आधारमा १०.९३ प्रतिशत हो । त्यस्तै, प्रदेश १ मा १ लाख २८ हजार ६१५ बीमालेखमार्फत् १ अर्ब २ करोड रुपैंया संकलन गर्दा सो प्रदेशको हिस्सा बीमालेख संख्याका आधारमा १३.६८ प्रतिशत र बीमाशुल्कका आधारमा १०.५६ प्रतिशत रहेको छ । बीमालेख र बीमा प्रिमियमका आधारमा प्रदेश २ भने चौथो स्थानमा देखिएको छ । प्रदेश २ मा ९८ हजार १३३ बीमालेख बिक्री हुँदा ७७ करोड ८४ लाख रुपैंया बीमा शुल्क आर्जन भएको छ । यो बीमालेखका आधारमा १०.४४ प्रतिशत र बीमाशुल्कका आधारमा ७.९९ प्रतिशत हो । अरु सवालमा प्रदेश ३ सँग प्रतिस्पर्धामा उत्रिएको गण्डकी प्रदेश बीमा बिस्तारको सवालमा भने सो प्रदेशभन्दा निकै पछाडि परेको छ । तथ्याङ्क अनुसार यो प्रदेश ५ औं स्थानमा रहँदै ८२ हजार १९३ बीमालेख बिक्रीमार्फत् ७५ करोड बीमा शुल्क उठाउँदा कुल हिस्सामा बीमालेख ८.७४ र बीमा शुल्कमा ७.७५ कायम भएको छ । छैटौं नम्बरमा परेको सुदुरपश्चिम प्रदेशमा ४१ हजार १४५ बीमालेख बिक्रीमार्फत् २९ करोड ३६ लाख उठाएको छ । यो हिस्सा बीमा लेख र बीमा शुल्कका आधारमा क्रमशः ४.३८ र ३.०२ प्रतिशत हो । राष्ट्रिय योजना आयोगको चौधौं त्रिवर्षीय योजनाको समीक्षाले प्रति व्यक्ति आय र मानव विकास सूचकांकमा प्रदेश ३ सबैभन्दा बलियो र त्यसपछि प्रदेश ४ लाई बलियो माने पनि बीमाका गतिविधिहरुमा भने प्रदेश ४ निकै कमजोर देखिएको हो । तथ्याङ्क अनुसार देशभर रहेका ७१९ शाखा र ३ हजार ७१३ कर्मचारी मध्ये प्रदेश ३ मा २२६ शाखा कार्यालय र २०६१ कर्मचारी रहँदा प्रदेश ४ मा ९५ शाखा र २८६ कर्मचारी कार्यरत रहेको तथ्याङ्क देखाइएको छ । किन प्रदेश ३ बलियो, कर्णाली कमजोर ? नेपालकाे अर्थतन्त्र राजधानीबाट नियन्त्रित भएकाेले बीमा लेखहरू राजधानीबाट नै जारी हुने गरेकाेले प्रदेश नम्बर ३ मा बीमा बजार उच्च देखिएकाे नेपाल इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह बताउँछन् । विराटनगर, विरगञ्ज, चितवन, पाेखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायत जुनसुकै क्षेत्रमा ठूला उद्याेग व्यवसाय भएपनि तीनकाे कर्पाेरेट कार्यालय काठमाडाैंमा हुने, मुख्य मान्छे काठमाडाैंमा बस्ने र जाेखिम न्युनिकरण सम्बन्धि निर्णय उनीहरूले नै गर्ने भएकाेले बीमा बजार काठमाडाैं केन्द्रीत भएकाे उनकाे भनाइ छ । सबै बीमा कम्पनीकाे केन्द्रीय कार्यालय काठमाडाैंमा भएकाे,  ९० प्रतिशत बैंक तथा वित्तीय संंस्थाकाे मुख्यालय पनि काठमाडाैंमा भएकाेले पनि बीमा बजारकाे ठूलाे हिस्सा काठमाडाैंमा रहेकाे उनले बताए । बीमा व्यवसायकाे शुरूवात काठमाडाैंबाट भएकाे र धेरै वर्षसम्म बीमा कम्पनीहरू विराटनगर, विरगञ्ज, चितवन, पाेखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेकाे अनुभव सुनाउँदै शिखर इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे भन्छन्-‘मुख्य सहरभन्दा बाहिर बीमा कम्पनी जान थालेकाे तीन वर्ष मात्र भयाे । अब ३ नम्बर वाहेक अरू प्रदेशमा पनि बीमा बजार बढ्दै जान्छ ।’ यसै वर्ष मात्र शिखर इन्स्याेरेन्सेल जुम्ला जस्ताे दुर्गम  जिल्लाबाट पनि २ कराेड बीमा शुल्क संकलन गरेकाे उनले सुनाए । अनिवार्य मानिएको सवारी साधनको महत्वपूर्ण हिस्सा प्रदेश ३ ले नै ओगट्नु, हवाइ बीमा काठमाडाैंबाट मात्र हुनु, स्वास्थ्य बीमा पनि यहि क्षेत्रमा बढी हुनुले बीमा शुल्ककाे ठूलाे हिस्सा ३ नम्बर प्रदेशमा देखिएकाे सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैद्यवार बताउँछन् । हाल यो प्रदेशमा मात्रै १५ लाख भन्दा बढी मोटरसाइकल, साढे २ लाख भन्दा बढी निजी सवारी र अरु धेरै संख्यामा सार्वजनिक सवारी रहेको अनुमान गरिएको छ । भूगाेलकाे हिसावले कर्णाली प्रदेश सबैभन्दा ठूलाे भएपनि  सुर्खेत बाहेक अन्य स्थानमा आर्थिक गतिविधि ज्यादै कम हुनु, अहिलेसम्म पनि यातायात कार्यालय स्थापना नहुनु जस्ता कारणले बीमालेख संख्यामा कम आएको हुनसक्ने अनुमान गरिएको छ । एकात्मक राज्यप्रणाली अन्तर्गत राजधानी काठमाडौं र यसको वरपरको आर्थिक गतिविधि धेरै हुने गरेकाेमा संघीयता सँगै आर्थिक गतिविधि पनि विकेन्द्रीत सँगै बीमा बजार पनि विकेन्द्रीत हुने अनुमान गरिएकाे छ ।

९.३८ प्रतिशत बोनस पछि नागबेली लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकको ९.३८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । बुधबार मात्रै संस्थाको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६२८.०९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२३१.०५ रुपैयाँ तोकिएको छ ।

कलंकीमा मकै पोलेर बेच्ने अलि मियाँको कथा, ‘जो मासिक ५० हजार कमाउँछिन्’

काठमाडौं । नेपालमा काम पाइएन, केही संभावना छैन भन्दै दैनिक १५ सय जना बैदेशिक रोजगारीका लागि विदेसिन्छन् । तर, हेर्दा सानो जस्तो लाग्ने काम गरेर पनि मनग्य आम्दानी गर्ने र आर्थिक उन्नती गर्नेहरु छन् । त्यस्तै उन्नती गर्नेमा पर्छिन् अलि मियाँ । उनी मकै पोलेर बेच्ने काम गर्छिन्, त्यसैबाट मासिक ५० हजार रुपैयाँ कमाई रहेकी छिन् । २०६६ सालमा वीरगञ्जबाट काठमाडौँ आएर मकै पोलेर बेच्ने काम शुरु गरेकी मियाँले ९ वर्ष कै बीचमा १ छोरा र १ छोरीको लालनपालन, शिक्षादिक्षासँगै चन्द्रागिरीमा ४ आना जग्गा जोड्न सफल भएकी छन् । निरन्तर संघर्ष गर्दा सफल भइने रहेछ–उनी भन्छिन् । उनी वीरगञ्ज छाडेर किन काठमाडौँ छिरिन् ? २०६५ सालमा श्रीमानले छाडेपछि उनी एक्लो भइन् । त्यतिबेला उनको १ छोरी र छोरा जन्मिसकेका थिए । श्रीमानले छाडे पछि गाउँमा नै केही गर्न सकिन्छ कि भनेर उनले प्रयास गरिन्, तर केही गर्न सकिनन् । उनी भन्छिन्–गाउँमा केही गर्न नसकेपछि, छोरा छोरी पाल्न गाह्रो भएपछि २०६६ सालमा काठमाडौँ छिरेकी हुँ । काठमाडौँ आएसकेपछि सानोतिनो जागिरका लागि भेटेका र देखेका सबैलाई हारगुहार गरिन्, तर उनका लागि कोही कसैले जागिर दिएन, अनि उनले मकै पोलेर बेच्ने विचार गरिन् र काठमाडौँको स्वीचाटारमा मकै पोलेर बेच्ने काम शुरु गरिन् । उनी भन्छिन्–‘शुरुमा त मकै पोलेर गुजार चलाउन पनि धौ धौ भयो, बिस्तारै आम्दानी बढ्न थालेपछि भने अहिले सजिलै छ ।’ उनले मकै पोलेर कमाएको पैसाबाट छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाएकी छिन् । छोराछोरीले स्कुल छुट्टी भएर आएपछि आमाको काममा सहयोग गर्छन् । दिनहरु बित्दै गए, उनले यो काम शुरु गरेको पनि ९ वर्ष भइसकेको छ । छोरा छोरी पनि हुर्किएका छन् । उनले मकै पोलेर कमाएको पैसाबाट छोराछोरीलाई बोर्डिङ स्कूलमा पढाएकी छिन् । छोराछोरीले स्कुल छुट्टी भएर आएपछि आमाको काममा सहयोग गर्छन्, उनी भन्छिन्– बेलुका ८ बजेसम्म मकै बेच्ने काम गर्छु । स्वीचाटारबाट उनले मकै पोल्ने काम थालेकी हुन्, अहिले भने उनी कंलकी चोकमा मकै पोलेर बेच्छिन् । उनी भन्छिन्-पहिले त धेरै गाह्रो थियो, अहिले अलि सजिलो छ । छोराछोरीलाई राम्रो शिक्षा दिएर ठूलो मान्छ बनाउने सपना बोकेकी छन् उनले । उनको छोरी १३ वर्ष र छोरो १४ वर्षका छन् । छोरी कक्षा ८ मा र छोरा ७ कक्षामा पढ्दै छन् । उनले मकै पोलेर बेचेको पैसाले काठमाडौंको चन्द्रागिरीमा ४ आना जग्गा पनि किनेकी छिन् । कस्तो छ उनको ब्यापार ? जाडो समयमा प्रति दिन २०० घोगासम्म मकै बिक्री हुुने गरेको उनी बताउँछिन् । तर, गर्मी महिनामा भने उनको व्यापार त्यति हुँदैन् । उनी भन्छिन्-‘गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुन्छ ।’ अहिले उनको दैनिक आम्दानी दुई हजार हाराहारी हुन्छ । मकै कालीमाटी बजारबाट ल्याउने गरेको बताउँछिन्, प्रति घोगा १० रुपैयामा खरिद गछिन् र त्यसलाई पोलेर २० रुपैयाँमा बेच्ने गरेको बताउँछिन् । छोरा छोरी साना हुँदा अलि गाह्रो थियो, बिहान जाडोमा गएर मकै ल्याउँदा दुःख हुन्थ्यो, अहिले त बच्चा पनि हुर्किए, अब त्यति दुःख छैन-उनले भनिन् । विदेशमा गएर तातो घाममा कडा संघर्ष गर्नु भन्दा जति दुःख भएपनि आफ्नै देशमा काम गर्दा आनन्द आउने गरेको उनी बताउँछिन् ।

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस दिने, चुक्ता पुँजी एक अर्ब नाघ्ने

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत अर्थात २४ करोड २५ लाख १७ हजार ४६४ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । साथै, समितिको बैठकले उक्त सेयरमा लाग्ने कर प्रयोजनको लागि १.१६ प्र्रतिशत अर्थात एक करोड २७ लाख ६४ हजार ०७७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कोषको चुक्ता पुँजी ९० करोड ३१ लाख रुपैयाँ रहेको छ । २२ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।