बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिङ्ग सुर्खेतका प्रमुख धरौटीमा रिहा
काठमाडाैं । बलात्कार आरोपमा पक्राउ परेका साल्ट ट्रेडिङ्ग कार्यालय सुर्खेतका प्रमुख रामबाबु गुप्ता आज धरौटीमा रिहा भएका छन् । उनलाई तीन लाख ५० हजार रूपैयाँ धरौटीमा रिहा गरिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार अधिकृत भोपाल भण्डारीले बताए । उनले भने-“गुप्ता कसुरदार देखिएकाले धरौटी लिएर छोडिएको हो । अनुसन्धान निरन्तर चलिरहन्छ ।” जागिर लगाई दिने भन्दै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी यही मङ्सिर ५ गते पक्राउ परेका थिए । कार्यालय प्रमुख गुप्ताले विभिन्न प्रलोभन देखाएर बलात्कार गर्ने गरेको र पछि भिडियो बनाएको छु, सार्वजनिक गर्दिन्छु भन्दै डर देखाएर बलात्कार गर्दै आएको पीडितको युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा कार्यालय प्रमुख गुप्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब निरीक्षक रवि रावलले जानकारी दिए । पीडित युवती भने डिप्रेसनका कारण अस्पतालमा उपचारत रहेको उनका आफन्तले जनाएका छन् । महिला अधिकारवादी पवित्रा शाहीले यस घटनाले अदालतको स्वच्छताप्रति नागरिकहरुको विश्वास मरेको बताए । उनले भने, “महिला, बालिकाहरु धमाधम बलात्कृत भइरहेका छन् । तर शक्ति र पैसाका भरमा पीडकलाई उन्मुक्ति दिएर पीडितलाई अझ पीडा दिइन्छ । यो कदापि सैह्य हुँदैन ।” रासस
कतार एयरवेजले ‘ए डिभिजन शहीद स्मारक लिग २०१९-२०’ प्रायोजन गर्ने
दोहा । कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो फुटबल लिग कतार एयरवेज ए डिभिजन शहीद स्मारक लिग १४ डिसेम्बर २०१९ देखि १५ फेब्रुअरी २०२० सम्म हुनेछ । यस साझेदारीसँगै कतार एयरवेजको लोगो प्रतियोगितामा सहभागी सबै १४ क्लबको जर्सीमा देखिने छ । यसको साथमा कम्पनीले बोर्ड, रंगाशालाका झण्डा, एलईडी स्क्रीन तथा डिजिटल लगायतका सामाग्री प्रायोजन गर्नेछ । कतार एयरवेज ग्रुप प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले भने, “यस साझेदारीसँगै हामी निकै उत्साहित छौँ जसबाट कतार एयरवेजले देशकै फुटबल विकासमा सहयोग पुर्याउने छ । खेलकूदले सबैलाई एक बनाउने हाम्रो विश्वास छ र यसप्रतिको हाम्रो समर्पणको एक उदाहरण हो यस साझेदारी । ”
एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डूमा २५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौता सीमित अवधिका लागि रहेकाे बैंकले जनाएकाे छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
रौतहटको चन्द्रनिगाहपुरमा महिन्द्राको थ्रीएस सुविधाको नयाँ शोरुम
काठमाडौं । अग्नि ग्रुपले प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो । नव स्थापित महिन्द्रा अटोमोबाइल्सका विभिन्न श्रृङ्खलाका सवारी साधन र ट्रयाक्टरहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुमको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले मंसिर २७ गते शुक्रबार उद्घाटन गरेका छन् । रौतहट र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र कम्पनीका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराउने उद्देश्यसहित उक्त शोरुम स्थापना गरिएको कम्पनीले जनाएको छ । उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० थार आदि र युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदि ट्रयाक्टरहरूको बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । अग्नि ग्रुपका स्थानीय बिक्रेता स्नेहा मोटो कर्प प्रालि चन्द्रनिगाहपुर, रौतहटका प्रबन्ध निर्देशक मुकेशकुमार शाहका अनुसार शोरुमा महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभी, पिकअप र ट्रयाक्टरहरू कम्पनीका प्रमुख उत्पादनका रूपमा रहने छन् । साथै, शोरुमले सर्भिसिङका अलवा महिन्द्राका सवारी साधनहरू र ट्रयाक्टरहरुका लागि सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने छ ।
५० लाख रुपैयाँसम्मको घर बीमा गर्न पाउने योजना सहित समितिले ल्यायो घुम्ती बीमा सेवा
काठमाडौं । बीमा समितिले नेपालमा सञ्चालित सबै बीमा कम्पनीलाई ग्रामीण क्षेत्रमा घुम्ती बीमा सञ्चालन गर्नका लागि मार्गदर्शन दिएको छ । समितिले शाखा रहित ‘घुम्ती बीमा सेवा सम्बन्धि मार्गदर्शन, २०७६ जारी गरेर कम्पनीहरूलाई सोही बमोजिम कार्य गर्न गराउन निर्देशन गरेको हो । यहि मंसिर २५ गतेदेखि लागू हुने गरी ल्याइएको उक्त बीमा सेवाको कार्य क्षेत्र जीवन र निर्जीवन दुबै क्षेत्र हुनेछन् । ५० लाख रुपैयाँसम्म घरको बीमा गर्न पाउने गरी उक्त सेवा आरम्भ गरिएको हो । विशेषतः ग्रामीण क्षेत्रलाई लक्षित गरी ल्याइएको उक्त मार्गदर्शनमा कम्पनीहरूले सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमाको सेवा बीमितको घरदैलो पुगेर दिनु पर्ने व्यवस्था गरेकोे छ । यद्यपि मार्गदर्शनले ५ लाख रुपैयाँभन्दा बढी बीमांक कायम हुने कुनै पनि जीवन बीमा गर्न नपाउने व्यवस्था गरेको छ । त्यस्तै एकल बीमा शुल्क, वैदेशिक रोजगारी म्यादी जीवन बीमा भने यो सेवा अन्तर्गत गर्न पाइदैन । घुम्ती बीमा सेवाको निर्जीवन बीमातर्फ सामुन्द्रिक, हवाई, इन्जिनियरिङ र मोटर बीमा गर्न नपाउने व्यवस्था गरिएको छ । बीमक कम्पनीले महानगरपालिका र उपमहानरपालिकाभित्र उक्त सेवा लागू गर्न पाउँदैन । निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले भने यस अन्तर्गत रहेर तोकिएको जिल्लामा अनिवार्य कृषि तथा पशुपन्छी बीमा सेवा सञ्चालन गर्नुपर्ने छ । घुम्ती बीमा सेवा सञ्चालन गर्ने कम्पनीले अनिवार्य रुपमा सो सेवामा सम्लग्न कर्मचारी दुर्घटना बीमा र उसले प्रयोग गर्ने सवारी साधन र नगदको समेत बीमा गराउनु पर्ने नयाँ व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बीमक कम्पनीहरूले ग्राहकको घरदैलोमै हिडेर पुगेर भएपनि सेवा दिनुपर्ने छ,’ उनले भने ‘उक्त सेवा सञ्चालन गर्न कम्पनीको शाखा कार्यालयभन्दा छुट्टै डेस्क हुनुपर्नेछ । घुम्ती बीमाबाट संकलन भएको बीमा शुल्क सोही दिन वा सोही दिन नभ्याए बैंक खुलेको पहिलो दिननै सेवा प्रदायकले बैंकमा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ । समितिले बीमा ऐन २०४९ को दफा ८ को उपदफा ‘घ’ को २ ले दिएको अधिकार प्रयोग गरी मार्ग दर्शन तयार पारेको हो । उक्त सेवा विमितको घरदैलोमा गएर दिइने सेवा हो । नेपाल इस्योरेन्सले सुरुवात गरेको घुम्ती बीमा सेवालाई बीमा समितिले मार्गनिर्देश दिएकामा कम्पनीले आफ्नो सपना पुरा भएको भन्दै खुशी व्यक्त गरेको छ । हरेक नेपालीको घर आँगनमा बीमाको पहुँच विस्तार गर्ने नेपाल इन्स्योरेन्सको अभियानलाई नियामक निकाय बीमा समितिले साथ दिएकोमा कम्पनीलाई काम गर्न अझ हौसला मिलेको नेपाल इन्स्यारेन्स कम्पनीका डेपुटी जेनेरल म्यानेजर बिक्रान्त पाण्डेले बताए । ‘सबैको घर-घरमा बीमा पोलिसी पुर्याउने यो कम्पनीले यो अभियान शुरु गरेको बताए । ‘विकट भौगोलिक अवस्थाका कारण नेपालमा यस्तो प्रकृतिको बीमा योजना बढी उपयोगी हुन्छ,’ उनले भने ‘ घुम्ती बीमा कम्पनीको सपना हो । कम्पनीले गत चैतमा उदयपुरको बेलक्का नगरपालिकाबाट घुम्ती बीमा सेवा आरम्भ गरेको थियो । घुम्ती बीमा कार्यक्रम संचालन गर्दै बीमा समिति, सातै दिन २४ घण्टा सेवा दिने तयारी
टेलिकमद्वारा खेलाडीहरुका लागि सम्मान तथा गिफ्ट प्याकेज उपलब्ध
काठमाडौं । नेपाल टेलिकमले पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बन्ने र खेलाडीहरुलाई सम्मान तथा विभिन्न गिफ्ट प्याकेज उपलब्ध गराउने भएको छ । पोखरामा मंसिर २८ गतेदेखि पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने विज्ञप्तिमा जनाएको छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम म्यान अफ द म्याच’ उपाधि प्रदान गर्नेछ । ती खेलाडीलाई पुरस्कारका रुपमा १२ जीबीको डाटा प्याक र नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने गरी १ हजार १ सय मिनेटको टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । त्यसैगरी प्रत्येक खेलका एक जना खेलाडीलाई ‘गेम चेन्जर अफ द डे’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १२ जीबी डाटा र ४ सय ९० मिनेट टक भ्याल्यु भएको भ्वाइस प्याक उपलब्ध गराइने छ । एक जना खेलाडीलाई ‘एनटी फोरजी फास्टेस्ट बलर अफ द टुर्नामेन्ट’ उपाधि प्रदान गरिने छ । ती खेलाडीलाई १ सय ४४ जीबी डाटा प्याक र ५ हजार ८ सय ८० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइने छ । उल्लेखित सुविधा पीपीएल आयोजक समितिले उपलब्ध गराएका खेलाडीका नेपाल टेलिकमका मोबाइल नम्बरमा प्रदान गरिने छ ।
आर्थिक संकटले चरिकोट तनावमा, बैंकिङ र बीमा क्षेत्र उच्च जोखिममा
काठमाडौं । मंसिर २२ गते आईतबार दोलखा उद्योग वाणिज्य संघले चरिकोटस्थित सगरमाथा इन्स्योरेन्स कम्पनीको शाखा कार्यालयमा ताला लगायो । कुनै पनि उद्योग वाणिज्य संघलाई अरु कुनै पनि बीमा कम्पनी, बैंक वा व्यवसायिक प्रतिष्ठानमा ताला लगाउने अधिकार छैन । कुनै पनि उद्योग वा व्यवसायिक प्रतिष्ठानमा अरुले गलत तरिकाले ताला लगाएको ठाउँमा उद्योग वाणिज्य संघले खोलाउन पहलकदमी लिनुपर्नेमा दोलखामा उल्टो भएको नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर समूह उपाध्यक्ष किशोर प्रधान बताउँछन् । ‘बीमा कम्पनीको शाखा कार्यालयमा ताला गलाउने काम सरासर गलत हो’ उपाध्यक्ष प्रधानले विकासन्युजसँग भने- ‘दोलखामा दुःखत घटना भएको मैले सुनेको छु । यो त गुण्डागर्दी हो ।’ बीमा क्षेत्रमा बीमित र बीमकबीच ठाउँठाउँमा विवाद देखिएको तर ती विवाद समाधान गर्ने विधि, प्रक्रिया, संस्थागत संरचनाहरु भएकोले त्यसैलाई पछ्याउनु पर्ने उनको भनाई छ । दोलखा उद्योग वाणिज्य संघको महासचिव हेमराज रिमाल बीमा कम्पनीको शाखामा ताला लगाउनु रहर नभई बाध्यता भएको बताउन्छन् । ‘बीमा कम्पनीहरु बीमा गराउने बेलामा घरघरमा जान्छन्, बीमा दावी गर्नुपर्दा धेरै थरि कागजपत्र माग गर्छन् । बीमित समस्यामा परेको बेलामा बीमा दावी भुक्तानी गर्न मान्दैन्’ उनले विकासन्युजसँग भने- ‘व्यवसायीबाट धेरै गुनासो आएपछि, हामीले पटक पटक भन्दा बीमा दावी भुक्तानी गर्न कम्पनीले नमानेपछि दवाव दिन संघले आधिकारिक निर्णय गरेर तालाबन्दी गरेका हौं ।’ तालबन्दी गर्ने संघको गलत निर्णय लामो समय टिकेन । जिल्ला प्रशासन कार्यालय दोलखाको हस्तक्षेपपछि मंसिर २४ गते सर्बपक्षीय बैठक बस्यो । बैठकमा बीमा दावी भुक्तानी विवाद विधिसम्मत सेटल गर्ने निर्णय भयो । र, संघ आफैले लगाएको ताला खोलिदियो । यस्तो थियो घटना सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीका अनुसार दावा लामाको निर्माण कम्पनी ला निर्माण सेवाले ‘कन्ट्याक्टर अल रिक्स’ बीमा पोलिसी लिएको छ । बीमा समितिले बीमा शुल्क नतोकेको (नटटेरिफ) क्षेत्र भएकोले यस्तो क्षेत्रमा बीमक र बीमितले मोलमाेलाई गरेर बीमा शुल्क तोकिन्छ र बीमा पोलिसी किनबेच हुन्छ । सडक निर्माण जोखिम बीमा गर्दा निमाण व्यवसायीले १ करोड रुपैयाँसम्मको क्षति हुँदा बीमा दावी नगर्ने सर्तमा बीमा पोलिसी लिएको बीमा कम्पनीको भनाई छ । हाल कम्पनीले २७ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । १ करोडसम्मका क्षति दावी नगर्ने विषय प्रष्टरुपमा बीमा पोलिसीमा लेखिएकोले २७ लाखको दावीमा बीमा कम्पनीले भुक्तानी नपर्ने बीमा कम्पनीको तर्क छ । निर्माण कम्पनीले पीच गरेको सडक केही दिनमा नै भत्किएपछि सडक डिभिजन कार्यालयले पुनः पीच गर्न लगाएको थियो । पीच गरेको सडक ठेकदारले अन्तिम किस्ता भुक्तानी लिन नपाउँदै भत्किएपछि सरकारले भुक्तानी रोकेको थियो । अन्तिम किस्ता भुक्तानी रोकिएपछि ला निर्माण सेवाले पुनः पीच गरेको थियो । पुनः पीच गर्दा लागेको २७ लाख रुपैयाँ उसले बीमा बापतको क्षतिपूर्ति मागेको जानकारहरु बताउँछन् । यस विषयमा ला निर्माण सेवा कम्पनीका मालिक दावा शेर्पाले खुलस्त बोल्न चाहेनन् । ‘अहिले एउटा सहमति भईसकेको छ । सहमति भईसकेको कुरामा नबोलौ’ उनले विकासन्युजसँग भने । बीमा कम्पनीबाट आफू मात्र नभई अरु धेरै मानिस पीडित भएको उनले बताए । ‘सगरमाथा इन्स्योरेन्स मात्र होइन, दोलखामा ७/८ वटा बीमा कम्पनी छन् । सबै कम्पनीले बीमितलाई दुःख दिईरहेका रहेछन् । मेरो विषय बाहिर आएपछि पीडितहरु ‘म पनि बीमा पीडित भन्दै’ धेरै जना सम्पर्कमा आएका छन् । हामी पत्रकार सम्मेलन गरेर सबै समस्या सार्वजनिक गर्छौ’ उनले भने । दोलखाका व्यवसायीहरु बीमा कम्पनीहरु प्रति यसरी आक्रोशित हुँदै गर्दा काठमाडौं मुख्यालय रहेका सबै बीमा कम्पनीहरुको ध्यानाकर्षण भएको छ । बीमकहरुको संस्था नेपाल बीमक संघले सगरमाथा इन्स्योरेन्सको शाखा बन्द गरेको, कर्मचारीलाई थर्काउने, धम्क्याउने काम गरेको भन्दै खेद व्यक्त गरेको छ । यस्ता गतिविधिले शाखा विस्तारको कार्यलाई निरन्तर्ता दिन, भएको शाखाबाट नियमित सेवा सञ्चालन गर्न तथा आमजनतालाई अतिआवश्यक बीमा सेवा प्रदान गर्न कठिन हुने संघले जनाएको छ । भूकम्पपछिको बीमा दावीमा पनि बीमा कम्पनीले बीमितलाई सन्तुष्ट बनाउन नसकेको दोलखाबासीको दुःखेसो छ । ‘भूकम्पपछि मात्रै १६ अर्ब रुपैयाँ बराबरको बीमा दावी परेको थियो । बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँ भुक्तान गरिसकेका छन्’ बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई भन्छन्- ‘हरेक वर्ष बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ दावी भुक्तानी गर्दै आएका छन् । कुनै बीमा कम्पनीले बीमितलाई नियमअनुसार दावी भुक्तानी नगरेको भए पीडित पक्षले बीमा समितिमा उजुरी गर्न सक्छन् । बीमा समितिले जहिले पनि बीमितको पक्षमा काम गर्दै आएको छ ।’ बीमाको बारेमा सर्वसाधारणमा उचित जानकारीको कमी र बीमा करारको अध्ययन नगर्ने बीमितको कमजोरीका कारण पनि धेरै विवाद हुने गरेको उनले बताए । चरिकोट आर्थिक संकटमा पछिल्लो समय दोलखाको सदरमुकाम चरिकोटमा आर्थिक संकट देखिएको छ । संघीयतासँगै चरिकोटमा रहेको डिभिजन कार्यालयहरु रामेछाप र सिन्दुपाल्चोक सारिएका छन् । सडक, सिंचाई, शिक्षा, खानेपानी, महिला, सहकारी डिभिजन कार्यालयहरु अरु जिल्लामा स्थान्तरण भएपछि दोलखा जिल्लाको सदरमुकाममा मानिसहरुको आवतजावत निकै कम भएको छ । त्यस्तै, दोलखाको सबै गाउँपालिकामा सडक जोडिएको, गाडी पुगेका, हरेक गाउँपालिकामा बैंक पुगेकोले व्यवसायिक कारोबार पनि गाउँपालिका तहका बिकेन्द्रित भएको छ । संघीयता आएपछि चरिकोटको आर्थिक कारोबार ७० देखि ८० प्रतिशतले कमी आएको दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले बताए । ‘चरिकोटको मुख्य व्यवसाय भनेको होटल र व्यापार हो । पहिला सदरमुकाममा आएर गर्नुपर्ने काम मध्ये धेरै काम गाउँपालिकामै हुन्छन् । मान्छे सदरमुकाम आउन छोडे । होटल पनि सुके, व्यापार पनि सुक्यो’ उनले भने । खाडी चौरदेखि चरिकोटसम्म मोटर बाटो खराब भएकोले पनि चरिकोटको व्यवसायमा धक्का लागेको उनले बताए । चरिकोटमा आर्थिक संकट देखिएकोले बीमा कम्पनी मात्र होइन, बैंकिङ सेवा पनि घाटामा गएको बैंकर्सहरुको भनाई छ । चरिकोटका शाखाबाट प्रवाह भएको कर्जाको सावा व्याज भुक्तानी नियमितता समस्या भएको बैंकर्सको भनाई छ ।
गरिमा विकास बैंकको १६ प्रतिशत बोनस शेयर पारित, चुक्ता पुँजी ३ अर्ब नाघ्यो
काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १६.१५ प्रतिशत बोनस शेयर पारित भएको छ । मंसिर २७ गते सम्पन्न गरिमाको तेह्रौं बार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । सभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ । साथै, उक्त साधारणसभाबाट विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब बनाउने प्रश्ताव समेत पारित भएको इन्स्योरेन्सले जनाएको छ । हाल २ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको विकास बैंकको १६.१५ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । उक्त सभा शुक्रबार(आज) कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको थियो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको विकास बैंकका हाल देशभर ९० शाखा कार्यालय सञ्चालनमा रहेका छन । विकास बैंकको २०७६ मंसिर २६ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी करिब ३२ अर्ब ५० करोड कर्जा प्रवाह गरेको संस्थाले जनाएको छ ।