नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि
काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ । नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ । नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिए । मकवानपुरको मापन केन्द्रअनुसार पूर्वी राप्ती (मकवानपुर र चितवन हुँदै बग्ने) नदीसमेत बढिरहेकाले सतर्कता तह नजिक पुगेको छ । आज उक्त नदी खतरातहसम्म पुग्ने अनुमान गरिएको छ । यसले प्रत्यक्षरूपमा चितवनको सौराहा र आसपास क्षेत्र डुबानमा पार्न सक्ने छ । पूर्वी राप्ती ३ दशमलव ३० मिटर सतर्कता तह पार गरी ३ दशमलव ३६ मिटर पुगेको छ । यो नदीको बहाव ३ दशमलव ७० मिटर खतराको तह हो । यस्तै चितवनको माडीस्थित रिऊ नदी पनि बढ्ने क्रममा रहेकाले आज खतराको आसापास पुग्नसक्ने अनुमान गरिएको छ । उपत्यकाबाट वाग्मती र सहायक नदी तटीय क्षेत्रसमेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका आसपासका सहायक नदीमा बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । तिनाउ खतराको आसपास पुग्ने, कर्णाली र महाकालीमा समेत बहाव बढ्ने छ । आज बिरिङ, बक्राहा, निन्दा, लोहन्द्रा, चिसाङखोला, त्रियुगा, खाडो, चुरियाखोला, लालबकैया, बाणगङ्गालगायत प्रदेश नं १, २ र ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बग्ने प्राय नदीमा बहाव बढ्ने र सतर्कता तहसम्म पुग्ने तथा केही नदी खतरा तहसम्म पुग्ने जनाइएको छ । आज प्रदेश नं १ को केही जिल्ला, प्रदेश नं २ का सबै जिल्ला, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा आकस्मिक बाढीको सम्भावना रहेको छ । साउन ७ गते भने कोशी, नारायणीमा बाढीको बहाव घट्ने र सतर्कता तह आसपास रहने जनाइएको छ तर कमला, वाग्मती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतका नदीमा भने बहाव बढ्ने छ । केहीमा आकस्मिकरूपमा बहाव बढी खतराको तहसम्म पुग्ने छ ।
बेलायतले गरेको कोरोना खोप परीक्षण सफल
काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना खोप परीक्षण सफल भएकाे छ । एस्ट्राजेनेकाको सहकार्यमा निर्माण गरिएको यो खोपको सुरुवाती परीक्षणले मानिसमा खोपको प्रयोग सुरक्षित रहेको देखाउनुकाे साथै प्रतिरक्षा शक्ति पनि राम्रो बनाउन सफल भएकाे हाे । पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनालाई उक्त खोप लगाइएको थियाे । १८ देखि ५५ वर्ष बीचका मानिसमा गरिएको खोपको परीक्षणमा दोहोरो प्रतिरक्षा प्रतिक्रिया (एन्टिबडी र टी–सेल) विकास भएको पाइएकाे बेलायतस्थीत एक मेडिकल जर्नलमा सोमबार प्रकाशित भएको छ। जर्नलमा खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको उल्लेख गरिएकाे छ यद्यपी यसलाई सार्वजनिक प्रयोगमा ल्याउनुअघि योभन्दा बृहत स्तरको क्लिनिकल परीक्षण गरिने उनीहरूले बताएका छन्। स्रोत : बीबीसी
वाग्मती प्रदेश : पहिरोले घर बगाउँदा तीनको मृत्यु
धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–६ मा गएराति पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । राति घरमाथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षीय मिलन खाँण, उनकी श्रीमती २० वर्षीया सम्झना र १८ महिने बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए । रातिको समय भएकाले समुदायले उद्धार गर्न जाँदा मृत्यु भइसकेको उद्धारमा संलग्न हरि विकले टेलिफोनबाट जानकारी दिए । एउटा मात्र घर बगाएको र बाँकी पाँच घर जोखिममा रहेकाले उनीहरुलाई राति नै अन्यत्र सारिएको छ । लगातारको वर्षाका कारण घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् । फुल्पिङकट्टी पहिरोबाट बेपत्ताको खोजी चौतारा– लगातारको वर्षाले सिन्धुपाल्चोकको विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी विस्थापित तथा मृतकका आफन्तलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत सामग्री वितरण गरिएको छ । बाढी र पहिरोबाट बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका मृतकका आफन्तलाई जनही रु एक लाख र क्षति भएका घरपरिवारलाई रु १० हजारसहित त्रिपाल, कम्बल, भाँडाकुँडा, लत्ताकपडालगायतका राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । असार २४ गतेदेखि साउन १ गतेसम्म बाढी र पहिरोमा परेर ती दुई गाउँपालिकाका मात्र छ जनाको मृत्यु भइसकेको थियो भने २२ बेपत्ता भएका थिए । बेपत्ताको खोजीकार्य जारी रहे पनि अझैसम्म शव भेटिएको छैन । त्यस्तै मेलम्ची खानेपानीको सुरुङमा पानी हाल्ने क्रममा ढोका फुटेर एक जनाको मृत्यु र दुई घाइते भएका थिए । भोटेकोशी नदीले कटान गरेको बाह्रबिसेस्थित खुर्सानीबारीको करिब २०० मिटर सडकको ट्र्याक खुलाइएको छ । ट्र्याक खुलेपछि खागदलसम्म साना गाडी पुग्न सक्ने इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । उक्त बाटोलाई भोटेकोशी नदीले पूरै कटान गरेको थियो । अहिले नदीले धार परिवर्तन गरेको र पानीको सतहसमेत घटेको हुँदा तलबाटै ट्र्याक खुलाइएको हो । नदीमा पुनः बाढी नआएमा खागदलसम्मको आवागमनमा सहज भएपछि सिरिसेसम्मको क्षतिग्रस्त सडकलाई पनि खुलाउन शुरु गरिने बताइएको छ । यही साउन १ गते फुल्पिङकट्टी–४ मा पहिरोमा परी एकै परिवारका पाँचमध्ये तीन जनाको शव फेला परे पनि बेपत्ता दुई अझै भेटिएका छैनन् । खोजीकार्य जारी रहे पनि लगातारको वर्षा र पहिरो झर्ने क्रम नरोकिएपछि समस्या उत्पन्न भएको छ । त्यहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खोजी गरेको र मानवशक्तिबाट सम्भव नभएपछि दुई दिनदेखि स्काभेटर प्रयोग गरिएको थियो । पुरानो स्काभेटर भएको र लेदो माटो झरिनैरहेको हुँदा त्यसलाई फर्काई पुनः अर्को स्काभेटर ल्याई काम शुरु गरिने वडा नं ४ का वडाध्यक्ष सानदोर्जे शेर्पाले बताए । स्थानीय ठाडो खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएपछि आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । पहिरोले दुई घर र एक विद्यालय पुरेको र अन्य २४ घर उच्च जोखिममा परेका छन् । विस्थापित ११७ मध्ये ४५ परिवार स्थानीय डाँडागाउँ स्वास्थ्यचौकीमा राखिएको र अन्य परिवार आफन्तमा गएको वडाध्यक्ष शेर्पाले बताए । सुनकोशी किनारमा बस्नेलाई सर्न आग्रह सिन्धुली– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी आसपासमा बासोबास गर्ने नागरिकलाई सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । केरुङ च्छो नामको पोखरी फुट्न सक्ने खतरालाई मध्यनजर गर्दै सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा बासोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्न सक्ने र भोटेकोशी हुँदै सुनकोशी नदीमा अहिले भइरहेको भन्दा ६० मिटरमाथि पानीको बहाव बढ्ने खतरा रहेकाले नदी किनारमा बस्ने नागरिकलाई सर्न र आसपासका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानलेले जानकारी दिए । उहाँका अनुसार स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक, स्थानीय सञ्चारमाध्यममार्फत जोखिममा पर्न सक्ने बासिन्दालाई सार्न र सतर्कता अपनाउन आग्रह गरिएको छ । सार्नैैपर्ने क्षेत्रका बासिन्दालाई अन्यन्त्र सार्न स्थानीय तह र अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए । उक्त पोखरी फुट्दा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न र सार्नैपर्ने परिवारको सङ्ख्या सङ्कलन तथा आवश्यक व्यवस्थापनका गर्न लागिपरेको उनको भनाइ छ । सुनकोशी नदी किनारमा रहेका सुनकोशी गाउँपालिका, गोलन्जोर गाँउपालिका र फिक्कल गाउँपालिकालगायतका स्थानीय तहहरुका बजार र मानवबस्तीलाई बगाउन सक्ने र ठूलो क्षति पु¥याउन सक्ने सम्भावना रहेकाले प्रशासनले नदी किनार खाली गर्न अनुरोध गरेको छ । यसबारे आवश्यक जानकारी लिन आफ्नो स्थानीय तह, नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । बस्ती जोखिममा परेपछि ४० परिवारले घर छाडे मुग्लिन– चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–५ भोटेस्वरामा एक घर पहिरोले बगाएको छ भने बस्ती नै जोखिममा परेको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण गएराति कमल विकको घर बगाएको हो । पहिरोको जोखिम आँकलन गरेर उनीहरु राति नै बुबाआमाको घरमा गएर बसेका कारण मानवीय क्षति भने हुन नपाएको स्थानीय शिक्षक यानबहादुर गुरुङले जानकारी दिए । यसैबीच भोटेस्वरा, बदेँलटार, मड्केनी र बक्सेर रानागाउँका ४० घरपरिवारले घर छाडेका छन् । बस्ती नै जोखिममा परेपछि ती गाउँका बासिन्दा पामडाँडा आधारभूत विद्यालयको भवन र छिमेकी गाउँ किटस्वरा गाउँमा आएर बसेको शिक्षक गुरुङले जानकारी दिए । साथै पहिरोले खानेपानी पाइप बगाउँदा खानेपानी हाहाकार भएको छ । किटस्वरा, पामडाँडा र साठीमुरेका करिब ७० घरधुरीले खाने पानीको पाइप बगाएको उनले जानकारी दिए । यसैबीच वडाध्यक्ष मोदराज सिलवालले वडा नं ५ कै मुग्लिनबजारमा दुई घर पहिरोले बगाएको र पाँच घर जोखिममा रहेको जानकारी दिए । ती परिवारलाई त्रिवेणी वराह मावि मुग्लिनमा बस्ने व्यवस्था मिलाइएको वडाध्यक्ष सिलवालले बताए । अहिले कहाँ कति क्षति भएको छ भन्नेबारे विवरण लिने काम भइरहेको उहाँले जानकारी दिए ।
पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उनले भने, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।” मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए । उनले भने, “पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ ।” अन्य खुला रहेका सडक प्रयोग गर्न उनले सुझाव दिए । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको उनको भनाइ छ । यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए । सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ । मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले जानकारी दिए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।
साउन ८ गतेदेखि शैक्षिक संस्थाले विद्यार्थी भर्ना लिने
काठमाडाैं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । भर्ना लिए पनि शैक्षिक संस्था भने बन्द नै रहने छन् । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा गाडी चल्ने, शैक्षिक संस्था भने बन्द नै रहने
काठमाडाैं । सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। तर विद्यालय र सिनेमा हल संचालनमा भने रोकावट कायमै रहेको बताइएकाे छ । सामाजिक दूरी कायम राख्नुका साथै स्वास्थ्य सुरक्षा सर्तकता अपनाउँदै छोटो दूरीका अन्तर जिल्ला यात्रुबाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको बताइएकाे छ । ।यसअघि सरकारले एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यसैबीच सरकारसँग विभिन्न माग राखी बस सञ्चालनमा असहयोग गर्दै आएका यातायात व्यवसायीहरु पनि सार्वजनिक बस सञ्चालन गर्न सहमत भएका छन् विद्यालय र सिनेमाहल बाहेक बाहेक खुलाउने निर्णय भएकाे बताइएकाे छ ।
यी हुन् आजकाे मन्त्रिरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय
काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो। सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय पनि गरेको छ । यसभन्दा अघि सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने निर्णय गरेकाे थियाे । अब भने एक जिल्लाबाट अर्काे जिल्लामा जान पाइने भएकाे हाे । यस्तै, बैठकले प्रशासनिक अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । कानून मन्त्रालयका पूर्व सचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । प्रशासनिक अदालतमा रिक्त रहेका एक अध्यक्ष र २ सदस्यको पूर्ति गरिएको हो । सदस्यमा रीता मैनाली र उच्च अदालत पोखराका रजिष्टार कृष्णप्रसाद मैनालीलाई नियुक्त गरिएको बताइएको छ । आज बसेको बैठकले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने पनि निर्णय गरेको छ । सो मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको बताइएको छ । सरकारले यसअघि कोरोना संकटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताएपनि विभिन्न आयोजनाहरुको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयअवधि थप गर्ने निर्णय गरेको हो । त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको बताइएको छ । साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ । शैक्षिक संस्था बन्द नै हुने भएपनि विद्यालयहरुले अब ८ गतेदेखि विद्यार्थी भर्ना भने लिन पाउने छन् । भर्ना लिए पनि शैक्षिक संस्था भने बन्द नै रहने छन् । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।
लकडाउनलाई थप खुकुलाे बनाउने सरकारकाे निर्णय
काठमाडाैं । सरकारले अहिलेको लकडाउनलाई अझै खुकुलो बनाउने निर्णय गरेकाे छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको बताइएको छ । बैठकले साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।