
काठमाडौं । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस भन्दा अगाडि साउन २१ गतेदेखि आन्तरिक र भदौ १ गतेदेखि बाह्य हवाई सेवा सञ्चालन गर्न सिफारिस गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।
सरकारले नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने निर्णय पनि गरेको छ । यसभन्दा अघि सरकारले एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने निर्णय गरेकाे थियाे । अब भने एक जिल्लाबाट अर्काे जिल्लामा जान पाइने भएकाे हाे ।
यस्तै, बैठकले प्रशासनिक अदालतको अध्यक्षमा डिल्लीराज घिमिरेलाई नियुक्त गरेको छ । कानून मन्त्रालयका पूर्व सचिव डिल्लीराज घिमिरेलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
प्रशासनिक अदालतमा रिक्त रहेका एक अध्यक्ष र २ सदस्यको पूर्ति गरिएको हो । सदस्यमा रीता मैनाली र उच्च अदालत पोखराका रजिष्टार कृष्णप्रसाद मैनालीलाई नियुक्त गरिएको बताइएको छ ।
आज बसेको बैठकले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने पनि निर्णय गरेको छ । सो मन्त्रालय अन्तर्गतका विभिन्न आयोजनाहरुमा काम गर्दै आएका र म्याद सकिएका कर्मचारीको म्याद थप गर्ने निर्णय भएको बताइएको छ ।
सरकारले यसअघि कोरोना संकटका कारण यो आर्थिक वर्षमा करारमा रहेका कर्मचारीको नवीकरण नगर्ने बताएपनि विभिन्न आयोजनाहरुको काम अधुरो रहनेभएपछि त्यस्ता करारका कर्मचारीको समयअवधि थप गर्ने निर्णय गरेको हो ।
त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ । त्यसपछिको चरणमा लकडाउनलाई अझै खुकुलो बनाइने भएको बताइएको छ ।
साउन ८ देखि सिनेमा घर, लामो दुरीका सवारीसाधन, कलेज, विद्यालय लगायत सीमित केही क्षेत्रलाई बन्द गरी अन्य उद्योग, व्यापार, व्यवसाय सञ्चालनमा थप सहजता मिलाइने भएको छ ।
शैक्षिक संस्था बन्द नै हुने भएपनि विद्यालयहरुले अब ८ गतेदेखि विद्यार्थी भर्ना भने लिन पाउने छन् । भर्ना लिए पनि शैक्षिक संस्था भने बन्द नै रहने छन् । सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।