विकासन्युज

तपाईको मोबाईल फोन हरायो ? दुरसंचार प्राधिकरणमा खबर गर्नुस्

काठमाडौ । नेपाल दुरसंचार प्राधिकरणले सर्वसाधारणहरुलाई लक्षित गर्दै ‘मोबाईल ट्रयाकिङ्ग’ सेवा ल्याएको छ । यस मोबाईल ट्रयाकिङ्ग सेवा मार्फत कसैको मोबाईल फोन हराएमा अब सहजै पत्ता लगाउन सकिनेछ । एकपटक चलाई सकेको फोनको रेकर्ड दुरसंचार प्राधिकरणमा बस्छ । यस्तै, (सेवा प्रदायक) दुरसंचार कम्पनीहरुमा समेत प्रयोग भएका फोनको रेकर्ड रहिरहन्छ । प्राधिकरणले मोबाईल फोनसेटको पहिचानको रुपमा हरेक मोबाईल फोनसेटमा रहेकाे इन्टरनेशनल मोबाईल इक्युइपमेन्ट आर्ईडेन्टिटी (आईएमईआई) बाट मोबाईलको पहिचान आफूहरुसँग रहने जनाएको छ । मोवाईल ट्रयाकिङ्ग सिस्टम मार्फत कसैले आफ्नो मोबाईल फोन हराएमा एनटीएलाई उजुरी गर्न सक्नेछन् । एनटीएले एक पटक प्रयोग भएको फोन अर्को पटक प्रयोग हुँदा सहजै पत्ता लाग्ने भन्दै कसैले हराएका फोन भेट्टाएमा तत्काल फिर्ता दिन सूचना जारी गरेको हो ।

नेपाली हवाई उडानलाई युरोपका देशहरुमा अनुमति दिन अर्थमन्त्रीको अनुरोध

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली हवाई उडानलाई युरोपका देशहरुमा उड्न अनुमति दिन अनुरोध गरेका छन् । सोमबार अर्थमन्त्री खतिवडाले नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत वेरोनिका कोडीसँग भेडवार्ता गर्दै सो अनुरोध गरेका हुन् । अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति लगायत हवाई सुरक्षा सम्बन्धी कार्यमा नेपाल सरकारले उच्च प्राथमिकता दिएको र युरोपियन पर्यटकहरुको गन्तव्य नेपाललाई बनाउने प्रयास रहेको सन्दर्भमा युरोपियन युनियनले नेपालको युरोपका देशहरुमा हुने उडानलाई अनुमति दिन अनुरोध गरेका हुन् । आफ्नो ३ बर्षे कार्यकाल पुरा गरी ब्रसेल्स फर्कन लागेकी राजदूत कोडीसँग भेटवार्ता गर्दै खतिवडाले युरोपियन युनियनले नेपालको आर्थिक विकासमा पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद समेत दिएका छन् । उनले बहुधु्रवीय विश्व निर्माणमा युरोपियन युनियनले महत्वपूर्ण वैकल्पिक राजनीतिक शक्तिको भूमिका निर्वाह गरेको, नेपाल युरोपियन युनियनसँगको सहकार्यलाई थप उचाईमा लैजान इच्छुक रहेको र सवल युरोपको पक्षमा रहेको धारणा व्यक्त गरे । उनले युरोपियन युनियनले नेपालको व्यापार, रोजगारी, लगानी, पर्यटन र आर्थिक पुर्नउत्थानमा योगदान बढाउन सक्ने विश्वास व्यक्त गदैं नेपालले पाउने बजेट सहायताले नेपालप्रतिको विकास साझेदारको विश्वासलाई प्रतिविम्वित गरेको उल्लेख गरे । उनले आर्थिक÷वित्तीय÷श्रम लगायत हवाई यातायात, पर्यटन क्षेत्रमा नेपालले आफ्नो प्राथमिकता बढाएको र आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनी व्यवस्था गरी सुशासन, पारदर्शिता र सुधारप्रति प्रतिवद्धता सुदृढ गरेको कुरा जानकारी गराए । उनले धेरै किसिमका विश्वव्यापी एजेण्डामा नेपाल र युरोपियन युनियन सहकार्यमा रहेको बताउँदै साझा हितका सवालमा संगसंगै प्रगति गर्दै जानुपर्ने धारणा राखे ।

माध्यामिक तहदेखि नै बीमा पढाउन तात्यो बीमा समिति, कक्षा ११ देखि मास्टर्ससम्मको कोर्स बनाइदै

काठमाडौं । बीमा सम्बन्धी चेतना बढाउन र दक्ष जनशक्ति उत्पादन गर्नको लागि औपचारिक शिक्षा प्रणालीबाटै बीमा अध्ययन गराउन नियामक निकाय बीमा समितिले पहल थालेको छ । विद्यालय तथा विश्वविद्यालय तहका औपचारिक पाठ्यक्रममा बीमा विषय समावेश नभएकोले बीमालाई पनि समेट्न सोही अनुसारको पाठ्यक्रम बनाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘हामीले विगतदेखि नै विद्यालयस्तरदेखि नै बीमा सम्बन्धी पढाई हुने व्यवस्था मिलाउन पहल गरेका थियौं, कक्षा ११ र स्नातक तहको पहिलो वर्षको पाठ्यक्रम बनाएर सम्बन्धित निकायलाई दिएका पनि हौं, तर कक्षा ११ र १२ तथा स्नातक तहका सबै वर्षको पाठ्यक्रम तयार भएपछि मात्रै कोर्षमा राखिने गरिएको हुने रहेछ, त्यसैले थप गृहकार्य गर्नुपर्ने देखियो,’ समितिका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक पौडेलले भने । समितिले चालु आर्थिक वर्षको आफ्नो वार्षिक कार्ययोजनामा बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषय पनि समावेश गरेको छ । समितिले माध्यमिक, स्नातक र स्नाकोत्तर तहमा बीमा विषयको अध्ययनको व्यवस्था मिलाउन पाठ्यक्रम तयार पार्न लागेको हो । समितिले अब कक्षा १२ तथा स्नातक तह दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तहको दोस्रो वर्षको पाठ्यक्रम तयार पार्नेछ । यस्तै, समेस्टर प्रणालीबाट अध्ययन हुने संकायको लागि भने प्रत्येक तहका सबै सेमेस्टरको लागि पाठ्यक्रम तयार पार्नेछ । एउटा तहको सबै वर्षका वा सबै समेस्टरको पाठ्यक्रम तयार भएपछि मात्रै त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिकसत्रको क्यालेन्डर अनुसार पाठ्यक्रम समावेश गर्ने जानकारी प्रतिक्रिया दिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । बीमा क्षेत्रको लागि योग्य जनशक्तिको अभाव भएको र जनस्तरमा बीमा सम्बन्धी ज्ञान तथा जानकारी कम भएकोले माध्यामिक तहदेखि स्नातकोत्तर तहसम्मको पाठ्यक्रमा समावेश गर्न लागिएको समितिको भनाइ छ । ‘बीमा महत्वपूर्ण विषय भएकाले यसको ज्ञान जति छिटो हाँसील गरियो उतिनै राम्रो हुन्छ, हामीले सोही कुरालाई ध्यानमा राखेर माध्यमिक तहदेखि नै बीमा विषय पाठयक्रममा समावेश गर्न पहल गरेका छौं’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने । पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक बीमा विषयलाई पाठ्यक्रममा समावेश गर्न पाठ्यक्रम विकास केन्द्र पनि सकारात्मक रहेको बताएको छ । केन्द्रले स्वीकृत गरेपछि मात्रै विद्यालयस्तरको कोर्षमा कुनै पनि विषय समावेश हुन्छ । त्रिविसँग छलफल स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा बीमा विषय समावेश गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) पनि सकारात्मक रहेको र अहिले छलफल चलिरहेको समितिले जानकारी दिएको छ । बीमा क्षेत्रको भ्यालुयसन गर्ने (एक्चुरी) विषय पढ्न बर्सेनि नेपाली विद्यार्थी विदेशिने गरेका छन् । छिमेकी राष्ट्र भारतमा पनि एक्चुरी विषय पढ्ने विद्यार्थीको संख्या निकै रहेको जानकारहरु बताउछन् । कति लाग्छ खर्च ? एक्चुरी विषय पढ्न विद्यार्थीहरुले गणित वा तथ्यांकशास्त्र विषयमा प्लस टु गरेको हुनुपर्छ । प्लसटु सकेको विद्यार्थीले ८ वर्षमा एक्चुरीको पढाइ पूरा गर्न सक्छन् । एक्चुरी पढ्दा ४ वर्ष डिप्लोमा तथा ४ वर्षको फेलोसिप अध्ययन गर्नु पर्छ । एक्चुरी विषय पढ्न भारतमा करिब ४० लाख तथा अन्य देशमा ७० लाखसम्म लाग्ने जानकारहरु बताउछन् । नेपालमा हाल तथ्यांकशास्त्र संकाय अन्र्तगत एक्चुरीयल साइन्सका केही कोर्सहरु पढाई हुदैआएको छ । नेपालमा विए एक्चुरीयल साईन्स पढ्न ४ वर्ष लाग्छ । उक्त कोर्ष पढाइ गर्दा विदेशमा पढाइ हुने एक्ुचरीयल साइन्स पढ्न थप सहयोग पुग्छ । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुसार नेपालमा एक्चुरी शिक्षा आवश्यक छ तर सो शिक्षा सुरु गर्न केही समय लाग्ने देखिन्छ । ‘अहिले नेपालमा बीमा सम्बन्धि विषयहरुमा हामीले जोड दिइरहेको अवस्था छ तर एक्चुरीयल साइन्सको हकमा नेपालमा तत्काल सुरु गर्न सकिदैन, केही समय लाग्छ नै, बीमासँग सम्बन्धि विषयहरुमा बीमा समिति तथा पाठ्यक्रमले समन्वय गरिरहेका छन्, बीमा सम्बन्धि चेतनामा वृद्धी गर्नु आजको आवश्यकता पनि हो,’ सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।

बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

काठमाडाैं । मनसुनी बर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ । सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका दुइसय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलब्ध गराएको छ । वितरित सामग्री सेटमा तार्पोलिन-१, कम्बल-२, महिलाको सारी-१, सिलाउने कपडा-१४.५ मीटर, भाँडाकुडा सेट-१, बाल्टी-१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य १० हजार रूपैयाँ रहेको छ । ‘अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ । नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताए ।’ उनले भने- ‘नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौं ।’ यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ । बाढी पहिरोले आजसम्म कम्तिमा दुइहजार चारसय अठतीस परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारम्भिक अनुमान छ । त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार चारसय पन्ध्र घर पूर्णक्षति भएका र ५ सय ६५ घरमा आंशिक क्षति पुगेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए । बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालित भएका छन् । यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ । त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ । ‘रेडक्रसका निकायहरुले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत् पुर्याएको सेवा अतुलनीय छ । म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलीकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको छ ।’- निर्देशक पौडेलले बताए ।

डिशहोमले २३ करोड ८५ लाखकाे आईपीओ जारी गर्ने, बढायाे प्रकृया

काठमाडौं । डिशहोम मिडिया नेटवर्क लिमिटेडले साधारण सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएको हो । अन्य समूह अन्तर्गतको यस कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । डिशहोमले गत असार ३० गते नै बोर्डमा आवेदन दिएर उक्त प्रकृया अघि बढाएको हो ।

धादिङ र चितवन जोड्ने मोवाखोला पुलमा क्षति, पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं । पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा अविरल वर्षाले क्षति पुराएकाे छ । बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको सडकखण्ड अवरूद्ध छ।

काठमाडाैं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

काठमाडाैं ।  काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमित काठमाडाैंकाे २ र ललितपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ३ सय ७३ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ४८, ललितपुरकाे ७८ र भक्तपुरकाे ४७ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ । आज नेपालमा १ सय ८६ जना काेराेना संक्रमित थपिएका छन् भने १७३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १७ हजार ८ सय ८८ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ८ सय ६८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जको मृत्यु भइसकेकाे छ ।

नेपालमा थप १ सय ८६ जनामा कोरोना पुष्टि, १७३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोराेना भाइरस देखिएको बताए । गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ८ सय ४५, प्रदेश नम्बर २ मा ४ हजार ६ सय २५, बागमती प्रदेशमा ८ सय ५९ र गण्डकी प्रदेश १ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ९१, कर्णाली प्रदेशमा १ हजार ८ सय २५ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ८ सय ८८ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ हजार ८ सय ६८ रहेकाे छ । अर्थात हाल ५ हजार ९ सय ३६ जना सकृया कोरोना संक्रमित रहेका छन् । हालसम्म नेपालमा काेराेनाकाे कारण ४० जनाको मृत्यु भइसकेकाे छ ।