विकासन्युज

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायाे न्युन व्याजदरमा सुन कर्जा योजना

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला सुन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा न्युन व्याजदरमा ग्राहकहरुले आफुसँग भएको सुन राखेर कर्जा लिन सक्नेछन् । यस कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थप/घट गर्न सक्ने बैंकले जनाएकाे छ ।  

मेगा बैंकले ८.३२ प्रतिशतमै एसएमई कर्जा दिने, दुई दिनमै पाइने

काठमाडौं । मेगा बैंक नेपालले  ग्राहकलाई लक्षित गर्दै  साना तथा मझौला(एसएमई) कर्जा योजना ल्याएको छ । बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो । यससँगै अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ ब्याजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ । बैंकका अनुसार आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने हुने छ । मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ । कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।

मोबाइलमा रिचार्ज गर्ने बित्तिकै सरकारले लिन थाल्यो २ प्रतिशत रकम

काठमाडौं । अब सीम कार्डमा रिचार्ज गर्ने बित्तिकै २ प्रतिशत शुल्क काटिने भएको छ । नेपाल टेलिकमको पोस्ट पेड र प्रिपेड सिमकार्ड खरिद गर्दा तथा मोवाइल र टेलिफोनको रिचार्ज गर्दा लाग्ने स्वामित्व शुल्कमा हेरफेर गर्दै सो व्यवस्था गरेको हो । नेपाल टेलिकमले दिएको जानकारी अनुसार अब पोस्ट पेड र प्रिपेड सिमकार्डमा रिचार्ज गर्दा (ओनरसिप चार्ज) काटिने भएको हो । यो भन्दा अगाडि प्रिपेड सिमकार्डमा मात्र शुल्क लिने गरेको थियो । अब भने दुवै सिमकार्डमा शुल्क काटिनेछ । नेपाल टेलिकमा प्रवक्ता राजेश जोशीका अनुसार टेलिकमले ग्राहकको माग अनुुसार शुल्कमा हेरफेर गर्दै आएको र अहिलेको आवश्यकता अनुसार टेलिकमले पोस्ट पेड सिम कार्डमा यस्तो व्यवस्था ल्याएको हो । ‘हामीले ग्राहकहरुको माग अनुसार विभिन्न सेवा सुविधा ल्याउदै आएका छाैं, अहिले पोस्ट पेडको खरिद तथा रिचार्ज शुल्कमा हेरफेर गरिएको छ, प्रि–पेड मोवाइलको हकमा भने पहिलेको व्यवस्था नै कायम रहनेछ’, उनले भने । टेलिकमले पोस्ट पेडको नयाँ सिम कार्ड खरिद गर्दा लाग्ने २ प्रतिशत शुल्क भने अब बुझाउनु नपर्ने जनाएको छ ।

दाहाल–नेपाल पक्षकाे निर्णय: ओलीसँग सहमति गरेर अगाडि बढाैं

काठमाडौं। दाहाल–नेपाल पक्षको भेलाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर अगाडि बढ्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिने निर्णय गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले  वर्तमान नेकपाकाे संकटलाई सकारात्मक ढंगले निकास दिनका लागि नेता, कार्यकर्ता र सदस्यहरूलाई भूमिका खेल्न आह्वान गर्ने निर्णय समेत गरेको बताए। दुई अध्यक्षबीचको छलफल र सहमतिपछि अर्को बैठकको मिति निर्धारण हुने उनको भनाइ छ।

काेराेनाकाे कारण बझाङका ६५ वर्षिय पुरुषकाे निधन

काठमाडौं । मंगलबार नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको हो । गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका थिए । ति पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । मंगलबार ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ ।    

नेपालमा थप ३ सय ११ जनामा कोरोना पुष्टि, १२१ जना निकाे भए

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ११ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् भने आजसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट १२१ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

काठमाडाैं उपत्यकामा एकैदिन ५३ जनामा देखियाे कोरोना

काठमाडाैं । काठमाडौं उपत्यकामा ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५३ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे ४८ र ललितपुरकाे ४ र भक्तपुरकाे १ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ४ सय ७२ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ३५, ललितपुरकाे ८९ र भक्तपुरकाे ५० जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।

पाल्पाका विद्यालयमा पढाइ शुरु

पाल्पा । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण गत चैतदेखि मुलुकभरका विद्यालयहरुको पठनपाठन बन्द रहेको बेला यहाँका विभिन्न विद्यालयले पढाउन सुरु गरेका छन् । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण बन्द भएका विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । रामपुर नगरपालिकामा रहेका केही निजी विद्यालयले प्राथमिक तह माध्यामिक तहलाई पालो अनुसारको पढाइ शुरु गरेका छन् । निजी विद्यालय केहीले बिहान ७ बजेदेखि र केहीले ९ बजेदेखि शुरु गरेर कक्षा विभाजन गरी तीन /तीन घण्टा पढाइ सञ्चालन गरेका छन् । रामपुर अङ्ग्रेजी आवासीय विद्यालयले बिहान हात धोएर, स्यानीटाइजर तथा मास्कको प्रयोग गरी विद्यालय पुगेका विद्यार्थीलाई एक बेञ्चमा दुईका दरले राखेर पढाउन शुरु गरेको छ । विद्यालयका प्रिन्सिपल अनन्त भण्डारीले विद्यालय समयमा एउटा कक्षाको विद्यार्थी अर्को कक्षाकोसँग सम्पर्क नहुने तथा विद्यालय समयमा खाजा घर नखुल्ने र भीडभाड नहुने हुनाले उपयुक्त उपाय अपनाएर विद्यालय सञ्चालन गरिएको जानकारी दिए । लामो समयदेखि विद्यालय जान नपाएका विद्यार्थीहरु पनि अहिले पढ्न पाउँदा खुशी देखिन्छन् । सामुदायिक विद्यालयले गृहकार्य दिने तथा हप्तामा केही दिन बिराएर विद्यालयमै कक्षागत पालो लगाएर पढाइ शुरु गरेका जनाएका छन् । असार १७ गतेदेखि साउन ७ गतेसम्म टोलटोलको विद्यार्थी जम्मा पारेर शिक्षकले पढाउने कार्य पनि झन्झटिलो भएकाले स्वास्थ सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय भएको रामपुर नगर शिक्षा समितिले जनाएको छ । यसअघि पहिलो चरणमा टोल शिक्षण, दोस्रो चरणको कार्यक्रम परियोजना कार्य, गृहकार्य, टेलिफोन सम्पर्क तथा घरघरमा शिक्षक तथा तेस्रो चरणमा विद्यालयले सुरक्षाका उपाय अपनाउँदै, भौतिक दूरी कायम राखी तीन घण्टासम्म वैकल्पिक सिकाइ सहजीकरण गरिने रामपुर नगरपालिकाका नगरप्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष रमणबहादुर थापा बताउँछन् । इन्टरनेटका माध्यमबाट अनलाइन कक्षा, टेलिभिजनको पढाइलाई निरन्तरता दिने, टेलिफोनबाट विद्यार्थीले शिक्षकसँग नबुझेको कुरा सोध्न सक्ने तथा नगरका प्रत्येक विद्यालयले विषयगत रुपमा विद्यार्थीका घर घरमा पुगेर गृहकार्य दिने कार्य गएकामा फेरि विद्यार्थीको भविष्यलाई ध्यानमा राख्दै कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुँदै विद्यालय सञ्चालन गरेको नगर शिक्षा शाखा प्रमुख विकले बताए । पाल्पाको पूर्वखोला गाउँपालिकाले भने टोलटोलको पढाइलाई निरन्तरता दिएको छ । टोलमा रहेका भवन, क्वारेन्टाइन नबनाइएका विद्यालयमा पढाइ सञ्चालन गरेको पालिकाले छ । विद्यार्थी सङ्ख्या तथा शिक्षकको सङ्ख्याको आधारमा एउटा वडाको करिब ४० भन्दा बढी टोलमा विद्यार्थीलाई शिक्षा प्रदान गरिएको जनउज्वल आधारभूत विद्यालय अर्खलडाँडाका शिक्षक दिल्लीराज पङ्गेनीले बताए । अहिले एउटा टोलमा १० जनासम्म विद्यार्थी राखेर शिक्षा प्रदान गरिएको शिक्षाशाखा प्रमुख डिल्लीराज ढुङ्गानाले जानकारी दिए । पूर्वखोला गाउँपालिका पाल्पाले शिक्षक स्वंयमसेवकसमेत परिचालन गरी शिक्षा प्रदानलाई व्यवस्थित बनाएको छ । निस्दी गाउँपालिका पाल्पाले पनि स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेको छ । गाउँपालिका कोरोनाको सङक्रमितको सङ्ख्या नरहेको र अवस्था सामान्य नै रहेकोले स्वाश्थ्य सावधानी अपनाएर विद्यालयमा नै पढाइ सञ्चालन गरिएको शिक्षा अधिकृत प्रमोद यादवले बताए । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका सूचना अधिकारी विष्णु बेल्वासेले भने तीनदेखि चार लाखसम्म छपाइ समग्रीका लागि सरकारको सहयोगसमेत प्राप्त भएका र केही स्थानीय तहले सिकाइ व्यवस्थापन मिलाएको बताए । जिल्लाको रम्भा, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, तिनाउ गाउँपालिकासँगै तानसेन नगरपालिकामा पनि टोल–टोलमा पढाइ सञ्चालन भएकोे शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाले जनाएको छ । विस्तारै अन्य विद्यालयहरुले पनि पठनपाठन सञ्चालन गर्ने बनाएका छन् ।