सुनको मूल्य बढ्दो क्रममा, प्रतितोला ९२ हजार ४ सयमा कारोबार
काठमाडौं । विहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन ९१ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार प्रतितोला ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी ९ सय ८० रुपैयाँमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइडियल यमुना सहकारीद्वारा राहत वितरण
काठमाडौं । सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ । जिल्ला सहकारी संघ काठमाडौंको संयोजनमा बुढानिलकण्ठ नगरपालिकामा बसोबास गर्ने २० घर परिवारलाई खाद्यन्न राहत वितरण गरिएको हो । बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बर ४, ५ र ६ मा बासोबास गर्ने अति विपन्न र अशक्तहरुलाई प्रति परिवार एक बोरा चामल, पाँच केजी दाल, दुई लिटर तेल, पाँच प्याकेट नुनलगायतको खाद्यन्न वितरण गरिएको संस्थाका अध्यक्ष क्वायङ लामाले बताए । कोरोना भाइरस(कोभिड १९) का कारण समस्यामा परेका दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई संस्थाले खाद्यन्न सहयोग गरेको हो । संस्थाले कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन आफ्ना सदस्य तथा समुदायमा मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री पनि वितरण गरेको थियो । सो अवसरमा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत अति समस्यामा परेका परिवारलाई सहयोग गर्दै आएको बताए । जिल्ला संघको समन्वयमा आइडियल यमुना सहकारीसहित अन्य सहकारीले पनि कोभिडका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई राहत दिइरहेको उनले बताए ।
चिउरा निर्यात हङकङ्ग र अष्ट्रेलियामा, ओट्स र कर्नफ्लेक्स गाउँघरमा
काठमाडौं । नेपालीहरुको खानपिन शैलीमा छिटोछिटो परिवर्तन आएको छ । मकै भटमास, रोटी-तरकारी र दहि-चिउरा खाजाको सट्टा चाउचाउ, बिस्कुट, ओट्स र कर्नफ्लेक्सको प्रयोग बढ्दो छ । उपभोक्ताको आनीबानीमा आएको परिवर्तन, खानपिनको तौल तरिकामा आएको परिवर्तनसँगै नेपाली उद्योगीले पनि आफ्ना उत्पादनमा परिवर्तन ल्याएका छन् । तीन पुस्ता अघिदेखि खाद्यान्य व्यवसाय गर्दै आएको भैरहवाको एक व्यवसायिक घरानाले हाइलाइफ ब्राण्डमा ओट्स र कर्नफ्लेक्स उत्पादन थालेको छ । विदेशी ब्राण्डका ओट्स र कर्नफ्लेक्सको उपभोग नेपाली बजारमा बढ्दै गएपछि नेपाली कम्पनीले यस्तो उत्पादन शुरु गरेको हो । ‘हामीले हाइलाइफ ब्राण्डमा ओट्स र कर्नफ्लेक्स नेपालमा नै उत्पादन गरेर बिक्री वितरण गर्न थालेको डेढ वर्ष भयो’ हाइलाइफ फुड्सका प्रबन्ध निर्देशक प्रशान्त घिमिरेले भने- ‘देशभर गाउँ सहर सबैतिर हाइलाइफ ब्राण्डको उपस्थिति छ । उपभोक्ताले रुचाएका छन् । बजार विस्तार हुँदै गएको छ ।’ विदेशी ब्राण्डका ओट्स र कर्नफ्लेक्सको तुलनामा हाइलाइफको मूल्य कम भएको तर गुणस्तर समान रहेको उनले बताए । ‘बहुराष्ट्रिय कम्पनीले प्रयोग गर्ने कच्चा पदार्थ र हामीले प्रयोग गर्ने कच्चा पदार्थ उहि हो । उनीहरुले ब्राण्डिङमा खर्च धेरै गर्छन् । हामीले कम खर्च गर्छौं । गुणस्तर उही हो, मूल्य नेपाली प्रडक्ट सस्तो हुन्छ’ उनको तर्क छ । ‘बजारमा हुने अन्य कुनैपनि ब्राण्डका उत्पादनको तुलनामा हाम्रो उत्पादन कमसल हुनु हुँदैन भन्नेमा हामी प्रतिबद्ध छौं’ उनले भने- ‘साथसाथै आकर्षक प्याकेजिङ र कम मूल्यलाई हामीले जोड दिएका छौं ।’ ‘ओट्सलाई अहिले शताब्दीकै सबैभन्दा पोषणयुक्त खानाको रुपमा लिइन्छ । प्रोटिन धेरै हुने भएकोले आफ्नो हेल्थलाई लिएर जो सचेत छ उसले यो प्रयोग गर्छ’ उनले भने- ‘आट्स जंक फुडमा पनि पर्दैन । यसमा ओट्स बाहेक अरु केही हुँदै हुँदैन । चिनी अथवा प्रेजरभेटिभ लगायतका कुनै पनि केमिकल यसमा हुँदैन । यो शतप्रतिशत नै केमिकलरहित छ ।’ हेर्दा जौ जस्तै देखिने ‘जै’ नामको कच्चापदार्थबाट ओट्स बन्छ । ओट्स उत्पादनको लागि आवश्यक जै बागलुङ्, पर्वत क्षेत्रमा अलि अलि उत्पादन भएपनि उद्योगका लागि चाहिने ठूलो परिणामको कच्चा पदार्थ अष्ट्रेलिया, श्रीलंका तथा क्यानडाबाट आयात गर्नुपर्ने उनले बताए । उनका अनुसार ओट्सको बजार ६० प्रतिशत काठमाडौंमा नै हो । ठूलो बजार भएकोले सबैको ध्यान काठमाडौंमा केन्द्रीत छ । हाइलाइफले गाउँका बजारमा पनि जोड दिएको छ । ‘जुम्ला, डोल्पालगायतका स्थानमा पनि पुगेका छौं । गाउँका मानिसहरुलाई ओट्स खुवाउन सिकाउँदै छौं । हामीले भविष्य त्यहाँ देखेका छौं’ प्रबन्ध निर्देशक घिमिरेले भने । अहिले गाउँ शहर सबैतिर सबैका हातहातमा मोवाइल छ । युट्युव, फेसबुक लगायतबाट ओट्सको फाइदाको बारेमा सबैलाई थाहा भइसकेकै छ । डाइबिटिज भएकाहरुले सुगर कन्ट्रोलमा ल्याउनका लागि एन्टी अक्सिडेन्ट पनि राम्रै मात्रामा हुने जस्ता कारणले ओट्सको बजार बढेको उनले बताए । घिमिरेको परिवारिक व्यवसायमा हाइलाइफ फुड्स एउटा उद्योग मात्र हो । ‘चिउरा, मस्यौरा, बेसन, दालमोठ उत्पादन गर्छौ । अन्य उद्योगका लागि आवश्यक प्याकेजिङ म्याटिरियल्स उत्पादन गर्छौ । सलाई उद्योग छ । २५ वर्ष पुरानो धागो उद्योग चलाईरहेका छौं’ उनले भने-‘करिव एक हजार जना कर्मचारी छन् । वार्षिक ८०-८५ करोड रुपैयाँको कारोबार हुन्छ ।’ सलाई आयात प्रतिस्थापन गर्न ठूलो भूमिका खेलेको बताउँदै घिमिरेले अहिले हाइलाइफ ब्राण्डका चिउरा निर्यात गरिरहेको बताए । ‘चिउरा हाम्रो एग्रो बेस्ड उत्पादन हो । त्यहाँ हामीले १०० प्रतिशत नै नेपालको कच्चा पदार्थ प्रयोग हुन्छ । हामी सिधै किसानसँग गएर धान खरिद गर्छौं । हाम्रा प्रोडक्टहरुमा कुनै किसिमको मिसावट पनि छैन ।’ हङकङ्ग र अष्ट्रेलियामा चिउरा निर्यात पनि गरिरहेका र नेपाली चिउराको माग बढ्दै गएको उनको भनाई छ । ताइचिन चिउरा काठमाडौंबाट ठूलो मात्रामा निर्यात हुन्छ । नेपाली बजारमा चिउरा निकै खपत हुने भएकोले उपभोक्ताको चाहाना अनुसार विभिन्न तौलमा विभिन्न प्रकारका चिउरा उत्पादन गरिरहेको उनले बताए । घिमिरेले व्यवसाय विस्तारको योजना पनि बनाएका छन् । ‘चाँडै नै हाम्रा केही नयाँ प्रोडक्टहरु आउँदै छन् । बुटवल नजिकै औद्योगिक क्षेत्रमा उद्योगका लागि ठाउँ बुक गरिसकेका छौं’ उनले भने ।
दुःखसँगै ‘शिक्षा’ बढाएपछि सुध्रियो अलैँची
काठमाडाैं । दशकअघि पूर्वी पहाडी क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत थियो अलैँची । कम लागतमा भिरालो बारीमा नै फल्ने भएपछि किसानले अलैँचीकै आम्दानीले घर खर्च चलाउनदेखि जग्गा–जमिन हत्याउनसम्म मद्दत गर्यो अलैँचीले । तर एकाएक अलैँचीमा रोग देखापरेपछि धेरै किसानको रोजीरोटी गुम्यो भने धेरैको आम्दानीको बाटो बन्द भयो । अलैँची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर मन ९४ (किलो) कै लाखसम्म पनि पुग्यो । तालिम र विज्ञको सल्लाहबाट किसानले अलैँचीलाई सुधारेर पुरानै अवस्थामा पुर्याएका छन् । खेतीमा आधुनिकता घुसाएसँगै अलैँचीमा सुधार गरेर किसानले आम्दानी लिन थालेका छन् । अलैँची मासिएर निरास भएका समयमा तालिम लिएर खेती गर्दा पुनः अलैँचीबाट आम्दानी लिन थालेको इलाम माइजोगमाई गाउँपालिकास्थित नयाँ बजारका किसान धर्म भट्टराई बताए । अलैँची रोप्ने र गोडमेल गर्ने तरिका जानेपछि त्यहीअनुसार खेती गर्दा अलैँचीबाट सफलता हात पर्न थालेको भट्टराई सुनाउनुहुन्छ । “पाखामा गाडेपछि एक चोटी फाँड्न र एक चोटी गोड्दा मात्र हुन्छ भन्ने लाग्थ्यो, तर स्याहार गर्न र मलसमेत लगाउन थालेपछि अलैँची सप्रिन थालेको छ”, भट्टराई भने, “हामीले रोप्ने र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैँचीबाट फाइदा लिन सफल भइयो ।” दशकअघि अलैँचीबाट उल्लेखीय आम्दानी लिइरहेका भट्टराईले बगानै सखाप भएपछि अलैँचीको विकल्प खोज्नुसमेत भएको हो । तर विज्ञ र प्राविधिकले अलैँची लगाउँदा फाइदा लिन सकिन्छ भनेपछि उहाँले फेरि अलैँची रोप्न थाले । “अहिले प्रत्येक एकरएक र दुईरदुई महिनामा अलैँची गोड्ने काम गर्छु, यसो गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैँची सप्रिएको छ ।” भट्टराईका अनुसार निश्चित मात्रामा सिँचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैँची सप्रिएको हो । त्यसो त प्रायः किसानले अलैँची परम्परागत प्रविधिबाट गरेकाले पनि अलैँची मासिएको हो । अलैँचीमा मात्रा मिलाएर मलजल र गोडमेल नभएकाले पनि फल दिन सकेको थिएन । रोपिएको बिरुवा पनि केही वर्ष टिक्ने अनि आफैँ मासिएर जाने, गानो कुहिने समस्या आएपछि अलैँचीबाट लामो समय आम्दानी लिन नसकिएको हो । तर पछिल्लो समय भने किसानले अलैँचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हटेको हो । रोप्ने र गोडमेल गर्न नै नजानेका कारण अलैँची मासिन पुगेको बेला आफूले पछि जानेको इलाम सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी किसान गीतादेवी समाल (लुङ्गेली) बताए । “घरेलु औषधि पनि प्रयोग थालेपछि अलैँची सुध्रिएको छ । अलैँचीलाई मलको प्रयोग महत्वपूर्ण हुनेरहेछ । जुन पहिले हामीले गरेका थिएनौंँ” समालले भने, “हामीले त अलैँचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका थियौँ तर तालिम र परामर्शपछि अलैँची सुध्रियो ।” समालले तीन वर्षअघि लक्ष्मी लघुवित्तबाट दिइएको ‘आधुनिक कृषि’ सम्बन्धी तालिमबाट अलैँची खेतीका बारेमा जानेका थिए । त्यसपछि खेती गर्दा अलैँचीबाट आम्दानी लिन थालेको समाल बताए । “पहिले त कति पानी, कहिले खनजोत केही पत्तो थिएन ।” दशकअघिको खेती प्रविधि सम्झँदै समाल भने, “हामीले जबर्जस्ती आम्दानी लिएका रहेछौँ, त्यतिबेला अलैँची त दुःख बेगरै फल्दोरहेछ ।” समालले प्रत्येक किसानले खेती गर्नुपूर्व तालिम र परामर्श लिनु आवश्यक रहेको बताए । अज्ञानताले मासियो अलैँची खेती प्रविधिमा ज्ञान नै नभएकाले अलैँची मासिएको कृषि विज्ञको भनाइ छ । अलैँचीलाई आवश्यक पर्ने भिटामिन, मलजल र गोडमेल नहुँदा मासिएको विज्ञहरू बताउँछन् । ‘रोपेपछि फल्छ’ भन्ने धारणाले पनि अलैँचीबाट लामो समय फाइदा लिन नसकेको कृषि विज्ञ योगेन्द्रमान श्रेष्ठ बताए । “अलैँची रोपाइँमा नै समस्या भएकाले राम्रो उत्पादन दिन नसकेको हो ।” श्रेष्ठ भने, “अलैँचीलाई सुक्खा बारी आवश्यक चाहिन्छ । तर अहिले धेरैजसो किसानले बारीमा अलैँची लगाएकाले पानी बढी हुने हुनाले रोग लाग्ने गरेको हो ।” त्यसो त दीर्घकालीन फाइदा लिनका लागि रोगले नभेटेको बिरुवा छनोट गर्नुपर्ने र माटोअनुसार सिँचाइ र गोडमेल गर्नुपर्ने विज्ञहरूको सुझाव छ । मलखाद र अलैँचीमा लगाइने हतियार प्रयोगले पनि अलैँची मासिने गरेको अर्का कृषि विशेषज्ञ तथा सिनियर कषि परामर्शकर्ता शिव यान्डो श्रेष्ठ बताए । “हामीले सिँचाइमा एकदमै ध्यान पुर्याउनुपर्छ । सिँचाइ नमिलेमा गानो कुहिने रोग लाग्छ भने हतियार प्रयोग गर्दा पनि सङ्क्रमणरहित हतियार प्रयोग गर्नुपर्छ ।” श्रेष्ठ भने, “बिरुवालाई पनि त उत्पादन गर्न खाद्यान्न चाहिन्छ । त्यो भएन भने मरिहाल्छ नि । त्यसैले खुकुलो माटो बनाउन र किरा मार्न औषधिको समेत प्रयोग चाहिन्छ ।” अनुसन्धानकर्तासमेत रहेका श्रेष्ठका अनुसार खेतीमा औषधि प्रयोग, मात्रा मिलाएर गरिएको सिँचाइ र गोडमेल गरेमा पहिलेको तुलनामा २५ प्रतिशतसम्म उत्पादन वृद्धि भएको देखिन्छ । गोठेमल र गहुँत प्रयोग पनि मात्रा मिलाएर लगाए उत्पादन वृद्धि हुने भन्दै श्रेष्ठले बारी, खनजोत, सिँचाइ मिलेमा पहिलेकै जस्तो उत्पादन लिन सकिनेसमेत बताए । कसरी रोप्ने त अलैँची ? श्रेष्ठका अनुसार अलैँची रोप्नका लागि एक महिनाअघि नै खानेको खाल्डो उपयुक्त हुन्छ भने विशेषगरी जेठको शुरुआतमा वर्षात् भएपछि लगाउँदा उचित हुन्छ । रोप्ने बिरुवालाई एक दिन अगाडि निकालेर औषधिमा डुबाएमा बिरुवा स्वस्थ हुने श्रेष्ठको भनाइ छ । “अलैँची बचाउन धेरै थोक चाहिँदैन, घरायसी वस्तुले पनि अलैँची स्वस्थ बनाउन सकिन्छ ।” उनका अनुसार त्यसरी रोपेको बिरुवाले टुसा धेरै दिने र फल दिन पनि योग्य हुने गर्दछ । गोडमेलमा ध्यान दिनुपर्ने र रोगाएको बिरुवा हटाउँदा बिरुवाले फल दिने गर्दछ । पराम्रागत भट्टीले घटाउँदैछ गुणस्तर विज्ञहरूले अलैँचीलाई ‘अन्तर्राष्ट्रिय गुणस्तर’को बनाउन आधुनिक भट्टी प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । परापरागत भट्टीमा अलैँची डढ्ने वा नपाक्ने (एकनासको नहुने) र धुवाँ लाग्ने भएकाले आधुनिक भट्टी प्रयोग गर्नुपर्ने उनीहरू बताउँछन् । परम्परागत भट्टीमा सुकाएको अलैँची विश्वबजारमा धेरै लामो नबिक्ने हुनाले अलैँचीमा आधुनिक भट्टीकै प्रयोग गर्नु आवश्यक रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताए । “युरोप, अमेरिकालगायत राष्ट्रमा आधुनिक भट्टीको धुवाँरहित अलैँची नै खोजिन्छ । थाइ मुलुकमा मात्रै हो परम्परागत भट्टीको अलैँची जाने”, घिमिरे भने, “हामीले बारीबाट निकालेको केही महिनामै अलैँची विश्वबजार पुग्ने वातावरण मिलाएमा आधुनिक भट्टीको गुणस्तरीय अलैँची बेच्न सकिन्छ ।” यसो त अधिकांश किसानले पराम्परागत भट्टी नै प्रयो गर्छन् । प्रयोग गर्न सहज हुने भएकाले पनि पराम्परागत भट्टीले प्राथमिकता पाएको हो । तर आधुनिक भट्टी प्रयोगमा तत्काल नल्याए नेपालबाट जाने अलैँची बिक्न समस्या हुने भन्छन् कृषि परामर्शकर्ता श्रेष्ठ । “पराम्परागत भट्टीमा तापक्रम घटबढ हुन्छ भने ठुस्स गन्हाउँछ पनि”, श्रेष्ठ भने, “लामो समय टिक्दैन पनि । तर आधुनिक भट्टीको भने गुणस्तर राम्रो हुन्छ र टिकाउ पनि हुन्छ ।” उनका अनुसार भारत हुँदै तेस्रो मुलुक जाने अलैँची भट्टीकै गुणस्तर पनि भारतको स्थानीय अलैँचीको तुलनामा कम गुणस्तरको छ । यसको प्रत्यक्ष असर भने अलैँचीको मूल्यमा पर्ने गरेको श्रेष्ठको भनाइ छ । चियाका लागि प्रदेशको १६ करोड ५० लाख बजेट चिया क्षेत्रका लागि प्रदेश नं १ सरकारले १६ करोड ५० लाख रूपैयाँ रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटमा प्रदेशले नयाँ क्षेत्रको विस्तार, चियाको प्राङ्गरिक प्रमाणीकरण, तयारी चियाको विस्तार तथा प्रवद्र्धनका लागि बजेट विनियोजन गरेको बजेट पुस्तिकामा जनाइएको छ । पुस्तिकामा प्रदेशको प्रमुख निर्यातयोग्य बाली रहेको जनाइएको छ । प्रदेशले सूर्योदय नगरपालिकास्थित फिक्कलमा निर्माणाधीन ‘चिया परीक्षण तथा प्रवद्र्धन केन्द्र’ निर्माण सम्पन्न गरिने जनाइएको छ । सूर्योदय नगरपालिकाले तयार गरेको डिजाइन स्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोड रूपैयाँभन्दा बढी छ । भवन निर्माणका लागि नगरले २० प्रतिशत र प्रदेश सरकारले ८० प्रतिशत बजेट विनियोजन गर्ने सहमति भएको छ । प्रदेशले छुट्याएको रकमको ठूलो हिस्सा भवनमा खर्च देखिएको छ । देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ । रासस
किस्ता तिर्न ताकेतापछि १ सय ५५ गाडीको चाबी बैंकलाई
काठमाडाैं । कोरोना महामारी रोकथामका लागि सरकारले आह्वान गरेको लकडाउन १ सय दिनभन्दा बढी पुग्दासमेत सार्वजनिक यातायात ठप्प छ । पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् । ऋण लिएर गाडी सञ्चालन गरेका यातायात व्यवसायी अहिलेको सङ्कटपूर्ण अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि बारम्बार ताकेता हुन थालेको भन्दै ऋण लिँदा धितो राखेको गाडी नै बैंकलाई बुझाउने अभियानमा छन् । पोखरामा प्रधान कार्यालय रही देशभर सार्वजनिक यातायात चलाउँदै आएको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले गत सोमबारबाट चाबी बुझाउन शुरु गरेकामा बुधबार पोखरामा विभिन्न चार बैंकमा थप ६५ गाडीका चाबी बुझाए । मेगा बैंकमा १८, कामनामा १७, सिद्धार्थमा १४ र साङ्ग्रिला बैंकमा १६ गाडीको चाबी बुझाइएको प्र्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए । यसअघि ९० गाडीको चाबी बुझाइएको थियो । व्यवसायीले अहिलेको विषम अवस्थामा किस्ता भुक्तानी गर्न नसकिने र न्यूनतम छ महिना म्याद थप गर्न सरकारसँग माग गरे पनि सुनुवाई नभएपछि गाडीको चाबी नै सम्बन्धित बैंकमा बुझाएर दबाब शुरु गरेका हुन् । आफूहरुसँग यसबाहेक अन्य कुनै पनि विकल्प नभएकाले बाध्य भएर ऋण लिँदा राखेको धितो बैंकलाई नै सुम्पनुपरेको गुनासो यातायात व्यवसायीको छ । सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोे र विषम अवस्थामा समेत थप प्रताडित बन्नुपरेको अध्यक्ष केसी बताए । “हामीले सरकारलाई किस्ता तिर्न, खाना खानका लागि राहत माग गरेकोे होइन, यो बेला सरकारसँग राहत माग्ने बेला पनि होइन”, अध्यक्ष केसीले थपे, “हामीले अहिलेको सङ्कटपूर्ण अवस्थामा किस्ता तिर्न न्यूनतम छ महिनाको समय व्यवस्थापन गरिदिनु मात्र भनेका हौं, बैंक तथा वित्तीय संस्थाले यही असार मसान्तमा खाने नाफा छ महिनापछि खाँदा के बिग्रन्छ र रु” बैंक तथा वित्तीय संस्थाबाट ७० प्रतिशत र व्यवसायीको ३० प्रतिशत लगानीमा यातायात व्यवसाय सञ्चालन हुँदै आएको बताइन्छ । देशभर ३ लाख यात्रुवाहक तथा ६० हजार मालवाहक सवारी साधन अहिले ठप्प हुँदा १२ लाखले प्रत्यक्ष तथा ४० लाख जनाले अप्रत्यक्ष रोजगारीबाट बञ्चित हुनुपरेको भनाइ व्यवसायीको छ । कामना सेवा विकास बैंकका गण्डकी प्रदेश टुवराज बाँस्तोलाले यातायात व्यवसायीलाई ऋण तिर्न ताकेता गर्न भन्दा पनि सहजीकरण मात्र गरिएको बताए । तिर्र्न इच्छा भएकाहरुलाई बन्दाबन्दीमा फोन गरेर सहजीकरण र सहयोग गरिए पनि कसैलाई पनि तिर्नै पर्दछ भनेर दबाब नदिइएको उनको भनाइ छ । “राष्ट्र बैंकको निर्देशनानुसार हामीले असार मसान्तसम्म कुनै पनि ऋणको जरिवाना लिंदैनौं, किस्ता तिर्न सक्नेहरुलाई बैंकको शाखा खुलेको छ, पछि एकैचोटी तिर्दा गाह्रो होला, सक्नुहुन्छ भने अहिले भुक्तानी गर्दा राम्रो हुन्छ भनेर मात्र फोन गरिएको हो ।” बाँस्तोलाले भने, “बैंकको सहजीकरणलाई ताकेता र दबाबको रुपमा नलिऔं ।” कतिपय बैंक तथा वित्तीय संस्थाले भने आर्थिक वर्षको अन्तिम असार मसान्तमा संस्थाको हिसाब मिलान गर्न ऋणीलाई ताकेता गर्ने गरेको बताइन्छ । बैंकबाट ताकेता हुन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् ।
अजोड इन्स्योरेन्सको आईपीओ आजदेखि खुल्यो, कति भर्न पाइन्छ ?
काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज(असार २५ गते) बाट बिक्री शुरु भएको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । गत असार ७ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको इन्स्योरेन्सले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । याे पनि पढ्नुहाेस् ः अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?
बाढीपहिरोले बाह्रबिसेमा १८ बेपत्ता, २ जनाको शव भेटियो
काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा बेपत्ता भएका १८ जना मध्ये दुई जनाको शव भेटिएको छ । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ । भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । सम्बन्धित समाचार : बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो
बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो
मेलम्ची । गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएकोे छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् । बाह्रबिसे नगरपालिकी उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए । “खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरे । रासस