विकासन्युज

वर्षाका कारण सीमास्तम्भ ढल्यो

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौं”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “जीर्ण अवस्थमा रहेको सीमास्तम्भको मर्मतसम्भारकार्य नहुँदा ढलेको छ ।” बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेकोबारे जानकारी गराइएको उनले बताए । सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो । सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए । नहरमा डुबेर बालिका बेपत्ता कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनार बुधबार साँझ नहरमा डुबेर बेपत्ता भएकी छन् । नहरमा पौडी खेल्ने क्रममा नेहा डुबेर बेपत्ता भएकी हुन् । नहरमा पानीको बहाव उच्च हुँदा पौडिने क्रममै डुबेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बालिका नहरमा डुबेको जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली खोजबिनका लागि खटाइएको बताए । नहरमा पानीको बहाव उच्च भएकाले खोजबिनका लागि गाह्रो भएको उनले बताए । खोजीकार्य जारी रहे पनि बालिका अहिलेसम्म फेला पर्न सकेकी छैनन् ।   रासस

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ५० पुग्यो

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको पिसीआर परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका दुई÷दुई जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीन जनामा सङ्क्रमण देखिएको छ । विभिन्न जिल्ला गरेर बुधबार २० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ५ सय ५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यद्यपि सङ्क्रमित सबैको अवस्थामा भने सामान्य भएको महाशाखा प्रमुख डा तिवारीले बताए । त्यसैगरी कोरोना सङ्क्रमण निको भएर घर फर्कने सङ्ख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको उनले जनाए । उनका अनुसार बुधबार चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना मुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या १ हजार २ सय ९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । प्रदेश अस्पतालका चिकित्सकमा सङ्क्रमण प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टिनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि असार ११ गते त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको थियो । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन् । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिए  ।    रासस

अष्ट्रेलियाको मेलबोर्नमा फेरि लकडाउन लागू

काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो शहर मेलबोर्नमा कोरोना संक्रमणको वृद्धिलाई ध्यानमा राख्दै दोस्रो पटक लकडाउन लागु गरेको छ । नयाँ आदेश अन्तर्गत करीव ५० लाख मेल्बर्नका बासिन्दाहरूलाई उनीहरूको घर छोड्न दिइने छैन, यद्यपि उनीहरू आवश्यक सेवाका लागि पठाउन सक्षम हुनेछन् । स्थानीय पुलिसका अनुसार शहरको वरिपरि घेरा लगाईएको छ, जसमा विभिन्न चौकीहरू पनि बनाइएको छ । अन्य राज्यहरूसँग भिक्टोरियाको सीमा मंगलबार बन्द गरिएको छ । मेलबोर्न भिक्टोरियाको राजधानी हो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिशनले बुधवार मेलबोर्नवासीहरूलाई भने, तपाईका मान्छेहरूले अहिले कस्तो चीज सहन गर्दै हुनुहुन्छ त्यसको मूल्य सम्पूर्ण देशलाई थाहा छ।ू तपाईं यो आफैंमा र तपाईंको परिवारको लागि मात्र होइन तर सम्पूर्ण अस्ट्रेलियाली समुदायको लागि सहिष्णु हुनुहुन्छ। भिक्टोरियाका प्रिमियर डानियल एन्ड्रयूजले मंगलबार मेलबोर्नमा लकबन्दीको घोषणा गरे । शहरमा मंगलबार कोरोना संक्रमित १ सय ९१ जना भेटिएका थिए । बुधवार, मेलबर्नमा मात्र १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भयो । सो संक्रमितको संख्या अष्ट्रेलियाका अन्य शहरहरूको तुलनामा धेरै रहेको भेटिएको कुरा बाहिर आएको छ । अस्ट्रेलियामा हालसम्म ९ हजारभन्दा बढी कोरोना संक्रकित फेला परेका छन्, १ सय ६ जना मानिसहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  (बीबीसीकाे सहयाेगमा)

विश्वमा संक्रमितको १ करोड २१ लाख नाघ्यो, उपचारपछि निको भए ७० लाख बढी

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २१ लाख ५५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार विहीबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ५१ हजार १ सय ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७० लाख २५ हजारभन्दा बढी मानिस निको भएका छन् । पछिल्लो २४ घण्टा यता विश्वमा २ लाख १३ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ, भने ५ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा ३१ लाख ५८ हजार ७ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ८ सयभन्दा बढी रहेका छन् । उपचारपछि १३ लाख ९४ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टा यता अमेरिकामा करिब ९ सय जनाको कोरोनाबाट मृत्यु भएको छ । ब्राजिलमा करिब १२ सय जनाको एक दिनमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोनाले भयाहक स्थित पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६८ हजारभन्दा बढी रहेका छन् । ब्राजिलमा १७ लाख १६ हजार २ सय मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । निको हुनेको संख्या ११ लाख १७ हजार पुगेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ७ लाख ६९ हजारभन्दा बढी संक्रमित छन् । २१ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको छ भने ४ लाख ७६ हजार उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ४ सय २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)

दुर्गमका बैंकका शाखाको पीडाः बैंकिङ नबुझ्ने ग्राहक, परिस्थिति नबुझी नाफा खोज्ने व्यवस्थापन

विगतमा नेपाल राष्ट्र बैंकको निर्णय र योजनाले धमाधम बैंक, वित्तीय संस्था, माइक्रो फाइनान्स लगायत बैंक वित्तीय संस्थाहरु खुल्न थाले । वित्तीय स्रोत उपलब्ध गराउने संस्थाहरुको देशव्यापी उपस्थितिपछि स्थानीयस्तरमा विभिन्न उद्योग व्यवसाय सुरु हुन थाल्यो । जलविद्युत कम्पनीहरु खुल्न थाले । यसपछि नै नेपालमा विगत दुई दशकमा सबैभन्दा बढि परिवर्तन र फड्को वित्तीय क्षेत्रमा देखियो । देश संघीयतामा गएपछि सरकार र नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्नै पर्ने योजना आयो । यो योजनाले आमजनतामा वित्तीय चेतना, साक्षरता र पहुँच अभिबृद्धिमा सहयोग पुग्यो । र, नाफामुखी र शहर केन्द्रिको आरोप खेप्दै आएका वाणिज्य बैंकहरु ७ सय ५३ वटा स्थानीय तहमा पुगे । यसले गाँउगाँउ तथा विकट दुरदराजमा बैंक पुगे, वित्तीय साक्षारता र वित्तीय स्रोत परिचालनको राम्रो अवसर सिर्जना भयो । वित्तीय क्षेत्र आफैमा एउटा जोखिमको र संवेदनशील क्षेत्र हो । तथापि शहर बजार र तराईका सुरक्षित स्थानीय तहमा शाखा खोल्न र चलाउन त्यति गाह्रो नहोला । तर, विकट र दुर्गम स्थानमा बैंक र यसका शाखा खोल्न र चलाउन अवश्य नै चुनौतिहरु छन् । आजको समयमा विकट र दुर्गम स्थानीय तहमा बैंक र यसका शाखाले विशेष प्रकारका चुनौतिहरुको सामाना गर्नु परेको छ । वित्तीय साक्षरता विकट र दुर्गम स्थानीय तहको बैंकमा प्रमुख समस्या भनेको नै वित्तीय साक्षरताको अभाव होे । आजको युवा पुस्ता गाँउमा नबस्नु र अधिकांश जनसख्या बालबच्चा र वृद्ध हुनुले समस्या सिर्जना गरेको छ । बैंकको विश्वासभन्दा पनि चलिरहेको साहु महाजन प्रथा हालसम्म पनि कायमै छ । पहिलो पटक बैंकले शाखा खोलेको अवस्थामा पनि ‘खाएर भाग्ने पो हो कि’ भन्ने जस्ता सोचले अझै पनि गाँजेको अवस्था छ । लेखक चेतना, साक्षारता र शिक्षाको अभावले बैंकले शाखा खोलेको दुई तीन वर्षसम्म त सेवाग्राहीलाई बैंकसम्म ल्याउनै गाह्रो परेको हुन्छ । बैंकप्रतिको विश्वास जित्नको लागि अधिकांश समय कर्मचारीहरुले वित्तीय साक्षरतामा नै ध्यान दिनु पर्ने देखिन्छ । प्राविधिक समस्या बही खाताको ढड्ढा युगबाट कम्प्युटराइज्य युगमा आज हामी आएका छौं । झन् बैंकको हरेक काम पूर्णतः प्राविधि मै भर पर्दछ । तर, दूरदराजका शाखाहरुमा राम्रोसँग इन्टरनेट नचल्ने, कम्प्युटर, प्रिन्टर, जेनेरेटर जस्ता प्राविधिक उपकरणमा समस्यामा भएमा दक्ष प्राविधिकको अभावले बनाउन लामो समय लाग्ने जस्ता प्रमुख समस्या समाधानमा अझै अझै पनि कठिनाइ भोग्नु परेको छ । जनशक्ति अभाव मानिस स्वभावले नै प्रगतिवादी हुन्छ । सुगम र सुरक्षित ठाउँँमा बस्न रुचाउँछ । त्यसैले बैंकमा पनि कर्मचारीहरु बिकट शाखामा जान नरुचाउने, गइहाले पनि सरुवा गर्न खोज्ने, कामप्रतिको चाहना कम राख्ने जस्ता समस्या बैंकका ग्रामीण शाखाले भोगिरहेका छन् । यस्तै, एउटा बैंकबाट प्रमोशन भएर अर्को बैंकमा फड्को मार्ने जस्ता प्रबृत्ति पनि देखिएको छ । जसले गर्दा दक्ष र असर जनशक्तिको अभाव बैकको प्रमुख समस्या हो । भौगोलिक विकटता बिकट पहाडी क्षेत्रका गाँउपालिका र स्थानीय तहको धेरै ठाउँमा अहिले पनि यातायातको साधन पुग्न सकेको छैन । सवारी साधनको अभाव तथा घरहरु एकआपसमा टाढा हुँदा बैंकका कर्मचारी तथा सेवाग्राही हिडेरै बैंकसम्म आउजाउ गर्नुपर्छ । यसले गर्दा सेवाग्राही र बैंकबीच दुरी कम गर्न समस्या भएको छ ।  यो समस्याले वित्तीय साक्षरता अभिबृद्धि मात्र समस्या भएको छैन, गाँउगाँउका सेवाग्राहीहरु घन्टौं लगाएर पाँच दश हजार जम्मा गर्न बैंकसम्म आउनुभन्दा घरमै राख्न रुचाउँछन् । यस्तो वाध्यताले बैकिङ बानी बसाल्न, बैंकको साना साना निक्षेप समेटेर राष्ट्रिय पुँजी संकलन गरी लगानीको स्रोत उपलब्ध गराउन र सर्वसाधारणको नगदको सुरक्षा हुने परिपाटी विकास गर्न अप्ठेरो परेको छ । नाफा कमाउनु पर्ने दबाव बैक एउटा व्यवसायिक संस्था भएकोले जे जस्तो भएपनि व्यवस्थापक र संचालकले शाखा खोलेको दुई वर्षपछि नाफाको अपेक्षा गरेका हुन्छन् । शुरु शुरुमा बैंक खुल्नु चुनौति हुन्छ भने बिस्तारै शाखा मेनेजरदेखि कर्मचारीमा नाफा कमाउनु पर्ने दबाब हुन्छ । तर, कम जनसख्या र न्युन आर्थिक गतिविधि भएको स्थानीय तहमा दुई वर्षमै नाफातिर जानु पर्ने दबाव प्रमुख समस्या हो । असुरक्षित महशुस बिगतको द्वन्दकालमा असुरक्षित महशुस गरेर धेरै बैंकहरु विस्थापित भएको अनुभव हाम्रै पुस्तासँग छ । बैंक भनेकै नगद कारोबार हुने र करोडौं रकम राखिने संस्था भएकोले जहिले पनि एक हिसावले भन्दा असुरक्षित नै महसुस हुन्छ । त्यसमा पनि बिकट पहाडी क्षेत्रमा शहर बजारको जस्तो सरकारी सुरक्षा दस्ता नहुनाले अझ बढी हदसम्म असुरक्षित महसुस हुन सक्दछ । यसका अलावा बैंकभित्र पनि पहाडको बैंक हो के काम हुन्छ र, के नै पो गरेको छ भन्ने जस्ता संस्था भित्रै पनि कर्मचारीलाई हेयको दृष्टिकोणले हेर्ने गरिएको अनुभव पनि केही कर्मचारीले गरेका छन् । सुगम र दुर्गमका कर्मचारीलाई एउटै मुल्याङ्गनमा राख्ने नगरी दुर्गम शाखाका कर्मचारीलाई तिनीहरुको योगदानको सम्बन्धित बैंक र राष्ट्र बैंकले अलिक फरक ढंगले गरेमा केही हदसम्म दुर्गम र विकट स्थानमा काम गर्ने बैंकका शाखाका कर्मचारीको मनोबल अलि बढ्ने थियो ।

सिद्धार्थ बैंक र आईएमएस सफट्वेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता

काठमाडौं । सिदार्थ बैंकले बुधबार आईएमएस सफट्वेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएस सफट्वेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात् सिदार्थ बैंक र आईएमएस सफट्वेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको बैंकले जनाएकाे छ  । डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधाको देशभर नै विस्तार गरिरहेको बैंकले बताएकाे छ । यसै गरी, आईएमएसले विभिन्न उत्पादन र सेवाहरू मार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गर्दै आईरहेकाे छ । यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने विश्वास आफुहरुले लिएकाे बैंकले जनाएकाे छ ।

ग्लोबल आइएमई बैंकले प्रदेश नं. २ लाई दियो १० लाख रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड-१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए । कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।

अजोड इन्स्योरेन्सको आइपीओ किन्नु कत्तिको उचित होला ?

काठमाडौ । अजोड इन्स्योरेन्स कम्पनीले आफ्ना प्रमोटरहरु राम्रो भएको कारण लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताएको छ । कम्पनीले स्थापनाको छोटो अवधिमा सबैको विश्वास र साथ पाएकाले आगामी दिनमा लगानीर्ताको हितमा काम गर्ने बताएको हो । प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनीको प्रमोटर ग्रुपहरु नेपाली बजारमा रुचाइएका र बजारका ब्राण्ड भएकाले लगानीकर्ताले कुनै शंका वा दुविधा मान्न आवश्यक नरहेको बताए । ‘कम्पनी आफैमा राम्रो छ, व्यवस्थापन तहमा अब्बल कर्मचारी साथीहरु हुनुहुन्छ, ग्राहकहरुको वर्षाैंदेखि सेवामा समर्पित रहनु भएका प्रमोटर रहेकोले लगानीकर्ताको लागि आकर्षण बन्छ भन्ने हाम्रो अनुमान पनि हो’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । कम्पनीले गत चैत्र मसान्तसम्ममा ३ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । सो कम्पनीको बीमा बजारमा ३ प्रतिशत हिस्सा छ । २० वटा निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स १५ औं स्थानमा छ । स्थापनाको छोटो अवधिमा पाएका यस्ता सफलताले थप उर्जा प्राप्त भएको प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए । इन्स्योरेन्सको कुल प्रिमियम ८३ करोड रुपैयाँ छ । इन्भेष्टमेन्ट १ अर्ब ७ करोड रुपैयाँ रहेको छ । प्रमोटर ग्रुपमा को को छन् ? भाटभटेनी सुपर मार्केट, सेन्चुरी बैक, हाथवे इन्भेष्टमेन्ट, रियल स्टेटलयातका क्षेत्रका लगानीकर्ता नै सो कम्पनीको प्रमोटर छन् । त्यस्तै, नेपाल सरकारको विशिष्ट तहबाट अवसकास पाएका अनुभबी व्यक्तिहरुको समेत यस कम्पनीमा सहभागिता रहेको छ । के भन्छ कम्पनी ? प्रमोटर गु्रप राम्रो भएकाले कम्पनी लगानीकर्ताहरुको आकर्षण रहने कम्पनी बताउछ । यस्तै, नेपालमा प्रसिद्ध रहेका प्रमोटरहरुमा लगानीकर्ताको विश्वास रहदै आएको छ । कम्पनी आफैले पनि समिक्षा गर्दा छोटो अवधिमा कम्पनीको नेटवर्क राम्रो छ । कम्पनीले आफ्नो इन्भेष्टमेन्ट राम्रो रहेको भन्दै त्यसमा सन्तुष्टी जनाउदै आएको छ । इन्स्योरेन्स कम्पनीको अर्को साल लगानीकर्तालाई १० प्रतिशत डिभिडेन्ट दिने लक्ष्य रहेको छ । समयमै सिइओ पाउँदा सहजता कम्पनीले आफ्नो व्यवस्थापन पक्ष बलियो रहेकाले काम गर्न सहज भएको बताउँदै आएको छ । बीमा बजारमा लामो समयसम्म कतिपय कम्पनीहरु प्रमुख कार्यकारी अधिकृत विहिन अवस्थामा गुज्रनु परेको थियो । तर अजोडले भने समयमै प्रमुख कार्यकारी अधिकृत (सिइओ) पाएको थियो । त्यसैकारण पनि कम्पनीलाई फड्को मार्न सहज भएको बताइएको छ । कम्पनीले सुरुवाती चरणमा नै ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतको छनोट गर्न सफल भयो । अन्य बीमा कम्पनीकै तुलनामा पनि आफ्ना परिसुचकहरु बलियो रहनुमा कम्पनीले आफ्नो मात्र योगदान नभइ यसमा ग्राहकहरुको समेत माया जोडिएको बताएको छ । उक्त इन्स्योरेन्स कम्पनीले भोलिका दिनमा मध्यम आयस्तरदेखि न्यून आयस्तर भएका जनतासम्म बीमा सेवा प्रवाह गर्ने जानकारी दिएको छ । मुख्य कुरा भनेको छोटो समयमा नै सबैको साथ पाएकाले भोलिका दिनमा समेत लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुको हितमा काम गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत खत्री बताउँछन् । अजोड इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबरको) साधारण सेयर (आइपीओ) जारी गर्दैछ ।