बूढानीलकण्ठ स्कुलले विद्यालय सञ्चालन नभएको समयकाे शुल्क नलिने
काठमाडौं । बुढानिलकण्ठ स्कुलले विद्यालय सञ्चालन नभएको अवस्थाको शुल्क नलिने भएको छ । विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले बन्दाबन्दी (लकडाउन) का बीच मासिक शुल्क बुझाइसकेको भए पनि पछि शुल्कमा मिलान गरिने बताए । उनले विद्यार्थीको मासिक शुल्क पेश्की स्वरुप बुझाउनका लागि पठाइएको बिल अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको समेत जानकारी दिए । विद्यालयले लकडाउन समयमा चैतदेखि असारसम्मको मासिक शुल्क भन्दै अभिभावकलाई बिल पठाएको थियो ।
पाेखराका दिलदार घरधनी: घरमा बसेकालाई ३ महिनाकाे भाडा मिनाहा गरे
चिप्लेढुँगा । पर्यटन व्यवसायी अग्नि कँडेलले पोखराको लेकसाइडस्थित घरमा व्यवसाय गरेका व्यवसायीलाई राहतस्वरुप तीन महिनाको घरभाडा मिनाहा गरेका छन् । कोभिड–१९ को प्रभावका कारण लेकसाइड गत चैत महिनादेखि सुनसान छ । लाखौँ लाख रुपैयाँ भाडा तिरेर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीले व्यवसाय बन्द गरेर बस्नु पर्दा घरभाडा तिर्न सकिरहेका छैनन् भने व्यवसायबाट पलायन हुनुपर्ने अवस्थासमेत देखिएको छ । “असहज परिस्थितिमा सहयोगी बनेर एकअर्काको दुःख बुझ्न सक्ने हुनुपर्छ, हामीले त्यसैको शुरुआत गरेका हौँ”, कँडेलले भने । उनकी पत्नी निर्मलाले तीन महिनाको छ लाख र व्यवसाय पुनःसञ्चालन नहुँदासम्म ५० प्रतिशत भाडा सहुलियत दिने बताईन् । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले विषम परिस्थितिमा पर्यटन व्यवसायीको समस्या बुझेर कँडेल दम्पतीले गरेकाे तीन महिनाको भाडा र थप भाडामा ५० प्रतिशत छुट निकै सकारात्मक भएको भन्दै अन्य घरधनीले पनि अनुशरण गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो । आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राससलाई जानकारी दिए । जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ । गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो । जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी एकीकरणका बाँकी काम अघि बढाइने बताए । आयोगमा अहिले १३२ राजनीतिक दल दर्ता भएका छन् । दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १३१ दल हुनेछन् । जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन् । तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ ।
विद्यालय नखुलेपछि विद्यार्थी अन्योलमा
बनेपा । तेमाल गाउँपालिका–३ कुडुवालका निखिल दोङको घरैमा बसेर किताब पढ्ने र काम गरेर दिन बितिरहेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिमको रोकथाम र नियन्त्रणको लागि बन्दाबन्दीले विद्यालय बन्द भएपछि नयाँ कक्षामा भर्ना भएर नयाँ किताब लिएपनि विद्यालयमा पुगेर पढ्न नपाएको निखिलको गुनासो छ । घर नजिकैको कालीदेवी प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत निखिलले विद्यालयमा गएर पढ्न मन लागेपनि पढ्न नपाएको बताए । “ भर्ना भएर नयाँ किताब त पाइयो तर विद्यालयमा गएर पढ्न पाइरहेको छैन,” उहाँले भन्नुभयो, “शिक्षकले त पढ्नु भनेर भन्नुभएको छ, हामीले कसरी पढ्ने रु कहिलेकाही नेपाली, गणित र अङ्ग्रेजीको अलिअलि पढ्ने गरेको छु ।” पढ्न लेख्न त बिर्सेको छैन तर विद्यालय गएर पढ्न मन लागेपनि जान नपाएको उनले बताए । नयाँ शैक्षिक सत्र शुरु भएर करिब तीन महिना बितिसकेको भए पनि बन्दाबन्दीका कारण विद्यालय बन्द भएपछि हिजो आज घाँस काट्ने र घरको काममा लागि रहेको उनले बताए । सोही विद्यालयका कक्षा ३ मा अध्ययनरत अर्का विद्यार्थी अमिर दोङको पनि चाहना उस्तै छ । कक्षा कोठामा रमाइलो गरेर पढ्ने मन भए पनि विद्यालय सञ्चालन नभएका कारण घरमा बस्ने र खेलेर समय बिताउने गरेको उनले बताए । घरमा नै खेल्ने, बस्ने र बेलाबेलामा आमा बुबाले अराएको काम गर्दै आएका छन् । निखिल र अमिर अध्ययन गर्ने विद्यालय बन्द मात्रै छैन, सो विद्यालयमा गाउँपालिकाले भारतलगायत तेस्रो मुलुकबाट गाउँ फर्केकाका लागि क्वारेन्टिन बनाएर राखिएको छ । जहाँ उनीहरुको लागि बस्ने, खाने, आराम गर्ने स्थल बनाएको छ । त्यसको लागि खाना, खाजाको ब्यवस्था गर्ने र सरसफाइ लगायतको काममा खटिने स्वयंसेविकाको बस्ने ठाउँ बनाएको छ । विद्यालयमा पढ्न नपाएको मात्रै होईन, मुख्य गेटबाट समेत प्रवेश गर्न पाइदैन । वडा नं ३ का वडाध्यक्ष विष्णुबहादुर तामाङले अहिले विद्यालयमा भारतबाट फर्किएका एक जना बसिरहेको बताए । गाउँपालिकाले हरेक वडामा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेपछि विद्यालयलाई क्वारेन्टिन बनाएको उनको भनाइ छ । तेमाल गाउँपालिकाभित्र निर्माण गरेको १०५ वेडको क्वारेन्टिनमध्ये सबैजसो विद्यालयको भवन प्रयोग भएको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक शिवहरि पाठकले पालिकाभित्रमा स्थापना गरेको ९ स्थानको क्वारेन्टिनमध्ये अधिकांश क्वारेन्टिन विद्यालयमा भएको बताए । जनचेतना मावि, सर्वोद्धार मावि, कालीदेवी प्रावि, तेमाल मावि, पोखरी नारायणस्थान मावि, पुरानो स्वास्थ्य चौकी भवन, राधाकृष्ण मावि, नर्सरीडाँडा र तित्रेटारको विद्यालयमा नौ/नौ वेडको क्वारेन्टिन रहेको छ । बाँकी ६ वेडको स्वास्थ्य चौकी भवनमा रहेको छ । वडा नं ६ सिंगटीछाप पर्सेलका कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक सार्कीमान तामाङले भने पालिका शिक्षा शाखाले प्रधानाध्यापकको बैठक राखेर वडा शिक्षा समितिले आ–आफ्नो सापेक्षतामा शिक्षासम्बन्धी गर्न सकिने गतिविधिहरु गर्न निर्देशन दिने काम भएको बताए । तर कतिपय मावि विद्यालयका शिक्षक पालिका बाहिरका भएको कारण टोलटोलमा शिक्षण गतिविधिहरु सञ्चालन गर्न सक्ने अवस्था नरहेको शिक्षकको भनाइ छ । गाउँपालिका शिक्षा शाखा प्रमुख केदार ढकालले भने विद्यालयका शिक्षक सक्रिय नै भइरहेको बताए । “हामीले गत शुक्रबार मात्रै प्रधानाध्यापकको बैठक राखेर विद्यालय र विद्यार्थीको बारेमा जानकारी लिने काम गरेका छौँ”, उनले भने, “विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर टोल/टोलमा जम्मा गर्ने र गृहकार्य दिने काम गर्न निर्देशन दिएका छौँ ।” भिड जम्मा नहुने गरी विद्यार्थीलाई निगरानीमा राख्ने र पढाउने अभ्यास गर्न सबै विद्यालयका प्रधानाध्यापकलाई समय÷समयमा विद्यालय खोल्न आग्रह गरेको ढकालले बताए । रासस
‘१०.२५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६’लाई नेप्सेमा सूचिकृत
काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६”लाई नेप्सेमा सूचिकृत गर्ने सम्बन्धी सम्झौता गरेको छ । विहीबार आयोजित एक विशेष समारोहकाबीच एक समझेदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले उक्त सूचिकरण हस्ताक्षर गरेका हुन् । अब उपरान्त उक्त ऋणपत्र नेप्सेमार्फत कारोबार गर्न सकिनेछ । २ अर्ब ५० करोड बराबरको (१ हजार रुपैयाँ अंकितमूल्यका २५ कित्ता) “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” मिति २०७६/११/२० गतेदेखि २०७६/१२/४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा सम्पूर्ण ऋणपत्र बिक्री भएको थियो । सोहीबीच नेपाल राष्ट्र बैंकको नीतिलाई शिरोधार्य गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ख”वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक (जनकपुर केन्द्रीयकार्यालय रहेको) लाईप्राप्ति गरीमिति २०७७ सालअसार २० गते बाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्तिपश्चात बैंकको कुलशाखा १०९ पुगेको छ । प्राप्तिपश्चात बैंकको चुक्तापूँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
सिन्धुपाल्चाेककाे बाह्रबीसे बाढीमा २० जना बेपत्ता (नामसहित)
मेलम्ची । बाढीमा परी बेपत्ता भएकाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् । सो नगरपालिकाको अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् । यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उहाँकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।
इन्धनको मूल्य भारतभन्दा नेपालमा सस्तो, हालसम्मकै उच्च मूल्यअन्तर
काठमाडौं । भारतभन्दा नेपालमा इन्धनको मूल्य सस्तो देखिएको छ । भारतीय सीमावर्ती बजार नेपालमा इन्धनको मूल्य अहिले धेरै अन्तर देखिएको छ । सीमावर्ती भारतीय बजारभन्दा नेपालमा अहिले इन्धन प्रतिलिटरमा ४२ रुपैयाँले मूल्यअन्तर छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले वर्तमान सीमा मूल्य अन्तर हालसम्मकै उच्च रहेको बताए । अहिले लकडाउन खुल्दै गएपछि दुई देशबीचको इन्धनको मूल्यअन्तर पनि बढ्दै गएको उनको भनाई छ । नेपालका भारतीय सीमानाकामा जोडिएका जिल्लाहरु र भारतीय बजारमा इन्धनको मूल्य धेरैको मूल्यअन्तर देखिएको छ । भारतमा १ सय ३४ रुपैयाँ प्रतिलिटर पर्ने पेट्रोलको मूल्य नेपाली बजार अर्थात रक्सौल नजिकैको वीरगञ्जमा ९९ रुपैयाँ ५० पैसा पर्दै आएको छ । यस्तै, रक्सौलमा डिजेलको मूल्य पनि प्रतिलिटर मूल्य १ सय २४ छ छ भने नेपालको वीरगञ्जमा ८५ रुपैयाँ ५० पैसामा पाइन्छ । यस्तै, धनगढीभन्दा पलियामा पनि पेट्रोल र डिजेलको मूल्य बढी पर्छ । भैरहवाभन्दा सुनौलीमा ३६ र ३३ रुपैयाँ महँगो छ । पेट्रोल र डिजेलको मूल्य नेपालगन्जभन्दा रुपैडिहामा ३६ र ३३ रुपैयाँ बढी छ । यस्तै, विराटनगरको तुलनामा जोगबनीको मूल्य क्रमशः ४० र ४२ रुपैयाँ बढी छ ।
इसेवा र रेमिटलि युएसए बिच डिजिटल रेमिट्यान्स् सम्झौता
काठमाडौं । डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटलि र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सक्नेछन् । साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न, कुनै पनि बैंक खातामा रकम जम्मा सकिनेछ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा रेमिट्यान्स् कारोबार गर्दै आएको छ । अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसे्वाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दिइरहेको छ । इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनिको रुपमा स्थापना गर्नु मूख्य उदेश्य रहेको बताए ।