विकासन्युज

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा भट्ट, बैंकिङ र बीमा क्षेत्रमा २२ वर्षको अनुभव

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यकाल बाँकी छदै पदबाट राजीनामा गरेपछि भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । सन् १९९८ देखि नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग सो बैंकको सहायक महाप्रबन्धकको कार्य अनुभव पनि छ । इन्भेष्टमेन्ट बैंक छोडेर उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गएका थिए । मेगा बैंकमा उनले सो पदमा रहेर ६ महिना काम गरेका थिए । त्यसपछि उनी विभिन्न बैंक तथा बीमा कम्पनीहरुमा आवद्ध थिए । त्यसपछि भट्ट आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए । उनलाई २०७५ भदौ तेस्रो साता आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । सो कम्पनीमा उनको कार्यकाल आगामी भदौमा २ वर्ष पुग्दैछ । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि उनले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट आज (असार २४ गते) राजीनामा गरेका छन् । उनको राजीनामा आजै स्वीकृत भएको कम्पनी स्रोतले जानकारी दिएको छ । यद्यपि भट्टलाई ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएपनि सम्झौता भने भैसकेको छैन । भट्टसँग रेमिट टु नेपाल प्रालिको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव पनि छ ।

साधना लघुवित्तको सेयर भर्ने म्याद सकियो, १६ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले जारी गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आजबाट सकिएको छ । संस्थाले माग गरेभन्दा बढी आवेदन परेपछि उक्त सेयर निष्काशन बन्द छिटो मितिमा भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थाको सेयरमा एक करोड ८ लाख ७९ हजार ८ सय ३० कित्ता सेयरको लागि आवेदन परेकाे छ । जुन सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको तुलनामा १६.४४ गुणा बढी हाे । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर छुट्याएकाे थियाे । जसमा ४ लाख ४७ हजार एक सय २३ जनाले साे मात्रा अर्थात एक अर्ब ८ करोड ७९ लाख ८३ हजार रुपैयाँ बराबरकाे सेयर माग गरेका छन् । त्यस्तै, आईपीओ खरीदका लागि आएका ८ हजार ६०४ वटा आवेदन याेग्य नभएकाेले रद्ध भएकाे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएकाे छ । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था थियाे । यो आईपीओको निष्कासन बन्द छिटोमा असार २४ गते र ढिलामा साउन ४ गतेसम्म रहेकाे थियाे ।

उद्योगी व्यवसायीलाई ब्याज तिर्न कठिन

चितवन । उद्योगी व्यवसायीले असार मसान्तमा बैंकको व्याज र किस्ता तिर्न कठिन भएको जनाएका छन् । विद्युत्, टेलिफोनदेखि कर्मचारीको तलबसमेत तिर्न समस्या भएको भन्दै उनीहरुले लकडाउनका कारण बैंकको व्याज र किस्ता तत्काल तिर्न नसक्ने जनाएका हुन । कोरोना भाइरसको सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित भएको होटल अझै सञ्चालन हुन सकेका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई होटल बचाउन कठिन भएको बताउँछन् । बैंकको व्याज र किस्ता असारमा तिर्न नसक्ने भन्दै उनले होटल कुर्ने कर्मचारी र बिजुलीको पैसा पनि तिर्न नसकेको बताए । सौराहाका १२० होटलमा २० अर्ब भन्दा बढी लगानी छ । उहाँका अनुसार बैंकिङ् ऋण मात्र रु आठ अर्ब बढी छ । ऋण तिर्ने समय पछाडि सार्नुको विकल्प नरहेको उनको भनाइ छ । त्यस्तै अन्य होटलको अवस्था पनि उस्तै छ । होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुके यस अन्तर्गत रहेका देशभरका ८० हजार होटलको अवस्था दयनीय रहेको बताउँछन् । होटल बन्द नै भएकाले अहिले व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको उनले बताए । व्यवसायीले भ्रमण वर्ष लक्षित गरी २५/३० प्रतिशत थप लगानी गरेको भन्दै उनले त्यससँगै कोभिडका कारण व्यवसाय ठप्प रहँदा आफूहरु मर्कामा परेको बताए । व्याज र किस्ता पुनर्ताजगी गर्न र सञ्चालनका लागि ५ प्रतिशत थप कर्जा दिनुपर्ने उनको भनाइ छ । कोभिड १९– का कारण निकै प्रभावित बनेको कुखुरा व्यवसायीको पनि आफ्नै पीडा रहेको छ । सो व्यवसायीको छाता संस्था नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट धेरै किसान विस्थापित बनिसकेको भन्दै असारमा नभएर एक वर्षसम्म व्याज र किस्ता तिर्ने अवस्थामा व्यवसायी नभएको बताउँछन् । बैंकले चालु पूँजी थप्नुपर्ने भन्दै उहाँले पूर्ववत् अवस्थामा फर्कन एक वर्ष लाग्ने बताए । आफूहरुले राष्ट्र बैंकका गभर्नर समक्ष समस्या राखिसकेको भन्दै विष्टले अब थप ऋण लिएर व्यवसाय गर्दा व्याज र किस्ता तिर्न एक वर्ष कुर्नुपर्ने बताए । व्यवसायीले चालु पूँजी थप गर्न, किस्ता एक वर्षपछि मात्र राख्ने गरी पुनर्ताजगी गर्न, लकडाउनको समयको व्याज मिनाह गर्न माग गरेका छन् । नेपालमा कुखुरापालन व्यवसायमा रु एक अर्ब ५० करोड भन्दा बढी लगानी छ । यस व्यवसायमा रु ३५ अर्ब बढी बैंकिङ् ऋण रहेको विष्ट बताउँछन् । नेपाल दाना उद्योग सङ्घ केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल राज्यले अहिले सहयोग नगरे नेपालको आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासयी हुने बताउँछन् । किसानसँग कुखुरा नहुँदा अहिले लागत मूल्य पाएको भए पनि भित्रीरुपमा धेरै किसान घरको न घाटको हुन पुगेको भन्दै उनले किसानले व्याज र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताए । कोभिड १९– का कारण यातायात क्षेत्र पनि पूर्ण रुपमा प्रभावित छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्ष राम सुवेदी सवारीसाधन थन्किएर बसेकाले तत्काल ऋणको व्याज र किस्ता तिर्न नसक्ने जानकारी सम्बन्धित निकायमा गराएको बताउँछन् । देशभरमा सार्वजनिक यातायातका लागि किनिएका सवारी साधनको सङ्ख्या नौ लाख भन्दा बढी रहेको भन्दै उनले यसमा रु १५ खर्ब लगानी रहेको बताए । जसमध्ये ६० प्रतिशत बैंकको लगानी भएको सुवेदी बताउँछन् । कोभिड १९– को सङ्क्रमणसँगै स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । नेपालमा निजी क्षेत्रमा स्वास्थ्यमा ठूलो लगानी रहेको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशशक प्रा डा हरिशचन्द्र न्यौपाने अहिले व्याज र किस्ता तिर्न नसक्ने बताउँछन् । नेपालका १८ वटा मेडिकल कलेजको मासिक रु एक करोड हाराहारी व्याज र रु दुई करोड किस्ता तिर्नुपर्ने भए पनि तलब खुवाउन नसकेको एशोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका निवर्तमान अध्यक्ष समेत रहेकाे न्यौपानेको भनाइ छ । उनका अनुसार कोभिडसँगै खर्च बढेकाले निजी क्षेत्रका अस्पताल दयनीय अवस्थामा छन् । सबै मेडिकल कलेजका शिक्षण संस्थाबाट खर्च धान्ने भए पनि अहिले पढाइ ठप्प हुँदा शुल्क उठ्न सकेको छैन । न्यौपाने सरकारले लकडाउनको अवधिको निजी स्वास्थ्य संस्थाका चिकित्सक, कर्मचारीको तलब सरकारी सरह खुवाइदिनुपर्ने र बैंकले व्याज र किस्ता तिर्ने समय सार्नुपर्ने बताउँछन् । शिक्षण संस्थाको अवस्था पनि उस्तै रहेको व्यवसायी बताउँछन् । भृकुटी बोर्डिङ्स्कुल नारायणगढका प्राचार्य रामजी पाण्डे निजी शिक्षण संस्थाले शिक्षक कर्मचारीको तलब खुवाउनसमेत नसकेकाले बैंकको व्याज र किस्ता तिर्ने सम्भावना नरहेको बताउँछन् । नेपाल राष्ट्रबैंकले हालसम्म कुनै निर्णय गरेको छैन । प्राइम बैंक भरतपुरका प्रबन्धक पदम पौडेल आफूहरुलाई कुनै निर्देशन नआएकाले विगतझै व्याज र किस्ता असारमा तिर्नुपर्ने बताउँछन् । ऋणिहरुले आफ्ना गुनासो राखिरहेको भन्दै उनले यस विषयमा केन्द्रीय कार्यालयमा जानकारी गराउने बाहेक अन्य अधिकार आफूसँग नरहेको बताए ।

चालु आवमा छापियाे छ लाख अनुमतिपत्र, बन्दाबन्दीमा मात्रै साढे तीन लाख

काठमाडाैं । यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ । असार मसान्तभित्रमा थप अनुमतिपत्र छापिन सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ । संविधानुसार यातायातको जिम्मेवारी प्रदेश सरकारको भएकाले दुई वर्ष पहिले नै यातायात कार्यालय नेपाल सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सरकारले पाँच वर्ष पहिले हस्तलिखित अनुमतिपत्र हटाएर स्मार्ट चालक अनुमतिपत्र शुरु गरेको थियो । देशभरका सबै कार्यालयको अनुमतिपत्र विभागले छाप्दै आएको छ । विभागमा अनुमतिपत्र छपाइको चाप भएकाले गतवर्ष सरकारले ठूलो क्षमताको अनुमतिपत्र ९मास प्रिन्टर० किनेको थियो । अहिले पूरानो उपकरण प्रयोग नभएर मास प्रिन्टरबाटै छपाइ भइरहेको छ । रासस

नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त

काठमाडाैं । नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएका छन् । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले नेपालकाे पाँच जिल्ला काेराेना संक्रमित मुक्त भएकाे बताएका हुन् । उनले धनकुटा, भाेजपुर, साेलुखुम्बु, मुस्ताङ र हुम्ला जिल्ला काेराेना संक्रमित मुक्त भएका बताए । बुधबार नेपालमा २ सय ५५ जना काेराेना संक्रमित थपिएका छन् भने २ सय ५३ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे स‌ंख्या १६ हजार ४ सय २३ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या ७७ सय ५२ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ ।

ओली-प्रचण्ड वार्ता सुरु, हाेला त सहमति ?

काठमाडाैं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको बताइएकाे छ । पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि दुई अध्यक्ष विगत केही दिनदेखि निरन्तर वार्तामा छन्। आजको वार्ता पनि त्यसैको निरन्तरता भएको बताइएको छ। दुई अध्यक्ष तीन दिनदेखि वान अन वन वार्तामा छन् । प्रचण्डले प्रधानमन्त्रीले दुवै पद छाड्नुपर्ने अडानमा छन् । प्रधानमन्त्री राजीनामा बाहेकका विषयमा सहमति खोज्न तयार रहेको बताउँदै आएका छन् ।

महामारीमा चियापसलकाे भ‍ेटघाट बन्द गराैं- स्वास्थ्य मन्त्रालय

काठमाडाैं ।  महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्बालयले आग्रह गरेकेा छ । बुधबार भएकाे मन्त्रालयकाे नियमित ब्रिफिङमा प्रवक्ता डा‍‍‌. जागेश्वर गौतमले महामारीकाे समयमा चियापसलकाे भेटघाट बन्द गर्न आग्रह गरेकेा हुन् । कसलाई काेराेना लागेकाे थाहा नहुने भन्दै गाैतमले यस्ताे समयमा साथीभाईहरुभन्दा पनि घरपरिवारसँग चियाकाे चुस्की लिँदा सबैकाे लागि उचित हुने बताए । उनी भन्छन्, ‘चियापसलमा साथीसँग भेटेर चिया खानु मज्जा हुन्छ । यस महामारीकाे बेलामा चियापसलकाे भेटघाटलाई निरुत्साहित गर्दै घरपरिवारसँगै दुखसुख साट्दै चियाकाे घट्की लगाउनुकाे मज्जा बेग्लै हुन्छ र हामी सुरक्षित पनि रहन सक्छाैं ।’ उनले पसल, बाटाेमा लकडाउन खकुलेभएसँगै देखिएकाे भिडभाडहरु सामान्य देखिए पनि सामान्य नभएकाे बताए । आफ्नाे साथीभाईलाई काेराेना छैन भन्ने भ्रम हटाउन पनि उनले आग्रह गरेका छन् ।

नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता

काठमाडाैं । नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधवार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा वित्त सेवा व्यापार शाखा, हुवावे इन्टरप्राइज बीजीका अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिएको बैंकले जनाएको छ। नबिल बैंकका लागि क्लाउड डिजिटाइजेसन सेवाबारे दुई संस्थाबीच सम्झौता भएको हो। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गरे। उनले यो साझेदारी बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण रहेको बताए। सम्झौतामा हस्ताक्षर गर्दै दुवै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्‍याउनेछ। यसबाट नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन आदि हुनेछन्। बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुने र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले ‘एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर’ पूरा गर्ने बताइएको छ। हुवावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ।