प्रहरी महानिरीक्षक थापाले कार्यभार सम्हाले
काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार पदबहाली गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेर फर्किएपछि प्रहरी प्रधान कार्यालयमा कार्यभार सम्हालेका हुन्। प्रहरी महानिरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा अतिरिक्त महानिरीक्षकद्वय डा. आशा सिंह र हरि बहादुर पाल, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले स्वागत गरेका थिए। प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षरोपण समेत गरेका छन्।
वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल
काठमाडाैं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्पष्ट गरेको हो । हरेक वैशाख पहिलो साता नयाँ शैक्षिक सत्रको थालनी हुँदै आएकामा यो वर्ष कोरोना महामारीले प्रभावित बनाउँदै आएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले बन्दाबन्दीका कारण प्रभावित विद्यालयमा वैकल्पिक सिकाइ प्रणाली कार्यान्वयनको अभ्यास र स्थानीय तहको भूमिकाबारे आज आयोजना गरेको भर्चुअल छलफलमा केन्द्रका निर्देशक माधवप्रसाद दाहालले भने, “वैकल्पिक विधिकै आधारमा नयाँ शैक्षिक सत्र शुरु भयो । पढाइ नै यही हो भन्ने होइन । यो मूल्याङ्कन प्रणालीमा आबद्ध भइहालेको छैन ।” दाहालले सूचना तथा सञ्चारमा पहुँच भएका र नभएका बालबालिकाको वर्गीकरणसहित ती विद्यार्थीलाई लक्षित गरी श्रव्यदृश्य, पाठ्यपुस्तक र स्वाध्यायन सामग्री विकास गरी विभिन्न माध्यमबाट पठाइएको जानकारी दिए । छलफलमा सिन्धुलीका विभिन्न स्थानीय तहका शिक्षा अधिकारीले वैकल्पिक सिकाइ सहजीकरण र अनुगनको अभ्यास भइरहेको अवगत गराएका थिए । जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नेत्र गजुरेलले जिल्लामा भएका र अन्य जिल्लाका १४ वटा रेडियोको सहयोगमा माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का लागि पनि तयारी कक्षा सञ्चालन गरिएको अनुभवका आधारमा अहिले तिनै माध्यमबाट सिकाइ शुरु गरिएको जानकारी दिए । उनले रेडियो नसुनिने र टेलिफोन नलाग्ने विकट गाउँमा टोलटोलमा शिक्षक परिचालन गरी ‘होमवर्क प्याकेज’ सञ्चालन गरिएको बताए । स्थानीय तहले विभिन्न स्वाध्यायन सामग्री छपाइ गरी वितरण र रेडियो स्टेशनबाट कक्षा सञ्चालन भइरहेको तथा साप्ताहिकरुपमा गृहकार्य र पढाइको अनुगमन गरी विद्यार्थीका विषयगत समस्यालाई सम्बन्धित शिक्षकमार्फत समाधान गराएको जनाएका छन् । महासङ्घका अध्यक्ष कृष्ण थापाले हालसम्म वैकल्पिक सिकाइको पहुँच ४० प्रतिशतमा मात्रै पुगेको र सरकारले तयार गरेको सहजीकरण निर्देशिका पूर्वपरामर्श पर्याप्त नभएको स्थितिमा आफूहरुले स्थानीय तहसँग समन्वय गर्दै आएको बताए । शिक्षा मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी यही असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो । रासस
बजारका बिचौलियालाई धक्काः सरकार आफैले व्यापारी छनोट गरी वस्तु खरिद बिक्रि गर्ने
काठमाडौं । सरकारले अब आफै व्यापारी छनोट गरी सामान खरिदविक्री गर्ने भएको छ । बजारमा खाद्य वस्तुको खरिद बिक्री तथा ढुवानीमा बिचौलियाहरुको बिगबिगी भएपछि सरकारले आफैले व्यापारी छनोट गरी सामान खरिदविक्री तथा ढुवानी गर्ने व्यापारीहरु छनोट गर्ने तयारी गरेको हो । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्यवृद्धि नियन्त्रण र स्वच्छ बजार निर्माणका लागि ‘वस्तु तथा सेवाको बजार तह र मूल्य निर्धारणसम्बन्धी मापदण्ड– २०७७’ को प्रारम्भिक मस्यौदा तयार गरी प्रक्रिया अगाडि बढाएको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा खाद्यवस्तु, सर्जरी सामान तथा अन्य सामग्रीहरुको खरिद बिक्री तथा ढुवानीमा बिचौलियाहरुको ठूलो सञ्जालले बनावटी रुपमा वस्तुको मूल्य बढाएको भन्दै सो सञ्जाललाई तोड्न सरकारले आफै व्यापारीको छनोट गरी मूल्य निर्धारण तथा खरिद बिक्री गर्ने तयारी गरिरहेको हो । आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको ‘वस्तु वा सेवाको बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्ड ०७७’ को प्रारम्भिक मस्यौदामा तीन तह राख्न प्रस्ताव गरिएको छ । मस्यौदामा उत्पादक, वितरक र बिक्रेता गरी तीन तहको मात्र बजार हुनुपर्ने र अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवा पुग्ने गरी बजार प्रणाली विकास गर्नुपर्ने सुझाव दिइएको छ । यो निर्देशिका अनुसार अब विभिन्न जस्तुमा प्रवेश गर्ने बिचौलियाहरुको धन्दा सखाप हुनेछ । अनावश्यक रुपमा उपभोक्तलाई महँगो मूल्य तिर्न वाध्य पार्ने बिचौलियाहरुलाई सरकारको यो कदमले धक्का लागेको छ । विभागका प्रवक्ता रवीन्द्र आचार्यले बजारमाा बिचौलियाहरु बढेकोले यस्तो प्रस्ताव गरेको बताए । ‘लकडाउनको समयमा पनि बजारमा धेरे बिचौलियाहरु बढे, एउटा सामान्य वस्तुमा पनि विभिन्न तहका बिचौलियाले गर्दा त्यसको मूल्य उपभोक्ता महँगो तिर्नु पर्यो, यसको अन्त्यका लागि हामीले यस्तो तयारी गरेका हौं,’ उनले भने । बिचौलियाको कारण उपभोक्ताले वस्तु सही मूल्यमा खरिद गर्न नपाउने भएपछि हामीले तीन तहका व्यापारी छनोट गरेर अगाडि बढ्ने उनले बताए । अब उत्पादन गर्नेले नै तह निर्धारण गरी अर्थात बितरक बनाएर वस्तु खरिद बिक्रिी गर्ने तयारी भइरहेको उनको भनाई छ । ‘बजारको तह जति कम हुन्छ, उपभोक्ताले पनि कम मूल्यमा वस्तु पाउँछन्, उत्पादनकर्ता र पैठारीकर्ताले वस्तु एवं सेवाको प्रकृति, प्रतिस्पर्धाको अवस्था, उपभोक्ताको चाहना तथा भौगोलिक अवस्थितिलगायत आधारमा बजारको तह तीनभन्दा बढी नहुने गरी निर्धारण गर्नुपर्छ,’ उनले भने । मस्यौदामा उत्पादक, वितरक र विक्रेता गरी तीन तहको मात्र बजार हुनुपर्ने र अन्तिम उपभोक्तासम्म वस्तु तथा सेवा पुग्ने गरी बजार प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गरिएको उनले बताए । बजारमा बिचौलियाहरुको तह कम गरेर मुनाफासमेत निर्धारण गरिदिनुपर्ने मस्यौदामा उल्लेख भएको बताइएको छ । मस्यौदामा उल्लेल भए अनुसार उत्पादकलाई बढीमा २०, आयातकर्तालाई १५ र थोक बिक्रेतालाई १० प्रतिशत नाफा हुने गरी मस्यौदा तयार गरिएको उनले बताए । ‘एउटै वस्तुको उत्पादनदेखि उपभोक्तासम्म आइपुग्दा १०–११ तहसम्मका व्यापारीहरू संलग्न भएको पाइयो, जुन बजार अनुशासनबाहिरको विषय हो, चाहिने मात्र व्यवसायीको संलग्नता कायम गराई मूल्य घटाउने र बजारमा हाल कायम रहेको बेथिति हटाउने उद्देश्यले यो मापदण्ड ल्याउन लागेका हौं, उनले भने ।’
नेप्सको प्रमुख कार्यकारी अधिकृतमा सुब्बा, भन्छन्ः वित्तीय समावेशीतामा केही गरेर देखाउँन आएको छु
काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सन्जिव सुब्बा नियुक्त भएका छन् । करिब १ वर्षअघि नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) को प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका सुब्बालाई नेप्सले ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालिन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करिअर सुरु गरेका सुब्बा सो बैंकमा करिब १० वर्ष काम गरेपछि जागिर छोडेर थाइल्याण्ड गएका थिए । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेका सुब्बा सो विश्वविद्यालयको रजिष्टार हुँदै कार्यकारी निर्देशकसम्म बनेका थिए । उनी ३२ वर्षको उमेरमै सो विश्वविद्यालयको रजिष्टार बनेका थिए । वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेपछि सुब्बा फेरि नेपाल फर्किएका थिए । नेपाल फर्केपछि उनी एनबीआईको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । खासै चर्चामा नरहेको एनबीआईलाई उनले नेपालको वित्तीय क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी संस्थाको रुपमा स्थापित गराए । एनबीआईको प्रमुख कायृकारी अधिकृतको जिम्मेवारी वहन गर्दा सुब्बा ४२ वर्षका थिए । एनबीआईमा करिब १० वर्ष काम गरेपछि उनले पदबाट राजीनामा गरेका थिए । वित्तीय समावेशीताको क्षेत्रमा काम गर्न खोजिरहेका सुब्बा प्रविधिसँग नजिक रहेर आफूले सोचे अनुसार अगाडि बढ्न सकिने अपेक्षा सहित नेप्सको व्यवस्थापन सम्हाल्न पुगेका हुन् । वित्तीय समावेशीताको क्षेत्रमा आफूलाई काम गर्ने इच्छा भएको र प्रविधिको प्रयोग गरी आफ्नो इच्छा अनुसारको काम गर्न पाइने सम्भावना देखेर नेप्समा संलग्न भएको सुब्बाले बताए । ‘अबको आवश्यकता भनेको वित्तीय समावेशीता हो, यो क्षेत्रमा काम गर्ने मेरो ठूलो इच्छा छ, प्रविधि प्रयोग गरेर वित्तीय समावेशीता कायम गर्न सकिन्छ भन्ने लाग्यो, त्यसैले नेप्समा आवद्ध हुने निर्णय गरेको हूँ, प्रविधिसँग साक्षात्कार आजको पुस्तासँग काम गर्न पाउँदा पक्कै पनि रमाइलो हुन्छ होला, सबैको साथ पाउँछु होला,’ नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेपछि विकासन्युजसँग कुरा गर्दै सुब्बाले भने । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयको रजिष्टारमा नियुक्त हुँदा सुब्बा ३२ वर्षका थिए भने नेपालको वित्तीय क्षेत्रलाई दक्ष जनशक्ति उत्पादन गरिदिने एनबीआईको प्रमुख कार्यकारी अधिकृत हुँदा उनी ४२ वर्षका थिए । सुचना प्रविधिको प्रयोग गरेर वित्तीय सेवा प्रदान गर्ने नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने उनले ५२ वर्षको उमेरमा सम्हाल्न पुगेका छन् ।
भारतमा कोभिड संक्रमण निको हुने दर ६१.५३ प्रतिशत
दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड -१९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको जनाइएको छ । यहाँ गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका बुधबार बिहान प्राप्त भएको समाचारमा जनाइएको छ । बुधबार दिइएको जानकारीमा यहाँ गएको २४ घन्टामा २२ हजार ७ सय ५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या बुधबार बिहानसम्ममा ७ लाख ४२ हजार ४ सय १७ जना पुगेका छन् । यी संक्रमितहरुमा भारतमा ४ लाख ५६ हजार ८ सय ३० जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ । अझै पनि भारतमा २ लाख ६४ हजार ९ सय ४४ जना संक्रमितहरु अहिले रहेका छन् । उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् । यहाँ २० हजार ६ सय ४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४ सय ८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१।५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ । रासस/एएनआई
सीमा नाका बन्दः नेपालगञ्जमा चहलपहल
राँझा । कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ । सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगञ्जका व्यापारीले चार महीनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन् । सीमा नाका बन्द भएसँगै भारतीय सामानको तस्करी नियन्त्रणमा आएपछि नेपालगञ्जमा किराना, खाद्यान्न, लुगा, तयारी कपडा, सौन्दर्य प्रसाधनलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताए । “कोरोना महामारीको कारण सीमा नाका बन्द भएपछि यस्तो असहज अवस्थामा पनि नेपालगञ्जमा व्यापारिक चहलपहल राम्रो छ”, सङ्घका महासचिव ओलीले भने, “पहिले उधारोमा सामान बेच्न पनि हारगुहार गर्नुपथ्र्यो, अहिले नगदमै कारोवार हुन थालेको छ ।” सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रुपमा नेपालगञ्जको चहलपहल बढेको हो । उपभोक्तालाई नेपालगञ्जमै रोकिने गरी व्यवसायीले सेवा प्रदान गर्नुपर्ने उनले बताए । सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार रुपैडिहा सुनसान भएको छ । सीमा नाका बन्द भएपछि रुपैडिया बजार सुनसान भएको रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिए । उनका अनुसार कोरोना महामारीका कारण सीमा बन्द भएपछि रुपैडिहा बजारको कारोवार बन्दजस्तै भएको छ । नेपाली उपभोक्ता आउन नपाउँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन् । राहत माग कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गरेको छ । कोरोना महामारीका कारण निजी क्षेत्र प्रभावित भएकाले आगामी मौद्रिक नीतिमार्फत राहत दिनुपर्ने माग गरिएको सङ्घका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले बताए । उनका अनुसार सङ्घले सोही मागका विषयमा ध्यानाकर्षण गराउन आज नेपाल राष्ट्र बैंक, नेपालगञ्जमार्पmत केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ । रासस
सुनकाे मूल्य २०११ यताकै उच्च
काठमाडाैं । सूनकाे मूल्य सन् २०११ यताकै उच्च भएकाे छ । न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ । यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ । २००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो । स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो । एजेन्सी
एनआईसी एशिया लघुवित्तको सेयर किन्नकाे ओइरो, ९.९७ प्रतिशतले बढ्याे सेयर मूल्य
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलाे काराेबार शुरू भएकाे २० मिनेटमै सेयर मूल्य ९.९७ प्रतिशतले बढेकाे छ । साे अवधिमा संस्थाकाे सेयर मूल्य ३३ रुपैयाँले बढेर प्रतिकित्ता ३ सय ६४ रुपैयाँ पुगेको छ । संस्थाकाे सेयर किन्नेकाे चाप देखिएकाे छ भने बेच्ने काेहि पनि देखिएनन् । साे अवधिसम्म ४ लाख ४० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक देखिएका थिए । संस्थाको ‘एनआईसीएलबीएसएल’ को सिम्बोलबाट आज(असार २५ गते) देखि दोश्रो बजारमा पहिलो पटक कारोबार शुरु भएको हो । पहिलो दिनमै संस्थाको सेयर नेप्सेले तोकेको अधिकतम मूल्य अर्थात प्रतिकित्ता ३ सय ३१ रुपैयाँबाट कारोबार शुरु भएको छ । हिजोमात्र नेप्सेमा सूचीकृत भएको संस्थाको पहिलो सेयर कारोबारको लागि नेप्सेले न्युनतम एक सय १० देखि अतिकतम ३ सय ३१ रुपैयाँ तोकेको थियो ।