विकासन्युज

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरूद्ध

काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। बिहानैदेखि अविरल वर्षा भइरहेको कारणबाट ठाउँठाउँमा गएको पहिरो पन्छाउन कठिनाइ उत्पन्न भएको र मौसम सुधार हुनेबित्तिकै पहिरो पन्छाई भीमफेदी-कुलेखानी सडक यातायात सञ्चालन गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। हेटौंडाबाट काठमाडौंतर्फ त्रिभुवन राजपथबाटै सञ्चालन गरिएको र त्रिभुवन राजपथको भैंसेबाट सबै यातायातलाई त्रिभुवन राजपथतर्फ पठाइएको भैंसे प्रहरीचौकीका इञ्चार्ज कुलबहादुर श्रेष्ठले जानकारी दिए। मकवानपुरको विभिन्न ठाउँमा आज बिहानसम्ममा बाढी पहिरोले कुनै क्षति नपुर्‍याएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।

म्याग्दीकाे मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीन जना पहिरोमा परी बेपत्ता भएका हुन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन् । परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ । परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ । यसैगरी मालिका गाउँपालिका–७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन् । वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन् । नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ । बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् । भारवाङस्थित शिवरात्रि खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए । मालिका–५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ । धवलागिरि गाउँपालिका–७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिए । ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ । पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ । मानवीय क्षति भने भएको छैन । ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिए । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । बेलिब्रिज म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानामा पर्छ । रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । रघुगङ्गा–३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटानको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उहाँले जानकारी दिए । गलेश्वरका स्थानीय दीपक कार्कीले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणका क्रममा छ । पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । वर्षा भइरहेको र बादल लागेको तथा ठाउँठाउँमा पहिराले सडक अवरुद्ध भएकाले सुरक्षाकर्मीलाई घटनास्थलमा पुग्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक किरनजंग कुँवरले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । बिहीबार रातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका–४ सिञ्गा तातोपानीका दुई जनालाई उद्धार गरिएको छ । मङ्गला–३ का २४ वर्षीय दलबहादुर घर्ती (मिलन) र ४८ वर्षीय सूर्य थापा दाउरा छोप्ने क्रममा खोलामा एक्कासी बाढी आएपछि पसेका थिए । प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । भू–तथा जलाधार संरक्षण कार्यालय सम्पर्क इकाइ म्याग्दीका प्रमुख शम्भुकुमार मिश्रले सीमित ठाउँमा भएको अत्यधिक वर्षा, कमजोर भूगोल र अव्यवस्थित विकास गतिविधिले पहिरोको जोखिम बढेको बताए । रासस

भाडा तिर्न नसकेर सिभिल मलका व्यवसायी तनावमा

काठमाडाैं । कोरोनाको संक्रमण बढेसँगै व्यापार पनि ठप्प भइरहेको बेला काठमाडामौ सञ्चालित सिभिल मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई भाडा तिर्न पनि समस्या देखिएको छ । लामो समयदेखि मलमा व्यवसाय गर्दै आएका उनीहरुको व्यवसाय ठप्प भएसँगै घरभाडा तिर्न पनि समस्या भएको गुनासो गरेका छन् । लामो समयदेखि मल सञ्चालक र व्यवसायीहरुबीच भाडा छुट गर्ने बारे छलफल भएपनि अझै सम्म त्यसको टुङ्गो भने लाग्न सकेको छैन । सञ्चालक पक्षले समय समयमा भाडा तिर्न भने पनि उनीहरुले भाडा तिर्न सकिरहेका छैनन् । सिभिल मल व्यवसायी संघका अध्यक्ष रत्न घिमिरले सञ्चालक र वयवासयीबीच भाडा छुट गर्ने कुरा विभिन्न समयमा भएपनि अहिलेसम्म निश्कर्षमा नपुगेको बताए । अन्तिमसम्म पनि यसको निश्कर्ष हुन नसके आफुहरु सञ्चालकसमक्ष तालाचावी बुझाउन बाध्य हुने उनले बताएका छन् । व्यवसायी के खाने र जीवन के धान्ने भन्ने अवस्थामा बैंकले पनि ऋण नदिने र सरकारले पनि कुनै राहत नदिएको बेला आफुहरुले सञ्चालकसमक्ष छलफल गरको तर अहिले सम्म कुनै निश्कर्ष नभएको उनले बताए । ‘हामीले सञ्चालक सँग यो शुन्य समयको भाडा हामी तिर्न सक्दैनौं भनेका थियौं, उनीहरुले पनि लकडाउन अवधिको भाडा ५० प्रतिशत छुट गर्न सक्छौं भनेका थिए तर सबै भाडा असार २५ गतेभित्र तिरिसक्नु पर्छ भन्ने उनीहरुको भनाई थियो, हामीले त्यो समय भित्र भाडा तिर्न सकेनौं, अहिले दवाव आएको छ, पैसा होइन हामीसँग भएको सम्पत्ति यही पसल हो भनेर ताला जावी बुझाउने मनासायमा छौं, उनले भने । अझै पनि यसको बारेमा छलफल भइरहेको छ उनको भनाई छ । अहिले सिभिल मलमा १ सय ६० पसल र त्यही अुनुसार पनि कामदार पनि रहेको उनले बताए । सबै व्यापारीको मुद्दा उठेको उनको भनाई छ । कोरोना महामारीसँगै आर्थिक संकट पनि भइरहेको बेला सरकारले पनि कुनै सहयोग नगरेको उनीहरुको गुनासो छ । अर्बौंको लगानी गरेर सिभिल मलमा व्यवसाय गर्दै आएका उनीहरु आर्थिक जोखिमा परेसँगै अत्तालिएका छन् ।

कास्कीमा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो

काठमाडौं । कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । ज्यान गुमाउनेमा पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापा उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको बताईएकाे छ । यस्तै पहिराेले ११ जना घाइते भएका छन् ।  

वर्षाका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द, माग पूरा गर्न आयात बढाउने गृहकार्य

काठमाडौं । अविरल भारी वर्षाले खोला तथा नदीमा आएको बाढीका कारण करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’, घिसिङले भने । उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको प्राधिकरणले जानकारी दिएको छ । बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन संचालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेका कार्यकारी निर्देशक घिसिङले बताए । बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युतगृह कतिवेला संचालन गर्न सकिन्छ भनेर अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमको भनाइ छ । प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुंडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणको भनाइ छ ।

अजोड इन्स्योरेन्सको आईपीओ किन्नुभयो ? ३ वर्षमा यस्तो बन्दैछ कम्पनी

काठमाडौं । २०७५ साल असार १५ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आएको कम्पनी हो अजोड इन्स्योरेन्स लिमिटेड । बीमा समितिबाट २०७५ साल असार १५ गते नै निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृत पाएको अजोडले सोही दिनदेखि नै कारोबार शुरु गरेको हो । सञ्चालनमा आएको तीन वर्षमा कम्पनीले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गरिरहेको छ । कम्पनीले असार २५ गतेबाट प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । सेयर जारी गर्नुको उद्देश्य कम्पनीको पुँजी १ अर्ब रुपैयाँमध्ये प्रबन्धपत्रमा व्यवस्था भए अनुरुप जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्नु पर्नेछ । सोही बमोजिम कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको प्रतिसेयर १ सय रुपैयाँ दरको ३० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीको सञ्चालनमा सर्वसाधारणहरुलाई समेत संलग्न गराउन इन्स्योरेन्सले उक्त सेयर जारी गरेको हो । त्यस्तै, आवश्यक पुँजी संकलन गर्न तथा आफ्नो सेवा विस्तार गर्ने क्रममा बीमा व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय एवं आर्थिक गतिवधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न कम्पनीले उक्त सेयर जारी गरेको हो । हाल कम्पनीको अधिकृत पुँजी तथा जारी पुँजी १/१ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । हाल निष्काशन गरेको साधारण सेयर पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ । हाल ५.८९ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक रुपमा बढेर आगामी तीन वर्षमा २०.०८ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, सो अवधिमा प्रतिसेयर नेटवर्थ पनि बढेर एक सय ३९ रुपैयाँ पुग्ने छ भने जगेडामा ३८ करोड रुपैयाँ बढी जम्मा हुने कम्पनीले जनाएको छ । त्यस्तै, आर्थिक वर्ष २०७५/७६ र २०७६/०७७ को वित्तीय विवरण एनएफआरएस बमोजिम तयार गर्दा अतिरिक्त व्यवस्था गर्नुपरेकोले संचित नोक्सान देखिएको कम्पनीले जनाएको छ । आगामी तीन वर्षमा कम्पनीको संचित नाफा ११ करोड रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ । एक सय रुपैयाँ प्रतिसेयरका दरले निष्काशन गरिएको सेयर मूल्यले सूचीकरण पश्चात धितोपत्र बजारमा हुने कारोबारमा उतार चढाव आउन सक्ने भएकाले सेयर मूल्यमा हुन सक्ने परिवर्तनको जोखिम रहेको छ । सेयर निष्काशनको लागि कम्पनीले केयर रेटिङ्ग नेपालबाट ‘केयर एनपि आईपीओ ग्रेड ४’ प्रमाणपत्र पाएको छ । जसले कम्पनीको आधारहरु औसतभन्दा कमजोर रहेको जनाउँछ । आईपीओबाट उठेको रकम कम्पनीले कसरी र कुन क्षेत्रमा प्रयोग गर्छ ? कम्पनीले हाल जारी गरिरहेको आईपीओबाट कूल ३० करोड रुपैयाँ उठाउने छ । जसमध्ये सबैभन्दा बढी अर्थात २५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखिने कम्पनीले जनाएको छ । त्यस्तै, नेपाल सरकारको जमानीप्राप्त ऋणपत्र तथा बचतपत्रमा ४ करोड ५० लाख रुपैयाँ र शाखा विस्तार तथा भौतिक पूर्वाधारको अभिवृद्धिमा ५० लाख रुपैयाँ लगानी गर्ने कम्पनीले बताएको छ । साधारण सेयर निष्काशन गरी प्राप्त हुने पूँजी कम्पनी ऐन, बीमा ऐन तथा अन्य प्रचलित कानूनको अधिनमा रही कम्पनीको व्यवसायिक प्रयोजनमा उपयोग गर्ने कम्पनीले जनाएको छ । निर्जीवन बीमाको प्रकृति बमोजिम ब्यवसाय बृद्धिको अनुपातमा चुक्ता पूँजी बृद्धि भएमा कम्पनीको वित्तीय क्षमता थप सुदृढ हुनुका साथै चुक्ता पूँजी तथा जगेडा कोषलाई एउटा निश्चित अनुपातमा राख्दा कम्पनीको सोल्भेन्सी मार्जिन समेत सकारात्मक हुने भई कम्पनीको समग्र वित्तीय अवस्था सुदृढ हुने हुँदा यस सार्वजनिक निष्काशनबाट प्राप्त रकमले उक्त अवस्था अनुकुल बनाउन मद्दत गर्ने छ । यसैगरी बीमा समितिबाट जारी गरिएको नयाँ लगानी नीतिले विभिन्न पूर्वाधारजन्य तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रहरुमा लगानीको अवसरहरु प्रदान गरेकोले त्यस्तो क्षेत्रहरुमा लगानी विस्तारका लागि उक्त रकम उपयोगको लागि पहल गरिने कम्पनीले जनाएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा प्रधान कार्यालय लिएको यस कम्पनीले आवश्यकता अनुसार बीमा समितिको स्वीकृति लिएर देशभित्र प्रादेशिक, शाखा, उपशाखा वा अन्य कार्यालय खोली निर्जीवन बीमा सम्बन्धी कारोबार गर्न सक्नेछ । केन्द्रिय कार्यालय सहित कम्पनीले हाल विभिन्न ३९ स्थानमा रहेको प्रादेशिक र शाखा उपशाखा कार्यालयहरुबाट कारोबार गर्दै आएको छ । सञ्चालक समितिमा को को छन् ? कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आजाद श्रेष्ठ रहेका छन् । जसको सेयर स्वामित्व एक लाख १० हजार रुपैयाँ रहेको छ । करिब १२ वर्षसम्म अजोड इन्स्योरेन्सको संचालक पदमा रहेका उनले २०७६ साल असार ३० गतेदेखि अध्यक्ष पदको कार्यभार सम्हालेका छन् । स्नातक तह उत्तीर्ण गरेका उनमा नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य, उपाध्यक्ष पद देखि लिएर माछापुच्छ्रे बैंकको संचालक पदमा रहेर काम गरेको अनुभव रहेको छ । रोडसो इन्भेष्टमेन्ट कम्पनीका प्रतिनिधि समेत रहेका संचालक सागर गुरुङको यस कम्पनीमा २ लाख रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ । शैक्षिक योग्यता स्नातकोत्तर रहेको उनी हाल रोडसो रियर स्टेटको संचालक र रोडसो यूपीभीसीको प्रबन्ध निर्देशक पदमा रहेका छन् । संचालक उपरथी राम बहादुर गुरुङको ७ लाख ९९ हजार ५० रुपैयाँ सेयर स्वामित्व रहेको छ । भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्ट स्टोरका प्रतिनिधि रहेका उनको शैक्षिक योग्यता स्नातक रहेको छ । त्यसैगरी, अर्का सञ्चाकल चिरन्जिवी द्धा को सबैभन्दा थोरै अर्थात ३५ हजार ४ सय ५० रुपैयाँ सेयर स्वामित्व रहेको छ । पोखरा उद्योग वाणिव्य संघको कार्यकारी सदस्य, जनता बैंक नेपालमा र कैलाश विकास बैंक(साविकको अन्नपूर्ण फाइनान्स) मा संचालक पदमा काम गरेको अनुभव बटुलेका उनी २०७६ साल असार ३० गतेदेखि अजोड इन्स्योरेन्सको सञ्चालक पदमा रहेका छन् । यसका साथै, हाल सर्वसाधारण सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने संचालक दुई जना स्वतन्त्र संचालक एक जना गरी जम्मा तीन जना संचालकहरु नियुक्त हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ । यस्ताे छ व्यवस्थापकीय टीम कम्पनीको म्यानेजमेन्ट(व्यवस्थापकीय) टीममा प्रमुख कार्यकारी अधिकृत(सीईओ) कुमार बहादुर खत्री, नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक महाप्रबन्धक अनिल कुमार अर्याल र सहायक महाप्रबन्धक महेश राज खरेल रहेका छन् । एमबिएमा स्नातकोत्तर गरेका सीईओ खत्री २०७५ साल जेठ महिना १६ गते यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । उनमा नेपाल इन्स्योरेन्स कम्पनीको विकास अधिकृत पदमा, एनबि इन्स्योरेन्स हाल आईएमई जनल इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको नायव प्रबन्धकको पदमा काम गरेको अनुभव रहेको छ । त्यस्तै, नायव प्रमुख कार्यकारी अधिकृत थापाले औद्योगिक क्षेत्र व्यवस्थापन महाप्रबन्धकको पदमा दुई वर्ष बढी काम गरेका छन् । साथै, उनले राष्ट्रिय बीमा संस्थानमा संचालक÷सहायक प्रशासकमा, सनराइज बैंक(साविकको एनआइडिसी क्यापिटल माकेट्समा अध्यक्ष, नागरिक लगानी कोषमा संचालक पदको अनुभव बटुलि सकेका छन् । सहायक महाप्रबन्धक अर्यालले युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र एलाइन्स इन्स्योरेन्स(हाल प्रभु इन्स्योरेन्स) मा बजार अधिकृतमा, एनबि इन्स्योरेन्स(हाल आईएमई जनरल इन्स्योरेन्स(मा मुख्य बजार अधिकृतको पदमा, लुम्बिनी जनरल इन्स्योरेन्समा नायव प्रबन्धक र युनाइटेड इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकको काम गरि बीमा क्षेत्रमा लामो अनुभव बटुलिसकेका छन् । एमएमा स्नातकोत्तर गरेका सहायक महाप्रबन्धक महेश राज खरेलले राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुका विभिन्न पद तथा कर्मचारी विनियमावली मस्यौदा समिति र संस्थान सुधार सुझाव समितिको सदस्य पदमा काम गरेका छन् । उनी २०७५ साल साउन २७ गते यस कम्पनीको सो पदमा नियुक्त भएका हुन् । कसको लगानी कहाँ र कति छ ? प्रमुख कार्यकारी अधिकृत(सीईओ) कुमार बहादुर खत्रीले वाणिज्य बैंक, बीमा तथा हाइड्रोपावर कम्पनी लगायतका ५ वटा संगठित संस्थामा लगानी गरेका छन् । उनले प्राइम कमर्शियल बैंकमा ७२ हजार कित्ता, सिटिजन्स लाईफ इन्योरेन्समा २० कित्ता, जनरल इन्स्योरेन्स कम्पनीमा १५ हजार कित्ता, पिपुल्स हाइड्रोपावर कम्पनीमा १६ हजार ५ सय कित्ता र चार्टड इन्भेष्टमेन्ट कम्पनीमा १५ हजार कित्ता संस्थापक सेयरमा लगानी गरेका छन् । त्यस्तै, सहायक महाप्रबन्धक महेश राज खरेलले नवकिरण लघुवित्तमा ५ हजार कित्ता संस्थापक सेयरमा लगानी गरेका छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सो काम गरे बापत कम्पनीले उक्त क्यापिटललाई एक लाख रुपैयाँ सेवा शुल्क भुक्तानी गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ पुस मसान्तसम्मको अवधिमा नेपालको निर्जीवन बीमा बजारमा २.८८ प्रतिशत बजार हिस्सा ओगट्न सफल रहेको छ । समय सापेक्ष अनुसार कम्पनीले नयाँ निर्जीवन बीमा योजना तथा सेवाहरुको विकास गरी सम्भाव्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यापार विस्तार गर्ने योजना लिइएको जनाएको छ । कम्पनीको संस्थापक सेयरधनी ४, सर्वसाधारण सेयरधनी २ र स्वतन्त्र संचालक १ जना गरी संचालक समितिमा ७ जना रहेका छन् । जसमध्ये संस्थापक सेयरधनीको शतप्रतिशत भुक्तानी भएको छ भने सर्वसाधारण सेयरधनी (सामूहिक लगानी कोष तथा कर्मचारी समेत) को भुक्तानी हुन बाँकी छ । त्यसैकारण कम्पनीले अहिले साधारण सेयर विक्री गरिरहेको हो । गत असार १५ गतेबाट दोश्रो वर्ष पार गरी तेश्रो वर्षमा प्रवेश गरेको अजोडले हालसम्म बोनस सेयर जारी गरेको छैन । तर, भविष्यमा नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार बोनस सेयर जारी गर्ने कम्पनीले जनाएको छ । यस्ता छन् जाेखिमहरूः वित्तीय साधनको अभावबाट हुने जोखिम जस्तै, निक्षेप, लगानी तथा कर्जाको ब्याजदरमा आउने परिवर्तनबाट हुन सक्ने जोखिम र नेपालको बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट हुन सक्ने आर्थिक जोखिमहरु रहेका छन् । नयाँ समान प्रकृतिका कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट, देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिमहरु रहेका छन् । नेपालको बीमा कम्पनी/नेपालको बीमा बजार प्रतिको बिश्लेषणबाट र बीमा प्रतिस्पर्धी बजारबाट उत्पन्न हुन सक्ने जोखिमहरु । देशको बैदेशिक ब्यापार नीतिमा हुन सक्ने परिवर्तन तथा बिदेशी मुद्राको बिनिमय दरमा घटबढ भई उत्पन्न हुन सक्ने सम्भावित जोखिमहरु सम्बन्धमा कम्पनीले विदेशमा दर्ता भएका कम्पनीहरुसंग पुर्नविमा गरेको वा सम्बन्धीत निकायहरुबाट आवश्यक स्वीकृति लिई बिदेश स्थित कम्पनीहरुसंग उद्देश्य अनुरुपको कुनै साझेदारी गरेका अवस्थामा यो जोखिम रहन सक्ने कम्पनीले जनाएकाे छ । अन्तर्राष्ट्रिय बजारमा हुने आर्थिक मन्दीबाट पर्न सक्ने असरबाट र अन्तर्राष्ट्रिय बीमा बजारको अवस्थामा आउने उतार चढावबाट पनि कम्पनीमा आर्थिक जोखिम पर्न सक्छ । त्यस्तै, नेपाल सरकार तथा बीमा समितिको नीति नियममा हुने परिवर्तनबाट र देशको मौद्रिक नीति लगायत बीमा समितिले जारी गर्ने नियम निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु रहेका छन् । सम्भावित जोखिमलाई व्यवस्थापनले कसरी न्यूनीकरण गर्छ ? सम्भावित आर्थिक जोखिमलाई व्यवस्थापनले उचित जोखिम मुल्याङ्कन गरी कुशल जोखिम ब्यबस्थापन गर्नेछ । त्यस्तै, अनुभवी तथा दक्ष जनशक्तिद्वारा उचित दाबी ब्यबस्थापन गर्ने र बीमा समितिद्वारा जारी लगानी निर्देशिका अनुरुप लगानी गर्ने कम्पनीले जनाएकाे छ । आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाई लेखापरिक्षकले औँल्याएका कैफियतहरु सुधार गर्दै लैजाने र बीमा समितिले जारी गरेको संस्थागत सुशासन तथा अन्य निर्देशिकाहरु पालना गर्दै आइरहेको र परेका चुनौतीहरुलाई व्यवस्थान गर्दै अगाडी बढ्ने कम्पनीकाे सम्भावित याेजना रहेकाे छ ।

हुम्लाकाे जिल्ला अस्पतालमा जटिल बिरामीलाई शय्या अभाव

सिमकोट । पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा बिरामी बढ्दै जान थालेपछि शय्या अभाव हुन थालेको छ । वर्षायाममा हुने मौसम परिवर्तनलगायत कारण जिल्लामा बिरामीको बढेपछि अस्पताललाई उपचारमा समेत कठिनाइ भएको छ । जम्मा १५ शय्या व्यवस्था भएको अस्पतालमा असार दोस्रो सातायता जटिल प्रकृतिका बिरामी दिनप्रतिदिन बढ्दै जान थालेपछि भर्ना गरेर राख्न अभाव भएको जिल्ला अस्पतालका डा टसी लामाले जानकारी दिए । सदरमुकाम र आसपासका क्षेत्रबाट दैनिक ८० देखि ९० बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा बिरामीको चाप दैनिक दिन बढेपछि जटिल रोगका बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डा लामाले बताए । यतिबेला अस्पतालमा झाडापखाला, दम, मुटु रोगलगायतका बिरामी बढी आउने गरेका छन् । भर्ना भएका बिरामीमा वृद्धवृद्धा र बालबालिका बढी छन् । केही दिनअघिसम्म कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी भएका बेला अस्पतालका शय्या खाली भए पनि पछिल्लो समय खुकुलो भएपछि बिरामी बढेका छन् ।

रुकुम पश्चिममा पहिरोले घर पुर्दा दुईको मृत्यु, एक घाइते

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ । तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएको प्रहरीको भनाइ छ । स्थानीयले घर पहिरोले पुरेको जानकारी दिएपछि अस्थायी प्रहरी पोष्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा पुगी स्थानीयसमेतको सहयोगमा एक जनालाई जीवितै उद्धार गरेको र अन्य दुई जनाको शव निकालेको प्रहरी नायब उपरीक्षक केसीले बताए । उहाँका अनुसार घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय आठबीसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा २ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । रासस