विकासन्युज

काँग्रेसद्वारा उद्धार र राहतमा सहयोग गर्न निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आज विज्ञप्तिमार्फत प्राकृतिक विपत्को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउनका लागि छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले प्रभावित क्षेत्रका काँग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पु¥याउन निर्देशन गरेका छन् । केही दिनदेखि अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी कास्कीमा सातको मृत्यु र ११ घाइते, लमजुङमा तीनको मृत्यु र चार घाइते, सिन्धुपाल्चोकमा दुईको मृत्यु र २१ बेपत्ता तथा म्याग्दीमा ३२ जना बेपत्ता भएका छन् । यसैगरी कैयौँ नागरिक बासस्थानबाट विस्थापित भएको तथा कैयौँ स्थानमा बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भई नागरिकले कठिनाइ व्यहोर्नु परेको छ ।

१ अर्बभन्दा बढी ऋण लिने कम्पनीले आइपीओ जारी गर्नै पर्ने, गिटी उद्योग पनि पब्लिक कम्पनी

काठमाडौं । बैंक वित्तीय संस्थाहरुबाट एक अर्ब रुपैयाँभन्दा बढी ऋण लिने कम्पनी अनिवार्य रुपमा पब्लिकमा जानुपर्ने भएको छ । प्रतिनिधिसभाको अर्थसमितिले १ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्नै पर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सांसद रामकुमारी झाँक्री संयोजकमा पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाउन उपसमिति गठान गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदन समितिले संशोधनसहित पारित गरेको हो । उपसमितिको प्रतिबेदनमा ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था संशोधन गर्दै कर्जाको सीमा बढाएर १ अर्ब रुपैयाँ पुर्याइएको हो । आज (२६ असार) बसेको अर्थसमिति बैठकले प्रतिवेदन संशोधन सहित पारित गर्ने निर्णय गरेको हो । रियल सेक्टरका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउनको लागि यस्तो नीतिगत निर्णय आवश्यक परेको समितिको भनाइ छ । समितिले पारित गरेको प्रतिवेदन कार्यान्वयनमा आएपछि निजी कम्पनीले प्राकृतिक स्रोत तथा साधन सम्बन्धी काम गर्न पाउने छैनन् । प्राकृर्तिक स्रोत तथा साधन सम्बन्धी काम गर्ने कम्पनीहरु अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने भन्ने व्यवस्था राखिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थालाई सेयर ब्रोकरको काम गर्न दिने कि नदिने भन्ने लामो वहस पनि अब टुंगिएको छ । समितिले पारित गरेको प्रतिवेदनमा बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको काम गर्न दिन हुने भन्ने व्यवस्था छ । यद्यपि यो व्यवस्था भने नियामक निकायले कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

‘सरकारले खतरनाक कदम चाल्यो, हामी गाडी चलाउन सक्दैनाैं’ 

फाइल फाेटाे काठमाडौं । यातायात व्यवसायीहरुले तत्काल गाडी चलाउन नसकिने बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले यही अवस्थामा गाडी चलाउन नसकिने धारणा राखेका हुन् । महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए । हामीलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको छ, अब हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं,’ उनले भने । महासंघको मागमा बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् । उनीहरुले २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने लगायतका माग छन् ।

‘गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौँ ?’

चिप्लेढुङ्गा । रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीँ बिताए । करिब डेढ दशकअघि स्वदेश फर्कंदा एक लाख भारतीय रुपैयाँ लिएर आएका उनले यहीँ केही गर्छु भन्ने सोँचले भाडामा चलाउने गाडी किने । विसं २०५९ मा ऋणधन गरेर रु नौ लाखमा एक सञ्चालनमै रहेको (सेकेण्ड ह्याण्ड) बस किने । मेहनतमा विश्वास गर्ने उनले आफैँ गाडी चलाएर यातायात क्षेत्रमा अघि बढ्दै जानुभयो र अहिलेसम्म आइपुग्दा उहाँको परिचय यातायात मजदूरबाट बदलिएर यातायात मालिक बनेको छ । हाल पृथ्वीराजमार्गअन्तर्गत चल्ने उनका पाँच वटा जीप छन् । एक हदसम्म सफल व्यवसायीको स्तरमा पुगेका उनको मनमा यतिबेला भने ठूलै परिलो छ । कोभिड–१९ का कारण चार महिनादेखि सवारीसाधन ग्यारेजमा थन्किएका छन्, कमाइ छैन । बैंकबाट सत्तरी प्रतिशत कर्जा लिएर खरिद गरेका गाडी थन्काएर बस्नुपर्दा रातभर निद्रा पर्दैन । बैंकले मीठो बोलीमा भाषा घुमाएर किस्ता तिर्न ताकेता गरिरहेको छ तर उम्किने उपाय उनले अझै केही भेटेका छैनन् । “केही गरौँ भनेर ऋणमा गाडी किनियो, जसोतसो मासिक रु साढे दुई लाख किस्ता बुझाउँदै घरपरिवार पाल्दै आएको थिएँ, अहिले त ठप्पै भयो । एकातिर बैंकले किस्ता तिर्न सम्झाइरहन्छ अर्कातर्फ परिवार पाल्नै पनि कठिन हुने अवस्था आइसक्यो ।” लामिछाने बन्दाबन्दीको समयमा बैंक वित्तिय संस्थालाई तिर्नुपर्ने किस्ताको समय थप्न र ब्याज सहुलियतका लागि सरकारले पहल गर्नुपर्ने बताए । दुई दशकअघिदेखि यातायात क्षेत्रमा प्रवेश गरेका स्याङ्जा भाटखोलाका यातायात व्यवसायी रामचन्द्र शर्मा लामिछानेको पीडा पनि उस्तै छ । विसं २०५४ मा रु तीन लाख नगद र अन्य ऋण गरेर गाडी किनेर नारायणघाट पोखरा रुटमा चलाउँदै आउनुभएका लामिछानेका अहिले छ वटा ठूलो र सानो गाडी छन् । तर अहिले सिर्जित समस्याले उनलाई पनि निद्रा परेको छैन । लामिछाने भन्छन्, “यातायात क्षेत्र निकै संवेदनशील हो, बन्द हड्ताल, आन्दोलन सबैको प्रभाव यस क्षेत्रमा निरन्तर परिरहन्छ, यातायात व्यवसायीका समस्या धेरै छन्, विभिन्न अप्ठ्यारोसँग जुध्दै सङ्घर्ष गरिरहेको अवस्थामा अहिले झन् कोभिड १९ ले गर्दा धेरै समस्या पा¥यो ।” लामिछाने अहिले पोखरा–८ रत्नचोकमा छ जनाको परिवारसहित बस्दै आएका छन् । मासिक रु तीन लाख बढी बैंक तथा वित्तीय संस्थालाई किस्ता बुझाउँदै आएका उनी अहिलेको अवस्थामा किस्ता तिर्नेदेखि परिवार नै कसरी पाल्ने भन्ने समस्या पिरोलिएको बताउँछन् । “निकै कठिन अवस्था आयो, गाडी भनेको जति धेरै ग्यारेजमा राख्यो उति   जान्छ, लगानी डुब्दै गएको छ । जीविकोपार्जनमै समस्या देखिन थाल्यो, समस्या बुझिदिन्छ कसले ?” उनले सुरक्षाको उपायसहित सवारी सञ्चालन गर्ने विषयमा सरकारले विकल्प दिनुपर्ने र वित्तीय संस्थाले पनि किस्ता तिर्न समय बढाएर ब्याज सहुलियत गर्नुपर्ने आफूहरुको माग रहेको बताए । स्याङ्जा फेदिखोला–१, सर्केटारीका राजेश पराजुलीको यस क्षेत्रको ३० वर्षे अनुभवमा अहिलेको जस्तो सङ्कट कहिल्यै भोग्नु नपरेको अनुभव छ । “म २०४६ सालबाट यातायात क्षेत्रमा छु, बीचमा केही वर्ष रोकेर २०५४ सालदेखि निरन्तरता दिँदै आएको छु, एउटा गाडीबाट अहिले ११ वटा गाडी छन्, बैंकको रु तीन चार करोडको ऋण छ । यो विषम परिस्थितिले निकै तनाव सिर्जना गरेको छ, यस्तो अवस्था यसअघि कहिल्यै भोग्नुपरेको थिएन ।” पराजुलीले आठ जनाको परिवार पनि यसै पेशाबाट पाल्दै आएकामा अहिले व्यवसाय ठप्प हुुँदा थप समस्या भोग्नुपरेको बताए । केही समयका लागि सहज वातावरण सिर्जना गरेर सरकारले यातायात व्यवसायीलाई यस क्षेत्रबाट पलायन हुनबाट जोगाउनुपर्ने उनको माग छ । यातायात मालिक, स्वरोजगार मजदूरदेखि अन्य मजदूरका पीडा पनि उस्तै छन् । पोखरा महानगरमा सात वर्षदेखि माइक्रो बस चलाउँदै आउनुभएका दीपक थापा गाडी चलाएर परिवार पाल्ने दिनको पर्खाईमा छन् । “लामो समय भयो गाडी चलेको छैन परिवार पाल्ने समस्याले निकै पिरोलेको छ, सवारी चालक पेशाबाट चार जनाको परिवार पाल्दै आएकामा अहिले कोही कसैले दिएको राहतबाट दिन गुजार्न बाध्य हुनुपरेको छ ।” “छिट्टै गाडी चलाएर आफ्नो परिवार पाल्ने दिन पर्खिरहेको छु”, थापाले भने । पोखरामा छ वर्षदेखि गाडी चलाउँदै आउनुभएका पोखरा मियाँपाटनका सलाउदिन मियाँले पनि बन्दाबन्दीका कारण रोजीरोटीमा समस्या भएको बताए । “खै कहिलेबाट काम गरेर खान पाइन्छ, साह्रै तनाव भएको छ, पाँच जनाको परिवार पाल्न निकै समस्या भयो ।” मियाँले सरकारले बन्दाबन्दी केही खुकुलो बनाए पनि सार्वजनिक गाडी चलाउन आवश्यका तयारी नगरीदिँदा समस्या भएको बताए । यी केही प्रतिनिधि पात्रसँगै कोभिड–१९ को असर अन्य यातायात व्यवसायीमा पनि उत्तिकै देखिएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले बैंकलाई चाबी बुझाउन बाध्य भएको प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए। यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर गाडीको चाबी बुझाउन शुरु गरिएको उनको भनाइ छ । “हामीले गाडी सञ्चालन भएको समयमा बैंक कर्जा समयमै बुझाउँदै आएका छौँ, तर अहिले अवस्था सहज छैन, सार्वजनिक गाडी चलेका छैनन्, दिनप्रतिदिन गाडी बिगँ्रदै गएका छन्, व्यवसायी आफैँ सङ्कटमा परेका बेला पटकपटक ताकेता गर्दा व्यवसायीलाई मानसिक दबाब परेको छ ।” उनले किस्ता तिर्दैनाँै भनेको नभई अहिलेको अवस्थामा किस्ता भुक्तानीको समयावधि बढाउन माग गरे भन्दै सरकारले छिट्टै मौद्रिक नीतिबाट सम्बोधन गर्छ भन्नेमा विश्वस्त भएको बताए । केसीका अनुसार अहिले प्रालिअन्तर्गत एक हजार ४०० गाडी रहेका छन् । अधिकांशले ७० प्रतिशत ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेको उनको भनाइ छ । देशभर तीन लाख गाडीबाट १२ लाख प्रत्यक्ष र ४० लाख अप्रत्यक्ष रुपमा यस क्षेत्रको रोजगारीमा संलग्न रहेका छन् । पृथ्वीराजमार्ग बस सञ्चालका समितिका प्रबन्ध निर्देशक ज्ञानबहादुर केसीले यातायात व्यवसायीको मागको सुुनुवाइ नभएको भन्दै आठ वटा बैंकमा १५५ वटा चाबी बुझाएको र यो क्रम निरन्तर रहेको बताए । “हाम्रो उद्देश्य ऋण नतिर्ने होइन, तर केही थप समयको माग हो, सरकार र राष्ट्र बैंकले आफूहरुको माग नसुनेका कारण आन्दोलनस्वरुप चाबी बुझाउन बाध्य भयौँ । असहज परिस्थितिमा पटकपटकको ताकेताले व्यवसायी मानसिकरुपमा विचलित हुन पुगेका छन्, यसको सम्बोधन हुनुपर्छ”, केसीले भने । नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष विष्णु खत्रीले यातायात मालिकसँगै यातायात मजदूरका समस्याको पनि सम्बोधन हुनुपर्ने बताए । उनले भने, “अहिले प्रदेशमा एक लाख बढी यातायात मजदूर छन् । देशभर १० लाख बढी यातायात मजदूर छन् । जसमा करिब ४० प्रतिशत आफैँ ऋणधन गरेर गाडी चलाउने गरेका स्वरोजगार मजदूर छन् भने बाँकी अन्य मजदूर छन् । सार्वजनिक यातायात ठप्प हुँदा कतिले कोठा भाडा तिर्न सकेका छैनन्, भने कतिलाई बिहान बेलुका छाक टार्न पनि गाह्रो छ, बिरामी हुँदा उपचार गर्न नपाउँदाको पीडा पनि हामीले सुनेका छौँ, सरकारले सुरक्षाको मापदण्ड बनाएर सार्वजनिक यातायात सञ्चालन गर्न ढिलाइ गर्नुहुँदैन ।” सरकारले हालै सार्वजनिक यातायात सञ्चालनका लागि निर्णय गरेको छ तर त्यस निर्णयप्रति व्यवसायी सन्तुष्ट हुन सकेका छैनन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसी यातायात व्यवसायीसँग कुनै छलफल नै नगरी एकतर्फीरुपमा गाडी चलाउन गरेको निर्णय स्वीकार्य नहुने बताए । “यो अव्यावहारिक र एकतर्फी निर्णय हो । अहिलेको जटिल अवस्थामा सरकारले भने जसरी गाडी चलाउने हो भने व्यवसाय नै टाट पल्टने देखिन्छ, अन्तर जिल्ला गाडी चलाएर सम्पूर्ण सुरक्षा सामग्री उपलब्ध गराउँदा आर्थिक भार पर्न जाने हुँदा, यो निर्णयमा यातायात व्यवसायीले गाडी चलाउन सक्दैनन् ।” केसीले गाडी चलाउँदा अपनाउनुपर्ने पूर्वाधार तथा यससँग आवश्यक सावधानीका विषयमा सरकारले व्यवस्थापन गर्नुपर्ने व्यवसायीका आवाज सुनेर सम्बोधन गर्नुपर्ने बताए । अहिले सरकारले सामाजिक दूरी कायम गरेर मास्क सेनिटाइजर, डिस्इन्फेक्सन, ग्लोब्सलगायतका सामग्री वितरण गरेर व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको र यसले दैनिक अतिरिक्त रु दुई हजार खर्च आउने भएकाले व्यावहारिक नभएको उनको भनाइ छ । त्यसैगरी बन्दाबन्दीमा निजी सवारीसाधनले चर्को रकम लिएर गुडिरहेकोप्रति राज्यले ध्यान दिन नसकेको र सार्वजनिक यातायात व्यवसायप्रति सरकारले सकारात्मक मूल्याङ्कन गर्न नसकेको उनको भनाइ छ । केसीले सरकारले गरेको निर्णयलाई शुक्रबार नै राष्ट्रिय यातायात महासङ्घले आवश्यक निर्णय गर्ने तयारीमा रहेको बताए ।

बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म बिदाका दिन पनि बैंक तथा वित्तीय संस्थाहरु खुला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व संकलनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखाहरु असार २७ गते(शनिबार) र सो पछिका जुनसुकै सार्वजनिक बिदामा पनि पूर्णरुपमा खोल्न निर्देशन दिएको हो । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण राजश्व संकलन गर्ने शाखा तथा काउन्टर एवम् बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरहरु लगायत नेपाल क्लियरिङ हाउस लिमिटेड पूर्णकालिन रुपमा खुला गर्ने व्यवस्था मिलाउनु’- बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

बाउन्स चेक काटेका चित्रकारलाई साढे ६ लाख र सुवाललाई १० लाख जरिवाना

काठमाडौं । पाटन उच्च अदालतले बाउन्स चेक काट्ने सुनिता चित्रकार र मनोजलाल सिंह सुवाललाई बैंकिङ कसुर अन्तर्गत जरिवाना सुनाएको छ । अदालतले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । काठमाडौं ताम्सिपाखाकी ४८ वर्षे उनलाई असार २५ गते स्वयम्भूबाट पक्राउ गरिएको हो । त्यस्तै, सुवाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सुनाएको हो । कलंकीका ४९ वर्षे सुवाललाई अदालतको टोलीले असार २६ गते रविभवनबाट पक्राउ गरिएको हो । उनीहरुले आफ्नो खातामा प्रयाप्त रकम नभएको भन्ने जानी जानी जाहेरवालाहरलाई झुक्याउन विभिन्न बैंकहरुको चेक काटेर दिएपछि उनीहरु विरुद्ध बैंकिङ् कसुर मुद्दा दायर भएको थियो ।

काठमाडौ‌ं उपत्यकामा पाँच हजारको नमूना सङ्कलन

काठमाडौं ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी– यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर नमूना सङ्कलन गरिरहेको छ । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा समुदायमा कोभिड–१९ को अवस्था पत्ता लगाउनका लागि नमूना सङ्कलन गर्न थालिएको जानकारी दिए । महाशाखाको टोलीले विभिन्न ठाउँमा रहेका ती कार्यालयमा रहेका कर्मचारी र सेवाग्राहीको नमूना सङ्कलन गरेको छ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले एउटा कार्यालयका ६० देखि ७० जनासम्मको नमूना सङ्कलन गरिने बताए । अस्पतालमा सघन उपचार कक्षका बिरामी, अर्बुदरोग र मिर्गौलाको डायलासिस गराइरहेका बिरामी तथा उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको परीक्षण गरिनेछ । यस्तै बैंक, मालपोत– नापी जस्ता कार्यालयमा अग्रपङ्क्तिमा रहेर काम गर्ने कर्मचारीको नमूना सङ्कलन गरिनेछ । उपत्यकामा बाहिरबाट आउने मानिस बढेपछि महाशाखाले परीक्षणको दायरा बढाएको हो । महाशाखाका वरिष्ठ वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले पाँच दिनसम्म ती कार्यालयमा काम गर्ने व्यक्तिको नमूना सङ्कलन गरिसक्ने बताए । महाशाखाले बिहीबार कलङ्की, वनस्थली, चाबहिल र भक्तपुरमा ती कार्यालयमा रहेका कर्मचारीको एक हजार नमूना सङ्कलन गरेको थियो । यस्तै आज ललितपुरको भैँसेपाटी, काठमाडौँका नयाँ बानेश्वर र नयाँ सडक तथा भक्तपुरमा गई टोलीले नमूना सङ्कलन गर्दै छ । उनले दैनिक पाँच दिनसम्म एक हजारको दरले नमूना सङ्कलन गरिने बताए । केही दिनयता लगातार उपत्यकामा कोभिड–१९ का सङ्क्रमित भेटिएपछि जोखिम बढेको छ । केही दिनअघि एकैदिन उपत्यकामा ५४ सङ्क्रमित भेटिएका थिए । यस्तै मुलुक बाहिरबाट आउने मानिसको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले बाहिरी मुलुकबाट आउने सम्भावित ४४ हजार व्यक्तिको नमूना सङ्कलन गर्नेछ । सिसिएमसीले स्थलमार्गबाट आउनेलाई सोही नाका र हवाइमार्गबाट आउनेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण गर्नेछ । अहिलेसम्म नेपालमा दुई लाख ७१ हजार १४५ जनाको परीक्षण गरिएको छ । यस्तै १६ हजार ५३१ जनामा सङ्क्रमण देखिएको छ ।

शनिबार पनि सेवा दिँदै एनआईबीएल एस क्यापिटल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल यो शनिबार (असार २७ गते) पनि खुल्ने भएको छ । उक्त क्यापिटलले अजोड इन्स्योरेन्सको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि आफ्ना सेवाहरु खुल्ला गर्ने भएको हो । यस क्यापिटल हाल सेयर जारी गरिरहेको अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । असार २७ गते इन्स्योरेन्सको सेयर निष्काशन बन्द हुने अघिल्लो दिन हो । सो दिन बिहानको १० बजेदेखि दिनको एक बजेसम्म क्यापिटलले हितग्राही खाता खोल्ने, मेरो सेयरको नविकरण गर्ने लगायतका सेवा प्रदान गर्ने जानकारी गराएको छ ।