विकासन्युज

उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन पक्राउ

फाइल फाेटाे काठमाडौं । काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको समयमा भाडा लिएर यात्रु बोक्ने निजी सवारी साधनको चेकजाँचमा कडाइ गरी पक्राउ गर्न थालेको छ । चार दिनयता उपत्यकामा भाडा लिएर यात्रु बोक्ने १६ वटा निजी सवारी साधन नियन्त्रणमा लिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौत्तमले बताए । उनले रातो प्लेटका निजी सवारी साधनले प्रयोजन विपरित यात्रुसँग भाडा लिएर नियम विपरित गरेको पाईएकोले पक्राउ गरिएको जानकारी दिए । बा१७च ६७४२, बा१६च २१७४, बा१७च १५७२, प्र३च३०७८, बा३च ५३९८, को१च ९६०५, बा५च ७५५, बा५च ११४, बा१५च ९६८०, बा१९च २१८४, बा१५च २७०६, बा१३च ५३८५, बा१०च ११९२, बा२०च ४८७७, बा१ञ ११२०, ज१च १२६३ नम्बर भएका निजी सवारी साधनहरूलाई पक्राउ गरिएको ट्राफिक महाशाखाले जनाएको छ । निजी नम्बर प्लेटका सवारी साधनले भाडा लिएर यात्रु ओसारपसार गर्ने गरेको सुचनाको आधारमा ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा चेकजाँचलाई पनि तीव्र बनाएको छ । प्रवक्ता एसपी बामदेव गौत्तमले ती सवारी साधनहरूलाई प्रयोजन विपरित कसुरमा ट्राफिक कारवाही गरी पुनस् सोही गल्ती नगर्न निर्देशन गरी छाडिएको बताए । उनले भने, ‘फेरि पनि रातो प्लेटमै भाडा लिएर यात्रु बोकेको पाइए कानुनअनुसार कडा कारबाही गरिनेछ ।’ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम प्रयोजनका आधारमा सवारी साधनको नम्बर प्लेट कायम गरिएको र निजी प्रयोजनमा दर्ता भएका रातो नम्बर प्लेटका सवारीले भाडाको काम गर्न नपाउने उल्लेख रहेको पनि छ ।

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ। मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेलले बताइन्। ‘आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ। अबको चार दिन सतर्क रहनु पर्छ’, मौसमविद् पोखरेलले भनिन्। मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ। विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९.८ मिलिमिटर वर्षा भएको छ। त्यस्तै वीरेन्द्रनगरमा २३.५, सिमरामा ११.२, नेपालगञ्जमा १०.७ र सबैभन्दा धेरै पोखरामा १३६ .७ मिलिमिटर वर्षा भएको छ। रासस

नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित

काठमाडौं । थप सात दिनसम्मका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी पंक्तिलाई बाढी पहिरोको बेला राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै नेकपाकाे स्थायी कमिटी बैठक थप सात दिनसम्मका लागि स्थगित भएकाे हाे । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत् स्थायी कमिटीको बैठक स्थगित भएको जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’ आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् । स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।

नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय

काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण रोक लगाउने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय गरेका हुन्। यद्यपि यो निर्णय भारत सरकारको स्वामित्वको दूरदर्शनको हकमा लागू हुने छैन। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार पछिल्लो समय भारतीय न्यूज च्यानलहरूले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्न थालेपछि यो कदम चालिएको हो। एक भारतीय मिडियाले त प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरेको थियो।

कोरोना संक्रमणबाट सुरक्षित भएर काम गर्न ग्रील उद्योगमा शुरु भयाे सचेतना कार्यक्रम

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल सरकार र स्विस सरकार कमअको सहकार्यमा ग्रील उद्योगमा कोरोना संक्रमणबाट सुरक्षित भएर काम गर्न सचेतना कार्यक्रम शुरु भएको छ । इन्स्योर परियोजना र ग्रील तथा स्टील ब्यवसायी महासंघ मिलेर पहिलो चरणमा काठमाडौं उपत्यकामा थप २ सहित ५ वटा रुपन्देही जिल्लामा १ र सुनसरी जिल्लामा १ गरि ७ वटा ग्रील उद्योगलाई सो सम्बन्धि जानकारी दिइसकेको छ । सुरक्षित र ब्यवस्थित कार्यस्थल सहितको नमुना ग्रील उद्योगको रुपमा स्तरोन्नति गर्ने योजना अनुसार कोभिड १९ बाट सुरक्षित कार्यस्थलको तयारी र सञ्चालनको न्युनतम मापदण्ड सहित आवश्यक प्रविधि पेडल हेण्डवास , पेडल सेनिटाइजर स्टाण्ड हेलमेट पन्जा थर्मलगन लगायतका सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने विधि र आगामी दिनहरुमा उद्योगी कामदार र उपभोक्ताले अपनाउनु पर्ने अनुशासनको बारेमा जानकारी गराइएको छ । काठमाडौंको पेप्सिकोला खहरे चोकमा सञ्चालित सुगम इन्जिनियरिङ एण्ड सर्भिसेज प्रा. लि.लाई नमुना उद्योगको रुपमा स्तरोन्नति गर्ने क्रममा ग्रील तथा स्टील व्यवसायी नेपालका अध्यक्ष मोहन कटुवालले जानकारी गराएका थिए । अध्यक्ष कटुवालले ग्रील उद्योगीहरुलाई आफ्नो उद्योग व्यवस्थीत र सुरक्षित बनाएर हाल कार्यरत श्रमिकहरुलाई र बिदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवहरुलाई नेपालको ग्रील तथा स्टील उद्योगमा काम गर्न सुरक्षित भएको अनुभूत दिलाउँदै श्रमिक अभाव कम गरि थप रोजगारी सृजना गर्न मद्धत पुग्ने विश्वास व्यक्त गरे । उक्त काठमाडौ जिल्लाका प्रथम उपाध्यक्ष अनिल कुमार श्रेष्ठले सामान्य सुरक्षाका उपकरण प्रयोग नगरी काम गर्दा अकालमा ज्यान जाने अङभङ हुने घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा उद्योग र श्रमिकहरुले सचेत भएर सुरक्षित किसिमले काम गर्नु पर्नेमा जोड दिएका छन् । त्यस्तै, काठमाडौं पूर्वी क्षेत्रीय समितिका अध्यक्ष रोहित श्रेष्ठले यस किसिमको सचेतना कार्यक्रमले उद्योगी र श्रमिकले आफुलाई सुरक्षित भएको महसुस भै उत्पादकत्व क्षमतामा वृद्धि आउने बताए ।

अजोड इन्स्योरेन्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । अजोड इन्स्योरेन्सले जारी गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा एक लाख २६ हजार आवेदकले ५० लाख कित्ता भन्दा बढी सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले माग गरेको भन्दा १.८३ गुणा बढी हो । कम्पनीले बिहीबार(असार २५ गते)बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो ।   जसमध्ये ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन(सेयर भर्न) सक्ने छन् । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।

ग्लोबल आइएमई बैंक छाेड्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सम्झिए परशुराम कुँवर क्षेत्रीले, यस्ताे छ कारण

स्वास्थ्यका कारणले २०७७ आषाढ १ गते ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट मैले पेश गरेको राजीनामा बैकको संचालक समितिले २०७७ साउन १ गतेबाट लागू हुने गरि स्वीकृत गरेको छ । म मेरो रोज़गार समझौता अनुसारको बाँकी सेवा अवधि २०७८ जेठ मसान्तसम्म नै काम गरेर बैकिंग क्षेत्र मात्र होइन सम्पूर्ण क्षेत्रबाट पूर्णकालिन कामबाट अवकाश लिन चाहन्थे तर मानिसहरुका सबै इच्छा र आकांक्षा पुरा हुदैनन् । म कुनै ठूलो महत्वकांक्षा राख्ने मान्छे होइन । जीन्दगी भरी मेहनत गर्ने र मेहनतको फल वापत जे पाएँ त्यसैमा चित्त बुझाएँ । तर मेरो यों आकांक्षा पुरा नभएकोमा मलाई जीन्दगी भर अलिकति पिढा हुनेछ । जिन्दगी भर मैले निरन्तर रुपमा “९९६” को मोडेलमा काम गरेँ अर्थात विहान ९ बजे देखि बेलुका ९ वजे सम्म हप्ताको ६ दिन काम गरें । ज़िन्दगीका थुप्रै दिन दिनको १४-१५ घण्टा र शनिवारका दिन काम गरेको छु । पढाइमा त अब्बल नै थिएँ तर सरकारी स्कूल र कलेजमा पढेको एक मध्यम वर्गीय किसानको छोरो थिए र सहायक तहवाट बैकिगं क्षेत्रमा प्रवेश गरेको थिएँ ।  म आज जहाँ छु र ज़िन्दगीमा मैले जे हासिल गरेँ त्यो सबै मेरो मेहनत कै फल हो । तर अब मेरो स्वास्थ्य र उमेरले त्यसरी नै “९९६” को मोडेलमा निरन्तर रुपमा काम गर्न साथ नदिएको जस्तो महशुस भयो । २१ लाख भन्दा बढी ग्राहकहरु, ३१०० भन्दा बढी कर्मचारी र लाखौं शेयरधनीहरु भएको ग्लोवल आईएमई बैंक जस्तो बैंकमा जागिर खाने नाममा कुर्चिमा टासियर बस्न मन लागेन । आशातित गति, अपेक्षा र भावना अनुरुप कार्यसम्पादन गर्न निरन्तर “९९६” को मोडेलमा काम गर्न ज़रूरी छ तर मेरो स्वास्थ्य र उमेरले साथ नदिएकाले सीईओको जिम्मेवारीमा निरन्तरता दिन उपयुक्त ठानिन । यदि मैले जागिर मात्र खाने सोचले कुर्चीमा टाँसिएर मात्र बसेको भए, बैकका सबै सरोकारवालाहरु (ग्राहकहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियमनकर्ता / सरकार र समूदाय) प्रति मैले अन्याय गरेको हुने थिए । यो मेरा लागि स्वीकारयोग्य थिएन । विं.सं २०७४ असार १ गते तत्कालीन जनता बैंकमा सीईओको रुपमा कार्यभार सम्भाल्दा मेरो कार्यावधि ४ वर्ष तोकिएको थियो तर मैले त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज़ गरेर एकै चोटी ठूलो भएको जनता बैंकलाई “अटोपाईलट” मा लग्न २ वर्ष लाग्छ र सो समय पछि मलाई विदा दिनु पर्छ भनेर तत्कालिन संचालक समितिलाई भन्थे र व्यवस्थापनका सहकर्मी साथीहरुलाई पनि २ वर्ष पछि बैंक तपाईहरुले नै चलाउने हो, म त यहाँ २ वर्ष मात्र बस्ने हो भन्थे । त्यो हिसावले म १३ महिना बढी बैंकमा काम गरेको छु । अझ त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंकको मर्जरको सिलसिलामा मैले परामर्शदाताको रुपमा काम गरेको अवधि समेत गणना गर्ने हो भने बैंकसँग साढे ३१ वर्ष सम्बध्द हुन पुगेको छु। ग्लोवल आईएमई बैंकले राम्रो गरेको छ । राम्रो गर्दैछ र अझ राम्रो गर्ने सम्भावनाहरु विद्यमान छन् । देशको अर्थव्यवस्थामा अर्थपूर्ण योगदान दिन सक्ने बैकको क्षमता छ । बैंकको पूर्वाधार सवल छ, बैंकको व्यवसाय राम्रो छ । बैंकको छवि राम्रो छ र बैंकको उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरु लगायत अन्य कर्मचारीहरु मेहनती, वफादार, लगनशील, र परिणाममूखी छन्। म मेरा सम्पूर्ण सहकर्मी साथीहरुलाई मिस गर्ने छु । यस्तो गूणहरु भएको बैंकले भविष्यमा अझ राम्रो गर्दै जाने छ भनि सम्पूर्ण सरोकारवालाहरुमा आश्वस्त पार्न चाहान्छु । र, म यस घडीमा बैंकका सबै सरोकारवालाहरुमा आ-आफनो ठाउँबाट भविष्यमा पनि बैंकलाई थप साथ र सहयोग गर्न हार्दिक आव्हान गर्दछु । विगत करिव साढे ३ दशक बैंकिंग क्षेत्र र त्यस भन्दा अघि करिव साढ़े २ वर्ष अध्यापन क्षेत्रमा थुप्रै सहकर्मी साथीहरुसँग काम गरेको छु। आफूले काम गरेका बैंकका कर्मचारीहरुका साथै अन्य बैंक तथा वित्तीय संस्थाहरुका साथीहरु, नेपाल राष्ट्र बैंक र अन्य नियमन संस्थाहरुका सरहरु / म्याडमहरुसंग र मेरा ग्राहकहरुसंग थुप्रै अन्तरकृयाहरु र बैठकहरु गरेको छु। यस दौरानमा मलाई थाहा छ मैले केही साथीहरु र विद्यार्थीहरुलाई चोट पुर्यायको छु। यसको लागि म यहाँहरुसंग माफ़ी माग्न चाहान्छु । मैले जानी जानी यहाँहरुको चित्त दुखाउने काम नगरेकोले व्यक्तिगत रुपमा नलियर व्यावसायिक रुपमा लियर मलाई माफ गर्नु हुनेछ भन्ने आशा गरेको छु। यो अवकाशसँगै म अब कुनै पनि क्षेत्रमा रणनीतिक भूमिकाको बाहेक दैनिक रूटिङ प्रकृतिको पूर्णकालिक काम गर्ने संभावना न्यून छ। मेरो बाँकीको जीवन अध्ययन, अनुसन्धान, अध्यात्म र बैकिगं क्षेत्रका कर्मचारीलाई तालिम प्रदान गर्नमा बिताउने छु । तालिम दिने काम मेरो जिविकाको कुरो मात्र नभएर यो मेरो शौखको चीज रहदै आएको छ। मैले बैकिगं क्षेत्रबाट सिकेको ज्ञान सोही क्षेत्रका कर्मचारीमा मेरो जीवनको अन्तिम घड़ीसम्म बाढ्न चाहान्छु। मैले सधैं भन्दै आएको छु र आज म यहाँ फेरी दोहर्याउन चाहन्छु कि मेरो मृत्यु भारतका भूपू राष्ट्रपति अव्दुल कलामको जस्तो कक्षामा पढाउदा पढाउदै होस् । आशा छ भगवानले मेरो यो एक आकांक्षा पुरा गर्ने छन् । मेरो साढ़े ३ दशकको पूर्णकालिक व्यवसायिक जीवनमा उच्च नैतिकताका साथ ईमान्दारीतापूर्वक संस्थागत सुशासन क़ायम गर्दै काम गरेको छु । मैले सधै मच्जाकाे निद्रा राेजे, मिठाे खाना कहिल्यै रोजिन। यसले मलाई  त्रास मुक्त बनायो। कतिपय अवस्थामा यो मेरो शक्ति पनि बन्याे, कमजाेरी पनि । यसै कारण कसैले मेरो नैतिकता र ईमान्दारीतामा औंला ठड्याउन सकेनन् । जीन्दगीमा मैले कमाएको सबै भन्दा ठूलो पूँजी हो यो । मेरो यस्तो चरित्र निर्माणका लागि जन्मका हिसावले मलाई जन्म दिएर हुर्काउने मेरा स्वर्गीय माता पिता तथा हजुरआमा (मावली) र मेरो बैकिगंको महाविद्यालय ग्रिन्ड्लेज / स्टैण्डर्ड चार्टड बैंकलाई स्रेय जान्छ । म वहाँहरुलाई सधै सम्झने छु । बैकमा काम गरिरहेको अवस्था र बैकिगं क्षेत्र भन्दा बाहिर रहेको अवस्थामा पनि मिडियाले मलाई सधैं साथ र सहयोग दियो । वित्तीय सुधार कार्यक्रम अन्तर्गत साढे तीन वर्ष वर्ष नेपाल बैकमा काम गर्दा ( जुलाई २००३ -डिसेम्वर २००६) देखि नै मेरो वहाँहरुसंग संगत रह्यो। वहाँहरुको रचनात्मक सहयोगको लागि म हार्दिक धन्यवाद दिन चाहान्छु । कार्य व्यस्तता आदिका कारणले कुनै दिन फोन उठाइन होला, भेट्न सकिन होला वा ठाड्-ठाडो रुपमा प्रस्तुत भएको हुँला, यसको लागि म वहाँहरु संग क्षमा याचना गर्दछु। अन्तमा, बैंकिगं क्षेत्रमा जे जति गर्न सकें यसको पछाडि मेरो परिवारको ठूलो हात छ । यसका लागि परिवारका सबै सदस्यहरुलाई धन्यवाद दिन्छु । पूर्णकालिन व्यवसायिक जीवनमा मैले जति समय परिवारलाई दिनुपर्थ्यो त्यति दिन सकिन, यसका लागि म दुखी र क्षमाप्रार्थी छु । धन्यवाद (ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएपछि क्षेत्रीले सामाजिक सञ्जालमा राखेकाे भनाइ)

गाडी चलाउने सरकारको निर्णयमा व्यवसायीको धारणा ‘सरकारले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरोस्’

काठमाडौं । सरकारले भोलि अर्थात शुक्रबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले स्वास्थ्य सुरक्षाको ग्यारेन्टी खोजेका छन् । सरकारले स्वास्थय सुरक्षाको ग्यारेन्टी गरे आफुहरु गाडी चलाउन तयार भएको यातायात व्यवसायीहरुले धारणा राखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले उचित स्वास्थ्य व्यवस्था मिलाए आफुहरु तयार भएको तर महासंको आधिकारिक भनाई भने भोलि बस्ने कार्यसमितिकाे बैठकले नै गर्ने उनले बताएका छन् । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न सकिने निर्णय गरेको लगत्तै उनले विकासन्युज सँग भने, ‘गाडी चलाउने र यातायात व्यवसायीको स्वास्थ्य सुरक्षा सरकारले ग्यारेन्टी गर्नुपर्छ, यसको बारे महासंको आधिकारिक धारणा भने भोलि बस्ने महासंघको कार्यसमितिकाे बैठकले गर्नेछ ।’ सरकारले यातायात व्यवसायीहरुले ५० प्रतिशत भाडा बढाएर सञ्चालन गर्न सकिने निर्णय गरेको छ । तर, सिटौला भने भाडादरको बारेमा पनि भोलिको बैठकले यकिन गर्ने बताउँछन् । धेरै गाडीहरु अहिले ग्यारेजमै कुहिने अवस्थाको भएकोले सरकारले त्यसको उचित प्रवन्ध नगर्दासम्म अहिले नै यही हुन्छ र गाडी चलाउँछौं भन्ने अवस्था नरहेको उनको निजी धारणा छ । गाडीहरु ग्यारेजमा रहेकोले त्यसलाई सही अवस्थामा ल्याउन अर्थात सर्भिस गर्न पनि धेरै समय लाग्ने उनी बताउँछन् । सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले पनि ट्याक्सीहरू तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताएका छन् । सरकारले नयाँ मापदण्डअनुसार काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सवारीसाधन चल्न पाउने निर्णय गरेकाे छ ।  सार्वजनिक सवारी चलाउँदा सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाइने र यात्रुलाई मास्क अनिवार्य गरिएको छ । त्यस्तै ट्याक्सीमा चालक बाहेक दुई जनासम्म यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिइएको छ ।  एकै परिवारको भए पाँच वर्ष मुनिका बालबालिकालाई भने चढाउन पाइने गरिएकाे छ । निजी सवारी साधन र मोटरसाइकलमा समेत साेहीअनुसार हुने खतिवडाले जानकारी दिए । ढोकामा स्यानिटाइजर राख्नुपर्ने र सवारी साधनभित्र सामाजिक दुरी हुने गरी यात्रु राख्नुपर्ने नियम लागू गरिएको छ । जोर–बिजोर प्रणाली सार्वजनिक यातायातका लागि समेत लागू हुनेछ ।