पाँच सय परिवार विस्थापित, नौ शव भेटिए
जाजरकाेट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५ सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट–४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ । मैनाका सर्वसाधारण गाउँबाट माथि रहेको रतनकोटडाँडामा आएर बसेको स्थानीय पत्रकार तीर्थराज बोहोराले जानकारी दिए । वडा नं १ को धौलाकोटमा ३२ घरधुरी विस्थापित भएका छन् । त्यस्तै वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १ सय ५० भन्दा बढी घरधुरी विस्थापित भएर विद्यालयमा आश्रय लिएका छन् । विस्थापितलाई दुई विद्यालयमा राखिएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । सिंहका अनुसार ५ सयभन्दा बढी घरधुरी विस्थापित भएर विद्यालय तथा जङ्गलमा बसेको बताए । खोला बढेका कारण एक गाउँबाट अर्को गाउँमा जान सकिएको छैन । सबै गाउँलेले गाउँ छाडेर खुला आकाशमा पाल टाँगेर बसेको स्थानीयवासी जनकबहादुर शाहीले बताए । पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । बिहीबार राति आएको पहिरोले बारेकोट–४ सार्कीटोलका दुई घर बगाउँदा नौ जनाको मृत्यु भएको छ । तीन बेपत्ता छन् । बेपत्ताको खोजीकार्य शनिबार बिहानैदेखि जारी रहेको वडा नं ४ का वडाध्यक्ष सिर्जना बस्नेतले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधिबाट र सर्वसाधारण बेपत्ताको खोजी भइरहेको छ । विस्थापितलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ । राहत लिएर काठमाडौंबाट जाजरकोट आउने भनिएको हेलिकोप्टर खराब मौसमका कारण आउन नसकेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । नौको शव भेटियो बारेकोट–४ सार्कीगाउँमा बेपत्तामध्ये ५२ वर्षीय घरमुली गोपाल सार्की, उहाँका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका–९ बाट दिदीको घरमा पाहुना गएकी १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । बारेकोट–४ का अझै तीन तथा बारेकोट–६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई स्थानीय एक खोलाले बेपत्ता बनाएकामा अहिलेसम्म शव फेला परेको छैन । घाइतेको उद्धार बारेकोट–६ धुमाका रामचन्द्र चलाउने र विज्ञान बोहोरालाई स्थानीय खोलामा आएको बाढीले बगाएर किनारामा फ्याँकेको अवस्थामा स्थानीयवासीले उद्धार गरी थप उपचारका लागि सेनाको हेलिकोप्टरबाट सुर्खेत पठाएकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहले बताए । त्यस्तै पहिरोमा परी घाइते भएका बारेकोट–४ का लालबहादुर नेपालीलाई पनि सेनाको हेलिकोप्टरमार्फत सुर्खेत लगिएको छ । विस्थापितलाई खाने छैन सडक सञ्जालसँग नजोडिएको बारेकोट गाउँपालिकामा पहिरोबाट विस्थापित तथा पीडितहरुका लागि खानेकुरा नहुँदा समस्या भएको छ । घर छाडेर जङ्गलमा बसेका सर्वसाधारण हैरान भएका छन् । नियमित पानी परिरहेकाले खुला आकाशमा भिज्दै आफन्तको पीडामा दिन बिताएका छन् । रासस
इरानले फेरि लकडाउन जोखिम लिन सक्दैन – रुहानी
काठमाडौं । इरानका राष्ट्रपति हसन रुहानीले कोरोना भाइरसको संक्रमण बढेसँगै पुन लकडाउन गर्दा अर्थतन्त्रमा असर पर्ने बताए । मुलुकमा कोरोना संक्रमण द्रुत गतिमा फैलिरहेको छ । यद्यपि देशले फेरि एकपटक लकडाउन गर्ने हो भने अर्थव्यवस्था नै लकहुने र सो जोखिम तिर लाग्न नसक्ने जनाएका छन् । अधिकारीहरुका अनुसार गएको चौबीस घण्टामा १ सय ८८ जनाको व्यक्तिको मृत्यु भएको छ भने २ हजार ३ सय ९७ जनामा थप कोरोना संक्रमण देखिएको छ । योसँगै इरानमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार नाघेको छ भने हालसम्म १२ हजार ६ सय ३५ जनाको मृत्यु भइसकेको छ । इरानले पहिले नै अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धका साथ संघर्ष गरिरहेको छ र कोरोना भाइरसको फैलावट रोक्नका लागि लगाइएको तालाबन्दी अप्रिलमा हटाइएको थियो । (बीबीसीकाे सहयाेग)
ट्रम्प पहिलो पटक मास्कमा सार्वजनिक, उनले भने, ‘हरेक चीजको समय र ठाउँ हुन्छ’
काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलाे पटक सार्वजनिक रुपमा मास्क लगाएर देखा परेका छन् । ट्रम्पले वासिंगटनको नजिकको वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरको भ्रमण गर्दा तथा घाइते सैनिक र स्वास्थ्यकर्मीहरूलाई भेटे । यस अघि ट्रम्पले पहिले सार्वजनिक रूपमा फेस मास्क लगाउन अस्वीकार गरेका थिए । उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्द जो बिडेनलाई अनुहारको मास्क लगाएकोमा गिज्याएकाे थिए । शनिबार व्हाइट हाउस छोड्ने बेला ट्रम्पले मास्क लगाएका थिए । उनले भने, ‘अस्पतालमा जहाँ तपाई धेरै मानिसहरूलाई भेट्नुहुन्छ, तपाईले मास्क लगाउनु पर्ने हुन्छ ।’ ट्रम्पले भने, ‘म कहिले मास्क लगाउनेको विरुद्धमा थिइनँ । तर मलाई लाग्छ हरेक चीजको समय र ठाउँ हुन्छ ।’ कोरोना महामारीले अमेरिकामा सताएपछि ट्रम्प सार्वजनिक रूपमा मास्क लगाएको यो पहिलो पटक हो । (बीबीसीकाे सहयाेगमा)
विश्वमा कोरोना संक्रमितको १ करोड २८ लाख नाघ्यो, उपचारपछि निको हुने ७४ लाख बढी
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड २८ लाख ३९ हजार ५ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार आइतबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ६७ हजार ५ सय ७४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७४ लाख ७७ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजार ६ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३७ हजार ४ सयभन्दा बढी रहेका छन् । उपचारपछि १४ लाख ९० हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७१ हजार ४ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ४० हजार ८ सयभन्दा बढी पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ८ लाख ५० हजारभन्दा बढी संक्रमित छन् । २२ हजार ६ सय ८७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ३६ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ७ सय १७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार २ सय ३९ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
उन्नती र सहकार्यको एकिकृत कारोबार सुरु
बुटवल । रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय उन्नति लघुुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाहरूले मर्जर मार्फत २६ गते शुक्रबार एक औपराचिककार्यक्रम गरी उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन । मर्जरमार्फत एकीकृत कारोबार सञ्चालन गर्नको लागि दुवै संस्थालाई नेपाल राष्ट्र बैंकले गत फागुुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । सोपश्चात् कम्पनी रजिष्टर्डको कार्यालयले भने एकीकृत कारोबारको लागि जेठ १९ गते स्वीकृति दिएको थियो । दुवै निकायबाट स्वीकृति पाएपछि संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेसँगै पूर्वनिर्धारित मिति २६ गतेबाट एकिकृत कारोबार सुरु गरेका हुन । १५ वटा जिल्लामा लघुुवित्तसम्बन्धी कार्य गर्दै आएको उन्नती र दश जिल्लामा लघुुवित्त सम्बन्धी कार्य गर्दै सहकार्य बीच भएको भएको मर्ज पश्चात बनेको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको तीस करोड रुपैयाँ अधिकृत पुँजी, १४ करोड ९५ लाख रुपैयाँ चुक्तापुँजी, २ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी कर्जा लगानी, ८० करोड रुपैयाँ भन्दा बढी निक्षेप संकलन हुनुका साथै ५० हजार भन्दा बढी सेवाग्राही पुग्ने छन् । ५५ वटा शाखा कार्यालयहरु मार्फत २५ जिल्लामा सेवा प्रवाह गर्ने संस्थामा तीन सय भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाउनेछन् । मर्जर पछि बनेको एकिकृत संस्था उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा साविकको उन्नतीकी अध्यक्ष अनिता ढुङ्गाना शाह र प्रमुख कार्यकारी अधिकृत साविकको उन्नतीका प्रेम बहादुर पाठक रहने व्यवस्था भएको प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले जानकारी गराए । पाठकले संस्थाको केन्द्रिय कार्यालय रुपन्देहीको भैरहवामा रहने बताए ।
बाह्रबिसे जम्बुमा बाढी पिडितलाई राहत वितरण गर्दै मुकुन्द
काठमाडौं । शुकबारमात्रै बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु बजार पुगेर बाढी पिडितहरुलाई मुकुन्द घिमिरेले सहयोग गरेका छन् । स्वदेश तथा विदेशमा रहेका समाजसेवी मनहरुले सिन्धुपाल्चोकको बाह्रबिसेका बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका र त्यो सहयोग हस्तान्तरणमा मुकुन्देले सहयोग गरेका हुन् । हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो । पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले साामाजिक अभियान्ता मुकुन्देको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो । सो कामका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए । बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ,भने अन्यकाे खोजि कार्य जारी छ । बाढीले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् ।
थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७ सय १९
काठमाडौं । शनिबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टा यता स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गरेकाे ३ हजार ६ सय ४८ नमुना परीक्षण ७० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । साथै ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन्, भने हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या १६ हजार ७ सय १९ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ३६ पुगेकाे छ ।
क्यालिफोर्नियामा पुनः ८ हजार कैदी रिहाई गरिने
लस एन्जेल्स । जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा ८ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो । रिहा गरिने भनिएका कैदीलाई आगामी अगस्टको अन्त्यसम्ममा प्रक्रिया पुर्याएर रिहा गरिने छ । यस पहिले उक्त राज्यमा १० हजार कैदीलाई यस्तै निर्णय गरी रिहा गरिसकिएको क्यालिफोर्निया सुधार तथा पुनःस्थापना विभागले जानकारी गराएको छ । सरकारले यो कार्य नागरिकको स्वास्थ्य र जीवनको सुरक्षा प्रत्याभूत गर्ने उद्देश्यले गरिएको मन्त्री राल्फ दिआजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । क्यालिफोर्नियाको पूरानो जेलगृह सान क्वेन्टिनमा सङ्क्रमण भेटिएपछि गरिएको निर्णयलाई काराकार सुधार पक्षधर न्यायाधिकारीहरूले स्वागत गरेका बताइएको छ । करिब एक हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भीड रहेका कारागारलाई खुकुलो पार्नुपर्ने धारणा अधिकारकर्मीहरूले व्यक्त गरेका थिए । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजरूमले गत मङ्गलबार कारागारमा एक हजारभन्दा बढी सङ्क्रमित रहेको भन्दै यो सबैको चासोको विषय भएको बताए । क्यालिफोर्निया राज्यमा अहिले सङ्क्रमित रहेकामध्ये आधाभन्दा बढी व्यक्ति जेलमा रहेका सान क्वेन्टिन कारागार प्रशासनले जानकारी गराएको थियो । क्यालिफोर्नियामा कूल एक लाख १३ हजार व्यक्तिले कैदी जीवन विताइरहेका छन् । करिब ४ करोड जनसङ्ख्या रहेको क्यालिफोर्नियामा तीन लाख व्यक्ति सङ्क्रमित रहेका छन् भने करिब ६ हजार ८ सय सङ्क्रमितको मृत्यु भइसकेको छ । रासस