रुपन्देहीमा आइतबारदेखि एसी बस सञ्चालन तयारी
रुपन्देही । कोरोनाको रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण लामो समयसम्म थन्किएका लुम्बिनी मेट्रो सिटी प्रालिका एसी सुविधासहितका बस आइतबारदेखि सञ्चालनको तयारी गरिएको छ । गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले सुरक्षा सतर्कता अपनाएर सवारी साधन सञ्चालन गर्न लागेको हो । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरी आइतबार अपराह्नदेखि बस सञ्चालनमा ल्याइने प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिए । बसमा यात्रु चढाउनुअघि थर्मल गनबाट ज्वरो मापन, मास्क र स्यानिटाइजरको प्रयोग, बसभित्र भौतिक दूरी कायम गरिनेलगायत मन्त्रालयले जारी गरेको सबै मापदण्ड पूूरा गरी सुरक्षित तरिकाले यातायात सञ्चालन गरिने प्रालिले जनाएको छ । रासस
झण्डै ६ अर्ब रूपैयाँ बराबरको साधारण शेयर बिक्री हुँदै
काठमाडाैं । कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार कूल ५ अर्ब ८४ करोड ९१ लाख ४१ हजार २ सय २० रूपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । सोअनुसार ५ करोड ८४ लाख ९ हजार ८ सय ७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो । त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक/एक कम्पनी रहेका छन् । चार बीमा कम्पनीको साधारण शेयर आउँदै बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले रु ३० करोड बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सानिमा जनरल इन्स्योरेन्सले पनि रु ३० करोड बराबरको तीस लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले रु ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ । बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि २५ करोड बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजनाले रु आठ करोड ९६ लाख ९५ हजार २ सय २० बराबरको आठ लाख १५ हजार ४सय ११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ । शुभम् पावर लिमिटेडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता, तेह्रथुम पावर कम्पनीले १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ खर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ । त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले रु सात करोड ३६ लाख २८ हजार ६०० बराबरको सात लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले रु ३९ करोड ३६ लाख ५ हजार ४ सय बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ । यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले ३ करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् । चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार रूपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले ५ करोड बराबरको ५ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ । बोर्डले चालू आवमा कुल नौ कम्पनीका ३ अर्ब ९९ करोड ४८ लाख ४ हजार बराबरको ३ करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ । सो कम्पनीले ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ७ लाख ८० हजार बराबरको सात लाख सात हजार ८ सय कित्ता साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ । यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ । सो कम्पनीको ३० करोड रूपैयाँबराबरको ३० लाख रूपैयाँ कित्ता शेयर बिक्री भइरहेको छ । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । रासस
हत्या आरोपमा श्रीमान् र नन्द पक्राउ
खाँदबारी । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए । घरबाट घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मुलगाउँ नजिकैको जङ्गलमा शव फेला परेको प्रहरीको भनाइ छ । मनमायाको हत्या आरोप लागेका श्रीमान् रुद्रले नै प्रहरी खबर गरेको प्रहरी कार्यालयका सूचना अधिकारी राईले बताए । मुलगाउँ नजिकैको जङ्गलमा मनमायाको शवलाई धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मनमायाका श्रीमान् र नन्दकुमारीलाई २५ गते नै नियन्त्रण लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राई जानकारी दिए । रासस
अमेरिकाद्वारा फ्रान्सेली उत्पादनमा कर वृद्धि गर्ने घोषणा
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले फ्रान्सबाट अमेरिका आयात हुने सामानमा १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने घोषणा गरेको छ । फ्रान्सले डिजिटल सेवामा कर बढाउने निर्णयले अमेरिकी प्राबिधिक कम्पनीहरूमा प्रमुख असर पर्ने भन्दै अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले स्थानीय समय अनुसार शुक्रबार उक्त घोषणा गरेको हो । “अमेरिकी व्यापार प्रतिनिधि निकायले फ्रान्सको डिजिटल सेवा करमार्फत अमेरिकी कम्पनीबाट उठाउने थप कर बराबरको रकम फ्रान्सबाट अमेरिका आयात हुने उत्पादनबाट पूर्ति गर्नेगरी कर वृद्धि गर्ने निर्णय गरिएको छ,” अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयद्वारा सूचनामा उल्लेख छ । “वासिङ्टनले फ्रान्सबाट आयात हुने सामानमा थप २५ प्रतिशत करबाट उसले डिजिटल सेवामा कर उठाउँदा अमेरिकी कम्पनीलाई पर्ने व्ययभारलाई व्यवस्थापन गर्नेछ तर आगामी १ सय ८० दिन अर्थात् सन् २०२१ को जनवरी ६ सम्म अन्य सहमतिका लागि उक्त निर्णयलाई कार्यान्वयन नलग्ने बताएको छ ।” यो अवधिमा द्विपक्षीय तथा बहुपक्षीय छलफलमार्फत् यस विषयमा सन्तोषजनक दृष्टिकोण निस्कने अमेरिकी बुझाई रहेको छ । फ्रान्सको डिजिटल सेवा कर प्रशासनबारे अमेरिकाले धारा ३०१ को छानविनलाई पूरा गरेको बताइएको छ । तर फ्रान्स र अमेरिकाले अन्तरर्राष्ट्रिय करबारे ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट ९ओइसीडी०’ मा बहुपक्षीय सम्झौता जारी रहेकोले शुल्कबारे केही ढिलाई गर्ने सहमति भएको पनि अमेरिकाले बताएको छ । यूरोपेली चार अर्थमन्त्रीहरूलाई अमेरिकी अर्थमन्त्री स्टेभेन मनुचिनले गत जुनमा लेखेको पत्रमा अमेरिका डिजिटल कर निर्धारणका लागि हुने छलफलमा सहभागी नहुने बताउनुभएको थियो । यसैका कारण ओइसीडीको छलफल निष्कर्षमा पुग्न नसकेको यूरोपेली अधिकारीहरूले बताएका छन् । मनुचिनको पत्रको जवाफमा फ्रान्सका अर्थमन्त्री ब्रुनो लेमाइरले सहमतिको नजिक पुगेका समय प्राप्त पत्रले ओइसीडी सदस्यलाई उत्तेजित पार्ने काम गरेको बताए । उनले भने, “जेसुकै भएपनि फ्रान्सले यो वर्ष डिजिटल कम्पनी तथा सेवाहरूमाथि कर लगाएरै अघि बढ्नेमा दृढ छ ।” अमेरिकाले इयू, ब्राजिल र भारतजस्ता विभिन्न १० व्यापारिक सहयात्रीलाई मध्यनजर गर्दै डिजिटल सेवा करबारे अनुसन्धानका लागि अमेरिकी व्यापार कानूनको धारा ३०१ सक्रिय पारिएको हो । उक्त धारालाई फ्रान्सले सन् १९७४ मा अङ्गीकार गरेको तर प्रयोगविहीन बनिसकेको तथाकथित अमेरिकी व्यापार कानूनका रूपमा उल्लेख गरेको छ । यसैमा टेकेर अमेरिकी राष्ट्रपतिले एकपक्षीयरूपमा विदेशी मुलुकहरूमाथि विविध व्यापार प्रतिबन्धहरू लगाएको दावी आलोचकहरूको रहेको छ । विश्वभरका व्यापारिक संघसंगठनहरूले एक पटक प्रयोगबिहीन बनिसकेको धारा ३०१को पटकपटकको प्रयोग विश्व व्यापार संगठनको नियम विपरित भएको भन्दै चासो व्यक्त गरिरहेका छन् । उनीहरूले अमेरिकी उक्त धाराको प्रयोगले पहुपक्षीय व्यापार प्रणाली र विश्वव्यापी आपूर्ति व्यवस्थालाई कमजोर बनाउने र प्रभावित पार्ने बताएका छन् । रासस/सिन्ह्वा
कमलामा बहाव बढ्यो, सतर्क रहन आग्रह
काठमाडाैं । कमला नदीमा पानीको बहाव बढ्दै गएपछि सिरहाको आधा दर्जन गाउँका स्थानीयवासीलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । अविरल वर्षासँगै नदीमा पानीको बहाव बढ्दै गएपछि नदी आसपासमा पर्ने कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाको विभिन्न गाउँका स्थानीयवासीलाई सतर्क रहन अपिल गरिएको हो । “कमला नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ”, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने, “बाढी बस्तीमा पसे ठूलो धनजनको क्षति हुनसक्ने भएकाले आसपासका बस्तीमा बिहानैदेखि माइकिङ गर्न थालेका छौँ, सुरक्षाकर्मीलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राखेका छौं ।” अहिले नदीमा पानीको बहाव खतराको तहसम्म पुगेको र अझै वर्षा जारी रहेकाले थप पानीको बहाव थप बढ्न सक्ने भएकाले नदी आसपासको गाउँका स्थानीयलाई सतर्क रहनुपर्ने उनले भनाइ छ । उनले कमलामा बाढीबाट पुर्याउन सक्ने क्षतिलाई रोक्न बाढी पूर्व अपनाइने सतर्कतामा समेत संवेदनशील रहेको उनले बताए । अघिल्लो वर्ष नदीको बाँध भत्किएर बाढी गाउँमा पस्दा कल्याणपुर, सारस्वर, बन्दीपुरलगायतको गाउँ डुबान हुँदा ठूलो धनमालको क्षति भएको थियो । नदीकै छेउमा रहेका यी गाउँहरु बाढीको उच्च जोखिममा परेको छ । विगत दुई दिनदेखिको अविरल वर्षाका कारण नदीमा बाढीको चाप बढेकाले बाँध भत्किएर गाउँ पस्ने हो कि भने चिन्ता बढेकोे कल्याणपुरका स्थानीय सुरज मण्डलले जानकारी दिए । रासस
बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरे । उनले विज्ञप्तिमार्फत विपद्को यस घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनता, जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायलाई समेत अपिल गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, गुल्मी, बझाङ, लमजुङ, कास्की, रुकुम, जाजरकोट र रोल्पालगायत अन्य विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति, मानवीय क्षति, मािनस घाइते र बेपत्ता भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गरे । रासस
भारतमा संक्रमितको सङ्ख्या ८ लाख नाघ्याे, एकैदिनमा २७ हजार बढी
काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ८ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९ सय १६ जना संक्रमित भएका छन् । ती मध्ये २७ हजार १ सय १४ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा संक्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोना भाइरसका कारण ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । देशभरी कुल संक्रमितमध्ये २ लाख ८३ हजार ४ सय ७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी ५ लाख १५ हजार ३ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २२ हजार १ सय २३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै २ लाख ३८ हजार ४ सय ६१ जना संक्रमित हुदाँ दोस्रो धेरै संक्रमित भएको तमिल नाडुमा १ लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा १ लाख ९ हजार १ सय ४० जना संक्रमित भएका छन् । विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै संक्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा संक्रमित रहेका छन् । निको भई घर फर्किनेको सङ्ख्या ६२.४२ प्रतिशत, मृत्यु दर २.७२ प्रतिशत भारतमा कोभिड–१९ संक्रमितमध्ये ६२.४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले शुक्रबार बताएको छ । मृत्यु दर २.७२ प्रतिशतमा झरेको बताइएको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । निको भई घर फर्किनेको सङ्ख्या राष्ट्रिय तथ्याङ्कभन्दा बढी हुने राज्यहरू, पश्चिम बङ्गालमा ६४.९४ प्रतिशत, उत्तर प्रदेशमा ६५.२८ प्रतिशत, उडिसामा ६६.१३ प्रतिशत, मिजोराममा ६७.५१ प्रतिशत, झारखण्डमा ६८.०२ प्रतिशत, पञ्जाब ६९.२६ प्रतिशत, बिहार ७०.४० प्रतिशत, गुजरात ७०.७२ प्रतिशत,मध्य प्रदेह ७४.८५ प्रतिशत, हरियाणा ७४.९१ प्रतिशत, त्रिपुरा ७५.३४ प्रतिशत, राजस्थान ७५.६५ प्रतिशत, दिल्ली ७६.८१ प्रतिशत, चण्डीगढ ७७.०६ प्रतिशत, छत्तीसगढ ७८.९९ प्रतिशत, उत्तराखण्ड ८०.८५ प्रतिशत, लद्दाख ८६.७३ प्रतिशत र हिमाञ्चल प्रदेश ७४.२१ प्रतिशत रहेको छ । त्यस्तै संक्रमित मृत्यु भएको राष्ट्रिय औसत तथ्याङ्क २.७२ प्रतिशतभन्दा कम हुने राज्यहरूमा मणिपुर, नागाल्याण्ड, मिजोराम, सिक्किम, त्रिपुरा, दादरालगायत रहेका छन् । सङ्क्रमण दर दुई प्रतिशतभन्दा बढी रहेका राज्यहरूमा राजस्थान, उत्तर प्रदेश, पञ्जाब, तामिलनाडू, जम्मू–कश्मिर, कर्नाटक, हरियाणा रहेका छन् । भारतभर १ हजार २ सय १८ कोभिड–१९ विशेष अस्पताल, दुई हजार ७०५ कोभिड–१९ विशेष स्वास्थ्य केन्द्र र १० हजार ३ सय १ सामान्य कोभिड उपचार केन्द्र स्थापना गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा विगत २४ घण्टामा दुई लाख ८३ हजार ६ सय ५९ शङ्कास्पद नमूनाको परीक्षण भएको र अहिलेसम्म १ करोड १० लाख २४ हजार भन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । रासस/एएनआई
अझै तीन दिन वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल देशभर सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको औँल्याएको छ । आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव सात डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३३ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । रासस