जनसङ्ख्याको व्यवस्थापन सरकारको प्राथमिकता : मन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । २५औं विश्व जनसङ्ख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसङ्ख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा सुधार, प्रजनन अधिकारको पृष्ठपोषण, बालविवाहमा कमी, सुरक्षित मातृत्वलगायतका क्षेत्रमा प्रगति गरिसकेको समेत बताए । मन्त्री ढकालले जनसङ्ख्या विकासको मूल आधार मात्र नभई देशको अस्तित्व स्थापना गर्ने एक मूल मापक रहेको उल्लेख गर्दै जनसङ्ख्या र विकाससँग जोडिएका महत्वपूर्ण बहुआयामिक क्षेत्रहरुको नीति, निर्माण र कार्यक्रम सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए । उनले जनसङ्ख्याका क्षेत्रमा राम्रा काम गरे पनि केही सुधार गर्नुपर्ने औंलाएका छन् । “सन्तुलित जनसङ्ख्याको वितरण र प्रभावकारी जनसङ्ख्या व्यवस्थापनको मार्गमा जनसङ्ख्याका खासखास सूचकहरुमा सुधार गर्नुपर्ने अवस्था छ”, उनले भने, “सेवासुविधाकै अभावका कारण नागरिकले जन्मथलो छाडेर अन्यत्र बसाइँसराइ गर्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि सबै ठाउँमा आवश्यक पूर्वाधारहरुको निर्माण गरी व्यवस्थित बसोबासलाई मिलाएर अव्यवस्थित शहरीकरण रोक्नेतर्फ सरकारले ध्यान दिइरहेको छ ।” देशको आधा हिस्साभन्दा बढी सङ्ख्यामा रहेका महिलाको स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता, रोजगारीजस्ता विषयहरुमा राज्यले विशेषरूपमा ध्यान दिन सकेमा मुलुकको विकासमा यसले ठूलो योगदान पुर्याउन सकिने उनको भनाइ थियो । विश्वभरि नै मनाउन थालिएको दिवसको नारा ‘कोभिड–१९ सङ्क्रमणको पूर्ण अन्त्य गरौं, महिला र किशोरीहरुको स्वास्थ्य र अधिकार सुरक्षित गरौं’ रहेको छ । सन् १९८७ मा विश्वको जनसङ्ख्या पाँच अर्ब पुगेको स्मरण गर्र्दै सन् १९८९ मा नेपालसहित १७९ सदस्य राष्ट्रहरुले यो दिवस मनाउन थालेका हुन् । नेपालको जनसङ्ख्या तीन करोड पुगेको छ । त्यसमध्ये शहरमा २१.४ प्रतिशत रहेको मन्त्रालयका जनसङ्ख्या महाशाखा प्रमुख शैलेजा रेग्मीले जानकारी दिए । यसैगरी नेपाल विश्वको जनसङ्ख्याको ४९ औं स्थानमा रहेको छ । नेपालको औसत आयु ७१.७४ रहेको छ । प्रतिहजारमा २३.४ जना शिशु मृत्युदर रहेको छ । रासस
पहिरोमा बेपत्ता १० जनाको शव फेला
काठमाडाैं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका विभिन्न ठाउँमा गएको पहिरोमा परी वेपत्ता भएका २१ मध्ये नौ जनाको शव भेटिएको छ । वडाध्यक्ष राजाराम सुवेदीका अनुसार कल्लेनीमा एक, ठूलोगाउँमा एक र राम्चेमा ७ जनाको शव भेटिएको हो । ७ जना वेपत्ता भएको रिखमा सुरक्षाकर्मीको टोली जाँदैैछ । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो । मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ, नौरु र दुलेमा वेपत्ता आठको खोजीमा शनिबार बिहान आएका सेना, शसस्त्र र प्रहरीको टोलीले काम सुरु गरेको वडाअध्यक्ष रेशम जुग्जालीले बताए । नेपाली सेनाको हेलिकप्टरमार्फत वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकूल मौसमका कारण शुक्रबार बिहान पहिरो गएको ठाउँमा २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । रघुगङ्गा–६ ठाडाखानीमा बाढीले बगाएर वेपत्ता भएका नलिमान छन्त्यालको शुुक्रबार नै शव भेटिएको थियो । दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की गीता रोका अझै फेला परेकी छैनन् । मराङको राम्चेमा पहिरोमा परी घाइते भएका चार जना घाइतेको हेलिकप्टरले उद्धार गरेर बेनी अस्पतालमा ल्याएको छ । एक जना गर्भवतिसमेत छिन् । यसैबीच म्याग्दीको मालिका गाउपालिका–५ देवीस्थान र धवलागिरी गाउँपालिका–७ काफलडाँडामा पहिरोका कारण ९३ घरपरिवार विस्थापित भएका छन् । केही दिनदेखिको निरन्तरको वर्षासँगै पहिरो खसेर जोखिम बढेपछि जनप्रतिनिधि, युवा क्लव र आमा समूहको पहलमा सुरक्षित ठाउँमा भएका घर र सामुदायिक भवनमा सारिएको छ । देवीस्थानको ताम्ला, गर्जरा, दारिम्बोट, घोर्लटे, दि र पारिभित्ताका ५३ घरको सामानसहित स्थानीयवासीलाई रुन्मामा सारिएको सुर्यमुखी युवा क्लवका अध्यक्ष भकबहादुर घर्तीले बताए । जुग्जाका १०, पन्थोकका नौ, घरिथोकका चार र मगरदाङका एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । रुन्माको नवसिर्जना युवा क्लवको भवन पुरिएको छ । ३० किलोवाट क्षमताको मगरदाङ लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह पहिरोले बगाएको छ । गौडाखोला लघुजलविद्युत परियोजनाको संरचनामा क्षति पुगेको छ । देउताभिर जाने पदमार्ग र खारवाङखोलाको झोलुङ्गे पुल बगाएको छ । थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका वासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए । धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि छ परिवार विस्थापित भएका छन् । मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पुर्याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले भने । मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताएका छन् । पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको छ । रासस
रक्तदान अहिलेको आवश्यकता : लायन्स क्लबद्वारा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं । लायन्स क्लबले काठमाडौंको न्यू रोडस्थित ताम्राकार कम्प्लेक्समा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । शुक्रबार बिहान १० बजेबाट सुरु भएको उक्त कार्यक्रम दिउँसो ४ बजेसम्म सम्पन्न भएको हो । उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा कुल ५१ पिन्ट रगत संकलन भएको थियो जसमा ४० पुरुष र ११ महिलाले रक्तदान गरेका थिए । देश कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेला थप एक संकट आइपरेको छः रगतको अभाव । कोरानाकै त्रासको कारण अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । कोरोना भाइरसको सुरक्षाको निम्ति सरकारले सुरु गरेको लकडाउन पश्चात् सम्पूर्ण रक्तदान कार्यक्रमहरु स्थगित छन् । रक्तदान गर्न इच्छुक व्यक्तिहरु पनि यस भाइरसको जोखिमले त्रसितछन् । यसैबीच रगतको अभावको समाधान खोज्ने दृष्टिकोणले लायन्स क्लबले संक्रमणको जोखिमलाई विशेष ध्यानदिई सुरक्षित तरिकाले यस रक्तदान कार्यक्रम आयोजना गरेको हो । लायन्स क्लबले यस रक्तदान कार्यक्रमको आयोजनाबाटै मानिसहरुमा रहेको रक्तदानप्रतिको गलत विचार तथाभ्रम हटाई नयाँ रक्तदाताहरुलाई प्रोत्साहित गर्न प्रयास गरेको देखिन्छ । मानिसहरूमा अझ पनि रक्तदानबारे जोडिएका अन्धविश्वास छन् जसका कारण उनीहरू खुलेरै रक्तदान गर्न हिच्किचाउँछन् । एक सर्वेक्षण अनुसार शाकाहारी मानिसले रक्तदान गर्नु हुँदैन भन्ने भ्रम पाइएको छ । ट्याटु र अंग छेड्नेहरुले रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नपनि रहेको पाइन्छ ?त्यसैगरी रक्तदान गरेपछि शरीरको रगत सकिन्छ आदिलगायतका गलत विश्वास पनि मानिसहरुमा रहेको पाइन्छ । वास्तवमायी सबै निराधार हुन् । मानिसले बुझ्नु पर्ने कुरा के भने यदितपाईँ पूर्ण रुपमा स्वस्थ हुनुहुन्छ, शरीरको तौल कम्तिमा ४५ किलो वामाथी छ र तपाईँको उमेर १८ वर्ष नाघिसकेको छ साथै एचआई भि जस्ता जटिल रोगहरुको इतिहास छैन भने तपाईँ निर्धक्कभएर रक्तदान गर्न सक्ने जनाएको छ ।
रुद्रमतीमा फोहर फाल्नेबाट २३ हजार रूपैयाँ जरिवाना
काठमाडाैं । सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट २३ हजार रूपैयाँ जरिवाना गराएको छ । काठमाडौं महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारवाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले राससलाई जानकारी दिए । भिडियोमा फोहर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारवाहीको प्रक्रियामा ल्याउन सकिएको उनले सुनाए । “कानूनी व्यवस्थाअनुसार जरिवानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौं, एकपटकलाई जरिवानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहर नफाल्ने प्रतिबद्धतासहित फोहर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई १५ हजार रूपैयाँ जरिवाना गरिएको छ”, अभियानकर्मी गिरीले भने । महानगरपालिकाले रिक्साचालकलाई १ हजार रूपैयाँ, रिक्सा धनीलाई २ हजार रूपैयाँ, फोहोर फाल्नेलाई ५ हजार रूपैयाँगरी जम्मा २३ हजार रूपैयाँ जरिवाना गरेको वडा नं ३० का सदस्य शर्मिला महतोले जानकारी दिए । फोहर फाल्न संलग्न वडा नं ३० मा बस्ने गरेकाले कारवाहीका लागि वडाका तर्फबाट प्रतिनिधित्व गरेको पनि जानकारी दिए । जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहर टिप्नु पर्नेछ । यसैगरी फोहर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ । तीन दिन अघि फालेको फोहर फाल्नेले नै आइतबार उठाउने गरीसमेत सहमति भएको रुद्रमती सफाइ अभियानले जनाएको छ । अब आइन्दा नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फाल्नेलाई कडाभन्दा बडा कारवाही गरिने भएकाले फोहरलाई महानगरपालिकाको गाडी आएका बेलामात्र फाल्न, कुहिने फोहर बारी एवं कोशीखेतीमा उपयोग गर्न पनि अभियानले सुझाएको छ । उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फालेको भेटेमा तस्वीर वा भिडियो खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ । रासस
बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग
काठमाडाैं । व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायीलाई बन्दाबन्दी अवधिभर बैंकको ब्याजदरमा शतप्रतिशत छुट दिन माग गरेका हुन् । महासङ्घका अध्यक्ष नरेश कटुवालले बैंक तथा वित्तीय संस्थाको किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्न माग गरे । “बन्दाबन्दी अवधिभर व्यावसायिक घरभाडामा पूरै छुट दिनुपर्छ”, उनले भने । महासङ्घले पुनःकर्जा कोषमा साना उद्योगी व्यवसायीकोे पहुँच सुनिश्चितता गर्न मागसमेत गरेको छ । विसं २०७३ मा स्थापना भएको महासङ्घमा विभिन्न २० सङ्घ आबद्ध छन् भने झण्डै २५ हजार व्यवसायी आबद्ध रहेका छन् ।
केएमसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मूत्यु
काठमाडौं । सिनामंगलको केएमसी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमिणको मृत्यु भएको छ । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा.मुकुन्द राज जोशीले जानकारी दिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३६ ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बाढीले डाइभर्सन बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भरतपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । अहिले गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ । रासस
कोरोनाको आशङ्का भएपछि १ सय ४९ खरिपाटी क्वारेन्टाइनमा
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १ सय ४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ । कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट ९ वटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टाइन लगिएको हो । क्वारेन्टाइनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिए । रासस