विकासन्युज

अरुण तेस्रोले निर्माण व्यवसायीलाई भुक्तानी नदिएको गुनासो

खाँदबारी । निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनामा काम गर्ने सङ्खुवासभाका स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । अरुण तेस्रो परियाजनाको मकालु गाउँपालिकामा ड्यामसाइट (बाँधस्थल) र चिचिला गाउँपालिकामा विद्युत्गृहको काम चलिरहेको छ । परियोजनामा काम गर्ने अधिकांश स्थानीय निर्माण व्यवसायीले भुक्तानी नपाउँदा मारमा परेको बताएका छन् । परियोजना निर्माणको काम भारतको सतलज जलविद्युत् निगमले गरिरहेको छ । एसजेभिएनले पावरहाउसतर्फको काम गर्ने जिम्मा पटेल इञ्जीनियरिङ कम्पनी र बाँधस्थलतर्फको काम जयप्रकाश एशोसिएट निर्माण कम्पनीलाई दिइएको छ । यी दुई ठेकेदार कम्पनीले स्थानीय नेपाली निर्माण कम्पनीलाई पूर्वाधार विकासको काम पेटी ठेक्कामा दिए पनि कामअनुसार रकम भुक्तानी समयमा नदिँदा नेपाली निर्माण व्यवसायी निरुत्साहित बनेका हुन् । आयोजनाको ३० प्रतिशतभन्दा बढी निर्माणको काम भइसकेको छ । परियोजनामा रौता कन्स्ट्रक्शन प्रालिले गत असारमा सडकको कजवे निर्माणको काम सके पनि हालसम्म पनि सम्झौताअनुसारको रकम पाउन नसकेको प्रालिका प्रतिनिधि भीम थापा थापाले बताए । रौताले १४ वटा कजवेसहित सडक मर्मतको काम एक वर्ष पहिले नै सम्पन्न गरे पनि नौ वटा कजवे निर्माण गरेको रकम पटेल इञ्जीनियरिङ कम्पनीले हालसम्म भुक्तानी नगरेको थापाको भनाइ छ । पटेल कम्पनीले रौतालाई रु दुई करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनले भने । कार्यसम्पन्न भएको एक वर्ष पूरा हुँदा पनि कार्य मूल्याङ्कनसमेत गरेको थापाले गुनासो गरे । रौताले मकालु गाउँपालिकाको आम्राङबाट अडिट–२ (सोलाखनी) सडकखण्डमा कजवे र पर्खाल निर्माणको जिम्मा लिएको थियो । रौता कम्पनीमार्फत स्थानीय निर्माण व्यवसायी निमा लामा, इन्द्र कटुवाल, दुर्गा पराजुली, धनकुमार राई, नवराज थापालगायतलाई ठूलो रकम भुक्तानी हुन बाँकी रहेको व्यवसायीको भनाइ छ । परियोजनाले दर्जनभन्दा बढी नेपाली निर्माण कम्पनीहरुलाई कामको जिम्मेवारी दिए पनि समयमा रकम भुक्तानी नहुँदा उनीहरु मारमा पर्ने गरेका हुन् । निर्माणको जिम्मा लिएर एकपटक काम गरेका कम्पनीले पुनः अर्को निर्माणकार्यको जिम्मेवारी लिन नसक्ने अवस्था रहेको व्यवसायीको भनाइ छ । समयमा रकम भुक्तानी नहुँदा स्थानीय कामदार र व्यापारीसमेत मारमा पर्ने गरेका छन् । निर्माण व्यवसायीले स्थानीय हार्डवेयर व्यापारीलाई समेत लाखौँ तिर्न बाँकी छ । परियोजनाको काम शुरु भएसँगै स्थानीयस्तरमा दुई दर्जनभन्दा बढी निर्माण व्यवसायी कम्पनी खोलिए पनि उनीहरुले परियोजनामा काम पाएका छैनन् । काम पाएका निर्माण कम्पनी पनि समयमा रकम भुक्तानी नपाएपछि काम नगर्ने पक्षमा छन् । काम सम्पन्न भएको महिनौंसम्म रकम भुक्तानी नहुँदा थोरै पूँजी भएका व्यवसायीले कामदार र निर्माण सामग्रीको रकम भुक्तानी गर्नसमेत नसकेको बताएका छन् । निर्माण व्यवसायीले रकम नपाउँदा कामदार र व्यापारीसमेत मारमा पर्ने गरेका छन् । परियोजनामा सात हजार नेपाली कामदरलाई रोजगारी दिने परियोजना विकास सम्झौता (पिडिए)मा उल्लेख छ । अहिलेसम्म पनि परियोजना प्रभावित क्षेत्रका स्थानीय कामदार न्यून छन् । लामो समयदेखि अल्झिएको अरुण तेस्रो परियोजना सरकारले विसं २०७१ मङ्सिर ९ गते परियोजना विकास सम्झौता (पिडिए) गरेको हो । परियोजनाको नेपाल प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाखमा काठमाडौँको द्वारिका होटलबाट स्वीच थिचेर उद्घाटन गरे । निर्माण कम्पनी सतलजले अबको पाँच वर्षमा विद्युत् उत्पादन शुरु गर्ने जनाएको छ । परियोजनाले करिब रु एक अर्ब २९ करोड मुआब्जा प्रभावित क्षेत्रका स्थानीयवासीलाई बाँडिसकेको छ । दुई सय ६५ परिवारको घर तथा जग्गा अधिग्रहण गरेको परियोजनाले जनाएको छ । परियोजनाबाट नेपालले २५ वर्षमा कूल ३ खर्ब ६२ अर्ब प्राप्त गर्नेछ । सो रकममध्ये रोयल्टीबापत १ खर्ब १६ अर्ब र आयकरवापत  ८० अर्ब पाउनेछ । नेपालले १ खर्ब ६६ अर्बबराबरको निःशुल्क विद्युत् पनि पाउनेछ । स्थानीयवासीलाई ३० युनिट र नेपाललाई परियोजनाले उत्पादनको २१ दशमलव नौ प्रतिशत अर्थात् पूर्ण क्षमतामा उत्पादन भए १९७ दशमलव एक मेगावाट बिजुली निःशुल्क दिनेछ । बिजुली उत्पादन शुरु भएको २५ वर्षपछि सतलज कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ ।   रासस

सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना सम्पर्कविहीन भएका छन् । अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । अहिले पनि भारी वर्षा भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।   रासस

चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा, जगेडा कोषबाट लाभांश वितरणका लागि राष्ट्र बैंकसँग स्वीकृति माग

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले चालु आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश बैंकहरु नोक्सानमा जान सक्ने बताएका छन् । कर्जा असुली नहुँदा गर्नु पर्ने प्रोभिजनको कारण बैंकहरु नोक्सानमा जाने उनले बताए । ‘अवस्था राम्रो छैन’ दाहालले भने- ‘बैंकहरुकाे अपरेशन लसमा हुँदैनन, तर प्रोभिजनले लस गराउँछ ।’ बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्ष तथा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानले यस वर्षको नाफाबाट नसके संचित कोषबाट भएपनि सेयरधनीलाई लाभांश दिनुपर्ने बताए । साना लगानीकर्ताको घर चलाउन, सेयर बजारमा राम्रो सन्देश दिन मौद्रिक नीति मार्फत नै यस्तो व्यवस्था हुनुपर्ने उनले बताए । तर नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्टले यस्तो सम्भावना कम रहेको संकेत गरेका छन् । ‘बैंकको सल्भेन्सीमा असर पर्नु भएन । अन्तर्राष्ट्रिय रुपमा स्थापित नर्म्समा असर पर्नुभएन’ उनले भने । भारत लगायत केही देशमा बैंकहरुलाई लाभांश वितरणमा रोक लगाएको सन्दर्भ पनि उनले उल्लेख गरे । उनले एनएफआरएस अनुसार अक्रोलबेस वासलात नबनाई क्यासबेस वासलात बनाउनु पर्ने बताए । हिसावमा नाफा देखिन, सरकारलाई कर बुझाउनु पर्ने तर लगानीकर्ताले लाभांश नपाउने खालको वासलात सच्याउनु पर्ने गोल्यानले बताए । यस विषयमा राष्ट्र बैंक, आईक्यान, कर प्रशासनका प्रतिनिधि संलग्न एक समितिले अध्ययन गरिरहेको र माैद्रिक नीतिमा सम्बोधन हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए । भिडियाे हेर्नुहाेस्

विदेशमा काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । विदेशमा रहेका काेराेना संक्रमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना भाइरस संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका जानकारी दिएकाे छ । साथै पछिल्ला दिनमा काेराेनाबाट मृत्यु हुने  नेपालीको दरमा उल्लेख्य कमी देखिएकाे जनाएकाे छ । संसारभर २९ हजार ६ सय २४ जना संक्रमित नेपालीमध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले बताएकाे छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अबर लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा बृद्धि भएको छ । काेराेनाबाट नेपालमासहित ज्याने नेपालीकाे संख्या १ सय ८१ पुगेको छ भने ४६ हजार ३ सय ४६ जनामा संक्रमण फैलिएको छ । ती मध्ये ३५ हजार ८ सय ४ जना कोरोना मुक्त भएका छन् । गत सातासम्म विदेशका १४ देशमा संख्या रहेका १ सय ४३ नेपालीले कोरोना संक्रमण कै कारणले ज्यान गुमाएका थिए ।

निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण

काठमाडाैं । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा तथा पूर्वमन्त्री महेश बस्नेतसहितको टोलीले चाँगुनारायण नगरपालिकाको भँगेरीडाँडामा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालाको अनुगमन तथा निरीक्षण गरे । जिल्ला खेलकूद विकास समिति भक्तपुरको पहलमा निर्माण शुरु भएको रङ्गशालाको शनिबार अनुगमन एवं निरीक्षण गर्दै मन्त्री विश्वकर्माले अहिलेको चुनौतीपूर्ण समयमा पनि रङ्गशाला निर्माण शुरु भएको भन्दै खुशी व्यक्त गरे । विकासका लागि बजेट अभाव नहुने चर्चा गर्दैै उहाँले दिगो विकास, प्रभावकारी तथा स्थायित्वसहितको डिजाइनमा रङ्गशाला सुन्दर, स्रोतसाधन परिचालनमा योजनाबद्ध एवं व्यवस्थित हुनुपर्नेमा जोड दिए । मन्त्री विश्वकर्माले खेलकूद हुनेखाने मानिसका लागि मनोरञ्जनको साधन मात्र नभई प्रत्येक मानिसको स्वास्थ्यसँग जोडिएको बताउँदै रङ्गशाला निर्माणमा नगरपालिकाको सहयोगमा थप सहयोग गर्दै आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणकार्यलाई पूर्णता दिने बताए । सांसद एवं पूर्व मन्त्री बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने सपना पूरा हुने भएको बताएका छन् । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न खोज्दा चौतर्फीरूपमा नेमकिपाले विरोध गरेको उल्लेख गर्दै उनले भँगेरीडाँडामा बन्न लागेको रङ्गशालाको समेत सांसद प्रेम सुवालले संसद्मै विरोध गरेको बताए । नेपाल सरकारले उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कार्यक्रम ल्याएको र सोहीअनुसार प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले उक्त स्थानमा खेलकूद तथा पर्यटनको महत्वपूर्ण उद्गमस्थलका रूपमा विकास गर्ने योजना बनिरहेकोसमेत जानकारी गराए । रङ्गशाला निर्माण सम्पन्न भएसँगै चाँगुनारायणको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, रोजगारी, व्यापार व्यवसायलगायतका क्षेत्रमा भक्तपुरले ठूलो फड्का मार्ने विश्वास व्यक्त गरिएको छ । चाँगुनारायण नगरपालिकाले वडा नं ४ र ७ को भँगेरीडाँडामा जग्गा उपलब्ध गराएसँगै रङ्गशाला निर्माण शुरु भएको हो । सङ्घीय सरकारले समेत आफ्नो नीति तथा कार्यक्रममा उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय रङ्गशाला निर्माण गर्ने उल्लेख गरेको थियो । सोहीअनुसार उक्त क्षेत्रमा रङ्गशालाको निर्माण शुरु गरिएको सांसद बस्नेतले बताए । नगरपालिकाको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको उक्त रङ्गशाला नगरापालिकाले ५० लाख बजेट व्यवस्थापन गरी निर्माण शुरु गरेको छ । रङ्गशाला निर्माणका लागि नगरपालिका, प्रदेश सरकार तथा सङ्घीय सरकारबाट समेत उचित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता आएको छ । त्यस अवसरमा रङ्गशाला निर्माणको नेतृत्व लिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले रङ्गशाला निर्माणसँगै स्थानीय विकास, पर्यटन एवं कृषिको विकास, रोजगारीको व्यवस्थासँगै आर्थिक अवस्था वृद्धि हुने बताए ।   रासस

झापामा बाढी : एकको मृत्यु, पाँच परिवार विस्थापित

बनियानी ।  झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिए । बिरिङ खोलामा नुहाउँदै गर्दा खोलाले बगाएर बेपत्ता भएकामा उनलाई साँझ स्थानीयवासीले मृतावस्थामा फेला पारेको उनले बताए । कनकाई नदीमा आएको बाढीका कारण शिवसताक्षी–१० सुकुम्बासी बस्तीका चार परिवार र गौरीगञ्ज–१ को एक परिवार विस्थापित भएका छन् । त्यस्तै, शिवसताक्षी–१० का १५ परिवार र गौरीगञ्ज–१ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । कनकाई नदीमा आएको बाढीका कारण चार घर पूर्णरूपमा क्षति भएको छ । बाढीका कारण शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा विस्थापित बनेको हो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ । असार १४ गते शिवसताक्षी–१० को सुकुम्बासी बस्तीमै कनकाई नदीको बाढीका कारण पाँच परिवार विस्थापित भएका थिए । विस्थापित भएका पाँच परिवारका २२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराइएको रेडक्रस सोसाइटी झापाका इमेर्जेन्सी अपरेशन सेन्टर (इओसी) का फोकल पर्सन हरिशरण खड्काले जानकारी दिए । खड्काका अनुसार कनकाई बेसिनअन्तर्गत कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका १ हजार ३ सय १० परिवार बाढीको जोखिममा छन् । कनकाई नदीका कारण झापा गाउँपालिकाको वडा नं १, २, ३ र ७ बढी जोखिममा रहेको छ । त्यस्तै, गौरीगञ्ज १ र २ का सात टोल जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ । झापा गाउँपालिका–७ स्थित मदगाछबाट कनकाई नदीको बाढी गाउँ बस्ने सम्भावना धेरै भएकाले हाल त्यहाँ स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतले बाँध निर्माणको काम गरिरहेका छन् । यता भद्रपुर नगरपालिका वडा नं ३ का ३३ वर्षीय हिरण राई मेची नदीमा बेपत्ता भएका छन् । प्रहरीका अनुसार उनी नुहाउन नदीमा पस्दा बगेर बेपत्ता भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजी तथा उद्धारका लागि टोली परिचालन गरे पनि बेपत्ता राई फेला परेका छैनन् । उच्च सतर्कता अपनाउन आग्रह झापा, इलाम, मोरङ र सुनसरीमा अविरल वर्षा भइरहेको जनाउँदै नदीतटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागले आज बिहान ती जिल्लाका मोबाइल फोनमा १११५ नम्बरबाट सन्देश पठाउँदै ती जिल्लाका धेरै स्थानमा भारी वर्षा भएको र थप वर्षा हुनसक्ने भएको हुँदा नदी आसपासमा बाढी आउन सक्ने जानकारी दिएको छ । विभागद्वारा पठाइएको सन्देशमा झापाको कनकाई नदीमा जलसतह सतर्कता नजिक रहेको र खतरा नजिक पुग्न सक्ने चेतावनी दिइएको छ । त्यसैगरी, सुनसरीको बुढीखोला, खेसलिया, लोहन्द्रा र अन्य साना खोलामा जलसतह खतरा तह नजिक पुगेको हुँदा तटीय क्षेत्रमा बाढी आउनसक्ने उक्त सन्देशमा उल्लेख छ । विगत २४ घण्टामा पूर्वी नेपालमा भारी वर्षा भएको छ । झापाको कनकाई नदीमा जलसतह शनिबार दिउँसो नै जोखिमउन्मुख तहमा पुगिसकेको थियो । कनकाई नदीमा तीन दशमलव आठ मिटर जलसतह पुगेपछि सतर्कता अपनाउन समुदायमा मोबाइलबाट सन्देश पठाउने गरिन्छ । घर बनाउने क्रममा लडेर मृत्यु झापा दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो पौने २ बजे दमक–६ स्थित एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको हो । घरको दोस्रो तलामा फिनिसिङको काम गर्ने क्रममा एक्कासी लडेर बेहोस भएका धोनियालाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

नेपाल रेडक्रस र कोका—कोलाको पहिलो चरणको सुरक्षा सामग्री वितरण जारी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका–कोला नेपालको कोभिड–१९ को उपचारमा संलग्न अग्रपंक्तिका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुका लागि सुरक्षा सामग्री वितरण कार्यक्रम जारी रहेको छ । यस प्रोजेक्टको लक्ष्य देशभरका सातवटै प्रदेशका प्रमुख सार्वजनिक अस्पतालका स्वास्थ्यकर्मीहरु तथा अग्रपतिंका स्वयंसेवकका लागि सुरक्षा सामग्री र निस्संक्रामक वस्तुहरु उपलब्ध गराउने रहेको छ । यो साता नेपाल रेडक्रस र कोका—कोला नेपालका प्रतिनिधिहरुको उपस्थीतिमा पहिलो चरणको वितरण कार्यक्रम अन्तर्गत नेपाल चिकित्सक संघ बागबजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवन र कोशी अञ्चल अस्पताल मोरङलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ । यस वितरण कार्यक्रम असार १६ गते बाट शुरु गरिएको थियो । हालसम्म ९ सय ५० थान एन ९५ मास्क, २ सय ६५ थान सुरक्षा बुट, स्यानिटाइजर १ हजार ८ सय बोटल, निर्मलीकरण केमिकल सोडियम हाइपोक्लोराइड ३ सय र १३ हजार १ सय २ थान साबुन वितरण भइसकेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले भने, “कोभिड विरुद्धको लडाईमा सुरक्षा सामग्रीको उपलब्धता अत्यन्तै महत्वपूर्ण काम हो । चिकित्सक र नर्सहरुको लागि यो एउटा प्रेरणा पनि हो ।” कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. चुमनलाल दासले सामग्री हस्तान्तरण लिदैँ भने, “यो महामारीमा सेवाको लागि चाहिने सामग्री प्रदान गरेकोमा रेडक्रस र कोका—कोला नेपालप्रति आभारी छौं । यस संकटमा अझ तीव्र सेवा विस्तार गर्न भेन्टिलेटर सहितको थप सुरक्षा सामग्री छिटै उपलब्ध गराइने कुराले हामी थप उत्साहित भएका छौं ।” कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “स्वास्थ्य संस्थाहरुले कोभिड—१९ विरुद्धको लडाईमा अग्रपंक्तिमा रहेर गरिरहेका सबै काम र शाहसी प्रयास गहन कृतज्ञताका हकदार छन् । हामी यहाँ स्वास्थ्यकर्मीहरुको सहयोगका लागि छौं जबकी उनीहरु हामी सबैको हेरचाह गरिरहेका छन् । नेपाल रेडक्रस सोसाइटीका साथ हामी आशा गर्दछौं कि हाम्रो सहयोगले अग्रपंक्तिका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित राख्न मद्दत गर्नेछ र उनीहरुले यी चुनौतिपूर्ण समयमा आफ्नो मुल्यवान कामलाई जारी राख्न सक्नेछन् ।” प्रदेश ५ को भेरी अञ्चल अस्पताल, कर्णाली प्रदेशको सुर्खेत स्थित मध्यपश्चिम अस्पताल र सुदुरपश्चिमाञ्चल स्थित कैलालीको सेती अस्पतालमा अर्को हप्ता वितरण गरिने योजना बनाइएकाे जानकारी गराउँदै नेरेसोका निर्देशक दिव्यराज पौडेलले नेरेसो कोका—कोलाको साझेदारीबाट उपलब्ध सामग्री प्राप्त गर्ने अस्पताल तथा संस्थाहरुले हार्दिकताका साथ स्वीकार गरेको पाइएको बताएका छन् ।

विजय लघुवित्तका सीईओ बसन्तराज लम्सालको कार्यकाल थपियो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालको कार्यकाल थपिएको छ । असार २७ गते बसेकाे संस्थाको सञ्चालक समितिको बैठकले लम्सालको कार्यकाल आगामी चार वर्षसम्मलाई थप्ने निर्णय गरेको हो । सीईओ लम्सालको पदावधी यही असार मसान्तबाट सकिने भएकाले लघुवित्तले साउन १ गतेदेखि लागू हुने अर्काे कार्यकाल थपेको संस्थाका डेपुटी सीईओ तथा कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिएका हुन् । कार्यकाल थप पश्चात लम्सालले २०८१ साल असार मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस विजय लघुवित्तको नेतृत्व सम्हाल्नेछन् । साथै, हाल उनी नेपाल लघुवित्त बैंकर्स संघमा अध्यक्ष समेत रहेका छन् । यसअघि उनी सोही वित्तीय संस्थामा प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा र बेलायतबाट डेभलपमेन्ट स्टडीज्मा मास्टर डिग्री हासिल गरेका लम्सालले करिव २० वर्ष विभिन्न एनजीओ आइएनजीमा काम गरेका छन् । सेफर वल्डको कन्ट्री डाईरेक्ट भएर काम गरिसकेका लम्सालसँग यूएन लगायत अन्य अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा रहेर पूर्वी यूरोप, अफगानिस्तानसहित विभिन्न देशमा सामाजिक विकासका क्षेत्रमा काम गरेको अनुभव छ । नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेको यो संस्था ७ वर्षअघि सञ्चालनमा आएको हो ।