विकासन्युज

मनसुन सक्रिय हुनेक्रम जारी

काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने भएको छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । “सोमबार बेलुकाबाट उक्त प्रणाली बिस्तारै दक्षिणतिर सर्ने क्रममा रहेको छ” उनले भने । न्यूनचापीय प्रणाली नेपालबाट हटे पनि मनसुनकै समय भएकाले वर्षा भने भइरहने उनले जानकारी दिए । यस वर्षा मनसुनको समयमा औसत वर्षा हुने अनुमान गरिएको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ३.२ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा १९.५, नेपालगञ्जमा ४.६, धनकुटामा ४४.२, विरेन्द्रनगरमा ६०.७, दिपायलमा ११.२ र धनगढीमा २७.२ मिलिमिटर वर्षा भएको छ ।   रासस

नबिल बैंककाे ठाउँमा पुग्न अरुलाई धेरै समय लाग्छः अनिल शाहको विचार

हामी जहिले पनि नयाँ र नर्मल कुरा गर्छौं । विश्वमा कोरोना भाइरसको महामारी नभएको भए आज हामी एउटा सानो हलमा हुन्थ्यौं होला । तर, कोरोनाको कारण हामी भच्र्युअल मिटिङमा छौं । आज नबिल बैंकले ३६ वर्ष पुरा गरेको छ । सन् १९८४ मा स्थापना भएको नबिल बैंकले यो ३६ वर्षे यात्रामा धेरै प्रगति गरिसकेको छ । नबिल बैंकले गर्व गर्न लायक धेरै काम गरेको छ । हामीले यो लकडाउनको समयमा पनि धेरै गृहकार्य गर्यौं । हाम्रो अबको योजना र उद्धेश्य भनेको वित्तीय क्षेत्र र डिजिटल बैंकिङमा छलाङ मार्नु हो । डिजिटलमा हामीले छलाङ मार्यौं भने नबिल बैंकलाई कसैले छुन सक्दैन । लकडाउनकै समयमा पनि हामीले धेरै काम गर्यौं । इलेक्ट्रोनिक सिग्नेचरको प्रडक्ट पनि लिएर आयौं । टिममा गृहकार्य गरेर जेन एन एकाउन्ट पनि ल्यायौं । हामीले लकडाउनको समयमा जुनसुकै काम पनि डिजिटल प्रविधिबाट नै गर्ने प्रयास गर्यौं । अब हामीले बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो सोच्नु पर्छ । नबिल बैंकले १२ वर्ष अगाडि अनलाइन एकाउन्ट सुरु गरेको थियो । अब हाम्रो एउटा रणनीति लिएर डिजिटल माध्यमबाट काम गर्न अगाडि बढेका छौं । यसले हाम्रो इफिसियन्सी र प्रडक्टीभिटी बढाओस् भन्ने हो । डिजिटल प्रविधि आजको बजारकोे माग के हो । त्यस अनुसारको योजना बनाएर हामी अगाडि बढाएका छौं । नबिल बैंक विभिन्न योजना तथा कार्यक्रमहरु ल्याउनेमा जहिले अगाडि नै छ । हामीले विभिन्न डिजिटल प्रविधिसँग काम गर्ने संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । अझै आगामी दिनहरुमा डिजिटल प्रविधिमै छलाङ मारेर अगाडि बढ्न चाहन्छौं । हामीले यही समयमा एउटा नयाँ पार्टनर पनि खोजेका छौं । संसारमा सबैभन्दा राम्रो के छ त्यसलाई नेपालमा कसरी ल्याउने भन्ने हाम्रो योजना र चाहना थियो । त्यही चाहना र आवश्यकतालाई मध्येनजर गर्दै हामीले हुवावेसँग समन्वय गर्यौं । अहिले नयाँ पुस्तालाई पनि नबिल बैंकमा संलग्न गराउन र प्रविधिमा फड्को मार्न नबिल बैंक भित्रकै एक नबिल डिजि बैंक सुभारम्भ गरेका छौं । ग्राहकको चाहनालाई कसरी पुरा गर्ने भन्ने तर्फ हाम्रो ध्यान गएको छ । आज भन्दा हाम्रो शुभ दिन अन्य कुन होला ? हामी वित्तीय क्षेत्रमा लिडरको भूमीका खेलेका छौं । हामी डिजिटल बैंकिङलाई अझ सबै नागरिकको पहुँचमा पुर्याउन चाहन्छौं । नबिल बैंकसँग धेरै अनुभवी टीम छ । परिपक्क र अनुभवी मात्र होइन नयाँ युवा पुस्ताको जोस जाँगर पनि हामीसँग छ । यी दुवै समुहको समन्वयले नबिल बैंक केही फरक र पृथक काम गर्न चाहन्छ । अरुलाई हाम्रो ठाउँमा पुग्न धेरै समय लाग्छ । अहिले नयाँ नर्मलमा चुनौती र अवसर पनि हुन्छ । यसैलाई सहकार्य र समन्वयको भूमीकाबाट डिजी बैंकलाई प्राथमिकता दिएका छौं । बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजी बैंकमा जानेछ । नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेका छौं । हामीले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छौं । यसका लागि हामीले ७२ जना कर्मचारी पनि छुट्याइसकेका छाैं । यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने छन् । अब हामी नयाँ टेक्नोलोजीको प्रयोग गरेर हाम्रा ग्राहकलाई सेवा प्रदान गर्नेछौं । नबिल बैंक अहिलेको अवस्थामा पुग्न ३६ बर्ष लाग्यो । अब ६ बर्षमा नै हाम्रो डीजी बैंक निक्कै ठूलो हुने हामीले आशा र अपेक्षा लिएका छौं । अहिले पनि हामी नेपाली बैकिङ क्षेत्रमा पायोनियर लिडर बैंकको रुपमा परिचित छौं । (नबिल बैंकका सीईओ शाहले बैंककाे ३६‌‌‍औं वार्षिकाेत्सव कार्यक्रममा रोखेको विचार)

मर्जर र एक्विजिनमा लाभांश कर छुटः राज्य हिस्स, बैंकका सेयरधनीले करोडौं कमाए

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएका बैंक वित्तीय संस्थाको संख्या घटाउनको लागि सरकारले ठूलो परिमाणको राजस्व गुमाउनु परेको छ । मर्जर तथा एक्विजिसनमा जाने बैंक वित्तीय संस्था तथा त्यसका सेयरधनीलाई सरकारले दिएको कर छुटसहितका सुविधाको कारण ठूलो परिमाणमा राजस्व गुमाउनु परेको हो । सरकारले बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको कारण घटाउन भन्दै मर्जर र एक्वीजीसन कानुनी व्यवस्था गरेर मर्जर र अक्वायरमा जाने बैंक वित्तीय संस्थालाई २ वर्षसम्म डिभिडेन्ड कर नलाग्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाको कारण मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले लाभांश कर तिर्नु नपर्ने भएको हो । गाभ्ने/गाभिने कार्यलाई प्रोत्साहन गर्न आयकर ऐन, २०५८ मा आर्थिक अध्यादेश २०६७ मार्फत दफा ४७(क) थप गरी विभिन्न छुटहरु दिइएको थियो । यस अनुसार ‘गाभ्ने संस्थाले गाभिने संस्थाको कट्टी हुन नसकेको नोक्सानीलाई आगामी सात बर्षसम्म दामासाहीले कट्टा गर्न, गाभ्ने/गाभिने संस्थामा कार्यरत कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ठ भुक्तानीमा लाग्ने करको दरमा पचास प्रतिशत छुट पाउने, गाभ्ने/गाभिने संस्थामा गाभ्नु/गाभिनु अघि कायम रहेका शेयरधनीहरुले गाभिएको दुई बर्षभित्र शेयर बिक्रीबाट आर्जन हुने लाभमा पूँजीगत लाभकर नलाग्ने, गाभ्ने/गाभिने संस्थाले गाभ्ने/गाभिने अघि कायम रहेका शेयरधनीहरुलाई वितरण गर्ने लाभांशमा दुई बर्षसम्म कर नलाग्ने व्यवस्थाहरु रहेको छ । यस्तो सुविधा उपभोग गर्नको लागि गाभ्नरगाभिन चाहने संस्थाले २०७५ असार मसान्तभित्र गाभिने आशयपत्र आन्तरिक राजश्व विभागमा पेश गर्नुपर्ने र २०७६ असार मसान्तभित्र गाभिने प्रक्रिया पूरा गर्नु पर्ने’ व्यवस्था आर्थिक ऐन, २०७३ मा उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै लाइसेन्स दिएका बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र एक्विजिसनलाई प्रोत्साहन गर्ने राज्यको नीतिका कारण यसरी कर गुमेको हो । बैंक वित्तीय संस्थाले प्रदान गरेको लाभांशमा कति रकम लाभांश कर गुम्यो भनेर हिसाव गर्न सकिए पनि मर्जर र एक्विजिसनमा जाने बैंक वित्तीय संस्थाका सेयरधनीले २ वर्षसम्म सेयर बिक्री गर्दा पुँजीगत लाभकर तिर्नु पर्ने अर्को व्यवस्थाको कारण राज्यले गुमाएको कर रकम हिसाव हुनै सकेको छैन । आयकर ऐनमा दिइएको सुविधा प्रयोग गरी केही बैंकहरुले भने प्रत्येक २/२ वर्षमा साना साना संस्था खोजेर मर्जरमा जाने वा अक्वायर गर्ने गरेको पनि पाइएको छ । सिभिल बैंकले २०७१ जेठमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक्वायर गर्यो । आर्थिक वर्ष २०७१÷७२ मा सिभिल बैंकको चुत्ता पुँजी ३ अर्ब रुपैयाँको हाराहारीमा थियो भने उसले ७ प्रतिशत लाभांश दिएको थियो । अर्थात लाभांश वापत सो आर्थिक वर्षमा सिभिलले २१ करोड रुपैयाँ बाढ्यो । आर्थिक वर्ष २०७२/७२ मा सिभिलले ३ प्रतिशत लाभांश बाढ्यो । सो आर्थिक वर्षमा बैंकले सेयरधनीलाई ९ करोड रुपैयाँभन्दा बढी लाभांश दियो । आयकर ऐन २०५८ (संशोधनसहित) को व्यवस्था अनुसार सेयरधनीले लाभांश कर ५ प्रतिशत तिर्नुपर्छ । तर, मर्जर र अक्वायरमा गएका बैंक वित्तीय संस्थाले २ वर्षसम्म लाभांश कर तिर्नु नपर्ने व्यवस्था आर्थिक अध्यादेश २०६७ मार्फत गरियो । सो व्यवस्था कायम रहेको कारण आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ मा गरी १ करोड ५० लाख रुपैयाँभन्दा बढी लाभांश कर तिर्नु परेन । ग्लोबल आइएमई बैंकले २०६९ सालमा आइएमई फाइनान्स कम्पनी र ग्लोबल बैंक मर्ज भए । ग्लोबल बैंक र आइएमई फाइनान्स कम्पनीबीच मर्जरका कारण दुई आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकका सेयरधनीले लाभांश कर तिर्नु परेन । सोही कारण यो बैंकका सेयरधनीले पहिलो वर्ष ६ करोड ९० लाख र दोस्रो वर्ष ५ करोड ६० लाख रुपैयाँ लाभांश कर छुट पाए । एनआइसी बैंक र बैंक अफ एसियाबीच २०७० सालमा मर्जर भयो । मजर्रपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७७ करोड रुपैयाँ नाघ्यो । मर्ज भएपछि बनेको एनआइसी एसिया बैंकले आर्थिक वर्ष २०७१/७२ मा ४१ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २७ प्रतिशत लाभांश दियो । यी दुबैं आर्थिक वर्षमा एनआइसी एसिया बैंकका सेयरधनीले क्रमशः ११ करोड ६५ लाख र ७ करोड ६५ लाख रुपैयाँ लाभांश कर छुट पाए । माछापुच्छ्रे बैंक र स्ट्याण्डर्ड फाइनान्सबीच २०६९ सालमा मर्जर भयो । मर्जरकै कारण सो आर्थिक वर्षमा माछापुच्छ्रे बैंकका सेयरधनीले २ करोड ९० लाख रुपैयाँभन्दा बढी लाभांश कर छुट पाए । सिटिजन्स बैंक इन्टरनेसनलले २०७१ चैतमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स अक्वायर गर्यो । सोही अक्वायरका कारण सो बैंकका सेयरधनीले २ वर्षसम्म क्रमशः ३ करोड २५ लाख र ३ करोड ४५ लाख रुपैयाँ जोगियो । सिद्धार्थ बैंकले २०७३ जेठमा विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्जर गर्यो । मर्जरमा गएका बैंक वित्तीय संस्थाले लाभांश तिर्नु नपर्ने नीतिगत व्यवस्थाका सिद्धार्थका सेयरधनीले पहिलो वर्ष ४ करोड ६३ लाख र दोस्रो वर्ष ५ करोड रुपैयाँभन्दा बढी कर छुट पाए । २०७३ असारमा बैंक अफ काठमाडू र लुम्बिनी बैंकबीच मर्जर भयो । मर्जरकै कारण लाभांश वितरण गर्दा दुई वर्ष सेयरधनीले लाभांश कर तिर्नु परेन । तिर्नु पर्ने हुन्थ्यो भने आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ६५ लाख र दोस्रो वर्ष ८ करोड ७५ लाख रुपैयाँ लाभांश कर तिर्नुपथ्र्याे । २०७४ असारमा कुमारी बैंकले काष्ठमण्डप, काक्रेविहार र महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी अक्वायर गर्यो । सोही अक्वायरका कारण कुमारी बैंकका सेयरधनीले आर्थिक वर्ष २०७४/७५ मा ३ करोड र आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ५५ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ पुसमा लक्ष्मी बैंकले प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक अक्यायर गर्यो । सोही अक्वायरका कारण लक्ष्मी बैंकका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ९३ लाख र आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ६९ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ पुसमा सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण सानिमाका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड ५१ लाख र आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ६० लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७५ वैशाखमा मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण मेगाका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ मा ४ करोड ७ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ माघमा सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट अक्वायर गर्यो । सोही अक्वायरका कारण सनराइजका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ५ करोड २५ लाख र त्यसपछिको आर्थिक वर्षमा ४ करोड ६८ लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७३ चैतमा प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण प्राइमका सेयरधनीले आर्थिक वर्ष २०७३/७४ मा ८ करोड ५३ लाख र त्यसपछिको आर्थिक वर्षमा ६ करोड ४० लाख रुपैयाँ लाभांश कर छुट पाए । २०७४ जेठमा सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण सेन्चुरीका सेयरधनीले २०७४/७५ मा २ करोड ६० लाख रुपैयाँ कर छुट पाए । २०७४ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक अक्वायर गर्यो । सोही अक्वायरका कारण आर्थिक वर्ष २०७४÷७५ मा इन्भेष्टमेन्ट बैंकका सेयरधनीले २१ करोड २८ लाख र आर्थिक वर्ष २०७५/७६ मा १२ करोड २१ लाख रुपैयाँ लाभांश कर छुट पाए । कुन बैंकले कहिले कुनसँग गरे मर्जर अक्वीजीसन ? सिभिल बैंक –सिभिल बैंकले २०७१ जेठमा एक्सिस डेभलपमेन्ट बैंक र सिभिल मर्चेन्ट वित्तीय संस्था एक्वायर गर्यो । –२०७३ असोजमा सिभिल बैंकले इन्टरनेसनल लिजिङ एण्ड फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७४ जेठमा सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७४ असारमा सिभिल बैंकले युनिक फाइनान्स अक्वायर गर्यो । ग्लोबल –२०७० चैतमा ग्लोबल आइएमई बैंकले कमर्ज एण्ड ट्रष्ट बैंक अक्वायर गर्यो । –२०६९ असारमा ग्लोबल बैंक र आइएमइ फाइनान्स कम्पनीबीच मर्जर भएर ग्लोबल आइएमई बैंक बन्यो । –२०७० असारमा ग्लोबल आइएमइ बैंकले सोसल र गुल्मी विकास बैंसँग मर्जर गर्यो । –२०७३ फागनमा ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक अक्यायर गर्यो । –२०७४ असारमा ग्लोबल आइएमइ बैंकले रिलायबल डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७६ भदौमा ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७६ पुसमा गते ग्लोबल आइएमइ बैंक र जनता बैंकबीच मर्जर भयो । एनआइसी एसिया –२०७० बैशाखमा एनआईसी बैंक र बैंकअफ एसिया मर्जर भएर एनआइसी एसिया बैंक बन्यो । माछापुच्छ्रे –२०६९ साउनमा माछापुच्छ्रे बैंक र तत्कालिन स्ट्याण्र्ड फाइनान्सबीच मर्जर भयो । सिटिजन्स –२०७१ चैतमा सिटिजन्स बैंक इन्टरनेसनलले तत्कालिन नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स र पिपुल्स फाइनान्स अक्वायर गर्यो । –२०७३ असारमा सिटिजन्स बैंक इन्टरनेसनलले प्रिमियर फाइनान्स कम्पनी अक्वायर गर्यो । –२०७७ असारमा सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंक अक्वायर गर्यो । सिद्धार्थ –२०७३ जेठमा सिद्धार्थ बैंकले विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकसँग मर्जर गर्यो । विओके –२०७३ असारमा बैंक अफ काठमाडू र लुम्बिनी बैंकबीच मर्जर भयो । कुमारी –२०७४ असारमा कुमारी बैंकले काष्ठमण्डप, काक्रेविहार र महाकाली विकास बैंक तथा पश्चिमाञ्चल फाइनान्स कम्पनी अक्वायर गर्यो । एनसीसी –२०७३ मंसिरमा एनसीसी बैंकसँग इन्फ्रास्टक्चर डेभलपमेन्ट, एपेक्स, सुप्रिम र इन्टरनेसनल डेभलपमेन्ट बैंकबीच मर्जर भयो । लक्ष्मी –२०७३ पुसमा लक्ष्मी बैंकले प्रोफेसनल दियालो डेभलपमेन्ट बैंक अक्यायर गर्यो । सानिमा –२०७३ पुसमा सानिमा बैंकले बागमती डेभलपमेन्ट बैंक अक्वायर गर्यो । मेगा –२०७५ वैशाखमा मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७७ असारमा मेगा बैंकले गण्डकी विकास बैंक अक्वायर गर्ने निर्णय गर्यो । सनराइज –२०७३ माघमा सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट अक्यायर गर्यो । प्राइम –२०७३ चैतमा प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७६ भदौमा गते प्राइम कमर्शियल बैंकले कन्काइ विकास बैंक अक्वायर गर्यो । –२०७६ फागुनमा प्राइम कमर्शियल बैंकले कैलास विकास बैंक अक्वायर गर्यो । सेन्चुरी –२०७४ जेठमा सेन्चुरी कमर्शियल बैंकले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७४ असारमा सेन्चुरी कमर्शियल बैंकले सगरमाथा फाइनान्स अक्वायर गर्यो । –२०७४ मंसिर सेन्चुरी कमर्शियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स अक्वायर गर्यो । इन्भेष्टमेन्ट –२०७४ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक अक्वायर गर्यो । –२०७६ असारमा नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्स अक्वायर गर्यो । एनएमबी –२०७६ असोजमा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर भयो ।

डिशहोम योजनाका २ जना भाग्यशाली विजेताले पाए एक एक लाख रुपैयाँ

काठमाडाैं । “डिशहोममा डिलर दाईको डिस्काउन्ट” योजना अन्र्तगत लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार १९ गते देखि असार २५ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरी विजेता छनोट गरेको हो । यो योजनाअन्तर्गत असार २६ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआईडी नम्बर ७१९१३०९४८७७, ७१९१४०८१९१५ बिजेता बन्न सफल भएका छन् । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, शोकेस २ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । डिशहोमले संचालन गरेको डिलर दाईको डिस्काउन्ट अफरलाई निरन्तरता दिने भएको छ । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ । ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराईने भएको छ ।

गुगल सटिफाईड एन्ड्रोईड टिभी अब सिजी ब्राण्डमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले हालै नेपाली बजारमा एन्ड्रोईड टिभी भित्राएको छ । नेपालकै पहिलो पटक गुगलबाट मान्यता पाएको एन्ड्रोईड टिभीलाई सि.जीले आफ्नो नेपाली ब्राण्डमा ल्याएको हो । गुगल एन्ड्रोइड टिभी स्मार्ट टेलिभिजनका लागि गुगलद्वारा बनाईएको एक विशेष संस्करणको एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने स्मार्ट टेलिभिजन हो । गुगल एन्ड्रोइड टिभीको सफ्टवेयर र प्रोग्रामहरु अपडेट गर्ने देखी सम्पूर्ण सफ्टवेयरको समस्याहरुको समाधान गुगलले नै गर्ने गर्दछ । यो टिभी. सिजीले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर बनाईएको हो । अब तपाईहरुले यो टिभी. आफ्नो बजेट अनुरुप विभिन्न साईजहरुमा किन्न सकिन्छ । यो टिभी. ३२ इन्च देखि ७५ इन्च सम्ममा उपलब्ध छ । यो टिभीसँगै एउटा भ्वाइस कन्ट्रोल रिमोट पनि उपलब्ध गराएको छ । यो रिमोटको सहायताले हामी बोलेरै लेख्न, आवाज कम वा बढी गर्न, टिभी. बन्द गर्न आदि जस्ता थुप्रै काम गर्न सकिन्छ । यसको प्रमुख विशेषताहरुमा गुगल असिस्टेन्ट रहेको छ । जसको मद्दतले तपाईले बोलेर टिभीलाई नियन्त्रण गर्ने, इन्टरनेटमा जानकारी खोजी गर्ने, मौसमको पूर्वानुमान थाहा पाउने, आफ्नो नजिकै रहेको रेस्टुरेन्ट, सिनेमा हल, पेट्रोल स्टेशन, बाइक मर्मत केन्द्र पत्ता लगाउने, नयाँ ठाउँ को बाटो पत्ता लगाउने आदि इत्यादी गर्न सकिन्छ । त्यस्तै अर्को प्रमुख विशेषतामा क्रोमकास्ट रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा रहेको क्रोम कास्टको प्रयोगले तपाईंले आफ्नो मोबाइलबाट मनपर्ने भिडियोहरू, गेमहरू टिभी स्क्रिनमा हाई क्वालिटीमा हेर्न सकिनेछ। त्यसैगरि गुगल प्लेस्टोरको माध्यबाट तपाईले नयाँ नयाँएप र गेम रोजी रोजी डाउनलोड गरि प्रयोग गर्न सकिने छ । गुगल प्ले मुभिज र टिभी, गुगल प्ले गेमस् जस्ता थुप्रै विशेषताहरु यस टिभीमा रहेको छ । यस गुगल एन्ड्रोइड टिभीमा २ जीबी र्याम र १६ जीबी रोमको प्रयोग गरिएको छ । त्यसैगरि अर्को डल्बी डिजिटल साउण्डको प्रयोग गरिएको छ । जुन डल्बी ल्याब्सद्वारा बनाइएको मल्टी च्यानल अडियो कोडेक हो जसले सिनेम्याटिक सराउण्ड साउण्डको अनुभव प्रदान गर्दछ ।

अब नबिल बैंकका ग्राहकको हरेक काम घरबाटै, सुरु भयो ‘नबिल डिजी बैंक’

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो ३६औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा नबिल डिजि बैंकको सुभारम्भ गरेको छ । वर्तमान डिजिटल प्रविधिको माग र ग्राहकलाई डिजिटल प्रविधिमा संलग्न गराउने उद्धेश्यका साथ नबिल डिजिटल बैंक योजना सुभारम्भ गरेको हो । बैंकले आफुलाई पुर्ण रुपमा डिजिटल रुपमा सञ्चालन गर्न र ग्राहकमा डिजिटल माध्यमबाट नै वित्तीय साक्षरता बढाउने उद्धेश्यका साथ साे योजना सुभारम्भ गरेको बताएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आइतबार वेबिनार कार्यक्रम मार्फत उक्त सेवाको सुभारम्भ गरेका हुन् । उनले बजारको मागलाई मध्येनजर गर्दै नबिल बैंकले नबिल डिजी बै‌ंङ्ककाे योजना ल्याएको बताए । ‘डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छु,  बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो त्यसलाई आधार मानेर हामी अगाडि बढिरहेका छौं, उनले भने । ‘बैंकले १२ बर्षअघि नै अनलाइनबाट खाता खोल्ने सेवा सुरु गरेपनि त्यसलाई निरन्तरता र धेरै प्राथमिकता थिएन, अब भने हाम्रो सबै ध्यान डिजिी बैंकमा जानेछ, उनले भने । बैंकको पहुँचमा नभएका तथा बैंकभन्दा टाढा रहेका ग्राहलाई मध्येनजर गर्दै र बैंकको लागत घटाएर त्यसको फाइदा ग्राहकलाई दिने मुख्य उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको डिजि बैंकका प्रमुख विनय रेग्ग्मीले बताए । ग्राहकले बैंकमा गर्ने हरेक कारोबार र सेवाहरु डिजिटल माध्यमाटै गर्ने उद्धेश्यले डिजी बैंकको सुरुवात गरेको उनको भनाई छ । संसारमा बैंकिङ सम्बन्धि पाइने प्रविधि ल्याएर सो सेवाहरु ग्राहकलाई दिने बै‌ंककाे याेजना छ । रेग्मीले ग्राहकले पाउने डेबिट क्रेडिट कार्ड पनि डिजिटलको माध्यमबाटै पाउने बताए । उनले ग्राहकमा डिजिटल सम्बन्धि सचेतना दिने खालका कार्यक्रम पनि गर्दै जाने योजना रहको बताए । नयाँ पुस्तालाई डिजि बैंकका संलग्न गराउने उद्धेश्यले डिजी बैंकको सुभारम्भ गरेको उनले बताए । बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ । बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने बैंकले जनाएको छ । अहिले पनि डिजिटल माध्यमबाट ग्राहकको काम भइरहेको भएपनि अब द्रुत र उच्च प्राथमिकताका साथ डिजी बैंकमार्फत काम हुने बैंकले बताएको छ ।

सिसुवामा बगे ७ घरः ११ बेपत्ता

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको छ । गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए । पहिराका कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरामा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् । पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ । घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ ।  रासस

बबई नदीको बाढीमा बगेर दुई बेपत्ता

बर्दिया । बर्दिया जिल्लामा बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएका छन् । बबई नदीमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उनकी श्रीमती २६ वर्षीया राजकुमारी बेपत्ता भएको बर्दिया प्रहरीले जनाएको छ । बबई नदी किनारमा रहेको दाउरा सङ्कलन गरेर फर्कने क्रममा बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट नजिक शनिबार उनीहरु बगेर बेपत्ता भएका हुन् । ती दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । बबई नदीमा बगेर बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।   रासस