विकासन्युज

प्युठान जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा शुरु

स्वर्गद्वारी । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्युठान जिल्ला अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री बरालले अस्पतालमा फिजियोथेरापी सेवाको आज उद्घाटन कार्यक्रममा अस्पतालबाट प्रदान गरिने सेवासुविधा विस्तारै वृद्धि हुँदै गइरहेको जनाउँदै भौतिक पूर्वाधार सुधारका साथै दरबन्दीअनुसारको दक्ष जनशक्ति व्यवस्थापनका लागि आफले प्रदेश र केन्द्रस्तरसम्म पहल गर्ने आश्वासन दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले २०४५ सालमा स्थापित अस्पतालले पछिल्लो समय आफ्ना सेवासुविधा बढाउँदै लगेकोे जानकारी दिँदै धेरैजसो नसा तथा हाडजोर्नीका समस्या लिएर टाढा टाढाबाट बिरामी आउने तर सेवा दिन नसकेर अन्यत्र अस्पतालमा रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न फिजियोथेरापी सेवा शुरु गरिएको बताए । अस्पतालले आफूले प्रदान गर्दै आइरहेको सेवासुविधा र विविध जानकारीको अभिलेख राख्ने उद्देश्यले वेबसाइटसमेत सञ्चालन गरेको छ ।

एक हजार नयाँ पेट्रोलपम्पको आवेदन रद्द

काठमाडाैं । नेपाल आयल निगमले मापदण्डविपरीत आवेदन परेपछि एक हजार बढी नयाँ पेट्रोलपम्प (बिक्रेता)को आवेदन रद्द गरेको छ । नयाँ बिक्रेताका लागि परेका निवेदन एकै स्थान विशेषमा नै एकीकृत हुने गरी आएकाले एक हजार २५ आवेदन रद्द गरिएको निगमले जनाएको छ । जनसङ्ख्या, भूगोल, सवारी साधनको सङ्ख्या एवं सड़क घनत्वका आधारमा आवेदन नपरेको निगमले जनाएको छ । नयाँ बिक्रेताका लागि प्राप्त धेरैजसो निवेदन हाल पेट्रोल पम्प भई रहेकै ठाउँमा परेकाले यथास्थितिमा नयाँ बिक्रेता नियुक्त गर्दा उपयुक्त नदेखिएको बताइएको छ । यही असार १६ गते बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ बिक्रेताका लागि प्राप्त आवेदन रद्द गर्ने निर्णय गरेको हो । निगमले नयाँ बिक्रेता नियुक्तिका लागि २०७६ वैशाख १७ गते र २०७६ भदौ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा मुलुकभरबाट एक हजार २५ आवेदन प्राप्त भएका निगमले जनाएको छ । निगमले आवेदन रद्द भएकाले सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क फिर्ता लैजान अनुरोध गरेको छ । निगमले आगामी दिनमा साधारण बिक्रेता नियुक्ति प्रक्रियालाई समयसापेक्ष तथा थप व्यवस्थित बनाउने पनि जनाएको छ । जिल्लागत, स्थलगत, स्थानीय तहगत र राजमार्गगतरुपमा निगमलाई आवश्यक थप बिक्रेताको सङ्ख्या यकिन गरिने निगमको भनाइ छ । नयाँ बिक्रेता नियुक्तिका लागि निवेदन माग गर्दा सम्भावित बिक्रेताको लागत लाभसमेतको व्यावसायिक योजना माग गरी बिक्रेता नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ ।

नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकसहित १२ पक्राउ

काठमाडाैं । कानूनमा मिर्गाैला प्रत्यारोपणका लागि आफ्नै नातेदार चाहिन्छ । अन्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गरेमा मानव बेचबिखनअन्तर्गत मुद्दा चल्छ । उक्त मुद्दा आकर्षित हुने गरी ललितपुरका एक व्यक्तिको मिर्गाैला प्रत्यारोपण गरेको पाइएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नक्कली भाञ्जा बनाएर ती व्यक्तिले नाता नपर्ने अर्कैको मिर्गौला प्रत्यारोपण गरेको पाइएको हो । उक्त घटनामा अस्पतालका चिकित्सक, ललितपुर र चितवनका प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको समेत संलग्नता रहेको देखिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । ललितपुरका ती बिरामीको चितवनस्थित कलेज अफ मेडिलक साइन्सेज शिक्षण अस्पताल भरतपुर (पुरानो मेडिकल कलेज) मा विसं २०७६ साल जेठ २७ गते मिर्गाैला प्रत्यारोपण गरिएको थियो । सो घटनाका विषयमा त्यही साल असोज २ गते चिठीमार्फत आएको बेनामे उजुरीका आधारमा ब्युरोले अनुसन्धान थालेको थियो । शुरुमा उजुरी दिने व्यक्ति सम्पर्कमा नआउँदा उसलाई लुकाएर भारत पु¥याएको छ कि भन्ने कोणबाटसमेत प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानकै चरणमा उनी प्रहरीको सम्पर्कमा आए । त्यसपछि लगातार छ महिना लगाएर प्रहरीले अनुसन्धान गर्दा कैफियत भएको निष्कर्ष निकालेको एक प्रहरी अधिकृतले बताए । केही हप्ताअघि किटानी जाहेरी नै परेपछि ब्युरोले अनुसन्धानको घेरा फराकिलो पारेको हो । प्रहरी स्रोतका अनुसार जाहेरवालाले आफूलाई प्रलोभनमा पारेर ललाइफकाइ गरी मिर्गौला झिकेको आरोप लगाएका छन् । शुरुमा आठ जनाविरुद्ध जाहेरी परे पनि सोधपुछका क्रममा अन्य व्यक्तिको समेत नाम खुलेपछि १२ जनाविरुद्ध अनुसन्धान थालिएको छ । “अनुसन्धानमा नक्कली कागजात बनाएर विदेशमा भएको व्यक्तिको कागजातमा कीर्ते गरी मिर्गौला प्रत्यारोपण गरेको पाइयो”, प्रहरी उपरीक्षक थपलियाले भने, “प्रारम्भिक अनुसन्धानमा योजनाबद्धरुपमा काम गरेको पाइएको छ, अन्य अनुसन्धानपछि खुल्दै जान्छ ।” प्रहरीका अनुसार उनका वास्तविक भाञ्जा भने हाल विदेशमा रहेको पत्ता लागेको छ । उनको नागरिकतालगायत कागजातमा भाञ्जा बनाएर ओखलढुङ्गाका २७ वर्षीय एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको छ । भाञ्जाको कागजातमा उनको फोटो टाँसेर कीर्ते गरिएको पाइएको पाइएको छ । ललितपुर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले नक्कली कागजातमा नाता प्रमाणित गरिदिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका कर्मचारीले नक्कली कागजातमा नागरिकता रुजु गरेका थिए । चितवनमा मिर्गौला प्रत्यारोपणको अनुमति दिने समितिमा सहभागी रहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकृत, अस्पतालका कानूनी सल्लाहकार, अस्पतालका चिकित्सकलगायत समेत उक्त घटनामा मुछिएका छन् । यस्तै विचौलीयाका रुपमा काम गर्ने निलम्वित प्रहरी र बहालवाला प्रहरीसमेत घटनामा जोडिएका छन् । लामो अनुसन्धानपछि १२ जनालाई पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक थपलियाले तलदेखि माथिसम्मै सेटिङमा काम गरेको देखिएको उल्लेख गर्दै घटनाको अझै सुक्ष्मरुपमा अनुसन्धान चलिरहेको बताए । आर्थिक प्रलोभनमा परेर ती व्यक्तिले मिर्गौला दिएको पाइए पनि केकति लेनदेख थियो भन्ने कुरा भने अनुसन्धानका क्रममा रहेको ब्युरोले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रहरीका अनुसार लिनेदिने व्यक्तिलाई सम्पर्कमा ल्याउने, सेटिङ मिलाउने, सरकारी लिखत मिलाउने, त्यस लिखतलाई सही छ भनेर प्रमाणित गरिदिने र सबै ठीक छ भनेर शल्यक्रियामा सहभागी हुने व्यक्तिलाई अनुसन्धानको दायरामा राखेर कतिपयलाई पक्राउ गरिएको र कतिपय खोजीकै चरणमा रहेका छन् । ब्युरोको टोलीले शनिबार चितवनबाट चार जनालाई पक्राउ गरी ल्याएको हो भने अन्यलाई उपत्यकाबाट पक्राउ गरिएको हो । लागि १२ जना पक्राउ ब्युरोले उक्त घटनाको अनुसन्धानका लागि १२ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, गैँडाकोट घर भई कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका कानूनी सल्लाहकार रमेश काफ्ले, विराटनगर घर भई हाल सोही अस्पतालका प्रमुख सञ्चालक अधिकृत डा सुप्रभात श्रेष्ठ, गोरखा पालुङटार घर भई सोही अस्पतालमा कार्यरत डा बालकृष्ण कालाखेती, काठमाडौँ बानेश्वर बस्ने नोबेल अस्पतालका डा राकेशकुमार वर्षा, भक्तपुरका जमुनाराज भण्डारी रहेका छन् । यस्तै गुल्मी घर भई टोखामा अस्थायीरुपमा बस्दै आएका प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल, झापा घर भई काठमाडौँ टोखा बस्ने निलम्वित प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलियालाई समेत विचौलिया गरेको आरोपमा पक्राउ परेका छन् । अन्य पक्राउपर्नेमा भोजपुर घर भई भक्तपुर जगाति बस्ने रेश्मा राई, ललितपुर– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय ललितपुरका तत्कालीन खरिदार नवराज केसी र कार्यालय सहयोगी रामकुमार केसी रहेको ब्युरोले जनाएको छ । उनीहरु विरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गतको कसुरमा आज जिल्ला अदालत ललितपुरबाट छ दिनको म्याद थप गरी ब्युरोले अनुसन्धान थालेको छ । ऐनको परिच्छेद ४ को दण्डसजायअन्तर्गत उपदफा १ (ग) मा प्रचलित कानूनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

गोकर्णेश्वर नगरपालिकाकाे एक टोल सिल

काठमाडौं । कोरोना भाइसरको सङ्क्रमणबाट निधन भएका गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको घर रहेको टोल सिल गरिएको छ । मृतकको घर गल्ली सिल गरी उहाँको सम्पर्कमा आएका १३ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिकृष्ण उपाध्यायले राससलाई जानकारी दिए । ५४ वर्षीय पुरुषको निधन भइसकेपछि गरिएको परीक्षणमा कोरोना रहेको पुष्टि भएको हो । मधुमेह, उच्च रक्तचापलगायत रोगबाट पीडित भई उपचारका क्रममा निधन भएपछि पिसिआर परीक्षण गरिएको हो । कोरोनाबाट नगरपालिकामा निधन भएको यो पहिलो घटना भएको जनाइएको छ । नगरपालिकाको वडा नं ५ मा पनि विदेशबाट फर्किएका एक जनामा कोरोना देखिएपछि हाल उपचार भइरहेको नगरपालिकाले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मूलपानीस्थित सिर्जनाटोलका अर्का एक जनामा पनि कोरोना पुष्टि भएको नगर अस्पताल मूलपानीका प्रमुख डा विप्लब अधिकारीले सुनाए । मूलपानीका सङ्क्रमित पनि विदेशबाट फर्किएको जनाइएको छ । मूलपानी र जोरपाटीका मानिसमा कोरोना पोजेटिभको जानकारी पाएपछि यस क्षेत्रमा असार पहिलो सातादेखि बढेको चहलपहलमा कमी आएको छ । यसअघि नेपाल मेडिकल कलेज अत्तरखेलमा भर्ना भएका दुई जनामा असार १५ गते कोरोना पोजेटिभ भेटिएको थियो । पोजेटिभ भेटिएका गोकर्णेश्वर– ७ शिवचोककी १९ वर्षीया महिला र शङ्खरापुर नगरपालिका– ४ फेदीकी ३९ वर्षीय महिलाको भने ट्राभल हिस्ट्री नभएको गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले बताए । नगरपालिकाकै वडा नं ६ तामाङ गुम्बा नजिकैका एक महिलामा पनि न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा पिसिआर परीक्षण गर्दा पोजेटिभ भेटिएको शाखाले जनाएको छ । नगर क्षेत्रका सबै सङ्क्रमितलाई हाल विभिन्न अस्पतालको आइसोलेशनमा राखी उपचार भइरहेको छ । सङ्क्रमितको नजिकको परिवारका ११ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला टेकुमा पठाइएको छ । स्वाब सङ्कलन गरिएका सबैलाई नगरपालिकाका विभिन्न क्वारेन्टिनमा राखिएको जनाइएको छ । नगरपालिकामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या बढ्न थालेको खबर फैलिएपछि नगर क्षेत्रमा चहलपहल घट्न थालेको छ ।

विराटनगरमा बाढीले ३३ घरपरिवार विस्थापित

साङ्केतिक तस्विर विराटनगर । अविरल वर्षाका कारण विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा केसलिया खोलाको पानी पस्दा ३० घरपरिवार आज विस्थापित भएका छन् । वडाध्यक्ष हीरालाल कामतले गएराति आएको अविरल वर्षाका कारण बाढी बस्तीमा पसेपछि डुबान हुँदा विस्थापित भएका ३० घर परिवारका करिब १५० जनालाई उद्धार गरी विद्यालयमा सुरक्षित बसोबासको व्यवस्था गरेका छन् । विस्थापित परिवारलाई महानगर तथा वडा कार्यालयले आवश्यक खाद्यान्न वितरण गरेको छ । यसैगरी वडा नं ६ ब्रह्पुरामा केसलिया खोला बस्तीमा पस्दा तीन घर डुबानमा परेका वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । बाढीका कारण डुबानमा परेका घरपरिवार एवं स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । खोला क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता रहन प्रहरीले आग्रह गरेको छ ।

पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

पर्वत । अविरल वर्षाका कारण भिरबाट पहिरो खस्दा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । कुस्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो । बिहानैदेखि स्काभेटर प्रयोग गरेर केहीबेरअघिदेखि दुईतर्फी नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडकमा ठूलोमात्रामा ढुङ्गामाटो थुप्रिएकाले पहिरो पन्छाउन ढिलाइ भएको हो । सडक सञ्चालन भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउँदै गरेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् भने यस क्षेत्रबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पनि गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । निर्माणाधीन सडकमा वर्षाका कारण माथिबाट पहिरो झर्दा पटकपटक अवरुद्ध हुने गरेको छ ।

ललितपुरकाे लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो । नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएकाे वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । सो फार्मेसीमा कार्यारत श्रेष्ठका दुई छोराले यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुको रिपोट समेत कोरोना पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन् । फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइसकेका छन् । सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए । उनले भने, “यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक/एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन् ।” यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए ।

प्रशासनिक निर्णयबाटै पनि क्लिन फिड लागू गर्न सकिन्छ: मन्त्री डा खतिवडा

काठमाडौं । नेपाल विज्ञापन सङ्घसहितका तीन सार्वजनिक प्रसारण संस्थाले तत्काल क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन माग गर्दै आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । सरकारले आगामी कात्तिक ८ गतेदेखि सो नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेका बेला उनीहरुले आगामी आर्थिक वर्षको शुरुआतीदेखि नै विज्ञापनरहित क्लिन फिड नीति कार्यान्वयनमा ल्याउन आग्रह गरेका हुन् । नेपालको विज्ञापन बजारको विस्तार तथा नयाँ रोजगारीको सिर्जनाका लागि समेत उक्त व्यवस्थाको कार्यान्वयन महत्वपूर्ण रहेको जनाउँदै उनीहरुले केही दिन समयावधि दिएर भए पनि तोकिएको समयभन्दा अगावै अर्थात् आगामी आव शुरु भएको एकाध दिनभित्रै कार्यान्वयनमा ल्याउन माग गरेका हुन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ, ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक सङ्घले क्लिन फिड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् आगामी साउन १ गतेदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने जनाएको छ । नेपालमा उक्त नीति लागू गर्ने विषयमा एक दशकदेखि प्रयास भए पनि सफल हुन नसकेका सन्दर्भमा पछिल्ला दिनमा सकारात्मक वातावरण बनेको उनीहरुको भनाइ छ । विदेशी च्यानल विज्ञापनरहित गर्नु भनेको आयात निरुत्साहन गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम हुने उनीहरुको भनाइ छ । क्लिन फिडको सीधा लाभ राष्ट्रले पाउने जनाउँदै उनीहरुले कुनै पनि विलम्ब नगरी उक्त नीति कार्यान्वयनमा ल्याउनु देश र जनताको हितमा रहेको ठहर गरेका छन् । मन्त्रिपरिषद्ले २०७३ साउन ७ गते नै उक्त नीति पारित गरेको थियो । वर्तमान सरकारले विज्ञापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा क्लिन फिड नीति लागू गर्ने कानूनी व्यवस्था गरेको छ । सो व्यवस्थापछि नेपालको सीमाभित्र प्रसारण र वितरण हुने विदेशी टिभी च्यानल पूर्णरुपमा विज्ञापनरहित हुनेछ । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम भन्ने बुझाउने र त्यसमा केवल, डिटिएच, इन्टरनेट, सामाजिक सञ्जाल युट्यूबलगायत विद्युतीय माध्यम पर्छ । स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्ने मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेलको भनाइ छ । क्लिन फिड नीति कोही कसैविरुद्ध लक्षित नभई नेपालका सबै व्यवसायी, नेपाल सरकार र जनताको पक्षमा केन्द्रित रहेको र सार्वभौम र राष्ट्रवादी मान्यता भएको नेपाल विज्ञापन सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजाल बताउँछन् । नेपाल सरकारले नेपालको नक्शा अद्यावधिक गरी जारी गरेपछि केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्को छिमेकी देशको नाम समेत जोडेर कपोलकल्पित, दुराशयपूर्ण एवम् भ्रामक समाचार प्रकाशन र प्रसारण गरेका थिए । नेपालको सार्वभौससत्ता र अखण्डताविरुद्ध गरिएका गलत प्रचार नेपालभित्र प्रसारण हुन नमिल्ने गरी विदेशी च्यानल वितरकले बन्द गरिदिएका छन् । यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत बिहीबार विज्ञप्तिमार्फत गलत र दुराशयपूर्ण प्रचार रोक्ने केबलहरुको निर्णयको स्वागत गरेको छ । नेपाल मिडिया सोसाइटीलगायतले बुझाएको ज्ञापनपत्र बुझ्दै सञ्चारमन्त्री डा खतिवडाले क्लिन फिडको विषय सबैको साझा कार्यसूची भएकाले छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेकामा थप बल पुगेको भनी धन्यवाद दिए । उनले भने, “ यो आर्थिक विषय मात्रै नभई सांस्कृतिक विषय पनि हो ।” उनले कस्ता विज्ञापन प्रसारण हुन्छन् भनेर हामीले ध्यान दिनैपर्ने र त्यस्ता सामग्रीले सांस्कृतिक अतिक्रमण पनि हुने भएकाले आवश्यक विचार गरिएको बताए । क्लिन फिडको विषय पैसा जान्छ वा आउँछ भन्ने मात्रै होइन विदेशीको हकमा जोखिम पनि कम हुने र नेपालमा सिर्जना भएका अवसर नेपालीले पाऊन् भन्ने उद्देश्य अन्तरनिहित रहेको उनको भनाइ छ । नेपालमा सिर्जना भएका विज्ञापन नेपालीले नै प्राप्त गरुन् भन्ने सरकारको साझा उद्देश्य रहेको उनको भनाइ छ । मन्त्री डा खतिवडाले त्यसका लागि आवश्यक पर्ने विज्ञापनसम्बन्धी नियमावली पनि छिट्टै तयार हुने तथा विज्ञापन बोर्ड गठनको प्रक्रियामा रहेको जानकारी दिए । केही भारतीय सञ्चारमाध्यमले नेपालको राष्ट्रियता र स्वभिमानमाथि नै प्रश्न उठाएर राजनेताको समेत मानमर्दन गर्ने, चरित्र हत्या गर्ने र एक प्रकारको दुराशययुक्त सामग्री प्रसारण गरेका सन्दर्भमा मन्त्रालयका तर्फबाट स्पष्ट शब्दमा खण्डनसमेत गरिसकिएको मन्त्री डा खतिवडाको भनाइ छ । पत्रकारिताको मान्यताको मातहतमा रहेर स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले समाचार सामग्री प्रसारण गरुन् भन्ने सरकारको मान्यता रहेको उनको भनाइ छ । नेपालको जमीनलाई नक्शालाई अद्यावधिक गरेका सन्दर्भमा राष्ट्रिय एकता प्रदर्शन भएको र नेपालीले देखाएको एकताबाट कोही तर्सेको र चित्तसमेत नबुझेको अवस्था पनि हुन सक्ने जनाउँदै उनले भने, “ नेपाललाई अपमानित गर्ने ढङ्गले दुराशयपूर्ण प्रचार पनि गरियो । त्यस्ता समाचार च्यानल सेवा प्रदायकले बन्द गरेर राष्ट्र, राष्ट्रियता र समाजप्रतिको जिम्मेवारी पूरा गरेका छन् । ” उनले नेपालको हित विपरीत गएर जुनसुकै माध्यमबाट भएका प्रसारणलाई समेत नियमन गर्न सकिने बताउनुभयो । कानून उल्लङ्घन भएका अवस्थामा मात्रै कार्यान्वयनमा ल्याइने भएकाले लोकतन्त्र र स्वतन्त्र प्रेसको मूल्यमान्यतामा सरकार प्रतिबद्ध रहेको मन्त्री डा खतिवडाले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “ इन्टनरनेटका माध्यमबाट आउने सामग्री (कन्टेन्ट)ले समाजमा विकृति फैलाउने, नेपालीको स्वाभिमान गिराउने र सामाजिक सुव्यवस्थामा खलल पु¥याएका खण्डमा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत पनि हेर्नुपर्ने हुन सक्छ ।” सरकारले सांस्कृतिक विचलन गराउने र विकृति फैलाउने केही साइट बन्द गराइसकेको सन्दर्भ जोड्दै मन्त्री डा खतिवडाले विदेशी समाचार सामग्रीका विषयमा समेत आवश्यक नियमन गर्न सूचना तथा प्रसारण विभागलाई क्षमतासम्पन्न बनाइने बताए । उनले क्लिन फिडका सन्दर्भमा छिट्टै निर्णय लिँदा कुनै प्रशासनिक निर्णयबाट पनि हुन सक्छ कि भनेर सरकारले कानूनी आधारसमेत खोजिरहेको जानकारी दिए । त्यस्तो भएका खण्डमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेर तत्कालै निर्णय पनि हुन सक्ने उनले बताए । आगामी आवको शुरुआतमै क्लिन फीड नीति लागू गर्न सबै तयार भएका खण्डमा नवीकरणलगायत शुल्कका विषयमा समेत छुट दिन सकिने मन्त्री डा खतिवडाको भनाइ छ । नेपालमा विदेशी च्यानल ल्याएर प्रसारण गर्ने संस्थालाई सरकारका तर्फबाट उपलब्ध गराउने सहयोगका लागि आफू तयार रहेको स्पष्ट पार्दै उनले उपभोक्तालाई मारमा नपार्ने गरी आवश्यक व्यवस्था गरिने बताए । उनले भने “ हामीले उहाँहरुलाई के सहुलियत दिनुपर्ने हो त्यो उपलब्ध गराउन तयार छौँ । उपभोक्तालाई मार नपर्ने गरी आवश्यक व्यवस्था गरिनुपर्छ । विज्ञापन नपाउँदा प्रसारण लागत बढ्ने भए बसेर समस्या समाधान गरौँ ।” उनले सञ्चारमाध्यमको नवीकरणलगायत विषयमा आगामी आवको बजेटमा नै स्पष्ट व्यवस्था भइसकेको जानकारी दिँदै केही दिनभित्रै त्यसम्बन्धमा आवश्यक निर्णय हुने बताए ।