जनता समाजवादीले लियो दल दर्ताको प्रमाणपत्र
काठमाडौं । निर्वाचन आयोगमा जनता सामाजवादी पार्टी नेपाल औपचारिकरुपमा दर्ता भएको छ । जनता समाजवादी पार्टीले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र र आधिकारिक पत्र प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ । समाजवादी पार्टीले एक विज्ञप्ति जारी गर्दै आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको जनाएको छ । यस कार्यका लागि उक्त पार्टीले आयोगप्रति आभार व्यक्त गरेको छ । साथै प्रत्यक्ष र अप्रत्यक्षरुपमा सहयोग गर्ने पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई बधाई तथा हार्दिक शुभकामना व्यक्त गरेको छ । अग्रगामी परिवर्तनका पक्षधर, सङ्घीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सामाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्ति र व्यक्तिलाई समाजवादी पार्टी नेपालमा आबद्ध हुन पनि समाजवादीले आह्वान गरेको छ ।
ग्लोबल आइएमई बैंकले प्रदेश नं. १ लाई दियो १० लाख रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।
वोमी लघुवित्तको अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानद्वारा सपथ ग्रहण
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । नवनियुक्त अध्यक्ष प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । प्रधान २०७७ असार १९ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरु मध्ये अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी थिईन् । नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा वोमी लघुवित्तका सञ्चालक बिमला उपाध्याय घिमिरेको उपस्थिति रहेको थियो । वोमी लघुवित्तले नागरिक लघुवित्तलाई गाभेर मिति २०७६ मंसिर ३० गतेदेखि एकिकृत वित्तीय कारोवार शुरु भएको हो । दुई संस्था मर्जर पश्चातको उक्त आठौं साधारण सभा एकिकृत रुपमा सम्पन्न भएको छ ।
चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए
काठमाडौं । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार ५२६, कुवेतबाट पाँच हजार २४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८८४ स्वदेश फर्किएका छन् । प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका सात हजार ६६०, प्रदेश नं १ का पाँच ४७८, प्रदेश नं ५ का चार हजार ३४१, प्रदेश नं २ का चार हजार ३४४, गण्डकी प्रदेशका तीन हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ नेपाल फर्किएका छन् । उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् । नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर्ड उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ । जुलाई २२ सम्म ४२ उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान जुलाई १२ सम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । मन्त्रालयले बनाएको उडान तालिकाअनुसार उसले जुलाई १५ मा दुबईमा दुई उडान गर्नेछ भने हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्नेछ । जुलाई १६ मा नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाम र कतारको रियादमा तीन तथा हिमालयले समान तीन उडान गर्ने तालिका छ । त्यस्तै जुलाई १७ मा नेपाल एयरलाइन्सले कतारमा दुई र हिमालयले बहराइनमा दुई उडान गर्नेछन् । जुलाई १८ मा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार उडान गर्नेछ । सोही दिन हिमालयले आबुधाबीमा दुई उडान गर्नेछ । त्यसैगरी जुलाई १९ मा मलेसिया गन्तव्यमा ती एयरलाइन्सले दुई/दुई उडान गर्नेछन् । यसैगरी जुलाई २० मा तीन÷तीन उडान गर्नेछन् । जुलाई २१ मा मलेसिया गन्तव्यमा दुई एयरलाइन्सले समान दुई उडान गर्ने तालिका सार्वजनिक गरिएको छ । जुलाई १४ र १४ मा नेपाल एयरलाइन्सले संयुक्त राष्ट्रसङ्घको मिशनमा नेपाली सेना लैजानका लागि चार्टर्ड उडान गर्नेछ भने सोही अवधिमा कोरियन एयरले दक्षिण कोरियाको सिओलबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने जनाइएको छ । सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्नेछ । पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको थियो । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार पनि एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो ।
पहिरोमा वेपत्ता भएकालाई खोजी तथा राहत उपलब्ध गराउन सरकारसँग माग
काठमाडौं । नेपाल परिवार दलले देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण वेपता भएकाहरुलाई खोजी गर्न तथा तत्काल राहत तथा स्वास्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । दलका महामन्त्री बिनोद डाँगीले आईतबार एक बिज्ञप्ति जारी गदै सिन्धुपाल्चोक, म्याग्दी पर्वत जाजरकोट लगायत देशका बिभिन्न स्थानमा बाढी र पहिरोका कारण ठूलो मानवीय तथा धनमालको क्षति भएको भन्दै प्राकृतिक विपत्तिमा परि निधन भएकाहरुको परिवारमा समवेदना व्यक्त गदै घाईतको उपचार र तत्काल आवश्यक राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । परिवार दलले बाढी, पहिरो लगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका सबै संयन्त्रले सम्पूर्ण सामर्थ्य सहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गर्नु पर्नेमा जोड दिएको छ । केही दिन यता देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी र पहिराले पुर्याएको जनधनको क्षतिले परिवार दल स्तब्ध भएको भन्दै प्रभावितको उद्धारमा आवश्यक सबै समयन्त्र प्रयोग गर्न आग्रह गरेको छ । परिवार दलले बिज्ञप्ति मार्फत असुरक्षित बसोबासका स्थानलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा विपद् न्यूनीकरणका उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ । परिवार दलले यस्तो संकटको बेला सरकारका तीनवटै तह सक्रिय भएर उद्धारमा लाग्न आवहान गरेको छ । परिवार दलले कोरना महामारीसँग अहिले आएको प्राकृति बिपत्तिबाट जनताको जीवन रक्षाको दायित्व सरकारको रहेको स्मरण गराएको छ । परिवार दलले देशै भरिका आफना नेता तथा कार्यकर्तालाई उद्धार मा खट्न आवहान गरेको छ । परिवार दले मधेश तराई पहाड लगायतका भविष्यमा आइपर्न सक्ने यस्ता प्राकृतिक प्रकोपले प्रभावित बनाउन सक्ने जोखिमपूर्ण बस्तीहरुको समयमानै अध्ययन गरि आबस्यक पूर्व साबधानी अपनाउन सरकारको ध्यानाकर्षण गर्दछ बिज्ञप्तिमा भनिएको छ ।
निक्षेपको ब्याज घटाएर सस्तो ब्याजदरमा कर्जा दिनुपर्ने व्यवसायीको धारणा, बैंकर भन्छन्: यो न्यायसंगत भएन
काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइसरका कारण उत्पन्न लकडाउनले व्यवासाय धरापमा परेको भन्दै सस्तो व्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने धारणा राखेका छन् । आइतबार काठमाडौमा आयोजित एक कार्यक्रममा उद्योगी व्यवसायीहरुल निक्षेपकर्ताले पाउने व्याज घटाएर ऋणीले पाउनु पर्ने कर्जाको व्याजदर सस्तो हुनु पर्ने धारणा राखेका हन् । नेपाल चेम्बर अफ कर्मसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बैंकहरुले निक्षेपकर्ताले जम्मा गरेको निक्षेपको व्याजदर घटाई उद्योग व्यवसायीले पाउनु पर्ने कर्जाको व्याजदर सस्तो बनाउनु पर्ने बताएका हुन् । उनले नेपाल राष्ट्र बैकले आगामी साउन पहिलो साता ल्याउने मौद्रिक नीतिले उद्योग व्यवासयमा परेको आर्थिक मन्दीलाई पुर्नरुत्थान गर्नको लागि नीतिगत व्यवस्था गरी विशेष भूमीका खेल्नुपर्ने बताएका छन् । ‘व्यापार व्यवसाय उत्पादनमुखी र निर्यातमुखी गर्न मौद्रिक नीतिले भूमीका खेल्नुपछ, सरकारले बजेटमा उल्लेख गरेको पुर्नर्कजालाई कार्यान्वयन गर्न पनि राष्ट्र बैंकले बढी भूमीका खेल्नुपर्छ,’ उनले भने । राष्ट्र बैकले आगामी मौद्रिक नीतिमार्फत बैकहरुले प्रवाह गर्ने कर्जाको व्याजदर साढे ३ प्रतिशतसम्म झार्नु पर्ने उनको भनाई छ । सबैले अनुभुति गर्ने खालको मौद्रिक नीतिले आउनु पर्ने उनले बताए । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि बैंकहरुले व्याजदर घटाउनु पर्ने धारणा राखेका छन् । उनले आफुहरुले विभिन्न बैकरहरुसंग छलफल गर्दा साढे ३ प्रतिशतसम्म व्याज घटाउन सकिने अवस्था रहेकोले राष्ट्र बैकमार्फत जारी हुने मौद्रिक नीतिले पनि कर्जाको व्याजदर घटाउनु पर्ने नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘यो नाफा आर्जन गर्ने वर्ष होइन, सबैले सरभाइव हुनुपर्छ, बैंकले पनि यो वर्ष कम्प्रोमाइज गर्नुपर्छ, बैकिङ चार्ज लिनु हँुदैन’ उनले भने । उनले आगामी मौद्रिक नीति मार्फत कर्जा रि–स्ट्रक्चरीङ, धितोमा थप २० प्रतिशत कर्जा दिनुपर्ने, व्याजदर घटाउनुपर्ने र पुनर्कजालाई कार्यान्वयन गर्न सहज बनाउनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा नेपाल बैकर संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने निक्षेपमा व्याजदर धेरै घटाउन नहुने धारणा राखेका छन् । धेरै निक्षेपकर्ताको रोजिरोटी नै निक्षेपबाट आएको व्याज भएको हुनाले हालको भन्दापनि घटाउन उचित नहुने उनको भनाई छ । ‘निक्षेपकर्ता लाई पनि न्याय गर्नुपर्छ, निक्षेपकर्तालाई निरुत्साहित गरेर कर्जामा मात्रै व्याज घटाउनु त्यति सान्दर्भिक हुँदैन तर सबैलाई सहज हुने खालको नीति मौद्रिक नीति मार्फत आउनु पर्छ,’ उनले भने । ‘अहिले बैंकले मात्रै धेरै नाफा कामायो भन्ने गलत मनसायपनि धेरैमा छ, हामीपनि व्याजदर धेरै होस् भन्ने चाहदैनाँै, हामीले पहिले १५ प्रतिशतदेखि १२ प्रतिशतसम्म व्याजदर झार्न प्रयास गयौं, त्यो सफल भयो, अहिले १२ प्रतिशतबाट पनि एकल अंकमा ल्याइसकेका छौँ, अब त्यसबाट पनि कम गर्ने सम्भव छैन,’ उनले भने । अहिले बजारमा तरलता बढेको बताउँदै उनले राष्ट्र बैंकले पनि कोरोनाको कारण असर परेका क्षेत्रहरु निर्धारण गरेर प्याकेज ल्याउनुपर्ने बताए । राष्ट्र बैकले तरलतामा सहज र व्याजदरपनि थोरै कम हुने किसीमले मौद्रिक नीति ल्याउनुपर्ने उनको धारणा छ । राष्ट्र बैंकको जोड आर्थिक पुनरुत्थानका लागि हो: प्रवक्ता भट्ट नेपाल राष्ट्र बैकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राष्ट्र बैकको जोड र प्रयास आर्थिक पुनरुत्थानको लागि भएको बताएका छन् । आगामी साउन पहिलो साता आउने मौद्रिक नीतिले कोरोना भाइसरले पारेको असरलाई न्यूनिकरण गर्न र हालका समस्याहरुको समाधानतर्फ मौद्रिक नीतिले जोड दिने बताएका हुन् । उनले मौद्रिक नीतिले प्रभावित क्षेत्रलाई निर्धारण, वित्तीय साधनको प्राथमिकिकरण, विद्युतिय कारोवारलाई प्रोत्साहन र संस्थागत सुशासनको नीतिलाई बलियो बनाउने ढंगले जोड दिने बताएका छन् । हाल खराब कर्जा पनि न्यून रहेको, मुद्रास्फिती पनि घट्दै गएको र आर्थिक साइकलका परिसुचकहरु पनि सकारात्मक रहेकोले कोरोनाले उत्पन्न समस्याहरु समाधान र आर्थिक पुनरुत्थानका लागि लामो समय कुर्न नपर्ने उनले धारणा राखेका छन् ।
काठमाडौं उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं । काठमाडौं उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उपत्यकामा अहिलेसम्म ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे बताएका हुन् । पाण्डेले उपत्यकामा देखिएकाे अधिकांश संक्रमितहरु विदेशबाट आएकाहरु रहेकाे र काेही काेही भने कुनैपनि ट्राभल हिस्ट्री नभएकाे व्यक्तिहरु भएकाे बताए । पाण्डेले जिल्ला बाहिर संक्रमण घटिरहँदा उपत्यकामा भने बढिरहेकाे बताए । आईतबार नेपालमा ८२ जना काेराेना संक्रमित थपिँदा उपत्यकामा ६ जना थपिएका थिए । शुक्रबार मात्र उपत्यकामा ४३ जनामा संक्रमण पुष्टि भएकाे थियाे । कुनैपनि ट्राभल हिस्ट्री नभएकाे व्यक्तिहरुकाे कन्ट्याक ट्रेसिङ पनि सुरु गरिसकेकाे उनले बताए । यस्तै काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड–१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन उनले जानकारी दिए ।
वर्षायाम सुरु भएसँगै एलजीको वासर ड्रायरको माग बढ्यो
काठमाडौं । वर्षायाम सुरुवात भए लगतै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढेको छ । यस मेसिनको मोटरमा १० वर्षको वारेण्टी रहेको छ । यस मेसिनबाट लुगा धोएपछि ९९.९ प्रतिशत एलर्जी मुक्त हुने कम्पनीले जनाएको छ । ट्रु स्टिम टेक्नोलोजिले किटाणु रहित बनाउनुका साथै कपडाहरु खुम्चिनबाट बचाउँछ । ६ मोसन डिरेक्ट ड्राईभ टेक्नोलोजिले वासिङ मेसिनको ड्रमलाई धेरै दिशामा घुमाउछ र कपडालाई उचित हेरचार प्रदान गर्दछ । जसले गर्दा कपडा एकदमै सफा हुन्छ । एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमध्ये निम्न मोडेलहरुमा ८ देखि १८ केजीसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केहि समयमै सुकाउने क्षमता रहेको छ । जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुनेबाट सजिलै मुिक्त पाउन सकिन्छ । एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. रहेको छ ।