बढ्दाे कोरोना संक्रमणले अवस्था झन् झन् खराब हुनसक्ने डब्ल्यूएचओको चेतावनी
काठमाडौं । सरकारले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना भाइरस महामारी ‘खराबमाथि खराब’ हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए । गेहब्रेयससले के भने ? सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए । ‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने । उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए । ‘निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन ।’ उनले चेतावनी दिँदै भने, ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ । त्यो भनेको खराब, खराब र खराब हुनु हो ।’ अमेरिकी देशहरूमा केन्द्रविन्दु उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन् । डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा ‘व्यापक सङ्क्रमण’ फैलाएको थियो । ल्याटिन अमेरिकामा अहिलेसम्म १ लाख ४५ हजारभन्दा बढी कोरोना भाइरससँग जोडिएका मृत्यु पुष्टि भएका छन् । आधाजसो ती मृत्यु ब्राजिलमा भएको छ जहाँ राष्ट्रपति जइर बोल्सोनारूले भाइरससँग जुझ्ने कडा उपायहरूको विरोध गरेका थिए । त्यहाँ जाँच नै कम भएकाले त्यस्तो सङ्ख्या अझै उच्च हुनसक्ने ठानिएको छ । अमेरिकामा उच्च प्रभाव संयुक्त राज्य अमेरिकामा एकातर्फ सङ्क्रमितहरू बढिरहँदा अर्कोतर्फ राष्ट्रपति डोनल्ड ट्रम्प र स्वास्थ्य विज्ञहरूबीच तनाव देखिएको छ । सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म ३३ लाखभन्दा बढी सङ्क्रमण पुष्टि भएका छन् भने १ लाख ३५ हजारभन्दा बढीको भाइरसका कारण मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ । सङ्क्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि देखिएपछि अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य क्यालिफोर्नियामा पुनस् कडा प्रतिबन्धका नियम लागु गरिएका छन् । गभर्नर ग्याभिन न्युसमले रेष्टुराँ, बार, मनोरञ्जन स्थल, चिडियाखाना र सङ्ग्रहालयजस्ता भवनपरिसरभित्रका गतिविधि तत्काल लागु हुनेगरी बन्द गर्न लगाएका छन् । महामारीबाट उच्च प्रभावित अमेरिकाका विभिन्न क्षेत्रमा गिर्जाघर, व्यायामशाला र शैलुनहरू समेत बन्द गरिनेछन् । पछिल्ला दुई सातामा क्यालिफोर्नियामा परीक्षण गरिएकामध्ये सङ्क्रमितको सङ्ख्या २० प्रतिशतले वृद्धि भएको छ । आइतवार फ्लोरिडामा एकैदिन १५ हजारभन्दा बढी सङ्क्रमित पुष्टि भएका थिए । इङ्ग्ल्याण्डमा मास्क अनिवार्य ब्रिटेनको सरकारले आउँदो साताबाट इङ्गल्याण्डका पसल र सुपरमार्केटहरूमा मुख ढाक्नेगरी मास्क लगाउनैपर्ने नियम ल्याएको छ । प्रधानमन्त्रीको कार्यालयबाट जारी गरिएको विज्ञप्ति अनुसार भिडभाड हुने र घरभित्रका ठाउँमा मास्क लगाएर आफू र वरपरका मानिसहरूलाई सुरक्षित पार्न सकिन्छ भन्ने स्पष्ट प्रमाणहरू पाउन थालिएको बताइएको छ । सार्वजनिक सवारीमा मास्क लगाउने नियम भने जुन महिनादेखि नै लागु छ । तर त्यसबारे कुराहरू राम्रोसँग प्रस्ट नपारिएको भन्दै सरकारको आलोचना हुने गरेको छ । ब्रिटेन कोरोनाभाइरसको महामारीबाट बढ्ता प्रभावित हुनेमध्येको देशमा पर्छ । त्यहाँ अहिलेसम्म २ लाख ९१ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ४४ हजारभन्दा बढीले भाइरसका कारण ज्यान गुमाएका छन् । (बीबीसी)
सलह भगाउन टिन र थाल ठटाउँदै
प्युठान । यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए । उनका अनुसार सलहले धान, मकै, तरकारी लगायतका बालीमा नोक्सान पुर्याइरहेको छ । “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन ।” प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिए । आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो । सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा पनि बाली नष्ट गरेको अधिकृत खनालले जानकारी दिए । कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव सृर्जना हुने सम्भावना रहेकाे भन्दै किसानहरू चिन्तामा परेका छन् । क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् । रासस
सप्तरीको तिलाठी डुबानमा
सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल सोमबार जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ । लगातार भइरहेको वर्षाले बेल्हीलाई डुबाएको स्थानीय उपेन्द्र यादवले बताए । पानीले बेल्ही भन्सार र बजारसमेत डुबानमा परेको छ । सो ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । राजविराज–तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्याएको छ । भन्सार बजारको पसलहरु डुबानमा पर्दा स्थानीय व्यापारीलाई लाखौँ मूल्य क्षति भएको छ । खाँडोखोलाको बाढीसँगै करिब आठदेखि १० वटा शवसमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले बताए । शव आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरेको मण्डलले जानकारी दिनुभयो । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ । खाँडोखोलाको बाढीले पार्ने डुबान समस्याकै कारण वर्षौंदेखि तिलाठी र बेल्हीगाउँका कयौँ परिवारको जीवन कष्टकर हुने गरेको छ । पानीको निकास हुन नसक्दा घरघरमा पानी पसेको छ । बर्सेनि करौडौं रकम खर्च हुँदै आए पनि तिलाठी र बेल्हीको आन्तरिक विवाद तथा भारतको अवरोधका कारण तिलाठी र बेल्ही डुबानबाट बच्न सकेको छैन । बाढीको वितण्डाले तिलाठीसँगै लौनिया, सकरपुरा, रम्पुरा मल्हनियालगायत गाउँ सधैँ जोखिममा रहने गरेको छ । चुरेबाट निस्केको खाँडो नदीले नेपाली भूभागमा तिलाठीसम्म २५ किलोमिटरको यात्रा तय गर्छ । खासगरी पूर्वपश्चिम राजमार्गदेखि दक्षिणको खाँडो नदीसित टाँसिएका गाउँहरु हरेक वर्ष बाढीको चपेटामा पर्छन् । सबभन्दा बढी निशानामा पर्ने गाउँ भने तिलाठी र बेल्ही नै हो । जोखिममा बेल्हीगाउँ केही दिनयता लगातार परेको भारी वर्षापछि बलानखोलामा आएको बाढीले सप्तरीको बलानबिहुल गाउँपालिका–४ को बेल्ही बस्ती जोखिममा परेको छ । चुरे मूल भएको बलान नदीमा आएको बाढीले खेतजग्गा धमाधम कटान गर्न थालेपछि बेल्हीगाउँ जोखिममा परेको स्थानीयवासीको भनाइ छ । लगातारको वर्षाले खोलामा पानीको बहाव बढिरहेकाले स्थानीयवासीमा त्रास पनि बढेको बेल्हीका अनवारुल मियाँले बताए । खोला कटानले मदन मियाँ, मुस्तफा मियाँ, सदानन्द पाठकलगायतको खेत बगाएको छ भने अरुहरुको खेतजग्गा जोखिममा रहेको छ । बलान खोलामा आएको बाढीले बर्सेनि ५०/६० बिघा खेत कटान गर्ने गरेको र १२/१३ वर्षको अवधिमा ७ सय बिघाभन्दा बढी जमीन कटान गरिसकेको वडाध्यक्ष हन्सु मियाँ बताए । धार परिवर्तन गरी गाउँतर्फ फर्किएको बलान खोलालाई तत्काल नियन्त्रण गर्न नसके गाउँ बगरमा परिणत हुने भन्दै स्थानीय उमेश यादवले आक्रोश व्यक्त गरे । बलानखोलाले यादवको घर, इनार लगेपछि अन्यत्र सरेका छन् । खोलाकै कारण साविकको बेल्ही गाविस–१ का ५०/६० घर बसाइँ सरेको यादवले बताए । खोलाले एकातिर बालुवा थुपार्ने र अर्कोतिर कटान गर्दै सर्पझै बाङ्गोटिङ्गो गरेर खेत जग्गा कटान गरी बर्बाद गरिरहे पनि स्थानीय सरकार मौन रहेको इञ्जीनियर नवीनकुमार झाले बताए । झाले वर्षौँदेखि कटान भइरहेको खेतजग्गा जोगाउन ध्यान नपुगेकाले सिरहा र सप्तरी जिल्ला छुट्याउने सप्तरीको पश्चिम–दक्षिणवर्ती गाउँ बेल्हीको अस्तित्व नाम मात्रैमा सीमित रहने बताए । चुरे जङ्गलको विनाशपछि बलान नदीले फेर्दै आएको धार तथा भारतले सीमानाका लौकाहामा बनाएको ठूलो बाँधका कारण पानी थुनिएर बेल्हीगाउँ डुबान र कटानमा पर्ने गरेको गाउँलेहरुको भनाइ छ । वरदानका रूपमा रहेको बलानखोलाले धार परिवर्तन गरी पूर्वतर्फ फर्किएपछि विगतमा धान र गहुँको बाला झुम्मिने खेतका गरा फराकिलो मरुभूमिमा परिणत हुँदै गएको छ । धनी किसान र जमिन्दारको गाउँ भनेर चिनिने बेल्ही अहिले खाद्य सङ्कटको मारमा छ । बालुवाले खेत पुर्दै मरुभूमि बनाउँदै लगेपछि गाउँलेहरु रित्तो बन्दै गएका छन् । “वर्षाको आरम्भमै १२/१३ बिघा जमीन कटान गरिसकेको छ”, स्थानीय काशिन्द्र गामी साहले भने, “पहाडतिरसमेत ठूलो वर्षा भएपछि यो वर्ष पनि दर्जनौँ व्यक्ति सुकुम्बासी हुने स्थितिमा पुग्नेछन् ।” स्थानीय सरकारको पहिलो ध्यान बलानखोला नियन्त्रणमा जानुपर्नेमा कुनै प्रयास नभएको साहले बताए । उपभोक्ता समिति बनाएर अनावश्यक खर्च गरिरहेको स्थानीय तहले तीन वर्षदेखि बलानखोला नियन्त्रणमा कुनै लगानी नगरेको उनले बताए । बलानखोलाबाट पीडित उमेश भने, “खोला नियन्त्रणका लागि बजेट विनियोजित हुन्छ र पनि काम हुँदैन, पैसा फर्केर जान्छ नभए भ्रष्टाचार हुन्छ ।” प्रत्येक साल झण्डै ५० बिघा जमीन खोलाले निलिरहेको उनले गुनासो गरे । “प्रत्येक वर्ष आउने बाढीले पु¥याएको क्षति हेर्न स्थानीय प्रशासनदेखि मन्त्री, सांसदले भ्रमण गर्छन्, ठूला आश्वासन बाँडछन् तर वर्षा सकिएपछि सबैले बिर्सन्छन् ।” बलानबिहुल गाउँपालिका निवासी प्रधानाध्यापक दिनेश्वर यादवले भने, “गाउँ क्रमशः बगर बन्दैछ तर गाउँ जोगाउने कोही देखिएन ।” रासस
जिल्लासभाद्वारा हलेसीको गुरुयोजना कार्यान्वयनलाई प्राथमिकता
काठमाडौं । जिल्ला समन्वय समिति खोटाङले त्रिधार्मिकस्थल हलेसीको गुरुयोजना कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ । जिल्ला समन्वय समिति खोटाङको सोमबार सम्पन्न चौथो जिल्लासभामा जिसस प्रमुख बबि चाम्लिङले प्रस्तुत गरेको प्रस्तावलाई जिल्लासभाले पारित गरेको हो । जिल्लासभाले हलेसीको बृहत्तर गुरुयोजना कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रमसमेत तय गरेको छ । सांसद विशाल भट्टराईको संयोजकत्वमा बनेको समितिले गुरुयोजना निर्माण गरिसकेकाले कार्यान्वयनका लागि जिल्लासभाद्वारा निर्णय पारित गरिएको प्रमुख चाम्लिङले बताए । किराँत, हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि गुरुयोजनासम्बन्धी प्रारम्भिक चरणका काम थालिएको थियो । दैनिक पर्यटक तथा दर्शनार्थीको भीड लाग्ने हलेसीलाई व्यवस्थित गर्न सकेमा आर्थिक आयआर्जनको केन्द्र बनाउन सकिने सम्भावनालाई मध्यनजर गर्दै गुरुयोजना कार्यान्वयनमा जोड दिइएको हो । जिसस प्रमुख चाम्लिङले धार्मिक तथा पर्यटकीयस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल गर्न सबैलाई आग्रह गरेका छन् । “हलेसी खोटाङको मात्र नभई नेपालकै लागि एउटा महत्वपूर्ण धार्मिक सम्पदा हो”, उनले भने, “यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेर विकास तथा प्रवद्र्धन गर्न सबैले हातेमालो गर्न आवश्यक छ ।” यसैबीच जिल्लासभाले खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई पूर्णता दिन सहयोग गर्ने भएको छ । जिल्लासभाले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको कामलाई सम्पन्न गर्नका लागि आवश्यक समन्वय गर्ने गरी वार्षिक कार्यक्रम ल्याएको हो । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले जिल्लाको समृद्धिमा समेत महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसको सफलताका लागि सहयोग गरिने जनाइएको छ । लामीडाँडाको रँभुवाबजारमा १६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । जिल्लासभाले सदरमुकाम दिक्तेल बजारबाट स्थानीय तहको केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न सम्बन्धित निकायसमक्ष समन्वय गर्ने, खोलानालामा मोटरेबल पुल बनाउन पहल गर्ने, प्रत्येक स्थानीय तहमा कलेज स्थापना गर्न र दिक्तेल बहुमुखी क्याम्पसको स्तरोन्नतिमा पहल गर्ने, हरेक स्वास्थ्यचौकीको स्तरोन्नति गर्ने, हरेक स्थानीय तहमा मेडिकल चिकित्सकसहितको अस्पताल स्थापनाका लागि पहल गर्ने, जिल्ला अस्पतालमै कोभिड–१९ को पिसीआर परीक्षण उपकरण जडान गर्ने र पिसीआरका लागि अन्यत्र स्वाब पठाउनुपर्ने बाध्यता अन्त्य गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै हलेसी, तुवाचुङ, जायजुम, बराहताल, सोनापाताल, जन्तेढुङ्गा, धिप्लुङ झरना, टेम्केडाँडा, मझुवागढी, भुलभुले दूधकुण्ड, रुपाकोट, चिलिमढुङ्गा, ढालतरवारडाँडा, केपिलासगढीलगायतका पर्यटकीयस्थलको पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने, फेदी, पाथेका र निर्मलीडाँडाको माथिल्लो क्षेत्रमा पाइने दुर्लभ रेडपाण्डा संरक्षण गर्ने, जिल्ला समन्वय समितिको हाताभित्र रहेर खोटाङ स्तम्भ निर्माण गर्नेलगायतका प्रस्ताव पारित गरिएको छ । कार्यक्रममा जिसस प्रमुख चाम्लिङले वर्ष दिनभित्र सञ्चालन गरेका काम तथा आयव्यायका बारेमा जानकारी गराए । चाम्लिङले आर्थिक वर्ष २०७७÷७८ का लागि सङ्घीय सरकारबाट प्राप्त भएको १ करोड ३८ लाख २० हजार रुपैयाँ रकम विनियोजन गरिएको बताएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य रामकुमार राईले सङ्घ, प्रदेश र स्थानीय सरकारले पर्यावरण संरक्षणलाई ध्यान नदिई सडक खन्ने काममा मात्र बजेट खन्याएको उल्लेख गरे । कार्यक्रममा दुई नगरपालिका र आठ गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतको उपस्थितिमा खोटाङको चौथो जिल्लासभा सम्पन्न भएको छ । रासस
विश्वभर कोरोना संक्रमितकाे संख्या १ करोड ३२ लाख नाघ्यो, ७६ लाख ९१ हजारबढी काेराेनामुक्त
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट १ करोड ३२ लाख २९ हजार ३ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । नेपाली समयअनुसार मंगलबार विहान साढे ६ बजेसम्म संसारभरीका ५ लाख ७४ हजार ९ सय ७७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाको उपचार पछि ७६ लाख ९१ हजारभन्दा बढी मानिस निको भएका छन् । सबैभन्दा बढी अमेरिकामा ३४ लाख ७९ हजार ३ सयभन्दा बढी कोरोना संक्रमित छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३८ हजार २ सय ४७ जनामा रहेका छन् । उपचारपछि १५ लाख ४९ हजारभन्दा बढी निको भइ घर फर्किएका छन् । अमेरिका पछि कोरोनाले भयावह स्थिति पैँदा गरेको ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२ हजार ९ सयभन्दा बढी रहेका छन् । त्यस्तै हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ८७ हजार ९ सय ५९ पुगेका छन् । उपचार पछि निको हुनेको संख्या १२ लाख १३ हजार ५ सय नाघेको छ । उच्च कोरोना संक्रमणको तेस्रो स्थानमा आइपुगेको छिमेकी देश भारतमा ९ लाख ७ हजारभन्दा बढी संक्रमित छन् । २३ हजार ७ सय २७ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ७२ हजारबढी उपचार पछि निको भएका छन् । त्यस्तै नेपालमा हालसम्म १६ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट ३८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमित उपचार पछि निको भइ घर फर्किएका छन् । (वल्डोमिटर)
एफएनसीसीआईको चुनावी सरगर्मी बढ्यो, ढकाल समुहको प्यानल घोषणा भोलि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी यतिखेर निकै तातेको छ । साउन २६ र २७ गते हुने भनिएको महासंघको चुनावी माहोल यतिखेर निकै बढेको छ । गत चैत २८ र २९ गते हुने भनिएको महासंघको चुनाव कोरोनाको स्थगित भएसँगै अब साउन २६ र २७ गतेका लागि तोकिएको छ । \चैतमा नै चुनावको माहोल तातेर पनि सेलाएको थियो । तर पुनः त्यो माहोलेल निरन्तरता पाएको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न आकांक्षीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । उनीहरु अहिले भेटघाटमै व्यस्त छन् । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको विधान बमोजिम आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्लारनगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल हाल एशोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्लारनगरतर्फका उपाध्यक्ष हुन् ।महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्ने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।े ढकाल हाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एसोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । महासंघको एसोसिएटबाट राजनीति सुरु गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत हुन् । उनी एक सफल व्यवसायी भनेर पनि परिचित छन् । वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी किशोर श्रेष्ठ जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तत्कालिन जिल्लारनगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा चुनाब लड्न गएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो । ढकालले जिल्ला तथा नगरसम्मको व्यवसायिक नेटवर्कलाई नै आफ्नो जितको मुख्य आधार बताउँदै आएका छन् भने उनका प्रतिस्पर्धी प्रधानले साना तथा मझौला उद्योगहरुको तर्फबाट आफूलाई अत्यधिक समर्थन प्राप्त हुने अवस्था रहेको र त्यो नै आफ्नो जितको मुख्य आधार भएको बताउँदै आएक छन् । कसको प्यानलमा को ? नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख पद वरिष्ठ उपाध्यक्षमा यस पटक रोचक भिडण्त हुन सक्ने अनुमान धेरैको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधानले आ–आफ्नो प्यानल तयार पारिसकेका छन् । ढकालको समूहबाट एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् । यस्तै, किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघमा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाइ र सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । ढकाल समूहबाट एसोसिएट्स उपाध्यक्षमा उम्मेदवार बनेका सांघाई एनआईसी एसिया बैंकका सञ्चालक हुन् । त्रिवेणी समूहका प्रवन्ध निर्देशक उनलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सम्मान पनि गरेको थियो । उनीको मारवाडी समुदायमा राम्रो छवि रहेको धेरैको बुझाई छ । एसोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए । ज्योति महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन उनी नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् । यस्तै, वस्तुगत उपाध्यक्ष अन्तर्गत उमेशलाल श्रेष्ठर अञ्जन श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन् । उनी सोही पदमा दोहोरिन चाहेका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि उनकै समर्थनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लागेका हुन् । त्यस्तै अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक हुन् । उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष समेत थिए । त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा क्रियाशील छन् । श्रेष्ठ यसअघि प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष समेत हुन् । ढकाल समूहको प्यानल घोषणा भोलि वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका चन्द्र ढकाल समुहको प्यानलको उम्मेदवारी भोलि घोषणा हुने भएको छ । ढकाल समुह स्रोतका अनुसार उनले साउन २६ र २७ गते हुने साधारण सभार निर्वाचनका लागि भोलि प्यानल घोषणा गर्ने भएका हुन् । उनका प्रतिस्पर्धी अर्थात प्रधान समुहहले असार १६ गते नै सम्पर्क कार्यालय खोलेर नै प्रचार प्रसारमा तीव्रता दिएको छ ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्यो, के होला निर्णय ?
काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटार बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य बहादुर थापाले मन्त्रिपरिषद् बैठक बसेको जानकारी गराएका हन् । उनले नियमित बैठक अनुसार नै आजको बैठक बसेको जानकारी गरांएका हुन् ।
तनहुँ पहिरो अपडेट: ७ जनाकाे मृत्यु, ५ बेपत्ता, ३ घाइते
दमौली । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चार, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा दुई र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिराले पुरिएर व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उहाँका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको निधन भएको छ । ऋषिङ–८ पल्ट्याङमा पहिराले घर पुरिएर बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा र १९ वर्षीया मनिसरा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा, ऋषिङ–८ पल्ट्याङका २९ वर्षीय नानुमाया थापा, पाँच वर्षीया अमिषा थापा, २२ वर्षीय महादेव थापा, व्यास–११ ओडारेका ४५ वर्षीय पद्मबहादुर भुजेल बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालित छन् । त्यस्तै पहिराले पुरिएर घाइते भएका ऋषिङ–८ पल्टयाङकी ६० वर्षीया ज्योतिमाया थापा, व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।