दुई दिनदेखि सिमकोट बजार अन्धकारमय
सिमकोट । विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५ सय किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करीब १८ घरधुरीका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् । आयोजनाको विद्युत्गृहमा रहेका दुई यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा सिमकोटलगायत गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ । सिमकोटमा विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ । अनलाइनमार्फत भुक्तानीको व्यवस्था भएकाले बत्ती अनिवार्य भएकाले काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए । जिल्लाका सात स्थानीय तहमध्ये पाँच तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको तर विद्युत् नहुँदा अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ । यस्तै विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा एक्सरे, भिडियो एक्सरेलगायत विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम ठप्प भएको अस्पतालका डा टसीआन्जुक लामाले जानकारी दिए । रासस
स्थानीयवासीको शतप्रतिशत लगानीमा बन्यो कृषि सडक
कास्की । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले ६ लाख रूपैयाँ सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताए । १ सय २८ घरधुरीले न्यूूनतम २ हजारदेखि ५० हजार रूपैयाँसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ । यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको अध्यक्ष लामिछानेले जानकारी दिए । कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीअघि शुरु गरिएको सो सडक बन्दाबन्दीकै अवधिमा सम्पन्न भएको थियो । सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन् । “सडक निर्माणछि पाँच मिनेटमा हल्लनचोक–घाँटीछिना सडकमा पुग्न सकिन्छ । यसअघि सो ठाउँमा पुग्न झन्डै एक घण्टा घुमेर पामे निस्कनु पथ्र्यो”, अध्यक्ष लामिछानेले भने, “लकडाउनमै सडक निर्माण सकियो, यसपालि खेत रोप्न पनि सजिलो भयो ।” फेवातालको सिरान फेवा फाँट जिल्लामा धान उत्पादनमा अग्रणी स्थानमा आउँछ । तालको सिरान भएकाले जेठको दोस्रो हप्तादेखि रोपाइँ शुरु हुने भए पनि सडक नहुँदा ट्र्याक्टर लैजान नसक्दा रोपाइँ ढिला हुने गरेकामा यसपटक सडक बनेपछि समयमै कृषकले धान रोपेको स्थानीयवासी श्याम गुरुङले बताए । “हामी पनि हिँड्थ्यौं, स्कूलका बच्चा हिँड्न नसकेर बोरामा ग्राभेल माटो भरेर पनि बाटोमा राखेर बालबालिका तालपारिको शान्ति निकेतन स्कूल पठाउने गर्दथ्यौं, अहिले विद्यार्थीदेखि कृषक सबैलाई सहज भएको छ”, गुरुङले भने, “अहिले पनि बाढी आउँदा सडक भत्किने गरेको छ, यसलाई स्तरोन्नतिका लागि सरकारसँग माग गर्दछौं ।” रासस
आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ
काठमाडौं । आफैंले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो । विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक मोरङ डाँगीहाटका ४५ वर्षीय नातीकाजी सुवेदी र श्रीमती सानु सुवेदीलाई कामदार सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए । साह पक्राउ परे पनि राना अझै फरार छन् । उक्त घटना सिआइबीले सोमबार सार्वजनिक गरेको हो । सःमिलका मालिकले काम बिगारेको भन्दै गाली गरेको विषयमा त्यसको बदला लिन उनीहरुले सुवेदी दम्पती र छोरालाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गरेका थिए । सोही चोटका कारण सुवेदी दम्पतीको मृत्यु भएको र छोरा भने बाँच्न सफल भएका थिए । घटनापछि दुवै अभियुक्त नेपालबाट भागी भारतको लखनऊमा गई दुई वर्षसम्म सँगै बसेका थिए । प्रताप राना अन्यत्रै लागेपछि साहले जय शर्माको नामबाट भारतीय आधारकार्डलगायतका कागजात बनाई पहिचानसमेत बदलेर भारतको लखनऊमा बस्दै आएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । सिआइबीले आफ्नो स्थापनाकालदेखि नै उक्त घटनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिरहेकामा घटनामा गम्भीर घाइते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी हुलिया सनाखत गरेर उनलाई पक्राउ गरिएको थापाले बताए । अर्का फरार व्यक्ति पनि छिट्टै पक्राउ पर्ने उनले भने । रासस
दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ । सो स्थानमा खसेको पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए । सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ । रासस
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धान
बैतडी । बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारवाही गर्नुको साटो तलब भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १ सय रूपैयाँ लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्यितारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । यस्तै जिल्लाको दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियम विपरीत तलब खुवाएको अख्यितारले जनाएको छ । अख्तियारले गरेको छानबिनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको पाइएको छ । सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कैद सजाय र रु ८२ हजार जरिवानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । उनीहरु दुवैजनाले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन् । रासस
चालु आर्थिक वर्ष विकास निराशाजनक : पुँजीगत खर्च ३४ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवका आयोजना चालु आर्थिक वर्षमा पुँजीगत खर्च गर्न असफल भएका छन् । निर्धारित समयमा काम सम्पन्न गर्न नसक्दा यस्ता आयोजनाका लागि विनियोजन गरिएको बजेटमध्ये ठूलो हिस्सा फिर्ता गर्नुपर्ने अवस्था आएको छ । विनियोजित बजेटको अनुपातमा खर्च गर्ने क्षमतामा तदारुकता नल्याइँदा सानादेखि राष्ट्रिय गौरवका आयोजनाको बजेट फिर्ता हुने अवस्था आएको हो । महालेखा नियन्त्रक कार्यालयअनुसार चालु आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च जम्मा ३४.६२ प्रतिशत मात्र भएको छ । अर्थ मन्त्रालयले गत फागुन महिना भित्रै खर्च नहुने बजेट फिर्ता गर्न आयोजनालाई आग्रह गरेको थियो । आर्थिक वर्षको अन्तिम समयमा काम भइरहेका छन् । प्राप्त बजेट सदुपयोग गरी समयमा काम सम्पन्न नगर्ने नियतका कारण राष्ट्रिय गौरवका आयोजनामध्ये सडक आयोजनाको अवस्था निराशाजनक छ । कछुवा गतिमा हिँडेको यस्ता आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्नु र लागत खर्च बढ्दै जानु अर्को चुनौती थपिएको छ । सडक, पुल, सिँचाइ, विमानस्थल, खानेपानी, विद्युत् आयोजना, नयाँ सहरलगायत आयोजनासम्बन्धी निर्माण कार्य अत्यन्त सुस्त गतिमा अघि बढेकाले बजेट फिर्ता गर्नुपर्ने अवस्था आएको हो । चालु आर्थिक वर्षमा विकास निर्माणका लागि सरकारले ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसमध्ये असार २१ गतेसम्म १ खर्ब ४० अर्ब १ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्षमा पनि पुँजीगत खर्च कम हुने व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । सरकारले यो वर्ष कोरोना महामारीका कारण पुँजीगत खर्च कम भएको बहाना बनाएको छ । बन्दाबन्दी सुरु हुनु अघि गत चैत १० गतेसम्म पुँजीगत खर्च २५.३१ प्रतिशत खर्च भएको थियो । बन्दाबन्दी सुरु भएपछि पछिल्लो चार महिनामा पुँजीगत खर्च ९.३० प्रतिशत मात्र भएको छ । सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले कोरोना महामारीलाई नियन्त्रण गर्न सरकारले लगाएको बन्दाबन्दी र कामदारको अभावमा पछिल्लो तीन महिनामा विकास निर्माणसम्बन्धी आयोजनाले गति लिन सकेको बताए। ‘विगतका वर्षमा पहिलो ९ महिना पुँजीगत खर्च सुस्त गतिमा भए पनि पछिल्लो चार महिना फागुनदेखि जेठसम्म खर्च बढ्ने गरेको थियो। तर चालु आर्थिक वर्षमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण पछिल्लो चार महिनामा खर्च दर सुस्त बन्यो।’ बजेट खर्च हुन नसकेपछि सानादेखि राष्ट्रिय गौरवका आयोजनाका रकम फिर्ता हुन लागेको छ । राष्ट्रिय गौरवको पुष्पलाल राजमार्गमा चालु आर्थिक वर्षमा कुल विनियोजित बजेटको ३६.४ प्रतिशत खर्च भएको छ । यो वर्ष उक्त आयोजनाका लागि ११ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । तर हालसम्म ४ अर्ब ३५ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । यो आयोजनाको करिब ७ अर्ब ६० करोड ५१ लाख रुपैयाँ फिर्ता हुने अवस्था आएको छ। यस्तै राष्ट्रिय गौरबको मदन भण्डारी राजमार्गमा २ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ। चालु आबमा मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ विनियोजन भएकोमा जम्मा ५९.६ प्रतिशत रकम खर्च भएको छ । यो आयोजनाको करिब १ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ फिर्ता गर्नुपर्नेछ । राष्ट्रिय गौरवकै हुलाकी राजमार्गमा ५ अर्ब १७ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ । चालु आबमा यसको लागि १३ अर्ब ५० करोड ८ लाख रुपैयाँ विनियोजन भएकोमा जम्मा ३८.३ प्रतिशत खर्च भएको छ। हुलाकी आयोजनाको करिब ८ अर्ब ३२ करोड २० लाख रुपैयाँ फिर्ता हुने अवस्था छ । यसबाहेक अन्य स साना राष्ट्रिय गौरव आयोजनाको पनि ठूलो रकम फिर्ता हुन लागेको छ । आर्थिक वर्ष सुरु भए लगत्तै ठेक्का लगाउन नसकिँदा पुँजीगत खर्च गर्ने क्षमता कमजोर भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले बताए । ‘विगतका वर्षमा बजेट ढिलो आउँथ्यो, अहिले जेठ १५ गते नै आउन थालेको छ,’, पूर्वसचिव सिटौलाले भने, ‘ठेक्काको पूर्वतयारीका लागि आयोजनासँग ४५ दिनको समय हुन्छ।’ उक्त समयको सदुपयोग गर्न नसक्दा पुँजीगत खर्च कम देखिएको उनले बताए । राष्ट्रिय गौरवकै आयोजना उत्तर-दक्षिण राजमार्ग -कर्णाली, कालीगण्डकी र कोसीका लागि विनियोजित बजेटको ६० प्रतिशत रकम खर्च भएको छ । उत्तर-दक्षिण राजमार्गका लागि चालु आवमा ३ अर्ब ५६ करोड ८० लाख रुपैयाँ विनियोजन भएको थियो । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी सडक आयोजनामा कुल विनियोजित बजेटको ५२ प्रतिशत रकम खर्च भएको छ । यो आयोजनाका लागि चालु आर्थिक वर्षमा १ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कुल विनियोजित बजेटको ६४.२ प्रतिशत रकम खर्च गरेको छ । यो आयोजनाका लागि २ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ विनियोजन भएको छ । औद्योगिक करिडोर विस्तार आयोजनाले कुल विनियोजित रकमको ६०.७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षमा यो आयोजनाका लागि ५ अर्ब ५४ करोड ९० लाख रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्षको अन्त्यतिर काम गर्ने परिपाटी अन्त्य नभएसम्म पुँजीगत खर्च अपेक्षाकृत वृद्धि नहुने सिटौलाको भनाइ छ । यसका लागि सार्वजनिक खरिद ऐन सम्बोधन गरेर असारमा भुक्तानी नदिने वा १० प्रतिशतभन्दा थोरै भुक्तानी दिन नहुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । सडक विभागमा पनि बेहाल सडक विभागका उपमहानिर्देशक सापकोटाका अनुसार चालु आर्थिक वर्षमा सडक विभागका लागि १ खर्ब २७ अर्ब रुपैयाँ विनियोेजन भएको थियो । यसमध्ये असार १५ गतेसम्म ४७ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । कुल विनियोजित बजेटको करिब ३७ प्रतिशत मात्र खर्च भएको छ। बाँकी रकम फिर्ता हुने अवस्था आएको सापकोटाले जानकारी दिए । सडक आयोजनाको बजेट र खर्च अवस्था (स्राेत: अन्नपूर्णपाेस्ट)
खानेपानीको शुद्धता नाप्ने प्रयोगशाला स्थापना
डडेल्धुरा । जिल्लाको अजयमेरु गाउँपालिकामा खानेपानीको शुद्धता परीक्षण गर्ने प्रयोगशाला स्थापना भएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामै प्रयोगशाला स्थापना भएकाले अब धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाचँ गर्न पठाउनु पर्ने समस्या टरेको बताए । पानीमा धमिलोपन, रासायनिक पदार्थको मात्रा, दिसाजन्य पदार्थ भए नभएको र क्लोरिनको मात्रा प्रयोगशालामा जाँच गरिने छ । प्रयोगशालाको स्थापनाबाट दूषित खानेपानीका कारण बेलाबेलामा हुने झाडापखाला, आउँ र हैजाजस्ता रोगबाट बच्न सकिने गाउँपालिकाले जनाएको छ । रासस
भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै ५ सय पीडित
जाजरकोट । गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५ सयभन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् । ठेकेदारले स्वीकृत कोटा १ हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरिभराउ चामल छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरे पनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाइ छ । “बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन”, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले भने । एक महिनादेखि रित्तो रहेको डिपोमा चामल लिन आएका सर्वसाधारण पनि रित्तो हात फर्केका छन् । विद्यालय तथा पाल हालेर खुलाचौरमा ज्यान जोगाउन बसेका सर्वसाधारण आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा भोकै बस्नुपरेको बारेकोट गाउँपालिका–५ का मोहनजङ्ग शाहीले बताए । पहिरो गएको चार दिनपछि राहत लिन छलफल पहिरो गएको चार दिनसम्म वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा ल्याएको २ हजार ३ सय किलो राहतबाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणको गुनासो छ । मन्त्री बस्नेतको पहलमा उपलब्ध भएको सो राहतले केही समस्या टरेको छ । चार दिनपछि सदमुकाम खलङ्गामा विपद् व्यवस्थापन समितिको बैठक बसी राहत सामग्री ल्याउने विषयमा छलफल भएको छ । गाउँगाउँमा सर्वसाधारण बाँच्नका लागि जङ्गलमा पाल टाँगेर आधा शरीर भिज्दै बसिरहेका बेला सदरमुकाममा भने बल्ल चार दिनपछि सामान्य छलफल शुरु भएको हो । बारेकोट–४ सार्कीटोलमा खानेपानीदेखि ओतिने त्रिपालसम्म नहुँदा एउटै पालमा १५ जनाभन्दा बढी बस्नुपरेको स्थानीय कालीबहादुर सार्कीले बताउनुभयो । प्रदेश सरकारले राहतका लागि कुनै पनि पहल नगरेको गाउँपालिकाले जनाएको छ । तीन तहका सरकारले ५ सय नागरिकलाई ओतलाग्नेसम्मको व्यवस्थापन गर्न नसक्नु दुर्भाग्य भएको सर्वसाधारणको भनाइ छ । विद्यालयको भुइँ कोठामा मानिस खाँदिएर बस्दा बिरामीसमेत पर्न थालेको रमित सार्कीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहदेखि वडाध्यक्षसम्म विस्थापित भएका छन् । बाटो भत्किएका कारण राहत सामग्री ल्याउन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए । कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुने अवस्था सिर्जना भएका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्नका लागि पहल शुरु भएको छ । घरमा भएको अन्नसमेत खान पाइएन खोलामा भएको पानीघट्ट सबै बग्दा घरमा भएको अन्नसमेत पिसेर खान नपाएको सर्वसाधारणले गुनासो गरेका छन् । “डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन, कसरी बाँच्नु रु” बारेकोट–५ का ६१ वर्षीय जनक शाहीले भने । यता जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले नेपाल रेडक्रस सोसाइटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी आज पठाउने तयारी भएको प्रजिअ पन्तले बताए । खाद्यान्न पठाउनका लागि कुनै पहलसमेत भएको छैन । बारेकोट बर्सेनि यही समयमा खाद्यान्न अभाव हुने ठाउँ हो । बारेकोट–४ मा एक र वडा नं ६ मा दुई बेपत्ताहरु अझै फर्केका छैनन् । सेना र सशस्त्र प्रहरी उद्धारकार्य स्थानीय प्रहरीलाई जिम्मा दिँदै सोमबार सदरमुकाम फर्किएको छ । रासस