कोभिड-१९ रोकथाम कोषमा सूर्य नेपालको १ करोड सहयाेग
चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले १ करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमा रहेको ठूलो प्रालिले कोभिड– १९ रोकथामका लागि दिएको सबैभन्दा ठूलो आर्थिक सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोभिड–१९ को रोकथामका लागि सरकारको कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व वहन गरिएको स्पष्ट गरे । प्रदेश कोभिड रोकथाम कोषमा हालसम्म रु ३३ करोड तीन लाख १२ हजार ३९८ जम्मा र रु १८ करोड ५४ लाख ६६ हजार ५०० खर्च भएको प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए । उनका अनुसार कोषमा हाल रु १४ करोड ४८ लाख ४५ हजार ८९८ मौज्दात छ ।
चन्द्र ढकाल समूहका पदाधिकारीकाे उम्मेदवारी घाेषणा, वरिष्ठ उपाध्यक्षकाे मर्म मारेकाे भन्दै गाेल्छाकाे आलोचना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि उम्मेदवारी घाेषणा गरेका चन्द्रप्रसाद ढकाल समूहका चारै जनाले व्यवसायीको हक हितका लागि अगाडि बढ्ने प्रतिवद्धता गरेका छन् । मंगलबार महासंघको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै चारै जनाले आफूहरुको उम्मेदवारी महासंघको सम्पूर्ण उद्योगी वयवसायीका समस्या सरकार समक्ष राखी समस्याको समाधानतर्फ अगाडि बढ्नका लागि भएकाे बताएका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफूले सबै वयवसायीका समस्या र चुनौतीहरु बुझेको र व्यवसायीहरुसँग नै खेले हुर्केको हुनाले आफूहरुलाई सबैले विश्वास गर्नेमा विशवस्त भएको बताए । ‘हाम्रो पनि विगत हेर्नु्होस्, हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौ, म आज तपाईंहरुलाई फेरी विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं । हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तिमा हाम्रो टीमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टीमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो,’ उनले भने । ‘हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ,’ ढकालले भने । यस्तै, ढकालकै समूहबाट वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले ढकाल नेतृत्वको समूहको कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नाे समूह संस्थागत विकास र उद्योगी व्यवसायीका समस्याहरुलाई लिएर सरकारसँग लविङ गर्न सक्ने क्षमता भएको बताए । ‘हामीले उद्योगी व्यवसायीहरुका पिरमर्का बुझेका छौं, हामीलाई महासंघमा आउनको लागि कुनै निजी स्वार्थ छैन, अन्तिममा सबैले भन्ने पैसा नै हो, त्यो हामीलाई पुगिसकेको छ,’ उनले भने । आफूहरुले पैसाका लागि नभई संस्थागत विकासका लागि नेतृत्वमा आउन खोजेको उनको भनाई छ । ‘पैसाकै कुरा गर्ने हो भने चन्द्र ढकाललाई पुगिसकेको छ, उहाँलाई पैसाको कमि छैन, रामचन्द्र संघईलाई पनि त्यसको आवश्यक छैन, नेपालमै व्यापार स्थापित गर्ने घरानाको मान्छे उहाँ हो, गुणनिधी तिवारीलाई पैसाको समस्या छैन, त्यसाे भए चारै जनालाई अरु के चाहियो र ? हामीलाई केबल चाहिएको संस्थागत विकास र व्यवसायीहरुका समस्या समाधान हो,’ उनले भने । आफूहरुलाई कुनै पनि व्यक्तिगत स्वार्थ नभएको उनको भनाई छ । धेरैले ढकाल समूहमा पूर्व अध्यक्ष एक जना मात्र भएको तर्क गरेको सुनेको भन्दै उनले राम्रो मान्छे एक जना पनि प्रशस्त हुने धारणा राखे । ‘तैँले ३ वर्ष उपाध्यक्ष भएर के गरिस् पनि भन्लान् तर नेतृत्व कमजोर भएपछि हाम्रो केही लाग्ने रहेछन, अब हाम्रो यो टीमलाई जिताउनुस्, हामी अबको ३ वर्षमा हामीबाट हुन सक्ने काम गरेरै देखाउने छौं,’ श्रेष्ठले भने । यस्तै, जिल्ला नगर उपाध्यक्षमा उम्मेदवारी दिएका गुणनीधि तिवारीले आफ्नो समूहले बोलीभन्दा पनि कामबाट देखाउने बताएका छन् । सबै व्यवसायीहरुका समस्या समाधानका लागि यो टीम आवश्यक रहेकोले तीन वर्षमा महासंघमा सिस्टममा काम गर्ने वातावरण सिर्जना गर्ने उनको भनाई छ । यस्तै, एसोटियट उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले पनि आफूहरुलाई विश्वास दिलाएर काम गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । ‘विश्वास दिलाउनु्, हामी परिणाम देखाउनेछौं, उनले भने । शेखर गोल्छाको आलोचना महासंघको निर्वाचनका लागि वर्तवान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष शेखर गोल्छा खुलेर लागेको भन्दै आलोचना भएका छ । ढकालको उम्मेदवारी घोषणा कार्यक्रमममा बोल्ने सबैले प्रत्यक्ष अर्थात अप्रत्यक्ष रुपमा गोल्छाको आलोचना गरेका हुन् । निर्वाचनका लागि चन्द्र ढकाल र किशोर प्रधान नेतृत्वको समूह दुई धारमा विभाजित भएको छ । स्वतः अध्यक्ष बन्ने व्यक्तिले एक धार पक्रेर अगाडि बढ्न उचित नहुने धेरैको तर्क थियो । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले गोल्छालाई आफूले लगाएको गुण बिर्सिएको समेत बताएका छन् । महासंघमा धेरै प्रतिनिधिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउनु हुँदैन भनिरहेको अवस्थामा गोल्छालाई अध्यक्ष बनाउनकै लागि आफूले धेरै लविङ गरेको उनको धारणा छ । उनले भनेका छन्, ‘शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु, हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ? त्यो के का लागि ?’ ‘आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन भनेर कसले लविङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छु,’ ढकालले भने। उनी मात्र होइन सभामा बोल्ने सबै वक्ताले गोल्छाको आलोचना गरेका थिए । गोल्छा उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी नभए पनि जुमबाट भने उनी देखिएका थिए ।
स्याङ्जामा पहिरोमा परेर १ काे मृत्यु, तीन बेपत्ता
स्याङ्जा । कालीगण्डकी गाउँपालिका–४ खहरेमा पहिरोमा परेर ६५ वर्षीय इमानसिंह रानाको मृत्युु भएको छ । बाटोमा हिँडिरहेको अवस्थामा माथिबाट गएको पहिरोले थापासहित पाँच जनालाई पुरेको थियो भने एकजना भागेर ज्यान जोगाएका छन् । तीनजना अझै पहिरोमा परेर बेपत्ता भएको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका ६५ वर्षीय इमानसिंह रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमा वडा नं ४ का ६८ वर्षीय होमनाथ पाण्डे र सोही वडाका ५५ वर्षीय वीरबहादुर रानाको बिर्घा स्वास्थ्य चौकीमा उपचार तथा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । खोलामा आएको बाढिले धार परिवर्तन गर्दा चार घर विस्थापित हुने अवस्था आएकाले विस्थापित परिवारलाई राख्ने स्थानका बोरमा खोजी भइरहेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।
हिमालय एयरलाइन्सले नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयको उडान तालिकाअनुरुप जुलाई १५ मा अबुधाबी र यूएई समान एक उडान गर्नेछ भने जुलाई १८ मा पनि सोही गन्तब्यमा एक उडान हुनेछ । जुलाई १६ र २० गते साउदी अरेबियाको रियादमा एक–एक उडान गर्ने हिमालयको तालिका छ । त्यस्तै जुलाई १६ मा दमाममा दुई र जुलाई २० मा एक उडान हुने जनाइएको छ । बहराइनको मनामामा जुलाई १७ मा एक उडान गर्ने हिमालयले जुलाई १७, १८ र २० तारिखमा कतारको दोहामा समान एक उडन गर्ने कम्पनीले उल्लेख गरेको छ । मलेसियाको क्वालालम्पुरमा जुलाई १९ तारिखमा दुई उडान हुने र सोही गन्तव्यमा जुलाई २१ मा दुई उडान हुने हिमालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड उडान हुने कम्पनीले जनाएको छ । यात्रुले पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ रहेको प्रमाण बुकिङको समयमा अनिवार्य पेश गर्नुपर्नेछ । यात्रु नेपाल आइसकेपछि सरकारको निर्णयअनुसार अनिवार्य क्वारेन्टिनमा रहनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सको जुलाई १५ देखि २२ सम्म सञ्चालन हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरिसकेको छ । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ । हिमालयको १५ भन्दा बढी चार्टर्ड उडान हुनेछ । सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्ने जनाइएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा पुनः ज्योति प्रकाश पाण्डे
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् । असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पाण्डेलाई थप एक कार्यकालको लागि दोहोर्याएको हो । पाण्डेको वर्तमान कार्यकाल असार ३० गतेदेखि सकिँदै थियाे । साे कार्यकाल समाप्त भएपछि बैंकले उनलाई साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरेकाे हाे । यससँगै उनले आगामी ४ वर्ष अर्थात २०८१ सालसम्म यस बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।
सवारी अनुमति पत्र वितरण बन्द
काठमाडौं । काेभिड-१९ काे जाेखिम बढेकाे भन्दै यातयात व्यवस्था कार्यलय ललितपुरले सवारी अनुमति पत्र वितरण बन्द गरेकाे छ । मंगलबार सुचना जारी गर्दै कार्यलयले अर्का सुचना जारी नभएसम्मकाे लागि पत्र वितरण बन्द गरेकाे जनाएकाे छ । सुचनामा भनिएकाे छ, ‘यस कार्यलयबाट वितरण भईरहेकाे सवारी चालक अनुमति पत्र काेभिड-१९ काे यस क्षेत्रमा उच्च जाेखिम रहेकाे तथा सङ्क्रमण बढ्दै गईरहेकाे हुँदा सवारीचालक अनुमति पत्र मिति २०७७/३/३० देखि अर्काे सुचना नभएसम्मकाे लागि वितरण कार्य स्थगित गरिएकाे व्यहाेरा सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सुचना प्रकाशन गरिएकाे छ । ‘
प्राइम लाइफको साधारणसभा सम्पन्न, सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर
काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सो साधारणसभाबाट आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु पारित गरेको हो । कम्पनीको चुक्तापुँजी २ अर्ब ७९ लाख रहेको छ । चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । कम्पनीले उक्त बोनश सेयर वितरण गरे पश्चात कम्पनीको चूक्तापूजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने भएको छ ।
काठमाडाैं उपत्यकामा थपिए २ जना कोरोना संक्रमित
काठमाडाैं । काठमाडौं उपत्यकामा २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा २ जना कोरोना संक्रमित थपिएकाे बताए । संक्रमितहरु काठमाडाैंकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे संख्या ३ सय ५८ पुगेकाे छ जसमा काठमाडाैंकाे २ सय ३७, ललितपुरकाे ७६ र भक्तपुरकाे ४५ जना रहकाे छन् । बुधबार नेपालमा १ सय १६ जना काेराेना संक्रमित थपिएका छन् भने ३४ जना संक्रमित निकाे भएर घर फर्किएका छन् । नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ६१ पुगेकाे छ भने कुल निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जको मृत्यु भइसकेकाे छ ।