नेपालमा थप १ सय १६ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या १७ हजार नाघ्याे
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा यता थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोराेना भाइरस देखिएको बताए । आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच÷पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन/तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई÷दुई सङ्क्रमित फेला परेका छन् । यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक÷एक जना सङ्क्रमित भेटिएको गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या १७ हजार ६१ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या १० हजार ३ सय २८ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण ३८ जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म २ लाख ९३ हजार ७ सय ३९ काे पिसिआर विधि र ३ लाख १२ हजार ४ सय २ जनाकाे आरडिटीबाट परीक्षण भएकाे छ । हाल देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् भने ६ हजार ६ सय ९५ जना आईसाेलेसनमा रहेका छन् ।
घुम्दै सलहको विखण्डित झुण्ड: उत्पादनमै क्षति हुने गरी असर गरेको छैन
काठमाडौं । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो पटक रौतहट हुँदै नेपाल पसेको सलह कहिले पूर्वी जिल्ला त कहिले पश्चिम जिल्लाबाट प्रवेश गरिरहेको छ । नेपालमा त्यसले उत्पादन मै असर गर्ने गरी ठूलो क्षति पु¥याउन नसकेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भने, “केही ठाउँमा सामान्य क्षति गराएको भएपछि उत्पादन मै असर गर्नै गरी क्षति पु¥याएको छैन, मुख्य गरी हामीलाई मौसमले साथ दियो, त्यसपछि किसान आफैँ सक्रिय भएर धेरैबेर अडिन दिएका छैनन्, त्यसैले बालीनाली जोगिएको छ ।” किसानले विभिन्न उपाए अपनाएर बालीमा पाँच मिनेट पनि बस्न नदिएकाले क्षति हुनबाट रोकिएको छ । त्यसपछि मौसम सक्रिय हुँदा सलह सक्रिय हुन पाएको छैन । ठूलो क्षति नभए पनि के कस्तो क्षति बनाएको छ भनेर विवरण सङ्कलनको काम जारी रहेको केन्द्रले जनाएको छ । यसपटक सबै स्थानीय तह कृषि प्राविधिक र केन्द्रको समन्वयमा सूचना प्रणालीलाई व्यवस्थित गर्दा पनि बेलैमा सावधानी अपनाउन सकिएको हो । शुरुको समयमा झण्डै ८० देखि ९० लाखको हाराहारीको फरकफरक झुण्ड नेपालमा आएको थियो । त्यो छिन्नभिन्न भएर सानासाना झुण्डमा परिणत भयो । मौसम अनुकूल नहुँदा कति मरेर गए भने झुण्ड टुक्रिँदै जाँदा प्रभावहिन बन्न पुग्यो । पहिलो चरणमा आएको केही विखण्डित झुण्ड अझै पनि विभिन्न जिल्लामा सक्रिय छ । हिमाली जिल्ला प्रवेश गरेको झुण्ड भने मरेका छन् । अहिले घुमिरेहका झुण्ड भने कमजोर खालको छ । पछिल्लो पटक आइतबार भारतको बहराइच र सीतापुरबाट विखण्डित सलहको समूह नेपाल प्रवेश गरेको थियो । नेपालमा दाङ जिल्लाबाट प्रवेश गरेको उक्त केही हजारको झुण्ड प्यूठानको माण्डवी र झिमरुक गाउँपालिका तथा प्यूठान र स्वर्गद्वारी नगरपालिकाको आसपासका क्षेत्रमा आश्रय लिएर बसेको थियो । अहिले उक्त भुण्ड कहिले आकाशमा घुम्ने, कहिले जङ्गलमा बस्ने र कहिले किसानका खेतमा आउने गरिरहेको छ । केही रोल्पा मोडिएको छ । बालीमा बस्न लागेको अवस्थामा कृषक तथा समुदायबाट विभिन्न अवरोध सिर्जना गरी बस्न नदिएपछि उत्तर–पश्चिमतर्फ लागेको केन्द्रले जनाएको छ । त्यसका केही समूह भने प्यूठानमै पनि रहेको छ । सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा लगाएर प्यूठानका किसानले खेतबाट सलह धपाएका थिए । भारततर्फको सिमावर्ती क्षेत्रामा रहेको करिब १० हजारको एउटा झुण्ड नपलपरासीको त्रिवेणी गाउँपालिकाबाट प्रवेश गरेको थियो । अहिले त्यो झुण्ड जङ्गलमा आश्रय लिई धानखेतमा आउने जाने गरिरहेको छ । हाल वर्षात् भइरहेकाले खासै नोक्सानी गर्न नसकेको विज्ञले बताएका छन् । कीटविज्ञ तथा सलह अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य समुन्द्रलाल जोशी नेपालमा सलहले खासै क्षति पु¥याउन नसकेको बताउँछन् । “जसरी क्षति गर्नुपथ्र्याे सकेको छैन, एक त लगातार पानी परिरहेको छ, अर्काे किसानले अवरोध गरिरहेका छन्, धेरै समय खेतीबालीमा बस्न नपाउँदा क्षति रोक्न सकिएको छ”, जोशीले भने । उनले अहिलेसम्म ५४ जिल्लामा सलह देखिइसकेको बताए । शुरुमा असार १३ देखि १६ सम्ममा प्रवेश गरेकामध्ये छरिएर गएका सानो सङ्ख्याका सलहले अझै बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोटलगायतका जिल्लामा आफ्नो उपस्थिति देखाइरहेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ को दक्षिण पश्चिम र अन्य भागमा दक्षिण पूर्वी वायुको प्रभाव रहेकोले नेपाल छिरेको थियो । आज सुदूरपश्चिममा दक्षिण–पूर्वी र अन्य स्थानमा पूर्वी वायुको प्रभाव रहेको छ । बुधबारदेखि भने दक्षिण–पूर्वी तथा पूर्वी वायुको प्रभाव रहने पूर्वानुमान गरिएको छ । आज र भोलि जति प्रवेश गर्छ, त्यसपछि केही दिन प्रवेश गर्ने सम्भावना नरहेको केन्द्रका प्रवक्ता सुवेदीले बताए । अबको दुई दिन भने भारतको सीमावर्ती क्षेत्रमा छरिएर रहेका केही झुण्ड सलह अझै पनि दाङदेखि नवलपुरसम्मका क्षेत्रमा दक्षिण–पश्चिमी वायुको सहारामा नेपालमा प्रवेश गर्ने सम्भावना रहेकाले केन्द्रले तराई क्षेत्र तथा तल्लो पहाडी क्षेत्रमा सजग हुन अनुरोध गरेको छ । नेपालमा सोमबार प्रवेश गरिसकेका सलहको हकमा वायुको सहारामा उत्तर–पश्चिमतर्फ अगाडि बढ्न सक्ने सम्भावना देखिएको छ । यस्तै भारतको लखनउको आसपासमा रहेको सलहको झुण्डबाट टुक्रिएर आएका केही सलह पर्सा, धनुषा, महोत्तरी तथा सर्लाही र आसपासका क्षेत्रबाट नेपालभित्र प्रवेश गर्नसक्ने सम्भावना रहेकोले निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारीमा रहनसमेत सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ ।
सिकलसेल एनिमियाका बिरामी बढे
नारायणपुर । जिल्लामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ३३९ पुगेको छ । नियमित औषधि सेवन गरिरहेका १६९ जना घोराही उपमहानगरपालिकामा गत वर्ष गरिएको परीक्षणमा ५२ जना र दङ्गीशरण गाउँपालिकामा गरिएको परीक्षणमा ११८ जनामा पोजेटिभ देखीएपछि सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या बढेको हो । दङ्गीशरण गाउँपालिकामा शनिबार र आइतबार गरी ७१५ थारु समुदायका नागरिकले स्वास्थ्य परीक्षण गरेका थिए । शनिबार गरिएको परीक्षणमा ७८ जनामा सिकलसेल देखा परेको थियो भने आइतबार गरिएको परीक्षणमा ४० जनामा देखिएको हो । सोमबार दङ्गीशरणको १ र २ नम्बर वडामा शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत थारु समुदायको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिँदै सिकलसेल एनिमिया स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । दाङमा सिकलसेल एनिमियाका बिरामी बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मानव रगतमा पाइने रातो रक्तकणिकाको स्वरूप विकृत भएपछि सिकलसेल एनिमिया रोग लाग्ने गर्दछ । नेपालमा विशेष गरेर थारु समुदायमा देखापरेको यो रोग दाङमा भने एकजना गैह्रथारु समुदायका मानिसमा समेत देखापरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारले सिकलसेल रोगको उपचारका लागि एक लाखसम्मको रकम सुविधा उपलब्ध गराउँदै आएको छ । जसका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट दाङ जिल्लाको हकमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा लिन सकिने व्यवस्था गरेको छ । दाङमा यसका कुनै रोगीको मृत्यु भएको तथ्याङ्क भने जिल्ला स्वास्थ्य कार्यालयसँग नभएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले दिए । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको आँकलनअनुसार विश्वभरिमा करिब पाँच प्रतिशत व्यक्तिले सिकलसेल रोगको जीवाणु बोकेका छन् । वर्षेनी जन्मिएका तीन लाख बालबालिकामा हेमोग्लोबिनको मात्रा कम हुने गर्दछ । सिकलसेल एनिमिया रोग भएका बुबाआमाबाट जन्मिएका २५ प्रतिशत सन्तानमा यो रोग लाग्ने सम्भावना हुने गर्दछ । सिकलसेल एनिमिया विशेष गरी वंशाणुगतरुपमा मात्र देखापर्ने रोग हो तर अहिले अन्य समुदायमा पनि यो रोग देखापर्न थालेको राप्ति अञ्चल अस्पताल तुलसीपुरका कन्सल्टेन्ट फिजिसियन डाक्टर मीनचन्द्र अधिकारी बताउँछन् । सिकलसेल एनिमियाको रोकथाम मात्र गर्न सकिने डा अधिकारीले बताए । यो समस्याले ग्रस्त मानिसमा रगतको कमी हुने हुँदा उनीहरू कमजोर भएर बारम्बार विभिन्न रोगको सङ्क्रमणमा पर्ने गर्दछन् । सिकलसेल रोगलाई छिट्टै उपचार गर्न ग्रामीण महिला उत्थान केन्द्रले सचेतनाका काम गरिरहेको संस्थाका अध्यक्ष आशमानी चौधरीले जानकारी दिए ।
सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: क्षेत्री
काठमाडौ । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंखु क्षेत्री नियुक्त भएका छन् । हाल सोही कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका क्षेत्रीको पुन: ४ वर्षको लागि कार्यकाल थपिएको हो । कम्पनी संचालक समितिले क्षेत्रीलाई अर्काे एक कार्यकालको लागि नियुक्त गरेको हो । क्षेत्री नेपाल बीमक संघका महासचिवप नि हुन् । निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीहरु माझ सगरमाथा इन्स्योरेन्स कम्पनी चर्चित कम्पनी हो । बीमा क्षेत्रका केही परिसुचकहरुमध्येमा सगरमाथा इन्स्योरेन्स केहीमा पहिलो तथा केहीमा दोस्रो स्थानमा छ । कम्पनी संचालक समिति बैठकले गत जेठ २२ गते उनलाई अर्काे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सहमतिको लागि बीमा समितिमा पत्राचार गरेको थियो । समितिले असार १७ गते स्वीकृति दिएपछि संचालक समितिको अर्काे बैठक असार २५ गते बसेर उनलाई थप एक कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनीसँग बीमा क्षेत्रमा २ दशक भन्दाबढी समयको अनुभव छ । सगरमाथा इन्स्योरेन्स कम्पनीमा आउनु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योेरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका छन् ।
जोरपाटी–सुन्दरीजल सडक मङ्सिरसम्ममा बन्ने
काठमाडौं । जोरपाटी–सुन्दरीजल सडक आगामी मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । विस्तारको क्रममा रहेको सडक उपलब्ध चौडाइमै कालोपत्र गर्न लागिएको हो । लामो समयदेखि तोकिएको मापदण्ड २२ मिटर कायम गर्नका लागि प्रयास भए पनि नसकिएपछि अहिलेकै अवस्थामा कालोपत्र गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा उपलब्ध चौडाइमै कालोपत्र गर्दा कतै १२ मिटर त कतै २० मिटरसम्म कायम हुने आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिए । सरकारले केही समय पहिले मात्रै काठमाडौँ उपत्यका विस्तारका क्रममा रहेका सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । उनले भने, “सोही निर्णयका आधारमा कालोपत्र गर्न लागिएको हो ।” सडक विस्तारकै लागि आयोजनाले बन्दाबन्दी समयमा समेत आवश्यक तयारीको काम गरिरहेको थियो । यहाँ रहेका ६७ रुख हटाइएको आयोजनाले जनाएको छ । अत्तरखेलमा रहेका झण्डै १५० घर हटाउन नसकिने हुनाले त्यस क्षेत्रमा सडकको चौडाइ कम हुने आयोजना प्रमुख अधिकारीले बताए । उनले भने, “जुन ठाउँमा जति उपलब्ध छ त्यति गर्दा कतै बढी र कतै कम हुने देखिन्छ ।” विस्तारका क्रममा रहेको सडकमा मर्मतसमेत नहुँदा स्थानीयवासी हैरानी भोग्दै आएका थिए । सडकमा खाल्डोका कारण वर्षाको समयमा आवतजावतमा कठिनाइ भएको स्थानीयवासी बताएका छन् ।
जाडोयाममा काेराेनाकाे महामारी ‘झन् खतरनाक हुनसक्ने’
काठमाडौं । बेलायतमा आगामी जाडोयाममा आउने कोरोना भाइरस महामारीको दोस्रो लहरमा थप १ लाख २० हजार मानिसको ज्यान जान सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । वस्तुपरक प्रक्षेपण गर्दा कस्तो देखिन्छ भनेर हेर्दा उनीहरूले करिब २५ हजारदेखि अढाइ लाखसम्मको अस्पतालमा मृत्यु हुनसक्ने अनुमान गरेका छन् । त्यतिखेर महामारी उत्कर्ष ज्यानुअरी तथा फेब्रुअरीमा पुग्ने ठानिएको छ । हालसम्म यूकेमा ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको तथ्याङ्क छ । तर वैज्ञानिकहरूले गरेको अनुमानमा लकडाउनको प्रभाव वा उपचार वा खोपको उपलब्धताबारे हिसाब गरिएको छैन । जोखिम घट्न पनि सक्छ अनि वैज्ञानिकहरूले भनेका छन्, ‘तत्काल कदमहरू चालिएमा यो जोखिम घट्न सक्छ ।’ यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालान्सको अनुरोधमा तयार पारिएको प्रतिवेदनमा जाडोयाममा कोरोना भाइरसले कस्तो व्यवहार देखाउला भन्ने विषयमा अझै धेरै अनिश्चय रहेको पनि उल्लेख छ । तर अनुसन्धानहरूमा चिसो हावापानीमा भाइरस लामो समय बाँच्न सक्ने र थप सङ्क्रमण हुन सक्ने देखिन्छ किनभने त्यतिखेर धेरै मानिस घरभित्रै लामो समय बस्छन् । त्यसमाथि सो याममा अरू मौसमी रुघाखोकीको पनि प्रकोप हुनसक्ने अनि अहिले महामारीका कारण उपचार हुन नपाएका कैयौँ मामिलाको पनि बाँकी रहेका बोझ हुने हुनाले स्वास्थ्य सेवामा अधिक चाप पर्न सक्ने चिन्ता विज्ञहरूको छ । सो प्रतिवेदनका अनुसार अहिले नै महामारीको पहिलो लहरका कारण अन्य बिमारीका उपचार पाउन प्रतीक्षारतहरूको सूची लामो भइसकेको छ र यो वर्षको अन्त्यसम्म त्यो एक करोडजति पुग्न सक्छ । प्रतिवेदनको अर्थ के हो ? यो प्रतिवेदनले आफ्नो अनुमानमा धेरै अनिश्चयता रहेको प्रष्ट पारेको छ । यो यसै हुन्छ भन्ने भविष्यवाणीभन्दा पनि यसो हुन सक्छ भन्ने अनुमान मात्र हो । यस्ता अनुमान सधैँ वास्तविकतासँग मेल नखान पनि सक्छन्। किनभने कुनै पनि तत्त्वमा आउने थोरै परिवर्तनले पनि परिणाम भिन्न हुनसक्छ । समग्रमा सन्देश के हो भने – खराब अवस्थाका निम्ति तयार होऊ तर उत्तम अवस्थाको आशा पनि गर । के गर्मी महिनामा कोरोना भाइरस महामारी कम होला ? हाल यूकेमा कोरोना भाइरसका मामिला तथा त्यसबाट भएका मृत्युको सङ्ख्या घटेको छ । विज्ञहरूले यही मौकामा जाडोयाम तथा दोस्रो लहरका निम्ति तयारी गर्नुपर्ने सुझाव दिएका छन् । प्रतिवेदनले दिएका सुझावहरू उक्त प्रतिवेदन बनाउने टोलीका प्रमुख प्राध्यापक स्टीभन होल्गेटले यसलाई भविष्यवाणी नभई सम्भावना मान्न सुझाव दिएका छन् । ‘हामीले तत्काल कदमहरू चाल्यौं भने यस्तो हुने सम्भावना कम हुन्छ’ उनले भने । उक्त प्रतिवेदनले दिएका केही सुझाव यस्ता छन् : परीक्षण तथा सम्पर्क पहिचानको कार्यक्रमको क्षमता अभिवृद्धि गर्ने ताकि कोरोना भाइरस, फ्लू तथा अन्य जाडोयाममा देखापर्ने सङ्क्रमणहरूको लक्षण खुट्ट्याउन सकियोस् फ्लूको खोप धेरैभन्दा धेरै मानिसलाई उपलब्ध गराउने अस्पताल तथा स्याहार गृहहरूमा पर्याप्त पीपीई वा स्वास्थ्य सुरक्षाका पोशाक उपलब्ध गराउने अस्पतालहरू तथा स्याहार गृहहरूमा सङ्क्रमण रोक्न कोरोनाभाइरस मुक्त क्षेत्रको स्थापना गर्ने (स्राेत: बीबीसी)
शेखर गोल्छालाई अध्यक्ष बनाउन मैले धेरै लबिङ गरेंः चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघ अध्यक्ष बनाउन आफूले धेरै लविङ गरेको बताएका छन् । गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानको प्रावधानमाथि नै प्रश्न उठेको भन्दै उनले गोल्छालाई जसरी पनि अध्यक्ष बनाउनु पर्छ भनेर आफूले लविङ गरेको बताए । महासंघको आगामी साउन २६ र २७ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले आफ्नो टीमसहितको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा ढकाल र किशोर प्रधान प्रतिस्पर्धा गर्दैछन् । गोल्छाले यो निर्वाचनमा प्रधानलाई सहयोग गरेका छन् । यही प्रसंगमा ढकालले गोल्छालाई अध्यक्ष बनाउन आफूले सहयोग गरेको प्रसंग सुनाएका हुन् । यद्यपि महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । विधानको सो व्यवस्था हटाउन विधान संशोधन गर्ने गृहकार्य पनि भएको थियो । ढकालले सोही प्रसंग कोट्याएका हुन् । ‘धेरै साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउनुहुन्न भन्ने प्रस्ताव गरेका थिए, शेखर गोल्छालाई अध्यक्ष बनाउनकै लागि सो प्रस्तावको विरुद्धमा मैले लबिङ गरें, डटेर लागें,’ ढकालले भने । ढकालको उम्मेदवारी घोषणासभामा गोल्छा गएका छैनन् । प्रधानको उम्मेदवारी घोषणासभामा भने गोल्छा गएका थिए । आफ्नो घोषणासभामा गोल्छा नआएका र आफ्ना प्रतिस्पर्धी प्रधानलाई खुल्लमखुल्ला सहयोग गरेपछि ढकालले यस्तो बताएका हुन् । महासंघको निर्वाचनपछि गोल्छा स्वतः अध्यक्ष हुँदैछन् । यस्ताे छ ढकालले राखेकाे वक्तव्य: आजको यस कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष, उपाध्यक्षहरु, पूर्वअध्यक्षज्यूहरु, पदाधिकारी मित्रहरु, विभिन्न जिल्ला्नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, महासंघका सदस्य साथीहरु, उपस्थित निजी क्षेत्रका साथी तथा पत्रकार मित्रहरु । विश्वभर कोरोना भाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ जे गर्न गैरहेका छौं त्यो चार महिना अघि गर्दथ्यौं । तर दुर्भाग्य कोरोना भाइरसको प्रकोप तपाईं हामी सबैले व्योहोर्नु पर्यो । महासंघमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले पनि त्यसको प्रभाव झेल्नुपर्यो । कोरोनाको प्रभाव र असर तपाईं हामी माझ अझ कति समय रहने हो त्यो भविष्यले बताउला । तर कोरोनाले सिर्जना गरेका चुनौतीलाई तपाईं हामीले नै मिलेर पार लगाउने हो, यो अहिलेको आवश्यकता हो । कोरोनाका कारण तपाईं हामीमाझ दुई चुनौती सिर्जना भएका छन्, त्यसमध्ये एक हो स्वास्थ्य सम्वन्धी चुनौति र दोस्रो आर्थिक चुनौति । स्वास्थ्य सम्वन्धी चुनौतिलाई सरकारले सामाना गरिरहेको छ भन्ने हाम्रो विश्वास छ । तर आर्थिक चुनौति भने संसारभर सरकार र निजी क्षेत्र दुवैले मिलेर सामाना गरिरहेका छन् । हामीसँग पनि त्यही बाटोलाई पछ्याउने वाहेक अर्को विकल्प छैन । कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामाना गर्न तपाईं हाम्रो व्याक्तिगत पहल मात्रै काफि हुँदैन् । त्यसलाई प्रभावकारी रुपमा सामाना गर्न हामीवीच विश्वास, एकता र बल चाहिन्छ । हाम्रो सौभाग्य आज नेपाल उद्योग वाणिज्य महासंघका रुपमा हाम्रा पुर्खाले हामीलाई नेपालको सबैभन्दा शसक्त त्यो फोरम उपहारमा दिएका छन् । त्यो फोरममा नयाँ विश्वास सिर्जना गर्न, त्यसमा एकता पैदा गर्न र त्यसलाई एउटा बलका रुपमा अघि बढाउन हामीसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयन गर्ने अवसर यही बेला आएको छ । तपाईँहरुको शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै मैले नेपाल उद्योग वाणिज्य महासंघको आशन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा चार महिना अघि नै औपचारिक घोषणा गरिसकेको छु । तर मेरो उम्मेदवारी मात्रै त्यसको पूर्णता होइन्, त्यसलाई अघि बढाउन एउटा विश्वासिलो टीमको जरुरत पर्दछ । आज हामी त्यो टीमको घोषणा गर्नका लागि यहाँ उपस्थित भएका छौं । र म आज यहाँ त्यसको घोषणा गर्न चाहन्छु । हाम्रो टीममा उद्योग वाणिज्य संघ समूहको उपाध्यक्षका लागि गुणनिधी तिवारी, वस्तुगत संघ समूहबाट उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ र एशोसिएट सदस्य समूहको उपाध्यक्षका लागि रामचन्द्र संघई उम्मेदवार हुनेहु्नेछ । महासंघमा नयाँ नेतृत्वका रुपमा आउने हाम्रो यो टीमले कोरोनाबाट सिर्जना भएका चुनौतीलाई मात्रै परास्त गर्ने छैन, हामीले चाहेको, हामीले खोजेको आर्थिक रुपमा समुन्नत नेपाल प्राप्त गर्न पनि काम गर्नेछ । हाम्रो यो टीम अनुभवले भरिएको छ । विश्वासले भरिएको छ। टीममा साना तथा मझौला व्यवसायदेखि ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर यो टीमको गाउँ जिल्लादेखि नीतिगत तहसम्म पहूँच छ । तपाईंलाई दुस्ख परेको बेला हाम्रो टीम तपाईंको नजिक हुनेछ, तपाईंले खोजेको बेला पहुँचमा रहनेछ, समस्यालाई नीति निर्मता कहाँ पुर्याइदिएर समाधान खोजिदिनेछ । आखिर तपाईंले महासंघमा खोजेको पनि यस्तै नेतृत्व होइन् र ? आज हामी चुनावमा छौं, स्वभाविक रुपमा हाम्रो टीमसँग प्रतिष्पर्धा गर्नका लागि विपक्षी टीम पनि खडा भएको छ । आज मेरो तपाईंलाई आग्रह छ, हाम्रो र विपक्षी टीमको तुलना गर्नुस, त्यहाँका उम्मेदवारको आगत र विगत पनि हुर्नुहोस । विपक्षी टीमका अधिकांश साथीको नेतृत्व तपाईं हामीले यस अघि नै भोगिसकेका छौं, त्यो अनुभवलाई आज फेरी सम्झनुहोस् । अझ विशेष गरी म जिल्ला उद्योग वाणिज्य संघका साथीहरुसँग आग्रह गर्न चाहन्छु, उद्योग वाणिज्य महासंघको नेतृत्वमा रहनु भएका हाम्रा विपक्षी टीमका साथीहरु वितेका वर्षहरुमा तपाईंको नजिक कहिले पुग्नु भएको थियो ? प्रश्न सोध्न चाहन्छु, चुनाव जितेपछि पुग्नु भएको थियो ? तपाईंले खोज्दा, के उहाँहरुसँग भेट भएको थियो? तपाईंले फोन गर्दा उहाँहरुको फोन उठेको थियो ? तपाईंलाई समस्या पर्दा के त्यो उहाँहरुले सुनिदिनु भएको थियो ?, समाधान खोजेर ल्याइदिनु भएको थियो ? सुन्दैछु, अहिले फेरी तपाईंहरुलाई ती साथीहरुको फोन आउन थालेको छ रे, सुन्दैछु तपाईंलाई फेरी आश्वासन आउन थालेको छ रे ?, ह्वाट्स एप र फेसबुकमा म्यासेज आउन थालेको छ रे ? भविष्यमा ती आश्वासनले काम गर्छ भनेर के तपाईंलाई विश्वास लाग्छ ? फेरी उहाँहरुको फोन आउँछ भन्ने आशा तपाईंलाई छ? फोन आउने कुरा त छाड्नुस् तपाईंले गरेको फोन के उहाँहरुले उठाउनुहोला ? गम्भीर भएर सोच्नुहोस् । म भन्छु, उहाँहरुको मात्रै होइन्, हाम्रो पनि विगत हेर्नु्होस्। हामी तपाईंको समिपमा रहेर कसरी काम गरेका थियौं । म आज तपाईंहरुलाई फेरी विश्वास दिलाउन चाहन्छु, हिजो हामीले जे गरेका थियौं, त्यो भविष्यमा पनि गर्छौं । हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तिमा हाम्रो टीमले जे भन्छ त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टीमका तर्फबाट सामूहिक प्रतिवद्धता पनि हो । तपाईंहरु आफै मनन गर्नुहोस्, तपाईंहरु आफैले मूल्याङ्कन गर्नुहोस् । त्यो टीम छान्ने वा यो टीम छान्ने ? निर्णय गर्ने अधिकार तपाईंको हो । आदरणीय साथीहरु स्वभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टीमको नेतृत्व गर्नुहुनेछ । चार महिना अघि मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशिल टीम बन्नेछ । यो टीम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन्, एक र एक जोडेर एघार बन्नेछ । मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं ? त्यसको मर्मलाई अहिले कसले मार्दैछ ?, त्यो के का लागि ? आज म एउटा कुरा खुलेर भन्नुपर्ने अवस्थामा छु, जब केही महिना अघि नेतृत्वमा बसेका अधिकांश साथीहरुले वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान हटाउनुपर्छ भन्दा त्यो प्रावधान हटाउनु हुँदैन् भनेर कसले लविङ गरेको थियो ?, भविष्यमा हामीले जे गरौंला गरौंला तर अहिले वरिष्ठ उपाध्यक्ष शेखरजीले नै नेतृत्व पाउनुपर्छ भनेर मैले ठूलै मेहनत नगरेको भए आज के हुन्थ्यो ? हाम्रो चाहना छ, उहाँले यो कुराको हेक्का पनि राख्नै पर्छ । यो चुनावमा जसले जिते पनि शेखरजी अध्यक्ष हो, हामी यो चुनाव जित्छौं, हामी त्यसमा विश्वस्त पनि छौं । जब हामी जित्छौं, हामी उहाँको टीमको सदस्य हौं। सायद उहाँका लागि यो साधरण जानकारी मात्रै होइन यो एउटा सन्देश पनि हो । यो सन्देश कठिन अवस्थामा रहेको महासंघलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामी भित्र विश्वास जगाउन हो । आदरणीय साथीहरु, हामीले भनेका छौं निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर समृद्धिको यात्रामा यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन सकेको छैन्, चाहिएको बेला अभिभावकको भूमिका पाउन सकिरहेको छैन । तपाईं हाम्रो अबको यात्रा त्यो सम्मान पाउनका लागि हुनेछ, राज्यबाट अभिभावकत्व पाउनका लागि हुनेछ । हिजो अस्ती राज्यसँग लडेर त्यो भूमिका खोज्नुपर्दथ्यो, सम्मान माग्नु पर्दथ्यो । तर आज लडाईं होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । हाम्रो यो टीमले त्यसका लागि दिलो ज्यान दिए काम गर्नेछ । मैले मेरो घोषणा सभामा पनि भनेको थिएँ, निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । यो इन्जिनलाई चलाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ । औद्योगिक र व्यापारिक वातावरण बनाउन हामीकहाँ अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन भनेर हामीले पहिचान गरिसकेका पनि छौं। हामी नेतृत्वमा आउना साथ ती क्षेत्रमा काम थाल्नेछौं । जिल्ला नगरका साथीहरुलाई थप विश्वास दिलाउन चाहन्छु, हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागी उद्योग बाणिज्य संघको सिफारिश चाहिने कुरालाई हामीले उठाउने छौं । नगरपालिकाको ब्यवसायिक करमा उद्योग बाणिज्य संघलाई ३०÷७० को सहभागिता लागू गर्न पहल गर्नेछौं । निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तिमा बार्षिक पाँच लाख रुपैयाँको आम्दानीको श्रोत जुटाउनका लागि मोडल बनाउने छौं । उद्यमशीलता बिकासका तालिम दिने, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरी लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा रहनेछ । त्यसैगरी जिल्लाका नापतौल, अनुगम, बैकिङ, राजस्व लगायतका समस्या समाधान गर्नका लागि महासंघसँग सिधै जोडिने गरी संयन्त्र बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछौं । हामीले भनेका पनि छौं, यी कामका लागि हामी नेतृत्व मात्रै होइन्, महासंघको सचिवालयलाई पनि विश्वासिलो, भरपर्दो र डायनामिक बनाउँछौं । हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्नेछ । हामीले महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न प्रयास गर्नेछौं । त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने काम हामीले गर्ने छौं । कारोना महामारीले उद्योग र व्यवसाय सबैभन्दा बढी मारमा छ । इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था हामीले भोग्न थालेका छौं। अझै पनि यो महामारीले कुन रुप लिने हो स्पष्ट भएको छैन् । त्यही कारण यो संकटसँग जुध्न पनि हामीलाई बलियो काँध चाहिएको छ । महामारीको यो बेलामा ज्यान जोगाउने र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने छ । नेतृत्व भनेको संकटको सारथी हो, दुःखको बेला सम्झिने आडभरोसाको केन्द्र हो । त्यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न मेरो टिमका सबै साथीहरुलाई अपिल गर्दछु ।
एफएनसीसीआई निर्वाचनः यस्तो बन्यो टीम चन्द्र ढकाल
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते हुने महासंघको निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षद्वयले प्यानल बनाएर चुनावी अभियानमा लागेका छन् । बरिष्ठ उपाध्यक्ष प्रत्यदका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफ्नो टीम घोषणा गरेका छन् । ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् । बरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानले पनि प्यानलै बनाएर चुनाबी प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।