हाम्राे टीम राम्राे छ, पुरै टीमले चुनाव जित्छः सौरभ ज्योति
सौरभ ज्योति, उपाध्यक्षको उम्मेदवार- नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवार हुन् सौरभ ज्योति । पूरानो व्यवसायिक घराना ज्याेति ग्रुपका हर्ताकर्ता, महासंघका पूर्व अध्यक्ष पद्म ज्योतिका छोरा, महासंघको कार्यसमितिमा ४ कार्यकाल केन्द्रीय कार्यसमितिमा रहेर भूमिका निर्वाह गरिसकेका ज्योतिको उम्मेदवारी स्वभाविक हो । प्रस्तुत छ चुनावी तयारी, चुनावी अजेण्डा र व्यवसायिक समस्या समाधानतर्फ गरिएका प्रयासबारे उनीसँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले गरेको कुराकानी । तपाई एउटा पुरानो र ठूलो व्यवसायीक घरानाको व्यक्ति । आफ्नो व्यवसायमा पनि महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । विस्तारै महासंघमा पनि तपाईका खुड्किलाहरु माथि चढ्दै छन् । तपाईभित्रको स्ट्रेन्थ के हो ? म आफूलाई सबै कुरा थाहा भएको जस्तो सक्षम व्यक्ति मलाई लाग्दैन । जो जति विज्ञ भएपनि उ सबै क्षेत्रमा विज्ञ हुन सक्दैन । मेरो उद्देश्य भनेको एउटा राम्रो टीमको साथ लिएर अगाडि बढ्नु हो । उनीहरुको साथ सहयोगले सँगसँगै अगाडि बढ्ने हो । हाम्रो उद्देश्य एउटै हुन्छ । अहिलेको हाम्रो एउटै उद्देश्य भनेको महासंघलाई राम्रो संस्था बनाउने हो । महासंघ सबै उद्योगी व्यवसायीको छाता संगठन हो । महासंघको उद्देश्य भनेको अर्थतन्त्रलाई मजबुद बनाउनु हो । त्यो उद्देश्य हासिल गर्नको लागि सक्षम नेतृत्व र टीम हुनुपर्छ । राजनीति नभई काम गर्ने नेतृत्व र टीम हुनु आवश्यक छ । महासंघमा राजनीतिक धेरै भयो भन्ने आवाज उठ्दै गएको छ । हाम्रो टीम राजनीतिभन्दा पनि पेशागत मर्यादालाई बुझेर अगाडि बढ्न चाहान्छ । पहिलेको भन्दा अहिलेको परिवेश अत्यन्तै कठिन छ । यो विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कारण अर्थतन्त्रलाई पुनरुत्थान गर्नको लागि राम्रो टीमको आवश्यकता छ । तपाईले आफ्नो चुनावी टिम राम्रो छ भनेर भन्नु स्वभाविक हो । तर यो जटिल परिस्थितीमा महासंघका प्रतिनिधिहरु राहतका कुरा होइन, भोट माग्न हिडिरहेका छन् । यो कत्तिको उचित हो ? मेरो चुनावी क्याम्पियन भनेको मेरो काम हो । यो राजनीतिक संस्थाभन्दा पनि व्यवसायीहरुको संस्था हो । कसले कति काम गरेको छ । कसले कति संस्थामा काम गरेको छ । कसले कति मेहेनत गरेको छ । त्यो प्रष्टै देखिएको छ । योग्यताको हिसावले नेतृत्व हुनुपर्छ भन्ने मेरो मान्यता हो । अहिले मौद्रिक नीति सबैभन्दा महत्वपूर्ण विषयका रुपमा रहेको छ । यो नीतिले निजी क्षेत्रलाई राहत दिन सकेन भने एकदमै समस्या हुन्छ । आफ्नो विशषेज्ञता नभए पनि सबैको समस्या सुनेर, जिल्ला नगरहरुका समस्याहरु सुनेर विभिन्न स्टक होल्डरहरुलाई सुझाव दिनुपर्छ । र, दिएका पनि छौं । त्यसको केही रिजल्ट पनि आइसकेको छ । रिजल्ट के आयो अहिलेसम्म ? अहिलेसम्म कहिल्यै पनि केन्द्रिय बैंकले २ प्रतिशत व्याजदर छुट दिएको थिएन । निजी क्षेत्रको पहलमा नै यो सुविधा हामीले पाएका छौं । चैत महिनाको लागि १० प्रतिशत व्याज छुट पनि भयो । विभिन्न आयकरमा २५ प्रतिशत देखि ५० प्रतिशतसम्म छुट दिने किसिमले लविङ पनि गर्यौं । बजेटमा यस्तो सुविधा आएको पनि छ । यस्तो खालको केही रिजल्ट आएको छ । केही रिजल्ट आउन बाँकी नै छ । अझै हामी प्रयासरत छौं । मौद्रिक नीतिपछि फेरि हामी विभिन्न पक्षमा राहतका लागि पहल गर्नेछौं । नीतिगत रुपमा समस्या समाधान भएर आएपनि त्यसको कार्यान्वयनमा हामीले जोड दिनुपर्छ । अहिलेको अवस्थामा व्यवसाय चलाउनु नै ठूलो उपलब्धि भयो । नाफाको सम्भावना नै छैन । यस्तो बेलामा २० लाख वा ५० लाख कारोबार हुने व्यवसायीलाई दिइएको आयकर छुटले व्यवसायीलाई लाभ मिलेको छ ? ज्योती ग्रुपको कुरा गर्ने हो भने हामीलाई लाभ छैन । साना व्यवसायीलाई लाभ मिलेको छ । महासंघ भनेको निजी क्षेत्रको छाता संगठन हो । त्यसमा साना ठूला सबै व्यवसायी रहेका छन् । बजेटमा आएको आयकर छुटको सुविधाले ठूला व्यवसायलाई त्यति फरक नपर्ला तर सानो व्यवसायलाई फरक पर्छ । सरकारले ऋणीलाई २ प्रतिशत व्याज छुट दिन बैंकहरुलाई निर्देशन दियो । यसले निजी क्षेत्रलाई फाइदा पुग्यो ? आखिरी बैंकहरु पनि निजी क्षेत्रकै लगानीमा चलेका छन् ? सरकारले एउटा व्यवसायिको खल्तीको पैसा झिकेर अर्को व्यवसायीको खल्तीमा हाल्दैमा निजी क्षेत्रले सरकारप्रति गर्व गर्न मिल्छ ? अहिले गर्व गर्ने विषयभन्दा पनि बाँच्ने बचाउने विषय ठूलो हो अहिले कोरोनाले यस्तो अवस्था सिर्जना गर्छ भनेर कसैले पनि सोचेका थिएनन् । यसले धेरै उद्योग व्यवसायहरु बन्द गर्ने अवस्थामा पुगे । ३ महिनासम्म व्यवसाय बन्द भएपछि कसरी कर तिर्ने ? कसरी ऋण तिर्ने ? कसरी तलव भुक्तनी गर्ने ? भाडा कसरी तिर्ने ? हामीले ऋण नतिर्ने भनेका छैनौ, लिएपछि तिर्नै पर्यो । यो विषम परिस्थितिलाई रिस्ट्रचरिङ गरौं भन्ने हो । अहिले हामीलाई समय दिनोस् भन्ने हो । हाम्रो भनाई पहिलेकै धितोमा थप ऋण पाओस् भन्ने हो । अहिले खर्च पनि बढेको छ । ज्यान जोखिममा राखेर कोहि पनि काममा आउन मान्दैनन् । उत्पादन घटेको छ, खर्च २० प्रतिशत बढेको छ । कोभिडको असर ३ देखि ५ वर्षसम्म हुन सक्छ । यस्तो अवस्थामा एकले अर्कोलाई सक्दो सहयोग गरौं । त्यसैले अहिले कर्जामा रिस्ट्रचरिङको व्यवस्था हुन पर्छ जसले गर्दा हामीलाई विस्तारै व्यवसाय माथि उठ्दै जान्छ भन्ने हाम्रो भनाई हो । तपाईहरुको बैंकको व्याज, किस्ता र ऋण सुविधाको मात्र कुरा गर्नुहुन्छ । यो परिस्थतीमा सरकारबाट श्रमिकलाई दिने भुक्तानीमा राहत देउ, आम्दानी करमा छुट देउ किन भन्नुहुन्न ? त्यो हामीले भनिसकेका छौं । समस्या अहिले बैंकमा छ । राहत बैंकबाट दिनु पर्ने भएकोले बैंकहरु र राष्ट्र बैंक मुख्य केन्द्रबिन्दु भएका छन् । बजेटबाट त्यस्तो राहत आएन । त्यही भएर बैंकहरु र म्रौद्रिक नीतिमा हाम्रो जोड हो । हामीले नेपाल सरकारले ल्याउने बजेटमा धेरै सुझावहरु दिएका थियौं । हामीले बजेटको ५ प्रतिशत राहत माग गरेका थियौं । त्यसमा ४ प्रतिशत आयो । हामीले श्रमिकहरु र होटल व्यवसायीलाई छुट्टै खालको राहत दिनु भनेका थियौं । सरकारका पनि आफ्ना सीमा छन् । चुनावको कुरा गरौं, तपाईले एसोटिएटको तर्फबाट उपाध्यक्षका लागि उम्मेदवारी दिदै हुनुहुन्छ । चुनाव जित्ते आधार के छन् ? जुन मेरो टीमका साथी छन् ती सबै एक सय एक हुनुहुन्छ । सबै टीम एफोर्ट गरेर हामी कन्फिडेन्ट छौं कि यो पुरै टीमले जित्छ । तपाईसँग प्रोक्सी कति छ ? प्रोक्सीभन्दा पनि चुनाव भनेको मेरो लागि राजनीतिक कुरा होइन । मेरो जहिले पनि धारणा बेष्ट म्यान फोर द जब हो । मभन्दा राम्रो व्यक्ति त्यो पदमा जान्छ भने म छोडेर त्यो व्यक्तिलाई राख्न चाहन्छु । मलाई जित्नु भन्दा पनि त्यो संस्थामा उपलब्धि हुनु पर्यो । त्यो संस्थामा काम गर्ने मान्छे चाहियो । हाम्रो समस्याको समाधान गर्न सक्ने मान्छे चाहियो । मलाई हार्नुभन्दा पनि जित्नुको डर छ । हार्यो भने त के छ म आफ्नो व्यवसाय हेर्छु । अझै पुरा समय दिन्छु । चुनाव जितेपछि, संस्थामा बसेपछि धेरै काम गर्नुपर्छ । समय दिनुपर्छ । जित्यो भने आफ्नो काम व्यवसाय छोडेर पुरै संस्थामा लाग्नु पर्ने हुन्छ । अहिले नेतृृत्वका लागि सबैभन्दा कठिन समय हो । त्यसैले मलाई हार्नुभन्दा बढी जित्नुको डर छ । जित्यो भने हामीले यति मेहेनत गर्नुपर्छ, दिनरात काम गर्नुपर्छ । हाम्रो टीम सम्पूर्ण उद्योग व्यवसायीहरुका समस्याहरु समाधान गर्न तर्फ अगाडि बढ्छ । हाम्रो टीमको सोच परिवर्तन ल्याउनु पर्छ भन्ने हो । आर्थिक विकास गर्नुपर्छ भन्ने हो । काम धेरै हुनुपर्छ, राजनीति कम हुनुपर्छ भन्ने हो । यो कार्यकाल मात्र होइन दश वर्षसम्म महासंघलाई कहाँ लग्ने भन्ने हाम्रो टीमले त्यो खालको वातावरण सिर्जना गर्छ । सबै राम्रा मान्छेहरुलाई तपाईका टीमले समेट्न सकेको छ ? सबैलाई चित्त बुझाउन गाह्रो नै हुन्छ । तर, समग्र रुपमा मेजोरीटी र राम्रो मान्छेहरु समेट्ने कोसिस गरेका छौं । अहिले पनि ढिलो भएको छैन । त्यहाँ काम गर्न जाने हो । मिलेर काम गर्ने हो । तपाई किशोर प्रधानको टिममा हुनुहुन्छ, प्रधानको स्ट्रेन्थ के हो ? उहाँ सबैको सर सल्लाह लिने, धेरै अनुभवी मान्छे हो । उहाँ नेपालको सानो–सानो उद्योगदेखि ठूलो उद्योग व्यवसायहरु सबैले चिनेको नेटवर्क भएको र सबैका समस्या बुझेको व्यक्ति हुनुहुन्छ । त्यो हुनु भनेको नेतृत्व गर्न सक्नु हो । कहिले काहिँ विज्ञ मान्छे आएर पनि सफल नेतृत्व गर्न सक्दैन । विज्ञ मान्छे भयो भने मलाई सबै कुरा थाहा छ कसैको कुरा चाहिँदैन भन्ने खालका हुन्छन् । त्यसलै टीम अगाडि बढाउने, टीमको नेतृत्व गर्न सक्ने क्षमता उहाँमा छ । मेरै कुरा गर्ने हो भने मैले लाष्ट टाइममा पनि छोडेको हो । सबैले तपाई युवा नै हुनुहुन्छ । तपाईको उमेर समय छ भन्छन् । म अहिलेको हिसावले किशोर दाईपछि सबैभन्दा अग्रज हो । मेरो उमेर होइन महासंघका बिताएको समय हेर्नोस् । नेपाल उद्यमी मञ्चमा अध्यक्ष भएर लामो समय काम गरेको छु । मैले विभिन्न संघ संस्थामा अध्यक्ष भएर काम गरेको छु । मैले धेरै अनु्भव हाँसिल गरेको छु । महासंघमा पनि ४ कार्यकाल बिताइसकेको छु । महासंघमा नेश्नल एक्सलेन्ट अर्वाड समितिको सभापतिदेखि कर राजश्व समितिको सभापति र अहिले बैंकिङ र वित्तीय संस्थाको सभापति छु । तपाई बैंकिङ र वित्तीय संस्थाको सभापति भएको बेलामा बैंकर र व्यवसायीबीच द्वन्द्व नै भयो नि ? जहाँ आलोचना र द्वन्द्व हुँदैन त्यहाँ काम नै हुँदैन । जे पनि टाउको हल्लाएर राम्रै छ भन्यो भने काम नै नभएको सोच्नु पर्छ । जति तपाईले कोट्याउँदै जानुभयो, जति विवाद हुन्छ, त्यति बढी अन्र्तक्रिया तथा काम भयो सम्झनु पर्छ । महासंघमा एसोसिएटबाट अहिले ९ सय २७ जना सदस्यहरु छन्, तिनीहरुले भोट हाल्दा त्यसको वेटेज ३० प्रतिशत मात्र हुन्छ । १ सय ६ जनाले जिल्लाबाट भोट हाल्दा त्यसको वेटेज ५० प्रतिशत हुन्छ । यो संरचना ठीक छ ? यसमा इतिहासबाटै हेर्नुपर्छ । मेरो पनि महासंघमा एक दशकभन्दा बढी भइसकेको छ । यो दुइटै हामीले पहिलेदेखि नै गर्दौ आएका छौं । जिल्लामा हाम्रो बढी प्रतिनिधिहरु छन् । नेपाल सरकारभन्दा पनि बढी सञ्जाल भएको हाम्रो उद्योग वाणिज्य महासंघ हो । कर उठाउन पनि हाम्रो सञ्जाल ठूलो छ । महासंघको त्यो सञ्जाल एउटा स्ट्रेन्थ हो । समग्र रुपमा नेपालले समृद्धि हाँसिल गर्नको लागि जिल्ला नगरका एसएमईहरुको भूमिका महत्वपूर्ण हुन्छ । हामीले उहाँलाई त्यो अधिकार दिनै पर्छ । वर्तमान अध्यक्ष, स्वतः अध्यक्ष हुने मान्छे र पूर्व अध्यक्षहरु समूहगत रुपमा निर्वाचनमा सक्रिय हुनुहुन्छ । यो असल अभ्यास हो ? यो नयाँ नौलो कुरा होइन । ५४ वर्ष भइसक्यो यही प्रक्रिया चल्दै आएको छ । तर, यसलाई म असल अभ्यास मान्दिन । अहिलेको वरिष्ठ उपाध्यक्ष जो अध्यक्ष हुँदैहुनुहुन्छ। उहाँको जुन भिजन छ । महासंघलाई राजनीतिबाट मुक्त गर्न व्यक्तिगत स्वार्थबाट निस्केर संस्था अगाडि बढ्नु पर्यो । संस्थाको स्वार्थको लागि काम गर्ने मान्छे चाहिएको छ । आइडियोलोजी, प्रिन्सिपल र काम गर्ने तरिका फरक भएर पक्ष विपक्ष भएको हो । मेरो सिद्धान्त मेरो लागि सही हो । अरुको लागि उहाँहरुकै सिद्धान्त सही होला । त्यसैले सैद्धान्तिक रुपमा र महासंघ कहाँ लग्ने कुरा फरक भएको हुनाले उहाँले आफ्नो हिसावले अगाडि बढेको हुनुपर्छ । आ–आफ्नो टीमलाई समर्थन गर्नु भएको हो । महासंघ अध्यक्षमुखी संस्था त हो तर अध्यक्ष एक्लैले महासंघमा काम गर्न सक्दैन । उहाँलाई सहयोग गर्ने टीम चाहिँन्छ । त्यसमा हामी परिवर्तन गर्न लागेका छौं । अहिलेसम्म अध्यक्षमुखी संस्था हो । तर, अहिले हाम्रो जुन टीम आउँदैछ अध्यक्षमुखीबाट टीममुखी बनाउने हो । उपलब्धि हाँसिल गर्ने रिजल्ट ओरिन्टेड, प्रोफेसनल संस्था, निजी क्षेत्रको हक हितका लागि नतिजा ल्याउने संस्था अहिले चाहिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले २०७३ कार्तिकमा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने प्रावधान जुन मर्मले ल्याएको थियो अहिले त्यो मर्म लागू तथा कार्यान्वयन भएको छ ? हामीले निर्वाचन हुँदा अध्यक्ष राजनीतिबाट न्युट्रल होस् भन्ने हो । उहाँ स्वतः अध्यक्ष भएपछि चुनाव नै लड्नु नपरेपछि पक्ष विपक्ष हुनु हुँदैन भन्ने उद्देश्यले यो प्रावधान गरिएको हो । तर, त्यही व्यक्तिलाई वरिष्ठ हुँदा विभिन्न कठिनाईहरु ल्याएर संस्था नै विथोल्न अगाडि बढेको हुनाले जुन दिशामा हामी जान चाहन्थ्यौ, त्यो हुन सकेन । यसपाली हुन सकेन । हामीले अब निरन्तर प्रयास गर्यो भने अध्यक्षलाई राजनीतिबाट टाढा राख्न सक्छौं । त्यसैका लागि यो टीम आवश्यक छ । महासंघको चुनाव नजिकिँदै गर्दा एकले अर्कालाई होच्याउने, गाली बेइजती गर्ने खालको टिकाटिप्पणीहरु भइरहेका छन् । यसले महासंघको गरिमा बढ्छ ? यो कुरामा धेरै लामो इतिहास छ । अरुले कसरी भन्नुहुन्छ त्यसमा मेरो कुनै धारणा छैन । तर म आफ्नो सिद्धान्त र हाम्रो पुरै टीमको कोड अफ कण्डक्ट छ । हामीले आफ्नो काम गर्ने हो र त्यसको बलमा प्रचार प्रसार गर्ने हो । आफ्नो राम्रो कुरा प्रचार प्रसार गर्ने, अरुको नराम्रो कुरा हामी बोल्दैनौं । हाम्रो टीमबाट त्यस्तो कुरा हुँदैन । अरुको बारे आरोप प्रत्यारोप गर्ने काम हामी गर्दैनौं । हामीले कसरी महासंघको गरिमा बढाउने कुरामा कमिटमेन्ट गर्छौं । अरुको नराम्रो कुरा हामी गर्दैनौं । त्यस्तो कार्यमा हामी सहभागी पनि हुँदैनौं ।
अब मोवाईलबाटै शिवम् सिमेन्ट किन्न सकिने, यस्ताे छ प्रकृया
काठमाडौं । शिवम् सिमेन्ट अब मोवाईल बाटै खरिद गर्न सकिने भएको छ । शिवम् सिमेन्ट्सले कोभिड-१९ को विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाईल एप” सार्वजनिक गरेको छ । जस अन्र्तगत ग्राहकहरुले गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट शिवम् मोबाइल एप डाउनलोड गरी सहज प्रक्रियाका साथ सुपथ मुल्यमा आफुलाई चाहिएको परिमाणमा सिमेन्ट खरिद गर्न सक्नेछन् । साथै भुक्तानीको लागि खल्ती, ईसेवा, कनेक्ट आईपीएस वा क्यास अन डेलिभरीको सुविधा उपलव्ध गराएको छ । सिमेन्ट जगतमै पहिलो पटक नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत यस सिमेन्ट कम्पनीले निरन्तर रुपमा आफ्नो गुणस्तरीय उत्पादन गर्दै आईरहेको छ । कोरोना भाइरसले निम्त्याएको विषम परिस्थितिमा सबैको स्वास्थ्य सुरक्षाको निम्ति आवश्यक सामाजिक दुरी कायम रहोस् र हरेक किसिमका निर्माणहरुले पनि निरन्तरता पाओस् भन्ने उद्देश्यका साथ शिवम् सिमेन्टले यो एप संचालनमा ल्याएको हो । आधुनिक प्रविधिको माध्यमबाट ग्राहकहरुले आफ्नो मोबाइलमा “शिवम् मोबाइल एप” डाउनलोड गरी सुनिश्चित भएर सहज, सरल तथा सुरक्षित तरिकाल घरमै बसेर शिवम् सिमेन्ट अर्डर गर्न सक्ने व्यवस्था मिलाएको हो । यस एपको माध्यमबाट ग्राहकहरुले गरेको अर्डरलाई कम्पनीले सहज व्यवस्थापनका साथ उचित मुल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिनेछ । झन्झट रहित सरल अर्डर प्रक्रिया भएको र भुक्तानीका लागि विभिन्न सहज सुविधाहरु भएको हुनाले ग्राहकहरुको लागि शिवम् सिमेन्ट खरिद गर्न यो एप अत्यन्तै प्रभावकारी रहने विश्वास कम्पनीले लिएको छ । यस एप भित्र नै सिमेन्टको निश्चित मूल्य निर्धारण भएको हुनाले ग्राहकहरु मूल्यमा सुनिश्चित रहन सक्नेछन् ।
उपत्यकामा चल्न थाले साझा यातायात (तस्विरहरु)
काठमाडाैं । सरकारी लगानीको साझा यातायातले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्दै छ। उपत्यकाका धेरैजसो रुटमा २६ वटा बस सञ्चालन गर्न लागिएको साझा यातायातले जनाएको छ। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले जानकारी दिए। बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको उनले बताए। उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ। उनले भने, ‘बसका कर्मचारीले पनि माक्स, पञ्जा र सेनेटाइजरको व्यवस्था गरिएको छ।’ पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा सुरु गर्न लागिएको साझाले जनाएको छ। पहिले थोरै बसबाट सुरु गरिएमा आवश्यकतानुसार थप गर्दै जाने व्यवस्थापक पाण्डेले जानकराी दिए। सरकारले तोकेअनुसार नै भाडा लिइनेछ। मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मतलगायतका तयारीका काम गरिरहेको थियो। यातायात व्यवस्था विभागले औपचारिक रूपमा पत्र नदिएकाले सेवा सुरु गर्न नसकेकामा पत्र प्राप्त भएकाले सुरु गरिएको हो । उनले भने, ‘आगामी दिनमा आवश्यकतानुसार सेवा विस्तार हुनेछ।’ काठमाडौं उपत्यकामा १० रुट रहेकामा साझाको उपत्यका बाहिर पनि सेवा विस्तार गरेको छ। रासस
असार मसान्तमा कर्जा असुली ७५ प्रतिशत मात्रै, पहुँचवालाले कुरे मौद्रिक नीति
काठमाडौं । गत आर्थिक वर्षको अन्तिम दिनसम्ममा बैंकिङ क्षेत्रमा उठ्नु पर्ने कर्जाको व्याज तथा किस्ता ७५ प्रतिशत मात्रै उठेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण आर्थिक गतिविधि ठप्प भएकोले व्याज तथा किस्ता असुली कम भएको हो । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उठ्नु पर्ने व्याज तथा किस्ता करिब ७५ प्रतिशत उठेको जानकारी दिए । उनले ठूला ऋणीले किस्ता र व्याज तिरेपनि साना, पर्यटन क्षेत्र र गाडी कर्जा केही कम उठेको जानकारी दिए । ‘ठूला ऋणीले किस्ता तथा व्याज तिरेका छन्, मासिक किस्ता बुझाउने साना, हायरपर्चेज (गाडी कर्जा), पर्यटन जस्ता क्षेत्रले बुझाएका छैनन्, ऋण तिर्न सक्ने केही ऋणीले मौद्रिक नीतिले केही राहत देला कि भनेर पनि पर्खिएका पाइयो,’ प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले पनि उठ्नुपर्ने रकमको ७५ प्रतिशत जति मात्रै उठेको जानकारी दिए । हायरपर्चेज, पर्यटन र रियलस्टेट क्षेत्रका ऋणीले किस्ता र व्याज बुझाउन नसकेको उनको भनाइ छ । ‘हाम्रो ऋणी भनेका मध्यम तथा साना व्यवसाय गर्ने र सानो सानो परिमाणमा कर्जा उपभोग गर्नेहरु हुन्, उनीहरुले सकेसम्म किस्ता र व्याज तिर्ने प्रयास गरेको पाइयो, केही ऋणीले भने मौद्रिक नीतिमाफृत राहत कार्यक्रम आउने अनुमान सहित पर्खिए जस्तो देखियो,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका ढकालले भने । फाइनान्स कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधर असार मसान्तमा किस्ता र व्याज गरी ८० प्रतिशत जति असुल हुने आफूहरुले अनुमान गरेको भएपनि ७५ प्रतिशत जति मात्रै उठेको बताउँछन् । ‘सामुहिक सौदाबाजी गर्न नसक्ने, नीति निर्माणतहसम्म पहुँच नभएका साना तथा मझौला उद्यम व्यवसाय गर्नेहरुले किस्ता र व्याज तिरेका छन्, ठूलो ठूलो उद्योग व्यवसाय चलाउने उद्योगी व्यवसायीले भने मौद्रिक नीतिसमम्म पर्खने सोच बनाएको देखियो,’ गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष तुलाधरले भने । फाइनान्स कम्पनीहरुमा पनि सार्वजनिक सवारी साधान, होटल तथा पर्यटन लगायत सेवा क्षेत्रले किस्ता र व्याज तिर्न नसकेको अध्यक्ष तुलाधरको भनाइ छ ।
यातायात क्षेत्रको समस्या समाधानमा पहल गरिदिन प्रचण्डसँग आग्रह
काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, यातायात मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइ व्यवस्था मिलाउन मागसमेत गरेका छन् । भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष तथा पदाधिकारी र तीनवटै मजदुर ट्रेड युनियनका अध्यक्षको सहभागिता रहेको थियो । भेटपछि अध्यक्ष दाहालले यातायात क्षेत्रमा दीर्घकालीनरूपमा गर्नुपर्ने कामलाई नीति बनाएर गरिने तथा कोरोनाको सङ्क्रमबाट बन्द रहेका यातायातलाई सुरक्षितरूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास दिलाएकाे भेटमा सहभागी महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । भेटमा यातायात व्यवसायीले सरोकारवाला व्यक्तिलाई समेटेर यातायात प्राधिकरण स्थापना गर्नसमेत माग गरेका थिए । कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि बुधबार संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । उक्त कार्यदलले आजै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरुसँगसमेत भेट्ने कार्यक्रम रहेको छ ।
सिन्धुपाल्चोकको फुल्पिङ पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो
साङ्केतिक तस्विर काठमाडौं । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ । पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पु¥याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन । रासस
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ सय नाघ्यो
सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या नियमित बढिरहेको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना देखिँदैछ छ, तर राजधानी सुर्खेतको वीरेन्द्र्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड त्यत्तिकै देखिन्छ । नागरिकमा विगतको जस्तो कोरोना आतङ्क पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्यरूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा फितलो हुँदै गएको छ । त्यसले गर्दा पनि कोरोना सङ्क्रमित हुने क्रम रोकिएको छैन । बुधबार पनि थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार यहाँ २७ जनामा सङ्क्रमण देखिएको थियो । मङ्गलबार नै कर्णाली प्रदेशसभाका एक सांसदमा कोरोना सङ्क्रमण पुष्टि भयो । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिक सङ्क्रमण देखिन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताए । “अहिले भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन”, निर्देशक डा खड्काले भने, “यो त स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ ।” यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उहाँको भनाइ थियो । कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरेको पिसीआर परीक्षणमा सुर्खेतका १४, दैलेखमा तीन, सल्यानका दुई, जुम्ला र अछाममा एक/एक व्यक्तिमा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनरायण तिवारीले जानकारी दिए । त्यस्तै, चौरजहारी नगरपालिका पिसीआर प्रयोगशाला रुकुमपश्चिमा गरिएको पिसीआर परीक्षणमा सल्यानका तीनसहित २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए । महाशाखा प्रमुख डा तिवारीका अनुसार बुधबार २४ जना थपिएसँगै अब कर्णालीमा सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय १४ पुगेको छ ।
अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा…
काठमाडौं । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ । केही चार्टर्ड उडानबाहेक अहिले विभिन्न वायुसेवा कम्पनीका ४५ भन्दा बढी जहाज ग्राउण्डेड छन् । तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्य मुलुकको अभ्यासलाई हेरेर उडान सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिरहेको बुझिएको छ । कोभिड–१९ सङ्क्रमण फैलन नदिन सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ९ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान स्थगन गरिएको थियो । पछिल्लोपटक यही साउन ६ गते मध्यरातसम्मलाई उडान रोक लगाउने निर्णय भएको छ । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि अहिले चार्टर्ड उडान मात्र भइरहेको छ । जेहोस् कोभिड–१९ महामारीका बीच सुरक्षित उडान गर्ने गरी सरकारले आवश्यक तयारी गरिरहेको छ । यता एयरलाइन्सले पनि कोभिड महामारीपछि हुने व्यावसायिक उडानलाई मध्यनजर गरी आवश्यक तयारी गरेका छन् । आन्तरिक उडानमा दैनिक करिब छ हजार यात्रु आवतजावत गर्ने देशकै अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सुरक्षित व्यावसायिक उडानको आवश्यक सबै तयारी पूरा गरेको जनाएको छ । कम्पनीका तर्फबाट कोभिड महामारीबाट सुरक्षित रहेर हवाईयात्राका लागि सम्पूर्ण तयारी पूरा गरेको बुद्ध एयरले यात्रुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाइदिए सुरक्षित यात्राको सुनिश्चितता हुने अपेक्षा गरेको छ । बुद्ध एयरका क्वालिटी एस्युरेन्स डिपार्टमेन्ट प्रमुख उपेन्द्रलाल श्रेष्ठले उडान सञ्चालनमा आउँदा अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड कसरी अपनाउने र यात्रुलाई परिपालना गराउने भन्नेबारे आवश्यक तयारी गरिएको बताए । उनले प्राधिकरणको कार्यविधिका साथै विश्व स्वास्थ्य सङ्गठन र आयोटाको मार्गनिर्देशनका अलावा जहाज निर्माता कम्पनीको मापदण्डका आधारमा ‘स्टान्डर अपरेटिङ प्रोसिउर’ बनाइएको जानकारी दिए । यो मापदण्ड विमानका कर्मचारी तथा यात्रुलाई लागू हुनेछ । त्यसैका आधारमा विभिन्न तालिम, पिपिइ, केमिकल, सानातिना उपकरणको जोहो गरिसकिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले गत जुन ११ र २५ मा अभ्यास उडान ‘डेमो’ उडान गरेको छ । अहिले पनि कम्पनीले सानो–सानो समूह बनाएर अभ्यास उडान गरिरहेको छ । “स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हामी सञ्चालनको लागि पूर्ण तयारीको अवस्थामा छौँ, यात्रुहरुले समन्वय र सहकार्य गरिदिएको खण्डमा कोभिड महामारीबाट सुरक्षित हुन्छौँ, त्यसैले कम्पनीको गाइडलाइन्स पालना गरिदिनुहोला”, श्रेष्ठले भने । अबको उडान पहिलाको भन्दा विल्कुलै फरक तारिकाको हुनेछ । हिजो एक घण्टा पहिला एयरपोर्ट पुग्नुपर्ने थियो भने अब डेढ घण्टाअघि नै जानुपर्छ । यात्रुले सामाजिक दूरीमा बसेर भीडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने हुन्छ । अबको उडानमा यात्रुले ‘एयरपोर्ट अथोरिटी’ ले बनाएको ‘हेल्थ डिक्लिरेशन’ फारम र ‘प्यासेन्जर लोकेटर कार्ड’ भर्नुपर्नेछ । कम्पनीले यात्रुको सुरक्षाका लागि मास्क र फेससिल्डको व्यवस्था गरेको छ । कम्पनीले जहाजलाई तयारी अवस्थामा राख्न हरेक १४ दिनमा एक दिन करिब २० मिनेट जहाजको परीक्षण उडान गर्ने गरेको छ । सातामा एक दिन इन्जिन ‘रनअफ’ गरिरहेको छ । प्राविधिक हिसाबले पनि तमतयारी अवस्थामा रहेको कम्पनीले यात्रुलाई शिक्षित गर्ने डेमो उडानको भिडियो वेवसाइटमा राखेको छ । बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडानको तयारी गरिएको जानकारी दिँदै यात्रुलाई सुरक्षा सजकता अपनाउन आग्रह गरे । फरक तरिकाले उडान गर्नुपर्ने भएकाले यात्रुलाई सुसूचित गराउनुपर्ने अनिवार्यता रहेको उनले बताए । सरकारले उडान खोलिदिएको खण्डमा प्रोटोकल पालना गर्न हवाई कम्पनी तयार रहेको उनको भनाइ छ । निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले आन्तरिक उडानमा अपनाइने सुरक्षा मापदण्डका साथ उडानको तयारी गरेको जनाइएको छ । कोभिड महामारीबाट कसरी जोगिएर सुरक्षित हवाईयात्रा गर्न सकिन्छ भनेर बुद्धले गत असार ११ गते एटिआर–७२ जहाजमा ‘डेमो’ उडान गरेको थियो । यात्रु तथा विमानका कर्मचारीको ‘कन्फिडेन्ट’ का लागि कोभिडबाट सुरक्षित हुने उपायबारे अभ्यास गरिएको थियो । आन्तरिक उडानका यात्रुले पहिलाजस्तो ‘स्न्याक्स’ पाउँदैनन् । यात्रुले शुरुमा टर्मिनल भवन छिर्नासात सामाजिक दूरी कायम गर्न बनाइएको घेराभित्र उभिएर लाइन बसी ज्वरो नाप्छन् । त्यसपछि सुरक्षापासको प्रक्रिया सकिन्छ । भित्र टिकट काउन्टरमा पनि सामाजिक दूरीका साथ बोडरिङ पास दिइन्छ । त्यहाँ काउन्टरका कर्मचारीले यात्रुलाई फारम भराउँछन् र मुहारसहितको परिचयपत्र मोबाइलबाट खिच्छन् अनि त्यसलाई कम्प्युटराइज गर्छन् । कोभिड–१९ को महामारीबाट सुरक्षित रहनको लागि हवाईयात्रा अवधिभर मास्क र फेससिल्ड लगाउनुपर्नेछ । अति आवश्यक भए मात्र शौचालयको प्रयोग गर्न र पानीको वितरण पनि अति आवश्यक परेको खण्डमा मात्र उपयोग गरिदिन अनुरोध गरेको छ । बुद्धले अहिले एटीआर–७२, ११ सहित १३ जहाजमार्फत उडान सेवा दिइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।