काठमाडौं । गत आर्थिक वर्षको अन्तिम दिनसम्ममा बैंकिङ क्षेत्रमा उठ्नु पर्ने कर्जाको व्याज तथा किस्ता ७५ प्रतिशत मात्रै उठेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण आर्थिक गतिविधि ठप्प भएकोले व्याज तथा किस्ता असुली कम भएको हो ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उठ्नु पर्ने व्याज तथा किस्ता करिब ७५ प्रतिशत उठेको जानकारी दिए । उनले ठूला ऋणीले किस्ता र व्याज तिरेपनि साना, पर्यटन क्षेत्र र गाडी कर्जा केही कम उठेको जानकारी दिए ।
‘ठूला ऋणीले किस्ता तथा व्याज तिरेका छन्, मासिक किस्ता बुझाउने साना, हायरपर्चेज (गाडी कर्जा), पर्यटन जस्ता क्षेत्रले बुझाएका छैनन्, ऋण तिर्न सक्ने केही ऋणीले मौद्रिक नीतिले केही राहत देला कि भनेर पनि पर्खिएका पाइयो,’ प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले पनि उठ्नुपर्ने रकमको ७५ प्रतिशत जति मात्रै उठेको जानकारी दिए । हायरपर्चेज, पर्यटन र रियलस्टेट क्षेत्रका ऋणीले किस्ता र व्याज बुझाउन नसकेको उनको भनाइ छ ।
‘हाम्रो ऋणी भनेका मध्यम तथा साना व्यवसाय गर्ने र सानो सानो परिमाणमा कर्जा उपभोग गर्नेहरु हुन्, उनीहरुले सकेसम्म किस्ता र व्याज तिर्ने प्रयास गरेको पाइयो, केही ऋणीले भने मौद्रिक नीतिमाफृत राहत कार्यक्रम आउने अनुमान सहित पर्खिए जस्तो देखियो,’ डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहेका ढकालले भने ।
फाइनान्स कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधर असार मसान्तमा किस्ता र व्याज गरी ८० प्रतिशत जति असुल हुने आफूहरुले अनुमान गरेको भएपनि ७५ प्रतिशत जति मात्रै उठेको बताउँछन् ।
‘सामुहिक सौदाबाजी गर्न नसक्ने, नीति निर्माणतहसम्म पहुँच नभएका साना तथा मझौला उद्यम व्यवसाय गर्नेहरुले किस्ता र व्याज तिरेका छन्, ठूलो ठूलो उद्योग व्यवसाय चलाउने उद्योगी व्यवसायीले भने मौद्रिक नीतिसमम्म पर्खने सोच बनाएको देखियो,’ गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष तुलाधरले भने ।
फाइनान्स कम्पनीहरुमा पनि सार्वजनिक सवारी साधान, होटल तथा पर्यटन लगायत सेवा क्षेत्रले किस्ता र व्याज तिर्न नसकेको अध्यक्ष तुलाधरको भनाइ छ ।